मेगा बैंक र साना तथा मझौला व्यवसायी महासंघबीच सम्झौता
काठमाडौं । मेगा बैंक नेपाल र साना तथा मझौला व्यवसायी महासंघबीच सम्झौता भएको छ । मेगा बैंक नेपाल लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेली र साना तथा मझौला व्यवसायी महासंघका अध्यक्ष बाबुकाजी महर्जनबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । यो सम्झौताबाट महासंघमा आबद्ध १२ हजार भन्दा बढी साना तथा मझौला व्यावसायी लाभान्वित हुने बताइएको छ । खासगरी न्यून आए भएका तथा विपन्न समुदायका व्यक्तिहरुलाई यो सम्झौताले लक्षित गरेको छ । यस सम्झौतामा व्यवसायीहरुले मेगा बैंकको प्राथमिकताप्राप्त क्षेत्र अन्तर्गतका कर्जा, लघुवित्त कर्जा तथा नेपाल सरकारको सहुलियतपूर्ण कर्जामा प्राथमिकता दिइनेछ । साना तथा मझौला व्यवसाय संचालन गरिरहेका तथा नयाँ व्यवसाय संचालन गर्न चाहने नेपालभरका १८ देखि ६० वर्ष उमेरका व्यवसायीहरु यो सम्झौताबाट लाभान्वित हुने मेगा बैंकको विश्वास छ । यसैगरी, मेगा बैंकका अन्य कर्जा तथा सेवामा पनि साना मझौला व्यवसायीहरुलाई प्राथमिकता दिने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।
यामाहाको नेकेड बाइक ‘एमटी १५’ सार्वजनिक, मूल्य ४ लाख
काठमाडौ्र । यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले यामाहा एमटी १५, ‘द डार्क वारियर’ लाई नेपालमा सार्वजनिक गरेको छ । यामाहा एमटी १५ को मूल्य चार लाख २४ हजार नौ सय रुपैयाँ तोकिएको छ, भने यो ‘मेटालिक ब्ल्याक’ र ‘डार्क म्याट ब्लु’ गरी दुई एक्साइटिङ कलरमा उपलब्ध छ । ‘एमटी’को पूर्ण रुप ‘मास्टर अफ टर्क’ हो । एमटी सिरिजका यामाहा मोटरसाइकल ‘पावर’ (शक्ति) र ‘एजाइलिटी’ (फुर्तिलोपना)का लागि लोकप्रिय छन् । हाइपर नेकेड प्लेटफर्ममा बनेको नयाँ एमटी १५ मा प्रयोग भएको फयुल इन्जेक्टेड इन्जिनले १०००० आरपीएममा अधिकतम १९.३ पीएस शक्ति र ८५०० आरपीएममा अधिकतम १४.७ एनएम टर्क उत्पन्न गर्छ । नयाँ एमटी १५ ‘एजाइल एसिलेरेसन’, ‘एजाइल ह्यान्डलिङ’ र ‘एड्भान्सड डिजाइन’ को सबैभन्दा उत्कृष्ट नमुना हो जुन ‘टर्क’ र ‘एसिलेरेसन’ अनुभव गर्न चाहने युवा राइडरलाई लक्षित गरेको कम्पनीले जानकारी दिएको छ । नयाँ एमटी १५ मा लिक्विड कुल्ड, ४ स्ट्रोक, एसओएचसी, ४ भल्भ, ६ स्पिड ट्रान्समिसन भएको १५५ सीसीको फ्युल इन्जेक्टेड इन्जिन छ जसमा ‘भेरिएबल भल्भ एक्च्युएसन’ (भीभीए) र ‘असिस्ट एन्ड स्लिपर’ (ए एन्ड एस) क्लच जस्ता अत्याधुनिक प्रविधि रहेको छ । नयाँ एमटी १५ मा १४० एमएमको रियर टायर र २८२ एमएमको सिंगल च्यानल एबीएसहितको फ्रन्ट डिस्क छ । जसले ब्रेकिङलाई सटिक र सुरक्षित बनाइदिन्छ । नेपाली राइडरहरु अहिले ‘स्पिड’ र ‘कन्ट्रोल’प्रति निकै चनाखो छ र यसकारण मोटरसाइकलिङको नयाँ ट्रेन्ड सुरु भइसकेको छ । एमटी१५ को लुक्स र टेक्नोलोजी अन्तर्राष्ट्रिय बजारमा चर्चित एमटी डीएनएबाट प्रभावित छ । १३८ किलोग्राम वजन भएको यो मोटरसाइकलको ग्राउन्ड क्लेरेन्स १५५ एमएम छ, भने ‘इन्जिन वार्म अप टाइम’ कम गर्न थर्मोस्ट्याट् कुलिङ सिस्टम जडान गरिएको छ । त्यसैगरी, ‘हाई आरपीएम’ स्पष्ट आवाजका लागि तीन तह भएको मफ्लर प्रयोग गरिएको छ ।
नेपाल बङ्गलादेश बैंकको ६ नयाँ शाखा विस्तार
काठमाडौं । नेपाल बङ्गलादेश बैंकले थप ६ शाखा विस्तार गरेकाे छ । शाखा विस्तारको क्रममा बैंकले ललितपुर जिल्लाको सानेपा, काठमाण्डौँ जिल्लाको टोखा र तिलगङ्गा , भक्तपुर जिल्लाको च्यामासिङ, दाङ जिल्लाको तुल्सीपुर र सिन्धुपाल्चोक जिल्लाको तातोपानी शाखा तथा तातोपानी भन्सार राजश्व संकलन काउन्टर उद्घाटन भई औपचारिक कारोबार शुरूवात गरेको हाे । यसरी, बैँकले सर्वसाधारणलाई सहज बैँकिङ्ग सेवा सुविधा प्रदान गर्ने उदेश्यले आफ्नो शाखा संजाल नपुगेका क्षेत्रमा नयाँ शाखा विस्तार गरेको हो । साथै शाखाहरुबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्ने जनाएको छ । हाल यी ६ शाखाहरु सहित बैंकले ९४ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ७८ वटा एटिएमबाट बैंकिङ्ग सुविधा प्रदान गर्दै आएको छ ।
कृषि तथा पशुपन्छी बीमामा बढ्यो आकर्षण, एकवर्षमै ६ अर्ब ८७ करोड बीमाङ्क रकम बृद्धि
काठमाडौं । कृषि तथा पशुपन्छी बीमातर्फ पछिल्लो समय आकर्षण बढेको छ । एक वर्षको अवधिमा ६ अर्ब ८७ करोड ५७ लाख ६५ हजार ५०४ रुपैयाँ बीमाङ्क रकम बढेको छ । आर्थिक वर्ष २०७४/७५ मा ११ अर्ब ८५ करोड २ लाख ७ हजार २८५ रुपैयाँ रहेको बीमाङ्क रकम आर्थिक वर्ष २०७५/७६ मा बढेर १७ अर्ब ८९ करोड १३ लाख ९४ हजार ८३३ रुपैयाँ पुगेको बीमा समितिले जानकारी दिएको छ । सरकारले बाली तथा पशुपन्छी क्षेत्रको प्रवद्र्धन तथा विकासका लागि विसं २०७० सालदेखि कृषि तथा पशुपन्छी बीमा कार्यक्रम सञ्चालन गरेको हो । आर्थिक वर्ष २०७४/७५ मा बालीतर्फ ५३ करोड २१ लाख ४६ हजार ६६५ बीमाङ्क थियो भने हाल ३० करोड २० लाख ३१ हजार २९० रुपैयाँ बढेर २०७५/७६ मा ८३ करोड ४५ लाख ७७ हजार ९५६ रुपैयाँ पुगेको छ । त्यस्तै पशुपन्छी बीमातर्फ भने ६ अर्ब ५७ करोड ३३ लाख ३४ हजार २१२ रुपैयाँ बढेको छ । एक वर्षकै अबधिमा ११ अर्ब ३१ करोड ८० लाख ६० हजार ६२० रुपैयाँ रहेको पशुपन्छी बीमाङ्क बढेर २०७५/७६ मा १७ अर्ब ७२ करोड ५९ लाख ७२ हजार ७८९ रुपैयाँ पुगेको बीमा समितिले जानकारी दिएको छ । सरकारले कृषकलाई सहजता प्रदान गर्ने उद्देश्यले प्रत्येक वर्ष अनुदान रकम विनियोजन गर्दै आएको छ । कृषकलाई बीमा सम्बन्धी जानकारी प्रदान गर्नका लागि कृषि बीमा सम्बन्धि विभिन्न जनचेतना मूलक कार्यक्रम ल्याईरहेको बीमा समितिले जनाएको छ ।
नगरपालिकाले इँट्टा भट्टाको चिम्नी भत्कायो, व्यवसायीले कार्यान्वयन गरेनन् सम्झौता
बनेपा । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले इँट्टा भट्टाका चिम्नी डोजर लगाएर भत्काएको छ । असार मसान्तसम्म चिम्नी भत्काउन इँट्टा भट्टा व्यवसायीसँग नगरपालिकाको सम्झौता भएको थियो । उक्त सम्झौता कार्यान्वयन गर्न व्यवसायीले अटेर गरेपछि नगरपालिकाले चिम्नी भत्काएको हो । नगरपालिकाले असार मसान्तसम्म भकुण्डे क्षेत्रका अव्यस्थित आठ इँट्टा उद्योग बन्द गर्न सञ्चालकलाई निर्देशन दिएको थियो । इँट्टा भट्टाका कारण वातावरण प्रदूषित हुनाका साथै भकुण्डेबेँसी क्षेत्रको जनजीवन कष्टकर बनेको छ । पुस २९ गते नमोबुद्ध नगरपालिका र इँटा भट्टा व्यवसायीबीच २०७६ असार मसान्तभित्र इँट्टा भट्टा हटाउनेबारे आठ बुँदे सम्झौता भएको थियो । उक्त सहमति कार्यान्वयन नभएपछि नगरपालिकाले चिम्नी भत्काएको हो । “पटक पटक पत्र पठाउँदा पनि चिम्नी भत्काउन मानेनन्”, नगरपालिकाका वातावरण अधिकृत सन्तोष काफ्लेले भने । काफ्लेका अनुसार उद्योगीले इँट्टा भट्टा नहटाएपछि नगरपालिका आफैले भत्काउन शुरु गरेको हो । सम्झौता अनुसार नै चिम्नी भत्काइएको उनको भनाइ छ । नगरपालिकाले आज भैरव कुण्ड इँट्टा उद्योग, शिवशक्ति, जय शिवशक्ति, पञ्चकन्या, फुलबारी, शङ्कर र सत्यनारायण उद्योगको चिम्नी भत्काएको हो । इँट्टा व्यवसायी लक्ष्मण महर्जनले विस्तारै इँट्टा खाली गर्दै गरेको अवस्थामा नगरपालिकाले चिम्नी भत्काउनु ठीक नभएको बताउनुभयो । “नगरपालिकाले निर्णय पुनःविचार गरी पाऊँ भन्दै दिएको ज्ञापनपत्र बुझेन, वैकल्पिक ठाउँ नदिएर चिम्नी भत्काउनु ठीक भएन”, उनले भने । यसअघि नमोबुद्ध नगरपालिकास्थित ३१ सङ्घ संस्थाले भकुण्डेमा रहेका इँट्टा उद्योग सञ्चालनमा रोक लगाउन नगरपालिकामा निवेदन बुझाएका थिए । असार मसान्तभित्रमा नगरपालिकासँग समन्वय गरी उपयुक्त विकल्प खोजी व्यवसाय सञ्चालन गर्ने, हाल उत्पादित इँट्टा भूकम्पपीडितका लागि सम्बन्धित वडाको सिफारिसमा व्यवसायीले तोकेको मूल्यमा प्रतिट्टँटा रु तीनका दरले दिनुपर्ने, इँट्टा उद्योग आसपासमा रहेको सोती खोला करिडोरको ट्र्याक खोल्न करिडोरको मापदण्ड क्षेत्रभित्र पर्ने संरचना र सामग्री हटाउनुपर्नेलगायत सम्झौता भएको थियो । रासस
सिरहाका दुग्ध उद्योगमा शिलबन्दी, ‘दुर्गन्धित तथा कागजपत्र बिनै सञ्चालन’
लहान । अनुमति बिना अवैधरुपमा सञ्चालित सिरहाको आधा दर्जन डेरी उद्योगमा शिलबन्दी गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीको अगुवाइमा गरिएको बजार अनुगमनका क्रममा दुर्गन्धित तथा कागजपत्र बिनै सञ्चालन गरिरहेको पाइएपछि छ वटा डेरी उद्योगमा शिलबन्दी गरिएको हो । सदरमुकाम सिरहास्थित ज्वाइस दही तथा आइसक्रिम उद्योग, बजरङ्ग डेरी उद्योग, सुखचैनास्थित लक्ष्मी डेरी उद्योग, नरहास्थित सुधा दूध डेरी उद्योगमा शिलबन्दी गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीका सुरेशकुमार सिंहले जानकारी दिए । दुई उद्योगले भने नामनै नराखी व्यवसाय गर्दै आएका थिए । शिलबन्दी गरिएका अधिकांश डेरी उद्योगले गाईभैँसीको दूधको साटो प्याकेटवाला पाउडर दूधको प्रयोग गरेको तथा सरकारले तोकिएको मापदण्ड २५ प्रतिशत पनि पालना नगरेको अनुगमनका क्रममा पाइएको प्रमुख सिंहले बताए । डेरी उद्योगीलाई पटकपटक डेरी उद्योगको मापदण्ड अपनाउन निर्देशन दिए पनि बेवास्ता गरेकाले शिलबन्दी गरेको प्रमुख सिंहको भनाइ छ । सिरहामा करीब ४५ वटा दूध डेरी उद्योग दर्ता भई सञ्चालनमा रहेको जनाएको छ । तीमध्ये कतिपयको कागजपत्र छैनन् भने कतिपय मापदण्डविपरीत सञ्चालन गर्दै आइरहेका छन् । रासस
नक्कली सुन धितो प्रकरणमा विवादित बैंकर्स विवेक स्वाँरकाे हृदयघातबाट मृत्यु
बाँके । सिटिजन्स बैंक नेपालगञ्जका प्रबन्धक विवेक स्वाँरको हृदयघातका कारण आइतबार राति मृत्यु भएको छ । हृदयघात भएर भेरी अस्पताल ल्याइएका स्वाँरको उपचारका क्रममा मृत्यु भएको हो । सिटिजन्स बैंकमा नक्कली सुन धितो राखेर बैंकलाई करोडौँ ठगी गरेको अभियोग लागेपछि मानसिक तनावमा रहेका स्वाँरको हृदयघातबाट मृत्यु भएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए । सिटिजन्स बैंकमा दिनभर व्यस्त रहेका स्वाँर आइतबार अबेर बेलुका ६ बजे कार्यालयबाट घर आएका थिए । उनी एक्कासि बिरामी भएपछि अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ । स्वाँरले बैंकिङ कसुरअन्तर्गत मुद्दा भोगिरहेका थिए । गत साउन ८ गते रु २५ लाख धरौटीमा छुटेका स्वाँरको एक महिनापछि भदौ ८ गतेका दिन हृदयघातबाट मृत्यु भएको छ । उनको आज दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
नेपालको पहिलो बीमा कम्पनीले गर्यो मर्जमा जाने औपचारिक निर्णय, ७.५% बोनस पास
काठमाडौं । नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडको ७०औं वार्षिक साधारण सभाले निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसंग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी बिषयमा निर्णय गर्ने सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गरेको छ । नेपालको पहिलो बीमा कम्पनीको रुपमा बि.सं. २००४ साल आश्विन ८ मा स्थापना भएको कम्पनीले मर्जरमा जाने औपचारिक निर्णय गरेको हो । साधारण सभाले शेयरधनीहरुलाई चुक्ता पुँजीको ७.५ प्रतिशतले बोनश सेयर बितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनश शेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ९ करोड ५५ लाख रुपैयाँ भएको कम्पनीले जनाएको छ । कम्पनीका अध्यक्ष अर्जुन पौडेल शर्माको सभापतित्वमा आइतबार एयरपोर्ट होटलमा भएको साधारणसभाले को आ.व. २०७४/७५ कोे वार्षिक प्रतिवेदन पास गरेको छ । यस कम्पनीले ४६ शाखा र २९ सेवा केन्द्र गरी ७६ स्थानबाट निर्जीवन वीमा अन्तर्गत सम्पत्ति बीमा, मोटर, सामुन्द्रिक, इन्जिनियरिङ्ग, हवाई, विविध तथा लघु वीमा अन्र्तगत विभिन्न वीमा सेवाहरु प्रदान गर्दै आइरहेको छ । जानकारहरुको अनुसार नेपाल इन्स्योरेन्स कम्पनी र आइएमइ जनरल इन्स्योरेन्सबीच मर्जरको प्रयास भईरहेको छ । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले पनि साधारणसभा गरेर मर्जरमा जाने निर्णय गरेको छ । विजनेश, नेटवर्थ, नाफा, प्रतिसेयर आम्दानी, सेयरको बजार मूल्य समान भएको र प्रमोटर पनि मिल्दो जुल्दो भएकाले यी दुई कम्पनीको मर्ज सजिलै हुन सक्ने बताइएको छ ।