विकासन्युज समाचार प्रभावः निःशुल्क वा सित्तैमा भन्दै ‘बीमा’ काे भ्रामक प्रचारमा राेक
काठमाडौ । निःशुल्क बीमा सेवा दिने भन्दै भ्रामक प्रचार प्रसार नगर्न बीमा समितिले सम्बन्धित सबैलाइ निर्देशन दिएकाे छ । पछिल्लाे समय बैंक तथा वित्तीय संस्था, व्यवसायिक घरानाहरूले बीमा सेवा सित्तैमा वा निःशुल्क भन्दै विज्ञापन गर्न थालेकाे थियाे । सित्तैमा वा निःशुल्क बीमा भनि भ्रामक प्रचार प्रसार गर्दा बीमा कम्पनीहरूलाइ व्यवसाय विस्तार गर्न सकस भएकाे समाचार विकासन्युजमा प्रकाशित भएकाे थियाे । पछिल्लो समय बैंकमा निक्षेप राख्दा वा बैंकबाट कर्जा लिँदा बीमा सित्तैमा हुन्छ भन्ने सन्देश बजारमा गएको र बीमा कम्पनीहरुले सर्बसाधारणलाई बीमा गर्नुपर्छ भन्दा पनि सित्तैमा गर्ने भए मात्र बीमा गर्छु भन्ने तर्क गर्न थालेका बीमकहरुको भनाई छ । समितिले गत जारी गरेकाे निर्देशिकामा विभिन्न उद्योग, व्यवसाय गर्ने बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो व्यवसायिक कारोबार गर्दा निःशुल्क बीमा वा सित्तैमा भन्ने शब्द प्रयोग गरी सम्झौता गराउन नपाउने उल्लेख गरिएकाे छ । कुनै कम्पनी, उद्याेग वा संस्था, बैंक तथा वित्तीय संस्थाले बीमा सेवा मिश्रण गरी बस्तु तथा सेवा दिँदा बीमा गराइने कम्पनीको नाम अनिवार्य रुपमा उल्लेख गर्नु पर्ने निर्देशन जारी गरेको हो । बैंकले निःशुल्क बीमा गराउँदा बीमा कम्पनीलाई सकस, कहिलेसम्म पाइन्छ सित्तैमा बीमा ? त्यस्तै, बीमा समितिले जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुको आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्याङ्कन(एक्चुरी भ्यालुएसन टेष्ट) सम्बन्धी निर्देशिका जारी गरेको छ । ‘समितिले आर्थिक स्थितिको लेखा जोखा र दायित्वको मूल्याङ्कन सम्बन्धी निर्देशिका’-२०६५, लाई समय सापेक्ष परिमार्जन गर्ने उदेश्यले‘बीमाङ्कीय मूल्याङ्कन सम्बन्धी निर्देशिका’, २०७६ जारी गरेको हो । प्यान अनिवार्य हुने आर्थिक वर्ष २०७६/७७ को बजेट बक्तव्यमा एक व्यक्ती एक स्थायी लेखा नम्बर भन्ने उल्लेख छ । सोही बमोजिम आय कर ऐन, २०५८ तथा आय कर नियमावली, २०५९ मा स्पष्ट व्यवस्था भए बमोजिम सम्र्पूण बीमकका बीमा अभिकर्ता, बीमा सर्भेयर र कर्मचारीहरुलाई स्थायी लेखा नम्बर लिनु पर्ने बीमा समितिले जारी गरेको निर्देशनमा उल्लेख छ ।
एनआईसी एशियाको सञ्चालकमा निकुञ्ज अग्रवाल नियुक्त, जगदीश बाहिरिए
काठमाडौँ । एनआईसी एशिया बैंकको सञ्चालकमा निकुञ्ज अग्रवाल नियुक्त भएका छन् । विहीबार सम्पन्न सञ्चालक समितिको बैठकले अग्रवाललाई सञ्चालकमा नियुक्त गरेको हो । २०७४ भदौ ३० गते सम्पन्न वीसौँ साधारण सभाबाट ४ वर्षका लागि सञ्चालक नियुक्त भएका जगदीशप्रसाद अग्रवालको सट्टा निजको बाँकी कार्याकालका लागि निकुञ्ज अग्रवाल सञ्चालक चयन भएका हुन् । राष्ट्र बैंकको निर्देशनको पालना गर्दै जगदीश सञ्चालकबाट बाहिरिएको कम्पनी सचिव दिपेन कार्कीले जनाएका छन् ।
विदेशी फर्निचरभन्दा स्वदेशी फर्निचर धेरै बलियो छ: रुपेश प्रधान
२०४२ सालमा स्थापना भएको जया फर्निचरले राम्रो व्यापार गरिरहेको छ । नेपालमा फर्निचरको अवस्था र जया ब्रान्डको बारेमा सञ्चालक तथा नेपाल फर्निचर एण्ड फर्निसिङ एसोसियशनका अध्यक्ष रुपेश प्रधानसँग गरेको कुराकानीः नेपाली जया फर्निचर ब्राण्डको स्थापना कहिले भएको हो ? विसं. २०४२ सालमा फर्निचर बेच्ने उद्देश्यले स्थापना भएको हो । हामीले नेपालको उत्पादनलाई नै बेच्न पर्छ भनेर जया फर्निचर स्थापना गरेका हौँ । हाम्रो कारोबार टुकुचाबाट सुरु भएको हो । जया फर्निचरलाई कसरी चिने प्रयोगकर्ताले ? केही सयम पहिले गृह लक्ष्मी भन्ने स्टीलको दराज थियो । त्यो दराज विवाहमा नभै नहुने जस्तै सबैको लोकप्रिय भएको थियो । वीरगंजमा केडिया समूहको गृहलक्ष्मी दराज उत्पादन गरेको थियो, स्टीलको गृहलक्ष्मी जस्तै काठबाट बनेका जया ब्राण्डका दराज, शोफा, टेबुलकुर्सी जस्ता सामान उत्पादन गरी बिक्री शुरु गर्यो, जसलाई प्रयोगकर्ताहरुले मन पराए र लोकप्रिय भयो । जया फर्निचरले के-के सामान बेच्छ ? नेपाली काठबाट बनेका बेड, टेबल लगायत सबै सामानहरु बिक्री गर्छ । विदेशी सामानलाई भन्दा पनि हामीले स्वदेशी सामानलाई प्रथामिता दिएका छौं । जया फर्निचरको आफ्नै ब्रान्डको परिचय कसरी दिन्छ ? हामीले विदेशी फर्निचरहरुभन्दा पनि राम्रो र गुणस्तरको उत्पादन गरेर बिक्री गरिरहेका छौँ । नेपालको श्रम, कच्चा पदार्थको प्रयोग गरेर विदेशी फर्निचर भन्दा राम्रो फर्निचर विक्री गरिरहेका छौँ । हामीले ग्राहकको चाहान अनुसारका फर्निचर बनाएर दिने गरेका छौं । नेपाली फर्निचर विक्री गर्न चुनौती छ ? जया ब्रान्ड अर्थात नेपाली फर्निचर बेच्न त्यति ठूलो चुनौती छैन । ग्राहकले पनि नेपाली सामान अलि मंहगो परेपनि बलियो हुन्छ भनेर बुझेका छन् । नेपालको काठ र उत्पादन राम्रो भएपनि विदेशबाट किन फर्निचर आयात हुन्छ ? नेपालको काठ राम्रो छ । नेपाली काठ अलि मंह्गो छ । विदेशी फर्निचरहरूमा प्रविधिको प्रयोग गरेर थोरै खर्चमा धेरै फर्निचरहरु उत्पादन हुन्छ । मूल्यका कारणले नेपाली फर्निचरभन्दा विदेशी फर्निचरको प्रयोग आयात भइरहेको छ । सरकारले काष्ठ उद्योगलाई प्रवद्र्धन नगर्दा विदेशी काठ आयात बढ्दै गएको छ । आधुनिक प्रविधिको प्रयोग हुन नसक्दा नेपाली फर्निचर मह्गो भएको हो त ? नेपालमा आधुनिकभन्दा पनि हस्त निर्मित फर्निचर धेरै राम्रो हुन्छ । हस्त निर्मित भएकाले हाम्रो सामानहरू बलियो र टिकाउ छ । त्यहि कारणले मूल्य पनि बढी परेको हो । विदेशी फर्निचर बनाउँदा मेशिनको प्रयोग भएको हुन्छ । विदेशमा कच्चा पदार्थ र श्रम पनि सस्तो छ । हाम्रो देशमा मह्गो श्रमका साथै कच्चा पदार्थ पनि विदेशबाट आयात गर्नुपर्छ । जया फर्निचरनको उत्पादनमध्ये के बढी बिक्री हुन्छ ? जय फर्निचरको उत्पादनमा सबैभन्दा बढी पलङ र टेबल बिक्री हुने गरेको छ । हाम्रो ब्राण्ड अलि महंगो भए पनि बलियो हुन्छ भनेर नेपालीले बुझेका छन् । जया फर्निचरले वार्षिक कति कारोबार गर्छ ? जया फर्निचरले वर्षिक १५ करोडको कारोबार गरिरहेको छ ।
५० र २० दरका नौ लाखभन्दा बढी नयाँ नोट सिरिज बजारमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारदेखि बजारमा नयाँ सिरिजका नोट बजारमा पठाएको छ । बैंकले ९ लाख ९९ हजार ९ सय ९९ वटा ५० र २० दरका नयाँ नोट बजारमा पठाएको हो । राष्ट्र बैंक ३ वर्ष अघि अर्थात २०१६ मा छापिएका २० दरका नोट बजारमा चलचल्तीका लागि पठाएको छ भने २०१५ मा छापिएको ५० दर सिरिजको नोट पठाएको छ । राष्ट्र बैंकले बजारमा २० दरकै जतिकै संख्या (नौ लाख ९९ हजार ९ सय ९९वटा) मा नोट बजारमा पठाएको हो । राष्ट्र बैंकले २० दरका सिरिजमा ञ/४१ ०००००१ देखि ञ/४१ ९९९९९सम्म अंक अंकित गरिएको छ । ५० दर सिरिजका ज/०००००१ देखि ज/९९९९९ सम्मका नोटमा बजारमा आएको हो ।
डिशहोमको फन्ड ट्रान्सफरबाट रिचार्ज गरी खुशी वर्षभरी योजना सार्वजनिक
काठमाडौँ । डिशहोमले ग्राहकहरुको सेवा सुविधाका लागि विभिन्न समयमा प्रदान गर्ने विभिन्न अफरहरुजस्तै यसपालि डिशहोम फण्ड ट्रान्सफर सेवामार्फत ३ महिना, ६ महिना र बार्षिक रिचार्ज गर्दा भारी छुट सहितको विभिन्न प्याकेजहरु सार्वजनिक गरेको छ । अनलाईन मार्फत सजिलै बिना कुनै झन्झट ग्राहकको सेट टप बक्स रिचार्ज गर्न मिल्ने फण्ड ट्रान्सफर सेवा मार्फत ३ महिना, ६ महिना र १२ महिनाको लागि रिचार्ज गर्न सकिन्छ । फण्ड ट्रान्सफर सेवा मार्फत एकमुष्ठ रिचार्ज गर्दा ग्राहकहरुलाई महिनैपिच्छे रिचार्ज कार्ड किनेर रिचार्ज गर्नुपर्ने झन्झटबाट मुक्ति मिल्छ भने वार्षिक रिचार्ज गर्दा भारी छुट पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । फण्ड ट्रान्सफर सेवामार्फत रिचार्ज गर्दा विभिन्न एड अन प्याकेज पनि छानीछानी लिन सकिन्छ जुन सुविधा रिचार्ज कार्ड वा अन्य सेवा प्रदायकमार्फत रिचार्ज गर्दा प्राप्त हुने छैन । ३ महिनाको रिचार्जमा १ महिना, ६ महिनाको रिचार्जमा २ महिना र १२ महिनाको रिचार्जमा ४ महिनाको लागि आफुलाई मनपरेको कुनै एक एड अन प्याकेज छानीछानी लिन सकिन्छ । बार्षिक रिचार्ज गर्दा पहिले ४२०० मा हेरिरहनु भएको बेसिक प्याकेज ३६०० मै हेर्न सकिन्छ । यस्तै मिडियम प्याकेज ४,८०० को सट्टा ४,२००, बेसिक प्लस ५,१०० को सट्टा ४,५००, मिडियम प्लस ५,७०० को सट्टा ४,९९८, सुपर एचडी ६,००० को सट्टा ४,९९९, प्रिमियम एचडी ७,२०० को सट्टा ५,७९९ र लाईफस्टाईल एच.डी १०,८०० को सट्टा ८,४०० मै उपलब्ध हुनेछ । फण्ड ट्रान्सफर सेवा डिशहोमको नेपालभर रहेका आधिकारिक बिक्रेता, डिलर लगायत सबै डिलरहरुमा उपलब्ध रहेको कमपनीले जनाएको छ । फण्ड ट्रान्सफर सेवा, अफर अन्र्तगतका प्याकेज र एड अन प्याकेजको बारेमा विस्तृत जानकारी डिशहोमको आधिकारिक बिक्रेता वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ ।
मुक्तिनाथ विकास बैंकका ग्राहकलाई रुपाकोट रिसोर्टमा १५ प्रतिशत छुट
काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.काठमाडौं र रुपाकोट रिसोर्ट, पोखरा कास्कीबीच एक सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्ड भएका सबै ग्राहकहरुले उक्त रुपाकोट रिसोर्टका विभिन्न सेवा सुविधामा १५% सम्मको विशेष छुट दिने व्यवस्था भएको छ । उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट बजारीकरण विभागका विभागीय प्रमुख बसन्त बक्सी र रुपाकोट रिसोर्टकोे तर्फबाट बिक्री प्रबन्धक पियुस लामाले हस्ताक्षर गरेका छन् । साथै हालैमात्र मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भदौ १ देखि कात्तिक ३० गतेसम्म लागू हुने गरी रेमिट्यान्स(विप्रेशण) केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसंग खुशीको वहार’ अभियान सञ्चालन गरेको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङ्गले बताए ।
मनिग्रामको दशैं लक्षित नयाँ योजना घोषणा, तीन महिना अवधि, पैसा पठाउँदा दोब्बरसम्म भुक्तानी पाउनसक्ने
काठमाडौं । विश्वव्यापी कार्यक्षेत्र भएको अन्तर्राष्ट्रिय रेमिट्यान्स सेवाप्रदायक संस्था मनिग्रामले दशैं तिहारलक्षित नयाँ योजना सार्वजनिक गरेको छ । वैदेशिक रोजगारी, शिक्षा लगायतका कारणले विदेश गएकाहरुले आफ्ना परिवारलाई रकम पठाउँदा मनिग्रामको सञ्जाल प्रयोग गर्ने ग्राहकलाई दोब्बरसम्म भुक्तानी दिने योजनासहित मनिग्रामले नयाँ कार्यक्रम घोषणा गरेको हो । विहीबार राजधानीको होटल याक एण्ड यतिमा आयोजित पत्रकार सम्मेलनमा मनिग्रामका लागि भारतीय उपमहाद्विप, इन्डो-चाइना र मलेसियाका लागि क्षेत्रीय प्रमुख शेसागिरी मालियाह र मनिग्रामकी एशिया प्यासिफिक, दक्षिण एशिया र मध्यपूर्व क्षेत्रकी मार्केटिङ प्रमुख सब्रिना चानले सो कार्यक्रमको घोषणा गर्दै मनिग्रामले यसअघि मे महिनादेखि जुलाई महिनासम्म सञ्चालन गरेको कार्यक्रम विजेता बनेका २४ जनालाई पुरस्कार समेत प्रदान गरेका थिए । बिहीबारको कार्यक्रममा रामेश्वर बस्नेत, सीता पुन, बीरबहादुर गुरुङ, गोपालबहादुर अधिकारी, सीता कामी, मदन रानाभाट, बिनु सुनार विक, सन्तोष पौडेल, मिलन कार्की, रमेशचन्द्र खनाल, गणेश चन्द, खुस्बु रजत र गीता श्रेष्ठ र उनका परिबारले त्यस्तो पुरस्कार प्राप्त गरेका हुन् । दशैं तिहारको अवसरमा मनिग्रामले घोषणा गरेको उक्त कार्यक्रम यही भदौ १५ गतेबाट सुरु भएको छ भने मंसिर १४ गतेसम्म सञ्चालन हुनेछ । यो अवधिभित्र मनिग्राम नेटवर्क प्रयोग गरी पैसा पठाउने र प्राप्त गर्नेले लक्की ड्रका आधारमा आफूले पठाएको रकमको दोब्बर रकम प्राप्त गर्न सक्नेछन् । कार्यक्रममा बोल्दै मनिग्रामका लागि भारतीय उपमहाद्विप, इन्डोचाइना र मलेसियाका लागि क्षेत्रीय प्रमुख शेसागिरी मालियाहले मनिग्रामले सुरक्षित र भरपर्दो माध्यमबाट रेमिट्यान्स प्रवाह गर्दै नेपालको आर्थिक अवस्था र सामाजिक सांस्कृतिक अझ मजबुत गर्न सहयोग पुर्याउँदै आएको बताए । त्यस्तै, मनिग्रामकी एशिया प्यासिफिक, दक्षिण एशिया र मध्यपूर्व क्षेत्रकी मार्केटिङ प्रमुख सब्रिना चानले मनिग्रामले परिवारहरुलाई दोब्बर खुसी दिँदै आएको भन्दै नेपालले घोषणा गरेको भ्रमण वर्ष २०२० सफल पार्न समेत मनिग्रामले सहयोग गर्ने बताइन् । मनिग्रामले विश्वका २०० भन्दा बढी देशहरुमा आफ्नो सम्पर्क सञ्जाल स्थापित गरेको छ । ती सबै देशका जुनसुकै स्थानबाट समेत यो नेटवर्कमो मध्यमबाट रकम आदानप्रदान गर्न सकिनेछ । नेपालमा मनिग्रामको नेटवर्कमा युनाइटेड रेमिट, आईएमई, प्रभु मनि ट्रान्सफर, हिमाल रेमिट, सम्सारा रेमिट र सिटी एक्सप्रेस मनि ट्रान्सफर आवद्ध छन् ।
सेञ्चुरी कमर्सियल बैंकद्वारा दृष्टिविहीन सहयोग केन्द्रलाई कम्प्युटर हस्तान्तरण
काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले महालक्ष्मी, ललितपुरस्थित दृष्टिविहीन सहयोग केन्द्र नेपाललाई २ थान कम्प्युटर हस्तान्तरण गरेको छ । उक्त कम्प्युटर बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले दृष्टिविहीन सहयोग केन्द्र नेपालका अध्यक्ष राजेन्द्र दुलाल क्षेत्रीलाई हस्तान्तरण गरे । हस्तान्तरण समारोहमा बैंकका वरिष्ठ पदाधिकारीहरुको उपस्थिति थियो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण तथा अन्य क्षेत्रमा थुप्रै कार्यक्रमहरु गर्दै आएको जनाएको छ ।