विकासन्युज

नेपाल इन्भेष्टमेण्ट बैंकको नाफा ३ अर्ब ४१ करोड, २४ करोडले नाफा घट्यो

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकको अघिल्लो आर्थिक वर्ष २०७४/७५ कोभन्दा घटेको छ । बैंकको नाफा गत आव २०७५/७६ मा भन्दा २४ करोडले घटेको हो । गत आवमा बैंकले ३ अर्ब ४१ करोड रुपैयाँमात्रै नाफा कमाएको छ । अघिल्लो आवमा बैंकको नाफा ३ अर्ब ६५ करोड रुपैंयाँ थियो । बैंकको वितरण योग्य नाफा पनि १ अर्ब ३९ करोड मात्रै रहेको छ । गत आर्थिक वर्षको नाफाबाट जम्मा १०.८० प्रतिशत मात्रै लाभांश दिन सक्छ । बैंकको खुद ब्याज आम्दानी भने ६ अर्ब १५ करोड र संचालन मुनाफा ४ अर्ब २२ करोड रहेको छ । १२ अर्ब ८६ करोड चुक्ता पुँजी रहेको बैंकसँग जगेडा कोषमा भने १० अर्ब ९५ करोड रुपैंयाँ रहेको छ । बैंकको बैंकले १ खर्ब ४९ करोड निक्षेप संकलन गरेर १ खर्ब २३ अर्ब रुपैंयाँ कर्जा तथा लगानी गरेको छ । बैंकको खराब कर्जा भने २.७८ प्रतिशत रहेको छ । बैंकको सिडी रेसियो ७१.९७ प्रतिशत छ । नेपाल इन्भेष्टमेन्ट बैंकको बेसरेट ८.३३ प्रतिशत र कष्ट अफ फण्ड ६.३१ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी २६.५४ पैसा रहेको छ । बैंकको प्रति सेयर आम्दानी २६.५४ रुपैंयाँ छ । प्रति सेयर नेटवर्थ १९९.७८ रुपैंयाँ रहेको छ ।

बिहीबार सार्वजनिक बिदा, कहाँ कहाँ ? (हेर्नुहोस्)

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले बिहीबार जनैपूर्णिमा तथा रक्षाबन्धन पर्वका अवसरमा प्रदेशमा आज सार्वजनिक बिदा दिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा बुधबार प्रकाशित सूचनामा जनैपूर्णिमा तथा रक्षाबन्धन पर्व मनाउन प्रदेशका सम्पूर्ण सरकारी कार्यालय एवं सार्वजनिक निकायमा बिदा दिइने जनाइएको छ । यसअघि साउन ८ गतेको मन्त्रिपरिषद् बैठकले भदौ १५ गते पर्ने थारु समुदायको ‘अटबारी पर्व’ पुस १० गते अछाम र बाजुरा जिल्लामा मनाइने ‘भुवा पर्व’ र माघ १ गते (माघे सङ्क्रान्ति)मा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सुदूरपश्चिममा सदियौैैँदेखि मनाइँदै आएको मौलिक सांस्कृतिक गौरा पर्वको बिदाका विषयमा भने प्रदेश सरकारले कुनै निर्णय नगरेकोप्रति स्थानीयको गुनासो बढेको छ । गौरा पर्वमा यसअघि विगतका वर्षमा सङ्घीय सरकारले गौरापर्व मनाइने क्षेत्रमा एक दिन सार्वजनिक बिदा दिने गरेको थियो । सांस्कृतिक पर्व गौरा र ‘ओल्के पर्व’मा बिदा दिने वा नदिने विषयमा सरकार अनिर्णित हुँदा मौलिक संस्कृतिको संरक्षण सम्वद्र्धनप्रति उदासिनता देखाइएको प्राध्यापक लेखराज ओझाले गुनासो गरे । जनैपूर्णिमामा तीन स्थानीय तहमा बिदा यता, सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका, हेलम्बु गाउँपालिका र बाह्रबिसे नगरपालिकाले जनैपूर्णिमाका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँ तथा नगरपालिकाले सूचना निकालेर बिहीबार रक्षाबन्धन र जनैपूर्णिमा परेकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यस्तै जनैपूर्णिमाका अवसरमा पाँचपोखरी थाङ्पालमा रहेका ऐतिहासिक तीर्थस्थल पाँचपोखरी र रैथानेश्वरीमा मेला लाग्ने भएकाले सार्वजनिक बिदा दिइएको अध्यक्ष टाँसी लामाले जानकारी दिए । सोही दिन पाचँपोखरी तेस्रो हाफ म्याराथन प्रतियोगितासमेत आयोजना हुने भएकाले पनि गाउँपालिकाभरि सार्वजनिक बिदा दिने निर्णय गरिएको उनले बताए । जिल्लाका १२ स्थानीय तहमध्ये तीन वटा स्थानीय तहले मात्र बिदा दिने निर्णय गरेको छ । जनैपूर्णिमामा तेमालमा बिदा यसैगरी, काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाले जनैपूर्णिमाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै गाउँपालिकाको केन्द्रमा अवस्थित नारायणको मन्दिर परिसरमा जनैपूर्णिमाको अवसरमा परापूर्वकालदेखि नै जनैपूर्णे धार्मिकजात्रा हुने गरेका कारण स्थानीय बासिन्दाको उल्लेय सहभागिता रहने भएकाले बिहीबार सार्वजनिक बिदा दिएको गाउँपालिका अध्यक्ष सलाम सिं तामाङले बताए । “नारायणस्थानमा लाग्ने धार्मिकजात्रा तेमालको सांस्कृतिक पर्वकै रुपमा विकास हुँदै गएको र तेमाललगायत छिमेकी गाउँपालिका÷नगरपालिकादेखि अन्य जिल्लाबाटसमेत भक्तजनको उपस्थिति हुने भएकोले बिदा गरिएको हो”, गाउँपालिका अध्यक्ष तामाङले भने । रासस

सिर्जना फाइनान्स राष्ट्रिय स्तरको बनाउँछौं र सबै सूचकाङ्कमा वाणिज्य बैंक भन्दा राम्रो बनाउँछौं-चापागाञी

कृषि विकास बैंकमा २७ वर्ष काम गरेपछि स्वेच्छिक अवकाश लिनु भएको भवानीशंकर चापागाञी २०६९ सालमा सिर्जना फाइनान्समा महाप्रबन्धकको रुपमा छिर्नुभयो । २०७३ साल बैशाखदेखि उहाँ सिर्जना फाइनान्समा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा हुनुहुन्छ । सिर्जना फाइनान्समा भवानीशंकरको प्रवेश भगवानको जस्तै भएको छ । त्यसपछि फाइनान्सका सेयरधनीले हरेक वर्ष २५ देखि ६० प्रतिशत लाभांश पाइरहेका छन् । ७/८ वर्षअघि अस्तित्व जोगाउन संघर्ष गरिरहेको सिर्जना फाइनान्स अहिले उत्कृष्ट बन्ने लक्ष्य बोकेर हिँडिरहेको छ । प्रस्तुत छ प्रमुख कार्यकारी अधिकृत चापागाञीसँगको कुराकानी । सिर्जना फाइनान्सको वित्तीय अवस्था कस्तो छ ? असार मसान्तको वित्तीय अवस्था राम्रो छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा हरेक सूचकाङ्कमा उल्लेख्य सुधार आएको छ । गत वर्षमा विजनेश ग्रोथ ३० प्रतिशत छ । निक्षेप १ अर्ब ७५ करोडले वृद्धि भई ७ अर्ब १५ करोड रुपैयाँ भएको छ । एक वर्षमा कर्जा सापटी २ अर्ब २ करोडले वृद्धि गरी ४ अर्ब ८२ करोड पुर्याएका छौं । लगानी १ अर्ब २४ करोड रुपैयाँ छ । सीसीडी रेसियो ६१ प्रतिशत छ । पूँजी कोष अनुपात साढे १४ प्रतिशत छ । कर्जाको गुणस्तरमा सुधार आएको छ । खराव कर्जा शुन्य दशलमव ३४ प्रतिशतमा झरेको छ । गत वर्षको खुद नाफा १५ करोड ७३ लाख रुपैयाँ छ । एनएफआरएस अनुसार नाफा १५ करोड ७६ लाख रुपैयाँ छ । अघिल्लो वर्षको तुलनामा हामीले २६ प्रतिशतले नाफा बढाएका छौं । हाम्रो रिर्जव पनि करिव २६ करोड रुपैयाँ छ । यस वर्ष सेयरधनीले कति लाभांश पाउने छन् ? सेयर पूँजी ४६ करोड रुपैयाँ छ । हामी सेयरधनीलाई २६/२७ प्रतिशत लाभांश दिन सक्छौं । म यो संस्थामा आएको पहिलो २ वर्षमा ६० प्रतिशतका दरले लाभांश दिएका थियौं । दोस्रो दुई वर्षमा ५० प्रतिशतका दरले रिर्टन दियौँ । अघिल्लो वर्ष ३५ प्रतिशत रिर्टन दियौं । गत वर्ष २४.५ प्रतिशत रिर्टन दियौं । यो वर्ष २६/२७ प्रतिशत दिन सक्छौं । हामीले असार मसान्तको रिपोर्ट प्रकाशित गरेपछि सेयर मूल्य २१० बाट २८५ पुगिसक्यो । वित्तीय क्षेत्रमा प्रतिस्पर्धा निकै छ । राष्ट्रिय स्तरको बैंकहरुले गाउँगाउँमा शाखा विस्तार गरेका छन् । यस्तो अवस्थामा तपाईहरुले कसरी अरुको भन्दा राम्रो गरिरहनु भएको छ ? हामी व्यवसाय विस्तारलाई भन्दा सेवाको गुणस्तरमा जोड दिन्छौं । बाणिज्य बैंक नगएको ठाउँमा शाखा खोलेका छौं र सेवा दिएका छौं । हामीले सेवा दिएको मोरङ, सुनसरी र सप्तरीमा २२ वटा शाखा खोलेका छौं । तीन जिल्लामा व्यवसायको हिसावले हाम्रो हिस्सा ९ प्रतिशत छ तर ग्राहक संख्याको हिसाबले करिव २० प्रतिशत छ । १ लाख ३१ हजार निक्षेपकर्ता छन् । १२ हजार ऋणी छन् । हाम्रा ग्राहक ठूला ठूला उद्योग वा गोदाम भएका व्यवसायी छैनन् । वाणिज्य बैंकमा छिर्न पनि डराउने, सानो सानो व्यवसाय गर्न चाहाने व्यक्तिहरु हुन्छन् । विराटनगरमा पनि बैंकहरुको उपस्थिति धेरै देखिन्छ । प्रतिस्पर्धाको वातावरण कस्तो छ ? प्रतिस्पर्धा मात्र होइन, अस्वस्थ्य प्रतिस्पर्धा पनि छ । तर, सेवाको गुणस्तरमा प्रतिस्पर्धा छैन । जनताको मन जित्ने गरी योजना लिएर गयो भने प्रतिस्पर्धा खासै छैन जस्तो लाग्छ मलाई । जतिबेला म यो फाइनान्समा छिरेको थिएँ, त्यतिबेला एकातिर सम्झना फाइनान्स डुबेको थियो । अर्कोतिर सिर्जना फाइनान्सलाई पनि राष्ट्र बैंकले क्याप लगाएर फुकुवा गरेको थियो । सम्झना र सिर्जनामा मानिसहरु झुक्किन्थे । बीचमा यस क्षेत्रको अरुण फाइनान्स पनि डुब्यो । बजारमा फाइनान्स कम्पनीबारेमा उत्पन्न आशंका मेटाउन नै आधा-एक घण्टा समय बिताउनु पर्ने अवस्था थियो । त्यतिबेला हामीले सिर्जनामा घरदैलो सेवा कार्यक्रम गर्यौं । अन्तरक्रिया कार्यक्रमहरु गर्यौ । सबै फाइनान्स खराव हुँदैनन् भनेर बुझायौं । सिर्जना फाइनान्सले अरुको भन्दा राम्रो सेवा दिन्छ भनेर विश्वास दिलायौं । आजको दिनमा हाम्रो बेसरेट १२.१२ हुँदा पनि हामीले १३ प्रतिशतदेखि नै कर्जा लगानी गरेका छौं । वाणिज्य बैंकले पनि १३ देखि १५ प्रतिशतमा कर्जा लगानी गरेका छन् । भविष्यको योजना के छ ? यस फाइनान्सका प्रवद्र्धकहरु यस्ता हुनुहुन्छ जो उठ्नुभयो भने पूर्वी नेपाल नै माथि उठ्छ र उहाँहरु बस्नुभयो भने पूर्व बस्छ । गोल्छा अर्गनाईजेशन, वाग्मती ग्रुप, मेघाटेक ग्रुप, राठी ग्रुप, एमएम प्लाष्टिक ग्रुप, सञ्जय अग्रवाल लगायतका व्यक्तिहरु यहाँ हुनुहुन्छ । हामी राष्ट्रिय स्तरको फाइनान्स बन्छौं । हामी अरुसँग मर्ज हुँदैनौ । पूँजी वृद्धिको लागि ६० प्रतिशत अर्थात १० बराबर ६ कित्ताका दरले हकप्रद सेयर निष्काशन गर्दैछौं । यो वर्ष बोनस सेयर दिन्छौं । यसै वर्ष चुक्ता पूँजी ८० करोड पुर्याउँछौ । यस बीचमा राष्ट्र बैंकले पूँजी संरचना परिवर्तन गरेन भने हामी राष्ट्रिय स्तरको फाइनान्स बन्नको लागि आवेदन दिन्छौं । यस फाइनान्सका प्रवद्र्धकहरु यस्ता हुनुहुन्छ जो उठ्नुभयो भने पूर्वी नेपाल नै माथि उठ्छ र उहाँहरु बस्नुभयो भने पूर्व बस्छ । गोल्छा अर्गनाईजेशन, वाग्मती ग्रुप, मेघाटेक ग्रुप, राठी ग्रुप, एमएम प्लाष्टिक ग्रुप, सञ्जय अग्रवाल लगायतका व्यक्तिहरु यहाँ हुनुहुन्छ । यो संस्थाको संस्थागत सुशासन राम्रो छ । हाम्रो भिजन चाही महत्वकांक्षी छ । हामी नेपालको नम्बर वान कम्पनी बन्न चाहान्छौं । यसको अर्थ हामी सबैभन्दा धेरै नाफा गर्ने, सबैभन्दा धेरै विजनेशन गर्ने, सबैभन्दा धेरै कर्मचारी भएको, सबैभन्दा धेरै शाखा भएको कम्पनी बन्ने होइन । बैंक तथा वित्तीय संस्थालाई मापन गर्ने सूचकहरुमा सबै सूचकमा हामी नम्बर वान हुन्छौं । अहिले पनि लगानीकर्तालाई दिने रिर्टनको हिसावले, क्वालिटी एसेटका हिसावले वा अन्य इन्डिकेटरमा हामी धेरै राम्रो अवस्थामा छौं । हामीले वित्त कम्पनीहरुबीच मात्र नम्बर वान बन्ने लक्ष्य लिएका होइनौं, वाणिज्य बैंकहरु भन्दा पनि राम्रो बन्ने सोच हो । आखिर उनीहरुको लागि पनि मापदण्ड त एउटै हो । सिर्जना फाइनान्सलाई मर्जको प्रस्ताव आएका छैनन् ? आईरहेका छन् । एउटा बैंकसँग धेरै कुरा मिलेको थियो । तर, उहाँहरुले कर्मचारी समायोजनको मामिलामा सिर्जना फाइनान्सका कर्मचारीलाई उचित स्थान दिन नसक्ने कुरा गर्नुभयो । त्यसपछि त्यो प्रक्रिया तोडियो । हामीले अहिले ‘मिसन डबल अभियान’ शुरु गरेको छौं । यसमा हामीले हाम्रो बिजनेशलाई पनि डबल गर्ने, नाफालाई पनि डबल गर्ने र कर्मचारीहरुलाई पनि त्यहि अनुसार सुविधा बढाउने निर्णय गरेका छौं । यसरी गरिने ग्रोथले बढी जोखिम ल्याउने हो कि भनेर हामीले क्वालिटी कन्ट्रोल गर्न नयाँ संयन्त्र खडा गरेका छौं । राष्ट्र बैंकले लिएको नयाँ नीतिले बैंक फाइनान्सको नाफा घटाउने सम्भावना देखिन्छ । यो अवस्थामा मिसन डबल अभियान सफल हुन्छ ? स्प्रेडदर गणनामा अपनाईएको नयाँ विधि, १५ लाखसम्मका कृषि उद्यम कर्जामा सेवा शुल्क लिन नपाउने नीति लगायतले हाम्रो आम्दानी घट्छ । त्यसैले नै हामीले मिसन डबल कार्यक्रम ल्याएका हौँ । विजनेश डबल बनाएपछि नाफा पनि डबल बनाउन सकिन्छ ।

समंग्र उद्योगमा प्रतिदिन ६२ हजार लिटर दुध अपुग, आयातसँगै मुल्यमा वृद्धि

काठमाडौं । भदौंकाे पहिलाे सातादेखि दुधको मूल्य हुने भएको छ । लामो समयसम्म दुधको मूल्य वृद्धि नभएको भन्दै दुधको मूल्य बढाउनु पर्ने किसानहरुको माग रहेको डेरि एशोसियसनका महासचिव प्रल्हाद दाहालले बताए । भारतको पटनाबाट आयात हुने दुधकाे मूल्य प्रतिलिटर ७ रूपैयाँ हाल दुधको माग एक लाख ५० हजार प्रतिलिटर हो, सरकारले केहिसमय अगाडी पाउण्डर दुध प्रतिबन्द लगाएसँगै दुधको अभाव हुँदै आएको महासचिव दाहालको भनाई छ । किसानको माग प्रतिलिटर १० रुपैयाँ वृद्धि गर्नु पर्ने भएपनि दुद्य सहकारी संघ, डेरी उद्योग संघ र नेपाल डेरी एसोसिएसनले भदौं १ गतेदेखि दुधको मूल्य प्रतिलिटर ६ देखि ८ रुपैयाँसम्म मूल्य वढाउने भनिएता पनि ठोस मूल्य निर्धारण हुन बाँकी रहेको हुँदा पहिलाे सातासम्म हुने जानकारी दिए । अन्य उत्पादनहरुको सिजन भए जस्तै दुद्य उत्पादन पनि गर्मी महिनाहरुमा कम हुने र जाडोमा बढी उत्पादन हुने गर्दछ । बजारमा दुधको आपूर्ति कम भईरहेको र त्यसलाई न्यनिकरण गर्न भारतबाट आयातित पाउण्डर माथि रोक लगाएपनि केहि दिन अगाडी देखी पाउण्डर दुद्य आयातका लागि जोड दिन विभिन्न नकाएबाट सहयोग गरेको महासचिव प्रल्हाद दाहाल जानकारी दिए । समग्र उद्योगमा हाल करिब ६२ हजार लिटर अपुग रहेको डेरी उद्योग संघका अध्यक्ष अरनिको राजभण्डारीले बताए । मुलुकमा करिब ७ लाख ९० हजार प्रतिलिटर आवश्यक छ, सुख्खा मौसमले बजारमा करिब प्रतिदिन १ लाख २० हजार लिटर दुधको अभाव रहेको छ, करिब करिब महिना दिन अभाव भएपनि पछि स्वदेशी उत्पादनले धान्ने अध्यक्ष राजभण्डारीले जानकारी दिए । काठमाडौं उपत्यकामा दैनिक ५ लाख लिटर दुध अपुग रहेको छ भने हाल दुद्य विकास संस्थानले करिब १ लाख लिटर बिक्री वितरण गरेको छ । निजी डेरी उद्योगहरुले प्रतिदिन करिब दुईदेखि साढे दुई लाख लिटर दुध वितरण गर्दै आएको छ । गर्मी याममा दुध खपत बढ्छ भने असोजदेखि माघसम्म दुध उत्पादन बढ्ने गर्दछन् । पटना सहकारी डेरीबाट महँगो मूल्यमा दुध आयात  : बजारमा दुधको अभावसँगै निजी डेरी उद्योग र संस्थानले भारतको पटनाबाट महँगोमा दुध आयात गरिरहेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पाउण्डर दुध आयात बन्द गरेपनि कच्चा दुध आयात का लागि भने स्वीकृति दिएको डेरी उद्योग संघका अध्यक्ष अरनिको राजभण्डारीले जानकारी दिए । नेपालमा बढी उत्पादन हुँदा दुद्य विकास संस्थानले पटना सहकारीमा दुध निर्यात गरेको र हाल नेपालमा दुधको अभाव हुँदा सोही सहकारी डेरीबाट आयात गर्ने सम्झौता भएको अध्यक्ष राजभण्डारीले बताए । पछिल्लो समय मन्त्रालयले कच्चा दुधको आयातका लागि स्वीकृति दिएपनि विविध प्राविधिक तथा रुट व्यवस्थापनमा ढिलाई हुँदा यो सातासम्म नेपाल ल्याउने सकिने प्रयास गरिरहेको उनले भने । पटनाबाट खरिद गरिएको दुध प्रतिलिटर ७ रुपैयाँ महँगो हुन जाने दुध उद्योग संघका अध्यक्ष राजभण्डारी बताए ।

आज जनै पूर्णिमा, रक्षाबन्धन धारण गरेर मनाइँदै

काठमाडोँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । सत्ययुगमा दानबद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ । यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितहरुले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । मानव रक्षाका लागि जप, तप र पूजागरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाँहिने नाडीमा बाँधिदिने गरिन्छ । यसै दिन ब्राह्मण, क्षेत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ । यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनीतो गरी बसिन्छ । यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन, र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ । स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै ९यज्ञोपवीत० फेरिन्छ । अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको हो । वैदिक गुरु परम्परा अनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ । रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोकविनायकलगायत वाग्मती नदीको किनार र मठ मन्दिरमा भक्तजनको भीड लागेको छ । जनैपूर्णिमाका दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ । नेपालको तराईक्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइकाबीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ । काठमाडौँको उत्तरपूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा आज बिहानैदेखि मेला लागेको छ । यस पर्वका अवसरमा विभिन्न शैक्षिक संस्था एवं स्थानीय सरकारले सार्वजनिक बिदासमेत दिएका छन् । रासस

वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा निधन

काठमाडौँ । वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा आज निधन भएको छ । निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका उनलाई बुधबार ‘डिस्चार्च’ गरी निवास कालिकास्थान ल्याइएको थियो । निवासमा शौचालय जाँदा बेहोस हुनु भएका उनलाई पुतलीसडकस्थित हिमाल अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए । उनलाई मुटु मिर्गौला र श्वासप्रश्वाससम्बन्धी समस्या थियो । दीक्षितका ‘माधवी’, ‘ऋग्वेद स् केही प्रमुख सूक्त’, ‘ग्यास च्याम्बरको मृत्यु’ लगायत ४६ कृति छन् । उनले मदन पुरस्कार, साझा पुरस्कार, पद्मश्री पुरस्कारलगायत विभिन्न पुरस्कार र सम्मान प्राप्त गरेका थिए । नेपाली पत्रकारिता क्षेत्रमा पनि उनको विशिष्ट योगदान छ । उनको जन्म १९७९ फागुन ६ गते काठमाडौँको गौरीधारामा भएको थियो । उनका श्रीमती, तीन छोरा र एक छोरी हुनुहुन्छ । उनका नाति अवनी दीक्षितका अनुसार दीक्षितको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ । रासस

सनराइज बैंक र एनबीआईबीच सहकार्य, कर्मचारीलाई व्यक्तित्व तथा सिप विकास गराइने

काठमाडौँ । सनराइज बैंक र नेपाल बैंकिङ्ग इन्स्टिच्युट(एनबीआई)बीच तालिम तथा सिप विकासको सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सो सम्झौता पत्रमा सनराइज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याल र नेपाल बैंकिङ्ग इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत सन्जिव सुब्बाले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार नेपाल बैंकिङ्ग इन्स्टिच्युटले सनराइज बैंकका कर्मचारीहरुलाई व्यक्तित्व तथा सिप विकासको प्रशिक्षणमा सहभागी हुने अवसर प्रदान गर्नेछ । वार्षिक ५० लाख बराबरको प्रशिक्षण गराइने उत्त सम्झौता यस आर्थिक वर्षको पहिलो सम्झौता रहेको नेपाल बैंकिङ्ग इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृतसन्जिव सुब्बाले बताए ।

कामना सेवा विकास बैंकको निक्षेपमा ४५.८७ तथा कर्जामा ५२.८६ प्रतिशत बृद्धि

काठमाडौँ । कामना सेवा विकास बैंकले समीक्षा अवधिमा व्यवसायमा उल्लेख्य वृद्धि हासिल गर्न सफल भएको छ । गत आव २०७४/०७५ मा निक्षेप १५.७५ अर्ब रहेकोमा ४५.८७ प्रतिशतले वृद्धि भई २२.९७ अर्ब रुपैयाँ निक्षेप संकलन गर्न बैंक सफल भएको छ । साथै कर्जा तर्फ सोही अवधिमा १३.२० अर्ब रहेकोमा ५२.८६ प्रतिशतले वृद्धि गरी २०.१८ अर्ब रुपैयाँ लगानी गरेको छ । २.५४ अर्ब रुपैयाँ चुक्तापूँजी भएको बैंकको जगेडा कोषमा ५०.३८ करोड रुपैंयाँ रहेको छ । बैंकको खुद ब्याज आम्दानी १७.६९ प्रतिशतले वृद्धि भई ८८.७७ करोड रुपैयाँ पुगेको छ भने गत आ.व. मा बैंकको निष्कृय कर्जा १.१३ प्रतिशत रहेकोमा हाल ०.९० प्रतिशत कायम गर्न सफल भएको छ । आव २०७५/०७६ को असार मसान्तमा बैंकको पूँजीकोष अनुपात १७.०३ प्रतिशत रहेको छ । त्यस्तै प्रति शेयर आम्दानी १३.७० रुपैयाँ, मूल्य आम्दानी अनुपात ११.६८ गुणा, प्रति शेयर नेटवर्थ १३१.०९ रुपैयाँ र तरलता अनुपात २२.७४ प्रतिशत रहेको छ । बैंकले समीक्षा अवधिमा आधार दरलाई ११.५९ प्रतिशतमा सीमित गर्न सफल भएको छ । बैंकले आव २०७५/०७६ मा सेवा बिस्तारका क्रममा थप ३६ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । शाखा विस्तारसँगै बैंकको सञ्चालन खर्च तथा कर्मचारी खर्चमा वृद्धिका बावजुद बैंकले आर्थिक वर्ष २०७५/०७६ मा खुद मुनाफा ३२.५४ करोड रुपैयाँ आर्जन गरेको जनाएको छ ।