विकासन्युज

विराटनगर र रंगेलीमा सन नेपाललाइफको उत्प्रेरणा तथा अभिकर्ता सम्मान कार्यक्रम

काठमाडौँ । सन नेपाललाइफ इन्स्योरेन्स कम्पनीद्वारा बिराटनगर र रंगेलीमा छुट्टा छुट्टै उत्प्रेरणा तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कम्पनीका अभिकर्ताहरु र स्थानीय जनसमुदायको सहभागिता रहेको उक्त कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै महाप्रबन्धक गौतमले जीवनबीमाको महत्ववारे प्रकाश पारेका थिए ।

नेपाल इन्जिनियरिङ्ग कलेजको साइटिज प्रकाशित

काठमाडौं । नेपाल इन्जिनियरिङ्ग कलेज दुवाकोट भक्तपुरको अनुसन्धान मुलक नयाँ.जर्नल साइटिज प्रकाशित भएको छ । साइटिज  (एससीआईटीईसीएच) नेपाल नामक जर्नल प्रकाशित भएको हो । वैज्ञानिक तथा प्राविधिक अध्ययनको जर्नल (जर्नल अफ साइन्टिफिक एण्ड टेक्निकल स्टडिज) प्रकाशित गरिएको हो । पोखरा विश्वविद्यालयका भाइस चान्सलर तथा डिन बुद्धहिरा जोशीले जर्नलको विमोचन एक कार्यक्रमको आयोजना गरी गरे । कार्यक्रममा कलेजका प्राचार्य प्रा.डा हरिकृष्ण श्रेष्ठ, उपप्राचार्य दीपक धामी लगायतले जर्नलको विभिन्न पक्षहरुबारे चर्चा गरेका थिए । प्रकाशित यो जर्नल वर्ष १४ अंक १ हो । कलेजले नियमित रुपमा जर्नल प्रकाशित गर्दै आएको जनाएको छ ।

उपत्यका व्यापी स्पेलिंग कन्टेष्टमा बागीश्वरी प्रथम

काठमाडाैं । आठौं एभरेष्ट इन्टर स्कुल स्पेलिंग कन्टेष्टमा बागीश्वरी माध्यमिक विद्यालय च्याम्हासिंह भक्तपुर प्रथम भएको छ । एभरेष्ट स्कुल भक्तपुरको आयोजनामा बुधबार भएको उपत्यका व्यापी स्पेलिंग कन्टेष्टमा भक्तपुर सल्लाघारी स्थित सैनिक आवासीय माध्यमिक विद्यालय दोश्रो हुन सफल भएको छ । साथै प्रतियोगितामा विद्या संस्कार स्कुल तृतीय हुन सफल भएको छ ।प्रतियोगिताका विजयी स्कुल तथा विद्यार्थीलाई ख्वप कलेज भक्तपुरका प्राचार्य रुपक जोशीले एक कार्यक्रमवीच शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गरे । कार्यक्रममा स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले प्रतियोगिताले विद्यार्थीको विकासमा सहयोग हुने विश्वास लिए । प्रतियोगितामा उपत्यकका विभिन्न १३ वटा स्कुलको सहभागिता रहेको स्कुलले जनाएको छ ।  

राप्ती यातायातका गाडीको टिकट अब मोबाइलबाटै

काठमाडौँ । राप्ती अञ्चलको सबैभन्दा पुरानो यातायात संस्था त्रिदेश्वरी राप्ती यातायात सेवा प्रालि पूर्ण रूपमा अटोमेशनमा गएको छ । पछिल्लो समय नेपालका हरेक क्षेत्रमा प्रविधिको प्रयोग तिब्र रूपमा बढिरहेको बेला यातायात क्षेत्रमा पनि प्रविधिको प्रयोग गरेर यात्रुलाई सहज र स्तरीय सेवा दिनको लागि अटोमेशनमा गएको संस्थाका अध्यक्ष सुरेश हमालले बताए । अटोमेशनमा गएसँगै अब राप्ती यातायातका कुनै पनि स्थानमा यात्रा गर्न अनलाइनबाट टिकट काट्न सकिनेछ । पूर्ण रूपमा कम्प्युटराइज प्रणालीमा रूपान्तरण गरिएसँगै अबदेखि संस्थाको कार्यलय सञ्चालन, चलानी, अभिलेखन लगायतका सबै कार्यहरू सफ्टवेयरमार्फत नियन्त्रण हुनेछन् । कम्पनीले बससेवा डटकमसँगको सहकार्यमा संस्थालाई पूर्ण अटोमेशनमा लगेको हो । अबदेखि यात्रुहरूले राप्ती यातायातका एसी, डिलक्स् तथा मिनिबसको टिकट अनलाईन मार्फत काट्न सकिनेछ । यात्रुहरूले राप्ती यातायातको राप्ती यातायात डटकम डट एनपी, बससेवा डटकम, बससेवाको मोबाईल एप्लीकेशन तथा इसेवा डटकम डट एनपी मार्फत अनलाइन टिकट काट्न सकिनेछ । साथै नजिकको इसेवा जोन, पोइन्ट लगायत साइबर, कम्युनिकेशन, आइएमई पे, मोबाईल बैंकिङ तथा ईन्टरनेट बैंकिङमार्फत समेत टिकट काट्न सकिनेछ । यात्रुहरूले आउँदै गरेको दशैैँ तिहारमा समेत आफु जाने कुनैपनि गन्तव्यमा सहजै टिकट काट्न सक्नेछन् । २०३७ सालमा अनौपचारिक रुपमा राप्ती अञ्चल बस तथा मिनीबस समिति नामबाट सुरू भएको यातायात सेवा २०४१ सालबाट राप्ती अंचल सार्वजनिक यातायात व्यवसायी समितिका रूपमा सञ्चालनमा थियो । हाल संस्था कम्पनीका रूपमा दर्ता भइ त्रिदेश्वरी राप्ती यातायात सेवा प्रालिका रूपमा सेवा गर्दै आएको छ । कम्पनीले लामो तथा छोटो दुरीमा राप्ती अंचल भित्र दाङ, सल्यान, प्यूठान, रुकुम, रोल्पा र राप्ती अंचल बाहिर काठमाण्डौ लगायत पोखरा, विरगंज, काँंकडभित्ता, विराटनगर, नारायणगढ, बुटवल, पाल्पा, कृष्णनगर, भैरहवा, नेपालगंज, सुर्खेत, राजापुर, धनगढी, महेन्द्रनगरका विभिन्न स्थानहरु सम्म करिब १०० वटा रुटहरुमा आफ्नो यातायात सेवा संचालन गरिरहेको छ । बससेवा डटकम नेपालको एकमात्र अनलाइन बस टिकटिङ माध्यम हो । बससेवाले नेपालभरका एसी, डिलक्स्, हाइस लगायतका बस टिकट उपलब्ध गराउनुका साथै बस रिजर्भेसन समेत अनलाइनबाटै गर्दै आएको छ ।

नेपालमा लगानी किन गर्ने ? अर्थमन्त्री खतिवडाको जवाफ-‘काम गर्न सरल छ’

काठमाडौं । बुधबारदेखि राजधानीमा शुरु भएको पूर्वाधार सम्मेलनको पहिलो दिनमा विभिन्न क्षेत्र र विषयसँग सम्वन्धित विषशेज्ञहरुले आ-आफ्ना तर्क, भोगाइ र गुनासाहरु राखे । धेरैले नेपालको पूर्वाधार विकासमा नीजि क्षेत्रको आकर्षण, यसको चुनौती र सरलता विषयमा खण्डन गरे । तर, कोरिया विश्वविद्यालयका प्रोफेसर तथा एसियाली विकास बैंकका पूर्व क्लाइमेट चेन्ज प्रिन्सिपलका प्रोफेसर डा. ताई योङ जङले समिटमा सहभागीहरुलाई एउटा प्रश्न गरे । नेपालमा विदेशी लगानीकर्ताहरुले किन लगानी गर्ने ? अन्य विकसित राष्ट्र छाडेर नेपालमा लगानी गर्न किन आउने ? त्यसपछि बोल्ने पालो आयो अर्थमन्त्री डा.युवराज खतिवडाको । उनले प्रोफेसर योङजङको प्रश्नलाई दोहो¥याउँदै उत्तर दिए-‘नेपालमा विदेशी लगानीकर्ताहरुलाई लगानी गर्न सरल र सुरक्षित सहुलियत छ ।’ लगानीकर्ताहरुले अन्य देशमा लगानी गर्दा १० प्रतिशत मात्रै प्रतिफल पाउने गरेको बताउँदै उनले नेपालमा भने २५ प्रतिशत प्रतिफल पाउने गारेन्टी गरे । नेपालमा यो स्तरको मुनाफा उठाउन सकिने बताउँदै उनले विदेशी लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आग्रह समेत गरे । त्यो प्रसंग मै अर्को कुरा थप्दै उनले भने, ‘लगानीकर्ता र सरकार मिलेर बराबर व्यवसाय गरौं । यसरी लगानी गरेपनि सरकार सधैं घाटामा जाने गरेको छ भने नीजि क्षेत्रले मुनाफा गर्ने चलन छ, । तर यो परिपाटी अब दोहोरिनु हुन्न ।’ उनले नेपालमा ऋणमा रुपमा नभई इक्विटीका रुपमा विदेशी लगानी भित्र्याउन खोजेको बताए । मन्त्री खतिवडाले विदेशी लगानीकर्ताहरुलाई नेपालको कानुनले काम गर्न सहज वातावरण सिर्जना गरेको बताउँदै कुनै त्यस्ता कानुनी जटिलताहरु भएपनि उनीहरुसँग सहकार्य र सुझाव सल्लाहहरू लिएर अगाडी बढ्ने बताए । उनले नेपालमा हाल लगानी गर्नको लागि ऊर्जा र पर्यटन क्षेत्र महत्वपूर्ण रहेको बताउँदै यी क्षेत्रहरुमा लगानी गर्न आग्रह गरे । नेपाल उद्योग परिसघंले आयोजना गरेको कार्यक्रममा बोल्दै वल्र्ड बैंकका भाइस प्रेसिडेण्ट जिङडङ हुआले लगानी गर्न नेपाल उचित राष्ट्र भएको बताए । उनले केहि गरिव देशहरु विदेशी लगानीकै कारण छोटै समयमा माथि उक्लिएको उदाहरण दिँदै नेपालले लिएको ‘समृद्ध नेपाल शुखी नेपाली’ लक्ष्य पुरा गर्न विदेशी लगानी आवश्यक भएको बताए । भिरक कन्सल्टिङका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले तीनै तहका सरकार भएको हालकोे समय काममा खर्च गर्नुपर्ने बताए । उनले पब्लिक प्राइभेट पार्टनरसिप (पीपीपी) मोडललाई आत्मसाथ गरेर सरकार र निजी लगानीकर्ताले सहकार्य र समन्वय गर्नुपर्ने बताए । उनले हाल नेपालको आर्थिक बृद्धिदर बढ्दै गएको बताउँदै अब कुरामात्र नगरेर काम गर्ने बेला आएको उल्लेख गरे । कार्यक्रममा विभिन्न वक्ताहरूले पछिल्लो समय नेपालमा लगानीको वातावरण, लगानीकर्ताको आकर्षण र आगामी दिनमा गर्नु पर्ने सुधारहरुका बारेमा आफ्ना धारणा राखेका थिए । समिट बिहिवारसम्म रहनेछ ।

सुर्तीजन्य पदार्थकाे बिक्री तथा सेवनमा सरकार कडाईका साथ लाग्नु पर्ने: सचिव खगराज बराल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव खगराज बरालले क्यान्सर नियन्त्रणलाई ध्यानमा राख्दै  सुर्तीजन्य पदार्थको बिक्रि–वितरण र सेवनको रोकथामको लागि सरकार कडाईका साथ प्रस्तुत हुने स्पष्ट पारेका छन् । बुधबार क्यान्सर काउन्सिल नेपाल र लायन्स क्लब अफ काठमाडौं फेलोसिपको संयुक्त आयोजना र नेपाल टेलिकमको सहकार्यमा आयोजित ‘सुर्तीजन्य पदार्थको रोकथामको लागि अन्तरक्रिया’ मा बोल्दै सचिव बरालले यस्तो बताएका हुन् । उनले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन–ऐन २०६८ को प्रभावकारी कार्यान्वयनको लागि तीन तहकै सरकारबीच पनि सहकार्य हुन आवश्यक रहेको सुनाए । सचिव बरालले सुर्तीजन्य पदार्थको बिक्रि, वितरण र सेवनको लागि सरकारले धेरै राम्रा ऐन तथा कानूनहरु ल्याएपनि भएका ऐनहरुको प्रभावकारी कार्यान्वयन नहुँदा केही समस्या अझैपनि देखिएको टिप्पणी गरे । उनले ऐन कार्यान्वयनको लागि अब सरकारका सबै संयन्त्रहरुबीच समन्वय हुनेपनि विश्वास दिलाए । त्यस्तै, उनले नसर्ने रोगहरु नियन्त्रणको लागि परिवारदेखिनै सचेतना आवश्यक रहेको औंल्याए । उनले भने,‘नसर्ने रोगको नियन्त्रणको लागि परिवार नै सचेत हुनुपर्छ । यस्तो भयो भने देशव्यापी रुपमा नसर्ने रोगको नियन्त्रण गर्न सकिन्छ ।’ कार्यक्रममा विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा.जोस भ्यानगेलेयरले नसर्ने रोगहरु विकसित देशहरुमा जटिल रुपमा देखा परेको बताए । नेपालमा पनि सुर्तीजन्य पदार्थलाई नियन्त्रण गर्न सकिए मुटु, क्यान्सर, दमलगायत विभिन्न रोगहरु नियन्त्रण हुने उनको विश्वास छ । उनले क्यान्सर काउन्सिल नेपालले विगत लामो समयदेखि जनचेतनामूलक कार्यक्रम आयोजना गर्दै आएको देख्न र सुन्न पाउँदा निकै खुशी लागेको सुनाए । आगामी दिनमा पनि काउन्सिलले यस्ताखाले जनचेतनामूलक कार्यक्रमहरुलाई अझै प्रभावकारी रुपमा सञ्चालन गर्दै अघि बढ्नुपर्ने उनको आग्रह थियो । कार्यक्रममा बरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्रा.डा.बिष्णुदत्त पौडेलले नसर्ने रोगहरुको नियन्त्रणको लागि नागरिकस्तरबाटै सचेतना आवश्यक रहेको बताए । उनले फ्रान्समा सन् २०१७ मा जनचेतनाका कारणले दश लाख मानिसले सुर्तीजन्य पदार्थको सेवन त्योगेको सुनाउँदै नेपालमा पनि त्यही स्तरको जनचेतना कार्यक्रम अघि बढाउन सकिए नेपालमा पनि सुर्तीजन्य पदार्थको सेवन गर्नेको संख्या घट्ने थियो भन्ने धारणा राखे । नेपाल टेलिकमका निमित्त प्रवन्धक कमल लामिछानेले नेपाल टेलिकमले विगत लामो समयदेखि व्यवसायिक कामको साथसाथै सामाजिक काम गर्दै आएको जानकारी दिएका छन् । क्यान्सर काउन्सिल नेपालसँग सहकार्य गर्न पाउँदा खुशी लागेको पनि उनले भने । आगामी दिनमा पनि नेपाल टेलिकम यस्ता सामाजिक कार्यमा सहकार्य गर्दै अघि बढ्ने विश्वास दिलाए । कार्यक्रममा स्वास्थ्य मन्त्रालयका (कानून) सचिव पुष्करराज नेपालले सुर्तीजन्य पदार्थविरुद्धको ऐन–२०८६ बारे प्रकाश पार्दै सरकारले अब ऐन कार्यान्वयनमा कडाई गर्ने विश्वास दिलाएका छन् । उनले ऐन कार्यान्वयनको लागि सरकार, नागरिक समाज र सरोकारवाला संघ संस्थाबीच समन्वय र सहकार्य हुनुपर्ने धारणा राखे । उनले भने,‘कानून आफैंमा पर्याप्त हुँदैन् । त्यसैले यसको कार्यान्वयनको लागि सबै सरोकारवालाबीच सहकार्य अनिवार्य छ ।’ लायन्स क्लब ईन्टरनेश्नलका निवर्तमान अध्यक्ष मधुकर कुमार उपाध्यायले क्यान्सर रोग नियन्त्रणको लागि क्यान्सर काउन्सिल नेपालसँग सहकार्य गर्दै देशव्यापी रुपमा जनचेतनामूलक कार्यक्रम अघि बढाउने जनाए । कार्यक्रममा क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरियाले सूर्तीजन्य पदार्थको रोकथामको लागि नागरिकस्तरबाट गर्नुपर्ने आवश्यक कामको लागि आफूहरुले अभियानको रुपमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि निरन्तर लाग्ने बताए । उनले भने,‘विकसित देशमा रोग नियन्त्रणको लागि प्राथमिकता दिईने गरिएको छ, विकासोन्मुख देशमा उपचारमा मात्रै खर्च गरिने गरिएको छ । यो दुःखद् पक्ष हो । नेपालमा पनि त्यही गलत परम्परा छ । त्यसैले अब रोग नियन्त्रणको लागि हामीले पनि सशक्त अभियान चलाउनुपर्छ । यो कुरामा क्यान्सर काउन्सिल सुरुवातदेखिनै लागिपरेको र आगामी दिनमा पनि अझै प्रभावकारी रुपमा अघि बढ्छौं ।’

फर्निचर तथा फर्निसिङ एक्स्पो शुरु, ‘फर्निचर व्यवसायलाई राज्यले संरक्षण र सहुलियत दिनुपर्ने’

काठमाडौँ । सातौं संस्करणको फर्निचर तथाफर्निसिङ एक्स्पो(फर्नेक्स २०१९) सुरु भएको छ । बुधबार एक कार्यक्रमका बीच उपराष्ट्रपति नन्दकिशोर पुनले एक्स्पोको उद्घाटन गरेका हुन् । नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा एक्स्पो सुरु भएको हो । राजधानीको भृकुटीमण्डपमा सुरु भएको एक्स्पो भदौ २९ गतेसम्म सञ्चालन हुनेछ । एक्स्पोको उद्घाटन कार्यक्रममा नेपाल चेम्बरअफ कमर्शका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले मानिसको जीवनमा जुनसुकै बेला पनि आवश्यक पर्ने फर्निचर व्यवसायलाई राज्यले संरक्षण र सहुलियत दिनुपर्ने बताए । आयोजक संस्था नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष रुपेश प्रधानले कच्चापदार्थको सहज उपलब्धता नभएका कारण मुलुकमा फर्निचर व्यवसाय फस्टाउन नसकेकोतर्फ सरकारको ध्यानाकर्षण गराए । दक्ष जनशक्तिको अभाव सँधै खड्किँदा अन्य मुलुकबाट जनशक्ति आयात गर्नु पर्ने अवस्था आएको भन्दै उनले प्रोत्साहनमुखी ठोस नीति ल्याउन सरकारसँग आग्रह गरे । मुलुकभर १० हजार फर्निचर तथा फर्निसिङ व्यवसायी रहेको र ५ लाखभन्दा बढीले रोजगारी पाइरहेको भएपनि यो क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्ननसकेको उनको गुनासो थियो । संघका निवर्तमान अध्यक्ष राजेश अग्रवालले आयातमुखी व्यवसायले व्यापार घाटा बढाएको मात्र नभई स्वदेशी उत्पादनलाई प्रतिष्पर्धी बनाउन नसकिएको बताएका थिए । फर्नेक्स २०१९ को शीर्ष प्रायोजक जेम फ्लोरिङले गरेको छ भने मुख्यप्रायोजकमा हेरिटेज फ्लोरिङ कार्पेट इण्डस्ट्रिज प्रालि, हाइटेक्स कार्पेट, जेन्शाकार्पेट र हलेसी डेकोर रहेका छन् । एक्स्पोलाई नेपाल चेम्बर अफ कमर्श तथा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको सपोर्ट छ । त्यसैगरी यस एक्स्पोलाई नेपाल हस्तकला महासंघ, नेपाल इन्टेरियर डिजाइनर एशोसिएसन र स्पेसेज म्यागजिनको पनि सपोर्ट छ । एक्स्पोको बीमा पार्टनर एभरेष्ट इन्स्योरेन्स रहेको छ । एक्स्पोमा स्वदेशीतथाविदेशी गरी १ सय २० भन्दा बढी प्रदर्शकहरुको सहभागिता रहेको छ । किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री एक्स्पोको मुख्यआकर्षण बन्ने विश्वास गरिएको छ । यसैगरी कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथैवास्तुसँग सम्बन्धित उत्पादन पनि एक्स्पोको आकर्षण बन्नेको कार्यक्रम संयोजक मनीष अग्रवालले बताए ।

फेरि लगानीयोग्य पूँजी अभावमा बैंकहरू, ‘भदौपछि कर्जा दिने पैसा नहुन सक्छ’

काठमाडौं । ३ वर्षदेखि जटिल समस्याको रुपमा रहेको लगानीयोग्य पूँजी(तरलता) अभाव यस वर्ष पनि देखिने भएको छ । बैंकरहरुले बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेपभन्दा कर्जाको चाप बढ्न थालेपछि पुनः असोज लागेपछि  अघिल्ला वर्षको जस्तै समस्या बल्झिने संकेत गरेका हुन् । चालु आवको शुरु देखिनै निक्षेप संकलनको तुलनामा कर्जा बढी  प्रवाह भएको छ । साउनमा वाणिज्य बैंकहरूको निक्षेप २३ अर्बले घटेको छ भने ९ अर्ब कर्जा लगानी भएको छ । भदौ १३ गतेसम्म दुई अर्ब रुपैयाँमात्रै निक्षेप संकलन भएको छ भने २१ अर्ब कर्जा प्रवाह भएको छ । यसले वित्तीय बजारमा फेरि लगानी योग्य पूँजी अभाव हुन सक्ने सम्भावना बढेको बैंकरहरुको बुझाइ छ । गत आवको अन्त्यमा निक्षेप बढेपनि बढेको निक्षेपले यहि महिनासम्म पनि धान्न नसकेकाे अवस्था  छ ।  वाँकी महिनामा यहि रेसियोमा मात्रै निक्षेप संकलन हुने हो भने आगामी असोज महिनादेखि नै लगानीयोग्य पूँजी अभाव हुने सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताए । गत आवको अन्त्यमा भएको निक्षेप संकलनले असोजपछिको कर्जा मागलाई धान्न सक्दैन,’ उनले भने-‘भदौ आधासम्म २१ अर्ब लगानी भइसक्यो, अब बैंकहरूसँग भएको तरलताले कर्जा मागलाई धान्न सक्दैन ।’ राष्ट्र बैंकको तथ्यांक अनुसार अहिले बैंक तथा वित्तीय संस्थासँग ३० अर्बको तरलता रहेको छ । अहिलेसम्म सहजै छ, अप्ठ्यारो परिहालेको छैन । असोज लागेपछि फेरि अप्ठ्यारो पर्ने देखिएको छ-दाहालले बताए । नेपाल बैंकर्स एसोसिएशनका अध्यक्ष तथा नेपाल बंगलादेशका सिईओ ज्ञानेन्द्र ढुंगानाले पछि के हुन्छ भन्ने कुरा अहिले भन्न नसकिने बताए । ‘हामी सहज अवस्थामा छौं,’ उनले भने-‘ एक/दुई वटा बैंकमा अप्ठ्यारो पर्यो भन्दैमा असहज छ भन्न मिल्दैन ।’ आर्थिक क्रियाकलाप बढ्न थालेपछि कर्जाको माग अझ बढ्न सक्छ । कर्जा मागको अनुपातमा निक्षेप बढेन भने त्यति बेला सोच्नु पर्ने हुन्छ ।’ अहिले बैंकहरूको अन्तर बैंक कारोबार ब्याजदर २ प्रतिशत रहेको छ । ‘यसको संकेत भनेको बजारमा तरलता पर्याप्त भएको अवस्था बुझिने राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख गुणाकर भट्टले बताए । ‘अन्तर बैंक ब्याजदर ३ प्रतिशतभन्दा माथि उक्लन थालेपछि तरलता अभावको चाप होकि भन्ने संकेत गर्न सकिन्छ, ’ उनी भन्छन्- ‘बजार हो अहिले केही भन्न सक्ने अवस्था छैन ।’ आर्थिक क्रियाकलापले कर्जाकोमात्र माग नहेरी खर्चको पक्षलाई पनि हेरिनुपर्छ ।’ बजारमा पैसा आउन पनि सक्छ, नआउन पनि सक्छ ।