विकासन्युज

एनआईसी एशिया फण्डमा आवेदन दिने विहीबार अन्तिम दिन

काठमाडौँ । एनआइसी एशिया म्युचुअल फण्डले साउन ८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको एनआईसी एशिया फण्डमा आवेदन दिने विहीबार अन्तिम दिन हो । यस योजनाले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १२ करोड ५० लाख इकाई निष्काशन तथा बिक्री खुला गरेको छ । एनआईसी एशिया बैंक कोष प्रबद्र्धक र एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रहेको यस योजनाको अवधि १० वर्षको रहेको छ । लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम २ करोड ७५ लाख इकाईका लागि आवेदन दिन सक्नेछन् ।

माछापुच्छ्रे बैंक ऋणपत्रमा ३ करोड बढी आवेदन

  काठमाडौं ।माछापुच्छ्रे बैंकले ३ अर्बको ऋणपत्र निष्कासन गरेकामा ३ अर्ब ३ करोड रुपैयाँ बराबर माग भएको छ । यस बैंकको ऋणपत्रको लागि भदौ ३ गतेसम्म आवेदन खुला थियो । बैंकले ऋणपत्रमा लगानी गर्नेका लागि वार्षिक १०.२५ प्रतिशत ब्याज तोकेको छ । यस बैंकको ऋणपत्रमा जीवन बीमा कम्पनीहरु, निर्जीवन बीमा कम्पनीहरु, नागरिक लगानी कोष, नेप्से, सैनिक कल्याणकारी कोषले ठूलो मात्रमा लगानी गरेका छन् । ७ वर्ष अवधिको ऋणपत्र नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत, चाहेको बेलामा किनबेच हुन सक्ने र बैंक तथा वित्तीय संस्थाहरुबाट ऋणपत्र धितो राखी ऋणमिल्ने सुविधा छन् । अन्य बैंकहरूले निष्काशन गरेकाे ऋणपत्र बिक्री नभइरहेकाे समयमा माछापुच्छ्रे बैंककाे ऋणपत्रमा निष्काशन भन्दा बढी माग  हुनु यस बैंकप्रति लगानीकर्ताकाे विश्वास बढी रहेकाे रूपमा हेरिएकाे छ ।

जापानी राजदूतसँग मन्त्री पुनको आग्रह-‘ऊर्जामा थप लगानी गर्नोस्’

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालको ऊर्जा तथा जलस्रोतको क्षेत्रमा थप लगानीका लागि जापान सरकारलाई आग्रह गरेका छन् । आफूसँग आज शिष्टाचार भेटवार्ताका लागि पुग्नुभएका नेपालका लागि जापानी राजदूत मासामिची साइगोसँग मन्त्री पुनले सो आग्रह गरेका हुन् । मन्त्री पुनले जाजरकोटमा आयोजनास्थल रहेको ४१० मेगावाट क्षमताको नलगाड जलविद्युत् परियोजना प्रादेशिक सन्तुलनका हिसाबले पनि महत्वपूर्ण रहेको भन्दै सो परियोजनालाई अघि बढाउने विषयमा छलफल गरेका थिए । उनले जापान र नेपालबीच पुरानो र मैत्रीपूर्ण सम्बन्ध रहेको भन्दै विगतमा कुलेखानी परियोजनालगायत अन्य परियोजनामा उपलब्ध गराएको सहयोगप्रति धन्यवाद दिएका थिए । हाल नलगाड जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को काम जारी रहेको छ । मन्त्री पुनले जापान नेपालको भरपर्दो विकास साझेदारमुलुक भएको भन्दै नेपालमा अहिले लगानीको लागि उपयुक्त वातावरण बनेकोले थप लगानीको वातावरण बनाइदिन र सोही प्रकारको सन्देश प्रवाह गरिदिन आग्रह गरेका थिए । भेटमा जापानी राजदूतले नलगाड आयोजना सार्वजनिक निजी साझेदारी ढाँचामा निर्माणका लागि अध्यययन गरिरहेको बताएका थिए । जापानी राजदूतले नेपालको जलविद्युत् क्षेत्रमा लगानीका लागि राम्रो वातावरण बनेको सुखद् समाचार सुनेको भन्दै जापानमासमेत लगानीका लागि आग्रह गर्ने बताएको मन्त्री पुनको सचिवालयले जनाएको छ । रासस

एभरेष्ट बैंक र नेशनल प्याब्शनबीच साझेदारी

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेड(इबीएल)ले नेशनल प्राइभेट एण्ड बोर्डिङ स्कुल एशोसियशन नेपाल (नेशनल प्याब्शन) सँग सम्बन्ध विकास र विस्तार गरेको छ । इबीएलका सेवाहरु नेशनल प्याब्शनको सदस्य स्कूलहरुमा प्रवद्र्धन गर्ने साझेदारीपत्रमा हस्ताक्षर भएको हो । सम्झौता अनुसार, नेशनल प्याब्शनले सदस्य स्कुलहरुमा एभरेष्ट बैंक लिमिटेडको उत्पादन र सेवाहरु प्रवद्र्धन गर्न सहयोग पुर्याउने उल्लेख छ । ईबीएलले पनि नेशनल प्याब्शनको जिल्ला शाखाको सिफारिसमा नेशनल प्याबशनको सदस्य स्कुलहरुलाई (१०.६२% (बेस रेट २.५०%) आरओआईमा एसएमई ऋण दिने सहमति जनाएको छ ।

भदौ ६ र ७ गते ‘दोश्रो तीज व्यापार मेला-२०७६’ हुँदै

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्श, नेपाल महिला चेम्बरद्धारा ‘दोश्रो तीज व्यापार मेला-२०७६’ आयोजना हुने भएको छ । राजधानीको जमलस्थित नेपाल चेम्बर अफ कमर्शमा भदौ ६ र ७ गते २ दिनसम्म आयोजना हुने सो मेलाको तयारी पूरा भएको चेम्बरले जनाएको छ । तीजको अवसरमा आयोजना गरिने ‘दोश्रो तीजव्यापार मेला-२०७६’ नेपालको नेपाल महिला चेम्बरको सक्रियतामा आयोजना गरिएको हो । मेलामा यो वर्ष काठमाडौंका महिलाद्धारा प्रर्बद्धित ५० फर्म/कम्पनी, संघ–संस्थाहरूको स्टल रहने नेपाल महिला चेम्बरका अध्यक्ष उर्मीला श्रेष्ठले जानकारी दिइन् ।

अब फोहर बिक्री हुने, ‘विधेयक मन्त्री परिषद्माबाट पास भएपछि व्यवस्थापन सहज’

काठमाडौं । घर घरबाट निस्केको फोहरमैलाको बिक्री हुने भएको छ । सरकारले फोहरमैला व्यवस्थापन र प्रशोधन गर्ने विधेयक मन्त्री परिषद्मा लाने र पास भएपछि नेपालमा नै फोहर बिक्री हुने भएको हो । बुधबार नेपल उद्योग परिसंघले गरेको कार्यक्रमा बोल्दै उद्योगमन्त्री मातृका यादवले नेपालमा वृद्धि हुँदै गएको फोहरमैलाको व्यवस्थापनका लागि ठोस निर्णय गर्ने बताए । उनले भने-‘हामीले विषका कुरा गर्दा हाम्रा आफ्नै घरमा उत्पादन हुने फोहरलाई विर्सिन्छौँ । नेपालका प्लास्टिक उत्पादन गर्ने उद्योगहरुले मुनाफालाई मात्रै हेरेको कारणले पनि प्रदूषण भएको बताए । अब प्लास्टिकका सामान उत्पादकहरुलाई पनि सजक गराउनु पर्ने मन्त्री यादवले बताए । बन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले फोहर मैलाको विषयमा सबैले सोच्नु पर्ने बताए । विश्वमा नै फोहर व्यवस्थापन चुनौतिपूर्ण बन्दै गएका बेला नेपालले वातावरण संरक्षण गर्नु पर्ने बताए । काठमाडौं महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले नेपालमा फोहर व्यवस्थापन नै चुनौतिको रुपमा रहेको बताए । काठमाडौं नजिकै फोहर व्यवस्थापन गर्ने उद्योग स्थापना गरेर व्यवस्थापन गर्नु पर्ने बताए । फोहर व्यवस्थापनमा कुहिने र नकुहिने फोहोर छुट्यार फरक किसिमको गाडी व्यवस्थापन गर्नु पर्ने न्यौपानेले बताए । नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष सतीशकुमार मोरले नेपालको फोरहमैला व्यवस्थापनलाई बेलैमा ध्यान दिनु पर्ने बताए । फोहोर मैला व्यवस्थापनमा निजी क्षेत्र र तिनै तहको सरकारले मिलेर काम गर्नु पर्ने बताए ।

युनाईटेड फाइनान्स र एनबीआईबीच सम्झौता

काठमाडौँ । नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लि.(एनबीआई) र युनाईटेड फाईनान्स लि.बीच भदौ ४ गते तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार एनबीआईले युनाईटेड फाईनान्स लि.का कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । उक्त सम्झौता पत्रमा युनाईटेड फाईनान्स लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाबीच हस्ताक्षर भएको छ ।

झापा र ईलाम मालपोत कार्यालयमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

काठमाडौँ । प्रभु बैंकले झापा जिल्लाको दमक नगरपालिका स्थित मालपोत कार्यालय र ईलाम मालपोत कार्यालयमा एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ । दमकस्थित मालपोत कार्यालयको परिसरमा स्थापित एक्स्टेन्सन काउण्टरको भदौ १ गते झापा मालपोत कार्यालयका कार्यालय प्रमुख चण्डिप्रसाद कोईरालाले एक समारोहका बीच उद्घाटन गरेका हुन् । त्यसैगरी ईलामस्थित मालपोत कार्यालय परिसरमा भदौ ०४ गते ईलाम मालपोत कार्यालय प्रमुख केशबकुमार ढकाल र कोष तथा लेखा नियन्त्रण कार्यालयका निमित्त कार्यालय प्रमुख डिकेन्द्रबहादुर थापाले संयुक्त रुपमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टरको उद्घाटन गरे ।