कोहलपुर–सुर्खेत १ सय ३२ केभी विधुत बिस्तार हुने, आयोजनामा एक अर्ब ८० करोड लागत लाग्ने अनुमान
काठमाडाैं । कोहलपुर–सुर्खेत विद्युत प्रसारण लाइनको क्षमता विस्तार गरिने भएको छ । लामो समयदेखि चर्चा भए पनि अलपत्र पर्दै आएको १३२ केभी विद्युत प्रसारण लाइन विस्तार योजना अब भने अघि बढ्ने भएको हाे। आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) सम्पन्न भएसँगै क्षमता विस्तार कार्य अघि बढ्ने बाटो खुलेको हो । नेपाल विद्युत प्राधिकरणको वातावरण तथा सामाजिक अध्ययन विभागले आयोजनाले पार्ने वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार पारेको छ । प्रतिवेदन अनुसार आयोजना बाँकेको कोहलपुर सव–स्टेशनबाट प्रारम्भ भइ सुर्खेत जिल्लाको वीरेन्द्रनगरस्थित प्रस्तावित सुर्खेत सव–स्टेशनमा गएर टुङ्गिने छ । प्रस्तावित प्रसारण लाइन आयोजनाको लम्बाई करिब ५१ किलोमिटर हुनेछ भने डबल सर्किटको हुने प्रतिवेदनमा उल्लेख गरिएको छ । आयोजनाको कुल लम्बाई करिब ५१.४६२ किलोमिटर रहने छ । एंगल टावरहरू २६ वटा रहने छन् भने आयोजनाको कुल टावरहरूको संख्या एक सय ४५ वटा रहने जनाइएको छ । सुर्खेतमा रहने सव–स्टेशनको क्षेत्रफल ३.७२४९ हेक्टर रहने छ । आयोजनाको अनुमानित लागत एक अर्ब ८० करोड लाग्ने जनाइएको छ । प्रस्तावित वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन अनुसार यस आयोजना क्षेत्रको उचाईगत फरक एक सय ६० मिटरदेखि एक हजार एक सय १५ मिटरसम्म रहेको छ । आयोजना प्रदेश नं. ५ को बाँके, बर्दिया तथा कर्णालीको सुर्खेतभित्र अवस्थित रहनेछ । यस आयोजनाबाट तीन जिल्लाहरूका पाँच नगरपालिका तथा एक गाउँपालिका प्रभावित हुने जनाइएको छ । जसमा बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका, बर्दियाको बाँसगढी नगरपालिका तथा सुर्खेतको भेरीगंगा, लेकवेशी तथा वीरेन्द्रनगर नगरपालिकाहरू प्रभावित हुने ईआईए प्रतिवेदनमा उल्लेख गरिएको छ । १३२ केभी विद्युत प्रसारण लाइन विस्तार नहुँदा सुर्खेतसहित कर्णालीवासीले सास्ती भोग्दै आएका छन् । कोहलपुर–सुर्खेत ३३ केभीए प्रसारण लाइन २०४५ सालमा विस्तार गरिएको हो ।
ओली र माेदीद्वारा पेट्रोलियम पाइप लाइन परियोजनाको उद्घाटन
काठमाडौं । बहुप्रतिक्षित अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजनाको आज अपराह्न उद्घाटन गरिएको छ । भारतको मोतिहारीबाट अमलेखगञ्जसम्म बिछ्याइएको सो पाइप लाइन परियोजनाको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा आ–आफ्नो मुलुकबाट ‘स्वीच’ थिचेर उद्घाटन गरेका हुन् । नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट र भारतको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट ‘भिडियो कन्फरेन्स’मार्फत एकैसाथ स्वीच थिचेर सो परियोजनाको उद्घाटन गरेका हुन् । उद्घाटनसँगै मोतिहारीबाट अमलेखगञ्जसम्म पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ भित्रिएको छ । यो पाइपलाइन दक्षिण एशियाकै पहिलो ‘क्रस बोर्डर’ परियोजना हो । पहिलो चरणमा पाइप लाइनबाट डिजेल ल्याइनेछ । त्यसपछि क्रमशः पेट्रोल र मट्टितेल ल्याइनेछ । मोतिहारी–अमलेखगञ्ज पाइप लाइनको दूरी ६९.२ किलोमिटर रहेको छ । जसमा नेपालतर्फ ३६.२ र भारततर्फ ३३ किलोमिटर रहेको छ । पाइप लाइनबाट दैनिक झण्डै चार हजार किलोलिटर पेट्रोलियम पदार्थ ल्याउन सकिने परियोजनाले जनाएको छ । सो परियोजनाबाट पेट्रोलियम पदार्थ भित्रन थालेपछि वार्षिक अर्बौ ढुवानी खर्च जोगिने बताइएको छ । पाइप लाइनबाट पेट्रोलियम पदार्थ ल्याउँदा वार्षिक दुई अर्बभन्दा बढी ढुवानी खर्च बचत हुनेछ । पाइपलाइन सञ्चालनमा आएसँगै इन्धन ढुवानी लागतको न्यूनीकरणले पेट्रोलियम पदार्थको उपभोक्ता मूल्यसमेत घटेको छ । आजै मध्याह्नदेखि निगमले डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर दुई–दुई रुपैयाँ घटाएको छ । देशभित्र खपत हुने डिजेलमध्ये ७० प्रतिशत अमलेखगञ्जबाट आपूर्ति हुँदै आएको निगमले जनाएको हो । परियोजनाको उद्घाटनका क्रममा निगमका कार्यकारी निर्देशकसहितको उच्च प्राविधिक टोली अमलेखगञ्जमा रहेको छ । निगम र भारतीय आयल कर्पोरेशनबीच अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजना निर्माणका लागि सन् २००४ मा सम्झौता भएको थियो । सो परियोजना विविध कारणले एक दशकभन्दा बढी समय रोकिरहेका थियो । सन् २०१५ को अगष्टमा तत्कालीन वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापा र उनका भारतीय समकक्षी धर्मेन्द्र प्रधानले हस्ताक्षर गरेसँगै परियोजना निर्माण शुरु भएको हो । सो परियोजना निर्माणमा नेपाल र भारत सरकारले अत्यन्त चासो व्यक्त गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा नयाँ दिल्लीबाट प्रधानमन्त्री ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा पाइप लाइन परियोजनाको शिलान्यास गरेका थिए । परियोजनाको लागत दुई अर्ब ७५ करोड भारतीय रुपैयाँ रहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित सो कार्यक्रममा मन्त्रिपरिषद्का सदस्य, विभिन्न मन्त्रालयका सचिवलगायत नेपाल सरकरका उच्चपदस्थ अधिकारीको सहभागिता रहेको थियो ।
चितवनको विकास चोकमा सिन्धु विकास बैंकको शाखा
काठमाडौँ । सिन्धुपाल्चोक जिल्लाको पहिलो विकास बैंकको रुपमा स्थापित सिन्धु विकास बैंक लिमिटेडले चितवन जिल्लाको विकासचोकमा बैंकको शाखा स्थापना गरेको छ । विकासचोक शाखा चितवन उद्योग बाणिज्य संघका अध्यक्ष सहनलाल प्रधानले उद्घाटन गरेका हुन् । सो अवसरमा बैंकका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत रमेशप्रसाद जोशीले बैंकको हालसम्मको प्रगती तथा भावी कार्यक्रमको बारेमा मन्तव्य राखेका थिए । बैंकले निकट भविष्यमा नै चितवन जिल्लाको नारायणगढ, चनौली, लाहुरे चोक र मकवानपुर जिल्लाको हेटौडा बजार लगाएत विभिन्न स्थानहरुमा बैंकको शाखा तथा सिमित बैंकिङ्ग ईकाई कार्यालय स्थापना गर्ने जनाएको छ ।
राष्ट्रिय वाणिज्य बैँकका ग्राहकलाई किस्ट हस्पिटलमा १५ प्रतिशत छुट
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र किस्ट टिचिङ्ग हस्पिटलबीच बैंकका ग्राहकवर्ग, कर्मचारी तथा तिनका आश्रित परिवारलाई हस्पिटलले दिने सेवामा १५ प्रतिशत सम्म छुट दिने सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र किस्ट टिचिङ्ग हस्पिटलका कार्यकारी अध्यक्ष आशिस थापाले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता भएपश्चात राष्ट्रिय वाणिज्य बैंकका ग्राहकवर्ग, कर्मचारी तथा तिनका आश्रित परिवारले आउटसोर्स बाहेकको हस्पिटल सेवा शुल्कमा १५ प्रतिशत र फार्मेसीमा ७ प्रतिशत छुट एक वर्ष सम्म पाउने छन् । उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायव प्रमुख कार्यकारी अधिकृतहरु कबिराज अधिकारी, केशबप्रसाद लम्साल, विभागीय प्रमुख पवन रेग्मी, किस्ट टिचिङ्ग हस्पिटलका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
राज्यमन्त्री यादवले एसिडपीडित खातुनकाे स्वास्थ्य अवस्थाबारे लिए स्थलगत जानकारी
काठमाडौं । स्वास्थ तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्र कुमार यादवले किर्तिपुर अस्पताल पुगेर एसिड आक्रमणमा घाइते भई उपचारमा रहेकी मुस्कान खातुनको पछिलो स्वास्थ्य अवस्था बारे स्थलगत जानकारी लिएका छन् । वीरगञ्जमा शुक्रबार हनुमान माध्यमिक विद्यालयमा अध्ययनरत मुस्कान खातुन एसिड आक्रमणमा परेकी थिइन्। हाल उनको अवस्थ्या खतरा मुक्त्त रहेको छ। त्यस्तै, समाजवादी पार्टीका संंघीय सासद मा।प्रदिप यादवले एसिड आक्रमणबाट घाइते किशोरीको उपचारका लागि रु.५० हजार दिएका छन् भने, प्रदेश २का मुख्य मन्त्री लालबाबु रावतले रु।पाँँच लाख दिने निर्णय गरेका छन् । घाइते मुस्कानको उपचारमा कुनै कमी हुन नदिन केन्द्र सरकार र प्रदेश सरकार प्रतिबद्ध रहेको जानकारी गराइएकोे छ।
सीडीएससीको लागत गणना सफ्टवेयर क्याल्कुलेटर मात्रै, अध्यक्ष साउद नै भन्छन्, ‘धेरै उत्साहित नभए हुन्छ’
काठमाडौं । शेयरको भारित औसत गणनाका लागि सीडीएससीले ल्याएको सफ्टवेयरले विद्यमान बजारको सबै समस्या समाधान गर्न नसक्ने देखिएको छ । सीडीएससीले ल्याएको उक्त सफ्वेयरले कुनैपनि ग्राहकसँग भएको शेयरको लागत मूल्यबारे आफ्नो सिस्टममा भएको रेकर्ड देखाइदिने र त्यसको क्याल्कुलेटरको काम गरिदिने बाहेक अन्य काम गर्न नसक्ने अवस्था देखिएको हो । आर्थिक वर्ष २०७६/७७ को बजेटले शेयर कारोबारमा लाग्ने पुँजीगत लाभकरलाई भारित औसत लागतका आधारमा लिने व्यवस्था गरेसँगै ब्रोकरहरुले नै त्यस्तो लाभकरको गणना गर्दै आएका थिए । तर, ब्रोकरहरुले त्यस्तो लाभकर गणना गर्दा त्यसरी गणना भएको लाभकरको सहिछाप भने स्वयम् ग्राहकले गर्नुपर्ने व्यवस्था भएपछि लगानीकर्ताहरु प्रविधिको युगमा पनि ढुंगे युगमा जस्तै कागजमा ल्याप्चे लगाउनुपर्ने अवस्था आएको भन्दै आक्रोशित भएका थिए । त्यसको समाधानका लागि भन्दै सीडीएससीले ल्याएको सफ्टवेयरबाट ब्रोकरले जानुपर्नेभन्दा बढी कुनै समस्याको समाधान नगरेको लगानीकर्ताहरु बताउँछन् । प्रत्येक कारोबार र स्क्रिपको भेरिफाई सफ्टवेयरले कुनैपनि लगानीकर्तासँग भएको प्रत्येक स्क्रिपहरुको प्रत्येक कारोबारको भेरिफाई लगानीकर्ता स्वयम्ले गर्नुपर्ने व्यवस्था गरेको छ । जस्तो कुनै व्यक्तिको डिम्याट खातामा १०० ओटा कम्पनीका शेयर स्क्रिप छन् भने प्रत्येक स्क्रिपको लागत सीडीएससीको सिस्टममा देखाएको लागत बराबर हो कि होइन भन्ने भेरिफाई लगानीकर्ताले गर्नुपर्छ । त्यस्तो लागत वास्तविक लागतभन्दा घटिबढी भएमा त्यसको जिम्मेवार समेत लगानीकर्ता आफैं हुने शर्त समेत अनिवार्य रुपमा समेत अनिवार्य रुपमा मान्नुपर्ने व्यवस्था गरिएको छ । त्यतिमात्र नभएर प्रत्येक थप कारोबार गरेपछि पनि ग्राहकले नयाँ औसत लागतलाई भेरिफाई गर्नुपर्नेछ । सीडीएससीका सूचना अधिकारी सुरेश न्यौपानेले नयाँ कारोबारपछि कारोबार भएको स्क्रिपको औसत लागत मूल्य फेरि भेरिफाइ गर्नुपर्ने व्यवस्था रहेको बताए । सीडीएस एण्ड क्लियरिंग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले लगानीकर्ताको लागतको जिम्मा सिडीएससीले लिन नसक्ने बताए । सीडीएससीले देखाएको मूल्यमा ग्राहकले किन भेरिफाइ गर्ने भन्ने प्रश्नमा उनी भन्छन्, – ‘आफ्नो लागतको भेरिफाई आफै नगरेर कसले गर्ने त ?’ मेरो शेयरको अनिवार्य प्रयोग सीडीएससीले ल्याएको सफ्वेयर मेरोशेयरका प्रयोगकर्ताहरुले मात्रै प्रयोग गर्न मिल्छ । मेरो शेयर प्रयोग गरी सोही एप्लिकेशनमार्फत् डेबिट इन्ट्रक्सन स्लिप बुझाएमा मात्रै सो सफ्टवेयरमार्फत् गरिएको भेरिफाईले काम गर्छ नत्र सम्बन्धित ब्रोकरकोमा गएर सहिछाप गर्नुपर्ने विद्यमान व्यवस्था कायमै रहन्छ । त्यसैले लगानीकर्ताहरु यो सफ्वेयरलाई ‘मेरो शेयर’को मार्केटिङ गर्ने टुल्स मात्रै भनेका छन् । रेकर्डमा नभएका कारोबारको लागत १०० रुपैंया सीडीएससीको सिस्टमले आईपीओ वा एफपीओबाट आएका, मर्चेन्ट बैंकरहरुमार्फत् लिलामी बढाबढ भएर आएका, हकप्रद र बोनस शेयरको रेकर्डमात्रै राख्छ । त्यसबाहेकमा प्रिमियम वा डिस्काउन्ट मूल्यमा जारी भई डिम्याट गर्न बाँकी रहेका तथा नामसारीहरुबाट आएका शेयरहरुको लागत मूल्य अंकित मूल्य बराबर देखाउने व्यवस्था गरेको छ । त्यसको वास्तविक लागत बढी भएको प्रमाण पेश गर्नुपर्छ । अध्यक्ष साउद नै भन्छन्– ‘धेरै उत्साहित नभए हुन्छ’ सीडीएससीका अध्यक्ष समेत रहेको नेपाल स्टक एक्सचेञ्जका प्रमुख अधिकृत चन्द्रसिंह साउदले पनि मेरो शेयरले ल्याएको सो सफ्वेयरको धेरै सीमा भएको भन्दै लगानीकर्तालाई बढी उत्साहित नहुन आग्रह गरेका छन् । उनले सीडीएससीले सफ्वेयर ल्याएपछि ढुंगे युगको अन्त्य भएको भनेर हल्ला गर्न थाले पनि वास्तविकता त्यसो नभएको बताए । ‘मेरो शेयर’ प्रयोग गर्नेको लागि मात्रै त्यो सफ्टवेयरले काम गर्ने हो, अहिले धेरै उत्साहित नहुनुस्, वास्तविकता बुझेपछि फेरि गाली गर्न थाल्नुहुन्छ ।’ साउदले भने । शेयर लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फुल्लेलले पनि सीडीएससीले ल्याएको सिस्टमले आफूहरुको सम्पूर्ण माग पूरा नगरेको बताए । ‘हामीले चाहेको भनेको सिस्टम आफैंले लागत निर्धारण गरोस्, लगानीकर्तालाई झन्झट नहोस् भन्ने हो, तर त्यो भएन, हाम्रो माग आंशिक मात्रै पूरा भयो ।’ हाल परीक्षणको लागि भन्दै ल्याएको उक्त सफ्टवेयर पूर्ण रुपमा लागु नभएसम्म मेरो शेयरका प्रयोगकर्ताले पनि डेविट इन्ट्रक्सन स्लिप लागु गर्न सक्ने छैनन् ।
पेट्रोल, डिजल र मट्टीतेलको मूल्य २/२ रुपैयाँ घट्यो, १२ बजेदेखि लागु
काठमाडौँ । पेट्रोल, डिजल र मट्टीतेलको मूल्य मंगलबार दिउँसो १२ बजेदेखि २/२ रुपैयाँले घटेको छ । मोतिहारी–अमलेखगञ्ज पेट्रोलिमय पाइपलाइन उद्घाटनका अवसरमा सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । पेट्रोलियम पाइलाइनको उद्घाटन हुनु अघि आयल निगमका महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलले अमलेखगञ्जबाटै मूल्य घटाउने घोषणा गरेका हुन् । एलपिजी ग्याँस र हवाई इन्धनको मूल्य भने यथावत रहेको जनाइएको छ । नयाँ मूल्य अनुसार अब पेट्रोलको प्रतिलिटर १०७ रुपैयाँ र डिजेल तथा मट्टितेलको समान ९५ रुपैयाँ कायम हुने निगमले जनाएको छ ।
१५ करोड लागतमा नेपालगञ्जको सुविधासम्पन्न बसपार्क तयार, अब छिट्टै सञ्चालनमा आउने
राँझा । नेपालगञ्जमा बहुप्रतिक्षित अत्याधुनिक सुविधासम्पन्न बसपार्क तयार भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–४, गणेशपुरमा साढे चार बिघा क्षेत्रफलमा फैलिएको बसपार्कलाई पश्चिम नेपालकै सुविधायुक्त बनाइएको उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले बताएका छन् । उनले केही दिनमै औपचारिक रुपमा बसपार्क सञ्चालनमा ल्याईने जानकारी दिए । “बसपार्कको निर्माण कार्य सकिएको छ, एकहप्ता वा बढीमा दश दिनभित्र हामीले सञ्चालनमा ल्याउने छौँ”, नगरप्रमुख राणाले भने, “सबै बसलाई बसपार्कभित्रै पार्किङ गर्नुपर्ने बाध्यात्मक व्यवस्था मिलाउँदैछौँ ।” बसपार्कमा पार्किङ नगरी सडकका छेउछाउ बस रोक्दा दुर्घटनाको जोखिम हुनुका साथै अशोभनीय देखिएकाले सबै बसलाई बसपार्कभित्रै राख्ने अनिवार्य व्यवस्था कायम गर्न लागिएको उनले जानकारी दिएका हुन् । उपमहानगरपालिकाले नगर विकास कोषसँगको ऋण लगानीमा अत्याधुनिक र सुविधा सम्पन्न बसपार्क निर्माण गरेको हो । यातायातका साधनबाट असुली हुने रकमबाट नै ऋण तिर्ने उपमहानगरपालिकाको योजना छ । बसपार्कभित्र टर्मिनल भवन, सपिङ बिल्डिङ, शौचालय, चमेनागृह, पक्की पार्किङ क्षेत्र निर्माण गरिएको छ । निर्माण कम्पनीले मुख्यद्धार र पक्की पर्खाल निर्माणको समेत जिम्मा लिएको उपमहानगरका इञ्जिनीयर सुरजकुमार गुप्ताले बताएका हुन् । उनका अनुसार, बसपार्क निर्माणको जिम्मा युनाइटेड बिल्डर्सले रु २० करोड लागत अनुमान गरिएकामा रु १४ करोड ९४ हजारमा ठेक्का लिएको थियो । पटक–पटक म्याद थप गरी करिब एक वर्ष ढिलो गरी निर्माण कम्पनीले बसपार्क निर्माणको काम सम्पन्न गरेको छ । करिब २० वर्ष पुरानो बसपार्कले गाडी र यात्रुको चापलाई धान्नै नसकेकाले पश्चिम नेपालकै केन्द्रका रूपमा रहेको नेपालगञ्जमा अत्याधुनिक बसपार्क निर्माणका लागि यातायात व्यवसायीले पनि दबाब दिँदै आएका थिए । हरेक गाडीबाट दैनिक रु २० देखि रु १०० सम्म शुल्क उठाउँदै आएको बसपार्कमा अत्याधुनिक सेवा सुविधा दिन थालेपछि सेवा शुल्क बढाउने सहमति भइसकेको छ । भेरी बस व्यवसायी प्रालिका वरिष्ठ उपाध्यक्ष शोभाखर पौडेलले बसपार्क सञ्चालन नहुँदा यातायात व्यवसायी र यात्रुले दुःख झेल्नुपरेकाले तुरुन्त सञ्चालन गर्नुपर्ने बताए । उनका अनुसार, नेपालगञ्ज बसपार्कबाट काठमाडौँलगायत पूर्व–पश्चिम तथा उत्तरतर्फ गरी दैनिक ६०० बढी साना ठूला बस सञ्चालन हुने गर्दछन् । रासस