विकासन्युज

एक रुपैयाँ वा एक अर्ब जति खाने पनि भ्रष्टचारी, ‘नायब सुब्बालाई रु ६२ करोडको आरोप’

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अहिले एक हजार ५०० भ्रष्टाचारका आरोपका घटनामा विस्तृत अनुसन्धान गरिरहेको छ । ट्रान्सपेरेन्सी इन्टरनेशनल नेपालले आयोजना गरेको ‘सुशासन र राजनीतिक सदाचार’ कार्यक्रममा आयोगका अध्यक्ष नवीनकुमार घिमिरेले आयोगले अहिले ती विषयमा अनुसन्धान प्रक्रिया अघि बढाएको जानकारी दिए । आयोगले गत आवमा आयोगकै इतिहासमा अहिलेसम्म सबैभन्दा बढी ३५१ मुद्दा विशेष अदालतमा दायर गरेको प्रमुख घिमिरेले बताए । ती मुद्दामध्ये ८८ प्रतिशतमा नतिजा सकारात्मक आइरहेको उनको भनाइ छ । झण्डै २०० अनुसन्धानको दायरामा आएको उनले बताए । आयोगको हिरासत खचाखच भइरहेको उनले बताए । उनले भने, “हामीलाई अहिले हिरासत व्यवस्थापान गर्न कठिन भएको छ ।” आयोगले नमूनाका रूपमा ‘नागरिक निगरानी समूह’ गठन शुरु गरेको प्रमुख घिमिरेले बताए । आगामी दिनमा यी कार्यक्रमलाई थप जिल्लामा समेत विस्तार गर्ने योजना रहेको उनको भनाइ छ । आयोगले अहिले गरिरहेको कामप्रति जनताको धारणा बुझ्न सर्वेक्षण गरिरहेको उनले जानकारी दिए । गत वर्षको सर्वेक्षणको नतिजा उत्साहप्रद नभएको उनले बताए । उनले भने, “हामीले त्यसलाई सम्बोधन गरेर आयोगको नयाँ रणनीति बनाउनुपर्ने छ ।” आयोगको आँखामा एक रुपैयाँ वा एक अर्ब जति खाने पनि भ्रष्टचारी भएको उनले औँल्याए । ‘ठूला माछा पक्राउ नपरेको’ भनी सहभागीले गरेको प्रश्नको जवाफमा उनले सानो को र ठूलो को भनेर छुट्याउने आधार नभएको बताए । एक जना नायब सुब्बाले समेत रु ६२ करोड भ्रष्टाचार गरेको आरोप लागेको उनले बताउनुभयो । आयोगले गाउँका किसान सानो रकममा ठगिएको भए पनि त्यसमा अनुसन्धान गरी कारवाही प्रक्रिया अघि बढाउने गरेको उनले स्पष्ट पारे । उनले भने, “एक जना ड्राइभरले पुलिसले प्रतिटिपर रु दुईदुई हजार उठाएको उजुरी गरेपछि हामीले ती प्रहरीलाई अनुसन्धान गरिरहेका छौँ ।” महालेखा परीक्षक टङ्कमणि शर्माले राजनीतिक सदाचार कायम गर्नका लागि राजनीतिक दलले पनि आचारसंहिता बनाएर लाग्नुपर्ने आवश्यकता औँल्याए । वडाध्यक्षले निर्वाचनमा रु एक करोडसम्म खर्च गर्ने भन्ने विषय आइरहेकामा दलहरुले आफूले गर्ने खर्चलाई आचारसहिंतामा पार्नुपर्नेमा उनको जोड थियो । उनले भने, “राजनीतिक दलहरुको आर्थिक संयन्त्रका विषयमा पनि छानबिन र आवश्यक भए कारवाही हुनुपर्छ ।” त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले विश्वविद्यालयमा राजनीतिकरणको असर परेको बताउनुभयो । रेक्टर, रजिष्ट्रारलगायतका पदाधिकारी कुनै पनि निर्णय गर्नु पहिले पार्टीमा सोधेर मात्रै गर्ने परिपाटी बसेको औल्याए । अन्नपूर्ण पोष्ट दैनिकका प्रधानसम्पादक हरिबहादुर थापाले नीतिगत भ्रष्टाचारको परिभाषा अन्योलमा परेको बताए । गलत कुराविरुद्ध आवाज उठाउँदा आफैँ निशानामा परिने चिन्ताले नागरिकले आवाज उठाउन कम गरेको उनको भनाइ छ । ट्रान्सपेरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष खेमराज रेग्मीले भ्रष्टाचारमा राजनीतिज्ञ, कर्मचारी र व्यापारी गरेर तीन पक्षको संलग्नता हुने भएकाले ती सबैलाई अनुसन्धान र कारवाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिए । रासस

महंगिदै डलर, व्यापार घाटा बढ्ने

काठमाडौं । अमेरिकी डलरको भाउ ११५ रुपैयाँ ३ पैसा पुगेको छ । एक महिना अघि ११० रुपैयाँ ३९ पैसा थियो । एक महिनाको अवधिमा भाउ ४ रुपैयाँ ६४ पैसाले बढेर ११५ रुपैयाँ ३ पैसा पुगेको हो । अमेरिका–चीन व्यापार युद्धका कारण डलर मह्गो भएको हो । डलरको भाउ बढ्दा विदेशबाट आउने सामान मह्गो पर्ने हुँदा व्यापार घाटा थप वृद्धि हुन्छ । रेमिट्यान्स भने बढ्छ ।

पाँच वर्षमा वस्तु आयात झण्डै दोब्बरले वृद्धि, ब्यापार घाटा १३ खर्ब २१ अर्ब

काठमाडौँ । बढ्दो व्यापार घाटा न्यूनीकरण गर्दै मुलुकको आर्थिक विकासमा टेवा पुर्याउन सरकारले सक्रियता देखाएको छ । निर्यात प्रवद्र्धन गर्दै आयात प्रतिस्थापनदेखि बन्देजसम्मका उपाय अवलम्बन गर्न सरकारले पाँचवर्षे व्यापार घाटा न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा ल्याएको छ । विभिन्न निकायको एकीकृत तथा समन्वयात्मक प्रयासद्वारा व्यापार घाटालाई कम गर्ने उद्देश्यले ल्याइएको सो कार्ययोजनामा सरकारी संयन्त्रलाई जिम्मेवार बनाइएको छ । कार्ययोजनामा सरकारका विभिन्न १४ निकायले सम्पादन गर्नुपर्ने १९२ वटा जिम्मेवारी तोकिएको छ । स्वदेशभित्र तुलनात्मक लाभ तथा प्रतिस्पर्धात्मक क्षमतकको वस्तुको आन्तरिक उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन गर्ने, कम गुणस्तर र स्वास्थ्यलाई हानी पुर्याउने वस्तुको आयात नियमन गर्ने, नेपाली उत्पादनको गुणस्तर सुधार गरी विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउनेलगायत रणनीति अवलम्बन गरिने कार्ययोजनामा उल्लेख गरिएको छ । पछिल्लो पाँच वर्षमा वस्तु आयात झण्डै दोब्बरले वृद्धि भई रु १४ खर्ब १८ अर्ब पुगेको छ । यसै अवधिमा वस्तु निर्यात रु ८७ अर्बमा सीमित भएको छ । निर्यातको आधार विस्तार हुन नसकेको र आयातमा चाप पर्दै गएकाले यो स्थिति आएको हो । आर्थिक वर्ष २०७५/७६ मा कूल रु १४ खर्ब १८ अर्ब ५६ करोडको वस्तु आयात भएको थियो । जुन कूल आयातको ९३.६ प्रतिशत हो । यस्तै सोही अवधिमा निर्यात ६.४ प्रतिशतअर्थात् रु ८७ अर्ब ११ करोडमा सीमित भएको छ । उक्त वर्ष रु १५ खर्ब १५ अर्ब ६७ करोडको कूल व्यापार हुँदा नेपालले रु १३ खर्ब २१ अर्ब व्यापार घाटा व्यहोरेको थियो । गत आवमा आयात निर्यात अनुपात १ः१४.६ रहेको छ । कार्ययोजनाले आगामी पाँच वर्षभित्र नेपालको निर्यात अनुपात १ः१०.५ कायम गर्ने लक्ष्य लिएको छ । निर्यात वृद्धि, आयात प्रतिस्थापन गरेर आयात अनुपातलाई दबाबमा राख्ने सरकारको लक्ष्य छ । सरकारले केही उत्पादनमा निर्यात अनुदान दिएको भए पनि त्यसले अपेक्षित रुपमा व्यापार घाटा न्यूनीकरणमा योगदान गर्न सकेको छैन । नेपालको व्यापार साझेदार मुलुकले केही नेपाली उत्पादनमा भन्सार महसुल छुट दिए पनि नेपालले त्यसबाट फाइदा लिन सकेको छैन । कार्ययोजनाको कार्यान्वयन गर्ने सन्दर्भमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा वाणिज्य सचिव केदारबहादुर अधिकारीले व्यापार घाटा न्यूनीकरण गर्ने वातावरण सिर्जना गर्न सबैको भूमिका रहेको बताए । व्यापार घाटा न्यूनीकरण गर्ने अभियानमा सबैको साथ र सहयोगको खाँचो औँल्याउँदै उहाँले नीतिगत सुधारको पक्षमा सञ्चार माध्यमको सकारात्मक सहयोगको अपेक्षा गरे । मन्त्रालयका सहसचिव मधुकुमार मरासिनीले नेपाली उत्पादन निर्यातको अपार सम्भावना रहेको औँल्याउँदै समन्वयात्मक ढङ्गबाट अगाडि जानुपर्ने बताए । उपसचिव बुद्धिप्रसाद उपाध्यायले ‘कार्ययोजनाको कार्यान्वयनमा आर्थिक पत्रकारको भूमिका’ विषयको प्रस्तुति दिँदै उत्पादन र उत्पादकत्व अभिवृद्धि गरी निर्यात प्रवद्र्धन, आयात प्रतिस्थापन र आयात नियमन गर्न सञ्चार जगत्ले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए । रासस

मस्र्याङ्दी करिडोर प्रशारण लाइन निर्माणमा देखिएको समस्या समाधान गर्न समिति गठन

काठमाडौँ । सरकारले मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन निर्माणमा देखिएको समस्या समाधानका लागि एक समिति गठन गरेको छ । समितिमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, शहरी विकास मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, नागरिक उड्डयन प्राधिकरण, गोरखाबाट सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सांसद, पालुङटार नगरपालिकका प्रमुखलगायत रहेको समिति गठन गरिएको छ । समितिलाई एक साताभित्र समस्या समाधान गर्ने ठोस कार्ययोजनासहितको प्रतिवेदन पेश गर्न समयसीमा तोकिएको छ । प्रसारण लाइनबाट प्रभावित हुने हाल बन्द अवस्थामा रहेको पालुङटार विमानस्थल र प्रस्तावित स्मार्ट सिटीलाई कुनै समस्या नहुने गरी आयोजना अगाडि बढाउनुपर्ने माग उठ्दै आएको छ । बैठकमा ऊर्जामन्त्री वर्षमान पुनले उक्त प्रसारण लाइन रणनीतिक महत्वका भएकाले तोकिएको समयमै सम्पन्न गर्ने गरी सरोकार भएका सबैको साथ र सहयोग हुनुपर्नेमा जोड दिएका थिए । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, शहरी विकासमन्त्री इस्तियाक मोहम्मद राई, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई र राष्ट्रियसभा सदस्य सुरेन्द्र पाण्डेलगायतको सहभागिता रहेको थियो । रासस

शुक्रबार गौरा पर्वको अवसरमा सार्वजनिक बिदा

अमरगढी । सुदूरपश्चिम प्रदेश सरकारले गौरा पर्वका अवसरमा प्रदेशभरि यही भदौ ६ गते शुक्रबारका दिन सार्वजनिक बिदा दिने भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले विज्ञप्ति जारी गर्दै ‘गौरा पर्व’का अवसरमा आगामी शुक्रबारका दिन सार्वजनिक बिदा दिने घोषणा गरेको हो । साथै मन्त्रालयले सुदूरपश्चिम प्रदेशका सम्पूर्ण जनसमुदायमा गौरा पर्वका अवसरमा शुभकामनासमेत व्यक्त गरेको छ । गौरा पर्वका अवसरमा यही भदौ ६ गतेका दिन सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला, डोटी, अछाम र बाजुरामा सार्वजनिक बिदा गरिएको छ । रासस

हुन्डाईको फेस्टिभ डिलाइट योजना, लक्की ड्र मार्फत कार जित्ने अवसर

काठमाडौँ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि(हुन्डाई अटोमोवाइल्स नेपालको आधिकारिक विक्रेता)ले हुन्डाई फेस्टिभ डिलाइट २०७६ योजना ल्याएको छ । यो योजनाको अवधि भदौ २ गतेदेखि कात्तिक १६ गते सम्म रहेको छ । यो योजना दशैं, तिहार र छठ उत्सव मनाउने लक्ष्य सहित ल्याइएको कम्पनीले जनाएको छ । योजना अन्तर्गत ग्राहकहरुले आकर्षक नगद छुट र १ वर्ष निःशुल्क वीमा पाउने छन् । साथै स्क्रयाच कार्ड मार्फत थप रु.१ लाख सम्मको नगद छुट, लक्की–ड्र मार्फत १० जोडीलाई ४ रात-५ दिनको दुबई भ्रमण तथा बम्पर उपहार अन्तर्गत लक्की–ड्र मार्फत हुन्डाई स्यान्ट्रो एक थान र हुन्डाई भेन्यू एक थान जित्न सक्ने छन् । सबै हुन्डाई गाडीहरु ३ वर्ष वारेन्टी, ४ वर्ष फ्रि सर्भिसिङका साथै निःशुल्क सवारी कर भुक्तानी सहित उपलब्ध हुने जनाइएको छ ।

जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’ आयोजना

काठमाडौं । विश्वभरका मोबाइल सेवा प्रदायक कम्पनीहरुको छाता संगठन जिएसएमए (जिएसएमए एसोसियसन) ले एनसेलसँगको सहकार्यमा नेपाली स्टार्टअपहरुका लागि एक दिने ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’को आयोजना गरको छ । नेपालमा स्टार्ट अपकम्पनीहरु र मोवाइल सेवा प्रदायक कम्पनीहरुका बीचमा सहकार्य सुदृढ पार्नु यो कार्यशालाको उद्देश्य रहेको थियो । जिएसएमए विश्वभर संचालनमा रहेका ७५० भन्दा बढि सेवाप्रदायकहरु र मोवाइल एकोसिस्टमका झण्डै ४०० कम्पनीहरुको साझा संगठन हो । यो कार्यशाला स्टार्ट अपहरुले कसरी मोवाइल सेवाप्रदायकहरुसँग साझेदारी गर्न सक्छन्, त्यसकालागिआवश्यकउपकरण तथातयारी के कस्तो हुन पर्दछ भन्नेमा केन्द्रित थियो । यसमा ३० वटा स्टार्ट अपका ५० भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहेको थियो । स्टार्ट अपहरुले नयाँप्रविधि, अहिलेको ट्रेन्डस् र कसरी विभिन्न स्टार्ट अपहरुले अफ्रिका तथ ाएसिया प्यासेफिकमा टेलिकम कम्पनी, स्टार्ट अप र ग्राहकलाई लागि फाइदा हुने गरी मोवाइल सेवा प्रदायकसँग साझेदारी गराएकाछन् भनेर जानकारी लिन पाएकाथिए ।

गण्डकी विकास बैंकद्वारा १५० जना विधार्थीलाई झोला वितरण

काठमाडौँ । गण्डकी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्र्दै पोखरा महानगरपालिका वडा नं. २५, याम्दी स्थित बाल कल्यायण आधारभुत विद्यालयकाका विधार्थीहरुलाई झोला वितरण गरेको छ । कक्षा १ देखि ५ सम्मका करिब १५० जना साना बालबालिकाहरुलाई विद्यालय परिसरमा झोला वितरण गरेको हो । बैंकका सञ्चालक बासुदेव त्रिपाठी, प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापा, पोखरा मनपा वडा नं.२५ का वडा सदस्य जितबहादुर कार्की, दलबहादुर कुँवर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानध्यापक लगायतले संयुक्तरुपमा वितरण गरेका हुन् । उक्त कार्यक्रमको सञ्चालन बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तारानाथ लम्सालले गरेका थिए ।