इन्टेरियर डिजाइन अध्ययन गर्नेले बेरोजगार बस्नु पर्दैनः आइडिया नेपाल
काठमाडौं । इन्टेरियर डिजाइनर एशोसिएसन अफ नेपाल (आइडिया नेपाल) को ललितपुरस्थित पुल्चोकमा नयाँ कार्यालय सञ्चालन भएकाे छ । उक्त कार्यक्रमको उद्घाटन ललितपुर महानगरपालिकाका मेयर चिरबाबु महर्जनले गरेका हुन् । कार्यक्रममा एशोसिएसनका अध्यक्ष विन्द्रा कक्षपति प्रधानले इन्टेरियर डिजाइनरहरुको हकहित तथा प्रतिष्ठा र सचेतना बढाउन संस्था कटिबद्ध रहेको धारणा राखेकी थिइन् । साथै उनले यस क्षेत्रमा ज्ञान भएकाहरु कोहि पनि बेरोजगार बस्नु नपर्ने उल्लेख गर्दै रोजगार तथा स्वोरोजगार क्षेत्रको रुपमा इन्टेरियर डिजाइन लाई विकास गर्नुपर्नेमा जोड दिईन । यसका लागि राज्यस्तरबाट पहल कदमीका लागि एशोसिएसनले काम गर्ने उनको भनाई थियो । यस कार्यक्रममा सहभागीहरुले घर तथा अपार्टमेण्ट निमार्णको चरणबाटै इन्टेरियर डिजाइनलाई पनि सँगै लानुपर्नेमा जोड दिएका छन् । यसरी इन्टेरियर डिजाइन रोजगारीको नयाँ क्षेत्रको रुपमा विस्तार हुँदै गएको अवस्थालाई मध्यनजर गर्दै यसलाई थप प्रोत्साहन गर्नुपर्नेमा सरोकारवालाले आवाज उठाउन थालेका हुन् । यस विषयमा अध्ययन गर्नेले बेरोजगार बस्नु नपर्ने अवस्था रहेको भन्दै उनीहरुले सरकारले यस क्षेत्रलाई व्यवस्थापन सहित प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका छन् । विशेषतः घर, अपार्टमेन्ट, होटेल, हस्पिटल र रेस्टुरेन्टमा इन्टेरियर डिजाइनको माग बढ्दै गएको छ । अन्य पेसाजस्तै इन्टेरियर डिजाइनबाट पनि राम्रो कमाइ गर्न सकिने र समयअनुसार डिजाइनर ‘अपग्रेड’ हुनुपर्ने उनको भनाई छ । अहिले घर बनाई सकेपछि डेकोरेटरका रुपमा मात्र इन्टेरियरको काम हुने गरेको भन्दै उनले घर निर्माणको योजना बनाउँदादेखि नै इन्टेरियर डिजाइनलाई पनि सँगै अघि बढाउँदा खर्च कम हुनुका साथै राम्रो डिजाइन बन्ने उनको दाबी थियो । इन्टेरियर डिजाइनरलाई लिएर घरको सजावट डिजाइन गर्दा लागत धेरै हुन्छ भन्ने सोच गलत रहेको अध्यक्ष प्रधानको भनाई छ । “इन्टेरियर डिजाइनरले लिने भनेको लागेको समय, इनर्जी आइडियाको चार्ज मात्र हो । अरू बाँकी खर्च भनेको घरमा राखिने सामान र त्यसका गुणस्तरमा भर पर्छ ।” चार्ज कति लिने भन्ने कुरा समयको लगानी र श्रम हेरेर निर्धारण हुने उनको भनाई छ । संस्थाकी उपाध्यक्ष उषा रायमाझीले इन्टेरियर डिजाइनिङ गर्ने मात्र नभई यसमा फर्निसिङ गर्नेदेखि लिएर कलरिङ लाइटिङ लगायत विभिन्न किसिमका सामान प्रयोग गर्ने अनि पेन्टिङ, प्रिन्टिङ समेत हुने हुँदा घर भवन निमार्णको चरणसँगै इन्टेरियर डिजाइनलाई पनि सगसँगै लगेमा उत्कृष्ट हुने बताईन । इन्टेरियर डिजाइनरहरूले मासिक रूपमा काम गरेपनि औसत ५० हजार रुपैयाँसम्म पारिश्रमिक लिने गरेका छन् । कन्सलटेन्टहरूले भने कामको अवस्था अनुसार आफ्नो पारिश्रमिक लिने गरेका छन् । हाल नेपालमा यो बिषय अध्ययन गरेका ३ हजार बढी इन्टेरियर डिजाइनर छन् भने १५ हजार बढी यस क्षेत्रमा संलग्न रहेको एशोसिएसनको भनाई छ ।
एक सन्यासीको दर्जन बढी व्यवसाय: ह्याचरी, ग्यासदेखि हाउजिङसम्म
काठमाडौं । झ्याप्प दारी, लामो कपाल झट्ट हेर्दा सन्यासी जस्तो देखिने । जोरुवादी बुद्धत्वलाई अगाल्ने आफूलाई नव सन्यासी हुँ भनेर दावी गर्ने उम्दा व्यवसायी । जसले कहिले पनि जागिर खाएन, सरकारले व्यवसाय नै नमानेको व्यवसाय शुरु गरेर देशमै स्थापित व्यवसाय बनायो । उनकै मेहनतले राजनीतिज्ञले खर्च चलाउन घरको बुइगलमा पाल्ने गरेको कुखुरा आज देशकै नामी व्यवसाय बन्यो । त्यतिमात्र होइन अण्डा र मासुमा देशलाई आत्मनिर्भर बनाउन समर्पित भएर एक पछि अर्को व्यवसाय विस्तार गर्दै गयो । जीवनको कुनै कालखण्डमा ध्यान मात्रै गरेर बसे पनि सामाजिक कर्मलाई जोरुवादी बुद्धत्वको मार्गअनुरुप कर्म गर्दै आजको पूर्ण मानव भएर बाच्न सिक्ने प्रयासरत चिन्तक । सरकारले अण्डा र मासुमा आत्मनिर्भर बनाउने अभियान चलाइ रह्दा १५ वर्ष अघि नै देश आत्मनिर्भर भएको दावी गर्ने आध्यात्मिक व्यक्तित्व हुन् ‘गुणचन्द्र विष्ट’ । यो नाम उनलाई बाबु आमाले दिएको नाम हो । उनी नव अध्यात्मवादी भएकाले समाजले उनलाई अर्कै नामले चिन्छ ‘स्वामी कृष्णानन्द भारती’ । १५ वर्षको उमेरमै खाद्यान्न व्यवसाय संचालन गरेर अनुभव बटुलेका विष्टले आफ्नो जीवनको महत्वपूर्ण कालखण्ड १२ वर्ष ध्यानमा व्यथित गरे । अहिले विष्ट पोल्ट्री क्षेत्रका सफल, कुशल व्यवसायीका साथै अध्यात्मिक चिन्तक पनि हुन् । दैनिक दुई घण्टा ध्यानमा वित्छ उनको । सायद सही व्यवस्थापनले होला उनले व्यवसाय संचालन गर्दा कुनै तनाव लिनु परेन, आफै एक रफ्तारमा चलिरह्यो । व्यवसाय संचालन गरेको केही वर्षमा नै एक पछि अर्को व्यवसाय थपिदै गए । आध्यात्म र व्यवसायलाईसँगै हिडाउने ऊर्जा पाएर होला सायद व्यवसाय शुरु गरेको ३ वर्षमा नै सफलता पनि मिल्यो उनलाई । कहिले पछि फर्केर हेर्नु परेन । अहिले उनीसँग ह्याचरी, ग्यास, अर्गानिक मल, एग्रोभेट, हाउजिङ, मेटल गरी १४ वटा व्यवसाय छन् । यी सबै व्यवसायलाई अविनाश समूहले ह्याण्डिल गरिरहेको छ । सम्भवतः उनलाई आफ्नो व्यवसायमा भएको लगानी समेत थाहा छैन । तर, बैंकको ऋण करिब ८ अर्ब रुपैयाँ भएको भने उनलाई हेक्का छ । १५ वर्षको उमेरमा शुरु गरेको खाद्यान्न व्यवसायमा विष्टले ५ वर्ष बिताए । ‘पछि वाक्क लाग्यो, छाडी दिएँ,’ उनले भने । त्यसपछि अध्ययनमा लागेका उनले लामो कालखण्ड ओशोको ध्यानमा बिताए र जोरुवादी बुद्धत्वको मार्ग अपनाए । सानैमा व्यवसाय गर्दा ढाट्नु पर्छ, उपभोक्तालाई ठग्नु पर्छ भन्ने उनको बुझाइ थियो । पछि व्यवसाय भनेको त्यो होइन रहेछ भन्ने बुझे । व्यवसाय गर्न चोर्न, ढाट्न केही पनि गर्न पर्दैन, उपभोक्ता प्रति इमान्दार भए पुग्छ, उत्सुकता देखाउँदै भने । उनका अनुसार उपभोक्ताले तिरेको पैसाको पूर्ण सन्तुष्टि दिलाउन सक्नु नै कुशल व्यवसायीको पहिचान हो । उपभोक्तालाई सही सन्तुष्टि दिन सकिएन भने उसले सही व्यवसाय गरिरहेको हुँदैन भन्ने उनको दूरगामी चिन्तन छ । ‘यदि व्यवसायीले त्यसो गर्न सकेन भने उसले व्यवसायीको नाममा ठगी गरिएको छ भनेर बुझ्नुपर्छ, उनी भन्छन् ‘यो गेरु वस्त्रभित्रको चोडा कपडा हो ।’ ‘मैले ३० वर्षअघि ह्याचरी व्यवसाय शुरु गरेको हुँ । त्यतिबेला व्यवसाय भन्ने नै थिएन । उत्पादकको तर्फबाट आम ग्राहकलाई पूर्ण सन्तुष्टि दिन खोजेको छु,’ उनले भने । मेरो उत्पादन उपभोग गर्ने उपभोक्तालाई उत्पादित वस्तुको सबै गुण थाहा हुन्छ भन्ने पनि हुँदैन । तर, उपभोक्तालाई मूल्य अनुसारको वस्तु दिन सक्नु नै मेरो धर्म हो । गुणस्तरीय उत्पादन दिइरहेको छु,’ उनी भन्छन् । त्यति बेला पोल्टी व्यवसाय अण्डामा मात्रै सीमित थियो । अण्डापछिको बूढो पोथी नै(लेयर्स) मासुको लागि प्रयोग हुने गर्थ्याे । बोइलर थिएन । पछि अण्डा र मासुका लागि छुट्टाछुट्टै व्यवसाय शुरु भयो । थुप्रै कम्पनी थपिए । नाम थपिए । व्यवसाय शुरु गरेको तेस्रो वर्षमा नै सफतला हासिल गरेका उनले व्यवसायको लागि त्यति मेहनत नगरेपनि सफलता भने एक पछि अर्को थपिदै गए । ‘व्यवसाय शुरु गरेपछि कहिले फर्केर हेर्न परेन, सधै सन्तुष्टी प्राप्त भइरह्यो ।’ ३० वर्ष अघि पोल्ट्री व्यवसायलाई एकदमै साधारण व्यवसायको रुपमा लिने गरिन्थ्यो, सहयोगी व्यवसायको रुपमा । राजनीति गर्नेले खर्च जुटाउन घरको बुईगलमा कुखुरा पाल्ने गरेका थिए । व्यवसाय भन्ने नै थिएन । करिब ५० को दशको पूर्वार्द्धमा यो व्यवसायको रुपमा शुरु कुखुरापालन । यसअघि अण्डा र मासुका लागि उपभोक्ता आफैले कुखुरा पाल्ने प्रचलन थियो । ‘सरकारले जे भने पनि नेपाल १५ वर्ष अघिनै अण्डा र मासुमा आत्मनिर्भर भइसकेको छ । सरकारको तथ्यांकमा कुखुराको तथ्यांक कम छ’ उनले भने-‘सरकारले ३ वर्ष अघि एक वर्षमा अण्डामा आत्मनिर्भर बनाउने भनेको दोस्रो वर्ष अण्डाको उत्पादन ३० प्रतिशतभन्दा बढीले घट्यो ।’ अण्डाको गुणस्तर साधारण उपभोक्तालाई थाहा हुँदैन । यद्यपी अण्डा फोडेर राख्दा पहेँलो भाग डल्लो बस्नु पर्छ । अण्डाको पहेँलो भाग र्याल्ल भयो भने खान हुँदैन । अण्डाबाट पानी पनि छुटिन हुँदैन । पानी छुट्टिएको अण्डा खाँदा मानवलाई असर गर्ने सम्भावना बढी रहन्छ । विदेशमा लेवलिङ नगरी बजारमा लानै पाइदैन । कतिदिनसम्म खान मिल्छ त्यो सबै स्पष्ट हुुनपर्छ भन्दै उनले अण्डाको गुण चिनाए । अण्डा फोडेर राख्दा पहेँलो भाग डल्लो बस्नु पर्छ । अण्डाको पहेँलो भाग र्याल्ल भयो भने खान हुँदैन । अण्डाबाट पानी पनि छुटिन हुँदैन । नेपालमा अण्डामा लेभलिङ अविनाश ग्रुपले मात्रै गरेको छ । युरोप-अमेरिकाको कन्डिशनमा उत्पादन भएको मितिले एक महिनासम्म अण्डा खान हुन्छ । अण्डा खान हुने/नहुने अवस्थाको निर्धारण स्टोर गर्ने स्थानमा भर पर्छ । तातो स्थानमा अण्डालाई राख्नु हुँदैन । कन्टामिनेशन हुन सक्छ । कुखुरा रोगी छ, गर्मीमा केही दिन राख्नु पर्यो भयो भने यसमा सोच्नु पर्ने हुन्छ-उनले भने । फ्रेस अण्डा हातमा पर्यो भने दुई महिनासम्म यसको गुणस्तर घट्दैन र फ्रिजमा अण्डा राख्दा यसको गुण घट्दैन । सामान्यतया उत्पादन भएको मितिले हामी एक साताभित्र अण्डा बिक्री गर्ने गरी बजारमा पठाउँछौं । चिसो मौसममा काठमाडौंमा दुई महिनासम्म फ्रिजमा नराखी पनि अण्डा खान मिल्छ, तर हामी उत्पादकले त्यसो भन्दैनौ, उनले भने । अविनाश ग्रुपले अहिले अण्डाको ६ प्रकारले ग्रेडिङ गर्दै आएका छ । अब आउने नयाँ मेशिनले १२-१३ प्रकारबाट अण्डाको ग्रेडिङ गर्न सक्छ । कलर र साइजअनुसार अण्डाको ग्रेडिङ हुन्छ । खानको लागि अण्डाको कलरले कुनै रुलिङ गर्दैन । साइजले पनि फरक पार्दैन । यद्यपी ब्राउन एग भयो भने खानको लागि अझ उपयोगी मानिन्छ । अण्डा सहित मासुको गुणस्तर पनि फार्म र मासु काटेर राख्ने ठाउँमा भर पर्छ । अण्डाभन्दा मासुमा समस्या छ, अण्डामा भन्दा मासुमा कन्टामिनेशन हुने सम्भावना बढी हुन्छ । तर, पनि नेपाली परिवेशमा अन्यको मासुभन्दा कुखुराको मासु सफा मानिन्छ । असर पनि परिवेश र परिस्थिति अनुसार फरक हुन्छ । आज पनि सरकारले पोल्ट्री व्यवसायका लागि सप्ठ्यारो केही पनि गरिदिएको छैन । बरु थुप्रै ठाउँमा अप्ठ्यारो पारिदिएकोे छ । अनावश्यक कर लगाएको छ । नीति नियममा सहजीकरण छैन । अविनाश ग्रुपले अहिले अण्डाको ६ प्रकारले ग्रेडिङ गर्दै आएका छ । अब आउने नयाँ मेशिनले १२-१३ प्रकारबाट अण्डाको ग्रेडिङ गर्न सक्छ । नयाँ नीति बनाउनु पर्नेमा अहिलेसम्म ठोस निर्णय हुन सकेको छैन । बनेको नीतिको कार्यान्वयन अवस्था फितलो छ । क्यारेन्टाइन ऐन पुरानो भइसक्यो । धेरै संशोधन गर्नु पर्छ । ऐन आएको ३ वर्षमै संशोधन गर्नुपर्छ भनिएको थियो । समय सापेक्ष ऐन, नीति नियम बनाइनु पर्छ भन्ने हाम्रो आवाज हो । दण्ड सजायको राम्रो व्यवस्था हुनुपर्छ । कुखुरापालन, फार्मिङ, ओसार पसारलगायतका सबै व्यवसायिक इकाइको नीति बन्नुपर्छ । सरकारले व्यवसायको प्रोटेक्स गर्नु पर्दैन । प्रोटेक्सले व्यवसायको प्रगतिमा बाधा पुर्याउँछ, उनी भन्छन् । कुनै पनि चिज भित्र्याउनु अघि सरोकारवालासँग छलफल नगरी राणा शासनको बेलाको जस्तो रुलिङ गरेर ऐन, नीति नियम ल्याउने सरकारी रबैया उनलाई पच्दैन । एन्टिबाइटिक कुखुरालाई दिनु उपयुक्त हो कि होइन । अनि त्यो कुखुरालाई खुवाएको एन्टिबाइटिकले मानव जीवनलाई असर गर्छ कि गर्दैन, खोइ सरकारले यसमा ध्यान दिन सकेको ? उनले प्रतिप्रश्न गर्छन । खराब गरेको छ भने सरकारले गलत चिज उत्पादन गर्न दिनु भएन । । कुखुरापालनमा एन्टिबाइटिकको विषय हियूमरको रुपमा फैलाइएको छ । मासु खाएर भन्दा तरकारीलगायतका अन्य वस्तुको सेवनबाट बढी हानी पुगेको ठहर छ । माटोको अवस्था विषादीको प्रयोगले विगारी सकेको छ । तरकारीबाट आम उपभोक्ताले सिधै विषादी खाइरहेका छन् । पोल्ट्रीमा त्यस्तो छैन,’ उनले भने ‘बर्ड फ्लू ठूलो रोग होइन ।’ यो एक किसिमको रुघाखोकी हो । व्यवयासीलाई पनि आफ्नो जीवन त्यतिकै प्यारो हुन्छ, व्यवसाय प्यारो हुँदैन । ज्यान नै जोखिममा राखेर म किन व्यवसाय गर्छुु, उनी भन्छन्- ‘व्यवसायीले त अझै जिउँदै कुखुरा समात्नु पर्छ ।’ यस्तो अवस्थामा अण्डा र मासुमा आत्मनिर्भर भइरहन वार्षिक १० देखि १५ अर्ब लगानी थपिनु पर्ने उनले बताए । उनको पोल्ट्री व्यवसायमा मात्रै ३ सय जनाभन्दा आवद्ध छन् । उनीहरूको सुरक्षाका दायित्व मेरो हो । हुनेसम्म सुरक्षा दिनु पर्नेमा उनी सहमत पनि छन् । उपभोक्ताको चूलोमा त मरेको वा मारिएको मासुमात्रै पुग्छ । उपभोक्ताले पनि आफ्नो सेन्स प्रयोग गर्नुपर्छ । यो नचाहिदो हियुमर फैलाएर उपभोक्तालाई अन्योलमा पार्ने काम भइरहेको छ । उपभोक्ताले अरुलाई दोष दिनुभन्दा आफै सचेत हुनुपर्ने उनको तर्क छ । सरकारले व्यवसायीलाई गाह्रो पर्दा सहयोग गर्दैन सरकारले व्यवसायीलाई गाह्रो पर्दा सहयोग नगरेको उनको अनुभव छ । नेपालको उत्पादनले कुखुरालाई दाना बनाउन मकैले पुग्दैन । भारतमा मकै छैन । त्यहाँबाट ल्याउँदा ५ प्रतिशत भन्सार तिरे पुग्थ्यो । तेस्रो मुलुकबाट आयात गर्दा १० प्रतिशत भन्सार तिर्नुपर्छ । भटमास नेपालमा हुँदै हुँदैन । घरेलु उत्पादनलाई जोगाउने नाममा सरकारले नचाहिदो कर लगाएर व्यवसायलाई धरापमा पारेको छ, उत्पादन लागत बढाएको छ । प्रतिस्पर्धी क्षमता घटाएको छ । घरेलु उत्पादनलाई सुरक्षा गर्ने नाममा व्यवसायीलाई वास्तै नगरको उनको गुनासो छ । यस्तो अवस्थामा अण्डा र मासुमा आत्मनिर्भर भइरहन वार्षिक १० देखि १५ अर्ब लगानी थपिनु पर्ने उनले बताए । यो व्यवसायमा चुनौती छ । अण्डा र मासुको मूल्य तलमाथि हुनुको मुख्य कारण माग तथा आपूर्ति नै हो । व्यवसायीले अहिले हाई कष्टका अण्डा उत्पादन गरिरहेका छन् भने अर्को मार्केटमा तीन लेयर छ । उत्पादन लागत र मध्यस्तकर्ताको तीन लेयरलाई काटेर एक लेयरमा झार्न सके अहिलेकै अवस्थामा ११ रुपैयाँमा अण्डा र साढे दुई सय रुपैयाँमा उपभोक्तालाई मासु खुवाउन सकिन्छ । उपभोक्तालाई सस्तोमा अण्डा र मासु खुवाउन मध्यताको लेयर घटाउन व्यवसायी लागि परेका छन् । सरकारले करमा केही छुट दिए व्यवसायीले साढे ८ रुपैयाँमा अण्डा उत्पादन गर्न उनको हिसाव छ । व्यवसाय गर्दा धेरै नाफा हुनु उचित हुँदैन । बढी नाफा भयो भने उसले चाहिने नचाहिने ठाउँमा खर्च गर्छ र सधै त्यहि अनुसार नाफा खोज्छ, जुन हुदैन। व्यवसायलाई दीर्घकालीन रुपमा स्थापित गराउन बढी नाफा हुनु राम्रो संकेत नभएको बताउँदै उनले भने-‘आफूले गरेको कामबाट रिर्टन मिल्छ कि मिल्दैन त्यो भने अवश्य हेर्नुपर्छ ।’ अविनाश ग्रुपले नेपालमा पहिलो पटक अर्गानिक मल उत्पादन गर्दै छ । अबको दुई-तीन महिनामा अविनाश प्रडक्टको रुपमा बजारमा आउँछ । दैनिक डेढ करोडको दाना खाने नयाँ पोल्ट्री फर्म अबको दुई वर्षमा अविनाश ग्रुपको तीन वटा पोल्ट्री फर्म छ । एउटा फार्ममा १.८ र अर्को दुई वटामा ०.५-०.५ मेगावाट विद्युत खपत हुन्छ । सातामा डेढ करोडको दाना उनी कुखुरालाई खुवाउँछन् । अब दुई वर्षमा दैनिक डेढ करोडको दाना खपत हुने ठूलोे फर्म खुल्दैछ,’ उनले भने । नेपालमा दुई सयभन्दा बढी ह्याचरी उद्योग छन् । एक सयभन्दा बढी दाना उद्योग छन् । दुई खर्बको हाराहारीमा लगानी छ । प्रत्यक्ष अप्रत्यक्ष रुपमा करिब १५ लाखले रोजगारी पाइरहेका छन् । अहिले उनीसँग एक दर्जनभन्दा बढी व्यवसाय छन् । अर्बौको लगानी छ । १ हजार जनाले भन्दा बढीले रोजगारी पाएका छन् । जीडीपीमा पोल्ट्रीमा करिब चार प्रतिशत योगदान रहेको विष्टले बताए । अविनाश अर्गानिक मल दुई महिनाभित्र बजारमा अविनाश ग्रुपले नेपालमा पहिलो पटक अर्गानिक मल उत्पादन गर्दै छ । अबको दुई-तीन महिनामा अविनाश प्रडक्टको रुपमा बजारमा आउँछ । चितवनमा यसको कारखाना छ । शुरुमा दैनिक करिब २० टन उत्पादन गर्ने कार्यकारी अध्यक्ष विष्टले बताए । २ वर्षभित्र प्रतिदिन दुई सय टन उत्पादन गर्ने गरी प्लान्ट जोड्न लागेको उनले जानकारी दिए । करिव २० करोडमा यो उत्पादन शुरु गर्न लागिएको हो । ‘जोरुवादी बुद्धत्वको सिद्धान्तलाई पछ्याउने सन्यासी हुँ’ म ओशोका शिष्य हुँ । जीवनको कुनै कालखण्डमा ध्यान मात्रै गरेर बस्थे । मेरो समाधि वा सन्यासी भनेको जोरुवादी बुद्धत्व हो । आँट र साहसका साथ शान्त र सिर्जनशील भएर कर्म गर्न जोरुवादी बुद्धले मार्ग प्रशस्त गर्छ । जोरुवादी बुद्धत्वले समाजमा बसेर भौतिक सिर्जना गर्दै आजको पूर्ण मानव भएर बाच्न सिकाउँछ, उनी भन्छन्। उनले ४३ वर्ष पहिला सन्यास लिएका हुन् । उनी त्यसकै नव सन्यास हुन् । सन्यास लिएपछि अन्यले कमन्डलु बोकेर हिड्छन्, तर विष्ट भने कर्ममा लागिरहे । उनलाई आज कर्मको फल पूर्ण रुपमा मिलेको छ । उनी भन्छन्-‘हामी मानव हुने क्षमता लिएर आएका छौ । म पूर्ण मानव बन्ने प्रयत्न गरिरहेको छु । एउटा जीविका र एउटा सोचका साथ अघि बढ्न खोजिरहेको छु ।’ समाजमा पद, पैसा र प्रतिष्ठा भएमा मानव सफल भएको मानिन्छ । तर, उनी त्यो सोच्दैनन् । म असन्तुष्ट नै छैन । सन्तुष्ट बन्न खोजेकै होइन । सबैभन्दा ठूलो दुःखको कारण अपेक्षा हो । अपेक्षा गरिएन भने दुःखी हुनु नै पर्दैन । दुई खुट्टे हामी र चार खुट्टेमा के फरक छ । सोच्न, सुखानुभूति दुबैले आ-आफ्नो तरिकाबाट गर्छन् । चार खुट्टे जे खोजिरहेको छ त्यो भन्दा फरक दुई खुट्टे खोज्छ । म को हुँ र के हुँ भन्ने पहिचान गर्न सिकाउने क्षमता मानवमात्रै छ । मान्छेको धर्म हुन्छ । देशको धर्म हुनुहुँदैन भनेर राष्ट्रलाई निरपेक्ष बनाइएको हो । धर्मको अर्थ नबुझेर ठूलो झगडा हुन्छ । माटो, पानी, आगोको आ-आफ्नै स्वभाव अनुसार धर्म छ । म असन्तुष्ट नै छैन । सन्तुष्ट बन्न खोजेकै होइन । सबैभन्दा दुःखको कारण अपेक्षा हो । अपेक्षा गरिएन भने दुःखी हुनु नै पर्दैन । दुःखको कारण अपेक्षा हो । हामीले सुख र दुःखको परिभाषा गर्न सकेका छैनौ । सबै पुगेपछि हुनेखानी भन्छौं । मैले करिब करिब सबै प्रकारका फिजिकल काम गरेको छु । मैले जिन्दगीमा जागिर खाइन । सोच नै गरिन । म जागिरमा अटाउनै सकिन । जागिर खानै पनि परेन । केटाकेटीमा व्यापार गरे । त्यसपछि पढ्न लागे । अनि सन्यासी भए । १२ वर्ष आश्रममा बसे । ओशोमा बसेर समय यो अवधि विताएको हुँ । ४ वर्ष काठमाडौंमा बसे । पोखरामा ७ वर्ष बसे । साढे नौ महिनामा पुनामा बसे । म दैनिक बिहान १ र बेलुका १ घण्टा अहिले पनि ध्यान गर्छु । म साधारण व्यवसायी हुँ । मैले कुनै व्यवसाय गर्ने रणनीति बनाएर अघि बढेकै होइन, त्यतिकै बने-उनले भने ।
“हजारौँ श्रमिकको जिम्मा कोषले लिन्छ, त्यसैले रोजगारदाताले मन खुम्च्याउन जरुरी छैन”- मन्त्री विष्ट
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सूचीकृत हुन रोजगारदताले मन खुम्च्याउन जरुरी नभएको बताएका छन् । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी)ले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले सानो रकमको योगदानबाट रोजगारदाता सधैँ चिन्तामुक्त हुने बताए । “सानो रकम योगदान गर्दा रोजगारदाताले ठूलो जोखिम व्यहोर्नु पर्दैन”, मन्त्री विष्टले भने, “हजारौँ श्रमिकको जिम्मा कोषले लिन्छ, त्यसैले रोजगारदाताले मन खुम्च्याउन जरुरी छैन ।” यसअघि नै रोजगारदाताले आफ्ना श्रमिकको उपदान र सञ्चयकोष कट्टी गरिरहेको अवस्थामा अब थप व्ययभार थपिन्छ भनेर चिन्तित हुन नपर्ने उल्लेख गर्दै उनले भने, “रोजगारदाता भयभीत हुनुपर्ने कुनै कारण छैन ।” सामाजिक सुरक्षा योजनामा सहभागी हुन योगदानकर्ताको तर्फबाट रोजगारदाताले आधारभूत पारिश्रमिकको ३१ प्रतिशत रकम सामाजिक सुरक्षा कोषमा मासिक रूपमा जम्मा गर्नुपर्ने व्यवस्था छ । त्यसमा सम्बन्धित रोजगारदताले २० प्रतिशत र योगदानकर्ता श्रमिकले ११ प्रतिशत रकम योगदान गर्नुपर्नेछ । योजनामा सहभागी भएसँगै रोजगारदाता र श्रमिकलाई नै फाइदा पुग्ने उनको भनाइ थियो । सामाजिक सुरक्षा योजनाका बारेमा जानकारी नहुँदा विभिन्न टीकाटिप्पणी भइरहेको उल्लेख गर्दै मन्त्री विष्टले श्रमिकलाई योजनाका बारेमा जानकारी गराउन ट्रेड युनियन क्रियाशील हुनुपर्ने बताएका छन् । सरकार, रोजगारदाता र श्रमिकको त्रिपक्षीय सम्झौताका रूपमा कार्यक्रम कार्यान्वयनमा आएको भन्दै उनले अहिले कुनै पक्ष प्रक्रियामा सहभागी हुन्न भनेर पन्छिन नपाउने जानकारी दिए । मन्त्री विष्टले भने, “योगदानमा आधारित सामाजिक सुरक्षा योजना सबैको साझा कार्यक्रमका रूपमा आएको हो, योजना कार्यान्वयनका क्रममा देखिएको जटिलता हल गर्न कार्यदल निर्माण गरिएको छ, त्यसैले कार्यान्वयनमा द्विविधा पाल्नु जरुरी छैन ।” उनले असोज मसान्तभित्र रोजगारदाता र श्रमिकलाई कोषमा सूचीकृत गराउन गम्भीर छलफल गर्नसमेत ट्रेड युनियनलाई आग्रह गरे । तोकिएको समयसीमा भित्रै सम्पूर्ण प्रतिष्ठान कोषमा सूचीकृत हुनुको कुनै विकल्प नभएको उल्लेख गर्दै उनले कोषमा सूचीकृत हुन अटेर गर्ने प्रतिष्ठानमाथि सरकार कडा ढङ्गबाट प्रस्तुत हुने बताए । योजना कार्यान्वयन हुँदैन कि भनेर शङ्का नगर्न आग्रह गर्दै उनले भने, “ढुक्क हुनुहोस्, असोज मसान्तभित्र सम्पूर्ण प्रतिष्ठान र श्रमिक कोषको दायरामा आउनेछन् ।” यसरी, तोकिएको समयभित्रै सम्पूर्ण प्रतिष्ठानलाई कोषको दायरामा ल्याउन सरकारले बहुपक्षीय छलफल थालेको छ । शुक्रबार प्याब्सनसँग छलफल गरेको श्रम मन्त्रालयले आज होटल एशोसिएसनसँग छलफल गर्दैछ । त्यस्तै केही दिनभित्र बैंक तथा वित्तीय संस्थासँग छलफलको तयारी गरिएको मन्त्रालयले जनाएको छ । “डेढ महिनाभित्र सम्पूर्ण प्रतिष्ठानलाई कोषमा सूचीकृत गराउन जरुरी छ”, मन्त्री विष्टले भने, “सबैलाई कोषको दायरामा ल्याउन अब सरकार अगाडि बढ्छ ।” उनले मुलुकका विभिन्न स्थानमा रहेका औद्योगिक क्षेत्रमा रहेका उद्योग, प्रतिष्ठान र तिनमा कार्यरत श्रमिकलाई कोषमा आबद्ध गराउन समयसीमा तोकेरै लाग्ने बताए । “अब हामी बालाजु, पाटन, हेटौँडा, पोखरा, नेपालगञ्ज तथा भैरहवा औद्योगिक क्षेत्रमा टोली नै पठाएर सूचीकृत गराउँछौँ”, उनले भने, “कोषको कर्मचारीले उनीहरुलाई सूचीकृत गराउँछन्, सूचीकृत हुन नमाने स्पष्ट जवाफ मागेर सरकारले सचेत गराउने छ ।” कार्यक्रममा जेटियुसिसीका अध्यक्ष विनोद श्रेष्ठले रोजगारदाताको सूचीकरण अपेक्षाकृत नदेखिएकामा चिन्ता व्यक्त गर्दै सम्पूर्ण प्रतिष्ठानलाई सूचीकृत गराउन सरकारको भूमिका दरिलो हुनुपर्ने बताएका थिए । उनले जेटियुसिसीले रोजगारदतालाई कोषमा सूचीकृत गराउन अभियान थाल्ने पनि जानकारी दिए । “फेरि सबै एकजुट हुनुपर्ने बेला आएको छ”, उनले भने, “अब तेज गतिमा जानुपर्छ, मजदुरका समस्या सम्बोधन नभएसम्म लडिरहने छौँ ।” हालसम्म कोषमा चार हजार ९२ प्रतिष्ठान र ३५ हजार ५०० भन्दाबढी श्रमिक सूचीकृत भइसकेका छन् । देशभर करिब दुई लाखको सङ्ख्यामा प्रतिष्ठान क्रियाशील रहेको अनुमान छ । कोषले गत साउन १ गतेदेखि योगदान सङ्कलन गर्न थालिसकेको छ ।
जर्मनमा २१ औँ गैरसरकारी संस्थाको सम्मेलन हुँदै
काठमाडौं । नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षाको प्रवद्र्धनका लागि जर्मनीको कोलोन नगरमा यसै साता २१ औँ गैरसरकारी संस्थाको सम्मेलनको आयोजना हुँदैछ । जर्मन नेपाल मैत्री सङ्घको आयोजनामा हुन लागेको सो सम्मेलनमा नेपालको समृद्धिका लागि प्राविधिक तथा व्यावसायिक शिक्षाको प्रवद्र्धन गर्नु आवश्यक भएको भन्दै यसका लागि बाह्य लगानी, प्रविधि र ज्ञान भित्र्याउन सकिने सम्भावनाका बारेमा छलफल हुने सङ्घका अध्यक्ष रामप्रताप थापाले बताएका छन् । उक्त सम्मेलनमा नेपालका लागि जर्मनीका राजदूत रोलाल्ड सेफरले विशेष मन्तव्य दिनेछन् भने नेपालका लागि जर्मनीका महावाणिज्यदूत समेत रहेका अध्यक्ष थापा र गोटिङ्गेनका डा. वियाट्रिस क्लिरको पनि विशेष प्रस्तुति रहने सङ्घले आज जनाएको छ । सो अवसरमा नेपालमा प्राविधिक शिक्षा चुनौती र अवसर तथा गैरसरकारी संस्थाको वर्तमान अवस्थाका बारेमा पनि कार्यपत्र प्रस्तुत हुनेछ । हरेक वर्ष आयोजना हुने यस सम्मेलनमा नेपाललाई सहयोग गर्दै आएका जर्मनीका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहने आयोजकले जनाएको छ । रासस
श्रीकृष्ण जन्माष्टमीमा जनता बैंकले बाँड्यो ग्लुकोज पानी
काठमाडौँ । जनता बैंकले श्रीकृष्ण जन्माष्टमीको अवसरमा भदौ ६ गते पाटन कृष्णमन्दिर र बुढानिलकण्ठस्थित हरेकृष्ण धाममा भक्तजनहरुलाई पिउने पानी तथा ग्लुकोज पानी वितरण गरेको छ । गर्मी मौसममा लामो समयसम्म लाइनमा बस्नु पर्दाको असुविधालाई ध्यान दिई बैंकले उपलब्ध गराएको निःशुल्क पिउने पानी तथा ग्लुकोज पानीले भक्तजनहरुलाई निकै राहत प्रदान गरेको थियो । उक्त दिन दुबै स्थानमा गरी करिव १५ हजार भक्तजनहरुलाई शुद्धपानी र ग्लुकोज पानी उपलब्ध गराइएको बैंकले जनाएको छ । सोही अवसरमा बैंकले हरेकृष्णधाम, बुढानिलकण्ठका अध्यक्ष रुपेश्वर जोशीलाई बैंकको तर्फबाट रु. १ लाखनगद र ५ थान ठूलो डष्टबिन सहयोग स्वरुप उपलब्ध गराएको थियो । हरेकृष्णधामले हरेक बर्ष कृष्ण जन्माष्टमीमा आउने सबै भक्तजनहरुलाई निःशुल्क भोजन(प्रसादी) को ब्यबस्था गर्ने गरेको छ ।
नाडा अटो शोमा महिन्द्राका दुई नयाँ सहित ४ गाडी प्रदर्शनी हुने
काठमाडौं । नाडा अटो शोमा महिन्द्राले २ वटा नयाँ गाडी सहित ४ वटा गाडीहरु शोकेस गर्ने भएको छ । महिन्द्रा एण्ड महिन्द्राको आधिकारिक वितरक अग्नी इन्कर्पोरेटले यही भदौ १० गते देखि शुरु हुने नाडा अटो शोमा बहुप्रतिक्षित एक्सयूभी ३०० र नयाँ एमपीभी मराजो सहित टीयूभी ३०० र स्कर्पीयो पिकअप शोकेसमा राख्ने जनाएको हो । यस पटकको अटो शोमा महिन्द्राको सब फोर मिटर एसयूभी एक्सयूभी ३०० र नयाँ एमपीभी मराजो विशेष आकर्षणको रुपमा रहनेछ । भारतीय बजारमा अध्याधिक रुचाइएको सबकम्प्याक्ट एक्सयूभी ३०० कम्पनीको लेटेस्ट डिजाइन र अध्याधुनीक सैग्मेन्ट फस्ट थूप्रै विशेषतासहित आएको यङ्ग एसयूभी हो । यो एसयूभी डब्लु ४, डब्लु ६, डब्लु ८ र डब्लु ८ (अफ्सनल) चारवटा भेरियन्टमा उपलब्ध हुनेछ । एक्सयूभी ३०० मा थुप्रै सेग्मेन्ट फस्ट सेफ्टी फिचर समेत दिइएको छ । यसका साथै यसको ‘सिक्स स्पिड ट्रान्समिसन’ प्रणालीले कुशलापूर्वक इन्जिनको शक्ति उपयोग गर्छ र व्यापक सञ्चालनका तहहरूमा टर्क उपलब्ध गराइ रोमाञ्चकता प्रदान गर्ने कुरालाई सुनिश्चित गर्छ । सात एयरब्याग, चारै चक्कामा डिस्क–ब्रेक, १७ इन्च अलोय–ह्वील, ईबीडी तथा एबीएसजस्ता अत्याधुनिक विशेषताले एक्सयूभी–३०० निकै सुरक्षीत गाडी बनेको छ । नयाँ एसयूभी १.२ लि टर्बो पेट्रोल इन्जिन जसमा ८१ केडब्लू (११० बीएचपी) पावर र २०० एनएम टर्क र १.५ लि टर्बो डिजल इन्जिन जसमा विद्युतीय भेरिएबल जिओमेट्री चार्टरसहित ८५.८ केडब्लू (११५ बीएचपी) पावर र ३०० एनएम टर्क गरी दुईवटा इन्जिन अफ्सनमा उपलब्ध रहने छ । एक्सयूभी ३०० कम्फर्ट मोडमा सहरी ट्राफिकमा सहजतापूर्वक सञ्चालन गर्ने सुविधा प्राप्त हुन्छ । त्यस्तै महिन्द्रा मराजो कम्पनीको अहिलेसम्मको सबैभन्दा ठूलो प्यासेन्जर भेइकल हो, जसलाई ७ र ८ सिट अप्सनमा बजारमा उपलब्ध गराइएको छ । यो गाडि सार्क माछाबाट प्रेरित भएर बनाइएको एक आधुनिक मल्टि पर्पोज भेहिकल (एमपीभी) हो । होटल, ट्राभल एजेन्सी र फेमिली कारको रुपमा समेत प्रयोग हुन सकिने यो एमपीभी आधुनिक फिचरहरुले सुसज्जित रहेको कम्पनीले जनाएको छ । मराजोका सबै भेरिएन्टमा एबीएस र ईबीडी तथा ब्रेक असिष्ट, स्टायडर्ड फिचरको रुपमा दुईवटा एयरब्याग तथा चाइल्ड सिटलगायतका सुरक्षा फिचरहरू रहेको छ । मराजो कारको क्याविनको छतमा एयर कन्डिसनिङ्ग भेन्ट सिस्टम रहेकोले पछाडि बस्ने यात्रुहरुलाई पनि एसिको हावा सजिलै पुग्नेछ । यो एमपीभीको सेन्टर कन्सोलमा ठूलो टचस्क्रिन सहितको इन्फोटेनमेन्ट सिस्टम रहेको छ । गाडीमा थ्री–स्पोक स्टेयरिङ्ग ह्वील रहेको छ, जसमा अडियो, ब्लू–टुथ टेलेफोर्निक र क्रूज कन्ट्रोलको सुविधा रहेको छ । महिन्द्रा मराजोमा नयाँ १.५ लिटरको ४ सिलिन्डर डिजेल इन्जिनमा उपलब्ध रहेको छ । नेपाली बजारमा उपलब्ध विभिन्न कम्पनीका पिकअप मध्येको सबैभन्दा सफल पिकअप हो महिन्द्रा स्कर्पियो । अफरोड वा एडभेन्चर यात्राका लागि पिकअप एकदमै उपयोगी हुन्छ । किनकी पिकअपमा यात्रृका लागि आरामदायी सिटका साथै सामान राख्नका लागि पछाडिको भागमा ठूलो स्पेस रहेको हुन्छ । महिन्द्राको स्कर्पियो पिकअपमा सबै चक्कामा बराबर पावर डिष्ट्रिव्युट भएर गुड्ने भएकाले केही सामानसहित धेरै अफरोड यात्रा गर्नेहरु माझ लोकप्रिय भएको छ । स्कर्पियोको प्लेटफर्ममा बनेको महिन्द्रा पिकअपमा चार सिलिन्डरयुक्त २.२ लिटर टर्बो डिजेल एमहक इन्जिन रहेको छ । नेपाली बजारमा स्कर्पियो पिकअप विभिन्न ३ भेरियन्टमा उपलब्ध छन् । स्कर्पियो पिकअप फूलअप्सन गाडी हो । डबल क्याबमा उपलब्ध पिकअप तीन मोडल एस–६ टूह्वील ड्राइभ, एस–६ फोरह्वील ड्राइभ र एस–१० छ । एस–१० मा ह्यान्ड रेस्ट, अटोमेटिक हेड ल्याम्प, क्रुज कन्ट्रोललगायत विशेषता रहेको छ । टियूभी ३०० नेपाली बजारमा परिचीत एसयूभी हो । यो एसयूभीमा ७ सिटिङ्ग क्यापासीटी भएको एक बोल्ड एसयूभी हो । रियर ह्वील ड्राइभ भएकोले यो एसयूभी नेपालका उकालो आरोलोका साथै कच्ची बाटाहरुमा एकदमै राम्रो प्रफर्मेन्स रहेको छ । चालीस लाखमै खरिद गर्न सकिने यो एसयूभीमा अगाडि दुबै साइडमा एयसब्याग, लेदर सिट, रुफ रेल, अलोय ह्वील र आकर्षक इन्टेरियर रहेको छ ।
भ्रष्ट कर्मचारीलाई सरकारले छाड्दैनः सञ्चार मन्त्री बाँस्कोटा
अर्घाखाँची । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनताका काम छिटोछरितो सम्पादन गर्न अर्घाखाँचीका कर्मचारीलाई निर्देशन दिएका छन् । सन्धिखर्कमा कार्यालय प्रमुखलाई निर्देशन दिँदै सञ्चारमन्त्री बाँस्कोटाले कर्मचारी भ्रष्टाचारी हुन्छन् भन्ने आम जनमानसको बुझाई रहेकाले यसलाई हटाउन कर्मचारी नै लाग्नुपर्ने बताएका हुन् । उनले जनताको काममा पैसा माग्ने, कमिसन माग्ने, पैसाका कारण काम रोक्ने जस्ता कार्य गरेमा तत्काल त्यस्ता कर्मचारीलाई कारवाही गर्न प्रमुख जिल्ला अधिकारीसहित कार्यालय प्रमुखलाई निर्देशन दिएका छन् । उनले नेपाल सरकार नै भ्रष्टाचारलाई उन्मूलन पार्ने दिशामा अगाडि बढेकाले भ्रष्टाचारलाई बढावा दिने जो कसैलाई पनि सरकारले नछाड्ने बताए । उनले देश समृद्धिको दिशामा अगाडि बढेको उल्लेख गर्दै देशलाई अगाडि बढाउने कि यथास्थितिमा राख्ने भन्ने सबै हात कर्मचारीसँग भएको जानकारी दिएका छन् । कर्मचारीका हकहितमा सरकारले काम गरिरहेकाले सरकारको समृद्धिको यात्रालाई सफल बनाउने मुख्य काम कर्मचारीको भएको उल्लेख गरे । देशमा राजनीतिक क्रान्तिको अध्याय समाप्त भएको भन्दै उनले पाँच वर्षभित्रमा देशको विकास र समृद्धिले काँचुली फेर्ने बताए। ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने दिशामा सरकार अगाडि बढेको उनको भनाइ थियो । उनले जनताको विश्वास र जनमतलाई आधार मानेर सरकारले काम गरिरहेको उल्लेख गर्दै गरिबी र समाजमा व्याप्त कूरीतिको अन्त्य गर्न सरकार लागिरहेको जानकारी दिएका छन् । रासस
एक देशको प्रयोगशालामा गरेको परीक्षणलाई अर्को देशमा मान्यता दिने सहमतिको स्वागत
काठमाडौँ । नेपाल र भारतको खाद्य प्रयोगशालाको परीक्षण प्रतिवेदनलाई दुबै देशले मान्यता दिने सहमति गरेका छन् । हालै काठमाडौंमा सम्पन्न नेपालभारत संयुक्त आयोगको बैठकमा नेपालको खाद्य प्रविधि गुण नियन्त्रण विभाग र भारतको खाद्य सुरक्षा तथा मानक प्रविधिकरण बीच एक अर्कोको देशको प्रयोगशालामा जाँच गरेको खाद्यान्न, फलफूल र तरकारीलाई अर्को देशमा मान्यता पाउने सहमति गरेका हुन् । भारतीय सरकारको फुड सेफ्टी एण्ड स्टान्डर्ड अथोरिटी अफ इन्डियाको हालैको निर्णय अनुसार नेपालको नेशनल फुड एण्ड फिड ल्याब्रोटरी काठमाडौंले भारत सरकारको फुड सेफ्टि एण्ड स्टाण्डर्ड रेगुलेसन २०११ अनुसार परीक्षण गरी मान्यता दिने सम्बन्धी व्यवस्था नेपालबाट भारततर्फ निकासी भईरहेको वस्तुहरु मध्ये करिब २४ वस्तुहरु खाद्य पदार्थ तथा फलफूल तथा तरकारीले भारतीय बजारमा सहज सरल र सुविधायुक्त प्रवेश पाउने कदमको नेपाल चेम्बर अफ कमर्शले जनाएको छ । यसबाट गैर भन्सार अवरोध लगायत प्रकृयागत झण्झट कम हुन गई व्यापार घाटा कम गर्न पनि योगदान पुर्याउने आशा एवम् विश्वास छ-चेम्बरले विज्ञप्तीमा उल्लेख गरेको छ । सो निर्णय अनुसार नेपालबाट भारतमा निकासी वस्तुमा नेपाली गुणस्तर परीक्षणलाई मान्य गरिएका वस्तुहरुमा जुस, जाम, जेली, अचार, क्याण्डि, इन्स्त्याण्ड नुडल्स, विस्कुट, बालबच्चालाई खुवाउने दुध, स्कीम्डहोलमिल्क पाउडर, कण्ड्यान्सड् मिल्क, आइसक्रिम, गुलियो दही, मासु तथामासुजन्यपदार्थ, अदुवा, अलैंची, बेसार, चिया, कफि, मह, ताजाफलफूल र तरकारी छन् । जारी गरिएको परिपत्रमा नेपालको ‘नेशनल फुड एण्ड फिड ल्याब्रोटरिज’ काठमाडौंले एनएबिएलले तोकेको मापदण्ड अनुसार एक्रिडिटिसन एकवर्ष भित्रमा लिनुपर्ने र मापदण्ड सेफ्टि स्टाण्डर्ड रेगुलेशन २०११ अन्तर्गत रहनु पर्ने कुरा समेत उल्लेख गरेको छ । प्रत्येक भन्सार बिन्दुमा आधुनिक क्वारेन्टाइन चेक पोष्ट र खाद्य परीक्षण प्रयोशशालामा स्थानपनामा समेत जोड दिई सो सुद्धढ, व्यवस्थित र सरल हुने आशा एवम् विश्वास लिएको चेम्बरले जनाएको छ ।