विकासन्युज

मूल्य घटेसँगै गैँडाछाप सिमेन्टको बिक्री बढ्यो

काठमाडौं । उदयपुर सिमेन्ट उद्योगबाट उत्पादित गैँडाछाप सिमेन्टको मूल्य घटाएसँगै गैँडाछाप सिमेन्टको बिक्री ह्वात्तै बढेको छ । प्रतिबोरा रु ८०३.४३ मा बिक्री हुने गरेको उदयपुर सिमेन्ट उद्योगबाट उत्पादित गैँडाछाप सिमेन्टको मूल्य पच्चीस रुपैयाँ घटाएर प्रतिबोरा रु ७७८.४३ मा बिक्री गर्न थालेपछि गैँडाछाप सिमेन्टको बिक्री ह्वात्तै बढ्न पुगेको उदयपुर सिमेन्ट उद्योग प्रशासनले जनाएको छ । प्रतिदिन चार हजार बोरादेखि छ हजार बोरासम्म बिक्री हुने गैँडाछाप सिमेन्टको मूल्य केही दिनअघि घटाएसँगै अहिले प्रतिदिन १० हजार बोराभन्दा माथि बिक्री हुने गरेको उदयपुर सिमेन्ट उद्योगका निमित्त महाप्रबन्धक नवलकिशोर साहले बताउनुभएको छ । देशमा अन्य सिमेन्टको पनि मूल्य घटेका कारण गैँडा छाप सिमेन्टको पनि मूल्य घटाइएको र मूल्य घटाए लगत्तै सिमेन्ट बिक्रीमा दोब्बरले वृद्धि भएको पनि उद्योग प्रशासनले बताएको छ । अहिले उदयपुर सिमेन्ट उद्योगबाट उत्पादन गरिएको गैँडाछाप सिमेन्टको बिक्रेता डिलर भएका प्रदेश नं १, प्रदेश २, प्रदेश ३ र प्रदेश नं ४ मा बिक्री भइरहेको पनि उद्योग प्रशासनले बताएको छ । दैनिक पूर्ण क्षमतामा ८०० मेट्रिकटन सिमेन्ट अर्थात् १६ हजार बोरा उत्पादन गर्दै आएको यस उद्योगमा अहिले पनि झण्डै एक लाख बोराभन्दा बढी सिमेन्ट स्टक रहेका छन् । सिमेन्टको उत्पादनमा तीव्रता आइरहेका बेला मूल्य घटाएसँगै बिक्रीमा पनि दोब्बरले वृद्धि भएको उद्योग प्रशासनले जानकारी दिएको छ। रासस

वञ्चित समूहका लागि प्राथमिक उपचार अझै आवश्यक

काठमाडौं । समुदायका वञ्चित समूहका लागि पनि प्राथमिक उपचारको ज्ञान र सीप दिनुपर्ने कुरालाई जोड दिँदै “वञ्चित समूहका लागि प्राथमिक उपचार” भन्ने मूल नारासहित नेपालमा पनि विश्व प्राथमिक उपचार दिवसको मनाइदै छ । प्राथमिक उपचारको महत्वका विषयमा समुदायमा चेतना अभिबृद्धि गर्ने र प्राथमिक उपचार स्वयंसेवकहरुलाई सम्मान बढाउने उद्देश्यले हरेक वर्ष सेप्टेम्बर महिनाको दोस्रो शनिबारका दिनमा पर्ने विश्व प्राथमिक उपचार दिवसका सन्दर्भमा विभिन्न जिल्लामा नेपाल रेडक्रस सोसाइटीले कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । विश्व प्राथमिक उपचार दिवसको राष्ट्रिय कार्यक्रम यस पटक भाद्र २५ देखि २८ गतेसम्म अर्घाखाँची जिल्लाको सन्धिखर्कमा आयोजना भइरहेको र नेपाल रेडक्रसले प्राथमिक उपचार कृत्रिम घटना अभ्यास प्रवर्धन, आकस्मिक प्राथमिक उपचार सीप प्रवद्र्धन र प्रतियोगितात्मक गतिविधिहरु आयोजनाको गरिरहेको नेरेसोका सञ्चार निर्देशक दिव्यराज पौडेलले बताए । यसै सन्दर्भमा अर्घाखाँचीमा भएको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेरेसोका अध्यक्ष संजीव थापाले वञ्चितिकरणमा रहेका मानिसहरु र संकटमा रहेका मानिसहरुलाई प्राथमिक उपचारको चेतना र ज्ञान दिन समुदायमै रहेका स्वयंसेवकहरुलाई परिचालन गरिदै आइएको भन्दै स्थानीय स्वयंसेवकबाट मात्रै त्यस्तो समुदायमा पुग्न सम्भव भएको कुरामा जोड दिए। मूल समारोहको विषयमा बोल्दै अर्घाखाँचीबाट नेरेसाकोे ५ नं. प्रदेश प्रमुख शम्भुप्रसाद पोखरेलले भने “वञ्चित समूहका लागि प्राथमिक उपचार” भन्ने नारालाई सफल बनाउन वञ्चित समूहहरूलार्ई केन्द्रित गर्दै प्राथमिक उपचारको सीप अभिवृद्धि गर्न सबैबाट सहयोगको आवश्यक छ । नेपाल रेडक्रसको प्राथमिक उपचार पाठ्यक्रमलाई नेपाल सरकारबाट मान्यता प्राप्त भएकोले सो अनुसार हालसम्म मुलुकभर एक हजार दुइसय दक्ष प्रशिक्षक र ३३ हजार दुई सय जना प्राथमिक उपचार स्वयंसेवकहरू विकास गरिएको छ । यस वर्ष २०७६ मा मात्र एक हजार दुइसय पैसठीले देशभरमा प्राथमिक उपचार सेवा प्राप्त गरेका छन् । नेपाल रेडक्रसका ७७ वटै जिल्ला शाखासँग आधारभूत प्राथमिक उपचार प्रशिक्षण र सेवा सञ्चालन गर्ने क्षमता विकास गरिएको छ । प्राथमिक उपचारले मानिसको जीवन जोगाउने भएकोले सवै उमेर समूह र पछाडि परेका सवै समुदायलाई प्राथमिक उपचार सीप लिन प्रेरित गर्न आजको दिनले सन्देश दिएको बताउँदै अपांगता भएका, महिला तथा छात्राहरु, जेष्ठ नागरिक, कैदी बन्दीहरु, अनाथ, सडक बालबालिका, श्रमिक, आप्रबासीहरु, यौनिक अल्पसंख्यक जस्ता समूहमा योजनाबद्ध हिसावले पुग्नुपर्ने टड्कारो आवश्यकता रहेको निर्देशक पौडेलले बताए ।

बिहानैदेखि इन्द्रदह मेलामा दर्शनार्थीको घुइँचो

काठमाडौं । भक्तपुरको दूधपाटीस्थित इन्द्रदह अर्थात् सिद्ध पोखरीमा भव्य मेला लागेको छ । पूर्णिमाको दिन बिहानैदेखि इन्द्रदहमा स्थान गरी इन्द्रको पूजा गर्नेहरुको घुइँचो लागेको छ ।भक्तपुर नगरपालिका खौमास्थित इन्द्रायणी द्यो छें’बाट बाजागाजासहित इन्द्र देवताको मूर्तिलाई शुक्रबार साँझ खटमा राखेर नगर परिक्रमा गरी इन्द्रदह अर्थात् सिद्ध पोखरी पुर्याएपछि मेला सुरु भएको थियो । भाद्र शुक्ल चतुर्थीका साँझ दिपावली गरी रातभरी मेला लाग्ने र भाद्र शुक्ल पूर्णिमाको दिन बिहानैबाट स्नान गरी इन्द्रको पूजा गर्ने परम्परा रहेको छ । पूर्णिमाको दिन मेला लाग्ने र आजै साँझ इन्द्र देवताको मूर्तिलाई खटमा राखी यात्रा गर्दै द्यों छेमा भित्राएपछि मेला सम्पन्न हुने परम्परा रहेको छ । द्वापर युगमा इन्द्रले कृष्णसँग रिसाएर ग्वालालाई दुःख दिन ठूलो असिना, पानी पारेपछि कृष्णले गोवद्र्धन पहाड औंलाले उठाएर जनताको रक्षा गरेको दिनको सम्झनामा इन्द्रदहमा मेला लाग्ने गरेको भनाइ छ । स्थानीयवासी इतिहासविद् पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार नेपाल सम्बत् २१८ मा शक्तिशाली युवराजको रुपमा चिनिएका इन्द्रदेवले आफ्नो नाममा उपत्यकाकै ठूलो पोखरी निर्माण गराएका कारण यो पोखरीको नाम इन्द्रदह रहन गएकोे हो । रासस

बारा पनि खुल्ला दिसामुक्त जिल्लामा, शाैचालय बनाउन मात्र १ अर्ब ३७ करोड खर्च

काठमाडौं । प्रदेश नम्बर २ अन्तर्गतको बारा जिल्ला खुल्ला दिसामुक्त घोषणा भएको छ । १ लाख ५ हजार घरधुरीमा शौचालय निर्माण गर्न १ अर्ब ३७ करोड बराबर रकम खर्च भएका जानकारी दिएका छन्। प्रदेश नम्बर २ का भौतिक यातायात मन्त्री जितेन्द्र सोनमको प्रमुख आतिथ्यतामा खुल्ला दिसामुक्त घोषणा गरिएको हो । कार्यक्रममा मन्त्री सोनमले प्रदेश नम्बर २ कै उच्च सफलता बारा जिल्लालाई लिन सकिने बताए । उनले भने, ‘गरेपछि हुन्छ भन्ने एउटा उदाहरण हो बारा । यो प्रदेश नम्बर २ मै उच्च सफलता हो ।’ त्यस्तै कार्यक्रममा संघीय सरकारका प्रतिनिधि खानेपानी तथा ढल व्यवस्थापन विभाग वातावरणीय सरसफाइ शाखा प्रमुख देवेन्द्र झाले बारा जिल्ला घोाषणा भएकोमा खुशी व्यक्त गरे । नेपाल खुल्ला दिसा मुक्त हुन अब १७ दिन बाँकी हुँदैमा बारा जिल्लाले घोषणा गरेको छ । सरकारले नेपाललाई प्राथमिक सरसफाइमा दक्षिण एशियामै अग्रस्थान बनाउने प्रयत्न स्वरुप आगामी असोज १३ गते खुल्ला दिसामुक्त घोषणा गर्न लागेको हो । यस अभियान अन्तर्गत आज शुक्रबार बारा जिल्ला खुला दिसामुक्त घोषणा भएको छ । यसपछि भोलि शनिबार २८ गते पर्सा, ३० गते सर्लाही र बाँकी सबै जिल्ला ३१ गते खुला दिसामुक्त घोषणा राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समिति सचिवालयले जानकारी दिएको छ ।

बुटवल-गोरखपुर प्रसारण लाइन: निर्माणको ढाँचा टुङ्ग्याउने सहमति

काठमाडौँ । नेपाल र भारतले न्यू बुटवल गोरखपुर प्रसारण लाइनको ढाँचा, निर्माण लागत लगायतका विषयलाई शीघ्र टुङ्गोमा पुर्याइ निर्माण शुरु गर्ने विषयमा सहमति जनाएका छन् । ढल्केबर-मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनपछि उच्च क्षमताको दोस्रो प्रसारण लाइनका रुपमा त्यसलाई लिइएको छ । सो प्रसारण लाइनको निर्माणका विषयमा दुई देशबीच सैद्धान्तिक सहमति भए पनि कुन विधि र ढाँचामा निर्माण गर्ने भन्ने विषयमा थप परामर्श जरुरी रहेको भन्दै निष्कर्ष निस्कन सकेको थिएन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र भारतका ऊर्जा राज्यमन्त्री आरके सिंहबीच बिहीबार भएको द्विपक्षीय छलफलका क्रममा न्यू बुटवल गोरखपुर प्रसारण लाइनका विषयमा देखिएका विवादलाई समाधान गरी निर्माण शुरु गर्ने सहमति भएको हो । नेपाल र भारतका मन्त्रिस्तरीय छलफलमा सहभागी नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार आगामी असोजमा आयोजना गरिएको ऊर्जा सचिवस्तरीय बैठकले आवश्यक निर्णय गर्नेछ । कूल ४०० केभी क्षमताको अन्तरदेशीय प्रसारण लाइन निर्माण भएपछि सात वर्षसम्म मात्रै आरक्षित गर्न सकिने प्रस्ताव नेपालका तर्फबाट भएको थियो । गत माघमा पोखरामा सम्पन्न ऊर्जा सचिवस्तरीय बैठकमा समेत सो विषयमा छलफल भए पनि कुनै ठोस निष्कर्ष निस्कन सकेको थिएन । राजनीतिकस्तरमा सहमति भएपछि अन्य प्राविधिक विषय टुङ्गो लगाउन सकिने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको बुझाइ छ । नेपाल र भारतका उच्च अधिकारीका यसअघिका बैठकमा प्रसारण लाइन निर्माण र कार्यान्वयन ढाँचा तयार गरी सचिवस्तरीय बैठकमा पेश गर्न नेपाल विद्युत् प्राधिकरणलाई जिम्मा दिइएको थियो । सोही जिम्माका आधारमा प्राधिकरणले आवश्यक ढाँचा पनि तयार पारेको थियो । अमेरिकन सहयोगको मिलेनियम च्यालेञ्ज कर्पोरेशनसँग सम्बन्धित आयोजनामा न्यू बुटवल गोरखपुर प्रसारण लाइनसमेत जोडिएकाले त्यसलाई सरकारले ठूलो महत्वमा राखेको छ । सो प्रसारण लाइन निर्माणका लागि संयुक्त कम्पनी बनाएर जान सकिनेमा नेपालको जोड रहँदै आएको थियो । ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण भई सञ्चालमा आइसकेको छ । कूल ४०० केभी क्षमताको सो प्रसारण लाइनमार्फत नेपालले आवश्यकमात्रामा विद्युत् आयात गरिरहेको छ । अब बस्ने सचिवस्तरीय बैठकमा सो प्रसारण लाइनमा दुवै देशको समान लगानी रहने गरी प्रारम्भिक सहमति भएको बैठकमा सहभागी प्रवक्ता अधिकारीको भनाइ छ । आगामी असोज २७ र २८ गते भारतको बैङ्गलोरमा ऊर्जा मन्त्रालयका सहसचिव स्तरीय बैठकसमेत तय भएको छ । सो प्रसारण लाइनको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार भइसकेको छ । प्राधिकरणको बुटवलमा रहेको सब स्टेसनपूर्व रोहिणी खोला नजिक अर्को सबस्टेसन बनाउने र नेपालबाट भारत निर्यात गर्न तथा भारतबाट विद्युत् आयात गर्नसमेत सहज हुने गरी प्रस्ताव गरिएको छ । बूढीगण्डकी र मस्र्याङ्दी करिडोरलगायत स्थानमा उत्पादन भएको विद्युत् बढी हुँदा भारत निर्यात गर्न सो प्रसारण लाइन सहज हुने विश्वासका साथ दुवै मुलुकले उक्त परियोजनालाई प्राथमिकतामा राखेका हुन् । सरकारले १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेका सन्दर्भमा सोही प्रसारण लाइनमार्फत करीब दुई हजार मेगावाट विद्युत् निर्यात गर्ने लक्ष्य राखेको छ । विद्युतको मुख्य माग हुने भैरहवा, बुटवल, नारायणगढ, पोखरा, दाङलगायतका शहरसमेत उक्त प्रसारण लाइनको नजिक पर्ने भएकाले ऊर्जा मन्त्रालयले प्राथमिकतामा राखेको हो । सरकारले प्रस्ताव गरेको प्रसारण लाइन गुरुयोजनामा पनि अन्तरदेशीय प्रसारण लाइनको निर्माण, आन्तरिक प्रसारण लाइनको विकास तथा विस्तारलाई जोड दिइएको छ । हाल दुई देशबीच विभिन्न ११ स्थानमा अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने प्रस्ताव गरिएको छ । यस्तै बैठकमा नेपालले राखेको इनर्जी बैंकिङबारेसमेत छलफल भएको थियो । भारतले इनर्जी बैंकिङका विषयमा नीतिगत व्यवस्था गर्ने प्रतिबद्धता बिहीबारको बैठकमा जनाएको छ । भारतीय ऊर्जा राज्यमन्त्री सिंहले आफूले त्यससम्बन्धी विषयमा आवश्यक निर्णय छिट्टै गर्ने प्रतिबद्धतासमेत मन्त्री पुन र नेपाली अधिकारीसमक्ष जनाउनुभएको छ । इनर्जी बैंकिङको अभ्याससमेत भइसकेको छ । गत साउनको पहिलो साता नेपाल विद्युत् प्राधिकरणले बढी भएको २५० मेगावाट विद्युत् भारत पठाएर बैंकिङको अभ्यास गरिसकेको छ । यस्तै, नेपाल र भारतकाबीच सञ्चालनमा रहेका अन्य आयोजनालाई समेत गति दिने विषयमा समेत मन्त्री पुन र राज्यमन्त्री सिंहबीच छलफल भएको थियो । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय र नेपाल उद्योग परिसङ्घले आयोजना गरेको तेस्रो पूर्वाधार सम्मेलनमा सहभागी हुन आउनुभएका भारतीय ऊर्जा राज्यमन्त्री सिंहले अरुण तेस्रो जलविद्युत् आयोजनाकोसमेत स्थलगत निरीक्षण गर्नुभएको थियो । भारतीय कम्पनी सतजल विद्युत् निगमले कूल ९०० मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । रासस

दैनिक ८ घण्टा आराम गर्ने ओछ्यान कस्तो हुनुपर्छ ?

काठमाडौं । हामी दैनिक ६ देखि ८ घण्टा ओछ्यानमा सुत्छौं । मानिसले सबैभन्दा बढी समय आराम गर्ने ठाउँ ओछ्यान नै हो । झर्रा भाषामा ओछ्यान र चलनचल्तीको भाषामा बेड, विस्तारा, विछ्याउना, सयन कक्ष आदि इत्यादि । ‘हामीले सबैभन्दा बढी समय आराम गर्ने बेड साँच्चिकै आरमदायी हुनुपर्छ र स्वास्थ्यको लागि पनि हितकर हुनुपर्छ । यहि मान्यताका साथ हामीले गुणस्तरीय मेट्रेस उत्पादन गर्दै आएका छौं । साथै, फाइवर, माइक्रो फाइवरबाट बनेको हलुका र गुणस्तरीय सिरक, सिरानी, बेड कभर, पर्दा, टावेल उपलब्ध गराउँछौं’ क्लासिक इण्डस्ट्रिज प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत रमेश काफ्लेले भने । बेडका साथै, सिरक, सिरानी पनि आरामदायी हुनु अनिवार्य भएको उनले बताए । बेड कस्तो हुनुपर्छ भन्नेमा विज्ञहरुकै राय फरक फरक छ । बेड लचक र कम्फर्टेवल हुनुपर्छ भन्ने विज्ञहरु पनि छन् । बेड कडा हुनुपर्छ भन्ने विज्ञहरु पनि छन्’ काफ्ले भन्छन्–‘बेड भनेको सर्फेस मिलेको हुनुपर्छ । बेड धेरै कडा भयो भने पनि राम्रो हुन्दैन । यी हाम्रा आधारभूत मान्यता हुन् ।’  

बाल्ट्राको दशैं ल्यायो अफर

काठमाडौँ । नेपाल तथा भारतमा सर्वाधिक रुचाइएको बाल्ट्रा होम एप्लाइन्सेस्ले चाडवाडको यस अवसरमा “दशैं ल्यायो” नामक योजना नेपाली बजारमा ल्याएको छ । योजना अन्तर्गत कम्पनीले बाल्ट्राको बिग तथा स्मल एप्लाइन्सेस्को खरिदमा लक्की ड्र मार्फत ५१ जना भाग्यशाली ग्राहकहरुलाई आकर्षक उपहारहरुका साथै १ वर्षको अतिरिक्त वारेन्टी समेत प्रदान गर्नेछ । ईलेक्ट्रोनिक तथा घरेलु सामानहरुमा विविध र नवीन उत्पादनहरु उत्पादन गर्दै आएको बाल्ट्रा होम एप्लाइन्सेस्ले विगत १० वर्षदेखि नेपाली उपभोक्ताहरुको मन जित्न सफल भएको छ । यसका साथै नेपाली बजारमा बिग एप्लाईन्सेस्को क्षेत्रमा बाल्ट्राले अग्रणी स्थान हासिल गर्ने लक्ष्य लिएको छ ।

नर्भिकमा डेङ्गू बिरामीहरुको चाप बढेका कारण छुट्टै वार्डको व्यवस्था

काठमाडौँ । हालै मुलुकमा महामारीकै रुप लिनथालेको डेङ्गू रोगका विरामीहरु बढ्ने क्रममा रहेका कारण नर्भिक इन्टरनेशनल हस्पिटलले त्यसखाले रोगीहरुको विशेष व्यवस्थापन एवम् उपचारका लागि छुट्टै वार्डको व्यवस्था गरेको छ । हाल नर्भिकमा १ दर्जन भन्दा बढी डेङ्गू ज्वरोका विरामीहरु उपचाररत रहेका छन् । विरामीको चाप बढ्दो क्रममा रहेका कारण त्यस्ताविरामीहरुकालागि छुट्टै क्लिनिकर छुट्टै वार्डको व्यवस्था गरिएको हो । सो वार्डमा हाललाई सुविधा सम्पन्न ६ वटा शैयाको व्यवस्था गरिएको छ । वार्डमा डेङ्गू हेल्प डेस्क र डेङ्गूका विरामीहरुको शीघ्र तथा उपयुक्त रेखदेख, व्यवस्थापनएवं उपचारका लागि छुटै हेल्पलाइनको समेत व्यवस्था गरिएको छ । सहुलियतपूर्ण दर/रेटमा उपलब्ध हुने उक्त क्लिनिक/वार्डमा चिकित्सकहरु तथा नर्सिङ्ग स्टाफहरु २४ सै घण्टा सेवारत रहने छन् भने विशेष सहुलियत दरमा डेङ्गू परिक्षण किट समेत उपलब्ध हुनेछ ।