विकासन्युज

जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि धीरबहादुर र राममायालाई

खलङ्गा । जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि पुरुषतर्फ जुम्लाका धीरबहादुर बुढाले प्रथम भइ प्राप्त गरेका छन् । दोस्रो पटक आयोजना गरिएको म्याराथनमा जुम्लाकै धीरेन्द्र भण्डारीले दोस्रो स्थान हासिल गर्न सफल भएका हुन् भने त्रिभुवन आर्मी क्लबका देवराज महतारा तेस्रो स्थान हासिल गर्न सफल भएको कर्णाली स्पोट्स क्लब जुम्लाले जनाएको छ । क्लबका अध्यक्ष सरोज शाहीका अनुसार बुढाले जुम्लादेखि रारा तालसम्मको ४९ किलोमिटर दूरी पाँच घण्टा १३ मिनेट ३९ सेकेण्डमा पूरा गरेका छन् । यस्तै दोस्रो स्थान हासिल गरेका भण्डारीले पाँच घण्टा १९ मिनेट ३८ सेकेण्डमा निर्धारित समय पूरा गरे भने त्रिभुवन आर्मी क्लबका महताराले पाँच घण्टा २४ मिनेटमा पूरा गरेका हुन् । यस्तै महिलातर्फको प्रतियोगितामा कर्णाली स्पोट्स क्लब जुम्लाकी राममाया बुढाले उपाधि प्राप्त गरेकी छिन् । क्लबकै मञ्जु रावत दोस्रो र २४ नम्बर बाहिनी जुम्लाकी रोजिना भण्डारीले तेस्रो स्थान हासिल गरिन् । मुगुको रारा तालबाट अध्यक्ष शाहीले प्रथम स्थान हासिल गरेकी बुढाले छ घण्टा ४६ मिनेट ३५ सेकेण्डमा निर्धारित समय पूरा गरेको बताए । यसैगरी, रावतले छ घण्टा ४६ मिनेट ४० सेकेण्डमा र भण्डारीले छ घण्टा ४६ मिनेट ५७ सेकेण्डमा निर्धारित दूरी पार गरेका थिए । सो प्रतिष्पर्धामा रहेका ६३ जना मध्ये ६१ जनाले दुरी पार गरे । दोस्रो पटक आयोजना गरिएको म्याराथनमा पहिलो पाँच जना विदेशी खेलाडीले समेत सहभागिता जनाएका थिए । म्याराथनका प्राविधिक संयोजक तथा एथ्लेटिक्स धावक हरिबहादुर रोकायाले जुम्ला–रारा अल्ट्रा म्याराथनको पुरुष र महिलातर्फ उत्कृष्ट छ जना नेपाल टेल रेस सिरिजको फाइनलमा प्रवेश गरेको बताएका छन् । प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीलाई जनही रु ७५ हजार, ५० हजार र २५ हजार पुरस्कार र मेडल प्रदान गरिएको आयोजकले जनाएको छ । रासस

सुजल फूड्सले ल्यायो वफर रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा

काठमाडौं । सुजल फूड्सले वफर रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ । चोकोफन रोल्स नेपालमै पहिलो पटक उत्पादन भएको बेक्ड वाफ़र रोल्स हो । सुजल फुड्सका अनुसार यो रोल्स को बाहिरी भाग अत्यन्तै क्रिस्पी छ र भित्रि भाग क्रिमी रहेको हुन्छ जुन क्रिम अत्यन्तै उत्कृष्ट र स्वादिलो रहेको जनाएकाे छ । यस चोकोफन रोल्स, क्रंची वाफ़र र स्वादिस्ट फ्लेभर युक्त क्रिमको समिश्रण भएकोले, यो खादा मुखमा नै क्रिम पग्लिन्छ र यसको उत्कृष्ट स्वादले आनन्दको अनुभूति प्रदान गर्नसक्ने जानकारी दिँदै, यसलाई चिया कफीसंग, डिजर्टमा, आइसक्रिमसंग पनि उपभोग गरेर यसको स्वादको भरपुर मज्जा लिन सकिने सुजल फुड्सले जनाएको छ । अन्तराष्ट्रिय गुणस्तर को स्वादिस्ट फ्लेभर प्रयोग गरि संसारकै अत्याधुनिक वाफ़र रोल्स उत्पादन प्रविधि तथा अत्याधुनिक मसिनेरी बाट स्वस्थकर वातावरणमा उत्पादित चोकोफन रोल्स गुणस्तरिय छ । कम्पनीले चोकोफन रोल्स आकर्षक बक्स प्याकेजिंगमा ल्याएको हो, इम्बोस्ड र वार्निश युक्त प्याकेजिंगमा यसको विशेषताहरु तथा फ्लेभरलाइ अतिनै आकर्षक तथा कलात्मक ढंगले प्रस्तुत गरिएको छ जुन हेर्दानै खाउ खाउ लाग्ने छ। एउटा बक्समा दस पीसको दुईवोटा ट्रे रहेको छ जसलाई मेटालिक र्यापरले प्याक गरिएको छ, त्यसैले यसको उपभोग गर्दा यो स्वस्थकर तथा यसको क्रिस्पीनेस यथावत रही रहन्छ । चोकोफन रोल्स उत्पादन भएको मितिले १२ महिना भित्र उपभोग गर्न मिल्दछ । १०० ग्रामको बक्सको चोकोफन रोल्स मात्र रु १२० मा बजारमा उपलब्ध छ । नेपाली कन्फेक्सनरी जगतको नम्बर १ ब्रान्ड चोकोफन अन्तर्गत ल्याइऐको चोकोफन रोल्सको क्रिस्पी वाफ़र तथा स्वादिस्ट क्रिमको अनुपम स्वादले हरेक उपभोक्ताको मन जित्ने र उनीहरु माझ लोकप्रिय हुने कुरामा सुजल फूड्सले विश्वास लिएको छ । फूड्सले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आफ्ना विभिन्न उत्पादनहरु अन्तर्राष्ट्रिय बजारमा बिक्री वितरण गर्दै आएको छ र यस नयाँ उत्पादन चोकोफन रोल्सलाई पनि छिट्टै नै अन्तराष्ट्रिय बजार मा निर्यात गर्ने लक्ष्य राखेको छ ।

काष्ठमण्डप पुनःनिर्माणको आधा काम सम्पन्न, अनुमानित लागत १९ करोड

काठमाडौं । काष्ठमण्डप पुनःनिर्माणको काम हालसम्म ५० प्रतिशत सम्पन्न भएको छ । लक्ष्यअनुरुप नै काम भइरहेकाले तोकिएकै समयमा काम सक्ने जनाइएको छ । निर्माणअन्तर्गत अहिले मुख्य चारवटा थाम राखी बीचमा गारो लगाउने काम सकिएको काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले बताएका छन् । निर्माणमा अहिले दैनिक ३० जना कामदारले नियमित रुपमा काम गरिरहेका छन् । शुरुको समयमा निर्माणका लागि काठ, इँटाजस्ता निर्माण सामग्री समयमा उपलब्ध गराउन नसक्दा पनि ढिला भएको थियो अब त्यो अवस्था आउँदैन अध्यक्ष शाक्यले भने । विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षति पुगेको ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माणका लागि अघिल्लो वैशाख ३१ गते क्षमापूजा गरिएको थियो । गत कात्तिक २२ गते शुभारम्भ पूजा गरेर विधिवत् रुपमा यस सम्पदाको पुनःनिर्माण शुरु भएको हो । तीन वर्षभित्र पुनःनिर्माण सक्ने लक्ष्यका साथ काष्ठमण्डप पुनःनिर्माणले गति लिएको छ । चार वर्षभित्र निर्माण कार्य सक्ने गरी सातौँ शताब्दीको काष्ठमण्डप पुनःनिर्माणको काम भइरहेको छ । नेपालको राजधानी काठमाडौँको नाम ‘काष्ठमण्डप’बाट नै रहेको इतिहासमा उल्लेख छ । प्रयोग गरिएका चारवटा थाममध्ये तीन वटा नयाँ प्रयोग गरिएको हो भने एउटा थाम पुरानै प्रयोग गरिएको समितिले जानकारी दिएको छ । बिसेत नामका मानिसले कल्पतरुलाई चिनेर नियन्त्रणमा लिई एउटा रूख उपलब्ध गराउने वाचा गराएर छाडेपछि कल्पतरुले सालको काठ दिएको, सातौँ शताब्दीमा राजा लक्ष्मीनरसिंह मल्लले त्यसैबाट मूर्तिविहीन मरुसतः बनाएको र पछि यसैलाई काष्ठमण्डप भन्न थालिएको हो । अध्यक्ष शाक्यले भने, “२०७६ सालको असार मसान्तसम्ममा भुइँ तलाको कार्य सम्पन्न गर्ने लक्ष्य रहेको थियो सोहीअनुरुप काम अघि बढेको छ त्यसैले तोकिएको समयमानै काम हुनेमा कुनै आशङ्का गर्नुपदैन ।” यस ऐतिहासिक सम्पदा पुनःनिर्माणको लागि रु १९ करोड खर्च लाग्ने अनुमान गरिएकोमा काठमाडौँ महानगरपालिकाले पुनःनिर्माण समितिलाई रु पाँच करोड ५० लाख सहयोग प्रदान गरिसकेको छ । थोरै यसअघिकै पुराना काठको प्रयोग भए पनि नयाँ काठ भने टिम्बर कर्पोरेशन अफ नेपालसँग लिखित सम्झौता गरी आवश्यकता अनुरुप ल्याइएको छ । रासस

मेलम्चीका श्रमिक र मन्त्रालयबीच वार्ता, आन्दोलनका कार्यक्रम स्थगित

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पूर्व ठेकेदार कम्पनी सीएमसी दि रेभेनाबाट पीडित नेपाली श्रमिक, स्थानीय भेण्डर तथा सप्लायर्स कम्पनीका प्रतिनिधिहरु र खानेपानी मन्त्रालयका पदाधिकारीहरुबीच भएको वार्ताले आन्दोलनका सबै कार्यक्रम स्थगित गर्ने सहमति गरेको छ । मेलम्ची आयोजनामा देखिएको अन्यौलता अन्त्य गर्न आज आइतबार भएको वार्तामा आन्दोलनका सबै कार्यक्रमहरु स्थगित गर्ने सहमति भएको हो । मन्त्रालयका सचिव माधव बेल्बासेको नेतृत्वमा भएको वार्तामा नेपाली श्रमिकहरुलाई दिईने राहत स्वरुपको रकममा अन्य कुनै शीर्षकको रकम छुटेको भए श्रमिकहरुले प्रमाण स्वरुप एकमुष्ट रुपमा प्राविधिक समितिमा निवेदन दिने र उक्त समितिले छानविन गरी श्रमिकको श्रेणी अनुसार सिद्धान्त तय गरी मेलम्ची खानेपानी विकास समितिलाई सिफारिश सहित प्रतिवेदन दिने सहमति भएको छ । यो कार्य निवेदन दिएको दुई महिनाभित्र सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ । सम्झौतामा नेपाली श्रमिकहरुलाई दिईने राहत स्वरुपको रकममा दाबी गरेका ८ सय २८ श्रमिक मध्येबाट छुटेका श्रमिकहरुले पाउनुपर्ने रकमको प्रमाण सहित प्राविधिक समितिमा एकमुष्ट निवेदन दिने र उक्त समितिले छानविन गरी भुक्तानीका लागि मेलम्ची खानेपानी विकास समितिमा सिफारिश सहित प्रतिवेदन पेश गर्ने उल्लेख छ । निवेदन दिएको २ महिनाभित्र रकम उपलब्ध गराउन सरकारलाई सिफारिश गर्ने सम्झौता भएको छ । त्यस्तै श्रमिकहरुले गरेको विरोध प्रदर्शनमा घाइते भएका श्रमिकहरुको निशुल्क उपचारको व्यवस्था सरकारले मिलाउने र मेलम्ची आयोजना सञ्चालन गर्न सहयोग गर्ने । यसको लागि जारी बन्द, हड्ताल, नारा जुलुस आदि कार्य आजैदेखि स्थगित गर्ने सम्झौतामा लेखिएको छ । यसैबीच, भेण्डर तथा सामान सप्लायर्स कम्पनीहरुको समस्या वार्ताद्धारा समाधान गर्न प्रक्रिया अघि बढाउने र भेण्डर तथा सप्लायर्सहरुको तर्फबाट पनि आन्दोलन र विरोधका कार्यक्रम सबै स्थगित गर्ने समझदारी भएको छ । वार्तामा मन्त्रालयको तर्फबाट सचिव बेल्बासे, उपसचिव गुणराज श्रेष्ठ, प्राविधिक समितिका तर्फबाट सदस्य सचिव कमलराज श्रेष्ठ, सिएमसी भेण्डर तथा सप्लायर्स संघर्ष समितिका संयोजक विष्णुमणि आचार्य, सदस्य किरण थापा, श्रमिकहरुका तर्फबाट देवीरमण अधिकारी, रमेश नेपाल, विष्णु रायमाझी, टिकाजंग रायमाझी र गुणाकर न्यौपाने रहेका थिए । वार्तामा सहजीकरणको भूमिका ह्योल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम सञ्चालन समितिका अध्यक्ष उपेन्द्र तामाङ र उपाध्यक्ष चिरन तामाङले गर्नुभएको थियो । मन्त्रालयका महाशाखा प्रमुखको नेतृत्वमा केही दिन अघि ६ सदस्यीय प्राविधिक समिति गठन भएको थियो ।

मुक्तिनाथ जाँदै गरेको भारतीय बस दुर्घटना, २७ यात्रु घाइते

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आज बिहान भारतीय बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । मुक्तिनाथ जाँदै गरेको युपिबीपी ४९९५ नं को बस अनियन्त्रित भई राजमार्ग छेउ पल्टिँदा बसमा सवार २७ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा घाइतेमध्ये १२ जनालाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको र बाँकी सबै डिस्चार्ज भइसकेका छन् । घाइतेमध्ये छ जनाको अवस्था मध्यम रहेको छ । तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । रासस

प्रतिकूल मौसमका कारण हवाई उडान ठप्प, सयौँ पर्यटक लुक्लामै अलपत्र

सोलुखुम्बु । तीन दिनदेखि मौसम प्रतिकूल बन्दा सोलुखुम्बुको लुक्लामा सयौं विदेशी पर्यटक अलपत्र परेका छन् । खुम्बु क्षेत्र भ्रमणमा आएर काठमाडौँ फर्कने करिब ३०० भन्दा बढी पर्यटक लुक्लामा नै रोकिएको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख इमानाथ अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार शुक्रबारदेखि मौसम प्रतिकूल हुँदा पर्यटक अलपत्र परेका हुन् । शुक्रबार २० वटा उडान तालिका भए पनि कुनै उडान हुन नसकेको विमानस्थल कार्यालयले जनाएको छ ।त्यस्तै, शनिबार २५ वटा उडान तालिकामध्ये पाँच वटामात्रै उडान भएको थियो भने आइतबारका लागि ३० वटा उडान तालिका भए पनि एउटै उडान हुन नसकेको प्राधिकरण प्रमुख अधिकारीले बताए । आइतबारका लागि तारा एयरको १५ सीताको १० र समिटकोे पाँच गरी ३० वटा उडान तालिका रहेको थियो । बाक्लो हुस्सुका कारण हेलिकप्टरले समेत उडान भर्न नसकेपछि थप समस्या भएको छ । निश्चित समय तालिका मिलाएर आएका पर्यटक बढी मारमा परेका छन् । सगरमाथा क्षेत्र भ्रमणमा आउने पर्यटकले सबैभन्दा बढी हवाई सेवा प्रयोग गर्छन् । खुम्बु क्षेत्रसम्म सडक पहुँच नपुगेका कारण पनि यात्रुका लागि हवाइजहाजको विकल्प कम हुन्छ । एक दिनको पैदलयात्रा पछि मात्र सडक मार्ग प्रयोग गर्न सकिने भए पनि बर्खाको समयमा करिब दुई दिनको पैदल हिँड्नु पर्नेहुन्छ । विमानस्थलमा हवाइजहाज नभए हेलिकप्टर प्रयोग गर्न सकिने भए पनि बाक्लो हुस्सुका कारण थप समस्या भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । नेपाल भ्रमणमा आउने पर्यटकको एक प्रमुख गन्तव्य सगरमाथा क्षेत्र पर्छ । त्यसैले यो मौसममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट तेञ्जिङ हिलारी विमानस्थल लुक्ला आउने पर्यटकको चाप अत्याधिक हुन्छ । सोलुखुम्बुको माथिल्लो क्षेत्र खुम्बुमा यो बेला मौसम अनुकूल हुँदा दैनिक ३०० भन्दा बढीसम्म पर्यटक आउने गर्छन् । रासस

नेपालमा पहिलोपटक नाष्टमा ग्राउण्ड स्टेशन निर्माण सम्पन्न

ललितपुर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नाष्ट)मा नेपालले पहिलोपटक निर्माण गरेको भूउपग्रह ‘नेपाली स्याट–१’ बाट सूचना र तस्वीर सङ्कलन गर्न सूचना प्रवाह गर्ने माध्यमअर्थात् ग्राउण्ड स्टेशन निर्माणको काम सम्पन्न भएको छ । नाष्टले गत बिहीबारबाट सो ग्राउण्ड स्टेशनको सहायतामा भूउपग्रहको जानकारी लिन शुरु गरेको हो । नाष्टको कार्यालयमा जडान गरिएको रेडियो उपकरण र सफ्टवयेरको सहायताबाट सो भूउपग्रहको तथ्याङ्क लिन शुरुआत गरिसकेको नाष्टका प्रवक्ता सुरेशकुमार ढुङ्गेलले जानकारी दिएका छन् । “नेपाली स्याट–१ ले एक दिनमा १५ देखि १६ पटक पृथ्वीको परिक्रमा गर्ने हुँदा सो भूउपग्रह नजिक आएको बेला ट्रयाक गर्ने गर्छौं”, ढुङ्गेलले भने, “जापानस्थित क्यूटेक विश्वविद्यालयले विगतमा निर्माण गरिसकेको ‘वर्ड–टु’ परियोजनाका अन्य भूउपग्रहको जानकारी पनि सो ग्राउण्ड स्टेशनबाट लिन सकिने भएको छ ।” सो ग्राउण्ड स्टेशनले नाष्टलाई गत भदौ २७ गते नेपाली स्याट–१ पूर्वी नेपालको एक छेउ हुँदै पास गरेको जानकारी दिइसकेको छ । नाष्टले सो ग्राउण्ड स्टेशनको सहयोगमा नेपालको सिधा आकाशमा आएका जुनसुकै भूउपग्रह वा नेपालसँग नजिक भएर गएका भूउपग्रहको जानकारी लिन सक्ने भएको छ । आफ्नो कार्यालयमा चार वटा सफ्टवेयर जडान गरी ग्राउण्ड स्टेशनबाट जानकारी हासिल गरिरहेको नाष्टका इञ्जिनीयर रोशन पाण्डेले जानकारी दिए । सो सफ्टवेयरको सहायताबाट नेपाली स्याट–१ कहाँ छ, कार्यालयमा जडान गरिएको एन्टिनाको अवस्था कता फर्केको छ सबै थाहा पाउन सकिने उनले बताएका थिए । आज नेपाली स्याट–१ छ पटक नेपालको आकाशमा आउने भएको छ । पहिलो पटक बिहान ३ बजेर ७ मिनेट देखि ३ बजेर १२ मिनेट दोस्रो बिहान ४ बजेर ४२ मिनेटदेखि ४ बजेर ५१ मिनेट, तेस्रो बिहान ६ बजेर २१ देखि ६ बजेर २४ मिनेट चौथो साँझ ६ बजेर ९ देखि ६ बजेर २४ मिनेट पाँचौं बेलुका ७ बजेर ४१ मिनेट देखि ७ बजेर ५० मिनेट र अन्तिम राति ९ बजेर १९ मिनेट देखि ९ बजेर २५ मिनेटसम्म भूउपग्रह आउने जानकारी आइतबार हासिल गरिसकेको नाष्ट स्रोतले जानकारी गरायो । भूउपग्रह नेपाली आकाशमा आउनुपूर्व नाष्टको सो सम्पर्क कार्यालयमा जडान गरी राखिएको कम्प्युटरमा सङ्केत वा भविष्यवाणी आउँछ । नाष्टको माथिल्लो तलामा जडान गरी राखिएको ऐन्टिना त्यसपछि घुम्छ । केही बेरपछि ध्वनि आउँछ र केही समयमा सो भूउपग्रह नेपाली आकाशमा आएको जानकारी हासिल गर्न सकिने नाष्टका प्राविधिकले बताए । सो भूउपग्रहमा जडान गरी राखिएको ब्याट्रीको क्षमता चार भोल्ट, सो ब्याट्रीमा रहेको करेन्टको क्षमता २३४ मिलि एम्पाएर, ब्याट्रीको तापक्रम नौ डिग्री सेल्सियन रहनुका साथै त्यसमा पाँच वटा सोलार पाता जडान गरी राखिएको नाष्टका सहायक अनुसन्धानकर्ता दिबोध लामिछानेले जानकारी दिएका हुन् । यसरी, नेपालले पहिलोपटक प्रक्षेपण गरेको सो भूउपग्रहका कारण नेपाललाई ठूलो भूउपग्रह निर्माण गर्न सहयोग पुग्ने नाष्टका प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले बताएका छन् । देशको पहिलो भूउपग्रह नेपाली स्याट १ ले जापानमा पहिलो पटक सूर्य र पृथ्वीको तस्वीर खिचिसक्यो । उक्त भू उपग्रह गत वैशाख ४ गते अमेरिकाबाट प्रक्षेपण भएको थियो । जापानस्थित क्यूटेक विश्वविद्यालयमा हाल अध्ययनरत नेपाली विद्यार्थी हरिराम श्रेष्ठले सो ‘वर्ड–थ्री’ परियोजनाका कारण हाल ‘वर्ड–फो’ निर्माणको प्रारम्भिक चरण अध्ययन गर्ने मौका पाएको ढकालले जानकारी दिएका छन् । अति बादल र बढी घामका कारण जापानमा पहिलोपटक नेपाली स्याट–१ ले खिचेको तस्वीर धमिलो कैद भयो । सो भूउपग्रहले सूर्य र पृथ्वीको तस्वीर मात्रैै कैद गरेको होइन चीन र भारत सिमानाका तस्वीर पनि कैद गरेको नाष्टले बताएको छ । अनुभवी दक्ष जनशक्तिको अभाव, प्रशासनिक विधि र सार्वजनिक खरिद ऐनमा समय खर्च गर्नुपरेकाले तोकिएको समयमै ग्राउण्ड स्टेशन निर्माण गर्न नसकिएको नाष्टका प्राविधिक बताउँछन् । नाष्टले ग्राउण्ड स्टेशन निर्माणको लागि सात देशबाट आवश्यक सामग्री सङ्कलन गर्नुपरेको बताइएको छ । सो भूउपग्रह पृथ्वीबाट ४०० किलोमिटर माथि आकाशमा रहेको छ । जसमा त्यसबारे सम्पूर्ण जानकारी हासिल गर्न पाँच मेगा पिक्सल क्यामेरा जडान गरिएको छ । नेपाली स्याट १ का साथै श्रीलङ्काको भूउपग्रह रावण–१ र जापानको भूउपग्रह युवुसु पनि एकै साथ प्रक्षेपण भएका थिए । नेपाल सरकारले सन् २०१७ देखि उक्त भूउपग्रह निर्माणको योजना अघि बढाएको जानकारी दिएको छ । सो भूउपग्रहले गत असार २ गतेदेखि पृथ्वीको परिक्रमा गर्न शुरु गरेको थियो । पृथ्वीको परिक्रमा गर्नुपूर्व सो भूउपग्रह डेढ महिनासम्म अन्तरराष्ट्रिय अन्तरिक्ष कक्ष आइएसएसमा रह्यो । उक्त भूउपग्रह पहिलोपटक पृथ्वीमा छाडिएको दिन नाष्टको श्रोतागण कक्षमा जापानबाट जापानी अन्तरिक्ष अन्वेषण संस्था (जाक्सा)ले प्रत्यक्ष प्रसारण गरेको थियो । सो दिन नाष्टमा प्रत्यक्ष प्रसारण गराउन जाक्साका केही विज्ञ पनि नेपाल आएका थिए । सो भूउपग्रह प्रक्षेपण भएपछि पहिलो चरणमा भुटान अनि नेपाललाई जानकारी दिएको नाष्टका अन्तरिक्षयान प्रविधि (एरोस्पेस) इञ्जिनीयर मिलनकुमार न्यौपानले जानकारी दिएका हुन् । तीनवटै सो भूउपग्रह २० मिनेटको अन्तरमा नेपाल, श्रीलङ्का र जापान गरी प्रक्षेपण भएका थिए । सो भूउपग्रहको तौल एक किलो ३०० ग्राम, यसको आकार एक हजार घनत्व, यसमा छ वटा ब्याट्री जडान गरिएकाले सो भूउपग्रह सूर्यको तापबाट चल्ने छ । सो भूउपग्रहले सुरक्षित रहन पृथ्वीको गुरुत्वाकर्षणबाट जोगिनुपर्ने छ । सो भूउपग्रहको आयु तीन महिनादेखि तीन वर्षसम्मको हुने बताइएको छ । नाष्टको ग्राउण्ड स्टेशनबाट सङ्कलन गरेको फोटो व्यावसायिक काममा त्यति प्रयोग गर्न नमिल्ने नाष्टका इञ्जिनीयरले जानकारी दिए । नेपाली वैज्ञानिकका अनुसार नेपाली स्याट–१ ले एक पटक पृथ्वीको परिक्रमा गर्न ९० मिनेट लगाउँछ । विश्वमा लगभग ४० हजार भूउपग्रह निर्माण भयो भने पूरै पृथ्वीको परिक्षण गर्ने माध्यमको पूर्णता हुनेछ । नेपालले पहिलो पटक प्रक्षेपण गरेको सो भूउपग्रहले नेपाली जनशक्ति निर्माण, उनीहरुका क्षमता विकास, अन्तरराष्ट्रिय सञ्जालको साझेदारी, अन्तरिक्षमा मानिसको उपस्थिति र उत्साही युवामा पहुँचको दृष्टिले अघि बढ्न सहयोग पुग्ने बताइएको छ । वास्तवमा एउटा भूउपग्रहले सबै काम गर्न सक्छ तर नेपालले पहिलोपटक प्रक्षेपण गरेको भूउपग्रह न्यानो स्याटलाइट भएकाले यसबाट वातावरण परिवर्तन, शहरी क्षेत्रको व्यवस्थापन, शैक्षिक अध्ययन र अनुसन्धानमा मात्र जोड पुग्ने देखिन्छ । संयुक्त राष्ट्रसङ्घले सो भूउपग्रह निर्माणको लागि स्पेश टोक्नोलोजी इञ्जिनीयरिङमा विद्यावारिधि गरिरहेका आभाष मास्के र नेपालका इलेक्ट्रिकल र कम्युनिकेशन इञ्जिनीयरिङमा स्नातकोत्तर गरिरहेका हरिराम श्रेष्ठलाई छात्रवृत्तिसहित विभिन्न व्यवस्थापनमा सहयोग गरी नेपालको विकासमा ठूलो योगदान गरेको छ । रासस

रेवतबहादुर कार्की : धितोपत्र बजार सुधारका कोशेढुंगा, ४ वर्षमा के–के गरे, के गर्न सकेनन् ?

काठमाडौं । २०७२ साल असोज १६ गते तात्कालिन मन्त्रिपरिषदबाट नेपाल धितोपत्र बोर्डको नयाँ अध्यक्षमा डा. रेवतबहादुर कार्कीलाई नियुक्त गर्दैगर्दा २२ वर्षे इतिहास बोकेको नेपाली धितोपत्र बजार ज्ञान, प्रविधि, पहुँच र विश्वसनीयताका आधारमा भर्खरै वामे सर्दै थियो । शेयर बजारलाई बुझ्ने, बजारमा सहभागी हुनसक्ने र बजारप्रति विश्वस्त हुनसक्ने अवस्थामा रहेको सीमितताले गर्दा बजार एउटा सानो समूहको घेराभन्दा माथि उठ्न सकेको थिएन । २०७२ साल बैशाखको महाविनाशकारी भुकम्पले थिलोथिलो भएको नेपाली अर्थतन्त्र र त्यही विनाशबाट विक्षिप्त भएको नेपाली मनमात्रै नभएर संविधान जारी भएसँगै सुरु भएको भारतीय नाकाबन्दीको कहालिलाग्दो अवस्थाबीच २०७२ असोज १६ गते तात्कालिन मन्त्रीपरिषद्ले रेवतबहादुर कार्कीलाई धितोपत्र बजारको सर्वोच्च नियामकीय संस्थाको जिम्मेवारी दिएको थियो भने सोही महिनाको ३० गते उनले कार्यभार सम्हालेका थिए । ४ वर्षे कार्यकाल अन्तरगत सोमबार उनको कार्यकालको ३ वर्ष ११ महिना पूरा भएको छ । तर योबीचमा पहुँच र प्रविधिका आधारमा बजार निकै माथि पुगिसकेको छ । हुन त उनको कार्यकाल सुरु हुँदैगर्दा बजारले एउटा उचाई लिँदै थियो । भुकम्पपछि घरघरमा राखिएका सम्पत्तिहरु बैंकिङ र औपचारिक च्यानलमा आउनु तर ऋणको माग कम हुनुले लागत र प्रतिफलको हिसाबले बजारमा लगानी बढ्दै गएको अवस्था थियो त्योबेला । सो समयमा बैंकिङ व्याजदर औसत ६/७ प्रतिशतमा सीमित थियो, त्यसले पनि बजारलाई सकारात्मक असर गर्यो । आइतबारमात्रै  बजार परिसूचकले १७ अंकको घट्याे, त्यसो त केही समयदेखि बजार निरन्तर घट्दै आइरहेको पनि छ, त्यसो त उनकै कार्यकालमा बजारले इतिहासकै सबैभन्दा उच्च विन्दु समेत छोएकै हो । यसलाई उनको सफलता र असफलता जुनसुकै रुपमा व्याख्या गर्न सकिएला तर नियामकले बजार कति घट्यो र कति बढ्यो हेर्दैन, नियामकले बजार कुन दिशातिर गयो भनेर हेर्दैन तर बजार कसरी हिँडिरहेको छ भन्ने हेर्छ त्यो मानेमा उनको कार्यकाल अत्यन्तै सार्थक देखिएको छ । के के गरे उनले ? माथि भनिएजस्तै बजारलाई प्रविधिमैत्री बनाउँदै आम जनतामा यसको पहुँच विस्तार गर्न, बजारसम्बन्धी ज्ञानको विस्तार गर्न र बजारप्रतिको सहभागिता र विश्वसनीयता बढाउने कुरामा कार्कीको नेतृत्वमा भएका प्रयासहरु अविष्मरणीय मानिन्छन् । खासगरी बर्षौंदेखि भौतिक रुपमा रहेका शेयर स्क्रिपहरुलाई अभौतिकीकरण गर्दै कारोबार र राफसाफ प्रणालीलाई सहज बनाउन नयाँ डिपोजिटरी र क्लियरिङ प्रणालीको विकास गर्नु, बजारको कारोबार अनलाइन प्रविधिमार्फत् गर्न आवश्यक सहजीकरण र निर्देशनहरु दिनु, शेयर बाँडफाँडमा पहिले रहेको ठूला र साना लगानीकर्ताबीचको विभेद अन्त्य गर्दै सबैका लागि शेयरको अवधारणा विकास गर्नु, नयाँ कम्पनीहरुको आईपीओ, एफपीओ र हकप्रद शेयरहरुको निष्कासन प्रक्रियालाई छिटो र सजिलो बनाउनु, बजारमा रहेका एजेन्टहरुको क्षमता र सञ्जाल विस्तारका लागि महत्वपूर्ण योगदान गर्नु, बजारमा मार्जिन ट्रेडिङका लागि आवश्यक वातावरण बनाउनु लगायतका विषयहरुमा उनको ठूलो योगदान रह्यो । पहिले बजारको खरिदबिक्री ब्रोकरमा गएर लिखित रुपमा आदेश दिएपछि मात्रै हुन्थ्यो । मोबाइलको पहुँच विस्तारसँगै फोनमार्फत् दिइने आदेशलाई समेत स्वीकार गर्नसक्ने गरी गरेको व्यवस्थाले लगानीकर्ताले आफ्नै घर र अफिसमा बसेर शेयर कारोबार गर्नसक्ने अवस्था सिर्जना भयो । नेपाल स्टक एक्सचेञ्जलाई अनलाइन प्रविधिमा लैजानेतर्फ पनि बोर्डको अध्यक्षको रुपमा कार्कीले महत्वपूर्ण भूमिका निर्वाह गरे । तर नेप्सेका तात्कालिन महाप्रबन्धक सीताराम थपलियासँगको सम्बन्धका कारण उनको प्रयास सफल हुन अन्तिम वर्ष नै कुर्नुपर्यो । यो प्रणालीको सुरुवात भएसँगै ब्रोकरहरुलाई उपत्यकाबाहिर शाखा र उपशाखा कार्यालयहरु खोल्ने अवस्था सिर्जना भयो । अहिले ब्रोकरहरुले उपत्यकाबाहिरका मुख्य/मुख्य शहरहरुमा शाखा विस्तार गरिसकेको छ । अर्को महत्वपूर्ण काम भनेको प्राथमिक शेयरको बाँडफाँडका ल्याएको नयाँपन हो । पहिले कुनैपनि शेयरको आवेदनका लागि लामो लाइन बस्नुपर्ने, नगदमा कारोबार गर्नुपर्ने, बाँडफाँडमा नपरेको शेयरको रकम फिर्ता लिन पनि उत्तिकै झन्झट ब्यहोर्नुपर्ने अवस्था थियो । यसलाई आश्वा प्रणालीमार्फत् घरमै बसेर वा सम्बन्धित बैंकमा गएर आवेदन गर्नसक्ने व्यवस्थाका कारण लगानीकर्ताहरुको समयमा ठूलो बचत सिर्जना भयो । त्यतिमात्रै नभएर प्राथमिक शेयरको बाँडफाँड प्रक्रियामा समेत गरेको परिवर्तनले सबैका लागि न्यूनतम १० कित्ता नघट्नेगरी सम्भव भएसम्म सबै आवेदकले पाउने व्यवस्था समेत बोर्डले गर्यो । यसले गर्दा बजारमा लगानीकर्ताहरुको सहभागिता समेत बढ्दै गयो । हालसम्म साढे १५ लाख लगानीकर्ताहरुले शेयर आवेदनका लागि डिम्याट खाता खोलेको सीडीएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ । कार्कीको नियमित बिदा सुरु हुनुभन्दा केही दिन अघिमात्रै बोर्डले बजारमा शेयरको मार्जिन कारोबारका लागि सबै प्रक्रिया पूरा भएको समेत जनाएको छ । नेपाल राष्ट्र बैंकसँग समेत विवाद भएको सो विषयलाई कार्कीले आफ्नै कार्यकालमा सार्थक तुल्याएका छन् । खासगरी बजारको कारोबारसँग परिचित भएका र नियमित रुपमा आम्दानी हुने व्यक्तिहरुका लागि यो प्रणालीमार्फत् उपयुक्त समयमा कर्जा लिएर शेयर किन्नसक्ने वातावरण यो कारोबारले सुरु गर्ने अपेक्षा लिएको छ । त्यसबाहेक बजारसम्बन्धी सचेतना कक्षा सञ्चालन गर्ने, बजारमा कालोधनहरुलाई निरुत्साहन गर्ने सन्दर्भमा समेत धितोपत्र बोर्डले यो अवधिमा ठूलो सफलता हासिल गरेको छ । सन् २०२१ मा एएमएल सीएफटीका सम्बन्धमा हुँदै गएको समीक्षाबाट नेपाललाई कालोसूचीबाट जोगाउन वित्तीय क्षेत्रको एउटा महत्वपूर्ण अंगको रुपमा यो प्रयास पनि अपरिहार्य थियो । कार्कीले गर्न नसकेका कामहरु यी प्रयासहरुका बाबजुत बोर्ड अध्यक्षको रुपमा रेवतबहादुर कार्कीले केही प्रयासहरुलाई निष्कर्षमा पुर्याउन सकेकन् । खासगरी गैर आवासीय नेपालीहरुलाई बजारको पहुँचमा ल्याउने सम्बन्धमा उनका प्रयासले सार्थकता पाउन सकेको छैन । त्यस्तै, कमोडिटिज एक्सचेञ्जको विषयमा उनको भूमिकालाई बजारले शंकास्पद रुपमा हेरेकै हो । लाइसेन्सका लागि पहिले कम्पनीहरुसँग आवेदन लिने तर त्यसपछि सम्भाव्यता अध्ययनको नाममा २ वर्षसम्म झुलाउने र अन्त्यमा देशमा २ ओटा भन्दा बढी त्यस्तो बजारको आवश्यकता नरहेको निष्कर्षमा निकालेर सबै आवेदकलाई अयोग्य घोषणा गर्ने काम निकै विवादित बन्यो । त्यस्तै, स्टक डिलरका लागि ठूला कम्पनीहरुलाई अघि बढाउने दिशामा भएका प्रयासहरु सफल हुन सकेका छैनन् । पुँजीबजारकै क्षेत्रमा विद्यावारिधि गरेका र बैंकिङ र पुँजीबजारकै क्षेत्रमा लामो अनुभव समेत रहेका कार्की ज्ञान र मनका हिसाबले क्षमतावान व्यक्ति मानिन्छन् तर समन्वयात्मक हिसावले भने उनी ज्यादै कमजोर देखिन्छन् । आलोचकहरुसँग बोल्नै नचाहने, छलफल गर्नै नचाहने उनको शैलीले उनले गरेका राम्रा कामहरुलाई ओझेलमा पार्ने काम गरेको छ । भाषण र प्रस्तुतीकलामा भएको कमजोरीले गर्दा उनी बेलाबेलामा हास्यपात्र बन्नुपरेका कतिपय उदाहरणहरु समेत छन् । नेपाली पुँजीबजारमा अहिले शेयर बजारकै वर्चस्व छ । शेयर बजारमा पनि बैंकिङ क्षेत्रकै बढी दबदबा पाइन्छ । यो अवस्थालाई चिर्न बजारमा धेरै अभ्यासहरु हुनु आवश्यक छ । त्यसबाहेक बजारलाई अन्तराष्ट्रिय बजारअनुकुल बनाउनु, अन्तर्राष्ट्रिय कम्पनीहरुलाई नेपाली धितोपत्र बजारमा सहभागी बनाउनु वा नेपाली कम्पनीहरुलाई विदेशी बजारमा जाने वातावरण दीर्घकालमा बनाउनुपर्छ, यसका लागि विज्ञको हिसाबले उनको सहयोग भविष्यमा समेत अपरिहार्य हुन्छ । खासगरी, रेवतबहादुर कार्कीको कार्यकालले चार हात पाउ, टेकेर हिँड्ने धितोपत्र बजारलाई वयस्क हिँडाई हिँड्न सिकायो, दौडन सक्षम समेत बनायो, तर दौडिन योग्य बनेको बजार अब अर्थतन्त्रको म्याराथनमा सहभागी हुन्छ कि सडक किनारामा लर्खराउँदै हिँड्छ, त्यो बजारले नै निर्धारण गर्ने विषय हो ।