विकासन्युज

टिभिएस अपाचे आरटिआर १६० २भि रेस एडिसन नेपाली बजारमा

काठमाडौँ । टिभिएस मोटर कम्पनीले उत्कृष्ट मोडल टिभिएस अपाचे आरटिआर १६० २भि रेस एडिसनलाई नाडा अटो शो २०१९ को दौरान नेपालमा सार्वजनिक गरेको छ । टिभिएस अपाचे आरटिआर १६० २भि रेस एडिसन टिभिएस रेसिङ्ग परम्पराको गौरवमय ३७वर्षको एक घनीभूत विश्वमै लोकप्रिय उपलब्धि हो र युवा पुस्ताहरुमा यसलाई लक्षित गरिएको छ । अभूतपूर्व रेसिङ्ग डिकल्स, थ्रीडि लोगो, चमकदार रङ्गहरु एवं स्पिड मिटरको नवीन डायलले यो मोटरसाइकललाई एक स्टाइलिस ढाँचा प्रदान गरेको छ । यसैगरी उच्चग्रिप टायरहरुका साथ पांग्रामा भएको नयाँ पिन स्ट्राइपहरु, डबल डिस्क ब्रेकहरु र एक शक्तिशाली इन्जिनले बाइक चालकलाई रेसिङ्ग अनुभूतिमा कुनै सम्झौता नगरेरै बाइक चलाउने अनुभव प्रदान गर्दछ । टिभिएस मोटर कम्पनी, अन्तर्राष्ट्रिय बिजनेसका कार्यकारी उपाध्यक्ष आर.दिलिपले ग्राहक आधारको एक महत्वपूर्ण हिस्सा युवा भएको हुँदा टिभिएस मोटर कम्पनीका लागि नेपाल एक संवेदनशील बजार भएको बताए । सोहीअवसरमा जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले “नेपालमा टिभिएस अपाचे आरटिआर १६० २भि रेस एडिसन भित्राउन पाएकोमा हर्षित भएको बताए । टिभिएस अपाचे आरटिआर १६० २भि रेस एडिसन सबै टिभिएस जगदम्बा शोरुमहरुमा उपलब्ध हुनेछ । यसको हालको बजार मुल्य रु.२,६४,९००/-रहेको छ ।

पेट्रोलियम पाइपलाइन संचालनपछि नेपालको १ अर्ब १६ करोड ढुवानी खर्च बचत हुने

काठमाडौं । दक्षिण एसियाकै पहिलो क्रस बोर्डर पेट्रोलियम पाइपलाइन मंगलबार उद्घाटन भएको छ । उक्त पेट्रोलियम पाइपलाइन प्रयोगमा आएपछि वार्षिक १ अर्ब १६ करोड ढुवानी खर्च बचत हुने बताइएको छ । नेपाल र भारत दुबै देशको उच्च प्रथामिकतामा परेको पाइपलाइन नेपालका प्रधानमन्त्री केपीशर्मा ओली र भारतिय प्रधानमन्त्री नरेन्द्र मोदिले संयुक्त रुपमा डिजिटल प्रविधिका माध्यमबाट उद्घाटन गरेका थिए । प्रधानमन्त्री ओलीले काठमाडौंको सिंहदरबारबाट र मोदीले नयाँ दिल्लीको हैदराबाद हाउसबाट संयुक्त रुपमा उद्घाटन गरेपछि अम्लेखगञ्ज डिपोमा पाइपलाइनबाट तेल आएको छ । यसअघि गत साउन २ गते पहिलो चरणमा ३१ लाख लिटर डिजेल पठाएर सफल रूपमा परीक्षण गरिएको थियो । सुरुमा भारतले २ अर्ब भारु र नेपालले ७५ करोड रुपैयाँ खर्च गर्ने सम्झौता भएपनि अहिलेसम्म भारतले मात्रै खर्च गरेको छ । पाइपलाइन विच्छ्याउने उक्त आयोजना विस्तारमा भारत सरकारले ३ अर्ब २४ करोड भारतीय रुपैयाँ खर्चिएको छ । कुल ६९.७ किलोमिटर लम्बाई रहेको मोतिहारी–अमलेखगञ्ज पाइपलाइन विस्तारमा मोतियारीबाट रक्सौलसम्म ३३.५ र रक्सौलदेखि अमलेखगञ्जसम्म ३६.२ किलोमिटर दुरी छ । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौड्यालले ३० महिना परियोजना १८ महिनामै सम्पन्न भएको जानकारी दिए । पाइपलाइनको काम अहिलेसम्म भएका परियोजनाको तुलनामा सबैभन्दा छिटो सकिएको उनले बताए । उनले भने ‘अब नेपालमा जति चाहियो त्यति, जहिले चाहियो त्यहिले र जस्तो पठायो त्यस्तै पेट्रोलियम पदार्थ आउने छ ।’ नेपालमा डिजलको माग धेरै भएकोले पाइपलाइनबाट सुरुमा डिजेल मात्रै आएको छ । पाइपलाइनबाट घन्टामा २ लाख लिटल डिजेल र २ लाख लिटर नै पेट्रोल संरचना तयार भएको छ । अहिले अमलेखगञ्जमा दैनिक २० लाख लिटर डिजेलको माग भएकाले अन्य नाकाबाट तेल लिन भारत जाने ट्यांकरले पनि अमलेखगञ्जबाटै डिजल लैजान सक्ने डिपो प्रमुख प्रदिप यादवले जानकारी बताए । पाइपलाइनमार्फत तेल आएपछि ४ सय ट्यांकर विस्थापित भएको उनले बताए । पाइपलाइनबाट १ वर्षसम्म डिजेल मात्र आयात गर्ने निगम र इन्डियन आयल कर्पोरेशन (आईओसी) अधिकारीबीच समझदारी भएको छ । पाइपमार्फत आएको तेल भण्डारण गर्न ४१ लाख लिटर क्षमताका २ वटा र ३९ लाख लिटर क्षमताका २ वटा गरी १ करोड ६० लाख लिटर अट्ने ट्यांकी निर्माण भएका छन् । उक्त भण्डारण ट्यांकीमा सुरक्षाका सबै उपकरण पनि जडान गरिएको छ । पाइपलाइनमार्फत आउने तेल कन्ट्रोल, नाप र जाँचका लागि अत्याधुनिक कम्युटर कन्ट्रोल भहिरहेको छ । जमीनमुनि साढे दुई मिटर तल तथा पौने ११ इञ्चको माइल स्टिल भन्ने कालो रङको पाइप राखिएकाले यसमा खिया भने लाग्दैन । पाइपमार्फत तेल आउन थालेपछि डिजल, पेट्रोल र मट्टितेलको २ रुपैयाँ मूल्य घटेको थियो । यो प्रोजेक्ट सञ्चालमा आएपछि नेपाल–भारतको नाका रक्सौलमा जामको समस्या हट्नुका साथै पेट्रोलियम पदार्थमा हुने चोरी र अनियमितता हटेर जाने विश्वास लिइएको छ । निगम र भारतीय आयल कर्पोरेशनबीच अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना निर्माणका लागि सन् २००६ मा सम्झौता भएको थियो । सो परियोजना विविध कारणले एक दशकभन्दा बढी समय रोकिएर रह्यो ।

प्रविधिको प्रयोग गरे थोरै जनशक्तीबाटै गुणस्तरीय कार्पेटको उत्पादन सम्भव: अनिल महेश्वरी

पछिल्लो समय नेपालले कार्पेट उद्योगमा आत्मनिर्भर बन्ने बाटो समातेको छ । प्रविधिको प्रयोग विश्वमा नै बढ्ने क्रममा रहेका कारण कार्पेट उद्योगमा समेत थोरै जनशक्तीबाट धेरै काम गर्न सकिने अवस्था बन्दैछ । गाउँ –शहर तथा जुनसुकै आर्थिक अवस्था भएका व्यक्तीहरुलाई कार्पेट आवश्यक हुन्छ । ग्राहकले रोजाई अनुसारको कार्पेट किन्न पाउँदा व्यवस्थापनमा मद्दत पुग्दछ । साथै, स्वदेशमा नै आवश्यक कार्पेट उत्पादन गर्न सकेमा समवृदिमा सहयोग पुग्नेछ ।  जिईएम फ्लोरिङ्गका डाइरेक्टर अनिल महेश्वरीसँग विकासन्युजले गरेको कुराकानी: जिईएम फ्लोरिङ्गले नेपालमा के कस्ता सामाग्रीहरुको बिक्री वितरण गर्दै आएको छ ? यो हाम्रो एउटा ब्राण्ड हो । हामीले विदेशी तथा नेपाली उत्पादनको प्रयोग गर्दै आएका छौँ । एसडी कार्पेट, हेरिटेज कार्पेट लगायतका सामान नेपालबाट लिंदै आएका छौँ । विदेशी सामाग्रीहरुपनि हामीले आवश्यकता अनुसार लिन्छौँ । नेपाली उत्पादन र विदेशी उत्पादन मध्ये ग्राहकको रोजाईमा कुन वस्तु पर्दै आएको छ ? ग्राहकहरुले आफ्नो आवश्यकता अनुसार सामाग्रीहरु लाने गरेका छन् । आगामी दिनमा नेपालमा नै बन्न सक्ला, तर अहिलेको लागि बाहिर देशको नै आउने अवस्था छ । कस्ता वर्गले धेरै मात्रामा कार्पेटको प्रयोग गरेका छन् ? पछिल्लो समय नेपालमा कार्पेट हरेक वर्गका ग्राहकहरुले प्रयोग गर्दै आएका छन् । आफ्नो क्षमता अनुसार ग्राहकहरुले कार्पेट खरिद गर्ने गर्छन् । कतिपयको लागि सस्तो कार्पेट राम्रो हुन सक्छ भने कतिपयको लागि कार्पेट विलासिताको वस्तुमा समेत पर्छ । जाडोमा चिसो हुँदा, पार्केटिङ्ग गर्ने लगायतका बेलामा कार्पेटको आवश्यकता हुन्छ । कुन-कुन देशबाट कार्पेट आयात हुन्छ ? कोरिया बेल्जियम, साउदी भारत लगायतका देशबाट हामीले कार्पेट झिकाउँदै आएका छौँ । नेपालमा कार्पेट किन बन्न सक्दैन ? मिसिन महङ्गो पर्ने भएकाले नेपालमा कार्पेट उत्पादन गर्न सहज नभएको हो । सरकारले राम्रो नीति ल्याएमा कार्पेट उद्योग अघि बढाउन केही सहयोग हुन्थ्यो । स्वदेशी र विदेशी रुपमा कारोबार कसरी भईरहेको छ ? लोकल कारखानाबाट ६० प्रतिशत उत्पादन हुन्छ भने बाहिरबाट ४० प्रतिशत हुन्छ । उपभोक्ताले विदेशी रुचाउँछन् कि नेपाली ? ग्राहकले आफ्नो रोजाई अनुसार लिने गरेका छन् । बाहिरको कार्पेट मगाउने ग्राहकले स्वदेशी लिंदैनन् भने स्वदेशी कार्पेट खोज्नेले पनि बाहिरको लिंदैनन् । कार्पेट आयतमा के समस्या छन् त ? कार्पेट आयातमा त्यस्तो समस्या छैन । हामीले नोभेम्बरमा प्रेस्टिज कार्पेट ल्याउँदैछौ । सोही प्रयोजनको लागि वीरगञ्जमा हामीले २५ करोड रुपैयाँको मिसिन ल्याउने तयारी गरेका छौँ ।मिसिन भने युरोपको हुनेछ । तपाईँहरुकै कार्पेट उपभोक्ताले किन छनोट गर्ने ? हाम्रो गुणस्तरले गर्दा उपभोक्ताले हाम्रै कार्पेट छान्ने गर्नु भएको छ । उपभोक्ताका लागि फाइदा के छन् ? हाम्रो कार्पेट फेर्न मिल्छ । सफ्ट फ्लोरिङ्ग हुने भएका कारण कार्पेट राख्नु फाईदाजनक नै छ । ग्रामीण भेगमा कार्पेटको माग कतिको हुने गरेको छ ? हामीले डडेल्धुरासम्म कार्पेट पठाइरहेका छौँ । गाउँमा केही सस्तो माग हुन्छ । पछिल्लो समय नयाँ प्रडक्ट कुन ल्याउनु भयो ? स्पोर्ट फ्लोरिङ्ग हो । यो ब्याडमिन्टनका लागि प्रयोग हुन्छ । यस्तै जिमका लागि आवश्यक हुने उत्पादन समेत हामीले ल्याएका छौँ । तपाईँलाई थप्न मन लागेको केही कुरा छ कि ? अबको दिनमा हामीले कारखाना खोलेर नेपाली बजारबाट ९० प्रतिशत उत्पादन गर्ने सोच बनाएका छौँ । साथै, प्रविधिको प्रयोग बढाउँदा कम जनशक्तीबाट नै कार्पेट उत्पादन गर्ने युगमा अहिलेको विश्व प्रवेश गरेका कुरा समेत म अवगत गराउन चाहान्छु ।

एलपी ग्यास उद्योग संघको अध्यक्षमा गोकुल भण्डारी निर्विरोध निर्वाचित

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघको अध्यक्षमा गोकुल भण्डारी पुनःनिर्विरोध निर्वाचित भएका छन् । संघको बुधबार भएको साधारणसभाबाट उनी अध्यक्षमा दोस्रो कार्यकालका लागि चयन भएका हुन् । त्यस्तै संघको वरिष्ठ उपाध्यक्षमा कुशप्रसाद मल्ली, उपाध्यक्षद्वयमा शंकर श्रेष्ठ र मनोजकुमार दास चयन भएका छन् । संघको महासचिवमा दिवान चन्द, कोषाध्यक्षमा कृष्णभक्त श्रेष्ठ र सचिवमा धर्मराज बर्तौला चयन भएका छन् । सदस्यहरुमा सुनिल सिन्हा, राजकुमार सिन्धी, लोकहर्ष शाक्य, आशिष अग्रवाल जाजोदिया, बाबुराम पोखरेल, योगेश घिमिरे र सुदीप घिमिरे चयन भएका छन् । योगेश पौडेल र अमित अग्रवाललाई मनोनित सदस्यका रुपमा चयन भएको जनाइएको छ ।

झुट्टा बीमा दावी गर्नेहरु अब कालोसूचिमा, कर्मचारीलाई कम्पनी फेर्न कडाई, प्रतिस्पर्धी विरुद्ध बोल्न पनि नपाईने

काठमाडौं । नेपाल बीमक संघले निर्जीवन बीमा कम्पनीहरुको लागि कडा आचार संहिता बनाएको छ । बीमा कम्पनीहरुबीचको अस्वस्थ्य प्रतिस्प्रर्धा रोक्न, कर्मचारी तानातान प्रवृतिलाई नियन्त्रण गर्न, झुट्टा बीमा दावी भुक्तानीलाई नियन्त्रण गर्न आचार संहिता बनाइएको संघले जनाएको छ । आचारसंहिता असोज ३ गतेदेखि लागू हुनेछ । बीमा व्यवसायका सिलसिलामा कुनै पनि बीमा कम्पनीका कर्मचारी तथा प्रतिनिधिले अर्को बीमकका विरुद्ध बोल्न र लेख्न रोक लगाईएको छ । अर्को कम्पनीले लिन लागेको व्यवसाय खोस्न पनि रोक लगाईएको छ । ‘बीमितसँग व्यवसायको सिलसिलामा कुनै पनि बीमक वा त्यसका प्रतिनिधिले अर्को बीमकको विरुद्ध कुनै नकारात्मक सन्देश दिने, नकारात्मक टिप्पणी गर्ने, अर्को बीमकका बिरुद्ध गलत सन्देश दिई व्यवसाय भड्काउने, आफूले लिने कार्य गर्नु गराउनु हुँदैन’ आचारसंहितामा लेखिएको छ । बीमकहरुबीच कर्मचारी तानातान रोक्न बीमक संघले कठोर निर्णय लिएको छ । कुनै पनि कम्पनीमा कार्यरत कर्मचारी अर्को कम्पनीमा नियुक्त लिनुपूर्व पहिलो कम्पनीबाट राजीनामा स्वीकृत भएको पत्र अनिवार्य पेस गर्नु पर्नेछ । अधिकृत वा सो भन्दा माथिल्लो पदमा बसेका कर्मचारीले पुरानो कम्पनीमा बर बुझारथ भएको १ महिनापछि मात्र नियुक्ती दिनु पर्नेछ । पुरानो कम्पनीको हरहिसाव फरफारक हुन बाँकी रहेको, कम्पनीलाई हानी नोक्सानी पुर्याई कारवाही चलिरहेको कर्मचारीले अर्को कम्पनीमा जागिर खान नपाउने भएको छ । सामान्य अवस्थामा कर्मचारीले राजीनामा गरेमा बीमा कम्पनीले १ महिनाभित्र राजीनामा स्वीकृत दिनुपर्ने भएको छ । त्यस्तै, एउटा बीमा कम्पनीमा परेको दावीका सम्बन्धमा बीमितलाई अर्को कम्पनीका प्रमुख कार्यकारी अधिकृत वा अन्य कर्मचारीले राय दिन नपाउने व्यवस्था गरिएको छ । बीमकले बीमित वा सम्बन्धि व्यक्तिलाई कुनै प्रकारको जिन्सी, नगद, उपहार वा छुट लिन दिन रोक लगाईएको छ । बीमा कम्पनीलाई धोका दिने सर्भेयरलाई कारवाही गर्न संघले समितिमा सिफारिस पनि गर्न पाउने भएको छ । कुनै सर्भेयरले कम्पनीलाई सर्भे रिपोर्ट नदिने, क्षति मूल्याङ्कनमा अनियमितता गर्ने जस्ता गलत काम गरेमा बीमा कम्पनीले त्यस्ता सर्भेयर विरुद्ध बीमक संघमा उजुरी गर्न सक्ने र संघले सर्भेयरलाई कारवाही गर्न बीमा समितिमा सिफारिस गर्न सक्ने सहमति सबै कम्पनीले गरेका छन् । त्यस्तै, झुटो बीमा दावी गर्नेलाई बीमक संघले कालोसूचिमा राख्ने भएको छ । कुनै पनि बीमकसंग बलजफ्ती झुट्टा दावी लिन प्रयास गरेमा बीमित, त्यस्तो कार्यमा संलग्न कम्पनीका कर्मचारी, प्रतिनिधि, सर्भेयर सबैको अभिलेख बीमक संघले राख्ने र यस्तो कार्यमा संलग्नलाई भविष्यमा कुनै पनि बीमकले बीमा सेवा नदिने निर्णय भएको छ । सबै बीमा कम्पनीहरुले बीमा समितिले तोकेको बीमा दर पूर्ण रुपमा परिपालना गर्ने तथा दर घटाएर एउटा पनि बीमा लेख बिक्री नगर्ने आचार संहितामा उल्लेख छ । बीमाको दर नतोकिएको बीमाका लागि बीमक संघले दिग्दर्शन बनाई लागू गर्ने भएको छ । बीमक संघले बीमा कम्पनीहरुको लागि परामर्श सेवा पनि दिने भएको छ । बीमकलाई कानुनी, नियामकीय वा प्राविधिक राय आवश्यक परेमा संघले परामर्श सेवा दिने भएको छ । झुट्टा बीमा दावी गर्नेलाई कालोसूचिमा राख्नेदेखि बीमा व्यवसायमा जोडिएर गलत गर्ने जो कोहीलाई कारवाहीको सिफारिस गर्ने अधिकार बीमक संघलाई प्रदान गरिएको आचार संहितालाई बीमा समितिले पनि समर्थन गरेको छ । बीमा समितिका उच्च अधिकारीहरुलाई सहभागी गराएर आचार संहिता तयार गरेको र यसको कार्यान्वयनमा बीमा समितिको पूर्ण सहयोग हुने संघका एक पदाधिकारीले विकासन्युजलाई जानकारी दिए । आचार संहिता पालना नगर्ने कम्पनीलाई संघले स्पष्टिकरण लिने, सचेत गराउने, सदस्यता निलम्बन गर्ने तथा सदस्यता ब्रखास्त गर्ने सम्मको अधिकार संघमा रहेको आचारसंहितामा उल्लेख गरिएको छ । [pdf id=170751]

कार किन्नुभयो ? अब जान्नुस् त्यसलाई मेन्टेन गर्ने ५ तरिका

काठमाडौँ । हरेक कार मालिकले यहि चाहन्छन् कि आफ्नो कार लामो समयसम्म पनि दुरुस्तै बनिरहोस् । तर, चाहेर मात्र हुँदैन, कारलाई मेन्टेन गर्ने केहि तरिकाहरुको पनि ज्ञान हुनु आवश्यक हुन्छ । यदि तपाईं पनि यस्तै चाहना गरिरहनु भएको छ, तर कारलाई मेन्टेन गर्ने तरिकाहरुको बारेमा राम्रो छैन भने तपाईंको कार नयाँबाट पुरानो हुन धेरै समय लाग्दैन । आज हामीले कारलाई मेन्टेन गर्ने ५ तरिकाहरु लिएर आएका छौं, जुन तपाईंका लागि पनि लाभदायी सिद्ध हुन सक्छ । आउनुस् जानौं यी ५ तरिकाहरुका बारेमा: ब्याट्रीको जाँच कारको लाइट, स्टार्टर मोटर, हर्न लगायतका विभिन्न इलेक्ट्रिक सिस्टमहरु ब्याट्रीमै निर्भर गर्ने भएको हुनाले कारको ब्याट्री राम्रो अवस्थामा हुनु जरुरी हुन्छ । त्यसैले तपाईं पनि ब्याट्रीमा चार्ज छ छैन भन्ने तर्फ सचेत रहनुहोस् र ब्याट्रीमा एसिडको मात्रा पनि के कति छ भन्ने तर्फ विचार पु¥याउनुहोस् । विज्ञहरुले हरेक २ देखि ३ वर्षमा कारको ब्याट्री चेञ्ज गर्दा ब्याट्रीको कारण बेहोर्नुपर्ने झन्झटबाट मुक्त हुन सकिन्छ भनी बताउँदै आएका छन् । एयरफिल्टरको सफाई कारको इञ्जिन चल्ने भनेको फ्यूल र एयरको मिक्स्चर बर्न भएर हो । एयर फिल्टरले इम्पियोर एयरलाई पियोर अर्थात् शुद्ध बनाएर इञ्जिनमा बर्न हुनका लागि पठाउने गर्दछ । यसले इञ्जिनलाई स्मूथ बनाइरहन समेत मद्दत पु¥याउँछ । यो क्रममा फिल्टरमा धेरै फोहोरहरु जम्मा भएर फिल्टरको जालीहरु ब्लक भएका हुन सक्छन् । यसै कारणले गर्दा समयसमयमा एयर फिल्टरलाई सफा गर्न तर्फ ध्यान पु¥याउने गर्नुहोस् । टायर प्रेसरको जाँच टायरको प्रेसरले कम्फर्ट लेभल र ड्राइभको क्वालिटी राम्रो बनाउने भएकाले यसको मात्रा सहि हुनु जरुरी हुन्छ । यदि मात्रा सहि छ भने टायरले राम्रो ग्रिप प्रदान गर्छ र जसले ब्रेकिङ्गलाई समेत राम्रो बनाउँछ । त्यसैले यात्रा गर्नु अघि वा यात्रा गरिसकेपछि तपाईं पनि चारओटै टायरको प्रेसर चेक गर्ने गर्नुहोस् । स्मरण रहोस्, कारका लागि सहि टायर प्रेसर भनेको ३० देखि ३५ पीएसआई हो । इञ्जिन आयलको अवस्था इञ्जिन र गियरलाई लुब्रिकेट गराउने काम भनेको इञ्जिन आयलको हो । लुब्रिकेट गराउनु भन्नाले इञ्जिन र गियरलाई सुक्खा हुन नदिनु भन्ने बुझिन्छ । इञ्जिन आयलको प्रयोग नगरिँदा इञ्जिन र गियरका पार्टस्हरुमा घर्षण उत्पन्न हुनगई चाँडै बिग्रन सक्दछन् । तसर्थ आफ्नो कारमा इञ्जिन आयल चेञ्ज गर्ने वेला भएनभएको वारे ध्यान दिने गर्नुहोस् । ब्रेकिङ्ग सिस्टमको जाँच ब्रेकमा आएको समस्याका कारण दुर्घटना भएका समाचार हामिले सुन्दै आइरहेका छौं । यस्ता दुर्घटनाबाट बच्नका लागि आफ्नो सवारीको ब्रेकिङ्ग सिस्टमले राम्रोसँग काम गरिरहेको छ भन्ने कुराको यकिन गरेर मात्र सवारी चलाउने गर्नुहोस् । कारको सन्दर्भमा कुरा गर्नुपर्दा चाहिँ ब्रेकिङ्ग प्याड फेर्नुपर्ने वेला भए नभएको, ब्रेक फ्लुइडको मात्रामा कमी आए नआएको लगायतका कुराको जाँच गरिराख्नु पर्ने हुन्छ ।

६ मुख्यमन्त्रीको एउटै स्वर-‘पूर्वाधारमा लगानी बढाउनु आवश्यक छ’

काठमाडौँ । नेपाल पूर्वाधार सम्मेलनको पहिलो दिन ६ वटा प्रदेशका मुख्य मन्त्रीहरुले एउटै मञ्चबाट पूर्वाधारमा लगानी बढाउनु पर्ने बताएका छन् । उनीहरुले लगानीका लागि आवश्यक सम्पूर्ण नीति नियम र पुर्वाधारको विकास गर्न आफूहरु तयार रहेको बताएका छन् । गण्डकीबाहेक सबै प्रदेशका मुख्यमन्त्रीहरुले एउटै मञ्चबाट यस्तो प्रतिबद्धता जनाएका हुन् । कार्यक्रममा बोल्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफ्नो प्रदेशमा कृषि, पुर्वाधार, ऊर्जा, औद्योगिक क्षेत्र, स्याटेलाइट सीटी, स्मार्ट सीटी, अन्तरराष्ट्रिय सभाहल, पदमार्ग, केवलकार लगायतका पूर्वाधार निर्माण गर्ने बताए । उनले प्रदेश १ का गेमचेञ्जर आयोजनाहरु पहिचान भइसकेको र त्यस्ता परियोजना कार्यान्वयनका लागि अन्तरराष्ट्रि संघसंस्था र लगानीकर्तालाई ती आयोजनामा लगानी गर्न आग्रह गरे । आफ्नो प्रदेशले औद्योगिक पार्क निर्माणका लागि ८६०० विगाहा जमीन तयारी अवस्थामा राखेको र यसलाई चाँडै नै लगानीका लागि खुला गरिने बताए । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबहादुर राउतले निजी क्षेत्रको लगानी बिना मुलुकको विकास असम्भव रहेको बताए । उनले प्रदेश २ मा विविध उल्झनका कारणले विकास हुन नसकेको र त्यस्ता कमीकमजोरी प्रदेश सरकारले पहिचान गरिसकेको भन्दै त्यस्ता समस्या सम्बोधन गर्ने गरी भावी योजना र कार्यक्रम तयार पारिरहेको बताए । उनले उद्योग, पर्यटन र कृषि क्षेत्रलाई बढी प्राथमिकता दिएको र सोही अनुसार नीति नियम तर्जुमा गर्ने तयारी भइरहेको बताए । ३ घण्टाभित्र उद्योग दर्ता गरिसक्नेगरी कानून ल्याउन अन्तिम तयारी गरिरहेको जानकारी दिए । आफ्नो प्रदेशको विकासका लागि केन्द्र र स्थानीय तहसँग सहकार्य गर्न आफू तयार रहेको बताए । उनले औद्योगिक प्रतिष्ठानहरुलाई २० वर्षसम्म कर छुट दिने बताए । त्यस्तै प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले आफ्नो प्रदेशमा निजी क्षेत्रको लगानीका लागि सबैकुरा सुधार गर्न आफू तयार रहेको बताए । प्रदेश ३ ले उद्योग, कृषि, विद्युत् लगायतका क्षेत्रमा जोड दिएकाले यसैअनुसार नीतिनियम तर्जुमा गरिसकेको जानकारी दिए । प्रदेश ३ सार्वजनिक निजी साझेदारीमा परियोजना निर्माण गर्न तयार रहेको र यसमा सहकारी संस्थाहरुलाई समेत सँगसँगै लान आफूहरुले नियम बनाउन लागेको जानकारी दिए । त्यस्तै, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले निजी क्षेत्रलाई आकर्षित गर्न कानूनी सुधारको प्रक्रिया अघि बढाएको जानकारी दिए । अवको ३ वर्षभित्रमा प्रदेश ५ मा ७५० अर्बको निजी लगानी हुने अपेक्षा गरेको भन्दै त्यसका लागि प्रदेश स्तरमा समेत लगानी सम्मेलन गर्ने योजना सुनाए । उनले आफ्नो प्रदेशमा १५०० विगाहा जमीन औद्योगिक पार्कका लागि तयारी अवस्थामा राखेको जानकारी दिए । प्रदेश ५ सरकारले औद्योगिक क्षेत्र, कृषि, पर्यटनमा जोड दिएको भन्दै उहाँले आफ्नो प्रदेशको समृेद्धिको आधार पनि यसैलाई राखेको बताए । यो प्रदेशलाई सूचना प्रविधिको हब बनाउने योजना रहेको पनि सुनाए । त्यस्तै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले निजी क्षेत्र आकर्षित गर्न आफूहरुले कानून बनाइरहेको र आफ्नो प्रदेशमा लगानी गर्न आउने बताए । आफ्नो प्रदेशलाई अर्गानिक प्रदेश घोषणा गर्ने अन्तिम तयारीमा रहेको बताए । उनले कृषिजन्य उत्पादन, फलफूल, माछापालन र जडिबुटीजस्ता क्षेत्रमा आफ्नो प्रदेश अब्बल रहेको भन्दै यिनै उत्पादनलाई प्रबद्धृन गर्ने योजना बनाइरहेको बताए । उनले सडक मार्गमा पहूँच कम भएका कारण सुर्खेतमा अन्तरराष्ट्रिय स्तरको विमानस्थल बनाउन गुरुयोजना बनाउने तयारीमा रहेको बताए । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नो प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउँदै निर्यातजन्य उद्योग खोल्न लगानीकर्तालाई आग्रह गरे । जलस्रोतको प्रचूर सम्भावना भएको प्रदेश भएकाले जलस्रोतमा लगानी गर्न पनि उनले आग्रह गरे । ठूलो मात्रामा जडीबुटी उत्पादन हुने भएकाले औषधि कम्पनी खोल्नका लागि समेत लगानीकर्तालाई आग्रह गरे । यसका लागि आफ्नो प्रदेशले जग्गा, कानूनी र सुरक्षाको प्रत्याभूति गर्ने जानकारी दिए । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले नेपाल पर्यटन, जलविद्युत्, कृषि, यातायातको क्षेत्रमा धेरै लगानीयोग्य स्थान भएको भन्दै संसारभरका लगानीकर्तालाई आग्रह गरे । उनले यी पुर्वाधारमा लगानी गर्नका लागि स्वदेशी पूँजी पर्याप्त नभएको भन्दै विदेशी लगानीकर्तालाई भित्र्याउनुको विकल्प नरहेको बताए ।

विराटनगरमा एनआईसी एशियाकोे तीन नयाँ शाखा उद्घाटन

काठमाडौँ । एनआईसी एशिया बैंकको तीन नयाँ शाखा विराटनगरमा सञ्चालनमा आएको छ । भदौ २५ गते मोरङ जिल्लाको विराटनगर मेनरोडस्थित विराटनगर मेनरोड शाखा र रोडशेषस्थित रोडशेष शाखाको उद्घाटन विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले गरेका हुन् । त्यसैगरी विराटनगर हाटखोलास्थित हाटखोला शाखाको मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले उदघाटन गरेका हुन् ।