लगातारको वर्षाका कारण आन्तरिक उडान प्रभावित
काठमाडाैं । लगातारको वर्षाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको छ । अन्तर्राष्ट्रिय उडान भने नियमित भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले प्रतिकूल मौसमका कारण आन्तरिकतर्फ आंशिक रूपमा उडान प्रभावित भएको र अन्तर्राष्ट्रिय उडान सामान्य रहेको जानकारी दिएका छन् । आन्तरिकतर्फ बिहान केही उडान भए पनि अहिले आंशिक रूपमा मात्रै उडान भइरहेको महाप्रबन्धक केसीको भनाइ छ । बिहीबार साँझदेखिको निरन्तर वर्षाले काठमाडौँसहित देशभरका विमानस्थलमा उडान प्रभावित भएको छ । खासगरी उच्च हिमाली भेग तथा पहाडी क्षेत्रका उडान बढी प्रभावित भएका छन् । मौसम बदलीसँगै निरन्तरको वर्षाले कम ‘भिजिबिलिटी’ हुँदा आन्तरिक उडानमा समयस्या भएको हो । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपातका कारण पनि उडान प्रभावित भएको बताइएको छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकोप्टरसहित २० तथा अन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित २८ वटा वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।
रेबान बन्दिपुर फेष्ट २०२० आयोजना हुँदै
काठमाडाैं । रेष्टुरेण्ट एण्ड बार एसोसिएसन नेपाल (रेबान)ले रेबान बन्दिपुर फेष्ट २०२० आयोजना गर्ने भएको छ । रेबानले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै माघ १७ र १८ गते कार्यक्रममको आयोजना गर्ने बताएको हो । नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्ने उद्देश्य कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले बताएको छ । भ्रमण वर्षमा रेबान पोखरा र सौराहसँगै केन्द्रिय रेबानले पनि रेष्टुरेण्ट व्यवसायको सेवामा अभिवृद्धि गरी खाना प्रवर्द्धन कार्यक्रमहरु आयोजना रहेको जनाइएको छ । यस कार्यक्रममा मूख्य प्रायेजक गोर्खा ब्रुअरी, प्रायोजकहरुमा जाउलाखेल ग्रुप अफ कम्पनी, नेपाल डिस्टीलरी फाइल भइसकेको आयोजकले बताएको छ । संस्कृतिको विरासत रहेको बन्दिपुरमा आन्तरिक पर्यटन प्रवद्र्धनमा यस कार्यक्रमले सहयोग पुर्याउने विश्वास लिइएको छ ।
पहिलो भोईस अफ नेपाल सिडि विजय अधिकारीको ‘मोहनी’ शुक्रबार सार्वजनिक हुँदै
काठमाडौं । पहिलो भोइस अफ नेपाल विजेता सिडि विजय अधिकारीको मोहनी गीत शुक्रबार ३ बजे सार्वजनिक हुने भएको छ । सबैले मन पराएका गायक अधिकारीको मोहनी गीत एभरेष्ट ग्यालरी मार्फत दिउँसो ३ बजे सार्वजनिक हुँदै छ । गीतकार नारद आचार्य सुदामाको उत्कृष्ट शब्द रचनामा प्रसिद्ध संगितकार राजकुमार बगर संगित रहेको उक्त गीतको भिडियो निर्माण एभरेष्ट ग्यालरी टिमले गरेको छ । मुस्ताङका विविध स्थानहरुमा छायांकन गरिएको उक्त भिडियोमा सनम कठायत र ऋचा थापालाई आकर्षक प्रेममुन्द्रामा हेर्न सकिन्छ । अन्जन शर्माको निर्देशन , मुकेश हुमागाईको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको उक्त भिडियो सार्वजनिक पूर्वनै चर्चामा छ । निर्माण समूह दर्शक स्रोताको माया पाउने कुरामा ढुक्क छ ।
सात कराेड लगानीमा नारायणी विजनेश ग्रुपकाे नयाँ होटल गैँडाकोटमा
चितवन । भ्रमण वर्ष सन् २०२० लाई लक्षित गर्दै गैँडाकोटको नारायणी विजनेश ग्रुपले दोस्रो होटल सञ्चालनमा ल्याएको छ । चितवन र नवलपरासीमा होटल क्षेत्रमा अनुभवी छ जनाको समूहले गैँडाकोट नगरपालिका–२ स्थित राजमार्गमा होटल द नारायणी प्रालि सञ्चालनमा ल्याएको हो । यसअघि यसै समूहले नारायणी नदी किनारमा द नारायणी रिसोर्ट सञ्चालनमा ल्याएको थियो । ग्रुपका अध्यक्ष प्रभाकर पण्डितका अनुसार हाल सञ्चालनमा ल्याइएको होटलमा ध्वनि प्रदूषणरहित छ वटा बैठक तथा सभाहल, पार्टी हल, मनोरम वाटर फाउण्टेन, नेपाली तथा थकाली खानाका विभिन्न स्वादिष्ट परिकारसहितको रेष्टुराँ एण्ड बार, सुविधा सम्पन्न आठ वटा सुपर डिलक्स कोठा रहेका छन् । जग्गा भाडामा लिएर रु सात करोड लगानी गरी होटल सञ्चालनमा ल्याइएको हो । काठमाडौँ, सौराहा र पोखरादेखि लुम्बिनी आवतजावत गर्ने पर्यटकलाई लक्षित गर्दै होटल सञ्चालनमा ल्याएको उनले जानकारी दिए । सौराहा, देवघाट, मौलाकालिका मन्दिर, शाश्वतधाम, नारायणी नदीको रमणीय क्षेत्रजस्ता पर्यटकीय गन्तव्यको बिचमा रहेको भन्दै पर्यटन वर्षलाई होटलले सहयोग पुर्याउने विश्वास गरिएको छ । पूर्वपश्चिम राजमार्गसँगै जोडिएकाले पनि राजमार्गमा यात्रा गर्ने पर्यटकका लागि पनि सहज पहुँच होटलका सञ्चालक वसन्त पराजुलीले जानकारी दिए । उनले समूहको पहिलो होटल द नारायणी रिसोर्टमा यस क्षेत्रको सबैभन्दा ठूलो सभाहल र पार्किङको व्यवस्था भएकाले राष्ट्रिय ठूला कार्यक्रम धेरै हुने गरेको बताएका छन् । सो होटलमा एक हजारभन्दा बढी क्षमताको सभाहल, साना सभाहल र २३ वटा कोठा रहेका छन् । नारायणी नदी किनारमा भएकाले धेरैको रोजाइमा यो होटल पर्ने गरेको छ । विसं २०७४ मङ्सिर १ गतेबाट समूहले सो होटल सञ्चालनमा ल्याएको थियो । भ्रमण वर्षमा सरकारले २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएको छ । चितवमा चार लाख र नवलपरासीमा एक लाख ५० हजार पर्यटक भित्र्याउने लक्ष्य रहेको छ । गैँडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलले यस क्षेत्रमा पर्यटक लक्षित होटल सञ्चालनमा ल्याएर समूहले पर्यटन प्रबर्धनमा सहयोग पुर्याएको बताए । गैँडाकोट नगरक्षेत्रमा देवघाटधामसँगै मौलाकालिका मन्दिर, कैलाश सन्यास आश्रम, लक्ष्मी नृसिंह दिव्यधाम, मणि मुकुन्दसेन दरबारजस्ता धार्मिक पर्यटकीयस्थल र नारायणी नदी रहेको भन्दै उनले यस्ता होटलले पर्यटकको बसाई लम्ब्याउने बताएका छन् । रासस
नारायणगढ-मुग्लिन सडकखण्डमा पहिराे खसेपछि एकतर्फी सञ्चालनमा
चितवन । नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा आएको छ । बिहीबारदेखि परेको वर्षातले इच्छाकामना गाउँपालिका–६ चारकीलोमा आज बिहान पहिरो खसेको हो । पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो पन्छाउनका लागि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी टोली परिचालन गरिएको छ । वर्षातले पहिरो पन्छाउने काम शुरु गर्न नसकिएको प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो ।
२२ औं भूकम्प दिवस रसुवामा सम्पन्न, व्यक्ति तथा संघ संस्था सम्मानित
काठमाडौं । रसुवामा २२ औं भूकम्प दिवस पनि विविधि कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा जिल्ला विपद् व्यवस्थापन समितिले सदरमुकाम धुन्चेमा विभिन्न कार्यक्रम गरेको थियो । सो अवसरमा सदरमुकाम धुन्चेमा भुकम्प सुरक्षा सम्बन्धि नाटक समेत प्रस्तुत गर्नुका साथै विभिन्न व्यक्ति तथा संघ संस्थालाई सम्मान गरेको छ । विपद्को समयमा जिल्लामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्ति तथा संघ संस्थालाई सो अवसरमा सम्मान गरिएको हो। उनीहरूलाई सांसद मोहन आचार्यले सम्मानित गरेका हुन् ।यस वर्ष ‘भूकम्पबाट सुरक्षित पूर्वाधार, दिगो सुख र समृद्धिको आधार’ भन्ने नारा सहित २२ औँ भूकम्प सुरक्षा दिवस मनाइएको छ । १९९० सालमा गएको भूकम्पको स्मृतिमा हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाउने गरिएको छ । विसं २०५५ सालदेखि माघ २ गतेलाई राष्ट्रिय भुकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो । नेपाल भुकम्पको जोखिमका हिसाबले विश्वको ११औँ जोखिमपूर्ण देशमा पर्छ । नेपालमा हरेक ८० देखि एक सय वर्षको अन्तरालमा ६ देखि ८ रेक्टर स्केलको भूकम्प जाने गरेको पाइएको छ । २०७२सालको भुकम्पबाट अति प्रभावित जिल्लाको सूचिमा रसुवा जिल्ला पनि पर्दछ।
बह्माण–क्षेत्री समुदायका महिला नौमती बाजा छुनुहुँदैन भन्ने परम्परा ताेड्दै , अहिले पञ्चेबाजा सिक्न व्यस्त
गलेश्वर । बेनी नगरपालिका–४ राक्सेका बह्माण–क्षेत्री समुदायका महिला पञ्चेबाजा बजाउन सिक्न व्यस्त छन् । बह्माण–क्षेत्री समुदायका महिलाले नौमती बाजा छुनुहुँदैन भन्ने परम्परागत मान्यतालाई लत्याउँदै उनीहरुले नयाँ इतिहास कायम गर्न बाजा बजाउन सिक्न थालेका हुन् । बारीका पाटामा सहनाई फुकिरहेकी अगुवा हीरा पाौडेलको नजिकै दुर्गा पौडेलले ढोलकी बजाउँदै हुनुहुन्थ्यो । सहनाई पञ्चेबाजामध्ये प्रमुख बाजा हो । घरायसी काम सक्ने बित्तिकै हतारहतार खेतमा पुग्ने गरेका यहाँ महिला दैनिकजसो दमाह, ट्याम्को, कर्णाल र नरसिङ्गाजस्ता विभिन्न थरीका बाजा सिक्न व्यस्त छन् । महिलाले बाजा छुन पनि हुँदैन भन्ने मान्यतालाई अन्त्य गर्न गाउँका बह्माण, क्षेत्री र दलित समुदायका महिला एकजुट भएर पञ्जे बाजा सिक्न जुटेका छन् । पश्चिम म्याग्दी जोड्ने बेनी–दरबाङ सडकखण्डअन्तर्गत राक्सेमा सडककै छेउमा रहेको बारीको पाटामा महिलाले बाजा बजाएको देखेर सडकमा सवारीसाधनमा आवतजावत गर्ने यात्रुले समेत अनौठो मान्ने गरेको पौडेलले बताए । उनले शुरुआतमा केही असहज भए पनि विस्तारै महिलाले सिक्न आर्कषित हुँदै आएको जानकारी दिए । “मैले सीप हस्तान्तरणको अभियानको रुपमा लिएको छु ।” उनले भने । पुरुषले मात्रै बजाउने पञ्चेबाजामा महिलालाई समेत अब्बल बनाउन तालीममा सहभागी भएको झ्याली बाजा सिक्दै गरेकी शान्ति पौडेलले बताए । महिला मात्र सहभागी नौमती बाजा समूह बनार्ई प्रकाश परियारले प्रशिक्षण दिइरहेका छन् । स्वागत तथा सम्मानलगायतका कार्यक्रम, मङ्गलधुन, दुलाहा अन्माउने, दुलहीको घरमा पुगेपछि, सिन्दूर हाल्ने, गोडा धुने, कन्यादान गर्ने बेलामा र दुलही अन्माउँदा, भित्र्याउँदा मङ्गलधुनका प्रस्तुति गर्ने कला प्रशिक्षणमा जानकारी गराइएको उनले जानकारी दिए । रासस
बागलुङका दुई स्थानीय तहमा औद्योगिकग्राम स्थापना गरिँदै, पाैने दुई करोड विनियोजन
गलकाेट । बागलुङ जिल्लाका दुई स्थानीय तहमा औद्योगिकग्राम स्थापना हुने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलले आवश्यक पूर्वाधार निर्माणका गर्न रु एक करोड ८४ लाख विनियोजन भएको छ । जिल्लाको बागलुङ नगरपालिका र ताराखोला गाउँपालिका छनोटमा परेका थिए । औद्योगिकग्रामभित्र उद्योग स्थापना गर्न आवश्यक जग्गाको छनोट, सडकको व्यवस्था, विद्युत् प्रसारण लाइन तथा आवश्यकताअनुसार सवस्टेशन, ट्रान्सफर्मर, र वैकल्पिक ऊर्जाको स्रोत, गोदाम घरलगायतका संरचना आवश्यक पर्दछन् । कृषि तथा पैदावरमा आधारित र स्थानीयस्तरको मागमा आधारित उद्योग सञ्चालन गर्न उद्योग ग्रामको प्राथमिकतामा पर्दछ । स्थानीय स्रोत तथा साधनको प्रयोग गरी स्थानीयतहका नागरिकलाई रोजगारी सिर्जना गर्नका लागि औद्योगिक ग्रामले भूमिका खेल्नेछ । औद्योगिक ग्राम स्थापनाका लागि हिमाली तथा दुर्गम पहाडी क्षेत्रमा ३०, पहाडी क्षेत्रमा ४० रोपनी र तराई क्षेत्रमा सात बिघा जमिन हुनुपर्ने व्यवस्था गरिएको छ । औद्योगिक ग्रामभित्र प्रशासनिक भवन, बैंक तथा वित्तीय संस्था, दिवा शिशुस्याहार केन्द्र, अग्निनियन्त्रणको व्यवस्था, सामान प्रदर्शनी तथा बिक्री कक्ष, शौचालय तथा स्नान गृह, पार्किङ, प्राथमिक स्वास्थ्य केन्द्र संरचना तयार गर्नुपर्ने हुन्छ । औद्योगिक ग्राम बनिसकेपछि स्थानीय तह वा निजी तथा साझेदारीमा उद्योग सञ्चालन गर्न सकिने व्यवस्था रहेको बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले बताए । “स्थानीय तहले उपयुक्त लागेका कृषि, वन पैदावार तथा सेवा मूलक उद्योग सञ्चालन गर्न सकिनेछ”, उनले भने, “स्थानीयलाई धेरैभन्दा धेरै रोजगारी सिर्जना गर्नेखालका उद्योग स्थापना गर्नेछौँ ।” ताराखोलामा उत्पादन हुँदै आएको अल्लोको कपडा तथा नेपाली कागजको औद्योगिक ग्राममा उद्योग स्थापना गरी निर्यात गर्ने योजनामा रहेको ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिएका छन् । बागलुङ नगरपालिकाले नगरभित्रको कालाखोला बगरमा ८५ रोपनी जग्गा तथा ताराखोला गाउँपालिकाले भुस्कालमा ९० रोपनी जग्गा व्यवस्थापन गरेको छ । रासस