अर्थमन्त्रीका पछिल्ला आश्वासन र मर्ने बेलाको हरिsयो काँक्रोको कथा
काठमाडौं । हिन्दु परिवारबीच एउटा कथा या किंबदन्ति चर्चित छ । कथा यस्तो छः- एक जना असाध्यै पापी, अधर्मी र जीवात्मालाई असाध्यै पिर्ने व्यक्ति रहेछन् । उनले आफ्नो जीवनकालमा अरुको भलाई हुने काम कहिल्यै गरेनछन् । भगवानको नाम उच्चरण नगर्ने उनको अठोट जस्तै रहेछ । त्यसैले काँक्रो खाने बेलामा पनि ‘कस्तो काक्रो’ भनेर सोध्दा ‘पाकेको’ भन्ने गर्दा रहेछन् । हरियो काँक्रो भनेर उच्चारण गर्दा भगवान विष्णुको नाम ‘हरि’ उच्चारण हुन्छ भनेर उनले पाकेको भन्ने गरेका रहेछन् । प्रकृतिको शाश्वत नियमअनुसार मर्ने बेला आएछ । जिन्दगीभर नराम्रो र अरुलाई दुःखमात्रै दिएकोले सास सजिलै गएनछ । असाध्यै पीडा भएछ । विभिन्न प्रकारका रोग लागेर असाध्यै छटपटी भएछ । पीडा र दुखाईको कारण आँत जलेजस्तो महसुस भएछ । चिसो वा शितल हुने केही खान पाएँ हुन्थ्यो भन्ने लागेछ । यो बेलासम्म उनी कुनै एउटा शब्द उच्चरण गर्दा पनि पूरै उच्चारण गर्न नसक्ने अवस्थामा पुगेका थिए । अनि उनले काँक्रो खान मन लागेको बताएछन् । कस्तो काँक्रो खाने भनेर कुरुवाले सोधेछन् । हरियो काँक्रोले धेरै शितल गर्ला भन्ने उनलाई लागेछ । त्यसैले घिटिघिटी परेको अबस्थामा उनले कस्तो काँक्रो खाने भनेर सोध्दा हरियो काँक्रो खान मन लागेको सुनाएछन् । हरियो काँक्रो दिइयो । खाए । केही बेरमा उनको देहान्त भयो । अनौठो के भयो भने उनी मर्ने वित्तिकै यमराजका दुत आएर पाता फर्काउँदै पिट्दै नर्क लानु पर्नेमा बैकुण्ठबाट भगवान विष्णुका दुत आए । उनलाई विष्णुलोक बैकुण्ठ लान लगिएको अरुले थाहा पाएछन् । यस्तो पापी, अधर्मी, जीवनभर अरुलाई दुःखमात्रै दिने मान्छे कसरी बैकुण्ठ जान पाउने भयो भनेर प्रश्न गरिएछ । यसको जवाफ विष्णुका दुतसँग थिएन । उनीहरुले आफूलाई थाहा नभएको प्रतिक्रिया दिए । विष्णुको आदेशअनुसार सो व्यक्तिलाई लिन आएको बताए । भगवान विष्णुले पापी, अधर्मी, व्यभिचारी, अत्याचारीलाई बैकुण्ठ लगेर पृथ्वीलोकमा कस्तो सन्देश दिन खोजेका हुन् भन्ने गम्भीर प्रश्न त्यहाँ उठेछ । यस्ता अधर्मीहरु पनि बैकुण्ठ जान थालेपछि पृथ्वीमा धर्म, परोपकार, मानवता, जिवात्माको रक्षा, सदाचार जस्ता क्रियाकलाप लोप हुने चिन्ता गर्न थालिएछ । यस्तो गलफतिले विष्णुका दुतलाई ढिला भयो । तोकिएको समयमा बैकुण्ठ पुगेनन् । आफ्ना दुतले किन ढिलो गरे भनेर विष्णुले ध्यानदृष्टिले हेरे । यसरी हेर्दा पृथ्वीमा ठूलो विवाद उत्पन्न भएको विष्णुलाई थाहा भयो । अनि आफ्नो वाहन गरुढमा चढेर विष्णु हत्तपत्त त्यही पुगे । र, सबैलाई सम्झाउँदै भने– यो मान्छेले मर्ने बेलामा हरिsयो काँक्रो खान्छु भनेको थियो, मर्ने बेलामा मेरो नाम लिएकोले यसले जीवनभर गरेका सबै पाप, अधर्म र व्यभिचार समाप्त भए, अब यो मान्छे बैकुण्ठ जान योग्य भयो, मर्ने बेलामा एक पटक मेरो नाम उच्चरण गर्ने व्यक्ति पनि बैकुण्ठबास गरेर मेरो समिपमा बस्न पाउनेछ ।’ यो सन्दर्भ ठ्याक्कै नमिले पनि वर्तमान अर्थमन्त्री डा. युवराज खतिवडाको मन्त्रित्वकालसँग केही मिल्दोजुल्दो भने छ । अर्थमन्त्रीमा नियुक्त हुनेवित्तिकै डा. खतिवडाले बीबीसी नेपाली सेवासँगको एक अन्तरवार्तामा सेयर बजार र घरजग्गा क्षेत्रलाई अनुत्पादक भन्दै नकारात्मक टिप्पणी गरे । उनको सो टिप्पणीपछि घट्न थालेको सेयर बजार उनको मन्त्रीपद जाने सम्भावनाको समय निकै नजिक आएपछि मात्रै केही बढ्न थालेको छ । डा. खतिवडा राष्ट्रियसभा सदस्य भएको कारण अहिले मन्त्री पदमा आसिन छन् । आगामी फागुनमा उनको राष्ट्रियसभा सदस्य पद सकिदैछ । र, डा. खतिवडा मन्त्री भएपछि एकसातासम्म सेयर बजार सकारात्मक भएको यो साता नै हो । यति मात्रै होइन, पछिल्लो समय उनी आफू उद्योग व्यवसाय र निजी क्षेत्रमैत्री भएको सन्देश प्रवाह गर्ने हरसम्भव कोसिसमा छन् । यही साता भएको नेपाल चेम्बर अफ कमर्शको ७०औं वार्षिक साधारणसभामा निजी क्षेत्रको विकासका लागि सरकार सहयोगी हुने बताए । ‘सरकार धरपकडमा जादैन, विगतमा केही गल्ती भएकै हुन्, अब यस्तो हुदैन,’ निजी क्षेत्रलाई आश्वस्त पार्ने प्रयास गर्दै डा. खतिवडाले चेम्बरको कार्यक्रममा भनेका थिए । विगतमा उनी निजी क्षेत्रका प्रतिनिधिप्रति त्यति सकारात्मक थिएनन् । ‘तिमीहरुलाई केही थाहा छैन, म सबै कुरा जान्दछु, मैले भनेको तिमीहरुले मान’ भन्ने ढंगले प्रस्तुत हुने गर्थे । उद्योगीको एक समुहले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर व्याजदर कम गर्न प्रयास गरिदिनुपर्यो भन्ने आग्रह गर्दा पनि डा. खतिवडा त्यसको विपक्षमा रहे । अर्थमन्त्रीले भेट्नै नदिएपछि आफ्ना समस्या राख्न उद्योगी व्यवसायीहरु प्रधानमन्त्री ओलीलाई नै भेट्न पुगेका थिए । मन्त्री पद पाउने बित्तिकै सेयर बजारप्रति आक्रामक रुपमा प्रस्तुत भएका डा. खतिवडा अहिले सकारात्मक रहेको सन्देश प्रवाहको कोसिसमा छन् । मन्त्री भए लगत्तैको अन्तरवार्तामा सेयर बजारलाई अनुत्पादक भन्दै सो क्षेत्रमा जाने लगानीलाई कडाई गर्ने बताएका डा. खतिवडा अहिले सेयर बजारका समस्या समाधान गर्ने आश्वासन दिदै हिड्न थालेका छन् । सेयर बजारमा रहेको कर सम्बन्धी समस्या आउँदो बजेटबाट हल गरिदिने आश्वासन पनि मन्त्री खतिवडाले दिन थालेका छन् । डा. खतिवडाको कोपभाजनमा परेको अर्काे क्षेत्र अटोमोवाइल्स हो । उनी मन्त्री बन्नुभन्दा अगाडि नेपाल राष्ट्र बैंकको गभर्नर भएको बेलामा पनि अटोमोबाइल्स क्षेत्रलाई अनुत्पादक भन्दै सो क्षेत्रमा जाने कर्जामा कडाई गरे । मन्त्री भएपछि पनि अटोमोबाइल्स क्षेत्रप्रति उनको सकारात्मक धारणा र प्रतिक्रिया रहेन । तर, पछिल्लो समय अटोमोबाइल्स क्षेत्रप्रति पनि आफू नरम भएको सन्देश प्रवाह गर्ने प्रयासमा डा. खतिवडा छन् । आगामी आर्थिक वर्षको बजेटमार्फत गाडीमा लाग्दै आएको भन्सार शुल्क कम गर्ने आश्वासन डा. खतिवडाले बाँढेका छन् । निजी क्षेत्रका प्रतिनिधिले भेट्न खोजे उनी अहिले सहजै उपलब्ध छन् । उनको कार्यकाल फागुनदेखि दोहोरिन्छ वा दोहोरिदैन भन्ने यकिन छैन । राष्ट्रपतिले फेरि राष्ट्रियसभा सदस्यमा नियुक्त नगरे फागुनपछि उनी बढीमा ६ महिना मात्रै मन्त्री बन्न पाउने छन् । त्यसपछि उनी मन्त्री बन्न संबैधानिक रुपमै अयोग्य हुनेछन् । डा. खतिवडाको गतिविधिको सत्तारुढ नेकपामा पनि आलोचना हुने गरेको छ । बजारले पनि उनलाई अर्थमन्त्रीका रुपमा सकारात्मक रुपमा लिएको छैन । प्रधानमन्त्री ओलीलाई खुशी पार्न सकेका कारण अर्थमन्त्री बनेका डा. खतिवडालाई आफ्नो पद जोगाउन अब भने बजारलाई पनि सन्तुष्ट पार्नुपर्ने चुनौति छ । निजी क्षेत्रले सकारात्मक रुपमा लिए आफू फेरि अर्थमन्त्रीमा दोहोरिन सक्ने आशा डा. खतिवडाको छ । त्यसैले उनी माथिको ‘हरि यो काक्रो’को कथामा जस्तै व्याख्या गराएर भएपनि निजी क्षेत्रमैत्री भएको देखाएर मन्त्रीमा दोहोरिने ध्याउन्नमा छन् ।
साढे एक अर्ब बढीकाे संशोधित बजेट पारित
लहान । लहान नगरपालिकाको पाँचाैं नगरसभाले चालू आर्थिक वर्ष २०७६/७७ का लागि रु एक अर्ब ६२ करोडभन्दा बढीको संशोधित बजेट पारित गरेको छ । नगरसभाबाट पारित भएका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख मुनी साहले चालू आव २०७६/७७ का लागि रु एक अर्ब ६२ करोड २४ लाख ६१ हजारको संशोधित बजेट पारित गरेको बताएका छन् । आव २०७५/७६ को चौथो नगरसभाबाट चालू आव २०७६/७७ का लागि रु एक अर्ब ५१ करोड ४२ लाख प्रस्तावित गरिएकोमा हालसम्म रु ७१ करोड ३६ लाख ५८ हजार ६सय प्राप्त भएको नगरप्रमुख साहले जानकारी दिए । व्ययतर्फ रु एक अर्ब ५१ करोड ४२ लाख मात्र प्रस्तावित गरिएकामा हालसम्म चालू तर्फ रु १९ करोड ८२ लाख ९६ हजार २८५ तथा पूँजीगत तर्फ रु तीन करोड ७९ लाख ६७ हजार २५५ गरी रु २३ करोड ६२ लाख ६३ हजार ५४१ खर्च भइसकेको नगरप्रमुख साहले बताए । नगरसभाले चालू आवका लागि सभाकक्ष, खुट्टी नहर सञ्चालन, बानो नहर, तरकारी बजार, नयाँ बजार, महिला विद्यालय, दलित बस्ती एकीकृत, बथनाहा बजार, स्वास्थ्य चौकी, वडा कार्यालय, बसपार्क, भवडा पार्क, सलहेश क्षेत्रमा जग्गा खरिद, रिँगरोड सिमाङ्कन, नदी नियन्त्रण, तीन किलोमिटर पक्की सडक निर्माण, ग्राभेल कार्य, कृषि सडक, वाटरएड खानेपानीसँगको सहमति, स्कुलको भवनलगायत भौतिक निर्माण कार्यलाई अघि बढाउने योजना पारित भएको नगरप्रमुख साहले जानकारी दिएका छन् । त्यसैगरी, चालू आवमा सामाजिक कार्यअन्तर्गत ज्येष्ठ नागरिक सम्मान, विपद् व्यवस्थापन, दलित राशन कार्ड, स्वास्थ्य शिविर, किसान परिचयपत्र वितरण, कृषि अनुदान, शिक्षा तथा स्कुल स्तरवृद्धि, स्वास्थ्य, पशु, विभिन्न किसिमका सीपमूलक तालिम र नयाँ ढङ्गले सरसफाइ तथा अतिक्रमण नियन्त्रण आदि कार्य अघि बढाइने नगरप्रमुख साहले जानकारी दिए ।रासस
निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनामा ‘केवल टनेल’ को काम शुरु
दमाैली । तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनामा ‘केवल टनेल’ निर्माणको काम शुरु गरिएको छ । एक सय चालिस मेगावाट क्षमता रहेको आयोजनाको दोस्रो प्याकेजको ठेक्का पाएको सिनो हाइड्रोले विद्युत् गृहका लागि ‘केवल टनेल’ खन्ने काम शुरु गरेको हो । तनहुँ जलविद्युत् आयोजनाका प्रबन्ध सञ्चालक प्रदीप थिकेको उपस्थितिमा सिनो हाइड्रोले बिहीबारदेखि सुरुङ खन्ने कामको शुरुआत गरेको आयोजनाका साइट इञ्चार्ज इञ्जिनीयर विदुर अधिकारीले जानकारी दिए । सिनोले आयोजनाको प्याकेज दुईअन्तर्गतको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको छ । सिनोले झापुटारमा पूर्वाधार निर्माणको कामलाई तीव्रता दिएको छ । सो हाइड्रोले उक्त ठाउँमा आवास, कार्यालय, क्रसर प्लान्ट र पहुँच मार्ग निर्माण गरेको छ । दोस्रो प्याकेजको कामका लागि सिनो हाइड्रोसँग ११ करोड ४१ लाख ८९ हजार अमेरिकी डलर र रु तीन अर्ब ८३ करोड १४ लाख (मूल्य अभिवृद्धि कर बाहेक) मा सम्झौता भएको थियो । आयोजनाको पहिलो प्याकेजअन्तर्गत कामका लागि पुनः बोलपत्र आह्वान भएकामा एशियाली विकास बैङ्क (एडिबी) ले उक्त बोलपत्र रद्द गरेको छ । पहिलो प्याकेजको ठेक्काका लागि आयोजनाले गत वैशाख १२ गते पुनः बोलपत्र आह्वान गरेको थियो । त्यसका लागि १९ कम्पनीले चासो देखाए पनि चार कम्पनीले बोलपत्र पेश गरेका थिए । तर एडिबीले चारवटै कम्पनीलाई अस्वीकृत गरिदिएको छ । एडिबीले चार कम्पनीको प्रस्तावलाई रद्द गरिदिएपछि अब नयाँ ठेक्का प्रक्रिया शुरु गर्न कम्तीमा छ महिना लाग्ने बताइएको छ । बोलपत्र रद्द भएपछि आयोजनाको निर्माण अवधि पनि पछाडि धकेलिएको छ । आयोजनाका लागि आवश्यक क्याम्प तथा विद्युत् गृहको पहुँच मार्ग निर्माणका लागि १५० रोपनी क्षेत्रफल जग्गा अधिग्रहण भइकेको छ । बाँधस्थलको पहुँच मार्गका लागि ५० रोपनी र जलाशय क्षेत्रका लागि एक हजार २३० रोपनी जग्गा अधिग्रहण भइसकेको आयोजनाले जनाएको छ । बाँधस्थलको पहुँच मार्गका लागि थप १० र जलाशय क्षेत्रका लागि थप पाँच प्रतिशत जग्गा अधिग्रहण गर्न बाँकी छ । पहिलो प्याकेजको संरचना निर्माणका लागि दातृ निकाय एशियाली विकास बैङ्क (एडीबी) र युरोपेली लगानी बैक (इआइबी) को सहुलितपूर्ण ऋण परिचालन हुनेछ । निर्माण व्यवसायी कम्पनीले आयोजनाको १४० मिटर अग्लो कङ्क्रिट बाँध, नदी फर्काउने दुई वटा सुरुङ, अस्थायी बाँधलगायत संरचना निर्माण गर्नेछ । आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी केइसीसँग ठेक्का सम्झौता भइसकेको छ । आयोजनाका लागि १४० मिटर बाँध, एक हजार १६२ मिटर र ७४ मिटरको मुख्य सुरुङ, ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ४४ मिटर उचाइ भएको भूमिगृत विद्यृत् गृह निर्माण गरिनेछ । खुद उचाइ १२१ मिटर रहने आयोजनाबाट सुख्खायामा १७८.९० मेगावाट र वर्षायाममा ३२३.६८ मेगावाट ऊर्जा उत्पादन गर्नेछ । आयोजनाको कूल लागत अमेरिकी डलर ५० करोड ५० लाख (प्रशारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याज समेत) रहेको छ । सोमध्ये एडिबीले १५ करोड, जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) ले १८ करोड ४० लाख, इआइबीले आठ करोड ५० लाख र नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणले आठ करोड ७० लाख अमेरिकी डलर व्यर्होने गरी वित्तीय व्यवस्थापन गरिएको छ । आयोजनाको विद्यृत् गृह निर्माणका लागि २८८ मिलियन डलर, प्रशारणलाइन तथा सवस्टेशन निर्माणका लागि १५ मिलियन डलर, ग्रामीण विद्युतीकरणका लागि आठ मिलियन डलर, जग्गा प्राप्ति तथा पुनःस्थापनाका लागि ३० मिलियन डलर, वातावरण व्यवस्थापनका लागि २१ मिलियन डलर, पूर्वाधार निर्माण तथा भन्सार एवं कर प्रयोजनका लागि ४६ मिलियन डलर, आयोजना व्यवस्थापन तथा सामुदायिक कार्यक्रमका लागि २५ मिलियन डलर खर्च हुने अनुमान छ । यसका लागि सम्बन्धित दातृ निकाय र नेपाल सरकारबीच ऋण सम्झौता तथा नेपाल सरकार र प्राधिकरण एवं प्राधिकरण र सो कम्पनीबीच सहायक ऋण सम्झौता सम्पन्न भइसकेका छन् । आयोजनाको समग्र निर्माण विसं २०८१ को असार दोस्रो साताभित्र (जुन २०२४) सम्पन्न गर्ने लक्ष्य रहेको छ । व्यास नगरपालिका भूकम्पको जोखिममा सदरमुकाम दमौलीस्थित व्यास नगरपालिका भूकम्पको जोखिममा रहेको छ । भूकम्प प्रविधि राष्ट्रिय समाजसँगको सहकार्यमा गरिएको अध्ययनबाट नगरपालिका भूकम्पको जोखिममा रहेको देखिएको हो । नगरपालिकाका १४ वडामध्ये वडा नं १, ३, १२, १३ र १४ सबैभन्दा बढी जोखिममा रहेको नगरपालिकाका इञ्जिनीयर रवीन्द्रलाल मूलले जानकारी दिए । नगरपालिकाले विसं २०६० र २०७४ मा भूकम्पीय जोखिमको अध्ययन गरेको थियो । हाल नगरपालिका २४८ वर्ग किमि क्षेत्रफलमा फैलिएको छ । विसं २०६० मा अध्ययन गर्दा नगरक्षेत्रभित्र छ हजार र विसं २०७४ मा २० हजार घरधुरी रहेको थियो । अध्ययन अनुसार सात रेक्टरको भूकम्प गएको खण्डमा नगरपालिकामा १ सय ५० को मृत्यु हुने र तीनदेखि चार सयसम्म मानिस घाइते हुने अनुमान गरिएको इञ्जिनीयर मूलले बताए । साथै भूकम्पबाट ५०० घर भत्किने अनुमान छ । भूकम्पबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि भूकम्प प्रतिरोधात्मक घर निर्माणलाई नगरपालिकाले जोड दिएको छ । भूकम्प प्रतिरोधात्मक घर निर्माणका लागि नगरपालिकाले विसं २०६८ देखि भवन आचारसंहिता लागू गरेको नगर प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए । उनले भूकम्प प्रतिरोधात्मक घर निर्माणका लागि नगरपालिका सदैब क्रियाशील रहेको र नगरक्षेत्रभित्र बन्ने घर सुरक्षित बनाउन कडाइ गरिने बताएका छन् । नगरपालिकाले भूकम्प प्रतिरोधात्मक घर निर्माणका लागि डकर्मीलाई तालिम दिने गरेको छ । यस वर्ष पनि ३८ डकर्मीलाई भूकम्प प्रतिरोधात्मक घर निर्माणका लागि तालिम दिइएको नगर उपप्रमुख मीरा जोशीले जानकारी दिए । नगरपालिकाले गत पुस २० गतेदेखि २७ गतेसम्म डकर्मीलाई तालिम प्रदान गरेको थियो । रासस
उपत्यकाका आठ चोकमा ‘ट्राफिक बत्ती’ पुनः सञ्चालन
काठमाडौँ । काठमाडाैं उपत्यकाका विभिन्न आठ चोकमा ‘ट्राफिक बत्ती’ सञ्चालनमा आएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा र सडक विभागको समन्वयमा लामो समयदेखि बन्द रहेका उपत्यकाका आठ चोकमा ‘ट्राफिक बत्ती’ सञ्चालनमा आएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले पुतलीसडक, पद्मोदय मोड, सिंहदरबार, पुरानो बानेश्वर, नयाँ बानेश्वर, तीनकुने, गौशाला र ललितपुरको महापालमा ट्राफिक लाइट पुनः सञ्चालनमा ल्याइएको जानकारी दिए । “अबको केही दिनमै मित्रपार्क, कालीमाटी, टङ्केश्वर, परोपकार र पुल्चोकमा ट्राफिक बत्ती सञ्चालनमा ल्याउँछौँ”, उनले भने । प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी महानिरीक्षकले ट्राफिक व्यवस्थापनमा चासो दिएसँगै १३ वर्षपछि उपत्यकाको चोकमा ट्राफिक बत्ती जडान गरिएको महाशाखाले जनाएको छ । उपत्यकाको ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरणमा ट्राफिक बत्ती जडानले सहयोग पुग्ने महाशाखा प्रमुख ढकालको भनाइ छ । नेपालमा पहिलो पटक विसं २०२३ मा सिंहदरबार र राजदरबारको दक्षिणी ढोका, सुनधारा र नयाँ सडकमा ट्राफिक बत्ती जडान गरिएको थियो । त्यसपछि जापान सरकारको सहयोगमा विसं २०५८ मा ट्राफिक बत्ती जडान गरिए पनि पछिल्लो समय बिग्रिएको थियो ।
ग्लोबल आइएमई बैंकको दुई नयाँ एक्सटेन्सन काउण्टर इटहरी र नवलपरासीमा
काठमाडौं । ग्लोबल आइएमई बैंकले यस साता २ नयाँ एक्सटेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ । बैंकले मंगलबारदेखि इटहरीको खनार र शुक्रबारदेखि नवलपरासीको सरावलमा एक्सटेन्सन काउण्टर सुरु गरेको छ । सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने गरी दुवै एक्सटेन्सन काउण्टरहरू सुरु गरेको हो । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले २ सय ६६ शाखा, २ सय ५५ एटिएम, ३६ एक्सटेन्सन काउण्टर राजश्व संकलन काउण्टर र २ सय ४९ शाखा रहित बैंकिङ्ग सेवा, ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत सेवा दिँदै आइरहेको छ ।
आरक्ष पीडितका समस्याको समाधान खोज्न दुई मन्त्री कञ्चनपुर जाँदै
काठमाडौं । कञ्चनपुरका आरक्ष पीडितका समस्याको समाधान खोज्न दुई मन्त्री कञ्चनपुर जाने भएका छन् । कञ्चनपुर जिल्ला स्थित शुक्लाफाँटा वन्यजन्तु आरक्ष (राष्ट्रिय निकुञ्ज) विस्तारका कारण विस्थापित भएका परिवारलाई उचित व्यवस्थापन गर्ने सम्बन्धमा खानेपानी मन्त्री बिना मगरको पहलमा वन तथा वातावरण मन्त्री शक्ति बस्नेत र भूमि व्यवस्था मन्त्री पद्मा अर्याल शनिबार कन्चनपुर जान लागेका हुन् । खानेपानी मन्त्री मगरले कञ्चनपुरका आरक्ष पीडित जनताको उचित बासस्थानको व्यवस्था गर्ने प्रतिबद्धता जनाए अनुसार उनकै अग्रसरतामा दुई मन्त्री कन्चनपुर जाँदै छन् । यस अघि तीनैजना मन्त्रीहरूले सिंहदरबारमा आरक्ष पीडितहरुको समस्या समाधान गर्न सामूहिक छलफल गरेका थिए । कञ्चनपुरका आरक्ष पीडित सुकुम्बासी जनताको मागलाई छिटो भन्दा छिटो सम्बोधन गर्ने तीनै जना मन्त्रीले यसअघि प्रतिबद्धता व्यक्त गरेका थिए । उक्त क्षेत्रका पीडित जनताका समस्या समाधान गर्न खानेपानी मन्त्री मगरले विशेष अगुवाईको भूमिका खलिरहेकी छन् । यसअघि पनि आरक्ष पीडितहरुले वन तथा वातावरण मन्त्री बस्नेतसँग भेट गरी आफूहरुको मागलाई सम्बोधन गर्न सरकारले उचित व्यवस्थापन गर्नुपर्ने भनी ध्यानाकर्षण गराएका थिए । वन मन्त्री बस्नेतले त्यस क्षेत्रका पीडित जनताको उचित बसोबासका लागि व्यवस्थापन चाँडो गरिने बताए । छलफलमा भूमि व्यवस्था मन्त्री अर्यालले विस्थापित आरक्ष पीडितहरुको मागलाई चाडैं सम्बोधन गरिने र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । तत्कालीन सरकारले माओवादी जनयुद्धको बेला संकटकालको समयमा आरक्षलाई विस्तार गर्ने भन्दै त्यस क्षेत्र वरिपरिका जनतालाई अन्यत्र पठाइएको थियोे । त्यो समय देखि घरबार विहीन हुँदै आएका भूमिहीन जनताको व्यवस्थापनमा यस अघिका जन प्रतिनिधि र सरकारले कुनै ठोस पहल गरेका थिएनन् । यस अघिका सरकारहरुले समस्या समाधानका लागि भन्दै विभिन्न आयोग बनाए पनि त्यतिबेलाका आयोगले कुनै समाधानको निकास ननिकालेको पीडित स्थानीयहरुको आरोप छ । २०५८ सालमा शुक्लाफाँटा वन्यजन्तु आरक्षण विस्तारका क्रममा तत्कालीन सरकारले जिल्लाका दश गाविस रौतेली बिचुवा, बेल्डाँडी, रामपुरविलासपुर, लक्ष्मीपुर, पिपलाडी, झलारी, दैजी, सुडा, देखतभुली र कृष्णपुर लगायतका स्थानबाट बस्ती विस्थापित गरेको थियो । विस्थापित भएका परिवारले हालसम्म पनि जग्गा पाउन सकेका छैनन् । संकटकालका बेला विस्थापित भएका परिवारहरू शिविर बनाएर अझैपनि खुला आकाशमुनि जीवन बिताइरहेका छन् । लामो समयदेखि शिविरमा टहरा बनाएर बस्दै आएका विस्थापित परिवारले जग्गा दिएर भएर पनि सरकारले समस्याको समाधान गर्नुपर्ने माग राख्दै आएका छन् । यसैबीच नेपाल भ्रमण वर्ष सुरु भैसकेकाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढाउने उद्देश्यले कञ्चनपुरको बेलडाँडी गाउँपालिकाबाट हुन लागेको जंगल सफारीको दोस्रो प्रवेशद्वारको शिलान्यास शनिबार हुने भएको छ । मन्त्रीहरुले संयुक्त रूपमा प्रवेश द्वारको शिलान्यास गर्ने कार्यक्रम छ । लामो समय देखिको प्रयास पछि खानेपानी मन्त्रीको अग्रसरतामा जंगल सफारीको प्रवेश द्वार शिलान्यास हुन लागेको हो ।अहिले एउटा मात्र प्रवेश द्वारबाट निकुञ्जमा जंगल सफारी हुने गरेको छ । यसैगरी २०५८ सालदेखि बन्द रहेको कञ्चनपुरको महेन्द्रनगरको एयरपोर्टको अवलोकन गर्ने कार्यक्रम समेत रहेको छ ।
सांग्रिला डेभलपमेन्ट बैंकले शेयरधनीको खातामा पठाउन थाल्याे नगद लाभांश
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नगद लाभांश शेयरधनीहरूको बैंक खातामा जम्मा गर्न शुरू गरेकाे छ । बैंकले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा पुस २९ गतेदेखि नगद लाभांश जम्मा गर्न थालेको हो । बैंकले पुस २९ गते सम्पन्न १५ औँ वार्षिक साधारण सभाले पारित गरेको ८.९५९३ प्रतिशत नगद लाभांश कर सहित शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ । लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ बैंकले २०७६ पुस १५ गतेदेखि पुस २९ गतेसम्म बुक क्लोज गरेको थियो । यस अनुसार २०७६ पुस १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुलाई लाभांश वितरण गरिएको छ । साथै, हालसम्म लाभांश प्राप्त नगर्ने शेयरधनीहरुलाई आफ्नो शेयर अभौतिकिकरण गराउन तथा आफ्नो हितग्राही खातामा बैंक खाता नं. अध्यावधिक गराउन विकास बैंकले जानकारी गराएकाे छ । बैंकको शेयर रजिष्ट्रार एनआईबिल क्यापिटल लिमिटेड रहेको छ ।
नेपाल इन्जिनियरिङ कलेजद्वारा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक) ले हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । शोधक्षेत्रमा उल्लेखनीय क्रियाकलापहरु सम्पन्न गरिसकेका विद्यार्थीको समूह सेन्टर फर एप्लाइड रिसर्च एण्ड रुरल डेभलपमेन्ट (कार्ड) को आयोजनामा कलेजमा जिज्ञासु ३.० हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम भएको हो । प्रतियोगितामा सम्राट पराजुली, पवन राइन, किशोर पाठकको समूह पहिलो र सुदीप रिजाल, जनक परियार तथा सविना चालिसेको समूह दितीय रहेका थिए । २००८ मा स्थापित कार्डद्वारा टेक्नोलोजिकल हाजिरीजवाफ प्रतियोगिता जिजासु ३.०, एप्लाइड रिसर्च तथा इनोभेसनमा जान तथा शिप विकास गर्नका निम्ति सञ्चालन गरिएको छ । कार्ड परिवारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा इन्जिनियरिङ इनोभेसनमा आफनो प्रतिभा प्रस्तुत गर्न सफल भएको छ । इन्जिनियरिङ पढाइका साथै समाजमा आइपर्ने चुनौतीहरुलाई इन्जिनियरिङ क्षेत्रबाट सहजीकरा गर्ने उद्देश्यले कार्ड स्थापित गरेको आशुतोषमणि त्रिपाठीले बताए । यही उद्देश्य अनुसार कार्डबाट समाजका लागि विभिन्न कामहरु गर्न सफल भएको अर्का विद्यार्थी सचेत जमरकटेलले उल्लेख गरे । कार्यक्रममा प्रमुख अतिथिका रुपमा कलेजका प्राचार्य प्रा.डा हरिकृष्ण श्रेष्ठ साथै एनवाईसीए युथ नेटवर्क रहेका थिए । कार्यक्रममा विभिन्न इन्जिनियरिङ विधाका प्रतियोगीहरुमाझ इन्जिनियरिङ इनोभेसन क्षेत्रमा मैत्रीपूर्ण वादविवाद भएको थियो ।