विकासन्युज

सानिमा बैंकको लाभांश घोषणा, १० प्रतिशत बोनस ११ प्रतिशत नगद

काठमाडौं । सानिमा बैंकले १० प्रतिशत बोनससहित २१ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। बैंकको सोमबार साँझ बसेको बैठकले आफ्ना शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र ११.०५२६ प्रतिशत नगद लाभांश दिन लागेको हो जसमा ०.५२६ प्रतिशत कर प्रयोजनको लागि प्रयोग हुनेछ। उक्त लाभांश घोषणासँगै सानिमा बैंक योे वर्ष लाभांश घोषणा गर्ने छैटौं बैंक बनेको छ । यसअघि एनआईसी एशिया, बैंक अफ काठमाण्डू, सिटिजन्स, माछापुच्छ्रे र कुमारी बैंकले आर्थिक वर्ष २०७५÷७६ को नाफाबाट लाभांश घोषणा गरिसकेका छन् ।

रौतहटमा प्रभु बैंकको ३ एक्स्टेन्सन काउण्टर

काठमाडौं। प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा रौतहट जिल्लाको मौलापुर र गरुडा मालपोत कार्यालय तथा नवलपुर जिल्लाको कावासोती मालपोत कार्यालयमा एकैसाथ तीन वटा एक्स्टेन्सन काउण्टर कार्यालयहरु सञ्चालनमा ल्याएको छ । मौलापुर र गरुडा स्थित मालपोत कार्यालयको परिसरमा स्थापित एक्स्टेन्सन काउण्टरको भाद्र १६ गते कोष तथा लेखा नियन्त्रण कार्यालयका कार्यालय प्रमुख भिमार्जुन ज्ञवाली र त्यसैगरी कावासोती स्थित मालपोत कार्यालयको परिसरमा स्थापित एक्स्टेन्सन काउण्टरको सोही दिन जिल्ला कोष तथा लेखा नियन्त्रण कार्यालय नवलपुरका कार्यालय प्रमुख मोहन शरण भण्डारी र कावासोती मालपोत कार्यालय प्रमुख नारायण गैरेले संयक्त रुपमा एक समारोहका विच समुद्घाट्न गरेका हुन्। प्रभु बैंकले १९३ वटा शाखा कार्यालय, १५२ वटा एटिएम तथा २९ वटा एक्स्टेन्सन काउण्टरहरु मार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ । रौतहट तथा नवलपुर जिल्ला स्थित मालपोत कार्यालयमा आउने सेवाग्राहीहरुले अब विना झण्झट प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा रहेको सम्बन्धित मालपोत कार्यालयको खातामा राजश्व रकम जम्मा गरी सरल र सहज रुपमा मालपोत कार्यालयको काम गर्न सक्नेछन् । नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिहेको प्रभु बैंक लिमिटेडले मालपोत कार्यालयमा पनि आफ्नो सेवा विस्तार गर्न सफल भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित मालपोत कार्यालयमा आउने सेवाग्राहीहरुलाई राजश्व जम्मा गर्न सहज हुनुका साथै तीनै वटा मालपोत कार्यालयहरुको आर्थिक कारोबार बैंकिङ्ग प्रणालीमा प्रवेश गरेको छ । प्रभु बैंकका तीनै वटा एक्स्टेन्सन काउण्टर कार्यालयहरुबाट प्रवाह हरने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरु प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने तथा दुवै मालपोत कार्यालयको राजश्व संकलन प्रक्रियामा सहजता आई राजश्व संकलनमा टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।

महालक्ष्मी विकास बैंक र नेपाल क्यान्सर अस्पतालबीच सम्झौता

काठमाडौं। महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवाप्रदान गर्ने हेतुले नेपालक्यान्सर अस्पताल तथा रिसर्च सेन्टर प्रा. लि.सँग मिति २०७६/०५/१० गते एक सम्झौता गरेको छ। उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदीप श्रेष्ठले हस्ताक्षर गरेका हुन्। उक्त सम्झौता पत्र एक कार्यक्रमकाबीच अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदीप श्रेष्ठलाई हस्तान्तरण गरिएको छ । उक्त सम्झौता अनुसार बैंकका ग्राहक, कर्मचारी, कर्मचारीका परिवार लगायत बैंकका संस्थापक/सेयरधनीहरुले नेपाल क्यान्सर अस्पतालमा उपचार गराउँदा सेवा शुल्कमा छुट पाउनेछन्। सम्झौता अनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक, कर्मचारी साथै कर्मचारीका परिवारले रेडियोलोजी, .ल्यावरेटरी र बेड चार्जमा १०%, रेडियसन थेरापी र बीचथेरापीमा ५% तथा क्यान्सर स्क्रिनिङ प्याकेजमा १०% आकर्षक छुट प्राप्त गर्न सक्नेछन्। देशका ९९ वटा शाखाहरुबाट बैंकिङ सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लि. ले आगामी दिनहरुमा उक्त अस्पतालसँग संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्वास्थ्यसँग सम्बन्धीत कार्यक्रमहरु गर्दै जाने सहमति गरेको छ ।

सिभिल बैंक लिमिटेड र द हबि अटो ट्रेडिङ बिच सम्झौता

काठमाडौं। सिभिल बैंक लिमिटेड र द हबि अटो ट्रेडिङ बिच व्यबसायीक सहकार्य सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट नायव प्रमुखकार्यकारी अधिकृत सुनिलकुमारपोखरेल तथा द हबि अटो टेडिङ्का तर्फबाट अध्यक्ष उमेश नारायण मानन्धरले हस्ताक्षर गरेका छन्। उक्त सम्झौता पत्र अनुसार द हबि अटो ट्रेडिङबाट ट्याक्टर, कृषि औजार तथा हेभि इक्युपमेन्ट खरिद गर्न ग्राहकहरुलाई द हबि अटो ट्रेडिङको सिफारिसमा सिभिल बैँक लिमिटेडले ७० प्रतिशत सम्म कर्जा सुबिधा प्रदान गर्ने छ । हालसम्म बैंकको ९६ शाखाहरु मार्पmत सेवाप्रदानगरिरहेको कुरा पनि बैंकले जनाएको छ

केरा बिक्रीबाट मासिक ५० हजार आम्दानी

काठमाडौं। कमाउन र स्वरोजगार हुनका लागि धेरै ठूलो उद्योग सञ्चालन गर्नु पर्दैन र कमाउन विदेश नै जानुपर्छ भन्ने हुँदैन, स्वदेशमै बसेर पनि कुनै व्यवसाय गरेर पनि विदेशमा कमाउने रकम स्वदेशमै कमाउन सकिन्छ भन्ने उदाहरण अहिले उदयपुरको त्रियुगा नगरपालिका–१४ साउनेका कृषकले पुष्टि गरेका छन् । साउनेका ५६ वर्षीय डम्बरबहादुर मगर व्यावसायिकरूपमा केराखेती गरेर केरा बिक्रीबाट मासिक रु ५० हजारभन्दा बढी कमाई गर्न थालेको बताए। उनी भन्छन्, “पहाडको भिरोलो बारी र त्यसमा पनि सामान्य मकै र कोदोबाहेक केही नफल्ने र बारीको अन्नले वर्षभरि खान पनि नपुग्ने भएपछि आफ्नो सबै खेतबारीमा केराखेती शुरु गरेपछि केही वर्षयता घरपरिवार र जीवन राम्ररी चलेको छ ।” तीन रोपनी क्षेत्रफलमा केराखेती शुरु गरेपछि अहिले मासिक ३० घरीदेखि ५० घरीसम्म केरा बिक्री हुने गरेका कारण अहिले सजिलै मासिक रु ५० हजारसम्म र वार्षिक रु पाँच लाख ५० हजारदेखि सात लाखसम्म आम्दानी हुने गरेको उनले बताए। गाउँमा सडक पुगेदेखि नै अहिले प्रत्येक हप्ता साउनेदेखि गाईघाट बजारमा १० घरीभन्दा बढी केरा आफूले बिक्रीका लागि लैजाने गरेको र महीनाभरिमा सजिलै ५० घरीसम्म केरा आफूले गाईघाट लगेर बिक्री गर्ने गरेको उनले जानकारी दिए। साउनेका अर्का ६० वर्षीय कृषक हर्कबहादुर राईले पनि अहिले मासिक रु ४० हजारसम्मको केरा बिक्री हुने गरेको बताउनुभयो । सात वर्ष अघिसम्म सामान्य मात्रै केरा उत्पादन गर्ने राईले त्यसयता आएर आफ्नो सम्पूर्ण जग्गामा केराखेती शुरु गरेपछि अहिले आर्थिक अवस्थामा सुधार भएको उणको भनाइ छ । उनले भने, “पहिला–पहिला सामान्य मात्र केराखेती गर्दथेँ र वार्षिक रु ५० हजारसम्मको मात्र केरा बिक्री गर्ने गरेको थिएँ, अहिले व्यावसायिक केराखेती शुरु गरेपछि वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी हुन्छ ।” चामल तेल, दाल तरकारी गरेर डेढ लाख भए वार्षिक रुपमा घरपरिवार चल्ने र अन्य रकम अहिले छोराछोरी पढाउन खर्च गर्न सहज भएको राईले बताए। अहिले साउने गाउँका धेरै कृषकले केरा उत्पादनबाट राम्रो आम्दानी हुन थालेपछि जग्गामा अन्नबालीभन्दा व्यावसायिकरूपमा केराखेतीमा लागेका स्थानीय ज्ञानबहादुर मगरले बताउनुभयो । साउने क्षेत्रमा उत्पादित केरा बिक्री गर्न जिल्ला सदरमुकाम गाईघाट सहज भएको मगरले बताए। वडाध्यक्ष कुरुङ राई भन्छन्, “पहिला–पहिला साउनेका कृषकलाई घरबारीमा उत्पादन गरेको अन्नले वर्षभरि धान्दैन थियो, तर केही वर्षयता आएर व्यावसायिक केराखेतीमा लागेपछि गाउँले कृषकको मुहार फेरिएको छ, आम्दानी राम्रो हुन थालेपछि अहिले उनीहरुको पारिवारिक अवस्था दिनानुदिन सुदृढ भएको छ ।” गाईघाट बजारका केरा व्यापारी रामु साहका अनुसार साउने क्षेत्रबाट आउने केराको माग बढी हुने गरेका कारण आफूहरुले नै रु ५० प्रतिदर्जनमा खरीद गरेर रु ८० सम्म प्रतिदर्जन ग्राहकलाई बिक्री गर्ने गरेका छौँ । जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार विगतमा साउने क्षेत्रमा परम्परागत केरामा झप्री, मालभोक, मुङ्ग्रे, मर्चेजस्ता केरा मात्र उत्पादन हुँदै आए पनि अहिले चिनियाँ चम्पा, रोबस्टा, कृष्णभोग, विलियम हाइब्रिड प्रजातिका केरासमेत उत्पादन हुने गरेको छ ।

भारित औसत लागत गणना सुरु, सीडीएससीकाे लागत गणनामा ग्राहककाे सहिछाप !

काठमाडौं । सीडीएस एण्ड क्लियरिङ लिमिटेडले शेयरको भारित औसत लागत गणना विधि प्रयोगमा ल्याएको छ । परीक्षणको लागि भन्दै सीडीएससीले छुट्टै डोमेनमार्फत् त्यस्तो प्रणाली सार्वजनिक गरेको हो । सो प्रणालीअनुसार कुनैपनि शेयर लगानीकर्ताको डिम्याट खातामा भएको शेयरका सम्पूर्ण स्क्रिपहरुको छुट्टाटुट्टै कारोबारको लागत सीडीएससीको सिस्टममा देखिनेछ, जसको प्रत्येक कारोबारको लागत भेरिफाई गरेपछि मात्रै सीडीएससीको सिस्टमले भारित औसत लागत गणना गरिदिनेछ । यसरी लागत भेरिफाई गर्दा सीडीएससीको सिस्टमले देखाएको लागतमा ग्राहकले सहीछाप भने गर्नुपर्नेछ, यसमा अन्यथा भएमा ग्राहक स्वयं जिम्मेवार हुने शर्त सिस्टममा अनिवार्य गरिएको छ । यो प्रणालीको सुरुवात भएपछि ग्राहकलाई ब्रोकर कार्यालयमा गएर लागतमा सहिछाप गर्नुपर्ने अवस्था अन्त्य हुनेछ तर सीसीएससीको सिस्टममा केही खराबी आयो वा अन्य कारणले सीडीएससीको रेकर्डमा रहेको लागत कम वा बढी हुन गयो भने चाहिँ त्यसबाट हुनजाने नोक्सान वा सरकारी कारबाहीको भागिदार भने स्वयम् लगानीकर्ता नै हुनुपर्ने व्यवस्था गरिएको छ । सरकारले आर्थिक वर्ष २०७६र७७ को बजेटमार्फत् शेयर कारोबारबाट हुने पुँजीगत लाभकर भारित औसत लागतका आधारमा गर्ने र त्यसको कर ५ प्रतिशत लिने व्यवस्था गरे पनि लाभकर कसरी गणना गर्ने भन्ने सम्बन्धमा ठूलो अन्यौलता कायम भएको थियो । यसले गर्दा लगानीकर्ताहरु ब्रोकर कार्यलयमा गएर आफ्नो लागतको सहीछाप गराउन बाध्य थिए । एकभन्दा बढी ब्रोकरबाट बारोबार गर्नेहरुले भने सबै ब्रोकरबाट गरिएको कारोबार संकलन गरेर बिक्री गर्ने ब्रोकरलाई लागत बुझउन बाध्य भएका थिए । परीक्षणको रुपमा सुरु गरिएको यो प्रणाली सफल भयो भने यसले शेयरको अनलाइन कारोबारमा सहयोग गर्नेछ तर सीसीएससीको गणनामा ग्राहकले किन सहीछप गर्ने र सिस्टममा समस्या हुँदा पनि ग्राहक सजायको भागिदार किन हुने भन्ने प्रश्न चाहिँ यसले छाडेको छ । कसरी गकसरी गर्ने लागत गणना ?, हेर्नुहोस् [pdf id=169231]

युनिलिभर नेपालको कम्पनी विश्लेषण: ‘फाइभ डिजिट’ शेयरमूल्यमा किन देखिन छाड्यो आकर्षण ?

काठमाडौं । नेपालको एकमात्र शेयर बजारको रुपमा रहेको नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएको शेयरमध्ये सबैभन्दा महँगो शेयर हो, युनिलिभर नेपाल लिमिटेडको । बजारमा सूचीकृत म्युचुअल फण्डका ईकाईहरुलाई छाड्दा पनि अन्य डेढ दर्जन कम्पनीहरुको शेयरमूल्य २ अंकमा झरेको, अन्य डेढ दर्जन कम्पनीको बजार मूल्य अंकित मूल्यकै नजिक आइपुगेको परिप्रेक्षमा ५ अंकमा शेयरमूल्यलाई कायम राख्न सफल एकमात्रै कम्पनी समेत हो युनिलिभर । २०००० रुपैंयाको हाराहारीमा शेयरमूल्य रहेको कम्पनीको निकटतम शेयरमूल्य रहेको राष्ट्रिय बीमा कम्पनीको शेयरमूल्य ८७०० रुपैंयाको हाराहारीमा छ जुन आधा भन्दा पनि कम हो । थोरै चुक्तापुँजी र उच्च रिजर्भ तथा उच्च नाफाको कारणले यो कम्पनीले कहिल्यै पछाडि फर्केर हेर्नुपरेको छैन । छुट्टै प्रकारको व्यवसाय, प्रतिस्पर्धीहरुको अभावको कारणले गर्दा पनि यो कम्पनीले यस्तो उपलब्धी हासिल गर्न सफल भएको विश्लेषकहरु बताउँछन् । यद्यपि पछिल्लो समयमा कम्पनीको प्रगतिमा केही सुस्तता देखिएको छ । सामान्यतया बजारको सामान्य गिरावटभन्दा माथि रहेको देखिने यो कम्पनीको शेयरमा पनि अन्य कम्पनीहरुको जस्तै गिरावट देखिने क्रम सुरु भएको लगानीकर्ताहरुको भनाई छ । अघिल्लो वर्षको यही समयमा करिब २४ हजार रुपैंया शेयरमूल्य रहेको कम्पनीको शेयर यो वर्ष आइपुग्दा १९५०० रुपैंयामा झर्दा करिब २० प्रतिशतको गिरावट हो । अघिल्लो वर्ष युनिलिभरको खुद नाफा करिब साढे ३ करोड रुपैंयाले बढेर ९६ करोड ५२ लाखबाट ९९ करोड ९४ लाख पुगेको थियो । यो वर्ष सार्वजनिक भएको रिपोर्टमा त्यो नाफा ६ प्रतिशतले बढेर करिब १ अर्ब ६ करोड रुपैंया पुगेको छ । त्यसो त चौथो त्रैमासको विवरणमा अघिल्लो वर्षभन्दा आधा भन्दा कममात्रै प्रतिशेयर आम्दानी गरेका कारण पनि यसको दीर्घकालीन कार्यसम्पादनप्रति लगानीकर्ताहरु ढुक्क हुन नसकेका हुन् । कम्पनीको आधारभूत वित्तीय अवस्था कुल ९ करोड २० लाख ७० हजार रुपैंया चुक्ता पुँजी भएको युनिलिभरको अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म २ अर्ब २३ करोड ३५ लाख रुपैंया अवितरित नाफाको रुपमा रहँदा कुल पुँजी २ अर्ब ३२ करोड ५६ लाख रुपैंया देखिएको छ । कम्पनीले ५ अर्ब ७५ करोड रुपैंयाको सञ्चालन आम्दानीसहित कुल ६ अर्ब २६ करोड आम्दानी र कच्चा पदार्थ, कर्मचारी खर्च, ह्रासकट्टी र अन्य खर्चहरु समेत गरी ४ अर्ब ८९ करोड ९७ लाख खर्च गर्दा १ अर्ब ३६ करोड ९७ लाख रुपैंया कुल नाफा कमाएको थियो । वास्तविक क्षेत्रले तिर्नुपर्ने २० प्रतिशत संस्थागत आयकर कट्टा गर्दा खुद नाफा १ अर्ब ६ करोडमा सीमित रहेको कम्पनीले सार्वजनिक गरेको रिपोर्टमा उल्लेख गरिएको छ । युनिलिभरले करिब ८९ करोड रुपैंयाको बिक्री अघिल्लो वर्ष बढाए पनि अन्तिम त्रैमासमा ह्रासकट्टी तथा अन्य खर्चमा देखिएको वृद्धिले नाफाको वृद्धिमा असर गरेको देखिएको छ । अघिल्लो वर्ष युनिलिभरले आफ्ना शेयरधनीलाई कुल ७०० प्रतिशत नगद लाभांश वितरण गरेको थियो जबकि सो वर्ष १०८५ रुपैंया प्रतिशेयर आम्दानी गरेको थियो । यो वर्ष प्रतिशेयर आम्दानीको यो दर ११५८ रुपैंया पुगेको छ । यो दरका आधारमा असार मसान्तको मूल्यमा आधारित कम्पनीको मूल्य आम्दानी अनुपात भने १७.४८ मा झरेको छ, अघिल्लो वर्ष यो दर २२.९७ थियो । तर देखिन छाड्यो शेयरमूल्यमा चमक  आर्थिक वर्ष २०७५/७६ को अन्त्यमा शेयर बजार परिसूचक अघिल्लो आर्थिक वर्षको तुलनामा वार्षिक विन्दुगत रुपमा हेर्दा केही वृद्धि भएको देखिन्छ, यद्यपि युनिलिभर नेपालको शेयरमूल्यमा भने कुनै समायोजन नभएको अवस्थामा समेत २० प्रतिशत भन्दा बढीको गिरावट देखिएको छ । चौथो त्रैमासमा देखिएको ‘अन्य खर्च’को वृद्धिका कारण अघिल्लो वर्षको चौथो त्रैमासको तुलनामा कार्यसम्पादन कमजोर देखिनुबाहेक युनिलिभर वर्षभरी राम्रै प्रगति हासिल गरेको अवस्थामा समेत पछिल्लो समय उक्त शेयरमा कम आकर्षण देखिएको हो । दोस्रो बजारमा सूचीकृत हुन वास्तविक क्षेत्रका कम्पनीहरुमा देखिएको चासो र भएका प्रयास, पतञ्जली लगायतका नयाँ कम्पनीहरुको प्रवेशले युनिलिभरको व्यापारमा देखिएको चुनौती, युनिलिभरमा देखिएको श्रम सम्बन्धमा समस्या, सुस्त प्रगति निरन्तरको नगद लाभांश र महँगो मूल्यलाई यो शेयरमा आकर्षण नदेखिनुको मुख्य कारण मानिएको छ । युनिलिभरको शेयर होल्डिङ गरेका एकजना लगानीकर्ताले भने,- ‘शेयर साह्रै महँगो भयो, १० कित्ता शेयर किन्न पनि २ लाख रुपैंया चाहिन्छ, त्यसैले साना लगानीकर्ता त यसको पुहँचमै रहने भएनन्, धेरै शेयर किन्नेहरुले रिस्क र रिटर्न हेर्छन्, यहाँको जोखिमभन्दा अन्त कम भयो भने वा यहाँको रिर्टन भन्दा अन्त रिर्टन बढी भयो भने लगानीकर्ता अरु शेयरमा पनि जान सक्छन्’ उनले भने । त्यसो त २ हजार रुपैंया भन्दा बढी नेटवर्थ भएको कम्पनीको यो शैली उनलाई समेत चित्त बुझेको छैन । उनी भन्छन्- ‘व्यवसाय विस्तार गर्ने हो भने बोनस शेयर दिए हुन्थ्यो, तर रिजर्भमा धेरै पैसा राखेर शेयरमूल्य मात्रै धेरै भएकोले कारोबार हुनै गाह्रो भयो ।’ त्यसो त पछिल्लो ३ महिनाको कारोबारमा युनिलिभरको ४० दिन कारोबार हुँदा ७४७ ओटा मात्रै खरिदबिक्री भएको तथ्यांक छ ।

अर्थमन्त्रालय अन्तरगतका दुई विभागमा महानिर्देशक परिवर्तन, आन्तरिक राजश्वमा कुँवर, भन्सारमा दाहाल

काठमाडौँ । अर्थमन्त्रालय अन्तर्गतका दुई शक्तिशाली आन्तरिक राजश्व विभाग र भन्सार विभागमा महानिर्देशक परिवर्तन भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा रहेका बिनोद कुँवरको आन्तरिक राजस्व विभागको महानिर्देशकमा सरुवा भएको छ । यसअघि महानिर्देशक रहेका बिष्णु नेपालको कर्णाली प्रदेशमा सरुवा भएको छ । यता, भन्सार विभागको महानिर्देशकमा सुमन दाहाल सरुवा भएर आएका छन् । दाहाल अर्थमन्त्रालयमा थिए । यसअघि महानिर्देशक रहेका रामेश्वर दंगालको भने गण्डकी प्रदेश सरुवा भएपछि अर्थमन्त्रालयमा रहेका दाहालको सरुवा भन्सार विभागमा भएको हो ।