विकासन्युज

जनता बैंकद्वारा जनभोजनका लागि प्रेमसागर फाउण्डेसनलाई २ लाख सहयोग

काठमाडौं । जनता बैंकले प्रेमसागर फाउण्डेसन नेपालले संचालन गरेको जनभोजन (फुड फर पिपुल) लाई २ लाख सहयोग हस्तान्तरण गरेको छ । उक्त जनभोजन कार्यक्रमको कार्यालय तसर्पु, दामेचौर र धादिङमा एक कार्यक्रमका बीच जनता बैंकको तर्फबाट प्रेमसागर फाउण्डेसनका उपाध्यक्ष डा. प्रेमराज ढुङ्गेललाई हस्तान्तरण गरेको हो । प्रेमसागर फाउण्डेसनद्धारा संचालित जनभोजन कार्यक्रमले दैनिक ५ सय बालबालिका र करिब १ सय जना बृद्ध आमाबुबाहरुलाई दैनिक बिहानको खान खुवाउदै आएको छ । साथै, धादिङ र मकवानपुरका केही विद्यालयका करिब १५०० बालबालिकालाई दिवा खाजाको कार्यक्रम समेत संचालन गरेको छ । दैनिक करिव रु. ५० हजार रकम बराबरको बिहानी खाना र दिवा खाजाको कार्यक्रम संचालन गर्दै आइरहेको फाउण्डेसनलाई जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्वबाट ४ दिन बराबरको खाना तथा खाजा सहयोग बापत उक्त रकम सहयोग गरेको हो । यसरी, धादिङ र मकवानपुरको सिमानामा पर्ने तसर्पु र आसपासमा रहेका विपन्न बस्तीलाई लक्षित गरी करिब १० वर्ष अगाडि देखि प्रेम सागर फाउण्डेसनले विद्यालय जाने बालबालिकालाई पोषणयुक्त खाना तथा खाजाको व्यवस्था गर्दै आइरहेको छ । उक्त कार्यक्रमको प्रभावले यस क्षेत्रका शत प्रतिशत विद्यार्थी विद्यालय भर्ना भएका र शैक्षिक गुणस्तरमा पनि धेरै सुधार आएको फाउण्डेसनले जनाएको छ ।

स्वस्थ परीक्षण नगरिएको खसीबोका नेपालमा नभित्राउने कृषिमन्त्रीकाे अडान

काठमाडौं । कृषि तथा पशुपन्छी बिकास मन्त्री चक्रपाणी खनालले  स्वस्थ परिक्षण नगरी खसीबोका नेपाल ल्याउन नदिने बताएका छन् । बुधबार काठमाडौमा भएको सार्वजनिक निजी उत्पादक साझेदारी मोडेलमा बधशाला निर्माण सम्बन्धी कार्यक्रममा बोल्दै मन्त्री खनालले भने, मानव स्वास्थ्यमा रोग हुल्ने गरी नेपालमा स्वस्थ परीक्षण नगरी खसीबोका ल्याउन नदिने अडान लिएका हुन् । नेपाल विश्व स्वास्थ संगठनमा गएको राष्ट्र भएकोले खसीबोका आयातमा प्रतिबन्द नलगाएको भन्दै मन्त्री खनालले स्वस्थ र निरोगी खसीबोका मात्र ल्याउन दिने बताए । निरोगिताको प्रमाणपत्रका आधारमा आयात गर्न आग्रह गर्दा केही व्यावसायीले घेराबन्दी गर्न खोजेको मन्त्री खनालको भनाइ छ । दशैमा त देख्लास भनेका छन्, मन्त्री खनालले भने, ‘ केही फरक पर्दैन, केही कम खाइएला नभए कुखुरामा हामी आत्म निर्भर छौ त्यसैमा जोड गर्नु पर्ला भनेको छु ।’ हाम्रो उत्पादन प्रयाप्त भए आयात गर्न नपर्ने भएकोले आफै उत्पादनमा जोड दिएर र स्वस्थकर खान सकिने उनको भनाई छ । बधशाला सार्वजनिक, निजी, उत्पादन साझेदारी मोडल अन्तर्गत संचालित गर्न स्थानीय सरकारहरु विराटनगर, भरतपुर, पोखरा, बुटबल र कोहलपुरसँगको सहकार्यमा ५ वटा निर्माण हुने सहमति भएकाे हाे । कार्यक्रममा उक्त बधशाला निर्माण गर्ने सम्बन्धमा सहमति पत्रमा हस्ताक्षर भएको छ । त्यसका लागि भौतिक संरचना निर्माणका लागि स्थानीय र प्रदेश सरकारबाट ३२ करोड र खसी बाख्रा उत्पादक महिला किसान र मासु व्यवसायीको तर्फबाट २२ करोड भन्दा बढीको सेयर लगानीको प्रतिबद्धता आएको जानकारी दिए ।

सानिमाले ल्यायो वार्षिक धनफिर्ता (अग्रिम भुक्तानी सावधिक) बीमा योजना

काठमाडौँ । सानिमा लाईफ इन्स्योरेन्स लिमिटडले सानिमा वार्षिक धनफिर्ता(अग्रिम भुक्तानी सावधिक) जीवन बीमा योजना शुरु गरेको छ । १६ वर्षदेखि ५५ वर्ष उमेर समूहका जीवन बीमाका लागि योग्य व्याक्तिले यस योजना अन्तर्गत १५ र २० वर्षे अवधिको लागि जीवन बीमा गर्न सकिन्छ । यस योजनामा अधिकतम बीमा समाप्ती उमेर ७० वर्ष रहेको छ । न्युनतम बीमाड्ढ एक लाख रुपैयाँ र अधिकतम बीमाड्ढ आयश्रोतको आधारमा निर्धारणा हुने कम्पनीले जनाएको छ । बीमा सुबिधा रकम पाउने अवस्था १५ वर्ष अवधिको लागि जीवन बीमा गरेमा प्रत्येक वर्ष बीमाको वार्षिकोत्सव मितिमा बीमाड्ढको ६ प्रतिशतका दरले भूक्तानी गरिन कम्पनीले जनाएको छ । त्यसैगरी २० वर्ष अवधिको लागि जीवनबीमा गरेमा प्रत्येक वर्ष बीमाको वार्षिकोत्सव मितिमा बीमाड्ढको ५ प्रतिशतका दरले प्रदान गरिनेछ । यसरी प्राप्त रकमबाट भैपरी आउने सामाजिक गर्जो टार्न, बालबालिकाको शिक्षामा खर्च गर्न र नविकरण बीमाशूल्क भूक्तानी गर्न समेत सहयोग मिल्ने छ । दुवै अवधिको बीमा योजनाअन्तर्गत बीमा समाप्ती मितिमा अग्रीम भुक्तानी गरी बाँकी रहेको बीमाड्ढ र पूरा अवधिको आर्जित बोनस एकमुष्ट प्रदान गरिने छ । कम्पनीका अनुसार बीमा अवधिभित्र बीमालेख चालू रहेको अवस्थामा बीमितको मृत्यू भएमा आग्रिम भुक्तानी गरेको रकम कट्टान गरी सतप्रतिशत बीमाड्ढ र समानुपातिक आर्जित बोनस एक मुष्ट बीमितको इच्छाएको व्यक्ति वा सो नभए बीमा ऐन २०४९को दफा ३८ अन्तर्गतको कानूनी हकवालालाई भुक्तानी गरिनेछ ।

ग्राण्डी अस्पतालमा तिजको अवसरमा भिटामिन-डि परीक्षणमा ५० प्रतिशत छुट

काठमाडौं। तिजको अवसर पारेर ग्राण्डी अस्पतालले भिटामिन-डी टेस्टमा ५० प्रतिशत छुट व्यवस्था गरेको छ। अस्पतालले भाद्र अन्तिम सम्म छुटको व्यवस्था गरेको हो। अस्पतालले परीक्षण शुल्क ३५ सय तोकेको छ। यस अघि यसको शुल्क सात हजार रहेको थियो। परीक्षण भित्र महिला रोगको परामर्श, मधुमेह जाँच, रगत परीक्षण, लिपिड प्रोफाइल अर्थात कोलेस्ट्रोल जाँच, महिलाको पाठेघरको जाँच, अल्ट्रासाउन्ड, थाईरोड परीक्षण गरिनेछ। रमाइलोसँगै अस्पतालले महिलालाई स्वास्थ्यमा बिशेष ध्यान दिन जरुरी रहन सचेत गराउँदै छुटको व्यवस्था गरेको अस्पतालले जनाएको छ। भिटामिन ‘डी’ शरीरका लागि निकै जरुरी छ । यसले शरीरमा क्याल्सियम नियन्त्रित गर्ने काम गर्छ, जसले तन्त्रिकाको कार्य प्रणाली तथा हड्डीलाई मजबुती प्रदान गर्छ । यसले शरीरको रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि गर्छ । शरीरमा भिटामिन डीको कमीको लक्षण देखिने गरी आउँदैन । त्यसैकारण मानिसलाई भिटामिनको कमीका कारण हुनसक्ने रोगहरूबारे सजिलै थाहा पाउँदैनन्। त्यसैले चिकित्सकहरू भिटामिन डीको नियमित चेकजाँच गर्न तथा भिटामिन ‘डी’ युक्त भोजन सेवन गर्न सल्लाह दिने गर्दछन्।

भारतका बाह्य मामिलामन्त्री आइपुगे राजधानी

काठमाडौं । भारतका बाह्य मामिलामन्त्री सुब्रमन्यम् जयशङ्कर नेपालको दुई दिवसीय औपचारिक भ्रमणका सिलसिलामा आज राजधानी आइपुगेका छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठकमा भाग लिन उनी आज बङ्गलादेशको ढाकाबाट राजधानी आइपुगेका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्टकक्षमा परराष्ट्रमन्त्रालयका सचिव शङ्करदास वैरागी र नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले स्वागत गरेका थिए । संयुक्त आयोगको बैठक आजै अपराह्नदेखि प्रारम्भ हुँदैछ । द्विपक्षीय आर्थिक साझेदारीलाई सुदृढ तुल्याउनेतर्फ केन्द्रित रहने उक्त बैठकमा नेपाल–भारत सम्बन्धलाई अझ सार्थक, सुदृढ र नेपालको आर्थिक वृद्धिदरमा टेवा पुर्याउन मद्दत पुुग्ने गरी गहन विचारविमर्श हुनेछ । तीन वर्षपछि हुन लागेको उक्त बैठकमा द्विपक्षीय सम्बन्धको समग्र अवस्थाको पुनरावलोकनका साथै जल, स्थल र हवाई मार्गबाट सम्पर्क सञ्जाल विस्तारका साथै पारस्परिक सम्बन्धमा विश्वास अभिवृद्धिका लागि हरप्रयास हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठकमा विगतमा भएका सहमति र सम्झौताको समीक्षा, नेपाल–भारत बहुआयामिक सम्बन्धका समग्र पक्षमा गहन छलफल हुनुका साथै राजनीतिक सम्बन्ध, सिमाना र सुरक्षा, आर्थिक सहयोग एवं पूर्वाधार, व्यापार तथा पारवहन, ऊर्जा र जलस्रोत, संस्कृति र शिक्षाबारे विचारविमर्श हुनेछ । रासस

झापामा पिउने पानीको उद्योग फस्टाउँदै

भद्रपुर । बोतल र जारको पानीमा उपभोक्ताको रुचि बढेसँगै झापामा करोडौँ लगानीमा ‘पिउने पानी’को उद्योग सञ्चालनमा आएका छन् । ‘मिनरल वाटर’को नाममा खुलेका यस्ता उद्योगबाट उत्पादित प्रशोधित पिउने पानीको बजार निकै फस्टाएको छ । पछिल्लो समय लहरकै रुपमा खुलेका त्यस्ता उद्योगले सरकारले तोकेको मापदण्ड पूरा गरेर जमिनमुनिदेखि झरनाबाट बगेको पानीलाई समेत आधुनिक प्रविधिबाट प्रशोधन गर्दै आएका छन् । उद्योगले सयौँ स्थानीयवासीलाई रोजगारीसमेत प्रदान गरेको छ । बुद्धशान्ति गाउँपालिका–७ मा रु दुई करोड ५० लाखको लगानीमा मीनप्रकाश मैनाली, सागर मैनाली, हरि मैनाली र सुनिल भण्डारीले साझेदारीमा सुनमाई वाटर उद्योग सञ्चालनमा ल्याएका छन् । छ महिना अघिमात्र खुलेको यो उद्योगले इलामको रोङ गाउँपालिकामा रहेको सुनमाई झरनाको पानीलाई प्रशोधन गरेर पिउने पानीको रुपमा उपभोक्ताको ओठसम्म पुर्याउँछ । इलामको रोङ गाउँपालिका–३ मा मुहान रहेको सो उद्योगको दैनिक एक हजार कार्टुन पानी उत्पादन क्षमता भए पनि हाल ६०० देखि ६५० कार्टुन मात्र उत्पादन गरिरहेको सञ्चालक मैनालीले बताए । उनले झरनाबाट उत्पादन हुने पानी यो नेपालको ११ औँ र प्रदेश नम्बर १ को पहिलो भएको दाबी गरे । मैनालीले झरनाबाट खसेको पानीलाई प्रशोधन गरिएको हुँदा यो पानी महँगो, शुद्ध र मीठो हुने दाबी गर्नुका साथै पानीको मूल्य प्रतिकार्टुन रु १४० रहेको जानकारी दिएका छन् । बोतलको एक लिटरदेखि जारमा २० लिटरसम्म उत्पादन भइरहेको सुनमाई वाटर उद्योग प्रालिमा २० जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । हाल झापा, मोरङ सुनसरी, इलाम, पोखरा, काठमाडौँसम्मको बजारमा उपलब्ध यो पानीलाई निकट भविष्यमा विदेशसम्म पुर्याउने लक्ष्य लिएको मैनालीको भनाइ छ । कमल गाउँपालिका–६ मा भवीन्द्र भण्डारीले रु नौ करोडको लागतमा इस्टर्न फुड एन्ड बेभरेज प्रालि सञ्चालनमा ल्याएका छन् । गत हप्तादेखि सञ्चालनमा आएको यो उद्योगले ‘बेला’ नामको शुद्ध प्रशोधित पिउने पानी उत्पादन गर्दै आएको छ । उनले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अनुमति लिएर उच्च गुणस्तरको प्रशोधित पानी उत्पादन गर्न थालिएको बताउँछन् । दैनिक तीन हजार कार्टुन पानी उत्पादन क्षमता भएको उद्योग झापाकै ठूलो पानी उद्योग भएको उनको दाबी छ । पानी शुद्ध छैन भनी जाँच गर्ने आफ्नै ल्याबसहित शुरु भएको यो उद्योगले बोतल र बिर्कोसमेत आफैँ उत्पादन गर्दै आएको छ । उद्योगमा स्थानीय ४० जनाले रोजगारी पाएका छन् । त्यसैगरी, मेची उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष विजय डालमियाले मेचीनगर–६ काँकडभिट्टामा अक्वाटप मकालु पानी उद्योग सञ्चालन गरिरहेका छन् । डेढ वर्ष अघि रु २५ लाखबाट शुरु गरेको उद्योगमा हाल डेढ करोड बढी लगानी भइसकेको उनको भनाइ छ । यसरी, उद्योगले पर्यटन वर्ष सन् २०२० लाई लक्षित गरी ‘पर्यटन वर्ष २०२०’को लोगो अङ्कित मिनी बोतलमा पिउने पानीको उत्पादन भर्खरै थालेको छ । तीन सय एमएलको यो मिनी बोतलको पानी पर्यटन प्रवद्र्धनका लागि उत्पादन गरेको उनले बताए । प्रदेश नंं. १ को १४ जिल्लामा डालमिया ब्रान्डको आफ्नो उत्पादन पुर्याउँदै आएको उद्योगले एक लिटरको बोटलसँगै २० लिटरसम्मको जारमा पिउने पानी बिक्री गर्दै आएको छ । उनले आफ्नो उद्योगमा ४० जनाले रोजगारी पाएको बताएका छन् । उद्योगमा दैनिक एक हजार कार्टुन पानी प्रशोधन क्षमता रहेको छ । कोल्ड जारमा पानी बेच्न झापामा पहिलोपटक आफूले शुरु गरेको दाबी गर्दै डालमियाले बजारमा गुणस्तरीय र सस्तो मूल्यमा पानी बेचिरहेको बताउँछन् । उनले प्रतिकार्टुन रु ११५ र प्रति जार रु २४० मूल्य कायम गरेको जानकारी दिए । यस्तैगरी, झापाको विर्तामोड र दमकमा डेढ दर्जन पानी उद्योग सञ्चालनमा रहेका छन् । दुई वर्ष अघि मात्र पानी व्यवसायी सङ्गठित भए पनि हाल निष्कृय रहँदा मूल्यमा एकरुपता नभएको उद्योगी डालमियाको भनाइ छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भद्रपुरका प्रमुख भरत पुरीले पिउने पानी स्वच्छ र गुणस्तरीय हुनुपर्ने बताउँदै हालसम्म पानी उद्योगमा गएर अनुगमन गर्न जनशक्ति अभाव रहेको बताए । उनले एक अधिकृत, दुई प्राविधिक र एक सहयोगीको दरबन्दी भए तापनि कार्यालयमा हाल आफू एकजना मात्र कर्मचारीले कार्यालयको सबै जिम्मेवारी धान्नु परिरहेको उल्लेख गरे । होटल, हस्पिटलदेखि पैदलयात्रीसम्मले दैनिक रुपमा पिउनका लागि मिनरल वाटर भन्दै पिउने बोतल र जारको पानी यस्तै उद्योगबाट आपूर्ति हुँदै आएको छ । बोतल र जारको पानीको बजार फराकिलो बन्दै गएको देखेपछि उद्योगी यतातिर लगानी गर्न तम्सिएका छन् तर गुणस्तर अनुगमनमा भने सरकारी निकायले ध्यान पुर्याउन सकेको छैन । कतिपय उद्योगले धारा र ट्यबेलको पानीलाई प्रशोधन नगरी सिधै बोतलमा शिलबन्दी गरेको आरोप लाग्ने गरेको हुँदा सरकारी अनुमगनलाई प्रभावकारी बनाउन जरुरी देखिएको छ । रासस

हुण्डाई मोटर्सको ‘ग्रान्ड आई१० नियस’ सार्वजनिक, मूल्य ४ लाख ९९ हजार

नयाँ दिल्ली । हुण्डाई मोटर्सको नयाँ कार ‘ग्रान्ड आई१० नियस’ सार्वजनिक भएको छ । सहरी क्षेत्रका युवा वर्गलाई लक्षित गरेर डिजाईज गरिएको यो कार बोल्ड र स्टाईलिस डिजाइजमा आएको छ । आधुनिक प्रविधियुक्त सुविधाहरु भएको र कारभित्र फराकिलो स्पेस भएकोले यस कारका उपभोक्ता स्मार्ट देखिनुको साथै रोमाञ्चित अनुभूति गर्ने कम्पनीले जनाएको छ । नयाँ कारको शुरु मूल्य ४ लाख ९९ हजार ९९० भारतीय रुपैयाँ रहेको छ भने अधिकतम मूल्य ७ लाख ९९ हजार ४५० भारतीय रुपैयाँ रहेको छ । भारतका सबै प्रदेशमा एउटै मूल्य कायम गरिएको हुण्डाई मोटर्स इन्डिया लिमिटेडले जनाएको छ । भारतमा बनेको यो कार विश्वभरको लागि निर्माण गरिएको हुण्डाई मोटर्स इन्डियाका प्रबन्ध निर्देशक एसएस कीमले बताए । ग्रान्ड आई १० नियस तेस्रो पुस्तको लागि बनाएको र यो कार ह्याचव्याक सेगमेन्टको उत्कृष्ट कार भएको उनले बताए । हालसम्म विश्व बजारमा हुण्डाइका २७ लाख २० हजार वटा गाडी बिक्री भएकाे र भारतकाे कार बजारमा हुण्डाइले १८ प्रतिशतभन्दा बढी हिस्सा लिएकाे उनले जानकारी दिए । ग्राहकको सुरक्षा र सुविधालाई विशेष ध्यान दिई नयाँ फिचरहरु थपेर निर्माण गरिएकोले यस कारको नाम नियस राखिएको हो, जसको अर्थ अझ धेरै हुन्छ । यसमा डुअल फ्रन्ट एयर ब्याग, ईबीडीसहितको एबीएस, हाई स्पिड अलर्ट सिस्टम, रियर पार्किङ सेन्सर र फ्रन्ट सिट बेल्ट रिमाइन्डर अलर्ट यसका विशेषता हुन् । सिट, ढोकाको लक, साइड ग्लास, लाइट आवश्यकता अनुसार मिलाउन सकिने, २०.२५ सीएम टचस्क्रीनको इन्फोटेन्मेन्ट सिस्टम, मल्टिमिडिया इक्विप्टमेन्ट लगायत धेरै नयाँ सुविधा रहेका छन् । ग्रान्ड आई १० नियस दश भेरियन्टमा उपलब्ध छन् । सात ओटा पेट्रोल इन्जिन र अन्य तीन ओटा डिजल इन्जिनमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । याे सेगमेन्टका कार विभिन्न ६ कलरमा उपलब्ध छन् । त्यसका फायरी रेड, पोलार ह्वाइट, ताइफुन सिल्भर, टिटान ग्रे, अक्वा टिल र अल्फा ब्ल्यू रहेका छन् । १.२ लिटरको पेट्रोल इन्जिन भएको कार ११९७ सीसी क्षमताको छ भने १.२ लिटर डिजल इन्जिन भएका कारमा ११८६ सीसी क्षमता छ । कम्पनीले ५ वर्षसम्म वा एक लाख किलाेमिटरसम्मकाे इन्जिन वारेन्टी गरेकाे छ ।

टेलिकमद्वारा दुर्गम क्षेत्रमा बिटीएस प्रणालीमार्फत सेवा सञ्चालन

खाँदबारी । सङ्खुवासभाका दुर्गम क्षेत्रमा नेपाल टेलिकमले चार बिटीएस टावर जडान गरेको छ । मोबाइल फोन नचल्ने दुर्गम क्षेत्रका चार स्थानमा बिटीएस टावर थपिएपछि स्थानीयवासीलाई राहत मिलेको छ । भौगोलिकरूपमा विकट र विद्युत् सेवा नभएका कारणले मोबाइल फोन सेवाबाट बञ्चित स्थानीयवासीलाई सहज भएको हो । दुर्गमको समस्यालाई मध्यनजर गर्दै चार स्थानमा सेवा विस्तार गरिएको टेलिकमका प्रमुख राधारमण भट्टराईले बताएका छन् । टेलिकमले मकालु गाउँपालिका–५ अरुण तेस्रो ड्यामसाइड फयाक्सिन्दा, चिचिला गाउँपालिका–२ इम्चुङ, मादी नगरपालिकाको मावादीन र खाँदबारी–३ को मानेभञ्ज्याङमा टावर जडान गरेको जनाएको हो । पहाडी भू–भागमा धेरैजसो डाँडाकाँडाले छेकिने भएका मोबाइल फोन चल्न नसकेपछि स्थानीयवासीले टावरको माग गरेका थिए । मोबाइल फोन नटिप्ने सभापोखरी गाउँपालिकाको सभापोखरी र स्वाचीमा समेत बिटीएस टावर थप्ने अन्तिम तयारी भइरहेको टेलिकमले जनाएको छ । खाँदबारीमा रहेको टेलिकम शाखाले सङ्खुवासभा र भोजपुरसहित १७ स्थानबाट सञ्चार सेवा प्रवाह गरिरहेको प्रमुख भट्टराई बताउँछन् । अहिले उक्त स्थानहरुमा सौर्य उपकरणका भरमा बिटीएस प्रणालीमार्फतसेवा सञ्चालन गरिएको हो । भोटखोलाको किमाथाङ्कामा रहेको टावर प्रत्यक्ष भिसेट (स्याटेलाइट) मार्फत सञ्चालनमा रहेको शाखाका प्रमुख भट्टराईले जानकारी दिए । भोजपुरको साल्पासिलिछो गाउँपालिकाको कुलुङमा पनि सौर्यबत्तीकै भरमा बिटीएसबाट मोबाइल सेवा प्रवाह गरिरहेको छ । उनका अनुसार जिएसएम आठ, सिडीएमए पाँच र ल्याण्डलाइन सेवा पाँच स्थानबाट सञ्चालन भएका छन् । रासस