आरटीजीएसको पहिलो कारोबार माछापुच्छ्रे बैंकबाट, विनाचेक २० करोड भुक्तानी
काठमाडाैं । नेपाल राष्ट्र बैंकले लागू गरेको रियल टाइम ग्रस पेमेन्ट सेटलमेन्ट (आरटीजीएस) प्रणालीको शुभारम्भ माछापुच्छ्रे बैंकको खाताबाट नेपाल इन्भेष्टमेन्ट बैंकको खातामा बिनाचेक २० करोड रुपैयाँ भुक्तानी गरेर भएको छ । आईतबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको एक कार्यक्रममा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले पहिलो पटक २० करोडको ट्रेजरी डिल सिलिप एकअर्कामा साटासाट गरेर उक्त आरटीजीएस प्राणलीको प्रत्यक्ष उदाहरण पेश गरेका छन् । आरटीजीएस प्रणाली लागू भएपछि २ लाख रुपैयाँभन्दा माथिको भुक्तानी दिँदा चेक नचाहिने भएको छ । राष्ट्र बैंकले तत्काललाई २ लाख रुपैयाँ भन्दा माथि २० लाखसम्मको भुक्तानी स्वेच्छाले र २० लाख भन्दा माथि अनिवार्य आरटीजीएस प्रणालीबाट भुक्तानी गर्न सकिने व्यवस्था गरेको हो । विश्वका अधिकांश मुलुकमा जस्तै नेपालमा पनि बैंकिङ्ग कारोबारमा सहजता ल्याउने उदेश्यका साथ अत्याधुनिक प्रविधियुक्त रियल टाइम ग्रस पेमेन्ट सिस्टम प्रणाली कार्यन्वयनमा ल्याईएको हो ।
आरटिआर २०० ४भी र एनएस २००, जानौं यी दुईमा कुन छ राम्रो
काठमाडाैं । खासगरी मोटरसाइकल किन्नुभन्दा अगाडि ग्राहकले उचित मूल्य, राम्रो पर्फमेन्स, आकर्षक लुक्स तथा राम्रो माइलेज लगायतका कुराहरुलाई ध्यानमा राख्ने गर्दछन् । हाल नेपाली बजारमा यी सम्पूर्ण खुबीहरु भएको मोटरसाइकलका रुपमा बजाजको पल्सर एनएस २०० र टिभिएसको अपाचे आरटिआर २०० ४भीलाई बढी रुचाइएको पाइन्छ । यी दुई मोटरसाइकलहरुमा धेरै समानताहरु पाइएता पनि कतिपय कुराहरुमा भने भिन्नता रहेका छन् । आज हामिले यी दुई मोटरसाइकलका भिन्नताहरुलाई तपाईंका सामू लिएर आएका छौं, जसले तपाईंलाई यी दुईमध्येका मोटरसाइकलबाट कुनै एउटा छान्नमा मद्दत पुर्याउने छ । लुक्स अपाचे आरटिआर २०० ४भी को समग्र डिजाइनलाई हेर्ने हो भने पल्सर एनएस २०० को तुलनामा यो मोटरसाइकल स्लिम र स्लिक रहेको छ । तुलनात्मक रुपमा हेभि देखिने एनएस २०० को फ्यूल ट्याङ्क भने आरटिआर २०० को भन्दा बल्की छ । एनएसमा अण्डर बेली एक्जस्ट दिइएको छ भने आरटिआरमा चाहिँ म्याट ब्ल्याक फिनिसिङ्गको एक्जस्ट दिइएको छ । त्यसैगरी, कम्पनीले एनएसमा सेमी डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल दिएको छ भने आरटिआरमा चाहिँ फूल डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल दिएको छ । डाइमेन्सन डाइमेन्सनको कुरा गर्दा एनएस २०० को लम्वाई २०१७ मिलिमिटर छ भने आरटिआर २०० को लम्वाई भने २०५० मिलिमिटर रहेको छ । त्यसैगरी एनएस २०० को चौडाई ८०४ मिलिमिटर, उचाई १०७५ मिलिमिटर, सीट हाइट ८०५ मिलिमिटर, ग्राउण्ड क्लियरेन्स १६७ मिलिमिटर र व्हिलवेश चाहिँ १३६३ मिलिमिटर रहेको छ भने आरटिआर २०० को चौडाई ७९० मिलिमिटर, उचाई ११०५ मिलिमिटर, सीटहाइट ८०० मिलिमिटर, ग्राउण्ड क्लियरेन्स १८० मिलिमिटर र व्हिलवेश चाहिँ १३५३ मिलिमिटर रहेको छ । त्यसैगरी कर्ववेटको कुरा गर्नुपर्दा एनएस २०० को कर्ववेट १५१ के.जी. छ भने आरटिआर २०० को कर्ववेट चाहिँ १४८ के.जी. रहेको छ । इञ्जिन तथा गियर एनएस २०० मा १९९.५ सीसीको लिक्विड कूल्ड इञ्जिन दिइएको छ भने आरटिआर २०० मा चाहिँ १९७.८ सीसीको ओयल कूल्ड इञ्जिन दिइएको छ । त्यसैगरी गियरको कुरा गर्नुपर्दा एनएस २०० मा ६–स्पिड गियरबक्स दिइएको छ भने आरटिआर २०० मा चाहिँ ५–स्पिड गियरबक्स दिइएको छ । पर्फमेन्स एनएस २०० को इञ्जिनले ९५०० आरपिएममा २३.१७ बीएचपीको पावर र ८००० आरपीएममा १८.३ एनएमको टर्क प्रोड्यूस गर्दछ । तर आरटिआर २०० को इञ्जिनले भने ८५०० आरपिएममा २०.२ बीएचपीको पावर र ७००० आरपीएममा १८.१ एनएमको टर्क प्रोड्यूस गर्दछ । त्यसैगरी एनएस २०० ले ० देखि ६० सम्मको स्पिड ३.७ सेकेण्डमा कभर गर्न सक्छ भने ० देखि १०० को स्पिड चाहिँ १०.५ सेकेण्डमा कभर गर्न सक्छ । तर आरटिआर २०० ले चाहिँ ० देखि ६० सम्मको स्पिड केवल ३.६ सेकेण्डमै र त्यसैगरी ० देखि १०० को स्पिड चाहिँ ११.५ सेकेण्डमा कभर गर्न सक्छ । टप स्पिड र माइलेज एनएस २०० को टप स्पिड १३६ केएमपीएच र आरटिआर २०० को टप स्पिड चाहिँ १३५ केएमपीएच छ भनी सम्वन्धित कम्पनीहरुले दावी गरेका छन् । त्यसैगरी एनएस २०० ले ३५ केएमपीएल माइलेज दिन्छ भने आरटिआर २०० ले चाहिँ ४० केएमपीएल माइलेज दिने गरेको छ । तर स्मरण रहोस् माइलेज भन्ने कुरा चाहिँ राइडरको कुदाउने तरिकामा भरपर्ने कुरा हो । मूल्य नेपाली बजारमा एनएस २०० को मूल्य रु. ३,१९,९०० तोकिएको छ भने आरटिआर २०० ४भी को मूल्य चाहिँ रु. ३,२४,९०० तोकिएको छ । अन्य एनएस २०० को फ्रन्ट टायर १००/८० सेक्सनको छ भने आरटिआर २०० को चाहिँ ९०/९० सेक्सनको छ । त्यसैगरी एनएसमा प्रेस्ड स्टिल पेरिमिटर फ्रेम दिइएको छ भने आरटिआर मा चाहिँ डवल क्रेडल स्प्लिट सिङ्क्रो स्टिफ फ्रेम दिइएको छ । स्लिपर क्लचको कुरा गर्नुपर्दा आरटिआर २०० मा यो फिचर दिइएको छ भने एनएस २०० मा चाहिँ दिइएको छैन ।
प्रभावकारी बन्दै म्यादी बीमा पुल, १७ कम्पनी सहभागी, आम्दानी अनुपात १ देखि १६ प्रतिशत
काठमाडौं । बीमा समितिले म्यादी बीमा पुलमार्फत गर्ने व्यवस्था गरेपछि पछिल्लो समय अस्वस्थ प्रतिस्पर्धामा कमी आएको छ । समितिले केही मापदण्ड राखेर म्यादी बीमा गराउँदै आएपछि बजार थप मर्यादित बन्दै गएको हो । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने–‘हामीले बीमा क्षेत्रमा सुधार गर्न समय अनुसार काम गर्दै आएका छौँ, अहिले म्यादी बीमाले पनि बजारमा राम्रै प्रभाव पारेको छ ।’ बीमा समितिले वैदेशिक रोजगारमा जानेहरूको म्यादी बीमामा सहजता ल्याउँन २०७५ साल माघ १७ गते म्यादी बीमा पुल मार्फत गर्ने सुरुवात गरेको थियो । पुल मार्फत हुने बीमामा बीमा कम्पनीहरूले समितिले तोकेको अनुपातमा बीमा शुल्क बाडेर लिने गरेका छन् । यस्तो छ म्यादी बीमाको प्रकृयाः बीमा समितिले म्यादी बीमा सम्पूर्ण जीवन बीमा कम्पनीहरूको लागि व्यवसाय गर्न सक्नेगरी ल्याएको हो । जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरूको संख्या १९ भएपनि पुलमा भने १७ वटा बीमा कम्पनीहरूले मात्र कारोवार गर्दै आएका छन् । लाईफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल र मेट लाईफ इन्स्योरेन्स कम्पनीले पुलमा सहभागिता जनाएका छैनन् । कम्पनीहरूले हाल समितिले निर्धारण गरेको पोर्टफोलियोमा जान आवश्यक नमानेकाले सहभागिता नजनाएको बीमा समितिले जनाएको छ । के हो त बीमा पुल ? बीमा पुल भनेको वैदेशिक रोजगारमा जाँदा अनिवार्य रुपमा गरिने एक प्रकारको बीमा हो । उक्त बीमाको अवधि छोटो समयको लागि नै हुन्छ । बीमा समितिले नेपाल सरकारसँग सहकार्य गरेर म्यादी बीमाका लागि केही महसुल तोकेको छ । अहिले जीवन बीमा गरेर बाहिर जानेहरूको संख्या ५ लाख नाघेको छ । एक जनाले ३४ सय सम्म तिर्ने भएकाले हाल सो पुलमार्फतमात्रै करिब दुई अर्ब रुपैयाँभन्दा बढी उठ्ने बीमा समितिले बताएको छ । ४ वटा फोकल कम्पनीले बीमा गराउने बीमा पुललाई संचालन गर्नको लागि ४ वटा फोकल कम्पनीहरू रहेका छन् । फोकल कम्पनीमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी, रिलायव लाईफ इन्स्योरेन्स कम्पनी, युनियन लाइफ इन्स्योरेन्स कम्पनी र सूर्या लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् । आगामी वर्ष सो कम्पनीको स्थानमा अन्य कम्पनी रहने किसिमले सम्झौता गरिएको छ । यस्ता छन् ४ फोकल कम्पनीहरूले गर्ने कार्य ४ कम्पनीहरूले जीवन बीमा कम्पनीहरूको तर्फबाट बीमा गराउने कार्यमा सहजीकरण गर्ने छन् । आर्जन भएको बीमा शुल्क बीमा कम्पनीले बाँटफाँट गरेर लिन पाउने छन् । कम्पनीहरूले बीमा शुल्क बाड्दा आफ्नो विजनेशलाई आधार बनाउन पाउने छन् । पुलमा रहेका बीमा कम्पनीहरूले आर्जन गरेको बीमा शुल्कको बाँटफाँट गर्दा आफ्नो लगानी अनुसार १ देखि १६ प्रतिशतको आधारमा कस्ले कति पाउने भनेर तोकिएको छ । यसरी गरिएको सम्झौता १ वर्ष कायम रहने छ । आगामी वर्षमा भने सम्झौतामा आवश्यकता अनुसार हेरफेर गरिने बीमा समितिको तर्क छ । बीमा पुल ल्याउनुको आवश्यकता बीमा समितिले बीमा पुलको योजना ल्याउनु अघि वैदेशिक रोजगारमा जानेहरूको बीमा गराउन कम्पनीहरूले तानातान गर्दै आएका थिए । सोही तानातानको क्रममा केही बिचौलियाहरू समेत बीमा क्षेत्रमा हावी भएको जानकारहरूले बताएका छन् । यस्तो अवस्थामा बीमा शुल्कमा कसैले धेरै तथा कसैले थोरै लिने गरेका थिए । यस्ता कुराले बीमा क्षेत्रमा असर नपुर्याओस भन्ने उदेश्यलेपनि पुलको स्थापना गरियो । बीमा समिति भन्छ अहिले बजार सुधारात्मक छ बीमा समितिले पुलको स्थापना पश्चात म्यादी बीमामा समेत सुधार भएको बताएको छ । हाल नियामक बीमा समितिलाई पनि आफ्नो नियमनमा सहज भएको पाइएको छ । बीमा समितिका अनुसार–बीमा क्षेत्रमा हामीले पुलको सुरुवात गरेपछि हाल अस्वस्थ प्रतिस्पर्धाको बारेमा बजारमा चर्चा हुन छाडेको छ । सोही बीमा बजार मर्यादित बन्दै गएको समितिको विश्वास छ ।
सिटिजन्स बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत समिर दाहालले देश छाडे
काठमाडौं । सिटिजन्स बैंक ईन्टरनेशनल लिको सहायक कम्पनी सि.वि.आई.एल क्यापिटलले आइतबार प्रेस विज्ञप्ती जारी गर्यो र भन्यो–यस संस्थाको अध्यक्ष रहेका समिर प्रसाद दाहालले आफ्नो व्यक्तिगत कारण देखाई संचालक पदबाट राजिनामा दिनु भएको कारण संस्थाको रिक्त रहन गएको अध्यक्ष पदमा संस्थाका संचालक पारस कुमार काफ्लेलाई बाकी अवधि सम्मका लागि अध्यक्षमा नियुक्ति गरेको छ । औपचारिक विज्ञप्तीमा नखुलाइएको तथ्य के हो भने उनले मातृ संस्था सिटिजन्स बैंक ईन्टरनेशनल लिमिटेडको सहायक प्रमुख कार्यकारी अधिकृत पद पनि त्यागेका छन् । उनले एउटा कम्पनीको अध्यक्ष र वाणिज्य बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत पद मात्र त्यागेनन्, देश नै छोडेका छन् । स्रोतका अनुसार उनी नेपाल छोडेर सपरिवार क्यानडा बसाई सरेका छन् । ‘सिटिजन्स बैंक स्थापनादेखि समिर यस बैंकमा आवद्ध थिए । सिविआईएल क्यापिटल स्थापनादेखि नै उनी प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए । सिटिजन्स बैंक र सिविआईएल दुबै संस्थामा उनको योगदान राम्रो थियो । उनले गरेको योगदानप्रति म धन्यवाद भन्न चाहान्छु’ सिटिजन्स बैंक इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले विकासन्युजसँग भने । करिव १७ वर्ष बैंकिङ्ग क्षेत्रमा विताएका र स्थापित बैंकको दोस्रो ठूलो जिम्मेवारी समालेका समिर दाहाल चार्टर एकाउन्टेन्ट पनि हुन् । उनी त्रिभुवन विश्व विद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरिरहेका थिए । उनले दुई महिनाअघि बैंकमा घर विदा लिएका थिए । त्यतिखेरा नै उनी क्यानडा गएका थिए । उनले उतैबाट बैंक र सि.वि.आइएल क्यापिटललाई राजीनामा पत्र इमेल गरेका हुन् । चार्टर एकान्टेन्टका लागि क्यानडामा धेरै राम्रो अवसर भएकोले पनि उनी नेपाल नफर्केने निर्णयमा पुगेको हुन सक्ने बताइएको छ । समिर जत्तिको क्षमतावान व्यक्तिले किन नेपाल छोडे ? किन उनले आफू र आफ्नो परिवारको भविष्य नेपालमा भन्दा क्यानडामा राम्रो देखे ? त्यो त उनले नै बताउने विषय भयो । तर समिर जस्तै नेपालको भविष्यप्रति निराश भएर विकसित देशमा बसाई सर्ने क्षमतावान युवा पुस्ताप्रति नेपाल सरकारले कहिले सोच्ने ? यो देशका नीति निर्माता तथा शासक वर्गले सोच्नुपर्ने भएकाे छ ।
महाकाली तर्यो एनआईशी एशिया बैंक, नयाँ तीन शाखा थपिए, शाखा २९८ पुग्यो
काठमाडौं । शाखा सञ्जाल र व्यवसायकोे आधारमा नेपालकै सबैभन्दा ठूलो एनआईसी एशिया बैंकले आफ्ना थप तीन शाखा विस्तार गरेको छ । ग्रामीण तथा दुर्गम स्थानहरु साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउँदै आएको एनआईसी एशिया बैंकले सोलखुम्बुको सल्लेरी, कन्चनपुरको दोधारा चाँदनी र खोटाङको दिक्तेलमा नयाँ शाखा संचालनमा ल्याएको हो । बैंकले सञ्चालनमा ल्याएको सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड–५, सल्लेरी शाखाको उद्घाटन सोही नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले गरेका थिए । त्यस्तै, कञ्चनपुर जिल्ला महाकाली–६, दोधारा चाँदनी शाखाको उद्घाटन मेयर वीरबहादुर सुनार तथा खोटाङ्ग जिल्ला दिक्तेल रुपाकोट मझुवागढी–१ दिक्तेलस्थित दिक्तेल शाखाको उद्घाटन मेयर दीपनारायण रिजालले गरेका थिए । यी शाखाहरुसँगै बैंकका २९८ शाखा पुगेका छन् भने बैंकले ३५६ एटिएम, ५८ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । हाल बैंकका करिब १८ लाख ग्राहक रहेको समेत बैंकले जनाएको छ ।
घोषणाको ९ महिनापछि परिसंघले उठायो सामाजिक सुरक्षा कार्यक्रमको व्यवस्थामाथि प्रश्न, कहाँ कहाँ चुक्दैछ कार्यक्रम ?
काठमाडौं । सरकारले ल्याएको सामाजिक सुरक्षा कोषमा भएको व्यवस्थामाथि देशकै ठूला औद्योगिक घरानाहरुको संस्था नेपाल उद्योग परिसंघले प्रश्न उठाएको छ । गत मंसिर ११ गते घोषणा भएको उक्त कार्यक्रमलाई स्वागत गरेको परिसंघले ९ महिनापछि यसमा समस्या रहेको भन्दै कार्यान्वयनमा आएका समस्या समाधानका लागि कार्यदल नै गठन गरेर सुझाव दिने घोषणा समेत गरेको हो । परिसंघको आयोजनामा राजधानीमा आइतबार आयोजित परिसंघमा परिचर्चा नामक कार्यक्रममा बोल्दै परिसंघका अध्यक्ष शतिसकुमार मोरले कार्यक्रमअन्तर्गत योगदान गर्ने श्रमिक योगदानकर्ताले पाउने प्रतिफल र वित्तीय सुरक्षाबारे ठूलो गृहकार्य गर्नुपर्ने आवश्यकता परिसंघले देखेको बताउँदै यसबारे लिखित सुझाव नै प्रस्तुत गर्ने बताएका हुन् । उनले सामाजिक सुरक्षा कोषले योगदान सुरु गरिसक्दा समेत लगानी नीति नबनाएको भन्दै यथाशीघ्र लगानी नीति बनाउनुपर्ने बताए । त्यस्तै, श्रमिकहरुलाई सो कार्यक्रम आकर्षित गर्नेतर्फ पनि सामाजिक सुरक्षा कोषले थप गृहकार्य गर्नुपर्ने उनको भनाई थियो । यद्यपि संघले सरकारले ल्याएको सामाजिक सुरक्षा कार्यक्रमको कार्यान्वयनका लागि प्रतिवद्धता भने जनाएको छ । सो अवसरमा सामाजिक सुरक्षा तथा श्रम विषयमा कार्यपत्र प्रस्तुत् गर्दै परिसंघका उपाध्यक्ष कृष्ण प्रसाद अधिकारीले कोषको लगानी नीति, विदेशी कामदार र त्यसमा पनि सिजनल रुपमा आउने भारतीय कामदारको विषय, अन्य दैनिक ज्यालादारी कामदारको विषय, बीमा सुविधा, स्वास्थ्य सुविधा, अन्य कोषमा योगदान गरिरहेका श्रमिकको विषय लगायतका धेरै विषयमा अझै अन्याेल कायम रहेकाले यसमा सरकार र कोषले स्पष्ट पार्नु पार्ने बताए । परिचर्चामा उठेका विषयमा बोल्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव विनोद केसीले सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा परिसंघ र अन्य सरोकारवालाहरुको सहयोग महत्वपूर्ण रहेको बताए । उनले भने सामाजिक सुरक्षा कार्यक्रमलाई आकर्षक र प्रतिफलमुखी बनाउँदै रोजगारदातालाई कम भार पर्ने गरि काम गर्न सरकार तयार छ । नयाँ कार्यक्रम र कोष भएकाले यसमा देखिएका व्यवहारिक समस्या समाधानमा सरकार हरदम तयार छ । सो अवसरमा सामाजिक सुरक्षा कोषका कार्यकारी प्रमुख कपिलमणि ज्ञवालीले कोषमा दर्ता हुने श्रमिक तथा रोजगारदाताको संख्या आजसम्म ५१ हजार हाराहारीमा श्रमिक र ५ हजारको हाराहारीमा रोजगारदाता प्रतिष्ठान दर्ता हुन आएको जानकारी गराए । कोषले छिट्टै लगानी नीति ल्याएर थप प्रतिफलको विषयमा स्पष्ट पार्ने पनि कार्यकारी निर्देशक ज्ञवालीले उल्लेख गरे । श्रम विभागका महानिर्देशक सनत केसीले श्रमिक र रोजगारदाता बीचको सम्बन्ध सुमुधुर राखी उत्पादकत्व बढाउन नीतिगत सुधारका लागि विभाग तयार रहेको प्रतिवद्धता व्यक्त गरे । सोही अवसरमा विभिन्न उद्योगका मानव शंसाधन विभाग प्रमुखहरुले सामाजिक सुरक्षा कोष कार्यान्वयमा देखिएका व्यवहारिक कठिनाइ बारे बाेलेका थिए । कोषले उपलव्ध गराउने बीमा, आश्रित परिवार सुरक्षा योजना लगायतका विषयमा थप स्पष्ट गर्नु पर्ने उनीहरुको भनाई थियो । देशका सम्पूर्ण श्रमिकहरुको सामाजिक सुरक्षाको ग्यारेन्टी गर्ने भन्दै आएको सामाजिक सुरक्षा कोषप्रति पछिल्लो समय श्रमिकहरुकै आकर्षण देखिएको छैन । कार्यक्रमको व्यवस्थाले योगदानलाई बचतको रुपमा नभई करको रुपमा लिएको जस्तो देखिएपछि यसमा आकर्षण नदेखिएको हो । तर सरकारले यसलाई बाध्यकारी रुपमा कार्यान्वयन गर्ने नभए त्यस्ता संस्थाहरुलाई सरकारी सुविधाबाटै बञ्चित गर्ने धम्की दिएको छ । सामाजिक सुरक्षा कोषमा भ्वाङ नै भ्वाङ, बचतकर्ताले संकटको बेला गर्जो टार्न पनि नपाउने
प्रभु मनि ट्रान्सफरको चाडपर्व अफर, प्रभु हेलिकप्टरमा कालिञ्चोक घुम्ने अवसर
काठमाडौं । प्रभु मनि ट्रान्सफरले सदाझै दशै, तिहार तथा छठ पर्वको अवसरमा आफ्ना ग्राहकहरुलाई लक्षित गरी ‘चाडपर्वको उमंग, रमाऔ प्रभु संग’ भनेर पर्वलाई उल्लासमय बनाउन नयाँ योजना ल्याएको छ । प्रभु मनि ट्रान्सफरबाट कारोबार गर्ने हरेक व्यक्ति यस योजनामा सामेल गराउने भएको छ । यस योजनामा एक जोडी भाग्यशाली विजेताले प्रभु हेलिकप्टरमा कालिञ्चोक भ्रमण गर्ने अवसर पाउने छन् । अन्यले विभिन्न उपहारहरू टिसर्ट, क्याप र प्रभुटीभी सेटटप बक्स प्राप्त गर्नेछन् । यस योजनाअन्तर्गत नेपाल बाहिरबाट नेपालमा रकम पठाउने ग्राहकहरू प्रत्यक्ष लाभवित हुनेछन् । विदेशबाट नेपालमा रकम पठाउन तथा प्राप्त गर्नको लागि प्रभु मनि ट्रान्सफर विश्वासिलो माध्यम बनेको छ ।
वृहत यौनिकता शिक्षा अनिवार्य गर्न सरोकारवालाहरुको माग
काठमाडौं । वृहत यौनिकता शिक्षा अनिवार्य गर्न सरोकारवालाहरुको माग गरेका छन् । नेपाल युवा संस्था सञ्जाल, आयोनको पहलमा तयार पारिएको बृहत यौनिकता शिक्षा सम्बन्धि सुझावपत्र नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्र्तगत पाठ्यक्रम विकास केन्द्रलाई बुझाउने गरी सरोकारवालाहरुबीच व्यापक छलफल भएको छ । उच्च माध्यामिक तहसम्म बृहत यौनिकता शिक्षा अनिवार्य गरिनु पर्नेमा विशेषगरी युवाको मुद्धामा काम गर्दै आएका सामाजिक संस्थाहरुले जोड दिएका छन् । बृहत यौनिकता शिक्षाले बालबालिका र किशोर उमेर समुहका सबैलाई शारिरिक तथा मनोबैज्ञानिक असरहरुबाट जोगिन मद्धत गर्ने र यसकाले उनिहरुको सर्वाङ्गिण विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरामा सबै सरोकारवालाहरु एकमत भएका छन् । यसैगरी युवाहरुलाई व्यक्तिगत सम्बन्धमा, शिारीरिक र संबेगात्मक रुपमाआफनो यौनिकतालाई निर्धारण गर्न तथा यस बारेमा स्पष्ट जानकारी हासिल गर्दै आफ्नो यौन जीवन सुखमय बनाउनका लागि उनिहरुमा यौन सम्बन्धी ज्ञान, सीप, अवधारणा र मान्यताको विकास गर्न मद्धत गर्नेमा सरोकारवालाहरुले धारणा राखेका छन् । यसका साथै यौनिकता, युवाहरुलाई प्रदानगरिने सुचनामा मात्र सिमित नहुने र यसका लागि मनोसामाजिक परामर्स पनि आवश्यक पर्ने हुँदा सरोकारवालाहरुले एक विद्यालय एक नर्स तथा एक मनोसामाजिक परामर्शदाताको व्यवस्था मिलाइनु पर्नेमा पनि जोड दिएका छन् । कार्यक्रममा प्रमख अतिथिको रुपमा उपस्थित प्रतिनिधि सभा अन्र्तगत शिक्षा तथा स्वास्थ्य संसदिय समितिकी सदस्य माननीय मनकुमारी जिसिले वृहत यौनिकता शिक्षाले युवाहरुको संबेगात्मक र सामाजिक विकास गर्दै उनिहरुलाई सकारात्मक दृष्टिकोण र मान्यता सहितको जीवनोपयोगी सीप हासिल गर्न उचित अवसर प्रदान गर्ने कुरामा आफु पनि विश्वस्त रहेकोे वताउदै यस प्रकारको ज्ञान पाठ्यक्रममा अनिवार्य राख्न लगाउन आफ्नो तर्फबाट पहलगर्ने प्रतिबद्धता व्यक्त गरे । उनले यौन शिक्षामा खुलेर पठनपाठन नहुने र यसलाई लुकाउदै लानाले यसबाट किशोर किशोरी तथा बालबालिकामा झन समस्याहरु देखा परेको दृष्टान्त सुनाउदै बृहत यौनिकता शिक्षालाई अनिवार्य शिक्षाका रुपमा लागु गर्नुपर्ने कुरामा आफु सहमत रहेको र यसबारे सरकारका सम्बन्धित निकायलाई जानकारीका लागि पहल गर्ने बताए । अनुसन्धानकर्ता पूण्य भण्डारीले बृहत यौनिकता शिक्षाको अपरिहार्यता र यसका विविध सवालहरुका बारेमा आफ्नो अनुसन्धान प्रतिवेदन प्रस्तुत गर्दै जानकारी गराएका थिए । आयोनको सहकार्यमा तयार पारिएको बृहत यौनिकताशिक्षा सम्बन्धीतयार पारिएको सुझावपत्रलाइ केही दिनमै पाठ्यक्रम विकास केन्द्रलाई बुझाइने आयोनका अध्यक्ष जगदिश ऐरले जानकारी दिए ।