विकासन्युज

नाटाको मागः ‘भ्रमण वर्ष सफल पार्न विमानस्थल चौबिसै घण्टा खुलाऊ’

काठमाडौँ । नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा)ले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई २४ सै घण्टा खुला गर्न माग गरेको छ । नाटाले मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भई आएका सचिव केदारबहादुर अधिकारीलाई भेटेर हवाई ट्राफिक जाम कम गर्न २४ सै घण्टा सञ्चालन गर्न माग गरेको हो । भेटमा नाटाका अध्यक्ष सीएन पाण्डेले विदेशी पर्यटकको नेपाल प्रवेशको प्रमुख थलो विमानस्थल भएकाले छिटो, छरितो, सरल र सहज हिसावले सुविधा दिनुपर्ने बताएका ुहन् । नाटाले पर्यटन क्षेत्रलाई सबल बनाउन बाराको निजगढ विमानस्थल निर्माणको काम शुरु गर्नुपर्ने तथा निर्माणाधीन पोखरा र भैरहवा विमानस्थललाई समयमै सम्पन्न गर्नुपर्ने मागसमेत गरेको छ । विराटनगर र धनगढी विमानस्थलको स्तरोन्नतिसमेत गर्नुपर्ने बताएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन दुई चार वटा न्यारोबडी र दुईवटा वाइडबडी विमान खरीद साथै टुरिष्ट बस टर्मिनल निर्माण चाँडो निर्माण गर्नुपर्ने बताएको छ । भेटपछि सचिव अधिकारीले मुलुकको पर्यटन क्षेत्रको विकासका लागि नाटाले राखेको माग सकारात्मक रहेको भन्दै उक्त मागलाई पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले नेपाल भ्रमण वर्ष सफल बनाउन सबै क्षेत्रको साथ र सहयोग आवश्यक रहेको उल्लेख गरे । रासस

युनाईटेड इन्स्योरेन्सको अध्यक्षमा भरतबहादुर कार्की नियुक्त, उपाध्याय नबिलमा जाने

काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीको अध्यक्षमा भरतबहादुर कार्की नियुक्त भएका छन् । उनले मंगलबार बीमा समितिका अध्यक्ष समक्ष सपथग्रहण लिएका छन् । एनई ग्रुपबाट प्रतिनिधित्व गरेका उदयकृष्ण उपाध्यायले पदबाट राजनीमा गरेपछि उनको ठाउँमा कार्कीले प्रतिनिधित्व गरेको हुन् । उपाध्याय नविल बैंकको सञ्चालक समितिमा जाने भएपछि युनाईटेड छोडेको स्रोतले बतायो । सन १९७२ मा त्रिभुवन विश्वविद्यायलमा अर्थशास्त्र विषयको गोल्ड मेडलिष्ट कार्कीसँग बैंकिङ, बीमा र परामर्श सेवाको क्षेत्रमा लामो समय काम गरेको अनुुभव छ । ‘बैंकिङ र बीमा क्षेत्रमा लामो अनुभव छ । युनाईटेड इन्स्योरेन्सलाई अहिलेको अवस्थाबाट धेरै अगाडि बढाउनु छ’ उनले विकासन्युजसँग भने । उनी कृषि विकास बैंकमा २ वर्ष महाप्रबन्धक भएका थिए भने वित्तीय क्षेत्र सुधार कार्यक्रम चलेको बेलामा नेपाल बैंकमा ६ वर्ष अध्यक्ष भएका थिए । त्यहिबेलामा नेपाल इन्स्योरेन्स कम्पनीको अध्यक्ष भएर काम गरेका थिए । उनी विश्व बैंकले सहयोग गरेका ग्रामिण खानेपानी विकास बोर्ड, व्यवसायिक कृषि तथा व्यापार परियोजना कार्यक्रमहरुमा संलग्न हुँदै आएका छन् ।

कृषि तथा पशुपन्छी बीमामा सरकारको साथ, वर्सेनि अनुदान रकम बृद्धि

काठमाडौं । सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिंदै कृषि बीमा अनुदान रकम बढाएको छ । पछिल्ला दुई वर्षमा सरकारले कृषि बीमाका लागि कृषकहरुलाई १ अर्ब १ करोड ४६ लाख ६५ हजार रुपैयाँ अनुदान प्रदान गरेको बीमा समितिले जनाएको छ । कृषकहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले आर्थिक वर्ष २०७४/७५ को तुलनामा २०७५/७६ मा २४ करोड ८२ लाख ३९ हजार ८०७ रुपैयाँ अनुदान रकम बृद्धि गरिएको छ । आव २०७४/७५मा ३८ करोड ३२ लाख ०३ हजार १०८ अनुदान दिइएको यो भने २०७५/७६ मा ६३ करोड १४ लाख ४२ हजार ९१५ रुपैयाँ प्रदान गरेको बीमा समितिको तथ्याङमा उल्लेख छ । यता, पशुपन्छीतर्फ सरकारले आव २०७५/७६ मा ६० करोड ११ लाख १८ हजार ३३७ रुपैयाँ अनुदान प्रदान गरेको छ । कृषकहरुबाट ८० करोड १४ लाख ९४ हजार ७८१ रुपैयाँ बीमा शूल्क संकलन भएको र २३ करोड ९३ लाख ८५ हजार ५५६ रुपैयाँ दाबी भुक्तानी भएको बीमा समितिले जनाएको छ । यसैगरी पशु पालनतर्फ ४४ करोड ७७ लाख ७२ हजार ८८१ रुपैयाँ अनुदान प्रदान गरिएको छ । पशुपालक कृषकहरुबाट ५९ करोड ७० लाख ३४ हजार १७४ रुपैयाँ बीमा शुल्क संकलन भएको जनाइएको छ । त्यस्तै गतवर्ष माछापालनका लागि २ करोड १९ लाख १६ हजार ९६४ रुपैयाँ अनुदान प्रदान गरिएको र २ करोड ९२ लाख २२ हजार ६१९ रुपैयाँ बीमा शूल्क संकलन भएको थियो । बीमा समितिको तथ्याङ्क अनुसार बीमा शूल्क संकलन पनि पछिल्लो समय बढ्दै गएको छ । पछिल्लो दुई वर्षमा १ अर्ब ३५ करोड २८ लाख ६५ हजार बीमा शूल्क संकलन भएको तथ्याङ्कमा उल्लेख छ ।

नाडा अटो शोः ‘एक पटक चार्ज गरेपछि ४ सय किलोमिटर गुड्ने कारमा अवलोकनकर्ताको चासो’

काठमाडौं । मंगलबारदेखि राजधानीको भृकुटीमण्डमा शुरु भएको नाडा अटो शोमा महेन्द्रा, टाटा, सुजुकी, बीवाइडी, ससाङयोङ, हुन्डाइ र इसुजुले नयाँ कार सार्वजनिक गरेका छन् । बीवाइडी कम्पनीले सार्वजनिक गरेको एमथ्री र ई सिक्स विद्युतीय गाडीले अवलोकनकर्ताको ध्यान खिचेको छ । यो गाडी फास्ट चार्जरले चार्ज गर्दा २ घण्टा फूल चार्ज हुने र ४०० किमि गुड्ने कम्पनीले जनाएको छ । बीवाइडीका बिजनेश डेभलपमेन्ट एक्जुकेटिभ लुजाह मर्हजनले उक्त गाडी चार्ज गर्न ८० युनिट बिजुली खर्च हुने जानकारी दिए । साथै एक पटक पूरा चार्ज गर्दा ४ सय किलो मिटर गुड्ने उनले बताए । कम्पनीले इ सिक्सको मूल्य ६६ लाख छ भने एमटीको मूल्य ४९ लाख रुपैयाँ तोकेको छ । त्यस्तै नाडा अटो शोमा इसुजु ब्राण्डले ४४ लाख ९० हजारको डिम्याक्स पिकअप ट्रक नेपाली बजारमा ल्याएको छ । यो गाडी टु होल्ड ड्राइभ हो । इसुजुका म्यानेजिङ ड्राइरेक्टर दीपकराज गिरीले नयाँ गाडीको ३ वर्षको ग्यारेन्टी रहेको जानकारी दिए । उक्त ट्रकको च्यासिस बलियो र लोड पनि धेरै बोक्न सक्छ । यो सय वर्ष पुरानो ब्राण्ड हो । नेपालको भूगोलमा सुहाउँदो छ । नाडा अटो शोमा कोरियाको चौथो ठूलो गाडीहरु उत्पादन गर्ने कम्पनी ससाङयोङ मोटर्सले मुस्सो ग्राण्डमा ससाङयोङको नयाँ सुट लन्च गरेको छ । ससाङयोङकी सेल्स अप्रेशन म्यानेजर सृष्टी मानन्धरले कारको सुरुवाती मूल्य रु. ७३ लाख ९९ हजार रहेकोे जानकारी दिइन् । ससाङयोङले एक वर्षको बीमा, एक वर्षको सवारी कर, तीन वर्षको वारेन्टी, मासिक सरल किस्ता, उचित ब्याजदर र २५ हजार सम्मको एसेसरिज सुविधा दिने जनाएको छ । यसैगरी, टाटाले नाडा अटो शोमा एच फाईव प्रर्दशनीमा राखेको छ । उक्त गाडी मंगलबार लञ्च भएको हो । टाटाका हेड प्यासेन्जर भेइकल्स सावन्तजंग सिजापतिले यो गाडीको मूल्य ५६ लाख ५५ हजारबाट बिक्री शुरु भएको बताए । ७.१ किलोमिटरको माइलेन्ज दिन्छ । हाइक्लिरियन्स २०५ मिमि रहेको छ । यता, महिन्द्राले ‘एक्सीवी थ्री डबल ओ’ र ‘मराजो’ गाडी नाडा प्रर्दशनीमा राखिएको छ । यी गाडीको मूल्य क्रमशः ३९ लाख ७५ हजार रुपैयाँ र ५६ लाख ५० हजार रुपैयाँसम्म राखिएको छ । महिन्द्राका भेइकल्स सेल्स डिपार्टमेन्ट सन्तोष कार्कीले नाडा अटो शोको अवसरमा ग्राहकहरुलाई ५० हजार रुपैयाँसम्म छुट दिइने व्यवस्था रहेको बताए । २ वर्ष ग्राहकहरुले मर्मत सुविधा समेत प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । यी गाडी पहिलो दिनमा नै आठ ओटा बुकिङ भएको छ । नेपाली बजारमा महिन्द्राको स्कार्पिओ, बोलेरो जस्ता गाडीहरु समेत संचालनमा छन् । हुण्डाईले भेन्यू कार पनि नाडा अटो शोमा प्रर्दशनीमा राखेको छ । भेन्यू कार नेपाली बजारमा गत बिहीबार नै सार्वजनिक गरेको थियो । भेन्यू कारको मूल्य ३४ लाख ९६ हजारदेखि ५५ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । हुन्डाईका स्टलहरुमा अवलोकनकर्ताहरुको आकर्षण रहेको जेनेरल म्यानेजर रुपेश शर्मा भटट्ले बताए । यसैगरी अटो शोमा सुजुकीले नयाँ ३ मोडलका गाडी प्रर्दशनीमा राखेको छ । सिआज, आरटीका र एसक्रस अटो शो मार्फत सार्वजनिक गरेको हो । यी कारहरु स्मार्ट हाइब्रिड मोडलमा उपलब्ध छन् । सुजुकीका सिनियर मार्केटिङ म्यानेजर करण चौधरीले सिआजको ३८ लाख २९ हजार, आरटीकाको मूल्य ३८ लाख ९९ हजार र एसक्रसको मूल्य ४२ लाख तोकेको जानकारी दिए । यी कारमा डुअल(डबल) ब्याट्री रहेको छ । कारमा ब्रेक लगाउँदा (काइनेटिक) शक्तीले चार्ज बढ्छ । पेट्रोल कारमा विद्युतले समेत सर्पोट गर्दछ । ब्रेक लगाउँदा (काइनेटिक) शक्तीले चार्ज बढ्छ । पेट्रोल कारमा विद्युतले समेत सर्पोट गर्छ । गाडी मूल्य सस्तो र वातावरण अनुकुल रहेको कम्पनीले जनाएको छ ।

वित्तीय समावेशीमा सघाउन बैंक अफ कोरिया र राष्ट्र बैंकबीच हस्ताक्षर

काठमाडौं । नेपालको वित्तीय समावेशीकरण, वित्तीय साक्षरता र त्यसको नीति तथा कार्यक्रमको विषयमा कोरियाको संयुक्त अनुसन्धान टोलीले अध्ययन अनुसन्धान गर्ने भएको छ । यस सम्बन्धि आज मंगलबार बैंक अफ कोरिया (नलेज पार्टनरसिप प्रोग्राम)सँग राष्ट्र बैंकले समझदारीपत्रमा हस्ताक्षर गरेको छ । समझदारीपत्रमा राष्ट्र बैंकका निर्देशक गोबिन्द नागिला र बैंक अफ कोरिया अन्तर्राष्ट्रिय मामिला विभागका नायव महानिर्देशक जि यङ जुङले हस्ताक्षर गरेका छन् । अनुसन्धानपछि टोलीले राष्ट्र बैंकलाई अन्तरिम र विस्तृत गरी दुई चरणमा नीतिगत सुझावसहित प्रतिवेदन दिने छ । बैंक अफ कोरियाले यो कार्यक्रम कार्यान्वयनमा ल्याएको यो तेस्रो पटक हो । यसअघि दुई पटक समष्टिगत अर्थ व्यवस्थाको प्रक्षेपण र भुक्तानी प्रणालीको नीतिगत व्यवस्थाका सम्बन्धमा अध्ययन अनुसन्धान गरी राष्ट्र बैंकलाई सुझाव प्रदान गरेको थियो ।

महासंघका अध्यक्ष राणा सद्भावना राजदूतमा नियुक्त

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले भारतको मध्यप्रदेश राज्यको इन्दौरमा एशियाटिक लिवरल मल्टीफेरियस एसोसिएसन र वल्र्ड बुक्स अफ रेकर्डसको संयुक्त तत्वावधानमा हालै आयोजित २० औ सर्वोत्कृष्ट राष्ट्रिय सम्मान कार्यक्रमलाई सम्वोधन गरेकी छिन् । अध्यक्ष राणाले उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी भई संवोधन गरेकी हुन् । सोही समारोहमा अध्यक्ष राणालाई आयोजक स“स्थाद्वारा नेपालका लागि सदभावना राजदूत नियुक्त गरिएको हो । सो समारोहमा प्रमुख अतिथि अध्यक्ष राणाले विभिन्न ३०० व्यक्ति, उद्योग प्रतिष्ठानहरूलाई सर्वोत्कृष्ट राष्ट्रिय सम्मानबाट सम्मानित गरिन् ।

राजधानीमा १२ औं तीज मेला तथा अन्तराष्ट्रिय व्यापार मेला शुरु

काठमाडौं । नेपाली महिलाहरुको महान चाड तीजको अवसर पारेर राजधानीमा ‘१२ औं तीज मेला तथा अन्तराष्ट्रिय व्यापार मेला २०७६’ मङ्गलबारदेखि राजधानीमा शुरु भएको छ । नेपाल चेम्बर अफ कमर्श अन्तरगत महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले महिला सशक्तिकरण र उनीहरुको संस्कृतिलाई बचाइराख्नका लागि यस्ता मेलाको भूमिका महत्वपूर्ण हुने बताइन् । तिजलाई महिला सशक्तिकरणको प्रतिकको रुपमा लिइने भन्दै मेला मार्फत महिलाद्वारा उत्पादित वस्तु तथा ब्राण्डको प्रदर्शन तथा बजारीकरणमा सहयोग पुग्ने बताइन् । राजधानीको त्रिपुरेश्वरस्थित यूनाइटेड वल्र्ड ट्रेड सेन्टर (डिइसिसी नेपाल)मा आगामी शनिबारसम्म चल्ने मेलालाई यसपाली अन्तराष्ट्रिय व्यापार मेलाको रुपमा यसलाई अगाडि बढाइएको छ । नेपाल चेम्बर अफ कमर्शले सहयोग गरेको मेलामा पाकिस्तानबाट १२, भारतबाट १२, बंगलादेशबाट १२ तथा नेपालीहरुको तीज विशेष ७० वटा गरेर १०६ स्टल रहेका छन् ।

पञ्चकन्या ग्रुपको वार्षिकोत्सवमा ४५ जनाले गरे रक्तदान

काठमाडौँ । पञ्चकन्या ग्रुपले आफ्नो ४७औं वार्षिकोत्सव मनाउने सिलसिलामा मंगलबार गु्रपको केन्द्रीय कार्यालय कृष्णगल्ली, ललितपुरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । उक्त रक्तदानमा ग्रुपका सञ्चालकहरु, केन्द्रीय कार्यालय तथा ग्रुप अन्तर्गतका सिष्टर्स कन्र्सन उद्योगहरुमा कार्यरत कर्मचारी र ग्रुपस“ग आवद्ध शुभचिन्तकहरु ४५ जनाले रक्तदान गरेका थिए । पञ्चकन्या ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत वार्षिक रुपमा निरन्तर रक्तदान कार्यव्रmम गरी सो कार्यक्रमलाई मुख्य प्राथमिकतामा राख्दै आएको जनाएको छ ।