विकासन्युज

आइसीएफसी फाइनान्सले २ लाख कित्ता डिबेञ्चर निष्काशन गर्ने, ग्लोबल आइएमई बिक्री प्रबन्धक नियुक्त

काठमाडौँ । आईसीएफसी फाइनान्स लिमिटेडले २ लाख कित्ता डिबेञ्चर निष्काशन गर्ने भएको छ । डिबेञ्चर निष्काशन गर्न आइतबार ग्लोबल आइएमई क्यापीटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरिएको छ । २,००,००० कित्ता डिबेञ्चर प्रति कित्ता अंकित मूल्य रु.१,०००/-को दरले हुने कुल रकम रु.२०,००,००,०००/-(अक्षरेपी बीस करोड मात्र) निष्कासन तथा विक्री गर्ने सम्बन्धमा दुवै संस्था बीच सम्झौता सम्पन्न भएको हो । उक्त डिबेञ्चर ७(सात) वर्षका लागि वार्षिक १२ % ब्याजदरमा प्रत्येक ६/६ महिनामा ब्याज पाउने गरी निष्कासन गर्न लागिएको हो ।

बर्जर पेन्ट्सले ल्यायो ‘बर्जर कलर स्प्ल्यास’ योजना, भाग्यशालीलाई ५ लाख पुरस्कार

काठमाडौँ । नेपालमा सन् २००० देखि सजावटी रङ्गहरुको उत्पादन गर्दै आएको बर्जर जेन्सन एण्ड निकल्सन(नेपाल) प्रालिले बडादशैं र तिहारको अवसरमा बर्जर कलर स्प्ल्यास योजना आरम्भ गरेको छ । यो योजना भदौ १ गतेदेखि कार्तिक मसान्तसम्म लागू गरिएको कम्पनीले जनाएको छ । यो योजना अन्तर्गत १०० वर्ग फिट सिल्कइलुसन डिजाइनको स्योर सट उपहार प्राप्त गर्न बर्जर पेन्ट्सका ग्राहकहरुले छानिएका ब्राण्डहरु खरीद गर्नु पर्नेछ । यो योजना अन्तर्गत एकजना भाग्यशाली विजेताले बम्पर पुरस्कारमा नगद रु.५ लाख र २ जोडीले लण्डन ट्रिपको अवसर प्राप्त गर्नेछन् । अन्य पुरस्कारहरुमा ३२ इन्चको सामसुङ्ग एलइडी टिभि २५ जनालाई, आन्तरिक ट्रिपहरु ५० जोडीलाई र सामसुङ्ग मोबाइल फोन १०० जनालाई प्रदान गरिने कम्पनीले जनाएको छ । उपभोक्ताहरुले बर्जर पेन्टले रँगाइएका बाहिरी र भित्री भित्ताहरुको फोटो अपलोड गरेर डिजिटल प्रतियोगितामा पनि भाग लिन सक्नेछन् र सहभागीहरु मध्ये ३३ जनाले विभिन्न पुरस्कारहरु जित्न सक्नेछन् । घरधनीहरुले यस योजनाका बारेमा विस्तृत रुपमा जानकारी लिन नजिकैको बर्जर डिलरहरुसँग सम्पर्क राख्न सक्नेछन् । यो योजना बर्जरका प्रमुख उत्पादनहरु जस्तैः वेदर कोट लङ लाइफ, वेदर कोट अलगार्ड एक्सपी, वेदर कोट अलगार्ड, वेदर कोट एन्टि डस्ट, सिल्कग्ल्यामर एक्सपी, सिल्क ब्रेथ इजि, सिल्कलक्जरी, इजिक्लिन एक्सपी र इजिक्लिनमा लागू गरिएको छ ।

अशोक लेलैण्ड र मितेरी डेभलपमेन्ट बैंकबिच सम्झौता

काठमाडौं । आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र मितेरी डेभलपमेन्ट बैंक लिमिटेड बिच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसी प्रसाद वोस्ती र आईएमई मोटर्सका भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरेका हुन् । यस सम्झौता अनुरुप आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले सहज रुपमा ७० प्रतिशत सम्मको कर्जा सुविधा मितेरी डेभलपमेन्ट बैंक लिमिटेड(धरान प्रधान कार्यालय) बाट पाउने भएका छन् । यसै अनुरुप ग्राहकहरुले अशोक लेलैण्डको विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा प्राप्त गर्ने भएका छन् । यो सुविधाले आगामी दिनमा ग्राहकहरुलाई कर्जा सुविधा प्राप्त गर्न निकै सजिलो हुने दुबै कम्पनीका प्रमुखहरुले बताएका छन् । कर्जा सुविधा मात्र नभई दुवै कम्पनीबिच संयुक्त रुममा सहकार्य गर्दै अगाडी बढ्ने कुरामा पनि सहमति भएको छ । रेमिटेन्स व्यवसायबाट उदाएको आइएमई ग्रुप सन् २००१ मा स्थापना भएको हो । रेमिटेन्स, बैंकिङ्ग इन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सूचना प्रविधि, उर्जा लगायतको विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने कार्यमा आइएमई ग्रुप निरन्तर लाग्दै आएको छ ।

ग्लोबल आइएमईबाट साना तथा मझौला व्यवसायीले ३ दिनमै कर्जा पाउने

काठमाडौँ । ग्लोबल आइएमई बैंकले साना तथा मझौला व्यवसायमा लगानी गर्न चाहने तथा लगानी गरिरहेका व्यवसायीलाई मध्यनजर गर्दै साना तथा मझौला व्यवसायी कर्जा ३ दिन भित्र उपलब्ध गराउने भएको छ । ग्राहकलाई छिटो छरितो रुपमा सेवा दिई साना तथा मझौला उद्यमी व्यवसायीहरुलाई हौसला र साथ प्रदान गर्दै उत्पादनमा बृद्धि गर्ने उद्देश्यका साथ बैंकले कर्जा लिने समयावधि घटाएको जनाएको छ । अब उक्त कर्जा लिन चाहनेहरुले आवश्यक कागजातहरु बैंकमा पेश गरेको ३ दिन भित्र बिना झन्झट आकर्षक व्याजदरमा कर्जा प्राप्तगर्न सक्ने छन् । आफ्नो ब्यवसाय विस्तार गर्ने उद्देश्य लिएका साना ब्यसायीहरुलाई विद्यमान व्यवसाय वा प्रस्तावित साना उद्योग व्यवसायको नगद प्रवाहको आधारमा रु ५ लाखदेखि देखि रु ६ करोड सम्म ऋण उपलब्ध गराइने बैंकले जनाएको छ ।

एनएमबि फिफ्टीको बारेमा जानकारी

काठमाडौं । एनएमबि फिफ्टीको प्रति इकाई मूल्य रु. १० प्रति अंकित दरका १२ करोड इकाईको लागि मिति २०७६ श्रावण १३ गतेदेखि बिक्री खुल्ला गरिएको थियो । हाल सम्म रु. १ अर्व भन्दाको लागि आवेदन प्राप्त भईसकेको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकले जानकारी दिएको छ । उक्त निष्काशनमा आवेदन दिन इच्छुक सर्वसाधारण तथा संघसंस्थाहरुको लागि आवेदन दिने अन्तिम म्याद मिति २०७६/०५/१० गते सम्म रहेको छ ।

डेङ्गुको संक्रमणबाट चितवनमा एकको मृत्यु

भरतपुर- चितवनमा डेङ्गुको सङ्क्रमणका कारण एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगररपालिका-२, गङ्गोत्री मार्ग निवासी ७१ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार उनको उपचारका क्रममा मृत्यु भएको जानकारी भदौ ६ गते कार्यालयलाई दिइएको हो। वृद्धको साउन ३१ गते चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो। मृतकको नाम गोप्य राखिएको छ। सामान्य ज्वरो आएर साउन २९ गते भरतपुर सामुदायिक अस्पतालमा उपचार गराउन गएका उनको उपचार हुन नसकेपछि चितवन मेडिकल कलेजमा पठाइएको थियो। सोही मेडिकल कलेजमा उपचारका क्रममा उनको मृत्यु भएको केसीले जानकारी दिए। जिल्लामा केही दिनयता डेङ्गुको सङ्क्रमण बढ्दो छ। उनका अनुसार साउनयता भदौ ६ गतेसम्म जिल्लामा ५ सय ६७ जनाको परीक्षण गरिएकामा २ सय २५ मा डेङ्गुको सङ्क्रमण भेटिएको छ। तीमध्ये ४० प्रतिशत बिरामी भरतपुर महानगरपालिकाका रहेको उनले जानकारी दिए। डेङ्गु नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान सम्पन्न गरी जनचेतनामूलक कार्यक्रमलाई तीव्र पारिएको उनको भनाइ छ। रासस

गोल्यान ग्रुपले ल्यायो माटो ब्राण्डका अर्गानिक तरकारी र फलफूल, मूल्य महङ्गो नहुने

काठमाडौं । व्यवसायिक घराना गोल्यान ग्रुपले माटो ब्रान्डको अर्गानिक तरकारी तथा फलफूल आइतबारदेखि बजारमा बिक्री शुरु गरेको छ । झापामा २ अर्ब लगानी गरी अर्गानिक तरकारी तथा फलफूल फर्म सञ्चालन गरेको र त्यहाँको उत्पादन बिक्री शुरु गरेको हो । माटो ब्रान्डका काउली, बन्द, टमाटर, फलफुल लगायतका उत्पादन भाटभटेनी र बिगमार्ट सहितका स्टोरहरुमा उपलब्ध हुने भएको छ । किसानले उत्पादन गरेको अर्गानिक तरकारी तथा फलफूल पनि ग्रुपले किनेर बजारमा ल्याएर बिक्री गर्ने जनाएको छ । माटो ब्राण्डमा कृषिउपज बजारमा ल्याएको गोल्यान एग्रो प्रालिका निर्देशक लतिका गोल्यानले बताइन् । ग्रुपले झापाको फर्मबाट उत्पादन गरेको र अरु किसानबाट सङ्कलन गरेको तरकारी भण्डारण गरी प्याकिङ गरेर बजारमा पठाइने उनले जानकारी दिइन् । उनले भनिन्-अब उपभोक्ताले अर्गानिक ताजा तरकारी खान पाउने छन् । झापामा २ सय विगाह जमिनमा आफैंले उत्पादन गरिरहेका छौँ । ग्रुपले किसानलाई अर्गानिक उत्पादन गर्न सहयोग गर्ने र उत्पादित तरकारी तथा फलफूल माटो ब्रान्डले नै किनेर विचौलिया मुक्त गरी आफैँले बजारमा पुर्याउने गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानले बताए । माटो ब्रान्डले बजारमा ल्याएको तरकारी उपभोक्तालाई महँगो नहुने बताए । उनले हामीले ल्याएको अर्गानिक तरकारीको मूल्य बजारमा रहको विषादीयुक्त तरकारीको मूल्य बराबर हुने र अर्गानिक तरकारी भन्दैमा उपभोक्ताले महँगो तिर्नु नपर्ने बताए । बिस्तारै ‘माटो’ ब्राण्डको तरकारी देश तथा विदेशमा समेत निर्यात गर्ने लक्ष्यका साथ काम भैरहेका बताए । नेपाली बजारमा विषादीयुक्त तरकारी तथा फलफूलको बिक्री बढ्दै गएको र त्यसले मानव स्वास्थ्यमा असर गरिरहेको छ । गाउँगाउँमा गएर किसानसँग समन्वय गरी तरकारी तथा फलफूल उत्पादन र बिक्रीमा सहयोग पुर्याउने ग्रुपले जनाएको छ । ग्रुपले हाल तरकारी मात्र बजारमा ल्याएको र छिट्टै स्ट्रबेरी, कागती, आँप, मेवा, ड्रागन फूड, एभोकाडो, खुर्सानी, तरवुज, लगायत बजारमा ल्याउने तयारी गरेको छ । साथै, भविष्यमा गोल्यान समूहले अर्गानिक उत्पादनलाई विदेश निर्यात गर्ने योजना पनि अगाडि सारेको छ । बैंकिङ व्यवसायमा रहेको ग्रुपले पछिल्लो समय कृषि क्षेत्रमा पनि सक्रियता बढाउँदै गएको छ ।

स्वालम्बन लघुवित्तले गर्यो महिला कर्मचारीको व्यक्तित्व विकास तथा उत्प्रेरणा तालिम

काठमाडौँ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.ले विभिन्न कार्यालयमा कार्यरत महिला कर्मचारीहरुका लागि एक दिने महिला कर्मचारी व्यक्तित्व विकास तथा उत्प्रेरणा तालिमको आयोजना गरेको छ । शनिबार काठमाडौंमा सम्पन्न तालिममा वित्तीय संस्थाबाट संचालित लघुवित्त कार्यक्रमलाई थप प्रभावकारी एवं गुणस्तरीय कायम गरी दीगो रुपमा कार्यक्रम संचालन गर्न महिला कर्मचारीको विशिष्ट भूमिका हुने भएको र कर्मचारीको व्यक्तिगत बृत्ति विकासमा समेत टेवा पुग्ने हेतुले तालिमको आयोजना गरिएको हो । तालिम समापन समारोहमा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नुहुदै प्रमुख कार्यकारी अधिकृत भोजराज बस्यालले वित्तीय संस्थाको अघिल्लो बर्षको प्रगति र आगामी बर्षको कार्ययोजना सम्बन्धमा जानकारी गराउँदै यस्ता किसिमका तालिमले संस्थाको लक्ष्य अनुरुप कार्यक्रमलाई अगाडि बढाउन सकारात्मक सोचको विकास हुने र उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गरे । तालिममा आफ्नो मन्तव्य राख्दै सहभागीले तालिमबाट सिकेका कुराले कार्यक्षेत्रमा गई कार्यक्रमलाई अगाडि बढाउन थप हौसला मिलेको बताउँदै संस्थाको लक्ष्य अनुरुप कार्य गर्न यस किसिमका उत्प्रेरणामूलक तालिमले ठूलो सहयोग पुग्ने बताए । तालिममा व्यक्तित्व विकास, सकारात्मक सोचको विकास र उत्प्रेरणा सम्बन्धी सीप सम्बन्धमा विभिन्न श्रोत व्यक्तिहरुबाट कक्षा संचालन गरिएको थियो । तालिममा केन्द्रीय कार्यालय लगायत विभिन्न शाखा/उपशाखा कार्यालयका ७४ जना महिला कर्मचारीको सहभागिता रहेको थियो ।