विकासन्युज

नागढुंगा-सिस्नेखोला सुरुङमार्ग-१ः तीन वर्षअघि ४ लाख पर्ने जग्गाको मूल्य अहिले २२ लाख

काठमाडौं । सीता ढकालले ३ वर्ष अगाडी चन्द्रागिरी नगरपालिका वडा नं १ मा प्रतिआना ४ लाखमा जग्गा किनेकी थिईन् । अहिले त्यही जग्गाको भाउ बढेर प्रतिआना २२ लाख रुपैयाँ पुगेको छ । आफूले किनेको जग्गाको भाउ यति छोटो समयमा नै धेरै बढेकोमा ढकाल दंग छिन् । नेपाल प्रहरीमा जागिर खाने छोराहरुले जसोतसो गरेर कमाएको पैसाले किनेको जग्गाको मूल्य यति छोटो समयमा नै यति धेरै बढ्दा उनलाई खुसी नलाग्ने कुरा पनि भएन । काभ्रेकी ढकाल विगत १ वर्षदेखि चन्द्रागिरीको टोटीपाखामा नै बस्दै आएकी छन् । पछिल्ला केही वर्षयता सो स्थानमा जग्गाको मात्रै होइन, सटर र कोठाभाडा पनि बढेको सीताको अनुभव छ । यसरी मूल्य बढ्नुको कारण सरकारी परियोजना हो । सरकारले काठमाडौंको नागढुंगा-सिस्नेखोला सुरुङमार्ग बनाउन लागेको छ । यो सुरुङमार्गको जग्गा अधिग्रहणमा सरकारले नै उच्च मूल्य तिरेपछि जग्गाको भाउ आकाशिएको हो । आयोजनाका नापी अधिकृत अन्जनी कुमार जोशीले दिएको जानकारी अनुसार सरकारले सो सुरुङ मार्गमा पर्ने काठमाडौंतिरको जग्गाको मूल्य प्रतिआना न्यूनतम ९ लाख रुपैयाँ र अधिकतम ४२ लाख रुपैयाँसम्म तोकिएको छ । चलनचल्तीको मूल्यभन्दा सरकारले नै निकै बढी मूल्यमा मुआब्जा दिएको कारण जग्गाको मूल्य बढेको स्थानीय बताउँछन् । गत कात्तिकमा प्रधानमन्त्री केपी ओलीले सो सुरुङ मार्गको शिल्यान्यास गरेका थिए । २.६८ किलोमिटर लामो सुरुङ मार्ग काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं. १ मा पर्ने टोटीपाखाबाट सुरु भएर धादिङ्गको धुनिबेशी गाँउपालिकाको सिस्नेखोलामा गएर टुंगिन्छ । तीन वर्ष अगाडी सडकसँग जोडिएको जग्गाको भाउ प्रतिआना ३ देखि ४ लाख रुपैयाँ रहेको चन्द्रागिरी नगरपालिका वडा नं. २ बसन्तटोलका स्थानीय राम थापा बताउँछन् । ‘सुरुङमार्ग बन्ने भनेपछि यहाँ जग्गाको भाउ आकाशिएको छ, मूल्य अझै बढ्ने आशामा कसैले पनि जग्गा बेचेका छैनन्, त्यसैले मूल्य बढेपनि कारोबार भने कम छ,’ थापाले भने । सरकारले सुरुङ निर्माणमा पर्ने जग्गाधनीलाई मुआब्जाको रुपमा पक्की सडकसँग जोडिएको जग्गालाई प्रतिआना २२ लाख, कच्ची सडकलाई छोएको जग्गालाई प्रतिआना १८ लाख, गोरेटोले छोएको जग्गालाई प्रतिआना १२ लाख र सडकले नछोएको जग्गालाई प्रतिआना ९ लाख रुपैयाँका दरले मुआब्जा वितरण गरेको थियो । राजमार्गसँग जोडिएको जग्गा हुनेले भने अझै धरै रकम पाएका छन् । आयोजनाका नापी अधिकृत जोशीका अनुसार राजमार्गसँग जोडिएको जग्गालाई प्रतिआना ४२ लाख रुपैयाँका दरले मुआब्जा दिइएको थियो । प्रतिआना ४२ लाख रुपैयाँका दरले सरकारले ३ कित्ता जग्गा अधिग्रहण गरेको छ । अहिले सुरुङमार्ग निर्माण आसपासको क्षेत्रमा बाटो नाप्ने काम हुँदै गरेको देखिन्थ्यो भने कतै सडक छेउमा धमाधम टहरा निर्माण भइरहेको थियो । यस्तै, भिरालो जमिनमा पनि जग्गाको प्लटिङ भइरहेको देखिन्थ्यो । बसन्तटोलमा होटल संचालन गर्दै आएका दार्चुलाका दल्पति धामीलाई सटर भाडा बढेको चिन्ता छ । ‘सुरुङमार्ग बन्ने भएपछि घरभाँडा धेरै बढेको छ, पहिला ४ हजार रुपैयाँ पर्ने सटरको भाँडा अहिले बढेर ८ हजार रुपैयाँ भएको छ,’ धामीले भने । सुरुङमार्ग बनाउन सुरु भएपछि सो क्षेत्रमा चहलपहल बढेको स्थानीय बताउँछन् । ‘सुरुङमार्ग निर्माण हुने भनेदेखि नै यहाँ बस्तीहरु बढ्न थाले, चहलपहल बढेको छ, भिरालो जमिनमा पनि जग्गा प्लटिङ गरेर घडेरी विक्री गर्न थालिएको छ,’ स्थानीय राधिका केसीले भनिन् । सो सुरुङमार्ग निर्माण हुने जग्गा चन्द्रागिरी नगरपालिकाको वडा नं. १, ३, ५ र १२ भित्र परेको छ । स्थानीय बुद्ध महर्जनले १४ आना जग्गाको गत जेठमा नै १ करोड रुपैयाँ मुआब्जा लिएको बताए । सुरुङमार्ग बनाउनको लागि सरकारले काठमाडौं जिल्लामा करिब २ सय ५० रोपनी जग्गा अधिग्रहण गर्नेछ । सो जग्गा करिब २ सय ५५ जनाको नाममा रहेको आयोजनाले जानकारी दियो । काठमाडौं जिल्लाका अधिकांश जग्गाधनीले जग्गा पाइसकेका छन् । अहिलेसम्म करिब ९५ प्रतिशत जग्गाधनीले मुआब्जा लिइसकेको आयोजनाका प्राेजेक्ट म्यानेजर श्यामप्रसाद खरेलले जानकारी दिए । सरकारले जग्गाधनीलाई ५ अर्ब रुपैयाँ मुआब्जा वितरण गरिसकेको छ । यस्तै, धादिङतर्फको करिब ६० रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेछ । अहिलेसम्म करिब ७ रोपनी जग्गा अधिग्रहणको काम सकिएको छ भने बाँकी जग्गाको मुआब्जा दिने कार्य सुरु भएको छ । मुआब्जा वितरण र ओयोजना विकासको गतिमा स्थानीयको गुनासो नरहेको चन्द्रागिरी नगरपालिका वडा नं. १ का अध्यक्ष राजेन्द्र केसीले बताए । उक्त सुरुङमार्ग निर्माणका लागि जापान सरकारले ०.०१ प्रतिशत व्याज दरमा ४० वर्षका लागि १६ अर्व ६ करोड रुपैयाँ ऋण उपलब्ध गराएको छ । आयोजना निर्माणको लागि नेपाल सरकारले ५ अर्ब ५३ करोड रुपैयाँ लगानी रहनेछ ।

सौराहा आउँदै गरेको पर्यटक बस दुर्घटना हुँदा ३३ जना घाइते

चितवन । भरतपुर महानगरपालिका–१ रामनगरमा आज बिहान गुडिरहेको ट्रकमा पछाडीबाट आउँदै गरेको पर्यटक बसले ठक्कर दिँँदा ३३ जना घाईते भएका छन् । घाइतेमध्ये २१ जना चिनियाँ पर्यटक रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार नारायणगढतर्फ आउँदै गरेको लु२ख ३३०५ नं को ट्रकमा पछाडीबाट आउँदै गरेको बा१प ७८३ नं को पर्यटक बस बिहान ११ः१५ बजे ठक्कर दिएको थियो । ट्रकमा ठोक्किएर बस नजिकैको घरमा ठक्कर खान पुगेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी पर्यटक बसमा सवार २१ जना चिनियाँसहित ३२ जना र घरमा रहेका एकजना महिला घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । पर्यटक सौराहा जान आउँदै गरेको जनाइएको छ ।

गोर्खा चाइनिज ईटामा उपभोक्ताको आकर्षण बढ्दाे, यस्ता छन् विशेषता

काठमाडौं । उत्पादनको छोटो समयमै गोर्खा चाइनिज इटाले उपभोक्ताको मन जित्न सफल भएको छ । काभ्रेको बासडोलमा कारखाना राखी उत्पादन सुरु गरेको इटाप्रति उपभोक्ताको आकर्षण देखिएको छ । एकजना उपभोक्ता प्रविण सुवेदीले आफूले काठमाडौंमा आफनो घर बनाउन यो इटाको छनौट गरेको सुनाए । हरेक दृष्टिकोणले उपयुक्त लागेको आफूले यो इटा छनौट गरेको उनको भनाई छ । ‘इटा राम्रो पाएँं, इटा प्रयोग गर्नको कारण खुलाउँंदै उनले भने, साथसाथै डेलिभरि पनि राम्रो ।’ आकर्षक अनि फेस ब्रिकको रूपमा प्रयोग गर्न सकिने, बलियो (१४ एमपीए बढी कम्प्रेसीभ स्ट्रेंथ भएको), साइजमा ठूलो (९.५×४.५×२.२५ ईन्च), कम मात्रै पानी सोस्ने (२४ घण्टा पानीमा डुबाउदा २० प्रतिशत भन्दा कम मात्र पानी सोस्ने), सबै ईटा एकैनासले पाकेको, चारवटै सर्फेस चिटिक्क मिलेको, गारो लगाउँदा ३० प्रतिशत जति सिमेन्ट मोर्टार बच्ने, प्लास्टर गर्दा ३० प्रतिशत जति सिमेन्ट मोर्टार बच्ने आदि यसका विशेषताहरु हुन् । कम्पनीका अनुसार यो इटालाई पकाउँंदा काँंचो इटालाई घाममा नसुकाई ड्राइंग टनेल (इट्टा सुकाउने सुरुङ्ग) मा पठाई इटालाई सुकाइन्छ । यसपछि फायरिंग टनेल (इट्टा पोल्ने सुरुङ्ग भट्टी) मा नौ सय देखि हजार डिग्री सेल्सियससम्मको तापक्रममा राखेर इटा पोल्ने गरिन्छ । यसका लागि तापक्रम नाप्न तापक्रम मापन यन्त्र (थर्मोमिटर) पनि जडान गरिएको छ । थर्मोमिटरमा तापक्रम हेरी आवश्यकता अनुसार कोइला थपी इटा पोल्ने गरिन्छ । यसले गर्दा इटा एकनासले पाकेर निस्किन्छ । फायर्रिग टनेलमा भएको तातो हावालाई ड्राइंग टनेलमा लगी काँंचो इटा सुकाउने गरिन्छ । कम्पनीका अनुसार यो इटा उत्पादनको कुनै पनि प्रक्रियाको दौरानमा धुलो नउडने र न्युन मात्रामा मात्रै धूवाँ निस्कने सुरुङ भट्टी (टनेल क्लिन) प्रविधिबाट काम हुन्छ । यो प्रविधिबाट इटा उत्पादन गर्दा मलिलो माटो नै चाहिन्छ भन्ने छैन । जस्तोसुकै माटो अनि नरम ढुंगाबाट पनि काँंचा इटा बनाउन सकिन्छ ।

भुकम्पले क्षतिग्रस्त निजी तथा सरकारी भवनको पुनःनिर्माणमा ढिलाइ

पाल्पा । चार वर्ष अघिको विनाशकारी महाभुकम्पले क्षतिग्रस्त पाल्पाका निजी तथा सरकारी भवनको पुनःनिर्माण अझै सम्पन्न हुन सकेको छैन । पुनःनिर्माण कार्य पुरा नहुँदा लाभग्राहीले सास्ती खेप्नु परेको छ । क्षतिग्रस्त ४ हजार ६ सय ९४ निजी आवाशमध्ये हालसम्म १ हजार ७ सय ३२ परिवारको पुनःनिर्माण भएका छन् । २ हजार ९६२ भूकम्पपीडितका निजी घर बन्न सकेको छैन । नीतिगत समस्याका कारण पहिलो र दोस्रो किस्ता पाउन सफल भएपनि मापदण्ड अनुसारका घर ठड्याउन सकेका छैनन् । पुनःनिर्माण हुन नसक्दा किस्ता निल्नु न ओकल्नु भएको छ । विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त निजी तथा सरकारी, विद्यालयका भवन निर्माणमा ढिलासुस्तीले सर्वसाधारणले आशैआशामा चार वर्ष बिताउनु परेको हो । आर्थिक रूपमा कमजोर वर्गका लागि सरकारले पुनःनिर्माणका लागि प्रदान गर्ने चार लाख अपुग हुँदा झनै समस्या खेपेका छन् । जिल्ला विपत् व्यवस्थापन समितिद्वारा आयोजित २२औंँ भूकम्प सुरक्षा दिवसमा प्रदेश नं ५ का सांसद नारायण आचार्यले भूकम्पका कारण क्षतिग्रत संरचना असार महिनाभित्र सम्पन्न गर्नुपर्ने बताए । उनले भूकम्पबाट क्षतिग्रस्त घर बनाउन पहिलो किस्ता लिई पुनःनिर्माण कार्यमा सहभागी नहुनेलाई सूचीबाट हटाउनुपर्ने बताएका छन् । जिल्लाको तिनाउ गाउँपालिकाको कोलडाँडामा भूकम्पबाट झत्केका घर निर्माणकार्य पूरा भएको बताउँदै उनले अरु स्थानमा पनि सोही अनुसारको निर्माण कार्य पुरा गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिए । प्रदेश सांसद पुरनमान बज्राचायले भूकम्पका कारण क्षति भएका संरचना निर्माण अब ढिलाइ हुन नहुने बताएका छन् । चार वर्षको अवधिमा निर्माणकार्य पुरा हुन नसक्दा सेवाग्राही हैरानीमा छन् । पाल्पाका प्रजिअ उमेशकुमार ढकालले चार वर्षसम्म पुनःनिर्माणका कार्यसम्म नहुँदा थप चुनौती सिर्जना भएकोले छिटोछरितो रुपमा काम सम्पन्न गर्नुपर्ने बताए । जिल्ला आयोजना कार्यान्वयन इकाइका इञ्जिनीयर सुरेशराज गिरी स्थानीय स्रोत र साधनका भरिपूर्ण प्रयोग भुकम्प प्रतिरोधात्मक घर बनाउन सकिने बताउँछन् । तर, पछिल्ला वर्ष पक्की भवनप्रति आकर्षण भएपछि त्यस्ता भवनमा गुणस्तरहीन सामानको प्रयोगले घर जोखिममा रहेको बताए । जिल्ला आयोजना कार्यान्वयन इकाइ, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारका प्रमुख अन्नत सुनारले भूकम्पबाट क्षतिग्रस्त १ सय १६ विद्यालयमध्ये एक–एक कोठे १ सय ३ निर्माण भइसकेको बताएका छन् । कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्यालले नेपालमा प्राकृतिक विपत् र गैरप्राकृतिक विपतका कारण जोखिम रहिरहने हुँदा सचेत हुनुपर्ने जानकारी दिए । कार्यक्रममा रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले गाउँपालिकाका प्रत्येक वडामा विपत् व्यवस्थापनका लागि समिति गठन भएको बताए । उनले विपत् सम्बन्धी स्थानीय तहमा तालिम सञ्चालन गरी वडा, दुई प्रहरी चौकी, सेना तथा सशस्त्र प्रहरीलाई विपत् व्यवस्थापनका लागि चाहिने औजार प्रदान गरिएको बताउँछन् । पूर्वखोला गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले स्थानीय तह र आयोजना कार्यान्वयन एकाइबीच प्रभावकारी समन्वयन हुन आवश्यकता महसुस भएको बताए । दुई कार्यालयबीच प्रभावकारी समन्वय गर्न सकेको अवस्थामा छिटो काम सम्पन्न हुनेमा आशावादी रहेको जानकारी दिए । पाल्पामा दुई नगरपालिका र आठ गाउँपालिकामा भूकम्पबाट प्रभावित छन् । नेपाल पत्रकार महासंघका राजेशकुमार अर्याल र स्थानीय वृद्धिजीवी वृद्धिप्रसाद शर्माले भूकम्पका कारण क्षतिग्रस्त निजी तथा सरकारी, विद्यालयका भवन निर्माण छिटो सम्पन्न गर्नुपर्ने बताए । विसं ०७२ सालको ७.८ रेक्टरको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त संरचना निर्माण नहुँदा जिल्लावासी चिन्तित छन् । रासस

२ महिनापछि स्वास्थ्य सचिव डा. पुष्पा चौधरीको राजिनामा स्वीकृत

काठमाडौं । २ महिनापछि स्वास्थ्य सचिव डा. पुष्पा चौधरीको राजिनामा स्वीकृत भएकाे छ । गत सोमबार बसेको मन्त्रीपरिष्द बैठकमा चौधरीको राजिनामा स्वीकृत भएकाे हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले स्वास्थ्य सचिव डा. पुष्पा चौधरीको राजिनामा माघ २७ गते स्वीकृत भएको जानकारी दिए । विश्व स्वास्थ्य संगठन्को कन्ट्री म्यानेजरको रुपमा भारतको लागि पाँचौं तहमा जागिर सुनिश्चत भएपछि चौधरीले स्वास्थ्य सचिव पदबाट गत कात्तिक १४ गते राजिनामा दिएकी हुन् । तर उनको राजिनामा भने स्वीकृत भएको थिएन । यद्यापी राजिनामा स्वकृत नभएपनि चौधरी गत कात्तिक १७ गर्त देखि नै ड्ब्लुयचमा हाजिर भईसकेकी थिईन् ।

बजाज कम्पनीको सर्भिसिङ सेन्टरमा आगलागी

काठमाडाैं । ललितपुर महानगरपालिका–१ स्थित सङ्कटा पुल नजिक बजाज कम्पनीको सर्भिसिङ सेन्टरमा गएराति लागेको आगो नियन्त्रणमा आएको छ । विद्युत् सर्ट भई गएराति करिब ९ः०० बजे लागेको आगो करिब १२ः०० बजे सेना, प्रहरी, स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगो नियन्त्रणका लागि छ दमकल तथा पाँच पानी ट्याङ्कर प्रयोग गरिएको थियो । उक्त आगलागीबाट मानवीय क्षति नभएको भए पनि मर्मतका लागि ल्याइएका १०० मोटरसाइकलमध्ये अधिकांश आगोबाट क्षति भएका छन् भने मोटरसाइकलका पार्टपूर्जा नोक्सान भएका कम्पनीका महाप्रबन्धक यागेन गुरुङले जानकारी दिए । आगलागीबाट क्षतिको प्रतिवेदन (विवरण) तयार गर्नका लागि प्रहरीले मुचुल्का लिने कार्य जारी छ ।

लक्ष्मी बैंकको अध्यक्षमा सुशिल घिमिरे

काठमाडौं । लक्ष्मी बैंकको अध्यक्षमा सुशिल घिमिरे नियुक्त भएका छन् । सोमबार बसेको सञ्चालक समितिको बैठकले घिमिरेलाई सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष घिमिरेले नियुक्त भएकै दिन अर्थात माघ २ गतेदेखि उक्त पदको कार्यभार सम्हालेका छन् ।

भुकम्प सुरक्षा दिवसमा गोर्खा चाइनिज इँटा सहभागी

काठमाडौं । राजधानीमा बिहीबारदेखि शुरु भएको २२ औं राष्ट्रिय भुकम्प सुरक्षा दिवसमा गोर्खा चाइनिज इँटा उत्पादन गर्ने कम्पनी गोर्खा इको रेड व्रिक प्रालिले पनि सहभागिता जनाएको छ । गुणस्तरीय निर्माणमा जोड दिंदै कम्पनी पनि सहयोगीको रुपमा सहभागी भएको कम्पनीले जनाएको छ । कार्यक्रमको उद्घाटन गर्दै गृहमन्त्री रामबहादुर थापाले सुरक्षित पूर्वाधार निर्माणका लागि नागरिकलाई सचेत बनाउन सकेको अवस्थामा दिगो सुख र समृद्धिको आधार निर्माण गर्न सकिने बताए । ’सुरक्षित पूर्वाधारमा पहिलो कुरा नागरिक सचेतना हो । नागरिकहरुलाई सचेत बनाउने सकेको अवस्थामा त्यसले दिगो सुख र समृद्धिको आधार निर्माण गर्छ’, थापाले भने । सरकारले पुस १५ गतेदेखि माघ १५ गतेसम्म विभिन्न कार्यक्रम गरी भूकम्प सम्बन्धि जनचेतना जगाउँदै छ । गृहमन्त्रालयले सातवटै प्रदेश, ७७ वटै जिल्ला प्रशासन कार्यालय र ७ सय ५३ वटै स्थानीय तहलाई निर्देशन दिएको छ । भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालेको छ ।