विकासन्युज

सानिमा लाइफले ८ करोड ९१ लाख नाफा कमायो, अघिल्लो आव भन्दा २ करोड ५८ लाख बृद्धि

काठमाडौँ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक बर्ष २०७५/७६ को वित्तीय विवरण आइतबार सार्वजनिक भएको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले आर्थिक वर्ष २०७४/७५ भन्दा आव २०७५/७६ मा २ करोड ५८ लाख रुपैयाँ खुद नाफा वृद्धि गरेको छ । आर्थिक बर्ष २०७४/७५ मा खुद नाफा ६ करोड ३३ लाख ७३ हजार रुपैयाँ रहेको थियो भने आव २०७५÷७६ मा ८ करोड ९१ लाख ७ हजार रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७४/७५ को अन्त्यमा कम्पनीको जगेडा कोषमा ६ करोड १५ लाख ७३ हजार रुयैयाँ रहेको छ । आर्थिक बर्ष २०७५/७६ को अन्त्यमा भने कम्पनीको जगेडा कोषमा १४ करोड ४३ लाख ४४ हजार रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ । यस्तै, जीवन बीमा कोषमा आव २०७४/७५ मा ५ करोड ११ लाख ६२ हजार तथा आव २०७५/७६ मा २२ करोड २८ लाख २६ हजार रुपैयाँ रहेको देखिन्छ । आर्थिक बर्ष २०७४/७५ मा कम्पनीको आम्दानी ११ करोड ५३ लाख ७० हजार रुपैयाँ थियो भने आव २०७५/७६ मा ११ करोड ६३ लाख ६१ हजार रुपैयाँ छ । विमाङ्कीय मूल्याङ्कन र सो पश्चात आउने प्रतिफलले सेयर आम्दानी तथा नेटवर्थ सबैमा परिवर्तन हुने तथा नयाँ बोनश दर कायम हुने कम्पनीले जनाएको छ । कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ ।

चट्याङ लागेर ६१ भेडा मरे, १० लाख बराबरको क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ खयरमा चट्याङ लागेर भेडा मर्दा रु १० लाख मूल्य बराबरको क्षति पुगेको छ । शुक्रबार राति ११ः३० बजे परेको चट्याङ लागेर खर्कमा बास बसेका ६१ वटा भेडा मरेका छन् । करिब रु १० लाख मूल्य बराबरको क्षति पुगेको कृषकसमेत रहेका वडा सदस्य राजेश तिलिजा पुनले जानकारी दिएका छन् । सबैभन्दा धेरै तिलिजाका २६ वटा भेडा मरेका छन् । लालवीर तिलिजा, मिनबहादुर गुरुङ, टिकजित तिलिजा, यामबहादुर पाइजा, डिलप्रसाद शेरपुञ्जा र कमल तिलीजाका भेडा पनि मरेका छन् । एक वटा भेडाको मूल्य रु १५ हजारदेखि रु २५ हजार छ । सबै कृषकका भेडालाई गोठालाले एउटै खर्कमा राखेका थिए । घार प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल गएको छ । पाउद्वार गाउँदेखि खयर पुग्न करिब १२ घण्टा उकालो हिँड्नुपर्छ । पीडित कृषकले क्षतिपूर्ति र घुम्ती गोठमा पालिने भेडाबाख्राको पनि बीमा सुविधा हुनुपर्ने माग गरेका छन् । रासस

औषधि व्यवसायी सङ्घको अध्यक्षमा निर्वाचित भए पन्त

चिप्लेढुंगा । नेपाल औषधि व्यवसायी सङ्घ जिल्ला कार्यसमितिको अध्यक्षमा विक्रम पन्त निर्वाचित भएका छन् । पन्तले प्रतिष्पर्धी सञ्जीव देवकोटा क्षेत्रीलाई पराजित गरी प्रथम अधिवेशनबाट अध्यक्ष बनेका हुन् । शनिबार राति सम्पन्न मतदानबाट पन्तको पक्षमा १४५ र प्रतिष्पर्धी देवकोटाको पक्षमा १३२ मत परेको थियो । सङ्घको उपाध्यक्षमा धीरज गौतम, महासचिवमा पूर्णबहादुर बस्नेत ‘काजी’, कोषाध्यक्षमा मिलन श्रेष्ठ, सचिव निराजन रेग्मी र उपकोषाध्यक्षमा विक्रमराज पहारी निर्वाचित भएका छन् । त्यसैगरी तीन सदस्यमा सुमन तिवारी, आशा आले रानामगर र दुर्गाप्रसाद अधिकारी निर्वाचित भएका हुन् । यसअघि सङ्घको उद्घाटनसत्रमा गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले औषधि व्यवसायी नाफामुखी मात्र हुन नहुने भन्दै सामाजिक दायित्वमा ध्यान दिन आग्रह गरेका थिए । उनले नागरिकको लागि एकीकृत स्वास्थ्य अभियानबाट बजेटको व्यवस्था गरेको जानकारी दिएका थिए । औषधि व्यवसायी सङ्घ गण्डकी अञ्चलका अध्यक्ष रामबहादुर केसीले प्रादेशिक संरचनाअनुसार सङ्घले आफ्नो क्षेत्र विस्तार गरेको बताएका छन् । व्यावसायिक हकहितको पक्षमा ऐक्यबद्ध भएर सामाजिक उत्तरदायित्व बहन गर्दै सङ्घ अघि बढ्ने उनको भनाइ थियो । रासस

ज्योति लाईफले कमायो १२ करोड ४६ लाख नाफा

काठमाडौँ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक बर्ष २०७५/७६ को वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले आर्थिक वर्ष २०७४/७५ भन्दा आव २०७५/७६ मा आउँदा ११ लाख ३६ हजार रुपैयाँ खुद नाफामा बढाएको छ । आर्थिक बर्ष २०७४/७५ मा खुद नाफामा १२ करोड ३५ लाख ९६ हजार रुपैयाँ रहेको थियो भने आव २०७५÷७६ मा १२ करोड ४६ लाख ३२ हजार रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ । आर्थिक वर्ष २०७४/७५ को अन्त्यमा कम्पनीको जगेडा कोषमा ११ करोड ९९ लाख २१ हजार रुयैयाँ रहेको छ । आर्थिक बर्ष २०७५÷७६ को अन्त्यमा भने कम्पनीको जगेडा कोषमा२३ करोड २० लाख ९० हजार रुपैयाँ रहेको छ । यस्तै, जीवन बीमा कोषमा आव २०७४÷७५ मा १५ करोड २३ लाख ५३ हजार तथा आव २०७५/७६ मा ७२ करोठ ८८ लाख ३७ हजार रुपैयाँ रहेको छ । आर्थिक बर्ष २०७४/७५ मा कम्पनीको आम्दानी १८ करोड ७२ लाख ४८ हजार रुपैयाँ थियो भने आव २०७५/७६ मा१६ करोड ६८ लाख ३६ हजार रुपैयाँ रहेको छ । ज्योति लाईफको प्रति सेयर आम्दानी ८.०९ रहेको छ भने प्रति सेयर नेटवर्थ ११६.७५ रहेको वित्तीय विवरणमा उल्लेख छ । कम्पनीको चुक्ता पूँजी १ अर्ब ५४ करोड रुपैयाँ नै कायम राखेकोे छ ।

मुक्तिनाथ रेमिटको ‘७६ साल ७६ उपहार, चाडपर्वसंग खुशीको वहार’, १ भाग्यशालीलाई स्कुटी

काठमाडौँ । मुक्तिनाथ विकास बैंक अन्तर्गत रहेको मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी ‘७६ साल ७६ उपहार, चाडपर्वसंग खुशीको वहार’ अभियान सञ्चालन गरेको छ । भदौ १ गतेदेखि कात्तिक ३० गतेसम्म लागूहुने गरी रेमिट्यान्स (विप्रेशण) केन्द्रित अभियानअन्तर्गत तोकिएको अवधिभित्र मुक्तिनाथ रेमिटबाट पैसा पठाउने वा कुनै पनि रेमिट्यान्स मार्फत पठाएको रकम मुक्तिनाथ विकास बैंकबाट लिने ग्राहकहरु मध्यबाट भाग्यशाली विजेताहरुलाई विभिन्न ७६ पुरस्कारहरु वितरण गरिनेछ । ७६ पुरस्कारहरु मध्ये २५ जनालाई ब्लूटुक स्पीकर, २० जनालाई प्रेसर कुकर, १५ जनालाई स्मार्ट मोबाइल सेट, ७ जनालाई ३२ ईञ्चको टीभी(स्मार्ट एचडी), ५ जनालाई २ सय लिटरको फ्रिज, ३जनालाई ल्यापटप, १ जनालाई स्कुटी वितरण गरिनेछ । भाग्यशाली विजेताहरुको घोषणा बैंकका ब्राण्ड एम्बेस्डर सीताराम कट्टेल(धुर्मुस) र कुञ्जना घिमिरे(सुन्तली) बाट मंसिर १५ गते आईतबार ३ बजे विकास बैैंकको फेसबुक पेज मार्फत लाइफ गरिने जनाइएको छ । बैंकले अभियानबाट अत्याधिक विप्रेशण कारोबार गर्ने लक्ष्य राखेको छ ।

रुग्ण आयोजना संचालनपछि ७८ प्रतिशत जनसंख्यामा विद्युत पहुँच, ‘अब इन्डक्शन चूलो किनोस्’

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ७८ प्रतिशत नेपाली जनतामा विद्युत सेवा पुर्याएको छ । अझै २२ प्रतिशत जनसंख्यामा विद्युत पहुँच पुग्न वाँकी रहेको प्राधिकरणले जानकारी दिएको छ । नेपाल विद्युत प्राधिकरण ३५ वर्ष प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अबको २ वर्षमा सबै नेपालीले विद्युत उपयोग गर्न पाउने बताउँदै इन्डक्शन चूलो किन्न सुझाएका छन् । ‘७८ प्रतिशत जनसंख्यामा विद्युत पहुँच पुगिसक्यो, वाँकी २२ प्रतिशतमा पनि २ वर्षभित्र पुग्ने योजना सुनाउँदै उनले ग्यासमा खाना पकाउन भन्दा विजुलीमा सस्तो पर्ने बताए । ‘घरमा विद्युतीय उपकरण (चूलो) प्रयोग गर्न भने उपभोक्ताले १५ एमपीएर क्षमताको मिटर जडान गर्नुपर्छ,’ उनले भने ‘अहिले भइरहेको ५ एमपीएर क्षमताको मिटरबाट खाना पकाउने उपकरण प्रयोग गर्न सकिदैन । यसका लागि आम उपभोक्ताले सो क्षमताको उपकरण जडान गर्न समेत उनले सुझाए । इतिहासमै पहिलो पटक सात अर्ब रुपैयाँभन्दा बढी मुनाफा गरेको प्राधिकरणको चार वर्षअघिसम्म ३४ अर्ब ६० करोड कुल संचित नोक्सानी थियो । प्राधिकरणले सो नोक्सानी गएको आवसम्म १५ अर्ब २२ करोड रुपैयाँमा झारेको छ । पछिल्लो समय ६० मेगावाटको माथिल्लो त्रिशुली ३ए, १४ मेगावाटमो कुलेखानी तेस्रोलगायतका आयोजना र १३२ केभीकोक कावेली करिडोरको प्रसारण लाइन समेत गरी ३८ वटा रुग्ण बनेका आयोजना सम्पन्न भएको समेत घिसिङले बताए । हाल प्राधिकरण, निजी क्षेत्र र भारतबाट गरिएको विद्युत आयात समेत गरी प्राधिकरणको प्रणालीमा कुल ७,५५१ मेगावाट रहेको छ । यो परिमाण गएको आवकोभन्दा सात प्रतिशतले बढी हो । वार्षिक उत्सव कार्यक्रममा बोल्दै घिसिङले पछिल्ला वर्षमा विद्युत उत्पादन बढ्नुका साथै चुहावट समेत नियन्त्रण भएकोले अब विद्युतलाई अन्य ऊर्जाको विकल्पका रुपमा पनि प्रयोग गर्न सकिने बताए । कार्यक्रममा उनले खाना पकाउने एलपीजी ग्याँसभन्दा विद्युतीय उपकरण प्रयोग गर्दा सस्तो पर्ने समेत बताए । लोडसेडिङको अन्त्यपछि पेट्रोलियम आयातमा कमी आएकोले वैदेशिक मुद्रा बचत भएको उनले बताए । हाल नेपालमा वार्षिक करिब दुई खर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात भइरहेको छ । सरकारले देशलाई विद्युतमा आत्मनिर्भर बनाएर निर्यातसम्म गर्ने योजना सहित ५ वर्षभित्र ५ हजार र १० वर्षमा १५ हजार विद्युत उत्पादन गर्ने लक्ष्य लिएर अघि बढेको छ ।

मकवानपुरगढीको विकास निर्माणमा प्रदेश ३ सरकारको पाँच करोड

हेटौंडा । गत आर्थिक वर्षमा मकवानपुरगढी गाउँपालिकाले प्रदेश नं ३ सरकारमार्फत रु पाँच करोड २० लाख बराबरको विकास निर्माण गरेको छ । आर्थिक वर्ष २०७५/७६ का लागि प्रदेशसरकारले मकवानपुरगढी गाउँपालिकालाई रु पाँच करोड ३७ लाख उपलब्ध गराएको थियो । उक्त रकममध्ये ऋषेश्वर गुफा संरक्षण तथा पर्यटकीय क्षेत्र निर्माणमा रु एक करोड, शहीद रुद्र स्मृति उद्यान निर्माणमा रु ८० लाख, मकवानपुरगढी दरबार क्षेत्रमा गोलघर निर्माणमा रु ५० लाख, मकवानपुरगढी दरबार जाने बाटो निर्माणमा रु ३० लाख, दरबार जीर्णोद्वार तथा पुनःनिर्माणमा रु ४० लाख, पिप्ले–गढी मोटरबाटो निर्माणमा रु ५० लाख विनियोजन गरिएको थियो । यसैगरी, खानेपानी आयोजनामा रु ५० लाख, सामारी पुल–रानीशेरा पर्यटकीयमार्ग निर्माणमा रु ३० लाख, शहीद बासुदेवमार्ग निर्माणमा रु ५० लाख उपलब्ध गराइएको थियो । त्यसैगरी, पाँच वर्षमुनिका बालबालिकाको पोषण सुधार तथा स्वास्थ्य संस्था सुशासन अभिवृद्धि, पूर्ण संस्थागत प्रवद्र्धन तथा प्रसूति केन्द्र निर्माण, स्वास्थ्य संस्था अभिवृद्धि र महिला स्वास्थ्य स्वयंसेविकालगायत स्वास्थ्य कार्यक्रमा रु ११ लाख उपलब्ध गराइएकामा सबै पूर्वाधार सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर परियारले जानकारी दिएका छन् । एम्बुलेन्स एम्बुलेन्स खरिदका लागि रु १६ लाख छुट्याइएकामा एम्बुलेन्स भने खरिद हुन नसकेको उनको भनाइ थियो । कृषि उत्पादनमा फड्को मार्दै मकवानपुरगढी गाउँपालिका व्यावसायिकरूपले आधुनिक कृषितर्फ उन्मुख हुन थालेपछि उत्पादनसमेत वृद्धि हुँदै गएको छ । कृषिबाटै समृद्ध हुने उद्देश्यले यसलाई आधुनिकीकरण गरी उत्पादन वृद्धि गर्ने लक्ष्य लिएको गाउँपालिका अध्यक्ष विदुर हुमागाईंले जानकारी दिएका छन् । प्रदेश सरकारको सहयोगमा माटो तथा गोबर परीक्षण केन्द्र सञ्चालनको तयारी गर्नाका साथै पशु आहाराका लागि दाना उद्योग सञ्चानको तयारी भइरहेको उनको भनाइ थियो । दूध उत्पादनको पकेट क्षेत्रको रुपमा रहेको यस गाउँपालिकामा सहकारीमार्फत मात्रै दैनिक १० हजार लिटर दूध सङ्कलन हुने जनाइएको छ । यसबाट मासिक रु एक करोड ५५ लाख भित्रिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर परियारले जानकारी दिएका छन् । उक्त गाउँपालिकामा हाल ३० ठूला गाईपालन केन्द्र सञ्चालन हुँदै आएको छ । थोरै गाई तथा भैँसीपालन गर्ने किसान अत्याधिक रहेपनि उनीहरुको अभिलेख भने नगरिएको बताइएको छ । मालभोग जातको केरा अधिक उत्पादन हुने यस क्षेत्रमा आधुनिक खेती प्रणालीमार्फत दैनिक लाखौँको तरकारीसमेत बाहिरिने स्थानीय अगुवा किसान बताउँछन् । यसैगरी राज्मा, बोडी, मास, सिमी, भटमासजस्ता मौसमी गेडागुडी तथा विभिन्न प्रकारका मौसमी एवं बेमौसमी तरकारी यहाँ प्रशस्त उत्पादन हुने अधिकृत परियारले बताएका हुन् । रासस

१८ अर्ब १० करोड रुपैयाँको फलफूल आयात, अघिल्लो आवभन्दा ४ अर्बको बढी

काठमाडौं । नेपालमा अघिल्लो आर्थिक वर्ष भन्दा गत २०७५/७६ मा ४ अर्ब बढीको फलफूल आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५/०७६ मा गत अर्थिक वर्षमा मात्रै १८ अर्ब १० करोड ६१ लाख २५ हजारको फलफूल आयात भएको छ भने अघिल्लो आवमा १४ अर्ब ६९ करोड २१ लाख ११ हजार रुपैयाँ बराबरको फलफूल आयात भएको थियो । फलफूल आयातबाट सरकारले आव २०७५/७६ मा ५१ करोड २४ लाख २६ हजार राजस्व उठाएको छ । नेपालमा केरा, स्याउ, नास्पाती, अम्बा, सुन्तला, अनार, अंगुर, मौसम, खर्वुजा, तर्वुजा मेवा र आँप लगाएतका फलफूल विभिन्न देशबाट आयत हुने गरेको छ । स्याउ आयातबाट मात्रै सरकारले २६ करोड ५५ लाख ४७ हजार राजस्व उठाएको छ । सबैभन्दा धेरै स्याउ भारतबाट आयात भएको छ । भारतबाट मात्रै ३ अर्ब ६५ करोड ७४ लाख ७ हजारको ७३ अर्ब ५ करोड ५२ लाख ४० हजार ४०७ केजी स्याउ आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । विभागको तथ्याङ्क अनुसार ७७ करोड ३५ लाख ३५ हजारको १ करोड ७९ लाख ७५ हजार ६६८ केजी अम्बा आयात भएको छ । कृषि मन्त्रालयका सहप्रवक्ता प्रदीपचन्द्र भट्टराईले नेपालमा फलफूलको उत्पादन नै कम हुने भएको कारणले आयात वृद्धि हुँदै गएको बताए । उनले भने-‘नेपालमा ठूलो भोलुममा फलफूल उत्पादन गर्दा मात्रै विदेशबाट आयात कम हुन्छ ।’ नेपालमा उत्पादन हुने आँपले र सुन्तलाले तीन–तीन महिना र नेपालमा उत्पादन हुने केराले करिब चार महिनाको आन्तरिक माग धान्छ । त्यसभन्दा बाहेकको समयमा विदेशबाट नै आयत हुने गरेको उनले बताए । स्वदेशी भन्दा विदेशी फलफूल कै माग बढी कुलेश्वरमा फलफूल मन्डी सञ्चालक गरिरहेका रामकृष्ण घिमिरेका अनुसार नेपालमा उत्पादन भएको फलफूलहरु भन्दा पनि विदेशबाट आयत हुने फलफूल नै व्यापारीले खोज्ने गरेका छन् । विदेशबाट आयात हुने फलफुल नेपालमा उत्पादन भएको भन्दा सस्तो पर्ने भएकाले पनि विदेशी फलफूलकै माग बढी छ–उनले भने । भारत घर भई काठमाडौं बसेर साइकलमा फलफुल बेच्ने ठाकुर अन्सारी नेपाली फलफूल बेचेर भन्दापनि भारतबाट आएको फलफूल बेचेर धेरै फाइदा हुने बताउँछन् । उनले साइकलमा घरघरै डुलाएर फलफूल व्यापार गरी मासिक ४० हजार कमाई गर्ने गरेका छन् ।