विकासन्युज

एनओसीकोे निर्वाचनमा बाटाे खुला, भदौ २८ गते हुने

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) को नयाँ कार्यसमितिका लागि यही भदौ २८ गते निर्वाचन हुने भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र ओलम्पिक काउन्सिल अफ एशियाको पर्यवेक्षणमा चुनाव हुने एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले जानकारी दिएका छन् । यसअघि भदौ २० गतेका लागि तय गरिएकोे निर्वाचन सर्वोच्च अदालतको आदेशले स्थगित भएको थियो । न्यायाधीशद्धय तेजबहादुर केसी र मनोजकुमार शर्माको संयुक्त इजलासले यही भदौ १७ गते अदालतले एनओसीको कार्यसमिति निर्वाचन रोक्न दिएको अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि निर्वाचनका लागि बाटो खुलेको थियो । सर्वोच्च अदालतले विसं २०६७ मा मान्यता दिएको रुक्मशम्शेर राणा अध्यक्ष रहेको नेपाल ओलम्पिक कमिटीका सदस्य कमलबहादुर चित्रकारले राष्ट्रिय मान्यता नपाएको एनओसीको निर्वाचन रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । रिटमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश टङ्कबहादुर मोक्तानको इजलासले निर्वाचन रोक्न अन्तरिम आदेश जारी गरेको थियो । नेपाल ओलम्पिक कमिटीको नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ र पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठ प्रतिस्पर्धामा छन् । त्यस्तै, महासचिवमा जीवनराम प्यानलबाट नीलेन्द्रराज श्रेष्ठ र उमेशलाल पक्षबाट पुरेन्द्रविक्रम लाखे प्रतिस्पर्धामा उत्रेका छन् । कोषाध्यक्षमा भने रतन टण्डन र उपमहासचिवमा पिताम्बर तिम्सिना निर्विरोध भइसकेका छन् । निर्वाचनले एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, तीन सचिव र सात सदस्य चयन गर्नेछ । रासस

भिभो मोबाइल खरिदमा विदेश भ्रमणदेखि स्मार्ट टिभिसम्मका उपहार

काठमाडौं । दशैं–तिहारको अवसरमा भिभो मोबाइल किन्दा विभिन्न उपहार पाइने भएको छ । नेपालका लागि भिभो मोबाइलको आधिकरिक बिक्रेता एपेक्स मनकामना प्रालिले १३ हजार रुपैयाँ देखि ५० हजार रुपैयाँसम्मको भिभो सेट खरिद गर्ने ग्राहक तथा विक्रेताहरूलाई उपहार योजना घोषणा गरेको हो । कम्पनीले काठमाडौंमा वितरक भेला सम्पन्न गरेर १३ वितरकलाई दशैंतिहार लक्षित योजनाको वारेमा जानकारी गराइएको छ । मोवाइल किन्ने १० जना भाग्यशाली ग्राहकलाई इन्डोनेसियाको बाली भ्रमण, १५ जनालाई स्मार्ट टीभी, ४२ जनालाई स्मार्ट फोन, १६० जनालाई भिभो ब्याग उपहार राखिएकोे छ । ‘सो अवधिमा भिभो मोवाइल किन्ने सबै ग्राहकलाई स्क्रिन र रिप्ले समेन्ट ग्यारेन्टी उपलब्ध गराइन्छ’–एपेक्स मनकामनाका ब्यापार प्रमुख सुशील न्यौपानेले भने । त्यसैगरी, भिभोका वितरक तथा मोबाइल बिक्रेतालाई पनि विभिन्न ट्राभल प्याकेज उपलब्ध गराउने जानकारी दिइएको छ । सो योजनामा ३४ जना वितरक तथा भिभो मोवाइल बिक्रेतालाई भिभोको नयाँ मुख्य कार्यालय भ्रमण गराउने कम्पनीको लक्ष्य छ । मोबाइल आयात तथ्यांक अनुसार भिभो मोबाइल नेपालको तेस्रो ठूलो बजार हिस्सा ओगट्न सफल भएको ब्राण्ड हो । सो योजना भदौ २९ गतेबाट लागू हुनेछ ।

सङ्घद्वारा कोटेश्वरका यातायात मजदुरलाई पोशाक वितरण

काठमाडौं । कोटेश्वर क्षेत्रमा कार्यरत यातायात मजदूरलाई पोशाक र परिचयपत्र वितरण गरिएको छ । अखिल नेपाल यातायात मजदूर सङ्घले आज एक कार्यक्रम गरी यात्रुमैत्री वातावरण निर्माणका लागि त्यस क्षेत्रमा कार्यरत यातायात कर्मचारी तथा मजदूरलाई पोशाक र परिचयपत्र वितरण गरेको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले नमूना यातायात निर्माणका लागि पोशाक र परिचयपत्र अनिवार्य लगाउनुपर्नेमा जोड दिएका छन् । परिचयपत्र र पोशाक लगाएसँगै यात्रुले यातायात मजदूरलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउने र यसले उनीहरूको जिम्मेवारी बढ्ने उनको भनाइ थियो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले उपत्यकालगायत देशभरको सार्वजनिक यातायात क्षेत्र सुधारका लागि परिचयपत्र र पोशाकले सहयोग पुर्याउने अपेक्षा गरेका छन् । पोशाक र परिचयपत्रको शुरुआतसँगै यात्रुले कसलाई बस भाडा बुझाउने वा बसको सम्बन्धित व्यक्ति को हो भन्ने अन्योल हट्ने उनले बताए । सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले राजधानीको ट्राफिक व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाउन यातायात मजदूरको महत्वपूर्ण भूमिका हुने उल्लेख गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले पूर्वाधार निर्माणमा सरकारले विशेष ध्यान दिनुपर्ने बताए। अखिल नेपाल यातायात मजदूर सङ्घका केन्द्रीय अध्यक्ष सोम तामाङले सरकारले कोटेश्वर क्षेत्रमा हुने ट्राफिक जाम हटाउन विशेष पहल गर्नुपर्नेमा जोड दिए। उक्त सङ्घले ट्राफिक प्रहरीको सहकार्यमा यसअघि नयाँ बसपार्क र कलङ्की क्षेत्रमा कार्यरत यातायात कर्मचारी तथा मजदूरलाई पोशाक र परिचयपत्र वितरण गरिसकेको छ । रासस

महासंघ र द टाइम्स ग्रुपको साझेदारीमा ‘विजनेस इम्प्याक्ट अफ डिजिटल ट्रान्सफरमेसन’ सम्पन्न

काठमाडौं । महासंघ र द टाइम्स ग्रुपको साझेदारीमा ‘विजनेस इम्प्याक्ट अफ डिजिटल ट्रान्सफरमेसन’ विषयक एक दिने सम्मेलन सम्पन्न भएको छ । उक्त सम्मेलन सञ्चार, सूचना तथा प्रविधि मन्त्री माननीय गोकुल प्रसाद बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । संघ/संगठन एवं व्यक्तिगत जीवनमा प्रविधिबाट हुने फाइदाहरुमा जोड दिंदै सार्क मुलुकहरुको आर्थिक एवं सामाजिक विकासमा डिजिटल इन्फरमेसनको महत्व दर्शाउने प्रमुख उद्देश्यले सम्मेलनको आयोजना गरिएको हो । सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै सञ्चार, सूचना तथा प्रविधि मन्त्री माननीय गोकुल प्रसाद बास्कोटाले डिजिटल इन्फरमेसनको महत्व दिनानुदिन बढ्दै गएको बताउँदै आयोजित सम्मेलन नेपालमा समय सान्दर्भिक भएको प्रष्ट पारेका छन् । नेपालमा विशेष गरेर शिक्षा, स्वास्थ्य, कृषि लगायतका अन्य विभिन्न क्षेत्रहरुमा डिजिटल इन्फरमेसन बढावा दिन सरकारले डिजिटल नेपाल कार्यक्रम अघि बढाएको जानकारी गराए । साथै मन्त्री बासकोटाले विश्वव्यापिकरणको रुपमा प्रविधि विस्तार भैरह“दा नेपालले पनि डिजिटल इन्फरमेसन मार्फत दिगो विकासको लक्ष्य लिएको जानकारी गराएका हुन् । सो अवसरमा महासंघका अध्यक्ष  भवानी राणाले किनोट स्पीकरको रुपमा आफ्ना विचार व्यक्त गरेकी छन् । आजको समयमा उद्योगधन्दा एवं व्यवसायमा डिजिटल ट्रान्सफरमेसन गर्न निति/नियम रणनिति तथा नेतृत्व दक्ष जनशक्तिको विकास गरी सरकार एवं निजी सूचना प्रविधि व्यवसाय लगायत अन्य सरोकारवालाहरु बीच सहकार्य हुनुपर्नेमा जोड दिएकी छिन् । संघिय प्रतिनिधिमुलक निजी क्षेत्रको छाता संगठन यस महासंघले सूचना तथा संचार प्रविधि विकास समिति मार्फत सरकार लगायत अन्य सरोकारवाला निकायहरुसंग समन्वय गरी सूचना प्रविधिको प्रयोगद्धारा मुलुकको सामाजिक,आर्थिक सा“स्कृतिक विकासको लागि कार्य गर्दै आइरहेको जानकारी दिएकी हुन् । सम्मेलनको अर्को सत्र डिजिटल नेपाल भिया डिजिटल ट्रान्सफरमेसन विषयक छलफल सत्रको संयोजन महासंघका सूचना तथा संचार प्रविधि विकास समितिका सभापति ईन्जिनियर विनोद ढकालले गरेका छन् । उक्त सत्रमा वक्ताहरु सूचना प्रविधि विभागका महानिर्देशक लक्ष्मी प्रसाद यादव, नेपाल दूरसंचार प्राधिकरणका निर्देशक आनन्दराज, नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह, एन एम बि बैंकका डिजिटल प्रमुख शिवराज उपाध्याय र अमेजन ईन्टरनेट सर्भिसेसका भारत र सार्क क्षेत्रका प्रमुख चन्द्र बलानी रहेका थिए । सो अवसरमा डिजिटल ट्रान्सफरमेसनको आवश्यकता एवं महत्व, यसका लागि उपलब्ध प्रविधि, सो कार्यान्वयनमा विद्ययमान चुनौतीहरु एवं समाधानका उपायका विषयमा विस्तृत छलफल गरिएको थियो ।

चितवन मेडिकल कलेजले शुरु गर्यो निःशुल्क डेङ्गु परीक्षण

काठमाडौं । चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसि) ले विपन्न गरिब बिरामीहरुको निःशुल्क डेङ्गु परीक्षण सुरु गरेको छ । अस्पतालको ईर्मेजन्सी कक्षमा अस्पताल निर्देशक प्रोफेसर डा.दयाराम लम्साल र अस्पताल जनसम्पर्क अधिकृत हरि बोहराले भरतपुर १० का भरत लामालाई डेङ्गु परीक्षण गर्ने किट हस्तान्तरण गर्दै सीएमसीमा निःशुल्क डेङ्गु परीक्षण सुरु गरेको हो । दशैंभर डेङ्गुले महामारी रुपमा लिएको बेलामा स्थानीय सरकार भरतपुर महानगर र चितवन प्रशासनको अनुरोधलाई ध्यानमा राख्दै अस्पतालको सामाजिक अभियान अन्तर्गत निःशुल्क डेङ्गु परीक्षण गर्ने अस्पतालका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रोफेसर डा.हरिश्चन्द्र न्यौपानले जानकारी दिएका छन् । नियन्त्रणमा सहयोग पुर्‍याउने उद्देश्यले एक हजार जना बिपन्न वर्गहरुलाई निःशुल्क डेङ्गु परीक्षण गराईने अस्पातलका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए । अहिले डेङ्गु र ज्वरोको महामारी रहेकोले त्यस्ता बिरामीहरु जो अस्पातल आउने सकेका छैनन् उनीहरुलाई लक्षित गरेर यो सेवा प्रदान गर्ने र कोही पनि बिरामी नछुटुन भनेर नै अहिलेलाई एक हजार जना गरिब तथा बिपन्न बर्गलाई नि?शुल्क डेङ्गु परीक्षण र परामर्श दिन लागेको लम्सालले  बताएका छन् । सरकारले बनाएको बिपन्न बर्गको मापदण्ड अनुसार नै बिरामीलाई यो सेवा प्रदान गरिने उनले बताए । यस्तै विपन्न वर्ग भनी प्रमाणित गर्ने सिफारिस ल्याउन नसक्ने बिरामीहरुलाई अस्पातलले नै मूल्याङकन गरेर यो सेवा प्रदान गरिने उनले बताएका हुन् । अहिले सबै अस्पातलहरु डेङ्गु र भाईरल ज्वरोको बिरामीहरुले भरिएका छन्, उपचारको लागि अस्पातलका बेडहरु भरिएका छन् तर अझै पनि कती गरीब तथा बिपन्न बर्गका मानिसहरुमा डेङ्गुको संक्रमण भए पनि अस्पातल आउन सकेका छैनन् । त्यसैले त्यस्ता वर्गलाई लक्षित गरेर यो कार्यक्रम शुरु गर्न लागिएको लम्सालले जानकारी दिए । अस्पातलहरु भरिएता पनि अझै धेरै बिरामी छुटेको आशंका रहेको उनले बताएका छन् । मनसुन र पोस्ट मनसुनमा पनि डेङ्गुको संक्रमण बढ्न सक्ने भएकोले अझै २ महिना सम्म यसको प्रकोप रहन सक्ने उनले बताउँदै सरकारले गरिरहेको सबै प्रयासका बाबजुत पनि अझै कार्तिक सम्म डेङ्गुको प्रकोप घट्ने सम्भावना नरहेकोले नियन्त्रणमा सहयोग पुर्‍याउन यो सेवा शुरु गरिएको डा. लम्सालले बताएका हुन् । अहिले दैनिक ४ सय देखी ५ सय बिरामीहरु अस्पातल आउने र ति मध्ये अधिकांशमा डेङ्गु संक्रमण देखिने गरेको अस्पतालको रेर्कडमा उल्लेख छ ।  

जगदम्बा मोटर्सले ल्यायो “टिभिएस दशैंको दौड” योजना, निःशुल्क सहभागी हुने मौका

काठमाडौं । नेपालको सबैभन्दा ठूलो पर्व बडादशैंको अवसर पारेर नेपालको लागि टिभिएस टू–ह्वीलर्सको एकमात्र आधिकारीक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले “टिभिएस दशैंको दौड” योजना ल्याएको छ । उक्त योजनामा सबैलाई दौडमा निःशुल्क भाग लिने अवसर दिएको छ । टिभिएस शोरुममा नगइकनै वा टिभिएस बाइक नकिनेर पनि सहभागी बन्न पाइने गजबको अफर रहेको यस योजनाको एक महत्वपूर्ण पक्ष रमाइलो म्याराथन दौड हो । देशका विभिन्न भागहरुमा यसप्रकारको म्याराथन दौड संचालन गर्ने लक्ष्य बोकेको जगदम्बा मोटर्सले यही भाद्र २८ गते शनिबार काठमाडौंमा पहिलो पटक यो “टिभिएस दशैंको दौड” अन्तर्गतको म्याराथन दौडको आयोजना गर्ने भएको छ । उक्त दिन विहान ७ बजेदेखि शुरु हुने यो रमाइलो दौडको विषयमा प्रकाश पार्दै कम्पनीका उपाध्यक्ष दीपक अग्रवालले रमाइलो चहलपहललाई अझ रमाइलो बनाउन ग्राहकहरु समक्ष ल्याएको “टिभिएस दशैंको दौड” योजनाप्रति उपभोक्ताहरुले उत्साहजनक रुची दर्शाएको बताएका छन् । रमाइलो दौड नक्साल बाल मन्दिरबाट शुरु भई सिटी सेन्टर, कमलादी, पुतलीसडक, भृकुटी मण्डप, भद्रकाली, माइतीघर, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, दरबारमार्ग, नागपोखरी हुँदै टिभिएस शोरुम नक्सालमा पुगी समापन हुनेछ । सबै उमेर सबै समुहका व्यक्तिहरुले भाग लिन सक्ने यो खुला रमाइलो दौडमा सहभागी हुने सबैजनालाई स्योर सट छुट स्वरुप रु.१,०००÷प्रदान गरिनेछ भनें विजेताहरु मध्ये प्रथम हुनेलाई रु.५०,०००÷ त्यस्तै द्वितीय स्थानमा आउनेलाई रु.२५,०००÷ र तृतीय स्थानमा रहनेलाई रु.१५,०००÷ नगद पुरस्कार प्रदान गरिनेछ । काठमाडौंमा आयोजना गरिन लागेको रमाइलो दौडमा सहभागी बन्न चाहनेले नक्साल, कुमारीपाटी र टेकुमा रहेको टिभिएस शोरुमहरुमा आफै गई वा दौड शुरु हुने दिन नक्साल बाल मन्दिरमै विहान ६ बजे उपस्थित भएर पनि आफ्नो नाम दर्ता गराउन सक्नेछन् ।

सिटी एक्सप्रेस र अमेरिकाको “रेमिट्ली” बिच रेमिटान्स सम्झौता

काठमाडौं । अमेरिकाको ख्यातिप्राप्त रेमिटान्स कम्पनी रेमिट्ली र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स सम्झौता भएको छ । उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र रेमिट्लीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत म्याथ्यू अप्पनहाईम्रले हस्ताक्षर गरेका थिए । यस सम्झौताअनुसार अमेरिका, युरोप, क्यानडामा रहने नेपालीहरुले अब रेमिट्लीको मोबाइल एप्लिकेशन डाउनलोड गरी सजिलै आफ्नो आफ्न्तलाई मोबाइलबाट पैसा पठाउन र नेपालमा सिटी एक्सप्रेससँग आबद्ध ७००० भन्दा बढी एजेन्ट्हरुबाट सजिलै भुक्तानी लिन सकिने वा कुनै पनि बैंकको खातामा रकम जम्मा गर्न सकिनेछ । उक्त सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ वर्ष देखि विश्व भरी आफ्नो रेमिट एजेन्ट्हरूबाट ७००० भन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।  

सिटी एक्सप्रेस र अमेरिकाको रेमिट्लीबीच रेमिट्यान्स सम्झौता

काठमाडौँ । अमेरिकाको ख्याति प्राप्त रेमिट्यान्स कम्पनी रेमिट्ली र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स सम्झौता भएको छ । अमेरिका, युरोप, क्यानडामा रहेका नेपालीहरुले अब रेमिट्लीको मोबाइल एप्लिकेशन डाउनलोड गरी सजिलै आफन्तलाई मोबाइलबाट पैसा पठाउन र नेपालमा सिटी एक्सप्रेससँग आबद्ध  ७००० भन्दा बढी एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने या कुनै पनि बैंकको खातामा रकम जम्मा गर्न सकिने छ । उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र रेमिट्लीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत म्याथ्यू अप्पन हाईम्रले हस्ताक्षर गरे ।