विकासन्युज

नबिल बैंक र एडुकेशन कन्सलटेन्सीबीच बैंकिङ्ग सेवासम्बन्धी सम्झौता

काठमाडौं । नबिल बैंक तथा एडुकेशन कन्सलटेन्सी एसोशिएसन अफ नेपाल (इसिएएन) बीच विशिष्ट बैंकिङ्ग सेवा प्रदान गर्नेसम्बन्धी सम्झौतापत्रमा यही २२ गते एक विशेष समारोह बीच हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले गरेका हुन् । यस सहमति पश्चात नबिल बैंकले इसिएएनसँग आवद्घ सदस्य संस्थाहरु, तीनका कर्मचारीहरु एवं विद्यार्थीहरुका लागि आधिकारीक बैंकको रुपमा सेवा प्रदान गर्नेछ । सम्झौता अन्तर्गत बैंकले इसिएएन सदस्य संस्थाहरु तथा विद्यार्थीहरुलाई प्राथमिकताका साथ न्यूनतम शुल्कमा शैक्षिक कर्जा लगायत विप्रेशणका सुविधा, कार्ड सुविधाहरु, कर्मचारी खाता, अनलाईन भुक्तानी सेवा लगायत सम्पूर्ण बैंकिङ्ग सुविधा प्रदान गर्नेछ । इसिएएनको तर्फबाट अध्यक्ष विष्णु हरि पाण्डेले नबिल बैंक जस्तो प्रतिष्ठित बैंक आधिकारिक बैंकको रुपमा पाउनु र आफ्नो संस्था, सम्पूर्ण सदस्य संस्थाहरु, कर्मचारी लगायत विद्यार्थीहरुले सुलभ तरिकाले सम्पूर्ण बैंकिङ्ग सुविधा पाउनु गर्वको विषय भएको उल्लेख गरेका छन् ।

एलजीले ल्यायो ‘खुशीको डबल अपग्रेड’ योजना

काठमाडाैं । एलजीले यस चाडपर्व २०७६ लाई लक्षित गरी एक स्फूर्तिदायी योजना ल्याएको छ । ‘खुशीको डबल अपग्रेड’ नाम दिईएको यो योजनामा एलजी ब्राण्डका उत्पादनहरु जस्तै टेलिभिजन, रेफ्रिजिरेटर, वासिङ मेसिन, भ्याकुम क्लिनर, डिसवासर, माइक्रोवेभ, र साउन्ड सिस्टमको खरिदमा आकर्षक मुल्यका साथै पक्का उपहारहरु रहेको छ । यो योजना अन्तर्गत भाग्यशाली ग्राहक महानुभावहरुले लक्की ड्र मार्फत एलजीका अनेकौ इनोभेटिभ उत्पादनले अपग्रेड हुने सुर्वण अवसर प्राप्त गर्नेछन । यो ग्राहक योजना नेपाल अधिराज्यभर भाद्र २४ देखि सिमित अवधिको लागि मात्र लागु हुनेछ । यो नेपाल अधिराज्यभरमा रहेको एलजीका आउट्लेटहरुमा उपलव्ध छ ।

सांग्रिला बैंकद्वारा प्रेमसागर फाउण्डेशनलाई आर्थिक सहयोग

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले धादिङ्ग धार्के गाउँपालिका, वडा नं ५ मा सञ्चालित प्रेमसागर फाउण्डेशन नेपाललाई वित्तीय सहयोग प्रदान गरेको छ । सहयोगस्वरुप बैंकका महाप्रबन्धक अपुर्व प्रसाद जोशीद्वारा प्रेमसागर फाउण्डेशनका कोषाध्यक्ष दुर्गादत्त घिमिरेलाई पचास हजारको चेक हस्तान्तरण गरेका हुन् । उक्त आर्थिक सहयोगले फाउण्डेशनद्घारा धार्के गाउँपालिकामा सन्चालित जन भोजन क्रार्यक्रम अन्त्र्तगत दैनिक बालबालिका तथा अशक्त वृद्धवृद्धा गरी करिब ५सय जनालाई दैनिक निःशुल्क भोजन गराउँदै आएको र यस बैंकले करिब एक हजार ५सयजना स्कुले बालबालिकाहरुलाई पनि विद्यालयमै खाजा पुर्याउँदै आईरहेको छ । यसरी बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त बेला बेलामा आफ्नो देशभर रहेका ८७ शाखा कार्यालयहरुबाट आफ्नो आवश्यकता अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आएको छ ।

राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंकबीच आरटीजीएस सम्बन्धी सम्झौता

काठमाडौँ । नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंक लिमिटेड बीच रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजीएस) प्रणाली लागु गर्ने सम्बन्धमा सोमबार सम्झौता भएको छ । नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्र र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता भएपश्चात ग्राहकले वास्तविक समयमा नै एक बैंकबाट अर्को बैंकको जुन सुकै खातामा रकम भुक्तानी गर्न सक्नेछन् । रकम पठाउने ब्यक्तिले बैंकको कुनै पनि शाखामा एउटा निवेदन लेखेर दिएपछि सोही समयमा नै अर्को बैंकको खातामा रकम जम्मा हुनेछ । राष्ट्रिय वाणिज्य बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २३६ वटा शाखा कार्यालय, २०५ वटा एटिएम, ९३ वटा शाखा रहित बैंकिङ्ग सेवा रहेको छ । चालु आ.व.२०७५/०७६ को चौथो त्रैयमास सम्म बैंकले १ खर्व ९० अर्ब रुपैंया निक्षेप संकलन गरी १ खर्ब ४४ अर्व रुपैंया कर्जा लगानी गरि ५ अर्ब ३२ करोड रुपैंया खुद मुनाफा कमाएको जनाएको छ । उक्त समारोहमा नेपाल राष्ट्र बैंकका निर्देशक आनन्द पौडेल, उप निर्देशक टेकराज भण्डारी, राष्ट्रिय वाणिज्य बैंकका उप कार्यकारी अधिकृत देवेशप्रसाद लोहनी, विभागीय प्रमुख रिको स्थापित लगायतको उपस्थिती रहेको थियो ।

निस्सानका प्रमुख कार्यकारी अधिकृत कार्लोस सायकावा नेतृत्वबाट बाहिरिँदै

योकोहामा, जापान । विश्व प्रसिद्ध जापानी कम्पनी निस्सानका प्रमुख कार्यकारी अधिकृत कार्लोस सायकावा नेतृत्वबाट छिट्टै हट्ने उक्त कम्पनीले जनाएको छ । कम्पनीको सञ्चालक समितिले प्रसिद्ध कार कम्पनीका पूर्व अध्यक्ष कार्लोस गोउनमाथि आर्थिक अनियमितता गरेको आरोप लागेपछि कम्पनीको नेतृत्वमा रहेका साइकावालाई पनि कम्पनीको पदबाट हटेर कम्पनीलाई सहयोग गर्न अनुरोध गरेको हो । “सञ्चालक समितिको बैठकमा भएको व्यापक छलफलपछि समितिले साइकावालाई कार्यकारी प्रमुखबाट हट्न अनुरोध गरेको र प्रस्तावलाई उहाँले स्वीकार गर्नुभएको छ,” निस्सानको सञ्चालक समितिका अध्यक्ष यासुसी किमुराले पत्रकारहरूलाई बताए । रासस/एएफपी

५ अर्ब रुपैयाँ र ५० हजार कर्मचारी परिचालन गरेर गर्न लागिएको राष्ट्रिय जनगणनाको पाइलट कार्यक्रम तिहारपछि

काठमाडौं । सरकारले आगामी २०७८ मा हुने १२ औं राष्ट्रिय जनगणनामा ४ अर्ब ८६ करोड रुपैयाँ खर्चने भएको छ । नेपाल सरकार केही विकास साझेदारहरूको प्राविधिक सहयोगमा संचालन गर्न लागेको यो कार्यक्रम सम्पन्न गर्न संघीयदेखि जिल्लास्तरसम्म करिब ८५ वटा कार्यालय स्थापना गर्ने तयारी भएको छ । ५० हजार कर्मचारी परिचालन गरेर गर्न लागिएको उक्त कार्यक्रमको पूर्व तयारीको लागि यसै वर्षको तिहार पछि हिमाल, पहाड र तराई तीनै भूगोल र जातजातीलाई समेट्ने गरी केन्द्रीय तथ्यांक विभागले पाइलट कार्यक्रम संचालन गर्नेछ । अहिले विभागले गणनाको पूर्व तयारीका लागि विभिन्न विज्ञ तथा सरोकारवाला निकायसँग छलफल गरेर प्रश्नावली तयार पार्ने काम गरिरहेको छ । दशैंसम्म छलफलको काम सकिने विभागले जानकारी दिएको छ । विभागले जनगणनाको पूर्व तयारीकै क्रममा ६० वटा प्रश्न (प्रश्नावली) तयार पारिसेकेको छ । अहिले प्रश्नावली माथि छलफल गरी थप्ने, घटाउने तथा परिमार्जन गर्ने काम भइरहेको छ । पाइलट जनगणनामा छलफलबाट आएका सल्लाह सुझावलार्य समेटेर प्रश्नवली सोधिने छ । पछि यसमा केही दुविधा आए परिमार्जन गरी अर्को आवको शुरुमा अन्तिम प्रश्नावली छाप्न टेण्डर हुन्छ । जनगणनाको लागि सामान्यतया तीन प्रकारले कार्य सम्पादन गरिन्छ । गणनापूर्वको तयारी, गणना समयको तयारी र गणना पश्यातको तयारी । विभागले आगामी जनगणनाका लागि आव ०७६/७७ देखि ०७९/८० सम्मको कार्ययोजना बनाइसकेको छ । ०७७/७८ मा विभागले प्रदेश तथा जिल्ला र स्थानीय तहमा कार्यालय स्थापना गर्नेछ । जनगणनाको लागि राष्ट्रिय निर्देशन समितिले संघ, प्रदेश र स्थानीय तीनै तहमा समन्वय समिति गठन गर्न स्वीकृती पाइसकेको छ । विभागले घर तथा परिवार सूचीकरणका लागि २० दिनसमय तोकेको छ भने व्यक्तिगत गणनाका लागि १५ दिन समय छुट्याएको छ । असार १ गतेदेखि १५ गतेसम्म नेपाल सबै जिल्ल्लामा एकै पटक जनगणना गर्ने विभागले तयारी गरेको छ । जनगणनाको मध्य अर्थात असार ८ लाई राष्ट्रिय जनगणना दिवसको रुपमा मनाइने परम्परा छ । आव ०७९÷८० मा तथ्यांक प्रविष्टि गरी जनगणना जाँच सर्वेक्षण गर्नेछ । त्यसको दुई/तीन महिनामा प्रारम्भिक नतिजा सार्वजनिक गरिसक्ने विभागको तयारी छ । यस अवधिमा सम्पूर्ण नतिजा सार्वजनिक गरेर विषयगत प्रतिवेदन (जनसंख्या मोनोग्राफ) तयार गरी प्रकाशन समेत गर्ने विभागको योजना छ । विधि विभागले जनगणनाको तथ्यांक संकलनका लागि मिश्रित मोडल अपनाउने छ । सहज पहुँच र उच्च नेटवर्क भएका स्थानमा ट्याबलेट र अन्य स्थानमा म्यानुयल दुबै मोडलबाट जनगणना प्रयोग हुनेछ । विदेशस्थित कूटनीतिक नियोगमा विद्युतीय गणना (ई सेन्सस) विधि प्रयोगमा ल्याउने विभागको तयारी छ । तथ्यमा आधारित बसोवासको विधि प्रयोग गरिने गणनामा गणना अवधिमा जो व्यक्ति जहाँ छ त्यहीँ गणना गरिने छ । १९६८ पछि नेपालमा हरेक १०÷१० वर्षको अन्तरालमा जनगणना हुँदै आएको छ ।

चिनियाँ विदेशमन्त्री वाङ चन्द्रागिरि हिल्समा, चन्द्र ढकालले गरे स्वागत

काठमाडौँ । तीन दिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौँ आएका चिनियाँ विदेशमन्त्री वाङ यी सोमबार बिहान पर्यटकीय पर्वत चन्द्रागिरि पुगेका छन् । काठमाडौंको पश्चिम–दक्षिणमा अवस्थित आकर्षक पर्यटकीय पर्वत चन्द्रागिरिमा विदेशमन्त्री वाङ केबलकारमार्फत पुगेका हुन् । चन्द्रागिरिको चुचुरोमा विदेशमन्त्री वाङलाई चन्द्रगिरि हिल्स लिमिटेडका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिशेख विक्रम शाह, सञ्चालकहरु हेमराज ढकाल र अम्बिकाप्रसाद पौडेललगायतले स्वागत गरेका थिए । चन्द्रागिरि डाँडामा अत्याधुनिक रिसोर्टको निर्माणसँगै विविध एकीकृत पर्यटकीय संरचनाहरुका साथै भालेश्वर महादेवको मन्दिर निर्माण गरिएको छ । चन्द्रागिरि हिल्स नेपाल भ्रमणमा आउने विदेशी उच्चपदस्थ अधिकारीहरुका साथै विदेशी तथा स्वदेशी पर्यटकहरुको एक उत्कृष्ट पर्यटकीय गन्तव्य बन्ने गरेको छ । विदेशमन्त्री वाङ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको आमन्त्रणमा द्विपक्षीय वार्तामा भाग लिन आइतबार साँझ काठमाडौं आइपुगेका हुन् ।

अझै खुलेन दशैँको अग्रिम टिकट, विभाग भन्छ-आगामी सातामात्रै निर्णय हुन्छ

काठमाडौँ । दशैँलाई लक्षित गरेर सार्वजनिक यातायातको अग्रीम टिकट बुकिङ खोल्ने तयारी अहिलेसम्म शुरु भएको देखिएको छैन । अघिल्ला वर्षमा दशैँ शुरु हुनुभन्दा एक महिना पहिले नै यातायातको अग्रीम टिकट बुकिङ खुलाउने गरे पनि यस वर्ष घटस्थापना शुरु हुन २० दिन मात्रै बाँकी हुँदा खुल्ने तयारी देखिएको छैन । विगत वर्षमा दशैँको समयमा भाडा वृद्धि नगरी टिकट नखोल्ने व्यवसायी अडिग रहेका थिए भने यो वर्ष पनि विभिन्न बहानामा समयमा टिकट नपाउने हो कि भन्ने चिन्ता यात्रुमा छ । समयमा टिकट बुकिङ गरेपछि मात्रै यात्रु ढुक्क हुनसक्ने यातायात क्षेत्रका अभियन्ता राम थापाले बताए । हिन्दू धर्मालम्बीको सबैभन्दा ठूलो चाड मानिने दशैँमा घटस्थापनादेखि नै विद्यालय, कलेजलगायतका धेरै संस्था बन्द हुने गर्छन् । समयमै टिकट खोल्दा चाहने व्यक्ति समयमा नै घर फर्कन सक्ने उनले बताए । उनले भने, “अग्रीम टिकट नखोल्दा दशैँको मुखमा खोल्दा यात्रु दोब्बर/तेब्बर तिरेरसमेत घर जान बाध्य हुनुपर्ने अवस्था आउँछ ।” दशैँका समयमा धेरै यात्रु आवतजावत गर्ने हुँदा यात्रुको सुरक्षाका विषयमा समेत सरकार र व्यवसायी गम्भीर हुनुपर्ने थापाले बताए । दशैँका समयमा काठमाडौँ उपत्यका र उपत्यका बाहिरबाट पनि एउटा जिल्लाबाट अर्को जिल्लामा धेरै यात्रु जाने गरेका छन् । क्षमताभन्दा बढी यात्रु बोक्दा वा खराव अवस्थाका सवारी साधनका कारण दुर्घटनाको जोखिम रहन्छ । उनले भने, “कसरी यात्रुलाई सुरक्षितरुपमा गन्तव्यसम्म पुर्याउने भन्ने अहिलेदेखि नै तयारी हुनुपर्छ ।” यातायात व्यवस्था विभागले यो साता मात्रै सरोकारवाला निकायसँगको छलफल शुरु गरेको छ । आगामी साता सरोकारवाला निकायसँग विभागमा बस्ने वैठकले अग्रीम टिकट कहिलेदेखि खोल्ने भन्ने निर्णय हुने महानिर्देशक गोगनबहादुर हमालले बताए । व्यवसायीले दिने सवारी साधनको सङ्ख्या र सम्भावित यात्रुको सङ्ख्याका आधारमा निर्णय हुने उनले बताए । उनले भने, “उहाँहरु सबै तथ्याङ्क लिएर आगामी साता आउनु भएपछि मात्रै थप निर्णय हुनेछ ।” सबैभन्दा बढी यात्रुको चाप काठमाडौँमा रहेकाले पहिले काठमाडौँमा रहेका सवारी साधनको सङ्ख्या र अवस्थाका बारेमा अध्ययन हुने महानिर्देशक हमालले बताए । यहाँ रहेका सवारी साधन पर्याप्त नहुँदा काठमाडौँ बाहिरका रुटमा चलेकालाई समेत काठमाडौँ ल्याएर सञ्चालन गरिने उहाँको भनाइ छ । सम्भावित दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीसँग समन्वय गर्ने विभागको योजना छ । विगतमा भएका गल्ती यस वर्ष हुन नदिइने उनले बताए । उनले भने, “एउटा गाडी भनेर अर्कोमा सिट हुने, छतमा यात्रा गर्नुपर्ने अवस्था यो वर्ष आउन दिइने छैन ।” यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले यस वर्ष दशैँका लागि भनेर एउटा पनि नयाँ बस व्यवसायीले नकिनेको बताए । हरेक वर्ष दशैँ अगाडि झण्डै ५००÷६०० सम्म नयाँ बस खरीद हुने गरेको थियो । नयाँ बस नहुँदा अहिले भइरहेकै बसबाट व्यवस्थापन गर्नुपर्ने महासङ्घलाई चुनौती रहेको उनले बताए । पहिले महासङ्घको देशभर सञ्जाल भए पनि अहिले त्यो नरहनु पनि यातायात व्यवस्थापनको चुनौतीका रुपमा रहेको छ । देशभरका सडकमा रहेका खाल्डाखुल्डीले गर्दा सवारी दुर्घटनाको जोखिम रहेको उनले बताए । उनले भने, “दशैँ अगाडि नै सबै सडक मर्मत गरिसक्न हामी सरकारलाई अनुरोध गरिरहेका छौँ ।” यस वर्ष भाडा वृद्धि नहुँदासम्म अग्रीम टिकट नखोल्ने भनेर महासङ्घले अडान नलिएको उनले बताए । भाडा समायोजन नियमितरुपमा भइरहनुपर्छ भनेर महासङ्घले निरन्तर आवाज भने उठाइरहेको उनले बताए । सरकारले ३५ प्रतिशत भाडा पेट्रोलियम पदार्थको मूल्यका आधारमा र ६५ प्रतिशत सवारी साधनलाई आवश्यक अन्य सामग्री र जनशक्तिलाई दिइने तलबलगायतका सुविधाका आधारमा निर्धारण हुँदै आएको छ । सात वर्षमा बजार मूल्य, बैंकको ब्याजदरमा वृद्धि भइरहेकाले सरकारले त्यसका आधारमा नियमितरुपमा समायोजन गर्नुपर्ने उनको भनाइ छ । उनले भने, “६५ प्रतिशतलाई आधार बनाएर सात वर्षदेखि भाडा समायोजन भएको छैन ।” अग्रीम टिकट खोल्ने विषयमा नै गत शुक्रबार भौतिक योजना तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीको अध्यक्षतामा यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरीलगायत सरोकारवालाको बैठक भएको थियो । रासस