साढे १४ अर्ब लागतमा निर्माणाधीन भोटेकोशी जलविद्युत्को काम ७५ प्रतिशत सम्पन्न
चौतारा । सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको भोटेकोशी जलविद्युत् आयोजनाको सुरुङ निर्माणको काम ७५ प्रतिशत सम्पन्न भएको छ । भोटेकोशी गाउँपालिका– ५ मार्मिङस्थित भोटेकोशी र चाकु खोला दोभानदेखि बाह्रबिसे नगरपालिका– १ जम्बुस्थित विद्युत् गृहसम्मको सात हजार १२४ मिटर सुरुङ मार्गमध्ये हालसम्म पाँच हजार ३०० मिटर सम्पन्न भएको आयोजना प्रमुख डा. सुनिलकुमार लामाले जानकारी दिएका छन् । चिलिमे जलविद्युत् आयोजनाको अगुवाइमा सन् २०१३ को जनवरीमा शुरु भई सन् २०१६ को डिसेम्बरमा सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाको काम समय लम्बिदै गएपछि अब सन् २०२० डिसेम्बरमा सम्पन्न गर्ने समय निर्धारण गरिएको छ । विसं २०७२ को भूकम्प, भारतीय नाकाबन्दी र हरेक वर्ष तिब्बतबाट आउने गरेको भोटेकोशी बाढीले गर्दा निर्धारित समय भन्दा चार वर्ष ढिलाइ हुनगएको बताइएको छ । हाल विद्युत् गृहको जग खन्ने काम सम्पन्न भएको छ । भोटेकोशी र चाकुखोला दोभान भन्दा १०० मिटर तल निर्माण गरिने बाँधको उचाइ ६ मिटर र लम्बाइ ३४ मिटरको हुनेछ । हेडवक्र्सको काम भने वर्षात कम भएपछि मात्र शुरु गरिने कार्यक्रम रहेको छ । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको ऋण तथा सर्वसाधारणको शेयरसहित रु १४ अर्ब ५० करोड लागत रहेको आयोजनाको लागि आवश्यक जग्गाको व्यवस्थापन भइसकेको छ । आयोजनाको ‘सिभिल’ कार्य चिनियाँ वाङ्सी हाइड्रो इलेक्ट्रिक कन्स्ट्रक्सन ब्यूरो र ‘इलेक्ट्रिक’को काम अष्ट्रियाको एण्डिज हाइड्रो कम्पनीद्वारा भइरहेको छ । सो आयोजनाबाट वार्षिक बिक्री योग्य विद्युत् ५४ करोड २३ लाख युनिट उत्पादन हुनेछ । आयोजनाबाट वर्षायाममा ४५ करोड ८६ लाख युनिट तथा सुख्खा याममा आठ करोड ३८ लाख युनिट विद्युत् उत्पादन हुनेछ । नेपाल विद्युत् प्राधिकरणले माथिल्लो तामाकोशी आयोजनाको लागि २२० केभिए प्रशारणलाइन बाह्रबिसे सवस्टेशन रहने गरी निर्माण गरिने कार्यक्रम रहेको छ । त्यहाँ सवस्टेशन रहेपछि आयोजनास्थलबाट चार किलोमिटर प्रशारण लाईन मार्फत राष्ट्रिय प्रशारण लाईनमा जोडिने आयोजनाले जनाएको छ । रासस
सांग्रिला बैंक र सिप्रदी ट्रेडिङ्गबीच कर्जा सम्बन्धी सम्झौता
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र सिप्रदी ट्रेडिङ्गबीच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । सो सम्बन्धी सम्झौता पत्रमा बैंकका सहायक महाप्रबन्धक रजित मास्के र सिप्रदी ट्रेडिङ्गका महाप्रबन्धक अनुप मणि ढकालले हस्ताक्षर गरेका हुन् । सांग्रिला बैंकले सम्झौता अनुसार यस बैंकका ग्राहक महानुभावहरुले भारतको प्रसिद्ध टाटा कम्पनी ब्राण्डको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ्बाट नयाँ गाडी खरिद गर्न चाहेमा सम्झौता अनुसार कर्जा सम्बन्धी सेवा बैंकका शाखा कार्यालयहरुबाट प्राप्त गर्न सक्नेछन् । यसरी, भृकुटी मण्डपमा भाद्र १० देखि १५ गते सम्म हुने नाडा अटो शोमा यस बैकका ग्राहकहरुले स्टल न इ२० बाट पनि थप जानकारी पाउन सक्नेछन् ।
एयर होस्टेज हुँ भनी ठगी गर्ने एक महिला प्रहरीको नियन्त्रणमा
भद्रपुर । आफूलाई एयर होस्टेज हुँ भनी फेसबुकमार्फत ठगी गर्ने झापाकी एक महिलालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा–६ की २७ वर्षीया तविता राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताएका छन् । राईले गुरास श्रेष्ठ र गरिमा श्रेष्ठको नाममा नक्कली फेसबुक आइडी बनाएर ‘फ्रेण्ड रिक्वेस्ट’ पठाउने र आफू जेट एयरलाइन्सको एयर होस्टेजका रुपमा काम गर्दै आएको बताउने राईलाई दुई पुरुषले दिएको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको हो । राईले बुबा अमेरिका बस्ने, आमा डाक्टर, दाजु पाइलट भएको परिचय दिई मोबाइल र मेसेन्जरमा निरन्तर कुराकानी गरेर नजिक हुने र लामो समय कुराकानी गरेपश्चात् विवाह गर्नेसम्मको प्रलोभन दिएर विभिन्न आकस्मिक समस्या देखाई पुरुषसँग रकम मागी झुक्याएर ठगी गर्ने गरेको र रकम नदिएमा आत्महत्या गर्ने भनी धक्कीसमेत दिने गरेको उनीहरूको उजुरीमा उल्लेख रहेको प्रवक्ता श्रेष्ठले बताए । राईलाई आइतबार झापा जिल्ला अदालतबाट छ दिनको म्याद थप भई जिप्रका झापाको हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् । उजुरीकर्ता पुरुषको नाम भने उल्लेख गर्न नमिल्ने उनले बताए । उनले नक्कली फेसबुक आइडीमा अर्काको फोटोहरू राखेकाले मेसेन्जरमा भ्वाइस कल मात्र गर्ने, सक्कली अनुहार देखिने डरले भिडियो कल नगर्ने, जेट एयरलाइन्सको एयर होस्टेजको फोटोहरू इन्स्ट्राग्रामबाट निकाली आफूले खोलेको नक्कली फेसबुक आइडीमा फोटोहरू अपलोड गरेको अनुसन्धानमा खुलेको छ । राईलाई मुलुकी अपराध संहिता, २०७४ को ठगी अपराधअन्तर्गत कानूनी कारवाही हुने प्रवक्ता श्रेष्ठले बताएका छन् । रासस
सिद्धार्थ बैंकद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न
काठमाडौं । सिद्धार्थ बैंकले यही ७ गते शनिबार टोखा नगरपालिका स्थित भूतखेल पार्क र चण्डेश्वरी मन्दिरमा विभिन्न जातका फलफूलका बिरुवाहरु रोपेको छ । बैंकले स्वच्छ वातावरण निमार्णमा सघाउ पुर्याउने उद्देश्यले चण्डेश्वरी युवा क्लब र ईन्द्रायणी सामुदायिक वन उपभोक्ता समुहको सहकार्यमा उक्त वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो । वृक्षारोपणपछि १ वर्षसम्म बोटबिरुवाहरुको संरक्षण चण्डेश्वरी युवा क्लब र ईन्द्रायणी सामुदायिक वन उपभोक्ता समूहको सहकार्यमा गरिने बैंकले जनाएको छ । उक्त कार्यक्रममा बैंकले चण्डेश्वरी मन्दिर परिसरमा ५० वटा र भूतखेल पार्क परिसरमा ५० वटा गरी जम्मा १०० वटा फलफूलका बिरुवाहरु रोपेको हो । त्यसैगरी बैंकले महाराजगंज लाजिम्पाट सडक छेउछाउमा पनि ७५ वटा बिरुवाहरु रोपेको छ । सबैक्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहँुच पुर्याउने उद्देश्यले बैंकले देशभर १६१ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, १७८ एटिएम र १,५०० भन्दा बढी पिओएस मेसिन मार्फत् उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
दशैं आसपासमा जयनगर-बर्दिवासमा नकुद्ने भो रेल, अब दीपावलीको भाका
काठमाडौं । भारतीय सीमा क्षेत्रसँग जाडिने गरी निर्माणाधीन जयनगर-बर्दिवास रेलमार्गमा तिहार(दीपावली) पर्वकै सेरोफेरोमा रेल कुद्ने भएको छ । भारत सरकारको आर्थिक र प्राविधिक सहयोग रहेको उक्त रेलमार्गमा कात्तिक महिना भित्र नै रेल कुद्ने विभागले जनाएको छ । जयनगर-बर्दिवास सडक ६९ किलोमिटर रेलमार्ग मध्ये हालसम्म ३४ किलोमिटर ट्रयाक निर्माण सम्पन्न भएको विभागका सूचना अधिकारी अमन चित्रकारले बताए । नेपालले रेलमार्ग निर्माण गर्न आवश्यक जग्गा उपलब्ध गराउने, वन क्षेत्रको रुख कटान, बिजुलीका पोल हटाउने लगायत काम गर्नुपर्ने छ । भारतको राइट्स कम्पनीले तयार पारेको ढाँचाका आधारमा रेलमार्गको स्टेसनहरूको निर्माण गरिएको छ । सो रेल अहिले भारतको मद्रासमा सो मार्गमा चल्ने रेल निर्माणाधीन अवस्थामा रहेको रेल विभागले जनाएको छ । जयनगर-बर्दिबास रेलमार्ग निर्माणमा १० अर्ब खर्च जयनगरदेखि बर्दिबाससम्मको ६९ किलोमिटर लम्बाइको रेलर्माग निर्माण गर्न १० अर्ब रुपैयाँ ९६ सय ५० करोड भारु खर्च हुने जनाइएको छ । भारतले सम्पूर्ण पूर्वाधार निर्माण गरिदिने भएकाले लागत थप भएमा पनि भारतीय रेल मन्त्रालयले व्यहोर्ने छ । त्यो सबै काम भारतले गर्ने भएकाले नेपाली पक्षलाई खर्चको विस्तृत जानकारीसमेत नहुने चित्रकारले बताए । यसअघि असोजभित्रै(दशैँ पर्वकै आसपास) सञ्चालन हुने भनिएपनि बाढीले क्षति पुर्याउँदा समय लम्बिएको उनले बताए । दुई रेल ८५ करोडमा खरिद विभागका अनुसार जयनगर–बर्दिबास रेलमार्गमा चल्ने दुई रेल र त्यसमा रहने ५ देखि १० वटा डिब्बाका लागि कूल ८५ करोड आवश्यक पर्ने जनाइएको छ । जयनगरदेखि बर्दिबाससम्म ६९ किमी रेलमार्गमा ८ स्टेसन र ६ हल्ट अर्थात् रेल रोक्ने ठाउँ गरी १४ विश्रामस्थल निर्माण गरिने रेल विभागले जनाएको छ । यसका लागि २० प्रतिशत पेस्की रकम दिइसकिएको छ । ८० प्रतिशत रेल आएपछि दिइनेछ । जयनगर, खजुरी, इनर्वा, खजुरी, वैदेही, कुर्था, महोत्तरीको खुट्टापिराडी र बर्दिबास गरी ८ वटा स्टेसन तोकिएको छ । त्यसैगरी महिनाथपुर, देउरी परवाहा, जनकपुर, महोत्तरीको लोहारपट्टी, सिंग्याही र रामनगरमा हल्ट निर्धारण गरिएको छ । पहिलो चरणमा एउटा सेट मात्र आउनेछ । भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत रेल खरिद गर्न लागिएको हो । डिजेल, इलेक्ट्रिक, मल्टिपल युनिट प्रविधिको सो रेलमा एउटामा पाँच डिब्बा रहने छ । एक हजार २०० सम्म यात्रु बोक्ने क्षमता रहन्छ । रेलमार्ग निर्माणको ठेक्का पाएको इरकोण इन्टरनेसनल फार्बिसगन्ज भारतले पहिलो चरणमा मालबाहक रेल सेवा शुरु गर्नेछ । त्यसलगत्तै यात्रुबाहक रेल सेवा पनि शुरु हुने सम्झौतामा उल्लेख छ । उक्त रेलमार्गलाई इटहरीसम्म ल्याएर पूर्व–पश्चिम राजमार्गमा जोड्ने योजना छ । ७ ठाउँमा रेलमार्ग निर्माण गर्ने सम्झौता भारतीय सीमाका ५ ठाउँमा रेलमार्ग निर्माण गर्न भारतसँग सम्झौता भएको बताउँदै उनले विकासन्युजसँग भने– ‘अहिले दुई ठाउँ जयनगर–बर्दिवास ६९ किलोमिटर र जोगवनी–विराटनगर १८ किलोमिटरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । भारतीय सीमा नाका जोडिने गरी पूर्वका काँकडभित्ता-जलपाइगुडी (सय किलोमिटर) नौतुनुवा-भैरहवा (१६ किलोमिटर) र रुपैडिहा-नेपालगन्ज (१४ किलोमिटर) पनि रेलमार्ग निर्माण गर्ने योजना छ । यी तीन ठाउँको विस्तृत परियोजना आयोजना प्रतिवेदन (डिपिआर) तयारी भइरहेको चित्रकारले बताए । भारतीय अनुदानमा निर्माण हुने रेलमार्गका लागि ठेकेदार तथा परामर्शदाता छनोट, भुक्तानी तथा व्यवस्थापन भारतले नै गर्नेछ । पूर्व-पश्चिम विद्युतीय रेल नेपालले बनाउने पूर्व-पश्चिम विद्युतीय रेल नेपाल सरकारले नै बनाउने छ । सरकारले पूर्व–पश्चिम विद्युतीयसहित सम्भावित रेलमार्गहरूको पहिचान समेत गरिसकेको छ । पूर्वपश्चिम विद्युतीय रेलमार्गको विस्तृत अध्ययन डीपीआरपछि निजगढ-बर्दिबास ७० किलोमिटरमा ट्रयाक निर्माण जारी छ । यसका लागि आव २०७६/०७७ मा साढे ७ अर्ब रुपैयाँ छुट्याइएको छ । सूचना अधिकारी चित्रकारका अनुसार यो खण्डमा १४ अर्ब खर्च भइसकेको छ । २०७१/०७२ सालमा ठेक्का लागेर काम सुरु भएको हो । ‘पूर्वपश्चिम रेलमार्ग मात्र नेपाल सरकारले बनाइरहेको हो,’ उनले भने-‘सीमाक्षेत्रमा भारतले बनाइरहेको छ, चीनतर्फ अध्ययन भइरहेको छ । पूर्वको काँकडभिट्टाबाट शुरु भई यो रेलमार्ग महेन्द्रनगर पुग्नेछ । यसको लम्बाइ ९ सय ४५ किमि हुनेछ । अन्य खण्डमा भने रेलको म्यापिङ मात्र भएको छ ।
पूर्व न्यायाधीश श्रेष्ठद्वारा मन्दिरलाई एघार लाख सहयोग
धादिङ । धादिङका ज्ञाइन्द्रबहादुर श्रेष्ठले राधाकृष्ण मन्दिर सञ्चालनार्थ नगद रु ११ लाख एक हजार ११ सहयोग गरेका छन् । सर्वोच्च अदालतका पूर्व न्यायाधीशसमेत रहेका धादिङबेँसीका श्रेष्ठ उनका छोरा अधिवक्ता नारायण कुमारको तर्फबाट शान्तबजारमा रहेको राधाकृष्ण मन्दिर सञ्चालनको लागि अक्षयकोषमा राख्ने गरी नगद हस्तान्तरण गरिएको हो । ४० वटाभन्दा बढी कानूनी पुस्तक प्रकाशन गरिसकेका पूर्वन्यायाधीश श्रेष्ठले किताब बेचेर आएको रकम मन्दिरलाई प्रदान गरेको बताए । मन्दिरका संरक्षकसमेत रहेका श्रेष्ठले राधाकृष्ण मन्दिर आफैँ बनाइदिएका थिए । रासस
टोखा नगरपालिकाद्वारा विद्यालयलाई १० लाख सहयोग
काठमाडौं । टोखा नगरपालिकाले गरिब, दुःखी र असहाय विद्यार्थीलाई निःशुल्क पढाउनका लागि रु १० लाख आर्थिक सहयोग गरेको छ । नगरपालिकाले आफ्नो नगरपालिकाभित्रका गरिब, दुःखी र असहाय विद्यार्थीको निःशुल्क पठनपाठनका लागि नेपाल स्कुलास्टिक एकेडेमी र निकेतन मेमोरियल स्कुललाई रु पाँच÷पाँच लाख आर्थिक सहयोग गरेको हो । टोखा नगरपालिका शिक्षा शाखा प्रमुख बाबुराम गौतमले टोखा नगरपालिकाभित्र रहेका कोही पनि बालबालिका पढाइबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले दुई विद्यालयलाई रु पाँच÷पाँच लाख रकम सहयोग गरेको जानकारी दिएका छन् । नगरपालिकाले सबै वडाका गरिब तथा असहाय विद्यार्थीलाई निःशुल्क कोचिङ कक्षासमेत सञ्चालन गर्ने जनाएको छ । रासस
आकासियो सुनकाे मूल्य, प्रतितोला ७३ हजार ५ सय
काठमाडौं । साताको दास्रो दिन सुन हाल सम्मकै उच्च मूल्यमा कारोबार भईरहेको छ । आइतबार प्रतितोला ७३ हजार ५ सयमा कारोबार भएको सुन सोमबार एक हजार रुपैयाँ वृद्धि भई हालसम्मकै उच्च मूल्य प्रतितोला ७३ हजार ५ सय रुपैयाँमा बिक्री वितरण भईरहेको छ । त्यस्तै आइतबार प्रतितोला ७२ हजार २ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनले भने ७३ हजार २ सय रुपैयाँ कायम गरेको छ । चाँदी आइतबारको तुलनामा १० रुपैयाँ बढेर प्रतितोला ८६० रुपैयाँमा बिक्री भईरहेको छ । पछिल्लो समय सुनको मूल्य वृद्धिसँगै व्यापार शून्य रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।