अब कहिल्यै आउने छैनन् होण्डाका यी दुई मोडेल, अपडेट गर्दा महँगो पर्ने निष्कर्ष
काठमाडाैं । होण्डा टू-व्हिलर्स इण्डियाले आउँदो अप्रिल महिना बाट आफ्ना दुई प्रोडक्ट ‘न्याभी’ र ‘क्लिक’ को उत्पादन बन्द गर्ने घोषणा गरेको छ । न्याभी एउटा मिनी बाइक हो भने क्लिक चाहिँ अफरोडिङ्ग स्कुटर हो र यी दुवैको इञ्जिन क्षमता ११० सीसीको रहेको छ । भारत सरकारले आउँदो अप्रिल महिना बाट देशभर गुड्ने सम्पूर्ण वाहनमा बीएस६ मापदण्ड अनुरुपको इञ्जिन हुनु अनिवार्य गरेको छ । बीएस६ एउटा त्यस्तो प्रदुषण मापदण्ड हो जसले इञ्जिन बाट उत्पादन हुने प्रदुषणलाई धेरै हदसम्म कम गर्दै वातावरणलाई दुषित हुन दिँदैन । सोही मापदण्डको नियमलाई मध्यनजर गर्दै धेरै मोटरसाइकल कम्पनीहरुले बीएस६ इञ्जिन समावेश गर्दै आफ्ना उत्पादनहरुलाई धमाधम अपडेट गर्न थालेका छन् । कम्पनीले राम्रो व्यापार गर्न सफल उत्पादनहरुमा बीएस६ इञ्जिन समावेश गरिरहेका छन् भने खासै राम्रो व्यापार गर्न नसकेका उत्पादनहरुलाई डिस्कन्टिन्यू गर्नुमा नै भलाई देख्ने गरेको पाइएको छ । होण्डाले पनि आफ्ना दुई उत्पादन न्याभी र क्लिकलाई बीएस६ मापदण्ड अनुरुप अपडेट गर्दा धेरै लागत पर्ने भएको हुनाले कुनैपनि प्रकारको अपडेट गर्नुको सट्टा बरु डिस्कन्टिन्यू नै गर्ने निर्णय लिएको हो । नेपालको परिप्रेक्ष्यमा भन्नुपर्दा होण्डा न्याभीले यहाँ खासै चर्चा कमाउन सकेको थिएन । फलस्वरुप होण्डा टू व्हिलर्सको नेपालका लागि आधिकारीक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि.ले यसको विक्रीवितरण केहि महिना अघि बाटनै बन्द गरिसकेको छ । क्लिक भने नेपाली बजारमा उपलब्ध थिएन । नेपालमा उपलब्ध भएका वेला न्याभीको मूल्य १ लाख ५४ हजार ९ सय रुपैयाँ तोकिएको थियो ।
सनराइज बैंकका ग्राहकलाई भ्याली एक्स्प्रेस रेस्टुरेन्टमा १० प्रतिशत छुट
काठमाडौं । सनराइज बैंकका ग्राहकले भ्याली एक्स्प्रेस(भीएफसी) रेस्टुरेन्टमा १० प्रतिशत छुट पाउने भएका छन् । बैंकले उक्त रेस्टुरेन्टसँग सहकार्य गर्दै आफ्ना ग्राहकलाई लक्षित गरी १० प्रतिशत छुट योजना ल्याएको हो । यस योजना अन्र्तगत सनराइज बैंकका ग्राहकहरुले आफ्नो डेविट/ क्रेडिट कार्ड प्रयोग गरी पोइन्ट अफ सेल(पीओएस) टर्मिनल मार्फत वा मोबाईल बैंकिङ्गको प्रयोग गरी क्यूआर पेमेन्ट मार्फत भीएफसी रेस्टुरेन्टको बिल झुक्तानी गर्दा कुल बिल रकमको १० प्रतिशत नगद छुट पाउने छन् । योजना अनुसार सनराइज बैंकका ग्राहकहरुले माघ २ गतेदेखी दुई महिनासम्म भीएफसीका बालाजु, महाराजगञ्ज, न्यूरोड, सिनामंगल र भरतपुर स्थितका शाखाहरुबाट १० प्रतिशत नगद छुट पाउने बैंकले जनाएको छ । १५२ एटिएम, १३० शाखा, २००० भन्दा बढि मर्चेन्ट नेटवर्क मार्फत सेवा प्रदान गर्दै आएको यस सनराइज बैंक कार्ड पेमेन्ट क्षेत्रमा अग्रणी बैंक हो । बैंकले होटल, रेष्टुरेन्ट, एयरलाइन्स जस्ता विभिन्न क्षेत्रमा गरिने कार्ड/क्यूआर पेमेन्टमा छुटको व्यवस्था गरी ग्राहकहरुलाई लाभान्वित गराउँदै आएको छ ।
एनसीएचएलले संचालनमा ल्याएकाे कनेक्ट आइपिएसको काराेबार बढ्याे, प्रतिमहिना १० अर्ब
काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)ले संचालन गर्दै आएको कनेक्ट आइपिएस ई–पेमेन्ट प्रणाली मार्फत १२ अर्ब ५ करोड रुपैयाँभन्दा बढी पुगेको छ । उक्त प्रणाली मार्फत पुस महिनामा मात्रै सो मात्राको कारोबार भएको हो । जुन हालसम्मकै सबैभन्दा बढी कारोबार हो । यस आर्थिक वर्षको पौष मसान्तसम्म कनेक्ट आइपिएस ई-पेमेन्ट प्रणाली मार्फत ६ लाख ५० हजार १४२ संख्यामा कारोबार भएको छ । जुन सेटलमेन्ट रकममा ४२ अर्ब ४८ करोड रुपैयाँ हो । कारोबारमा भईरहेको वृद्धिले नेपालमा बैंक खातामा आधारित रियल-टाइम रिटेल भुक्तानी प्रणालीको स्वीकारयता बढेको बुझिएको छ । कनेक्ट आइपिएस ई-पेमेन्ट प्रणाली अनलाइन भुक्तानीको एकिकृत प्ल्याटफर्म हो, जसमा अनलाइन फण्ड ट्रान्सफर, पेमेन्ट प्रोसेसर (गेटवे), क्रेडिट कार्ड/बिल भुक्तानी लगायतका सुविधा उपलब्ध रहेका छन् ।
सिरहाका निःसहाय व्यक्तिले पाए न्यायो कपडा, सिटिजन्स बैंकले वितरण गर्यो १५० थान कम्बल
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले सिरहा जिल्लाको भवानीपुर गाउँपालिकाको ठाडी टोल र नहरा टोल र लक्ष्मीपुर पटारी गाउँपालिकाका विपन्न निःसहाय व्यक्तिहरुलाई कम्बल वितरण गरेको छ । बैंकले चिसोका कारण जनजिवन प्रभावित हुँदेै गएपछी सो ठाउँका व्यक्तिलाई उक्त सहयोग गरेको हो । न्यानो कपडाको अभावमा कष्टकर जिवनयापन गरिरहेका गरिब, सिमान्तकृत तथा निःसहाय व्यक्तिहरुलाई सानो पाईला नामक गैर सहकारी संस्थासँगको सहकार्यमा बैंकले सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत १५० थान कम्बल वितरण गरेको हो । केही दिनयता लगातार शीतलहर चल्दा गरिब तथा अति विपन्न परिवारलाई असहज भइरहेको अवस्थामा बैंकले कम्बल वितरण गरेपछि उनीहरुले राहतको महसुस गरेका छन् । शीतलहर र चिसोका कारण प्रत्येक वर्ष तराईमा स्थानीयले कठ्याङ्ग्रिएर अकालमै ज्यान गुमाउनेअवस्थाको अन्त्यगर्न यो कार्यक्रम संचालन गरिएको बैंकले जनाएको छ । चिसोका कारण कसैले पनि अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यका साथ विपन्न परिवारलाई बैंकले कम्बल वितरण गरेको हो । अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिकआदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने बैंकले जनाएको छ । बैंकले ८५ वटा शाखा, ८६ वटा एटीएम र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
राष्ट्रिय बीमा कम्पनीले एकै झट्कामा गुमायो २८ करोडको व्यापार, अध्यक्ष भन्छन्ः फेरि आउँछ
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले २८ करोडको व्यापार गुमाएको छ । पूर्व राजस्व सचिव लालशंकर घिमिरेको पहलमा भएको कर्मचारी संचय कोष र कम्पनीबीचको सम्झौता तोडिदा कम्पनीको व्यापार गुमेको हो । कम्पनी र कोषबीच करिब १ वर्ष अगाडि कोषका संचयकर्ताको स्वास्थ बीमा कम्पनीले गर्ने भन्ने सम्झौता भएको थियो । सो सम्झौताअनुसार कोषका संचयकर्तालाई साधारण औषधी उपचारको लागि प्रतिव्यक्ति १ लाख रुपैयाँसम्म र घातक रोगको उपचारमा प्रतिव्यक्ति १० लाख रुपैयाँसम्म बीमा दाबी भुक्तानी दिने भन्ने थियो । कोषमा आवद्ध ६ लाख संचयकर्ताको बीमा सो कम्पनीमा गरिएको थियो । यसका लागि कोषले कम्पनीलाई २५ करोड रुपैयाँ र मूल्य अभिबृद्धि कर (भ्याट) वापत ३ करोड २५ लाख रुपैयाँ दिने सम्झौता भएको थियो । सम्झौताअनुसार कम्पनीले बीमा दाबी भुक्तानी नगरेपछि कोषले सम्झौता तोडेको हो । कोषका संचयकर्ताको धेरै दवाब भएपछि कोषले कम्पनीसँगको सम्झौता तत्कालका लागि स्थगित गरेको कम्पनीका अध्यक्ष उमेशचन्द्र उपाध्यायले वताए । ‘साधारण औषधी उपचारमा प्रतिव्यक्ति १ लाख रुपैयाँसम्म र घातक रोगको उपचारमा प्रतिव्यक्ति १० लाख रुपैयाँसम्म बीमा दाबी भुक्तानी गर्ने सम्झौता भएको थियो, यस्तो दाबी भुक्तानीमा पुर्याउनु पर्ने प्रक्रियालगायतका विषयमा संचयकर्ताले कोषमाथि दबाव दिएपछि तत्कालका लागि सम्झौता स्थगित भएको हो,’ कम्पनीको संचालक समिति अध्यक्ष उपाध्यायले विकासन्युजसँग भने । सम्झौताअनुसार सर्जरी, औषधी खरिद, प्याथोलोजीको यति भन्ने जस्ता शर्त उपचार कार्यको रकम तोकिने भएकोले कम्पनीले सोअनुसार भुक्तानी दिएको तर संचयकर्ताले १ लाख रुपैयाँ पाउने उपचारमा एकमुष्ठ १ लाख र १० लाख पाउने उपचारमा एकमुष्ठ १० लाख रुपैयाँको दाबी गर्दा समस्या उत्पन्न भएको अध्यक्ष उपाध्यायको भनाइ छ । किन भयो खटपट ? कोषलाई समयमा दाबी भुक्तानी नगर्दा कोष र कम्पनीबीच खटपट उत्पन्न भएको हो । बीमा कम्पनीले दाबी भुक्तानी सहज गर्न नसक्दा वार्षिक २८ करोड रुपैयाँको व्यापार गुमेको छ । ‘हाम्रो केही कमजोरी नै छैन भन्ने पनि होइन, दुई पक्षबीचको समझदारीमा केही अन्तर हुन पुगेकोले त्यसको प्रभाव व्यवसायमा समेत पर्न गयो’, कम्पनीका मुख्य व्यवस्थापक सुवास कोइरालाले भने । दाबी भुक्तानीकै कारण केही असमझदारी सिर्जना हुँदा बीमा कम्पनीको व्यवसायसमेत प्रभावित हुन पुगेको छ । कम्पनीले कोषको बीमा पूर्णरुपमा आफूबाट भने नखोसिएको दाबी गरेको छ । तर, कोषसँग खटपट भएको कुरा भने कम्पनीले स्वीकार गरेको छ । पहिलो वर्ष संचयकर्ताले गरेको दाबी रकम करिब १२ करोड रुपैयाँ थियो । यसमध्ये कम्पनीले करिब ८ करोड रुपैयाँ दाबी भुक्तानी गरिसकेको छ । बाँकी रहेको नियमसंगत दाबी भुक्तानीमा कुनै समस्या उत्पन्न नहुने कम्पनीको भनाइ छ । कोषका अनुसार कम्पनीको सबै शाखाहरुबाट भुक्तानी हुनुपर्ने भएपनि कम्पनीले सो व्यवस्था गर्न सकेन । यस्तै, कम्पनीले धेरै प्रिमियम लिएको र नियमसंगत दाबी भुक्तानीमा पनि कम्पनीले बखेडा झिकेको कोषको दाबी छ । र, दाबी भुक्तानीको समय पनि निकै लामो भएकोले सम्झौता तोड्न वाध्य हुनुपरेको कोषले वतायो । कोषका संचयकर्ताको तर्फबाट २ हजार ५ सयवटा दाबी परेको थियो । यसमध्ये कम्पनीले १ हजार ८ सय दाबीको भुक्तानी गरिसकेको छ । बाँकी दाबी भुक्तानी पनि गर्दै जाने कम्पनीको भनाइ छ । यस्तो थियो दाबी भुक्तानी गर्ने समय कम्पनी र कोषबीच भएको सम्झौताअनुसार २५ हजार रुपैयाँसम्मको दाबी १५ दिनभित्र, १ लाख रुपैयाँसम्मको दाबी भुक्तानी ३० दिनसम्म तिर्ने र सोभन्दा माथिको दाबी भुक्तानी ४५ दिनभित्र तिर्ने भनिएको थियो । तर, कम्पनीले सम्झौताअनुसारको समयभित्र दाबी भुक्तानी नदिएको कोषको आरोप छ ।
जोन डियरको नयाँ शोरुम बुटवलमा, एकैदिन २१ थान ट्याक्टर बिक्री
काठमाडौं । एमभी दुगर्ड ग्रुपद्वारा जोन डियरको आधिकारिक विक्रेता विवेक अटो मोबाईल्स प्रा.लिले बुटवलको तिलोतमा खोलेको नयाँ शोरुमको उद्घाटन गरेको छ । उक्त शोरुमको उद्घाटन एम.भि.दुगड ग्रुपका मार्केटिङ्ग हेड नन्दकिशोर भट्ट र सर्भिस हेड अजीतकुमार मिश्राले मंगलबार संयुक्त रुपमा उद्घाटन गरेका हुन् । उद्घाटन समारोहकै दिन २१ थान जोन डियर ट्याक्टर उक्त शाखाबाट बिक्री वितरण गरिएको कम्पनीले जनाएको छ । सो अवसरमा उपहार स्वरुप ग्राहकहरुलाई ३२ इन्च टिभी प्रदान गरिएको छ । यसै कार्यक्रममा अब आउने दिनमा जोन डियर ट्याक्टरको बिक्री नेपालमा पहिलो स्थान आउने र साथै सर्भिस, स्पेयर पार्टस, सेल्स, जुनसुकै समयमा उपलब्ध गराउने प्रतिवद्धताका साथ नेपालको कृषी क्षेत्रमा रहेको उत्पादनको संभावनालाई मैत्रीरुप दिन यो ट्रयाक्टरले नै संभव रहेको यस कम्पनीका रिजनल म्यानेजर लिलाराज वाग्लेले बताए । त्यसैगरी समारोहमा मार्केटिङ्ग हेड नन्दकिशोर भट्टले ट्रयाकटर तथा कृषिको दुनियामा क्रान्तिकारी परिवर्तन ल्याउन सक्ने ट्रयाकटर, जोन डियर रहेको पनि बताएका छन् । यस ट्रयाक्टरमा भ्लेभ+++ टेक्नोलोजी भएकाले अन्य ट्रयाक्टरको तुलनामा कम डिजल खपत गरी बढी उत्पादन दिने गर्दछ । आकर्षक रंग र डिजाइनले गर्दा यो ट्रयाक्टर अन्यभन्दा फरक देखिन्छ । नेपालमा यसको बिक्री वितरण विवेक अटोमोवाईल्स प्रा.ली.ले गरीरहेको रहेको छ ।
भारतसगँ थप २ बन्दरगाह प्रयोग गर्न सुरु गर्यो मन्त्रालयले काम, समकक्षीबाट उद्घाटन हुने
काठमाडौं । नेपालले भारतसँग मुन्द्रा र धाम्रा सामुन्द्रिक बन्दरगाह प्रयोगको माग गरेको छ । यी दुबै बन्दरगाह प्रयोगका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले काम सुरु गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, भन्सार विभाग, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रलगायत सरोकारवाला निकायलाई राय सुझावका लागि पत्र पठाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय उपसचिव श्रीनाथ गौतमले मुन्द्रा र धाम्रा सामुन्द्रिक बन्दरगाह प्रयोग गर्दा के कस्तो प्रभाव पर्छ भनेर सबन्धित मन्त्रालय र विभागहरुलाई राय सुझावका लागि पत्र पठाइएको जानकारी दिए । ‘विभिन्न मन्त्रालय र विभागहरुले जवाफ पठाएपछि त्यसमाथि छलफल गरेर नेपाल र भारतका समकक्षीले उद्घाटन हुन्छ, तेस्रो मुलुुकबाट आउने समान आयात र निर्यातका लागि थप २ नाकाले सरल र सहज हुने छ,’ गौतमले भने । नेपाल–भारत पारवहन सन्धि पुनरावलोकन बैठकमा नेपालले भारतसमक्ष मुन्द्रा र धाम्रा बन्दरगाह प्रयोग गर्न दिन माग गरेको थियो । नेपालको मागमा भारत सहमत भएपछि मन्त्रालयले काम अगाडी बढाएको हो । मुन्द्रा गुजरातको बन्दरगाह हो भने धाम्रा उडिसा राज्यको सामुन्द्रिक बन्दरगाह हो । अहिले नेपालले पश्चिम बंगालको कलकत्ता बन्दरगाह, पश्चिम बंगालकै हल्दिया बन्दरगाह र आन्द्र प्रदेशको विशाखापटनम बन्दरगाह प्रयोग गर्न पाउने सम्झौता भएको छ । तर, अहिलेसम्म पनि कोलकत्ता बन्दरगाह नै मूलतः प्रयोग हुँदै आएको छ । तर यी दुई बन्दरगाह प्रयोगमा आएपछि महेन्द्रनगर नाका र विराटनगर नाकाबाट आयात निर्यातको अवस्था थप सहज हुने मन्त्रालयको भनाई छ ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको बिक्री प्रबन्धकमा एनआईबिएल एस, ८ अर्बको आईपीओ जारी गर्दै
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले साधारण सेयर(आईपीओ) निष्काशन गर्न धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ । उक्त नियुक्ति सम्बन्धि सम्झौता-पत्रमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको तर्फबाट नायव महाप्रबन्धक बिनयनाथ न्यौपाने र एनआईबिएल एस क्यापिटलको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापाले हस्ताक्षर गरेका हुन् । यससँगै क्यापिटलमार्फत बैंकको ८ अर्ब रुपैयाँ बराबरको एक सय अंकित दरको ८ करोड कित्ता सेयर सर्वसाधारणहरुमा निष्काशन हुने छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक नेपालकै पहिलो पूर्वाधार विकास बैंक हो भने बैंकले गर्न लागेको यो सार्वजनिक निष्काशन हालसम्मकै ठूलो सार्वजनिक निष्काशन हुने बैंकले जनाएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको अधिकृत पुँजी ४० अर्ब रुपैयाँ, जारी पूँजी २० अर्ब र चुक्ता पुँजी १२ अर्ब रुपैयाँ रहेको छ । ८ अर्बकाे आईपीओ निष्काशन गरी बाँडफाँड गरे पछि बैंकको चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुग्ने कम्पनीले जनाएकाे छ ।