विकासन्युज

आज गाईजात्रा, काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

काठमाडौँ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमसहित आरम्भ हुँदैछ । आजको दिन एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन “जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनु” भनी आज्ञा दिएकामा यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप सो प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ । प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा आज पनि जारी छ । देशका विभिन्न शहरमा गाईजात्रा मनाइने भएपनि उपत्यकामा यसको विशेष रौनक देख्न सकिन्छ । भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ । व्यवस्थाप्रति व्यङ्ग्य गरेको भन्दै २०१७ पुस १ गतेको शाही कूपछि गाईजात्रामा पनि प्रतिबन्ध लागेको थियो । संस्कृतिविद् सत्यमोहन जोशी २०३३ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले महोत्सवका रुपमा झाँकी र हास्य व्यङ्ग्यसहित गाईजात्रा फेरि मनाउन थालेको बताउँछन् । हास्यव्यङ्ग्यले बुझ पचाएर जथाभावी गर्नेलाई सचेत गराउने र अनर्थकतामा सार्थकता झल्काउने उनको भनाइ छ । जात्राका क्रममा पाटनमा देखाइने सत्य युगको धान, चामलको नमूना र काठमाडौँको ठमेलमा देखाइने स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तक विशेष दर्शनीय मानिन्छन् । आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गरिन्छ । सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजनासमेत हुन्छ । पत्रपत्रिकामा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङ्क प्रकाशित गरिन्छ । गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा, पोखरालगायत नेवार समुदायको विशेष उपस्थिति रहेको शहरमा धुमधामका साथ मनाइन्छ । गाईजात्राका अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ ।

एनसेल लाभकर विवादको निर्णय भदौ ५ मा, लाभकर छली मुद्दाको सुनुवाइ सकियो

काठमाडौँ । निजी क्षेत्रको दूरसञ्चार प्रदायक कम्पनी एनसेल प्राइभेट लिमिटिडको लाभकरसम्बन्धी विवादको फैसला आगामी भदौ ५ गतेका लागि सरेको छ । न्यायाधीशहरु तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, सुष्मातला माथेमा र मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासले फैसला लेख्नको काम नसकिएको उल्लेख गर्दै आगामी भदौ ५ गते निर्णय सुनाउने तय गरेको हो । एनसेल प्रालिको ८० प्रतिशत सेयर खरीद बिक्री हुँदा भएको लाभकर छली विवादमा परेको मुद्दाको सुनुवाइ सकिएको छ । त्यसको फैसला मात्र आउन बाँकी छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित न्यायाधीश मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र टङ्कबहादुर मोक्तानको बृहत पूर्ण इजलासले गत माघ २३ गते एनसेलले लाभकर तिर्नुपर्ने फैसला गर्दै कर नतिरेसम्म कसैलाई पनि लाभांश वितरण र सेयर बिक्री अनुमति नदिनु भन्ने पूर्ण इजलासले परमादेश जारी गरेको थियो । अदालतले ठूला करदाता कार्यालयले एनसेलमाथि रु ६२ अर्ब ६३ करोड कर निर्धारण गरेको थियो । यसमध्ये करीब रु साढे ३९ अर्ब एनसेलले बुझाउन बाँकी छ ।

नक्कली बैंक ग्यारेन्टी प्रकरणमा पक्राउ पूर्जी पछि मन्त्री पदमुक्त

सुर्खेत । कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्री पदमुक्त भएका छन् । कर्णाली प्रदेश सरकारले बिहीबार उनलाई पदमुक्त गरेको हो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भौतिक पूर्वाधार विकासमन्त्री खत्रीलाई नेपालको संविधानको धारा १६९ को उपधारा (२) को खण्ड (ख) बमोजिम पदमुक्त गरेको उनका प्रेस सल्लाहकार ध्रुवविक्रम बुढाथोकीले जानकारी दिए । मन्त्री खत्रीविरूद्ध नक्कली बैंक ग्यारेन्टी प्रकरणमा पाटन उच्च अदालतले पक्राउ पूर्जी जारी गरेपछि उनलाई पदमुक्त गरिएको हो । रिक्त मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शाही आफैले सम्हाल्ने बुढाथोकीले जानकारी दिए । उच्च अदालत पाटनले भौतिक पूर्वाधार विकासमन्त्री खत्रीलाई पक्राउ गर्न सोमबार आदेश दिएको थियो । उच्च अदालतको संयुक्त वाणिज्य इजलासका न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुङ्गानाको इजलासले पक्राउ गर्न आदेश जारी गरेको थियो । रासस

एनआईसी एशियाले कमायो ३ अर्ब ५ करोड, नाफा १२९ प्रतिशतले बृद्धि

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले गत आव २०७५/७६ को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण शुक्रबार सार्वजनिक गरेको छ । उक्त बैंकको वित्तीय विवरणका परिसूचकहरु उत्साहजनक देखिएको छ । बैंकले चालु आर्थिक वर्षको चौथो त्रैमाससम्म कुल आम्दानी वार्षिक विन्दुगत आधारमा ७७ प्रतिशत अर्थात् रु ४ अर्ब १५ करोडले वृद्धि गरी रु ९ अर्ब ५१ करोड आर्जन गर्न सफल भएको छ । सोही अवधिमा बैंकले खुद ब्याज आय ६५ प्रतिशत अर्थात् रु.२ अर्ब ७५ करोडले वृद्धि भई रु.६ अर्ब ६९ करोड आर्जन गर्न सफल भएको छ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म सञ्चालन मुनाफामा वार्षिक विन्दुगत आधारमा १३९ प्रतिशत अर्थात् रु.२ अर्ब ६६ करोडले वृद्धि गरी रु.४ अर्ब ५८ करोड आर्जन गर्न सफल भएको छ । यसैगरी खुद मुनाफातर्फ वार्षिक विन्दुगत आधारमा १२९ प्रतिशत अर्थात् रु. १ अर्ब ७२ करोडको वृद्धि सहित रु. ३ अर्ब ५ करोड आर्जन गर्न सफल भएको छ । गत वर्षको सोही अवधिको खुद मुनाफा रु. १ अर्ब ३३ करोड रहेको थियो । बैंकलेसमीक्षा आर्थिक वर्षमा वार्षिक विन्दुगत आधारमा २७ प्रतिशत अर्थात् रु. ४६ अर्ब ७६ करोडको वृद्धिसहित वासलातको आकार रु. २१७ अर्ब ७० करोड पुर्याउन सफल भएको छ । जस अन्तर्गत कुल कर्जातर्फ यस आर्थिक वर्षमा वार्षिक विन्दुगत आधारमा २५ प्रतिशत अर्थात् रु. २९ अर्ब ५४ करोडको वृद्धिसहित रु. १५० अर्ब तथा निक्षेप संकलनतर्फ यस आर्थिक वर्षमा वार्षिक विन्दुगत आधारमा १९ प्रतिशत अर्थात् रु. २९ अर्ब ३६ करोडको वृद्धिसहित रु.१८० अर्ब ५८ करोड पुर्याउन सफल भएको छ । बैंकको वार्षिक विन्दुगत आधारमा प्रतिशेयर आय १०८ प्रतिशतले वृद्धि भई रु. ३४.५६ तथा स्वपूँजीमा प्रतिफल १०८ प्रतिशतले वृद्धि गरी २५.१६ प्रतिशत कायम वित्तीय विवरणमा उल्लेख छ ।

पत्रकार रवि लामिछाने र युवराज कँडेल पक्राउ

काठमाडौँ । पत्रकार रवि लामिछाने र युवराज कँडेललाई प्रहरीले विहीबार साँझ राजधानी काठमाडौँबाट पक्राउ गरेको छ । उनीहरु न्युज २४ टेलिभिजनको कार्यालयबाट पक्राउ परेका हुन् । केही दिनअघि चितवनमा आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीको मृत्युको विषयमा अनुसन्धान गर्न चितवन र काठमाडौँको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरी श्रोतले जनाएको छ । पक्राउ परेका लामिछाने र कँडेल दुबैलाई चितवन पठाई हिरासतमा राखी अनुसन्धान गरिने प्रहरी श्रोतले बताएको छ ।

ग्यालेक्सी नोट १०ः उत्पादकत्व र सिर्जनात्मकतामा बृद्धि हुने

काठमाडौँ । सामसङ इलेक्ट्रोनिक्सले हालै ग्यालेक्सी नोट १० सार्वजनिक गरेको छ । प्रीमियम स्मार्टफोहरुको नयाँलाइन, जसले शक्तिशाली प्रदर्शन र उत्पादकत्व वृद्धि गरी प्रयोगकर्ताहरूलाई हरेक क्षण अविष्मरणीय बनाउन मद्दत पुर्याउने कम्पनीले जनाएको छ । ग्यालेक्सीनोट १० संँग सामसङ प्रयोगकर्ताहरुलाई आफूले चाहेको भन्दा बढी गर्न मद्दत गर्ने विश्वास लिइएको सामसङ नेपालका मोबाइल विजिनेश हेड प्रणयरत्न स्थापितले बताए । दुईभिन्न साइजमा उपलब्ध शक्तिशाली ग्यालक्सी नोटमा भएको एस पेन, प्रो–ग्रेड क्यामेरा र अन्य टुल्सहरुको साथ उत्पादकत्व र सिर्जनात्मकतामा वृद्धि कम्पनीले जनाएको छ ।

२८ वाणिज्य बैंकको नाफा ६५ अर्ब ३० करोड, कुन बैंकको कति ?(सूची सहित)

काठमाडौं । गएको आर्थिक वर्षमा २८ वटा वाणिज्य बैंकले ६४ अर्ब ५० करोड रुपैयाँ नाफा गरेका छन् । बैैंकहरूले गएको आवमा गरेको नाफा अघिल्लो आव २०७४/७५ को भन्दा २५.१९ प्रतिशतले बढी हो । बैंकहरूले अघिल्लो आवमा ५२ अर्ब १६ करोड रुपैयाँ नाफा कमाएका थिए । बैंकहरूले साउन ३० गतेसम्म प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणले यस्तो तथ्यांक देखाएको हो । हालसम्म वित्तीय विवरण सार्वजनिक गरेका बैंकमध्ये सेन्चुरीको नाफा मात्रै अर्बभन्दा कम छ । अन्य बैंक सबै अर्बपति क्लबमा प्रवेश गरेका छन् । बैंकहरूको चुक्ता पुँजी बढेसँगै व्यवसायमा गरेको कर्जा प्रभाव वृद्धिका कारण नाफा बढेको हो । मुलुकमा स्थायी सरकार स्थापना भएपछि बैंकबाट कर्जा लिएर भौतिक पूर्वाधार निर्मााणलगायत व्यापार व्यवसाय  गर्नेको संख्या पनि थपिदै भएको छ । गएको आवमा पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा बढी नाफा कमाएको छ । बैंकले गएको आवमा ५ अर्ब ३२ करोड नाफा कमाएर देशकै अग्रणी बैंक बनेको छ । अघिल्लो वर्ष उक्त बैंकले ३ अर्ब ६५ करोड नाफा कमाएको थियो । निजी बैंकतर्फ नविल बैंकले सबैभन्दा बढी नाफा कमाएको छ । बैंकले गएको आवमा ४ अर्ब २९ करोड नाफा कमाएर बढी नाफा कमाउने निजी बैंकतर्फ पहिलो र समग्र बैंकमा तेस्रो स्थानमा रहेको छ । बढी नाफा कमाउने बैंकको दोस्रो सूचीमा कृषि विकास बैंक परेको छ भने अर्को सरकारी स्वामित्वको नेपाल बैंकले निजी बैंक सहर है नाफा आर्जन गरेको छ । गत आवमा कृषि विकास बैंकले चार अर्ब ३५ करोड नाफा कमाएको हो । बैकले अघिल्लो आवमा तीन अर्ब ६५ करोड नाफा कमाएको थियो । त्यसरी नै नेपाल इन्भेष्टमेन्ट, एनआईसी एशिया र एभरेष्ट बैंकको नाफा ३ अर्बभन्दा बढी छ भने १० वटा वाणिज्य बैंकले २ अर्बभन्दा माथि र तीन अर्बभन्दा कम नाफा गरेका छन् । अन्य १० वाणिज्य बैंकको नाफा भने एक अर्बभन्दा माथि र दुई अर्बभन्दा कम रहेको छ । सिभिल र सेन्चुरी बैंकको नाफा भने अर्बभन्दा कम छ । गत आर्थिक वर्षमा २८ वाणिज्य बैंकले गरेका नाफा यस्तो छः स्रोतः बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण

मेडिसिटीमा बिना शल्यक्रिया प्रोस्टेट समस्याको उपचार

काठमाडोँ । शारीरिक समस्याका कारण शल्यक्रिया चुनौतीपूर्ण भएका मुत्र रोगीहरुको उपचार अब शल्यक्रिया बिना नेपालमै पहिलो पटक नेपाल मेडिसिटीमा शुरु भएको छ । ललितपुर स्थित नेपाल मेडिसिटी अस्पतालका इन्टरभेन्सनल रेडियोलोजीष्टहरुले नेपालमै पहिलो पटक प्रोष्टेट आर्टरी इम्बोलाइजेसन सम्भव गरेका हुन् । नेपाल बाहिरका थुप्रै अस्पतालमा शल्यक्रियाको विकल्पका रुपमा प्रचलित यस पद्धतिबाट ७५ वर्षीय पुरुष नेपालमै पहिलोपटक लाभान्वित भएका छन् । प्रोष्टेट ग्रन्थीलाई आपूर्ति गर्ने आर्टरीलाई बन्द गरी प्रोष्टेटलाई निष्किृय पार्ने यो पद्धतीलाई प्रोष्टेटिक आर्टरी इम्बोलाइजेसन भनिन्छ । मंगलबार करिब १ घण्टा लगाएर गरिएको यो प्रक्रिया पश्चात बुधबार बिरामीलाई डिस्चार्ज गर्न समेत सफल भएको असपतालका इन्टरभेन्सनल रेडियोलोजिष्ट डा.ओम बिजु पन्तले जानकारी गराए । उनका अनुसार विदेशमा धेरै अभ्यास गरिने प्रोष्टेटिक आर्टरी इम्बोलाइजेसन नेपालमा पहिलो पटक सम्भव भएको हो । बेनाइन् प्रोष्टेटिक हाइपरप्लासीया अर्थात प्रोष्टेट ग्रन्थी बढ्ने समस्या भएका व्यक्तिलाई अपनाइएको यो पद्धतिले कम्मर र तीघ्रा बिचको भागमा सानो प्वाल बनाइ प्रोष्टेट ग्रन्थीमा रक्तसञ्चार रोक्ने काम गर्दछ ।