पशुपालक किसानलाई मन्त्रालयले दियो साढे छ करोड अनुदान
हेटौंडा । प्रदेश नं ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पशुपालक किसानलाई गत एक वर्षमा रु छ करोड ५२ लाख अनुदान दिएको छ । पशुपालन व्यवसायको प्रवद्र्धन र विकासका लागि मन्त्रालयले दूध उत्पादक किसानलाई अनुदान, बधशाला निर्माण, दाना उद्योग सञ्चालन आदिका लागि रु छ करोड ५२ लाख वितरण गरेको हो । मन्त्रालयले दूधमा अनुदानस्वरुप प्रतिलिटर २५ पैसाको दरले सात वटा जिल्लाको १४९ सहकारीमा रु एक करोड ५० लाख वितरण गरेको छ । यसअघि प्रतिलिटर रु एक वितरण गर्ने भनेकोमा रकम अभावका कारण हाललाई २५ पैसाका दरले मात्रै वितरण गरिएको जनाइएको छ । अनुदान पाउने सहकारीमा चितवनको ७४, मकवानपुरको २२, दोलखाको दुई, काभ्रेको २२ र ललितपुरको २२, धादिङ र नुवाकोटको एक÷एक वटा सहकारी छन् । मन्त्रालयले विभिन्न जिल्लामा दाना उद्योग सञ्चालनको लागि रु एक करोड ६५ लाख ५४ हजार वितरण गरेको मन्त्रालयका पशु विकास शाखा अधिकृत डाक्टर सविना मिश्रले जानकारी दिएका छन् । उनका अनुसार मन्त्रालयले चितवन, मकवानपुर र दोलखामा दाना उद्योग सञ्चालनमा ल्याउन लागेको हो । त्यस्तै, मन्त्रालयले चितवन, ललितपुर र मकवानपुरमा तीनवटा पशु बधशाला निर्माणको लागि रु एक करोड ५० लाख दिएको छ । मन्त्रालयले चितवन र धादिङमा तीन÷तीन, सिन्धुली र दोलखामा एक÷एक र ललितपुरमा पाँचवटा साना ‘पशु बधस्थल’ निर्माणका लागि रु ८६ लाख ७६ हजार अनुदान रकम वितरण गरेको छ । यसैगरी, तीनवटा जिल्लामा ‘चिलिङ भ्याट’ को लागि एक करोड ५० लाख बजेट वितरण गरेको मन्त्रालयले जनाएको छ । त्यस्तै मन्त्रालयले रु ९८ लाख २७ हजारको लागतमा २० वटा ‘मिल्क एनलाइज’ खरिद गरी प्रदेशका विभिन्न पाँचवटा जिल्लालाई प्रदान गरेको छ । रासस
दिगो विकास लक्ष्य भेट्न वार्षिक २० खर्ब चाहिन्छ, निजी क्षेत्रले १० खर्ब लगानी गर्नुपर्छ : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले सरकारले लिएकाे दीगाे विकासकाे लक्ष्य भेट्न प्रतिवर्ष २० खर्ब लगानी गर्नुपर्ने र त्यसकाे ५० प्रतिशत निजी क्षेत्रले लगानी गर्नुपर्ने बताएका छन् । दीगाे विकास लक्ष्यअन्तर्गतका १७ लक्ष्यहरु पूरा गर्न निजी क्षेत्रकाे साथ अनिवार्य भएकाे भन्दै उनले कुल लगानीमा निजी क्षेत्रकाे लगानी हिस्सा आधा हुनुपर्ने बताएका हुन् । शुक्रबार राष्ट्रिय व्यवसायिक पहल (एनबीआई) ले गरेकाे ‘रेस्पोसिवल विजनेश समिट’ लाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले नेपाल आफ्नाे अति गरिब राष्ट्रको स्टाटसबाट मध्यम आयस्तर भएको राष्ट्रमा स्तरोन्नति हुन लागि शिक्षा, स्वास्थ्य, नवीकरणीय ऊर्जा, खाद्य सुरक्षा लगायत क्षेत्रहरुकाे लक्ष्य महत्वपूर्ण हुने समेत बताए । ‘यी सबै लक्ष्य प्राप्त गर्न निजी क्षेत्रको भुमिका महत्वपूर्ण हुन्छ,’ उनले भने ‘निजी क्षेत्रले सामाजिक सुरक्षा र ज्यालामा विभेद नगरी सामाजिक उत्तरदायित्वका साथ काम गनुपर्छ ।’ कुषि तथा औद्योगिक उत्पादनदेखि वितरणसम्म निजी क्षेत्रको हात हुन्छ ।’ शिक्षा, स्वास्थ्य, नवीकरणीय ऊर्जा, खाद्य सुरक्षा सबैमा निजी क्षेत्रको सम्लग्नता रहने हुँदा राज्यप्रति उत्तरदायी भएर काम गर्न सुझाव दिए । सरकार यो प्राप्तीको लागि बढी जिम्मेवार र उत्तरदायी हुन्छ । ‘मौलिक हक र क्षमता विकास गर्ने काममा राज्य लाग्नुपर्छ,’ उनले भने ‘औद्योगिक विकासको अभिन्न अंग श्रम बजार हो ।’ यसमा भिन्नता हुनु भएन । सामाजिक सुरक्षा योजनामा सहभागी हुन अटेर नगर्न समेत अर्थमन्त्रीले सुझाएका छन् ।
इँट्टाको सात लाख नदिएको भन्दै अपहरणमा परेका खड्काको सकुशल उद्धार
गोरखा । इँट्टाको पैसा नतिरेको भन्दै अपहरणमा परेका गोरखा भीमसेन थापा गाउँपालिका–६ अश्राङका जीवन खड्कालाई प्रहरीले सकुशल उद्धार गरेको छ । घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय रौतहटको समन्वयमा रौतहटको गरुडाबाट खड्काको उद्धार गरिएको गोरखाका प्रमुख प्रहरी उपरिक्षक (एसपी) ओम अधिकारीले जानकारी दिएका छन् । इँट्टा कारोवार गर्दा बक्यौता रहेकोे रु सात लाख नदिएको भन्दै रौतहटका व्यापारी राजीव पण्डित कुहारले उनलाई अपहरण गरी बन्धक बनाएको अवस्थामा प्रहरीले उद्धार गरेकोे एसपी अधिकारीले बताए । खड्कालाई बुधबार राति राजीवको घर नजिकैको गोठबाट प्रहरीले उद्धार गरी अपहरणमा सङ्लग्न कुहारलाई समेत नियन्त्रणमा लिएको रौतहटका प्रहरी नायब उपरीक्षक तुलसी अर्यालले जानकारी दिएका छन् । “घर नजिकै गोठ जस्तोमा कोठाभित्र खड्कालाई थुनेर बाहिरबाट चाबी लगाई बन्धक अवस्थामा राखिएको रहेछ”, एसपी अधिकारीले भने, “प्रहरीले खबर पाएलगत्तै पुगेर उद्धार गर्न सफल भयो ।” पक्राउ परेका कुहारविरुद्ध अपहरण र शरीर बन्धक शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उद्धार गरिएका खड्कालाई आज परिवारको जिम्मा लगाउने प्रहरीले जनाएको छ । रासस
अब कर्णालीमा विकास निश्चित, डिजिटल नक्सा तयार हुँदै
जुम्ला । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली विकासको डिजिटल नक्सा तयारीमा लागेको बताएका छन् । नेपाल पत्रकार महासङ्घ जुम्लाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री शाहीले कर्णालीको डिजिटल नक्सा तयारबिना कर्णालीको विकास नहुने बताएका हुन् । कर्णालीमा विकास माग्ने र खाने संस्कृति मौलाउँदै गएकाले त्यसको अन्त्यका लागि हरेक क्षेत्र सजग हुनुपर्नेमा जोड दिए । अब विकासका लागि हामी ठूला योजनाहरुको विस्तृत परियोजना प्रतिवेदन तयार गर्छौँ, उनले भने, तयार भएका योजनाहरुलाई कार्यान्वयनमा लैजान्छौँ । सरकारले विकासका लागि पूर्वाधार क्षेत्रको परियोजना बैंक तयार गरेको जनाउँदै उनले भने, प्रदेशको समानुपातिक विकासका लागि हामीले २४ वटै निर्वाचन क्षेत्रमा समानुपातिक ढङ्गबाट बजेट विनियोजन गरेका छौँ । कर्णालीलाई कृषि पर्यटनका रुपमा विकास गर्न जमिनको व्यवस्थीकरण गर्ने उनको भनाइ थियो । यसका लागि मध्यपश्चिम विश्वविद्यालयले प्राङ्गारिक पाठ्यक्रम तयार गरिरहेको उनले बताए । कर्णालीको निरक्षरतालाई पूर्णरुपले हटाउन प्रदेश सरकारले लिएको साक्षरता अभियानलाई लक्ष्यविन्दुमा पुर्याउने उनको भनाइ थियो । राजनीतिका लागि विकास गर्ने संस्कार हटाउनु आजको आवश्यकता रहेको बताउँदै उनले सुर्खेत–हिल्सा सडक निर्माणमा सरकारले प्रधानता दिएको जानकारी दिए । सङ्घीय सरकारले अधिकार नदिएकाले कर्णालीको अपेक्षित विकास हुन नसकेको उनको भनाइ थियो । रासस
एभरेष्ट बैंकका ग्राहकलाई पोखराको होटल स्नो पीकमा १०% छुट
काठमाडौं। एभरेष्ट बैंक लिमिटेडले ग्राहकहरुलाई छुट र स्पेशल प्याकेजको व्यवस्था गर्न पोखराको होटल स्नो पीकसँग साझेदारी गरेको छ । पोखरा लेकसाइडको मुटुमा अवस्थीत होटल स्नो पीक पर्यटकहरुका लागि प्राकृतिक र सांस्कृतिक रुपमा भरिपूर्ण गन्तव्य हो । एभरेष्ट बैंक र होटल स्नो पीकबीच हस्ताक्षर भएको एमओयू अनुसार ग्राहकहरुले आवास (सबै प्रकारका कोठाहरु), खाना र पेय पदार्थमा १०% सम्म छुट पाउने छन् । ग्राहकहरुले एभरेष्ट बैंकको एटिएम वा क्रेडिट कार्ड देखाएर उक्त छुट पाउन सक्नेछन् । “सर्भिस विथ स्माईल” नारा सहित एभरेष्ट बैंकले सदैव ग्राहकको लाभ र सन्तुष्टिलाई मध्येनजर गर्दै आएको छ । एभरेष्ट बैंकको सन्तुष्ट ग्राहकहरुको संख्या १० लाख भन्दा बढि रहेको छ जुन बैंकिङ्ग क्षेत्रमा नै सबैभन्दा उच्च हो । साथै, हालै क्यामेलस् रेटिङमा एभरेष्ट बैंक बेस्ट रेटेड कमर्सियल बैंकमा पर्न सफल भएको छ । एभरेष्ट बैंकले हाल आफ्ना ९४ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र १२० एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
तस्करीमा संलग्न छ मोटरसाइकलसहित तीन लाख बराबरको मरिच बरामद
लहान । सिरहाको विभिन्न स्थानबाट प्रहरीले हिजो एकै दिन तस्करीमा संलग्न छ मोटरसाइकल तथा करिब रु तीन लाख मूल्य बराबरको मरिचलगायतको सामान बरामद गरेको छ । प्रहरी चौकी झाझपट्टीबाट खटिएको गस्ती टोलीले अवैध रुपमा रु डेढ लाख मूल्य बराबरको मरिच लोड गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा स६प २०१३, स१प ५४०१, स१प ६५०७ र स५प ४५२९ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिएका छन् । प्रहरीका अनुसार पक्राउ परेका चार वटै मोटरसाइकलमा करिब चार क्विन्टल मरिच लोड गरिएको थियो । यस्तै सादा पोशाकमा खटिएका प्रहरी गस्ती टोलीले सिरहा नगरपालिका १८ अराहाबाट भन्सार छलि नेपालतर्फ तस्करी भइरहेको सुर्तिजन्य पदार्थसहित स२प ६४९१ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको छ । त्यस्तै, प्रहरीले भगवानपुर गाउँपालिका–५ इनरुवाबाट अवैध सोफिया मदिरासहित मदिरा लोड गरिएको बिआर३२डी २१५५ नंको भारतीय नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ । नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा प्रहरीले मदिरासहित सो मोटरसाइकल नियन्त्रणमा लिएको प्रवक्ता प्रहरी नायब उपरीक्षक बोहराले बताएका छन् । बरामद भएका मोटरसाइकल र सामान आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय माडरमा बुझाइने प्रहरी नायब उपरीक्षक बोहराको भनाइ छ । रासस
नेशनल लाइफले घोषणा गर्यो १४.५ प्रतिशत लाभांश, कर पनि तिरिदिने
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले १४.५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । आर्थिक वर्ष २०७४७५ को नाफाबाट नेशनलले १२ प्रतिशत नगद लाभांश र २.५ प्रतिशत बोनस शेयर सहित उक्त परिमाणमा लाभांश दिने घोषणा गरेको हो उक्त लाभांशमा कर प्रयोजनको लागि लाग्ने रकम समेत कम्पनीले ब्यहोर्नेछ । नेशनल लाइफको बिहीबार बसेको सञ्चालक समिति बैठकले त्यस्तो निर्णय गरेको कम्पनीले जनाएको छ । यो बनेनस बीमा समितिको स्वीकृति र वार्षिक साधारणसभाको अनुमोदनपश्चात् लागु हुने पनि कम्पनीले स्पष्ठ पारेको छ ।
वीरगञ्जमा १५ वर्षीया युवतीमाथि तेजाब प्रहार
पर्सा । वीरगञ्जको गणेशमानचौकमा आज बिहान १५ वर्षीया एक युवतीलाई एसिड (तेजाब) खन्याइ घाइते बनाइएको छ । विद्यालय जाने क्रममा वीरगञ्ज महानगरपालिका–३ छपकैया निवासी मुस्कान खातुनमाथि दुई जनाको सङ्ख्यामा रहेका युवकले तेजाब प्रहार गरेका हुन् । तेजाब प्रहारबाट घाइते भएकी खातुनलाई वीरगञ्जको नारायणी अस्पतालमा उपचार भइरहेको छ । तेजाबबाट खातुनको अनुहार, छाती, हातखुट्टालगायतका शरीरको भाग जलेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । खातुनको स्वास्थ्य अवस्था गम्भीर रहेको पनि चिकित्सकले बताएका छन् । मुस्कानमाथि तेजाब खन्याएको अभियोगमा वीरगञ्ज महानगरपालिका–२ छपकैया निवासी १६ वर्षीय सम्साद मियाँलाई प्रहरीले पक्राउ गरेको छ । बिहान ६ बजे विद्यालय जानलागेकी युवतीमाथि सम्सादले तेजाब खन्याएको प्रत्यक्षदर्शी र पीडितले दिएको बयानका आधारमा उनलाई पक्राउ गर्न गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिएका छन् । उनले युवतीमाथि तेजाब खन्याउने कार्यमा सहयोग गर्ने वीरगञ्ज–२ छपकैया निवासी मजिद आलमको खोजी भइरहेको बताए । वीरगञ्जको रामटोलमा अवस्थित त्रिभुवन हनुमान माध्यमिक विद्यलायको कक्षा १० मा मुस्कान अध्ययनरत रहेकी छन् । रासस