सवारी साधनको कुम्भ मेला भदौ १० देखि, ९५ वटा ब्राण्ड एकै स्थलमा
काठमाडौं । नाडा अटोमोबाइल्स् एशोसियशन अफ नेपालले यही भदौ १० देखि सवारीसाधनहरुको कुम्भ मेला ‘नाडा अटो शो २०१९’ आयोजना गर्ने भएको छ । नाडाले आइतबार काठमाडौमा पत्रकार सम्मेलन गरेर भदौ १० गतेदेखि १५ गतेसम्म भृकुटीमण्डपमा अटो शो गर्ने जानकारी दिएको हो । अटो शोमा १६० वटा स्टलहरु र ब्लकहरुमा ९५ ब्राण्डका सवारी साधन प्रदर्शन र बिक्री वितरण गरिने छ । २३ वटा ब्राण्डका चार पाङ्ग्रे, १९ वटा ब्राण्डका दुई पाङ्ग्रे, १२ वटा ब्राण्डका लुब्रिकेन्ट, ९ वटा ब्राण्डका टायर, ५ वटा ब्राण्डका ब्याट्री, १४ वटा ब्राण्डका पार्टपूर्जा एवम् ग्यारेज उपकरण तथा १३ वटा वित्तीय संस्थाहरुको स्टल रहने छ । नाडाका अध्यक्ष शम्भुप्रसाद दाहालले नाडा अटो शो सबैको उत्सव भएकोले यसलाई सबैले महत्व दिएको बताए । नाडा अटो शो आधुनिक हुँदै गएको र अघिल्लो वर्ष ७१ वटा स्टल भएकोमा यो वर्ष ९५ वटा स्टल रहने बताए । नाडा अटो शोका संयोजक निराकर श्रेष्ठले यस वर्ष मेलामा आउने आगन्तुकहरुलाई मध्य नजर गरी अस्थाइ आकाशे पुलको निर्माण गरिने बताए । अटो शोमा नयाँ र पुराना ५ वटा ब्रान्डका विद्युतीय र हाइब्रिड गाडीहरु रहने बताए । यस संकरणको मुख्य प्रायोजक शीर्ष सर्भो क्लास लुब्रिकेन्ट्स रहेको छ । नाडाले दशैं आउन एक महिना अगाडि गर्न लागिएको अटो शोमा गाडीका नयाँ मोडलहरु सार्वजनिक गरिने तथा खरिदकर्ताहरुलाई विभिन्न छुट दिनेछ । ७५ हजार दर्शकले अवलोकन गर्ने नाडाको अनुमान छ । प्रदर्शनीमा वित्तीय संस्था, नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस, लुब्रिकेन्टस, टायर, ग्यारेज उपकरण, व्याट्री तथा अन्य एशोसेरिजहरूको सहभागिता रहने छ । जसमा नेपालमै उत्पादित सामाग्रीहरू समेत प्रदर्शनीमा रहने छन् । ओमेगा अटोमोबाइल्सको प्रायोजनमा नाडा जी पी एक्स जेन्टलमेन २०० सीसी क्षमाताको मोटर साइकल टिकटको लक्की ड्र गरी एक जना आगन्तुकलाई उपहार दिने व्यवस्था गरिएको छ ।
३५ प्रतिशत बोनस सेयर वितरण गर्ने ग्लोबल आईएमई लघुवित्तको घोषणा
काठमाडौँ । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई ३५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । साउन ३२ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ३५ प्रतिशतले हुन आउने ३ करोड ८६ लाख ६० हजार १ सय २५ रुपैँया बराबरको बोनस सेयर वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेपछि साधारण सभाले पारित गरेपछि बोनस सेयर वितरण गर्ने प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव किरण कुँवरले जनाएका छन् ।
भक्तपुरमा अवैध बनेका ३०० घर टहरा भत्काइयो
भक्तपुर । चाँगुनारायण नगरपालिकाले नगरकोट सडकको दायाँबायाँ सामुदायिक वन क्षेत्र अतिक्रमण गरी बनाएको घर टहरा आज डोजर लगाएर भत्काएको छ । डोजर लगाएर अतिक्रमण गरी अवैधरुपमा बनाएको ३०० वटा घर टहरा भत्काउन गएको डोजरलाई घरटहरा सञ्चालकले अवरोध गरेपछि प्रहरी र सञ्चालकबीच झडप भएको हो । नगरपालिका, वन कार्यालय, जिल्ला प्रशासन र प्रहरी समेतको निर्णयबाट अतिक्रमण गरी बनाएका घर टहरा भत्काउने क्रममा अवरोध गरी ढुङ्गा हान्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । प्रहरीले केहीबेर लाठी प्रहार गरेपछि अवरोध गर्न गएको भीड तितरवितर भएको थियो । त्यसपछि स्थानीयले सडकका बीचमा टायर बालेर केहीबेर अवरोध पुर्याएका थिए । वन क्षेत्रमा अवैधरुपमा निर्माण गरी सञ्चालन भएको २० वटा व्यावसायिक घरटहरा एक महिना अगाडि नगरपालिकाले भत्काएको थियो । त्यसपछि नगरपालिकाले पटकपटक सूचना जारी गर्दा पनि घर टहरा भत्काउन अटेर गरेपछि नगरपालिकाले आज डोजर लगाएर भत्काएको हो । नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले यहाँका घरटहरा हटाउन १० वर्षअघिदेखि नै निर्णय भए पनि कार्यान्वयन नभएको र अहिले त्यसलाई कार्यान्वयन गरेको बताएका छन् । नगरपालिका क्षेत्रमा सामुदायिक वन र सडकसमेत अतिक्रमण गरी बनाएका घर टहरामा रेष्टुरेष्ट एवं खाजा घरलगायत विभिन्न व्यवसाय सञ्चालन हुँदै आएपछि नगरपालिकाले आफैं भत्काउन पटकपटक सूचना जारी गर्दा पनि नभत्काई अटेर गरेपछि आज डोजर लगाएर भत्काएको उनले बताएका हुन् । व्यवसायीले वन क्षेत्र अतिक्रमण गरी घरटहरा बनाएको, व्यवसाय दर्ता नगरेको र करसमेत छली गर्दै आएको भन्दै स्थानीय बासिन्दाले अवैध घरटहरा भत्काउन माग गर्दै आएका थिए । नगरकोट बजार क्षेत्रमा काठमाडौँ, भक्तपुर र काभ्रेपलाञ्चोकमा समेत गरी करिब ३०० घरटहरा बनेको जग्गा अतिक्रमण गरी बनेका छन् । नगरकोटमा भक्तपुरतर्फको अवैध घरटहरा भत्काएपछि काभ्रेतर्फको घरटहरा भत्काइने भएको छ । रासस
आशा लघुवित्तद्वारा १२ प्रतिशत सेयर लाभांश दिने घोषणा
काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई १२ प्रतिशत सेयर लाभांश दिने घोषणा गरेको छ । साउन ३१ बसेको कम्पनी सञ्चालक समितिको बैठकले आव २०७५/७६ को नाफाबाट चुक्ता पूँजीको १२ प्रतिशतले हुन आउने २ करोड ४८ लाख ८८ हजार रुपैयाँ बराबरको सेयर लाभांश वितरणको प्रस्ताव गर्ने निर्णय गरेको हो । राष्ट्र बैंकबाट स्वीकृति पछि साधारण सभाले पारित गरेपछि सेयर लाभांश वितरण हुने कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद दुलालले जनाएका छन् ।
१५ प्रतिशत नगद लाभांश दिने नेपाल एग्रो लघुवित्तको घोषणा
काठमाडौँ । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई १५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । कम्पनी सञ्चालका समितिको साउन ३२ गते साँझ बसेको बैठकले चुक्ता पूँजीको १५ प्रतिशतले हुन आउने रकम रु. ७४ लाख ६६ हजार ६ सय ७० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । राष्ट्र बैंकबाट स्वीकृति पछि साधारण सभाले पारित गरेपछि मात्र नगद लाभांश वितरण गरिने प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव तेजेन्द्र शर्मा लम्सालले जनाएका छन् ।
मनोहर माविको नयाँ भवन उद्घाटन, साढे १ करोडको लागतमा सम्पन्न
काठमाडौं । टोखा नगरपालिकास्थित मनोहर माविको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । नेपाल सरकार, स्थानीय तह र अभिभावकको चन्दा सहयोगबाट निर्मित सो भवनको नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले आज विद्यालयमा आयोजित कार्यक्रमबीच उद्घाटन गरेका हुन् । नगर प्रमुख अधिकारीले सामुदायिक विद्यालयलाई गुणस्तरीय र पूर्वाधार सम्पन्न बनाउन आफूहरुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । विनाशकारी भूकम्प जानुअघि निर्माण शुरु भएको सो १२ कोठे चारतले भवन कूल रु एक करोड ६९ लाख ९२ हजार लागतमा निर्माण सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक वासुदेव अधिकारीले जानकारी दिए । उद्घाटनका अवसरमा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोल, काठमाडौँ जिल्ला शिक्षा समन्वय एकाइका प्रमुख नन्दलाल पौडेल, वडा नं १० का अध्यक्ष मधुसुदन पाण्डेलगायतले विद्यालयको थप प्रगतिको कामना गरेका छन् । विसं २०१९ मा स्थापित सो विद्यालयमा हाल नर्सरीदेखि कक्षा १२ सम्म ९८५ विद्यार्थी र ५२ शिक्षक कार्यरत छन् । रासस
कतै दोब्बर, कतै आधा पनि उठेन राजश्व
रुकुमपूर्व । जिल्लास्थित स्थानीय तहले कतै लक्ष्यभन्दा दोब्बर राजश्व सङ्कलन गरेका छन् भने कतै लक्ष्यको आधा पनि राजश्व सङ्कलन गर्न सकेका छैनन् । रुकुमपूर्वमा सिस्ने गाउँपालिकाले लक्ष्यभन्दा दोब्बर राजश्व सङ्कलन गर्न सफल भएको छ । पुथा उत्तरगङ्गा गाउँपालिकाले भने लक्ष्यको आधा पनि राजश्व सङ्कलन गर्न नसकेको हो । रु ३६ लाख ७७ हजार राजश्व सङ्कलन गर्ने लक्ष लिएकोमा सिस्ने गाउँपालिकाले रु ७५ लाख ६ हजार ६०० राजश्व सङ्कलन गरेको जनाएको छ । यसरी, गाउँपालिकाले लक्ष्यभन्दा १०४ प्रतिशत बढी राजश्व उठाएको प्रमुख प्रशासकीय अधिकृत विमला रोकाले जानकारी दिएका छन् । गाउँपालिकाका विभिन्न वडाबाट गरी रु ३७ लाख पाँच हजार ८० सङ्कलन भएको छ । गत आर्थिक वर्षमा बालुवा, जडीबुटी, मालपोत कार्यालयबाट राम्रो राजश्व सङ्कलन गर्न सफल भएकोले गाउँपालिकाले दोब्बर राजश्व सङ्कलन गर्न सकेको गाउँपालिका अध्यक्ष कुमारी बरालले बताएकी छिन् । गाउँपालिकाले चालु आर्थिक वर्षमा बढाएर रु ७८ लाख राजश्व सङ्कलन गर्ने लक्ष्य राखेको पनि उनले जानकारी दिइन् । गतवर्ष सङ्कलित राजश्वलाई हेरेर चालु आर्थिक वर्षको लक्ष्य तय गरिएको उनको भनाइ छ । गाउँपालिकाले वर्षेनी राजश्व सङ्कलनलाई बढाउँदै लगेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७४र७५ मा १८ लाख ३० हजार २९४ राजश्व सङ्कलन गरेको थियो । पुथा उत्तरगङ्गा गाउँपालिकाले भने अर्थिक वर्ष २०७५र७६ मा लक्ष्यको आधा पनि राजश्व सङ्कलन गर्न नसकेको हो । रु एक करोड ८ लाख राजश्व उठाउने लक्ष्य राखेको गाउँपालिकाले जम्मा रु ४५ लाख मात्र राजश्व सङ्कलन गर्न सफल भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले राजश्वको प्रमुख स्रोतका रूपमा यार्सागुम्बालाई लिएको थियो तर, यार्सागुम्बाबाट राजश्व सङ्कलन हुन नसक्दा लक्ष्यअनुरूप राजश्व सङ्कलन हुन नसकेको प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र बुढाथोकीले बताए । गत वर्षमा लक्ष्यअनुरूप राजश्व सङ्कलन हुन नसकेपछि चालु आर्थिक वर्षमा गाउँपालिकाले राजश्वको लक्ष्य ह्वात्तै घटाएको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाले यार्सालाई राजश्वको स्रोतबाट हटाउँदै रु ५० लाखको मात्र लक्ष्य लिएको छ । त्यसैगरी, भूमे गाउँपालिकाले गत आर्थिक वर्ष २०७५र७६ मा ४५ लाख ३० हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा रु ४३ लाख ५३ हजार राजश्व सङ्कलन गर्न सफल भएको छ । गाउँपालिका लक्ष्यको ९६ प्रतिशत राजश्व सङ्कलन गर्न सफल भएको प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिङ श्रेष्ठले जानकारी दिएका छन् । गाउँपालिकाले प्राकृतिक स्रोतसाधनबाट कम राजश्व उठेको बताएको छ । सेवा शुल्क, घरबहाल कर, सिफारिस दस्तुर र मालपोत नै राजश्वका प्रमुख स्रोत भएको प्रशासकीय अधिकृत श्रेष्ठले बताएका हुन् । गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा बढाएर राजश्व रु ४९ लाख २४ हजारको लक्ष्य लिएको गाउँपालिका अध्यक्ष रामसुर बुढामगर बताउँछन्। कर प्रणालीमा सुधार गर्न सकेमा चालु आर्थिक वर्षमा केही सुधार हुनसक्ने अनुमान गरिएको उनको भनाइ छ । यतिमात्र नभएर चालु आर्थिक वर्षमा व्यवसाय रजिष्ट्रेशन र नवीकरण, घर बहाल करमा राजश्व बढ्ने अनुमान गरिएको प्रशासकीय प्रमुख श्रेष्ठले जानकारी दिएका छन् । रासस
नेपाल इन्फ्रास्ट्रक्चर बैंकले शुरु गर्यो लगानी, करुवा सेती हाइड्रोपावरमा ४ अर्ब ६ करोड रुपैयाँ कर्जा प्रवाह
काठमाडौँ । नेपालकै पहिलो पूर्वाधार विकास बैंकको रुपमा स्थापना भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले कास्की जिल्लाको माछापुच्छ्रे र सर्दीखोला गाउँपालिकामा अवस्थित ३२ मेगावाट उत्पादन क्षमता भएको करुवा सेती हाइड्रोपावर परियोजनाबाट लगानी शुरु गरेको छ । बैंकले शुरुवाती रुपमा आफ्नो अगुवाई तथा हिमालयन बैंक लिमिटेडको सहअगुवाई र सानिमा बैंक लिमिटेडको सदस्यता रहेको सहवित्तीयकरण सम्झौता गरी उक्त परियोजनाबाट लगानीको शुरुवात गरेको हो । कुल परियोजना लागत रु. ५ अर्व ८० करोड रुपैयाँ रहेको उक्त परियोजनामा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको अगुवाईमा सहवित्तीयकरण समेत गरी रु. ४ अर्ब ६ करोड रुपैंया कर्जा प्रवाह हुनेछ । देशको पूर्वाधार विकासका परियोजनाहरुमा मात्र लगानी गर्ने उद्देश्य लिई स्थापना भएको बैंकले जलविद्युत्, सौर्य उर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्य लगायतका अन्य विभिन्न पूर्वाधार परियोजनाहरुको पहिचान एवम् आवश्यक अध्ययन सम्पन्न गरिसकेको र उक्त परियोजनाहरुमा निकट भविष्यमै लगानी विस्तार गर्ने बैंकले जनाएको छ ।