विकासन्युज

काञ्जीरोवामा स्टिम प्रशिक्षण

काठमाडौं। कोटेश्वरस्थित काञ्जीरोवा नेसनल माध्यमिक विद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (स्टिम) विषयक दुई दिवसीय प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न गरेको छ। नेपाल रोबोटिक्स सङ्घसँगको सहकार्यमा काञ्जीरोवा नेसनल माध्यमिक विद्यालयद्वारा आयोजित उक्त प्रशिक्षणमा काठमाडौँ उपत्यकाका १८ विभिन्न विद्यालयका २८ विज्ञान र गणित विषयका शिक्षकहरूको सहभागिता रहेको थियो । नेपाल रोबोटिक्स सङ्घ र संयुक्त राज्य अमेरिकाका अन्य केही संस्थाहरूको सहयोगमा विद्यालयमा सञ्चालित स्टिम परियोजनाबाट विगत पाँच वर्षदेख काञ्जीरोवाका विद्यार्थीहरू लाभान्वित हुँदै आइरहेका छन् । विज्ञान र प्रविधिप्रति झुकाव भएका युवापुस्तालाई स्टिमसम्बन्धी नवीन अभ्यास र प्रयोगका बारेमा जानकारी दिई स्टिमको अवधारणाबारे प्रशिक्षित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कान्जिरिवाले जानकारी दिएको छ। प्रशिक्षणमा स्टिम शिक्षा, साजसज्जासम्बन्धी चिन्तन, ड्रोन र यसको सञ्चालन तथा थ्रिडी प्रिन्टिङको प्रयोग, परीक्षण र प्रदर्शनका विषयमा छुट्टाछुट्टै प्रशिक्षण दिइएको थियो । प्रशिक्षणमा सहभागी प्रशिक्षार्थी शिक्षकहरूले कार्यक्रमको विषयवस्तुसँग जोडिएका विभिन्न जिज्ञासाहरू समेत राखेका थिए । प्रशिक्षणलाई सम्बोधन गर्दै संस्थाका कार्यकारी अध्यक्ष कपिलदेव रेग्मीले काञ्जीरोवाले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सङ्घसंस्थासँगको सहकार्यमा स्टिम परियोजना सञ्चालन गर्दै आइरहेको र नेपालमा थ्रिडी प्रिन्टिङ प्रयोगमा ल्याउने पहिलो विद्यालय काञ्जीरोवा हुन पाएकोमा आफूहरूलाई गौरव अनुभूति भएको धारणा राखे । कार्यक्रमको अन्त्यमा प्रशिक्षणमा सहभागी प्रशिक्षार्थी शिक्षक–शिक्षिकाहरूलाई आयोजकका तर्फबाट प्रमाणपत्रसमेत हस्तान्तरण गरिएको थियो ।

बीमा कम्पनीले आर्जन गरे ९५ अर्ब बीमा शुल्क, कस्को कति ?(सूची सहित)

काठमाडौ । नेपालमा बीमा व्यवसाय गर्दै आएका कम्पनीहरुले गत आर्थिक २०७५/७६ मा ९५ अर्ब २५ करोड ४४ लाख बीमा शुल्क आर्जन गरेका छन् । बीमा समितिका अनुसार जीवन बीमातर्फ ७१ अर्ब ४ करोड ८६ लाख रुपैयाँ तथा निर्जीवन बीमा तर्फ २४ अर्ब २० करोड ५८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् । बीमा शुल्क आर्जनमा जीवन बीमा व्यवसायतर्फ नेपाल लाईफ इन्स्योरेन्स पहिलो हुँदा निर्जीवन बीमा व्यवसाय तर्फ भने शिखर इन्स्योरेन्स कम्पनी पहिलो भएको तथ्याङ्कले देखाएको छ । जीवन बीमा तर्फ: जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुतर्फ नेपाल लाईफ पहिलो स्थानमा देखिन्छ भने दोस्रोमा लाईफ इन्स्योरेन्स कम्र्पोरेशन (एलआईसी) देखिन्छ । नेपाल लाईफले २३ अर्ब १४ करोड ९८ लाख रुपैयाँ तथा एलआईसीले १३ अर्ब ३९ करोड २१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । निर्जीवन बीमा तर्फ: यस्तै, निर्जीवन बीमा व्यवसाय गर्दै आएका कम्पनीहरु मध्ये शुल्क आर्जनको हिसाबमा शिखर इन्स्योरेन्स कम्पनी सबैभन्दा पहिलो छ भने दोस्रोमा सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको तथ्याङ्कमा देखिन्छ । शिखर इन्स्योरेन्सले ३ अर्ब ५१ करोड ९३ लाख रुपैयाँ तथा सगरमाथा इन्स्योरेन्सको २ अर्ब १७ करोड ९२ लाख बीमा शुल्क आर्जन गरेको तथ्याङ्कमा उल्लेख छ ।

त्रिवेणी भन्सारमा मालसामानको ‘जाँचपास’ शुरु

कावासोती । गण्डकी प्रदेशलाई भारतसँग जोडने मुख्य नाकाको रुपमा लिइएको त्रिवेणी छोटी भन्सार कार्यालयबाट माल सामानको भन्सार ‘जाँचपास’ शुरु गरिएको छ । छोटी भन्सार कार्यालयमा स्तरोन्नति भएको लामो समयसम्म सवारी ‘जाँचपास’को सेवामात्र दिँदा त्रिवेणी नाकाको गतिविधि शून्यजस्तै रहेको थियो । आइतबारबाट छोटी भन्सार कार्यालय त्रिवेणीबाट मालसामानको भन्सार ‘जाँचपास’ शुरु गरिएको हो । नवलपरासी पूर्व नवलपुरअन्तर्गत पर्ने त्रिवेणी छोटी भन्सार कार्यालयलाई गण्डकी प्रदेशको मुख्य नाकाको रुपमा लिइएको छ । भारतसँग जोडिने त्रिवेणी नाका र चीनसँग जोडिने कोरला नाका समग्र देशको अर्थतन्त्र मजबुत बनाउन महत्वपूर्ण हुने सरकारले बताउँदै आएको छ । यी दुई नाकालाई चीन र भारतलाई जोड्ने सहज नाकाको रुपमा हेरिएकाले पनि त्रिवेणी नाकामा जाँचपास शुरु हुनु महत्वपूर्ण कार्य भएको यहाँका उद्योगी व्यापारीले बताएका छन् । त्रिवेणी नाकालाई छोटी भन्सारको रुपमा स्तरोन्नति गरी ‘जाँचपास’ शुरु गरिएसँगै अब यस नाकामा चहलपहल बढ्ने अपेक्षा गरिएको छ । त्रिवेणी नाकामा ‘जाँचपास’ शुरु गरिएपछि यस क्षेत्रका उद्योगी, व्यापारी, स्थानीयसमेत खुशी भएका छन् । भन्सारको स्तरोन्नति र ‘जाँचपास’ शुरु भएसँगै चहलपहल बढ्ने र विकासले तीव्रता पाउने विश्वास उनीहरुको रहेको छ । “हामीलाई यो मूल भन्सार हुन्छ र यहाँ विकासको सम्भावना बढ्छ भन्ने आशा जागेको छ”, विनयी त्रिवेणी गाउँपालिका–७ त्रिवेणीका स्थानीय विनयकुमार तेलीले भने, “लामो समयसम्म विकास हुन नसकेको यस क्षेत्रको मुहार फेरिन्छ भन्ने छ ।” आइतबार प्रतिनिधिसभा सदस्य तिलक महतले त्रिवेणी छोटी भन्सारबाट भन्सार ‘जाँचपास’को शुभारम्भ गरेको हो । उनले गण्डकी प्रदेशको मुख्य नाकासमेत रहेकाले चाँडै मूल भन्सार बनाउतर्फ सरकार लागि पर्ने बताए । हाल एक पटकमा रु २५ हजारसम्मका सामानको भन्सार गर्न सकिने गरी ‘जाँचपास’ सेवा शुरु गरिएको हो । छोटी भन्सारलाई धेरैजसो स्थानमा रु १० हजारसम्मको मालवस्तुको ‘जाँचपास’ गर्ने सीमा निर्धारण गरिने गरिएको भए पनि त्रिवेणी भन्सारलाई रु २५ हजारसम्मका सामानको ‘जाँचपास’ गर्ने अधिकार प्रदान गरिएको महेशपुर भन्सार कार्यालयका प्रमुख हेमचन्द्र शर्माले बताएका छन् । त्रिवेणी छोटी भन्सार हाललाई महेशपुर भन्सार कार्यालयको मातहतमा रहने र महेशपुर भन्सारकै कर्मचारीले पालैपालो हेर्ने व्यवस्था मिलाएको कार्यालय प्रमुख शर्माले बताए । रासस

यातायात व्यवस्था कार्यालयमा मेगा बैंकको एक्सटेन्सन काउन्टर

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले काठमाडौँको स्वयम्भु ठूलो भर्याङस्थित यातायात व्यवस्था कार्यालयको परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । मेगा बैंकका नायब महाप्रबन्धक तुलसीराम पोखरेल र यातायात व्यवस्थाप कार्यालय ठूलो भर्याङका कार्यालय प्रमुख कमला थापाले एक समारोहबीच संयुक्त रुपमा एक्सटेन्सन काउन्टरको उद्घाटन गरे । योसँगै मेगा बैंकको एक्सटेन्सन काउन्टर संख्या २० पुगेको छ । एक्सटेन्सन काउन्टरको विस्तारपछि यातायात कार्यालयमा राजश्व बुझाउने सेवाग्राहीहरुलाई सहज हुने मेगा बैंकको विश्वास छ । अन्य सरकारी कार्यालयहरुमा पनि यसरी नै एक्सटेन्सन काउन्टर विस्तार गरी सेवा प्रदान गर्ने मेगा बैंकको योजना रहेको छ । मेगा बैंकका उपत्यकासहित देशभर १ सय २ वटा शाखा कार्यालयहरु छन् ।

सिसी क्यामरा प्रभावकारी बन्दैः नाै हजार सवारी चालक परे कारबाहीमा

काठमाडौं । ट्राफिक प्रहरीले सिसि क्यामराको सहयोगमा ट्राफिक नियम उलङ्घन गर्ने आठ हजार ९३९ सवारीसाधनका चालकलाई नियन्त्रणमा लिई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७५/०७६ मा उपत्यकाका विभिन्न स्थानमा ट्राफिक नियम उलङ्घन गर्ने उक्त सवारीसाधनका चालकलाई सिसि क्यामरा फुटेजको आधारमा सम्पर्कमा ल्याई कारवाही गरेको हो । महाशाखाले दिएको जानकारीअनुसार महानगरीय प्रहरी कार्यालय रानीपोखरीको कन्ट्रोल रुमबाट सडकमा खटिएको टोलीमार्फत पाँच हजार ३१४, महानगरीय प्रहरी कार्यालय रानीपोखरीको सिसि क्यामरा फुटेजको आधारमा एक हजार ९९७ र सर्भिलेन्स भेइकल र अन्य क्यामरामार्फत एक हजार ६९ चालकलाई कारवाही गरेको हो । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्त सिसि क्यामराको प्रयोगमार्फत सवारी नियम उलङ्घन गर्ने थुप्रै चालकलाई नियन्त्रणमा लिएर कारवाही गरेको बताउँछन् । “ट्राफिक प्रहरी देख्दा ट्राफिक नियम मान्ने, नदेख्दा ट्राफिक नियम उलङ्घन गर्ने प्रवृत्तिको अन्त्यका लागि सिसि क्यामरा सहयोगी बनेको छ”, उनले भने । यसरी, ट्राफिक नियम उलङ्घनका घटनासँगै महाशाखाले विसं २०७४ माघ २५ देखि सिसि क्यामराको प्रयोगमार्फत सवारीसाधनका चालकलाई कारवाही गर्दै आएको हो । महाशाखाले सिसि क्यामराका अतिरिक्त ड्यासबोर्ड क्यामरा, ग्रोप्रो क्यामरा, बडिवन क्यामरामार्फत पनि कारवाही गर्दै आएको छ । उपत्यकामा १० लाख हाराहारीमा सवारीसाधन सञ्चालनमा रहेका छन् । रासस

व्यस्त सडक नै बन्याे तेलका ट्याङ्करको पार्किङस्थल, जाेखिममा स्थानीयबासी

भद्रपुर । नेपाल आयल निगमको चारआली कार्यालयमा पार्किङस्थलको अभाव भएकाले सदरमुकाम जोड्ने व्यस्त सडक नै तेलका ट्याङ्करको पार्किङस्थल बन्न पुगेको छ । मेचीनगर–१३ चारआलीमा रहेको निगमको कार्यालयमा पेट्रोलियम पदार्थ बोकेका दैनिक ५० वटासम्म ट्याङ्कर भित्रिने गरेका छन् । तेल अनलोड गरिसकेपछि खाली ट्याङ्कर झापाको सदरमुकाम जोड्ने चारआली–चन्द्रगढी सडकमा दिनरात लस्कर लागेर पार्किङ गरिँदै आएका छन् । इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाबाट आउने सवारीसाधन चारआलीको सोही सडक हुँदै चन्द्रगढी जाने गर्छन् तर बाटोभरि ट्याङ्करको अव्यवस्थित पार्किङ हुँदा दुर्घटनाको जोखिम बढेको छ । निगमको कार्यालय परिसर छ बिघाको मात्र छ । साँघुरो परिसर भएकाले निगमभित्रै खाली ट्याङ्करलाई पार्किङको व्यवस्था मिलाउन नसकिएको कार्यालयका सूचना अधिकारी लोकमणि पौडेलले बताएका छन् । तेल अनलोड गरिसकेपछि ट्याङ्करलाई व्यस्त सडक र बस्तीमा पार्किङ गर्न दिन नहुने स्थानीयवासीको माग छ । दिनरात पार्किङ गरिँदा ट्याङ्करबाट निस्कने प्रदूषणयुक्त धुँवाले वातावरण बिग्रिएको, आगलागी र दुर्घटनाको उच्च जोखिम भएको र गाडीका स्टाफले अश्लिल कुरा बोल्ने गरेकाले बालबालिकामा नकारात्मक असर परेको स्थानीय सर्पदंश टोल विकास संस्थाका सचिव हेमराज भट्टराई बताउँछन् । सडकबाट पार्किङ हटाउन पटकपटक माग गर्दा प्रहरी प्रशासनले समेत बेवास्ता गरेको स्थानीयको गुनासो छ । केही वर्ष अघि यसरी नै पार्किङ गरिएको ट्याङ्करमा आगलागी हुँदा त्रास फैलिएको थियो । त्यसबेला बेलैमा आगो निभाइएका कारण धेरै क्षति हुन पाएको थिएन । चारआली–चन्द्रगढी सडकखण्ड झापाको व्यस्त सडकमध्येमा पर्दछ । यही बाटो भएर चन्द्रगढी विमानस्थल र मेची अञ्चल अस्पतालमा सर्वसाधारण यात्रा गर्छन् । ट्याङ्कर पार्किङ हुँदै आएको यही सडक क्षेत्रमा नेपाली सेनाको चारआली गण र सर्पदंश उपचार केन्द्रसमेत रहेको छ । साँघुरो सडकका दुवै किनारमा लस्करै राखिएका ट्याङ्करका कारण जोखिम मोलेर सवारी चलाउनु परिरहेको सो सडकमा मिनी बस चलाउँदै आएका सवारी चालक कनक राजवंशी बताउँछन् । अधिकांश ट्याङ्करका चालकले सडक आसपासका घरमा नै डेरा लिएर बसेका छन् । निगमले उचित पार्किङ स्थानको व्यवस्था गरिदिए सडकमा यसरी अस्तव्यस्तता सिर्जना हुने गरी पार्किङ नगरिने ट्याङ्कर चालकहरु बताउँछन् । रासस

भरतपुरस्थित वाणिज्य बैंकमा आगलागी

भरतपुर । राष्ट्रिय वाणिज्य बैंक भरतपुर महानगरपालिका–१० स्थित चौबीसकोठी चोकमा रहेको भवनमा आज बिहान आगलागी भएको छ । बिहान ७ः३० बजेदेखि लागेको आगो डेढ घण्टामा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिएका छन् । दुई तले सो भवनको आगलागीबाट तल्लो तलाका अधिकांश सामान जलेर नष्ट भएका छन् । शाखा प्रमुखको कार्यकक्ष जलेर ध्वस्त भएको छ । आगलागीबाट भएको क्षतिको यकिन विवरण सङ्कलन भइरहेको छ । भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो । विद्युत् सर्ट भएर आगलागी भएको र महत्वपूर्ण कागजात,पैसाको लकर र सर्बर सुरक्षित रहेको सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताएका छन् । गुगल मोबाइल पसलमा आगलागी यसैगरी चितवनको नारायणगढस्थित लायन्सचोकमा रहेको लायन्स भवनमा आइतबार राति आगलागी भएको छ । आगलागीबाट भवनको भुइ तलामा रहेको गुगल मोबाइल पसलका अधिकांश सामान जलेका छन् । आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन बाँकी छ । भवनको माथिल्लो तलमा भने कुनै क्षति भएको छैन । तार सर्ट भएर आगलागी भएको इलाका प्रहरी कार्यालय नारायणगढले जानकारी दिएको छ । भरतपुर महानगरपालिकाको दमकल, प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए । रासस

आगलागीले प्रभावित सुविसुका सेवा सबै ठाउँमा सुचारु गर्ने प्रयास जारी, ‘केही दिनमै हुन्छ’

फाइल फोटो काठमाडौँ । इन्टरनेट तथा केबल टेलिभिजन प्रदायक कम्पनी सुविसुले कार्यालय बालुवाटारमा साउन २२ गते आगलागी भएर प्रभावित भएको सेवा लगभग सुचारु भएको भएको छ । आगलागीबाट ठूलो क्षति भएपति ग्राहकको सेवामा कुनै कमी आउन नदिने गरी सुविसु काम गरिरहेको छ । सुविसुका एमडी सुधिर पराजुलीका अनुसार क्षति भएका उपकरणहरु व्यवस्थापन गरिरहेको बताए । पराजुलीले भने-‘हामीले बीमा गरेका कारण नष्ट भएको धेरै सम्पत्तीको व्यवस्थापन गर्न त्यति अफ्ठ्यारो नपर्ला ।’ सुविसुले आफ्नो कम्पनीको बीमा शिखर इन्स्योरेन्स कम्पनीमा गराएको थियो । हाल दाबी भुक्तानी प्रक्रियामा रहेको एमडी पराजुलीले बताए । आगलागीबाट ठूलै क्षती भएकाले सबै ठाउँमा सेवा सुचारी हुन केही ढिलाई भएको उनले स्वीकार गरे । ३५ करोड रुपैयाँको सामाग्रीहरुको बीमा गरिएको कम्पनीले जनाएको छ । बीमा कम्पनीले हामीलार्ई अनुसन्धान गरि रहेको छ । पहिलो चरणको इभ्यालुएसन सकिएको छ । अब बाँकी सबै अवस्थाका बारेमा केही समयमा बीमा कम्पनीमा विस्तृत विवरण जाने छ । सोमबार र मंगलबार धुम्बाराही लगायतका क्षेत्रमा सुविसुको सेवा केही प्रभावित भएको थियो ।