एसियन पेन्ट्स नेपालको ‘रोयल हेल्थ शिल्ड’ बजारमा
काठमाडौँ । ग्राहकहरूको स्वास्थलाई मध्यनजर गरेर एसियन पेन्ट्स नेपालले रोयल हेल्थ शिल्ड इन्टेरियर इमल्सन पेन्ट्स सार्वजनिक गरेको छ । यो एक यस्तो उत्पादनको भेट हो, जुन कीटाणूहरू मार्ने, घरभित्र रहेको दुर्गन्धलाई सोसेर हावालाई शुद्ध गर्ने लगायतका असाधारण विशेषतायुक्त रहेको कम्पनीले जनाएको छ । यो पेन्टबाट फूलको वास्ना पनि उत्सर्जित हुन्छ । यो उत्पादनमा ‘सिल्भर आयन’ प्रविधि रहेको छ, जसले ९९ प्रतिशतसम्म संक्रमण उत्पन्न गर्ने ब्याक्टेरियाहरूलाई मार्छ, जब तिनीहरू भित्तामा पुग्छन् । यो पेन्टले आफ्नो नवीन आविष्कारयुक्त ‘फर्माल्डिहाइड एबेटमेन्ट’ विशेषताका माध्यमबाट हावालाई शुद्ध गर्ने कम्पनीको दाबी छ ।
वीरगञ्ज क्षेत्रका ११ उद्योग कारवाहीमा, कुन कुन परे ?
हेटौँडा । तोकिएको समयमा नापतौल यन्त्र जाँच र नवीकरण नगराउने पर्सा जिल्लाका ११ उद्योगलाई कारवाही गरिएको छ । वीरगञ्जस्थित गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयका प्रमुख शशिभूषण यादवको नेतृत्वमा खटिएको टोलीले छड्के गर्दा ती उद्योगले लामो समयदेखि नापतौल यन्त्र कानूनी प्रक्रिया पूरा नगरी अवैधरुपमा प्रयोग गरेको पाइएकाले कारवाही गरिएको हो । कारवाहीमा परेका उद्योगहरुमा जगदम्बा डिस्ट्रिब्युटर्स प्रालि वीरगञ्ज, मारुती रबर इन्डस्ट्रिज प्रालि, मोहित एग्रो इन्डस्ट्रिज प्रालि, ओम खाद्य उद्योग प्रालि, न्यू ओम खाद्य उद्योग, गङ्गा खाद्य उद्योग, शिवम् एग्रो इन्डस्ट्रिज प्रालि र दीपेश खाद्य उद्योग रहेका छन् । शिवम् एग्रो इन्डस्ट्रिजको चामलको २० र २५ किलोग्रामको बोरामा तोकिएकोभन्दा तौल कम पाइएकाले कारवाही गरिएको जनाइएको छ । यसैगरी अन्य उद्योगहरुलाई नापतौल ऐन २०२५ अनुसार कसुरबमोजिम कारवाही गरिने गरिने भएको छ । यसअघि हेटौँडामा रहेको शिवम् फ्युल सेन्टर र एसियन पेन्ट्स उद्योगलाई कारवाही गरिएको थियो । लामो समयदेखि उद्योग र व्यावसायिक प्रतिष्ठानको नापतौल यन्त्रको अनुगमन नहुँदा उपभोक्ता ठगिंदै आएको व्यापक गुनासो आएपछि छड्के जाँच तथा अनुगमन शुरु गरिएको कार्यालय प्रमुख यादवको भनाई थियो । केही महिनायता बारा, पर्सा र मकवानपुरमा सञ्चालित पेट्रोल पम्पहरुमा गरिएको अनुगमनमा कैफियत देखिएका एक दर्जन पम्प व्यवसायीलाई कारवाही गरिएको थियो । हाल उद्योग र व्यवसाय बढ्दै गएका तर अनुगमन सुस्त हुँदा उपभोक्ता ठगिने गरेका हेटौँडा–४ का रामप्रसाद भट्टराईले बताए ।
सोह्र लाख भारतीय रुपैँयासहित ५ जना पक्राउ
घोराही । दाङमा स्रोत नखुलेको झण्डै १६ लाख भारतीय रकमसहित पाँच व्यक्ति पक्राउ परेका छन् । पक्राउपर्नेमा एक महिलासहित चार पुरुष रहेका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ५ बरुवागाउँ निवासी २७ वर्षीय हिराबहादुर विक, बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नं २ प्रेमनगर निवासी ४२ वर्षीय सुरेश विक, सोही ठाउँकै मनकुमारी खत्री, रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं ९ निवासी ४३ वर्षीय प्रकाश केसी र जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नं ८ निवासी २७ वर्षीय शिव सिंह भनिने पूर्ण विक रहेका छन् । जिल्ला प्रहरी प्रवक्ता विनोद विक्रम शाहले उनीहरु सबैलाई सुराकीका आधारमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपालिका वडा नं ९ जलकुन्डी क्षेत्रबाट पक्राउ गरिएको जानकारी दिए । उनीहरुको साथबाट स्रोत नखुलेको भारु १५ लाख ७९ हजार ५८० रकम बरामद भएको प्रहरी नायब उपलरीक्षक शाहले बताउनुभयो । पक्राउ परेकामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
तल्लोमोदी ‘१’ जलविद्युत् आयोजनाका कर्मचारी काममा फर्किए
पर्वत । विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका तल्लो मोदी ‘१’ का कर्मचारी काममा फर्किएका छन् । पर्वतको कुश्मा नगरपालिका–८ चुवामा सञ्चालित १० मेगावाट क्षमताको तल्लोमोदी १ जलविद्युत् आयोजनाको प्रवद्र्धक युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड र आन्दोलनरत कर्मचारीका बीचमा सहमति भएपछि काममा फर्किएका हुन् । जिल्ला प्रशासन कार्यालय पर्वतको पहलमा भएको सर्वपक्षीय छलफलका क्रममा कर्मचारीको तलववृद्धि, बिमालगायतका विषयमा आयोजना प्रवद्र्धक र कर्मचारीबीच सहमति भएको हो । सहमतिसँगै दुई दिनदेखि बन्द रहेको विद्युत् उत्पादन शुरु भएको छ । सहमतिअनुसार कार्यरत कर्मचारीको मासिक तलबमा १२ प्रतिशतका दरले वृद्धि गरिने भएको छ भने रु सात लाख बराबरको दुर्घटना बीमा, रु एक लाख बराबरको स्वास्थ्य बिमा गरिने भएको छ । हरेक कर्मचारीका लागि वार्षिक रु पाँच हजारका दरमा पोशाकभत्ता उपलब्ध गराइनेछ । आन्दोलनरत कर्मचारीले ४० प्रतिशत तलब वृद्धि, महङ्गी भत्ता लगायतका भत्ता रकम वृद्धि, पोशाकभत्ता, बिमालगायतका माग राखेका थिए । श्रम ऐन अनुसार, युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको कर्मचारी विनियमावलीमा सुधार गर्ने, कार्यस्थलको सुरक्षा र कामदारको सुरक्षामा समेत ध्यान दिने सहमति भएको छ । कर्मचारीले जोखिमपूर्णरूपमा काम गर्दै आएको र कार्यस्थलमा पर्याप्त सुरक्षा सावधानी नअपनाइएको विषय उठाउँदै आएका थिए । जिल्ला प्रशासन कार्यालयमा भएको छलफलका क्रममा कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल, प्रहरी नायब उपरीक्षक श्यामु अर्याल, युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडका निर्देशक उपेन्द्र गौतम, पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष केदारनाथ शर्मा, नेपाल ट्रेड युनियन काङ्ग्रेस पर्वतका अध्यक्ष सुरेन्द्र केसीलगायतको उपस्थिति रहेको थियो । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड पर्वत कार्यालय र आयोजनास्थलमा गरी ३४ कर्मचारी कार्यरत छन् । तीमध्ये २७ कर्मचारी विभिन्न माग राखेर आन्दोलनमा थिए । विसं २०६९ देखि व्यावसायिक उत्पादन थालेको यो आयोजना अहिलेसम्म विद्युत् उत्पादन गर्ने पर्वत जिल्लाको निजी क्षेत्रको पहिलो जलविद्युत् आयोजना हो । एक मेगावाट क्षमताको पातीखोला जलविद्युत् आयोजनाले त्यसअघि नै विद्युत् उत्पादन गरेको थियो भने २० मेगावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत् आयोजनाले भदौको तेस्रो साताभित्र परीक्षण उत्पादन थाल्ने तयारी गरेको छ । पर्वतमा सञ्चालित जलविद्युत् आयोजनाहरुमा निरन्तर अवरोध र आन्दोलन हुँदै आएका कारण लगानीकर्ता निरुत्साहित हुने खतरा बढेको भनेर चिन्तासमेत व्यक्त गरिएको थियो । रासस
भ्रष्टाचारको आरोपमा भारतका पूर्वअर्थमन्त्री चिदम्बरम पक्राउ
काठमाडौँ । भारतीय प्रहरीले पूर्वअर्थमन्त्री पी चिदम्बरमलाई भ्रस्टाचारको आरोपमा दिल्लीस्थित उनको घरबाट पक्राउ गरेको छ । सम्पति शुद्धीकरणसँग समेत जोडिएको उनको पक्राउलाई केही भारतीय टेलिभिजन च्यानलमा प्रत्यक्ष देखाइएको थियो ।दिल्लीस्थित उच्च अदालतले चिदम्बरमको जमानतको प्रस्ताव अस्वीकार गरेको एक दिनपछि उनलाई पक्राउ गरिएको हो । उनका छोरा समेत मुछिएको उक्त अभियोग भारतीय जनता पार्टीको राजनीतिक मनसायबाट प्रेरित रहेको उनका वकिलले अदालतमा बताएका थिए । दुईपटक भारतको अर्थमन्त्री भइसकेका उनी विपक्षी कङ्ग्रेस पार्टीका एकजना वरिष्ठ नेता हुन् । सन् १९८४ यता भारतीय सांसदका रूपमा रहेका उनी गृहमन्त्री समेत भएका थिए। अनुसन्धानकर्ताहरूले उनी एक मलेसियाली कम्पनीले गरेको दूरसञ्चार संस्था एयरसेलको गैरकानुनी अधिग्रहणमा संलग्न रहेको आरोप लगाएका छन् । उनीमाथि सन् २००७ मा अर्थमन्त्री हुँदा घुस खाएर विदेशी लगानीलाई बाटो खोलिदिएको आरोप समेत छ । चिदम्बरमले भने त्यसलाई अस्वीकार गर्दै आएका छन् । सीबीआई र आर्थिक अपराधको अनुसन्धान गर्ने भारतीय निकायले उनी र उनका छोरा कार्ती चिदम्बरमको अनुसन्धान गरिरहेको छ ।आइएनएक्स ग्रुपसँगको उक्त प्रकरणमा सीबीआई र आर्थिक अपराधको अनुसन्धान गर्ने भारतीय निकायले उनी र उनका छोरा कार्ती चिदम्बरमको अनुसन्धान गरिरहेको छ। कार्ती चिदम्बरम तमिल नाडु राज्यबाट प्रतिनिधित्व गर्ने कांग्रेस सांसद हुन् । पक्राउ गर्नुभन्दा अघिल्लो रात अधिकारीहरू सोधपुछका लागि चिदम्बरमको घर पुगेका थिए । तर उनले आफू त्यहाँ नभएको बताए । सीबीआईले कार्ती चिदम्बरमलाई सन् २०१८ मा पक्राउ गरे पनि पछि उनलाई जमानतमा छाडिएको थियो । (बीबीसीबाट)
३ वर्षदेखि रोकिएको घरेलु कामदारको पुनः श्रम स्वीकृति खुल्ने, वैदेशिक रोजगारीमा रहेकालाई राहत
काठमाडौँ । लामो समयदेखि पेचिलो बन्दै गएको घरेलु कामदारको पुनः श्रम स्वीकृति खुला गर्ने विषयलाई संसदीय समितिले मार्ग प्रशस्त गरिदिएको छ । प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बुधबार बसेको बैठकले श्रम स्वीकृति लिएर गएका घरेलु कामदार स्वदेश फर्केमा अस्थायी रुपमा पुनः श्रम स्वीकृति प्रदान गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयललाई निर्देशन दिएको हो । समितिले उक्त व्यवस्थालाई परीक्षणका रुपमा हेर्न पनि मन्त्रालयलाई निर्देशन दिएको हो । समितिको निर्देशनसँगै घरेलु कामदारका रुपमा विभिन्न मुलुकमा रही नेपाल आएर पुनः सम्बन्धित देश फर्कन चाहने युवालाई राहत मिलेको छ । तत्कालीन व्यवस्थापिका–संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको २०७२ चैत ३१ गतेको बैठकले घरेलु कामदारका रुपमा गन्तव्य मुलुक पुगेको नेपाली युवाले चरम शारीरिक तथा मानसिक यातना पाएको भन्दै तत्कालका लागि श्रम स्वीकृति प्रदान गर्ने कार्य बन्द गर्न सरकारलाई निर्देशन दिएको थियो । समितिको निर्देशनसँगै सरकारले घरेलु कामदारका रुपमा जान चाहनेलाई श्रम स्वीकृति, पुनः श्रम स्वीकृति दिन बन्द गरेको थियो । लामो समयसम्म पुनः श्रम स्वीकृति बन्द गरिँदा विभिन्न मुलुकमा घरेलु कामदारका रुपमा काम गर्दै आएका नेपाली पुनः सोही काममा जान नपाउने भन्दै स्वदेश फर्कन सकेका थिएनन् । सुरक्षित वातावरणमा अत्यन्त राम्रो काम, आकर्षक कमाइ भए पनि उनीहरु पुनः फर्कन नपाउने भन्दै नेपाल आउन सकेका थिएनन् । मन्त्रालयका अनुसार ओमनमा १० हजार ६००, बहराइनमा एक हजार, साउदीमा दुईहजार ५२२ लगायत हाल करीब ३० हजार घरेलु कामदार खाडीका मुलुकमा कार्यरत छन् । त्यस्तै बैठकले घरेलु कामदारको अवस्थाका बारेमा अध्ययन गर्न खाडी मुलुकमा अनुगमनका लागि जाने निर्णयसमेत गरेको छ । अनुगमनको विस्तृत खाका श्रम मन्त्रालयले तय गर्ने छ । श्रम मन्त्रालयले घरेलु कामदारको पुनः श्रम स्वीकृतिको गाँठो फुकाइदिन पटकपटक श्रम समितिलाई आग्रह गरेपनि समितिले निर्णय गर्न सकेको थिएन् । घरेलु कामदरको विषय गम्भीर भएको भन्दै समिति पुनः श्रम स्वीकृति प्रदान गर्ने काम खुला गर्न पछि हट्दै आएको थियो । घरेलु कामदारको पुनः श्रम स्वीकृतिको विषय टुङ्ग्याउन पछिल्लो एक वर्षको अवधिमा दर्जनौ पटक बैठक बसेपनि त्यसले मूर्त रुप लिन सकेको थिएन । श्रम मन्त्रालयले लिखित रुपमा नै समितिलाई पत्र लेखेर घरेलु कामदारको पुनः श्रम स्वीकृतिको मार्ग प्रशस्त गरिदिन बारम्बार आग्रह गरिरहेको थियो । सोही अवरोधका कारण घरेलु कामदारका रुपमा विभिन्न मुलुकमा काम गर्दै आएका नेपाली पारिवारिक वियोगका अवस्थामा समेत स्वदेश फर्कन सकेका थिएनन् । कतिपयले भने अन्यन्त्र मुलुकमा आफन्त बोलाएर पारिवारिक न्यास्रो मेट्दै आएका थिए । केही दिनअघि घरेलु कामदारका रुपमा गएका एक व्यक्तिले आफ्नो परिवारलाई संयुक्त अरब इमिरेट् ९युएई०मा बोलाएर भेट गरेको विषयले सरकार तथा श्रम समितिलाई दबाब सिर्जना गरेको थियो । समितिले स्पष्ट निर्देशन नदिँदा श्रम मन्त्रालयले घरेलु कामदारलाई पुनः श्रम स्वीकृति प्रदान गर्न सकेको थिएन् । समितिको आजको निर्देशनसँगै घरेलु कामदारका रुपमा कार्यरत नेपाली युवा (जो पुनः सोही काममा फर्कन चाहन्छन्) लाई सहज भएको छ । घरेलु कामदारको श्रम स्वीकृति बन्द गरिँदा परिवारलाई भेट्ने तथा स्वदेश फर्कने नेपाली कामदारको मानवअधिकारको हनन् भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले पनि चिन्ता व्यक्त गर्दै आएको थियो । घरेलु कामदारका रुपमा गएका नेपाली श्रमिकले चर्को यातना व्यहोर्नु परेको गम्भीर विषय भएकाले समितिले पनि तत्काल श्रम स्वीकृति खुला गर्न निर्देशन दिन सकेको थिएन् । समितिले सरोकारवाला निकायसँग द्विपक्षीय तथा बहुपक्षीय छलफललाई तीव्र पारेको थियो । घरेलु कामदारको पुनः श्रम स्वीकृतिको विषयलाई तार्किक निष्कर्षमा पु¥याउन समितिले आज सरोकार भएका सम्पूर्ण निकायका प्रतिनिधिलाई बैठकमा बोलाएको थियो । बैठकमा प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पाल, श्रममन्त्री गोकर्ण विष्ट, राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठक, श्रम मन्त्रालयका सचिव, सहसचिव, परराष्ट्र, गृह तथा अध्यागमन विभागका प्रतिनिधिको सहभागिता थियो । रासस
दशैँअघि नै कुलेखानी तेस्रोबाट १४ मेगावाट विद्युत् उत्पादन हुने
भीमफेदी । कुलेखानी जलविद्युत् तेस्रो आयोजनाले आगामी दशैँअघिबाटै १४ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिने भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–१ सानोटारस्थित निर्माणाधीन सो आयोजनाबाट १४ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिने भएको हो । उत्पादन गरिएको सो जलविद्युत् काठमाडौँस्थित केन्द्रीय विद्युत् प्रसारण लाइनमा जोड्ने कार्य सम्पन्न भइसकेको आयोजनाले जनाइएको छ । सानोटार विद्युत्गृहमा अहिले बाँकी रहेको काम र तारहरु जडान गर्नुपर्ने भएकाले केही दिनभित्रै चिनियाँ प्राविधिक टोली आइपुगेपछि तत्काल निमार्णकार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यसका लागि नेपाल विद्युत् प्राधिकरणको उच्च पदाधिकारीहरुसँग समन्वय गर्ने कार्य भइरहेको आयोजना प्रमुख सुवासबाबु मिश्रले बताए । नेपाल विद्युत् प्राधिकरणको रु चार अर्ब ५० करोडको लगानीमा आयोजनाको निर्माण कार्य सम्पन्न हुन लागेको हो । अहिले कुलेखानी प्रथमबाट ६० मेगावाट र कुलेखानी दोस्रोबाट ३२ मेगावाट गरी कूल ९२ मेगावाट नियमित विद्युत् उत्पादन हुँदै आएको छ । रासस
जनता क्यापिटलको एजीएम भदौ २७ गते, ८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित हुने
काठमाडौँ । जनता क्यापिटल लिमिटेडको प्रथम वार्षिक साधारण सभा(एजीएम) भदौ २६ गते हुन भएको छ । कम्पनी सञ्चालन समितिको भदौ ३ गते बसेको बसेको बैठकले जनता बैंक नेपाल लिमिटेडको थापाथली काठमाडौँमा रहेको कार्यालयमा साँझ पौने ६ बजे साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजी २० करोडको ८ प्रतिशतले हुन आउने कर सहित रु. १ करोड ६० लाख नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने जनाइएको छ । साथै आव २०७५÷७६को वार्षिक प्रतिवेदन र लेखा परीक्षकको प्रतिवदेनसहित २०७६ असार मसान्तको वासलात र २०७५ साउन १ देखि २०७६ असार मसान्तसम्मको नाफा नोक्सान हिसाव, नाफा नोक्सान बाँडफाँड हिसाव, सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने जनाइएको छ ।