सुनको मूल्य बढ्यो, प्रतितोला ७५ हजार ५ सय रुपैयाँमा कारोबार
काठमाडौं । साताको पहिलो दिन सुनको मूल्य ३ सय रुपैयाँले बढेको छ । गत शुक्रबार प्रतितोला ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन साताको पहिलो दिन अर्थात आइतबार ७५ हजार ५ सय रुपैयाँ कारोबार भइरहेको छ । गत साता ७४ हजार ९ सय रुपैयाँ बिक्री भएको तेजावी सुन आइतबार ७५ हजार २ सय रुपैयाँ कारोबार भइरहेको छ । भने चाँदी प्रतितोला १० रुपैयाँ बढेर ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
राष्ट्र बैंकमाथि लाइसेन्स बेचेको आरोप र लघुवित्तका लगानीकर्ताको भविष्य
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले आगामी तीन वर्षसम्ममा लघुवित्त संस्थाहरुको संख्या २५ देखि ३० वटाको संख्यामा झार्नु पर्ने बताएका छन् । उनले स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १९ औं वार्षिकोत्सवको समारोहमा उक्त कुरा बताएका हुन् । राष्ट्र बैंकका अनुसार हाल ८९ वटा लघुवित्त कम्पनीहरु सञ्चालनमा छन् । उनीहरुले नेपाल राष्ट्र बैंकबाट लाईसेन्स लिएका छन् । राष्ट्र बैंकको मापदण्ड अनुसार पुँजी पुर्याएका छन् र आधारभूत रुपमा राष्ट्र बैंकका नीति नियम पालना गरेर सेवा सञ्चालन गरिरहेका छन् । यदि उनीहरुले राष्ट्र बैंकले जारी गरेको नीति निर्देशन पालना गरेका छैनन् भने राष्ट्र बैंकले सर्वसाधारणका लागि भ्रम छरिरहेको छ । यहि राष्ट्र बैंक हो जसले एक वर्षमा २५ भन्दा बढी लघुवित्तलाई लाईसेन्स बाँढ्यो र ९० वटा भन्दा बढी पुर्यायो । अहिले केही मर्ज भएका छन्, केही मर्जको क्रममा छन् । यहि राष्ट्र बैंक हो जो आज लघुवित्तको संख्या अब २५ वटामा झार्नु पर्ने तर्क गरिरहेको छ । केन्द्रीय तहमा बाहेक जिल्ला तहमा खुलेका लघुवित्तमा साना लगानीकर्ता छन् । नेप्सेमा सूचिकृत लघुवित्तको संख्या ५० वटा छन् । समूहगत परिसूचकमा लघुवित्त समूहको परिसूचक करिव २१०० छ । नेप्से परिसूचक १३०० नजिक हुँदो लघुवित्त समूहको परिसूचक २१०० हुनु भनेको लघुवित्त कम्पनीहरुको सेयर मूल्य उच्च छ भन्ने नै हो । बैंक, डेभलपमेन्ट बैंक, फाइनान्स, ट्रेडिङ, जलविद्युत तथा अन्य समूहको परिसूचक भन्दा लघुवित्त समूहको परिसूचक बढी छ । यसको अर्थ हो यो बजारमा साना साना लगानीकर्ता धेरै छन् । भविष्यप्रति बढी आशावादी भएर लघुवित्तको सेयरमा प्रतिकित्ता औषतमा २१०० रुपैयाँ हालिरहेको छन् । नेपाल राष्ट्र बैंक नेपालका सरकारी निकायमा औषतभन्दा राम्रो संस्था मानिन्छ । तर पनि यो संस्थालाई दुईवटा गम्भीर आरोप लाग्दै आएको छ । कहिले लाईसेन्स बेच्ने, कहिले आफ्नै सन्तान रेट्ने । कहिले भटाभट लाईसेन्स वितरण गर्ने, कहिले लाइसेन्स प्राप्त संस्था खारेज गराउन दवाव दिने राष्ट्र बैंकको नीतिमा धेरैले प्रश्न गर्दै आएका छन् । २०६० को दशकमा वाणिज्य बैंक ३२ वटा, विकास बैंक ८८ वटा र वित्त कम्पनी ७९ वटा थिए । अहिले वाणिज्य बैंक २७ वटा, विकास बैंक २५ र वित्त कम्पनी २२ वटामा सीमित हुनु र ८९ वटा लघुवित्तलाई २५ वटामा झार्ने लक्ष्य लिनुले राष्ट्र बैंक माथि लागेको लाईसेन्स बेच्ने र सन्तान रेट्ने आरोपमा आधार थपेको छ । गरिबी निवारण लघुवित्त बहुउपयोगि संस्थाको रुपमा यसका प्रवद्र्धकहरुले प्रचार प्रसार गरेपनि यो क्षेत्र बहुत नाफामूखी व्यवसाय बनेको छ । सहकारीले १५ प्रतिशतभन्दा बढी लाभांश बाढ्न पाउँदैनन, व्यापारिक कम्पनीले २० प्रतिशत भन्दा नाफा लिन पाइदैन भन्ने नीतिगत व्यवस्था छ । तर गरिबी निवारणमा काम गर्ने भन्ने लघुवित्त संस्थालाई ५०÷१०० प्रतिशतसम्म लाभांश वितरण गर्न राष्ट्र बैंकले स्वीकृत दिन्छ । लघुवित्तहरु बढी नाफा मुखी हुँदा यो क्षेत्रमा बेथिति पनि व्यापाक नै भएको छ । तर व्यथिति निवारण गर्नुभन्दा राष्ट्र बैंक यी संस्थाहरुलाई नै उन्मुलन गर्ने दिशामा जान लागेको देखिएको छ, जुन सहि नीति होइन ।
मन्त्रिपरिषद पुनर्गठनको गृहकार्य, अर्थमन्त्रीमा नारायणकाजीको सम्भावना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठनको प्रक्रिया अगाडि बढाएका छन् । सत्ता साझेदार समाजवादी पार्टी सरकारबाट बाहिरिएको, उपसभामुख डा. शिवमाया तुम्बाहम्फेलाई मन्त्री पद लिने भनेर उपसभामुखबाट राजीनामा गराएको, अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल सकिन लागेको र राष्ट्रिय जनता पार्टी (राजपा) पनि सरकारमा सहभागी हुन तयार देखिएको परिस्थितिका कारण मन्त्रिपरिषद पुनर्गठनको गृहकार्य चलेको हो । मन्त्रिपरिषद पुनर्गठनका लागि प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग केही चरण छलफल पनि गरेका छन् । यस्तो छलफलमा कसकसलाई मन्त्रीको जिम्मेवारी दिने भन्ने टुंगो लागिनसकेको भएपनि केही नेता दुबै अध्यक्षको रोजाईमा परेका स्रोतले बताएको छ । समाजवादी पार्टीले छोडेका कानुन र शहरी विकास मन्त्रालय राजपालाई दिने तयारी सत्तारुढ नेकपाको छ । तर, राजपाले थप अर्काे मन्त्रालय पनि मागेका कारण केही ढिलाई भएको बताइन्छ । यस्तै, उपसभामुखबाट राजीनामा दिएकी डा. तुम्बाहम्फेलाई पनि मन्त्री बनाउने सहमति दुबै अध्यक्षको छ । तर, उपसभामुखबाट राजीनामा गर्ने वित्तिकै मन्त्री बन्दा आफूलाई पदलोलुपको आरोप लाग्ने भन्दै तुम्बाहम्फेले केही समय मन्त्री नबनाउन प्रधानमन्त्री ओलीसँग आग्रह गरेकी स्रोतको दाबी छ । अर्थमन्त्री डा. युवराज खतिवडाको २० फागुनदेखि संसद पदको कार्यकाल सकिदैछ । तर, प्रधानमन्त्रीको सिफारिसमा उनी फेरि राष्ट्रियसभा सदस्य बन्ने सम्भावना भने छ । डा. खतिवडाले राट्रियसभा सदस्य भएर आएको अवस्थामा अर्थमन्त्रालयकै जिम्मेवारी पाउने हो भने पनि मन्त्रीमा पुनःनियुक्ति हुनुपर्नेछ । पछिल्लो समय अर्थमन्त्रालयको जिम्मेवारी नारायणकाजी श्रेष्ठले पाउने संकेतहरु पनि देखिएका छन् । श्रेष्ठले राष्ट्रियसभामा विजयी हुनेवित्तिकै अब आर्थिक क्रान्तिमा केन्द्रीत हुने प्रतिक्रिया दिएका थिए । श्रेष्ठको यो प्रतिक्रियालाई धेरैले उनको अर्थमन्त्रालयको दाबेदारीको रुपमा लिएका छन् । गोर्खा प्रतिनिधिसभा निर्वाचन हारेका श्रेष्ठलाई राष्ट्रियसभामा ल्याउने नेकपाको निर्णय नै उनलाई थप जिम्मेवारी दिनका लागि हो भन्नेमा कुनै शंका छैन । राष्ट्रियसभाको सदस्यले प्रधानमन्त्री पदको जिम्मेवारी लिन नपाउने भएकोले उनलाई अर्थ र उपप्रधानमन्त्रीको जिम्मेवारी दिन लागिएको स्रोतको दाबी छ ।
बिग्रिएका बैंक-फाइनान्सलाई जीवन दिने प्रभु बैंककाे ‘हुटहुटी’, ओशो भने जस्तै ‘प्रभु शरणम्’
काठमाडाैं । थाकखोलाबाट झरेका थकाली प्राय आफ्नो परम्परागत पेशामा नै रमाएका छन्। स्वादिलो खाना खुवाउने भएकाले सानो समुदाय भए पनि उनीहरुको आफ्नै शान र नाम छ। देशभरी थकालीको जनसंख्या १० हजार हाराहारी छ। भूपि शेरचनले देश विदेशमा चिनाएको मुस्ताङको थाकखोलालाई थकालीको पुस्तौनी थलोको रुपमा नै चिनिन्छ। होटल व्यवसायमा रमाउन नसक्ने लाहुर जान्छन् पैसा कमाउन। सामूहिक भावनाका कारण उनीहरुले विगत लामो समयदेखि ढुुकटी खेले र आर्थिक रुपमा सबैलाई सबल बनाउने लक्ष्यसमेत राखे। केहीले यसलाई अवैध पनि माने। ग्रामीण अर्थतन्त्रको विकासमा त्यसले महत्वपूर्ण योगदान दियो। एकाधबाहेक धेरै जसो थकाली सम्पन्न छन्, आर्थिक रुपमा। लाहुरे हुने र होटल व्यवसाय गर्न छाडेर अन्य पेशामा रमाउन खोज्ने थकाली कमै भेटिन्छन्, ती मध्येका एक हुन् अशोक शेरचन। लाहुरे हुने मोह त्याग्दा बैंक तथा वित्तीय संस्थाको प्रमुख हुने मेसो मिलेको हो, उनलाई। विसं २०२९ सालमा धौलागिरिको फेदमुनि बाग्लुङमा जन्मिएका अशोकलाई शङ्करदेव क्याम्पसमा पढ्न आउनु नै सफलताको पहिलो खुट्किलो बन्न पुग्यो। बागलुङ बजार आफैँमा राम्रो र सुन्दर परिचय बोकेको स्थानका रुपमा परिचित छ। उत्तरतिर देखिने धौलागिरि, अन्नपूर्ण र माछापुच्छ्रेको छायाँले पनि धेरैलाई सफल बन्न प्रेरित गरिरहेको छ । शंकरदेवमा व्यवस्थापन विषय पढ्न बागलुङबाट काठमाडौँ हान्निएको ठिटो आज प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत बनेको छ । “के यो सफलता होइन र ? मेरा लागि शेरचनले विगत सम्झिए। राष्ट्र बैंकका उच्च तहका कर्मचारी थिए, गोविन्दबहादुर थापा । नाताले अशोकको सानिमाका श्रीमान् (सानाबा) । कालीगण्डकी तरेर काठमाडौँ झरेको युवालाई बैंकर बन्न सुझाउने र प्रेरणा दिने उनै थापा थिए । साथीभाइले पनि सुनाए, नेपाल बंगलादेश बैंकमा जागिर खुलेको छ । खाने कि नखाने एउटा प्रश्न भने मनमा द्विविधाको रुपमा उभिएको थियो । तलब थियो, मात्र रु चार हजार ३०० । यो कुरा सन् १९९५ को हो । परीक्षाका सबै चरण पूरा गरेर म बैंकिङ क्षेत्रमा प्रवेश गरेको हो । नरेन्द्र भट्टराईले तातेताते गराएर बैंकका ल्याएको अशोक यतिखेर सक्षम र सवल बैंकरको रुपमा स्थापित छन् । “मेरो जागिर खाने कुरा त थिएन, तर अकस्मात बैंकको जागिरे भइयो । विदेश गएको भए राम्रै कमाइ हुन्थ्यो होला भन्ने शुरु शुरुमा त लाग्थ्यो । किनकी सेवा सुविधाका हिसाबले आकर्षक क्षेत्र थिएन त्यतिखेर”, शेरचनले सुनाए। प्रभु फाइनान्सबाट शुरु भएको वित्तीय क्षेत्रको व्यवसाय यतिबेला प्रभु बैंकमा परिणत भएको छ । त्यसका पछाडि मेहनत, प्रतिबद्धता अनि लगनशीलताले काम गरेको छ । कुनै बेलाको सबल र सक्षम संस्थाको रुपमा चिनिएको ‘क’ वर्गको वाणिज्य बैंक किष्ट बैंक समस्यामा पर्यो। सम्हाल्न प्रभु समूह नै आइपुग्यो । यस्तै अर्को ग्राण्ड बैंक समस्याको भूमरीमा फस्यो, समाल्ने जिम्मेवारी प्रभु समूहले नै पायो । समस्यामा परेका बैंक तथा वित्तीय संस्थालाई एक आपसमा गाभेर ठूलो संस्था बनाउने ‘हुटहुटी’ले नै काम गर्यो। समस्या भएकालाई लिँदा राम्रो गर्ने प्रेरणा मिल्दो रहेछ । राम्रा त राम्रा नै भए । नराम्रालाई राम्रो बनाउन सजिलो हुँदो रहेछ, प्रमुख कार्यकारी अधिकृत शेरचनले भने, “बैंक तथा वित्तीय संस्था गाभ्दा सकार र नकार दुवै प्रकारको परिणाम प्राप्त हुँदो रहेछ ।” समस्यामा फसेका संस्था उद्धार गर्दा गर्दै सबल संस्थाको रुपमा प्रभु बैंक स्थापित भएको छ । निजी क्षेत्रको अग्रणी बैंकको रुपमा स्थापित प्रभु बैंकले डोल्पा, हुम्लालगायत कर्णालीमा समेत शाखा विस्तार गरेर राज्यको आँखाभन्दा पर परेका दूर्गम बस्तीलाई राजधानीसँग जोडेको मिठो सफलताको कथासमेत उनले सुनाए। “सबै काम राज्यले मात्रै गर्छ भनेर सोच्नु पनि भएन नी, हामीले पनि केही न केही योगदान त गर्नैपर्छ”, शेरचनले भने, “एकले थुकी सुकी, सयले थुकी नदी भन्ने त हाम्रो लोकोक्ति नै छ नी !” बिग्रिएकालाई जीवन नेपालको बैंक तथा वित्तीय संस्था गाभ्नेमा प्रभु बैंक अग्रणी संस्थाको रुपमा स्थापित छ । समस्यामा फसेका, झण्डैझण्डै अस्तित्व नै सकिन लागेका संस्थालाई प्राण भरेर, नयाँ जीवन दिएर, ती संस्थाका लगानीकर्ता बचाउने संस्थाको रुपमा अग्रपंक्तिमा नाम आउँछ, प्रभु बैंक । समस्यामा फसेका बैंक तथा वित्तीय संस्थालाई लिँदा कसरी राम्रो गर्ने भन्ने हुटहुटीले काम गर्दोरहेछ, शेरचन केही आशावादी देखिए। समस्यामा फसेर प्रभुले जिम्मा लिएको तत्कालीन किष्ट बैंक र ग्राण्ड बैंकको डुबेको ऋण उठाउन आफूहरु आक्रामक रुपमा लागेको उहाँले सुनाउनुभयो । “हामीले खराब ऋणीलाई समय दियौँ, उनीहरुसँग छलफल मात्रै गरेनौँ, सम्झौता पनि गर्यो । सधैँ त्यसरी सुविधा दिन सकिँदैन भन्ने निष्कर्षमा हामी पुगेका छौँ”, शेरचनले भने। प्रभु बैंकले अब रणनीति बदलेको छ । “धमाधम पूराना डुबेको र बिग्रिएका ऋण उठाउन लागि पर्ने योजना बनाएका छौँ । किष्ट र ग्राण्डका समस्यामा परेका धेरै जसो ऋण उठिसकेको भए पनि अझै रु दुई अर्ब जति बाँकी छ । समस्यामा परेका संस्था लिँदा के होला, कस्तो होला भन्ने चिन्ता त अवश्य नै थियो”, उनले भने “तर, बिग्रिएका संस्था लिएर पनि सकरात्मक सन्देश दिन हामी धेरै सफल भएका छौँ । जुन सकारात्मक सन्देश हाम्रा लागि चुनौतीपूर्ण यात्राको लागि एउटा कोशेढुंगा बनेर स्थापित भएको छ ।” बैंक विश्वासमा चल्ने संस्था हो । निक्षेपकर्तादेखि लगानीकर्ताको समेत विश्वासले त्यस्ता संस्था चल्छन् । सोही आधारमा प्रभु बैंकले खराब ऋणीलाई ऋण तिर्न प्रोत्साहन गरेको उनले सुनाए । “हामीले धेरै सहज वातावरण पनि बनाइदियौँ, सोही वातावरणको उपयोग गरेर धेरैले तिरे पनि तर केहीले भने अझै अटेर गरेर बसेका छन् । उनीहरुप्रति अब हामी आक्रामक रुपमा प्रस्तुत हुन्छौँ”, शेरचनले भने, “अब हामी खराब ऋण उठाउन कानूनी प्रक्रिया शुरु गर्छौं ।” समस्यामा फसेको भनिएको किष्टमा भन्दा ग्राण्ड बैंकको जटिलता देखिएको प्रभु बैंकको बुझाइ छ । डेढ दर्जनभन्दा बढी त्यस्ता ऋणी छन् । बैंकले त्यस्ता खराब ऋणीको ऋणको ‘प्रोभिजनिङ’ गरेको छ । शेरचनका अनुसार एउटै ऋणीको मात्रै रु ३० करोड बढी ऋण उठाउन बाँकी छ । जुन ऋण उठेको खण्डमा बैंकको मुनाफामा मात्रै नभइ ऋण लगानीमा समेत ठूलो राहत मिल्छ । समस्यामा परेका संस्था स्याहार्दा शुरु शुरुमा त धेरै समस्या भोग्नुपरेको उनले सुनाए। खराब कर्जाको मात्रा बढी हुँदा राष्ट्र बैंकले पनि प्रश्न गर्ने अवस्था थियो । दुःखले सुख दिन्छ भने जस्तै भयो, प्रभु बैंकलाई । जोखिमको भूमरीमा फसेका किष्ट र ग्राण्डलाई जोगाएर ती बैंकका लगानीकर्तालाई हामीले ठूलो आड भरोसा दियौ भन्न पाउँदा गौरवको महसुस नै हुन्छ, शेरचन विगतमा फर्किए । उनले भने “ठूला समस्यामा परेका वाणिज्य बैंक गाभेर ठूलो जोखिम उठाएका थियौँ । शुरुआती चरणमा त हामीलाई निकै गाह्रो भयो, खराब कर्जाको मात्रा निकै उच्च थियो । व्यवसायको सम्भावना पनि असाध्यै कम थियो ।” अस्तित्व नै रहने कि नरहने भन्ने अवस्थाबाट उठेर हाल शीर्ष दशभित्र प्रभु बैंक पुगेको शेरचनको भनाइ छ । “हिसाब किताबका आधारमा हामी शीर्षभित्र परेका छौँ । कुनै संस्था समस्यामा पर्यो भने पनि त्यसलाई सबल र सुदृढ बनाएर लेजान सकिन्छ भन्ने हामीले सन्देश दिएका छौँ । जुन हाम्रा लागि चुनौतीपूर्ण यात्रा त छँदै थियो, आज आएर हेर्दा गौरवपूर्ण इतिहाससमेत भएको छ”, उनले भने, “सरकारी निकायले दिएका निर्देशन तथा नीति नियमलाई अक्षरशः कार्यान्वयन गर्यौं भने पनि त्यसले सार्थक परिणाम दिन सक्छ भन्ने स्पष्ट भएको छ ।” बैंकको हाल खराब कर्जाको मात्रा ३.३२ प्रतिशत मात्रै छ । गत असोज मसान्तसम्मको हिसाब हेर्ने हो भने बैंकले रु ९१ अर्ब ६८ करोड ऋण प्रवाह गरेको छ । शेरचनका अनुसार समस्यामा परेका संस्थामा पनि ठूलो सम्भावना रहन्छ भन्ने स्थापित भएको छ । उनले भने, “सबल र बलिया ठानिएका संस्था त आफैँ बलिया भइहाले नी, कमजोरलाई माथि उठाउन सकिन्छ भन्ने हामीले सन्देश दिएका छौँ ।” शेरचनका अनुसार पहिलो कुरा समस्यामा परेका संस्था ‘मर्ज’ गर्दा आफ्नो नाम राख्न पाइन्छ । र, त्यतिमात्रै होइन, कतिपय बिग्रेका संस्थामा ठूलो सम्भावना पनि हुन्छ भन्ने हाम्रो सोच हो । बलिया त आफैं बलिया भइहाल्छन् नि । उनले नकारात्मक विरासत एकाध वर्षमा हट्ने र प्रभु बैंक नेपालको सबल बैंक बन्ने विश्वास व्यक्त गरे। प्रभु बैंक सफल हुँदै जानुको पछाडिको भेद पनि खुलाए शेरचनले । “हामीले हरेक निर्णय सही समयमा छिटोछिटो गरेका छौँ । कोही कसैले पनि आजको काम भोलि भनेर सारेका छैनौँ । सञ्चालक समिति, प्रमुख कार्यकारी अधिकृत, तथा अन्य विभागीय प्रमुख तथा सबै कर्मचारीले इमान्दार प्रयत्न गरेका छौँ”, उनले भने, “यो सामूहिक काम हो । आज भोलि भनेनौँ । तत्काल गर्नुपर्ने निर्णय तत्काल गर्यौै । जुन हाम्रो सफलताको प्रमुख श्रेयका रुपमा स्थापित छ ।” मर्जरकै यात्रामा सानो संस्थाबाट फैलदै ठूलो संस्था बनेको प्रभु बैंकले अझै केही बैंक तथा वित्तीय संस्थालाई गाभ्ने रणनीति बनाएको छ । वार्षिक साधारणसभाले प्राप्ति गर्ने विषयलाई खुल्ला छाडेको छ । प्रमुख कार्यकारी अधिकृत शेरचन यो विषयमा भने केही कूटनीतिक देखिए। “सबल संस्था बनाउने यात्रामा निस्केपछि हामी केही न केही त गरिहाल्छौँ नि !”, शेरचनले भने, “धेरैसँग छलफल चलिरहेको छ । निर्णय आउन समय त लाग्ला तर हामी छिट्टै अर्को एक वाणिज्य बैंक गाभ्ने प्रक्रियामा छौँ ।” पछिल्ला दिनमा बजारमा प्रभु बैंकले नेपाल क्रेडिट एण्ड कमर्स बैंक गाभ्ने विषयले चर्चा पाएको छ । धेरै चरणमा दुई संस्थाबीच छलफल पनि भइसकेको छ । प्रभु बैंकको रणनीति के छ भने आफूभन्दा बलियो संस्थासँग गाभिएर आफ्नो पहिचान मेटाउने पक्षमा छैन । उसले प्राप्तिको लक्ष्यलाई केन्द्रमा राखेको छ । “त्यसका पछाडि पनि केही कारण छन्”, शेरचनले भने, “विगतमा किष्ट र ग्राण्डलाई लिँदा लामो समयसम्म शेयर कारोबार हुन पाएन । लगानीकर्तालाई मर्का पर्यो । सोही तथ्यलाई केन्द्रमा राखेर हेर्दा ‘एक्वायर’ मात्रै हाम्रा लागि उपयुक्त हुन सक्छ ।” प्रभुले आफूभन्दा कमजोर क्षमता भएका अन्य बैंक तथा वित्तीय संस्थासँग पनि कुरा चलाएको सगौरव सुनाए। प्रभु बैंक नै किन ? वित्तीय कारोबार गर्न अरु धेरै बैंक तथा वित्तीय संस्था छन् । हाम्रो स्वभाविक प्रश्न थियो । “एउटा नेपाली नागरिक अरु बैंक छाडेर किन प्रभु बैंकमा आउने ?” यो प्रश्न सोध्दा शेरचनको मुहारमा एक प्रकारको सकारात्मक आशा देखियो । उनले आफ्नो बैंकको उपस्थिति उपल्लो मुस्ताङ, शे–फोक्सुन्डो, हुम्लाको खार्पुनाथमा समेत रहेको सुनाए । उनले भने, “हामी शहरमा मात्रै होइनौँ, ग्रामीण जो राज्यको आँखामा नपरेका स्थानमा समेत पुगेका छौँ । ग्राहक बैंकमा होइन, बैंक ग्राहकमा जानुपर्छ भन्ने मान्यताका साथ हामीले काम गरेका छौँ ।” बैंक तथा वित्तीय संस्थामा एकै प्रकारका सुविधा उपलब्ध हुने भए पनि विप्रेषण भित्र्याउनेतर्फ अग्रणी संस्थाको रुपमा प्रभु नै रहेको छ । हरेक गाँउका हरेक घरका कोही न कोही वैदेशिक रोजगारीमा गएकै छन् । उनीहरुले आफ्ना परिवारका लागि पठाउने विप्रेषणले मुलुकको अर्थतन्त्र मात्रै होइन, दूरदराजका नागरिकका चुल्होसमेत बलेका छन् । उनी भन्छन्, “हामीले त्यो समुदाय र वर्गलाई समेत आफ्नो सञ्जालमा जोडेका छौँ । जुन हाम्रो ठूलो सम्पत्ति हो ।” त्यसकारणले पनि आज हरेकको मन मतिस्कमा प्रभु बैंक ‘प्रभु’ बनेर स्थापित भएको छ । सङ्ख्यात्मक रुपमा पनि १२ लाख बढी ग्राहक भएको बैंक हो, प्रभु । सङ्ख्याले पनि ठूलो भूमिका खेल्छ व्यवसायमा । एक अर्कामा कारोबार गर्न पनि राम्रो र सजिलो बनाइदिन्छ । प्रभुमा गएपछि अन्यत्र जानै पर्दैन भन्ने मान्यता स्थापित छ । नेपालका सबै भागलाई बैंकिङ सेवा तथा सुविधासँग जोडिएको छ । सहज रुपमा आफ्ना आफन्तले पठाएको पैसा आफ्नै गाउँघरमा पाउँदा को खुसी नहोला र ? शेरचनले भने, “हजारौँ माइल टाढा रहेका आफ्ना आफन्तले पठाएको पैसा आउँदा दूरदराजका बासिन्दाको मुहारमा देखिने खुसीको मूल्य कति हुन्छ ? कुनै गणितले पत्ता लगाउन सक्ला र ?” उनी भन्छन्– डोल्पाको शे–फोक्सुण्डोमा बैंकको शाखा खोल्न मात्रै हेलिकोप्टरमा सामान लैजाँदा रु ५० लाख खर्च भएको छ । त्यहाँबाट हामीले ठूलो व्यवसायको अपेक्षा पनि गरेका छैनौँ । फाइदा पनि हुँदैन । त्यहाँका मासिनले पनि नेपालको अत्याधुनिक बैंकिङ सुविधा पाउन् भन्ने जिम्मेवारी बोधका कारण शाखा खोलेका हौँ । यो आर्थिक वर्षभित्र बैंकका शाखा खुलिसक्छ । राष्ट्र बैंकले तोकेभन्दा पनि धेरै ठाँउमा प्रभुले शाखा खोलेको छ । हामीले मासिक रुपमा एक हजार ५०० जति नयाँ बैंक खाता खोलेका छौँ । सामाजिक सुरक्षा कोषका लागि एउटै शाखाले मात्रै पाँच हजार खाता खोले । वडावडामा बैंकका शाखा खुलेका छन् । सामाजिक सुरक्षा भत्ता लिने सबै बैंकको पहुँचमा पुगेका छन् । सरकारलाई महिला, दलित, आदिवासी, जनजातिको पक्षमा काम गर्न सहज रुपमा तथ्याङ्क प्राप्त हुने अवस्थामा पुगेको छ । एउटै ‘क्लिक’मा हेर्न सकिने अवस्थामा पुगेको छ । “वार्षिक दुई लाख खाता खोल्ने लक्ष्य लिएका छौँ । हामीले शून्य लगानीमा बैंकका केहीमा दोहोरोपना पनि आएको छ । नेपालभर ६० प्रतिशत बढी खाता खुलेको छ । अन्य बैंकका गरी १५ लाख जति नयाँ खाता खुलिसकेको छ”, उनले भने। सामाजिक सुरक्षा कोषमा सहभागी हुन केही कानूनी जटिलता देखिएको छ । कतिपय बैंक सहभागी पनि भए । भएका कतिपय कुरामा केही प्रष्टताको जरुरी रहेको उनको भनाइ छ । कुनै सोचमा लगानी गर्ने कि नगर्ने भन्ने अवस्था छ । राष्ट्र बैंकले नीगित गत प्रष्टता गरिनु जरुरी छ । बैंक पनि व्यापार गर्न गरेको संस्था हो । जानीजानी जोखिम हुने क्षेत्रमा त लगानी गरिँदैन । नयाँ कुरा आयो, चल्छ कि चल्दैन भन्ने कुरा हेर्नुपर्छ । सरकारले सुरक्षा दियो भने लगानी गर्न समस्या होइन, बैंकले लगानी नगरेका होइनन्, गरेका छन् । ओशोले दिएको नाम प्रभु बैंकको नाम कसरी राखियो ? शेरचन केही समय मुस्कुराए। प्रभु समूहका अध्यक्ष छन् देवीप्रकाश भट्टचन, ओशोका अनुयायी । ओशोले आफ्ना सबै अनुयायीलाई अर्कै नाम दिन्थे । पोल्ट्री व्यवसायमा नाम कमाएका गुणचन्द्र विष्टलाई ओशोले स्वामी कृष्ण भारतीको नाम दिएका थियो । देवीप्रकाशलाई ओशोले दिएको नाम थियो प्रभु शरणम् । देवी नाम भएकाले पनि त्यस्तो उपनाम दिएको आफूलाई अध्यक्षले सुनाएको शेरचनले बताए। छोटो पनि छ नाम । जनजिब्रोमा सहजै झुण्डिने खालको छ । सुख–दुःखमा पनि मिल्ने, ‘प्रभुको जय होस्’ भन्न पनि मिल्ने भएकाले प्रभु नाम रहन गएको हो । थकाली समुदाय सामूहिकतामा विश्वास गर्छन् । सामाजिक रुपमा समान हुनुपर्छ भन्दै आर्थिक रुपमा कमजोर भएकालाई माथि तान्ने प्रयास गर्छन् । व्यवस्थित रुपमा बस्नुपर्छ भन्ने उनीहरुको मान्यता छ । “मलाई पनि बेला बेलामा सोही मान्यताले काम गर्छ, किनकी थकालीको रगतमा नै सामूहिकताको भावना बगेको हुन्छ” शेरचनले आफ्नो समुदायप्रति गौरव गर्दै भने, “सोही भावनाले गर्दा राम्रो प्रस्ताव लिएर आउनेलाई हामीले सहज रुमपा ऋण दिएर उद्यमी बनाएका छौँ ।” विगतमा बैंकमा जागिर खाने कुरा सजिलो थिएन । आफ्ना दिन सम्झनुभयो, उहाँले । तर, अहिले बैंकमा आउने नयाँ कर्मचारी ‘हाइटेक’ खालका छन् । “उनीहरु छोटो बाटोबाट अगाडि बढ्न खोज्छन् । छोटो बाटोले सफलता त देला तर टिकाऊ भने हुँदैन”, उहाँले अनुभव सुनाउनुभयो । “नयाँ पुस्ता गहिराईमा जान खोज्दैनन् । उनीहरुमा कुनै भावना छैन । कुनै लगाव पनि छैन, यसलाई भने हामी सबैले मिलेर सुधार गर्नुपर्छ”, उनले भने। राजनीतिमा जाने सोच शेरचनको कार्यकाल अब तीन वर्ष बाँकी छ । बैंकले अन्य संस्थालाई प्राप्ति तथा गाभेको अवस्थामा थप केही समय उनले बैंकको नेतृत्व सम्हाल्ने मौका पाउने छन् । बैंकको जागिर सकिएपछि के गर्ने सोचमा होलान्, शेरचन? आम मानिसको मनमा एक प्रकारको जिज्ञासा स्वभाविक छ । उनले एकदैम सहज उत्तर दिए, “अब म राजनीतिमा जाने सोचमा छु ।” बाग्लुङ वा देशका जुनसुकै स्थानबाट भए पनि राजनीति गर्ने इच्छा पलाएको छ, शेरचनलाई । सामाजिक रुपमा परिवर्तन ल्याउने एउटा ठूलो माध्यम भनेकै राजनीति हो । राजनीति सबैं नीतिको पनि नीति हो । “म बैंकको उच्च तहमा पुगिसके । शून्यदेखि सिकेर आज यो तहसम्म आइपुग्दा धेरै कुरा जानेको छु । यो ज्ञान र अनुभवलाई देश सेवामा लगाउने सोच छ” उनले भने। नीति निर्माणमा जान पाइयो भने अझै ठूलो क्षेत्रमा सेवा दिन सकिन्छ भन्ने आफूलाई लागेको उनले सुनाए । यसलाई तपाईं लोभ पनि भन्न सक्नुहुन्छ वा अरु केही, शेरचनले कुराको बिट मार्दै भन्नुभयो, “म सानाभन्दा साना कामलाई पनि अगाडि बढाउनुपर्छ भन्ने सोच राखेर अगाडि बढ्ने गरेको छु । मलाई आगामी दिनमा पनि सफल बनाउनेछ ।” रासस
ब्यवसाय ब्यवस्थित हुन नसक्दा सामाजिक सुरक्षा कोषमा जान असहज
काठमाडौं । ग्रील तथा स्टील ब्यवसाय ब्यवस्थित हुन नसक्दा सरकारले घोषणा गरेको सामाजिक सुरक्षा कोषमा जान समेत बाधा परेको ग्रील तथा स्टील ब्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले बताए । बाराको निजगढमा ग्रील तथा स्टील व्यवसायी संघ बाराको प्रथम भेलाको उद्घाटन गर्दै अध्यक्ष कटुवालले सरकारको नीति नियम अनुसार सामाजिक सुरक्षा कोषको दायरामा लैजान समस्या भएको जानकारी दिए । भौतिक पुर्वाधारको पनि पुर्वाधार विकासमा नभई नहुने ग्रील तथा स्टील ब्यवसाय काठको बिकल्पको रुपमा देखिएको हुदा यसले बनजङल बिनासकम गर्न मद्दत पुगि वातावरणलाई सन्तुलन राख्न सहयोग पुगेको हुदा यस्को महत्त्व अझ बढेको बताए । नयाँ प्रबिधी भित्र्याएर उत्पादकत्व बढाउन सकिने हुदा त्यस तर्फ लाग्न ब्यवसायीहरुलाई आग्रह गर्दै अधिकाश श्रमिकहरुलाई सामाजिक सुरक्षाकोशको बारेमा जानकारी नभएको जानकारी दिए । साथै थाहा भएका श्रमिक तथा व्यवसायीहरु पनि कोषमा आवद्ध हुन नचाहेको कारण सचेतना कार्यक्रमलाई व्यापक रुपमा संचालन गर्नु पर्ने उनको भनाई छ । महासंघका महासचिब बिबेकदास श्रेष्ठले ६७ जिल्लामा आफ्नो सञ्जाल बिस्तार गरिसकेको ग्रील तथा स्टील ब्यवसायी महासघ नेपालले अन्तर्रास्ट्रिय स्तरमा समेत सम्बन्ध बिस्तार गर्न लागिएको बताए । केन्द्रीय सदस्य प्रकाश पौडेलले ब्यवसाय संचालन गर्दा ब्यवसायजन्य सुरक्षा तथा स्वास्थ सम्बन्धी सचेतना कार्यक्रमलाई देशब्यापी रुपमा संचालन गर्नु पर्ने जानकारी दिए । मकवानपुर जिल्लाका अध्यक्ष श्कुमार पौडेलले सरकारले निर्धारण गरेको ग्रीलजन्य सामानको मूल्य सूचीलार्इ आधार मानी काम गर्दा ब्यवसायीलाई थोरै भएपनि रहत मिल्ने बताउँदै स्वस्थ प्रतिस्पर्धा गर्न सबै ब्यवसायीलाई आग्रह गरे ।
ग्लोबल आइएमईले गर्याे वित्तीय साक्षरताका लागि साइकल र्याली तथा गोष्ठी
काठमाडौं । ग्लोबल आइएमई बैंकले तेह्रौं बार्षिकोत्सवको अवसरमा वित्तीय साक्षरताको लागि साइकल र्याली तथा गोष्ठीको आयोजना गरेको छ । बैंकले वित्तीय साक्षरता तथा नेपाल भ्रमण वर्ष २०२० को प्रचार/प्रसारसम्बन्धी विभिन्न सन्देश मुलक प्लेकार्डसहित कान्तिपथ शाखाबाट सुरु भई लैनचौर, सोह्रखुट्टे, छाउनी, हलचोक, इचंकुनारायण हुँदै रामकोट नागार्जुन स्थित श्री जनउद्धार माविसम्म साइकल र्यालीको आयोजना गरेको हो । सोही अवसरमा बैंकले विद्यालयलाई १ थान हेभी ड्युटी फोटोकपी मेसिन र शैक्षिक सामाग्रीहरु प्रदान गरेको छ । नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेत र बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले फोटोकपी मेसिन र शैक्षिक सामाग्रीहरु संयुक्त रुपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकुन्द खनाल र प्रधानाध्यापक रवि खनाललाई हस्तान्तरण गरेका हुन् । उक्त र्यालीमा १ सय ५० जनाभन्दा बढीको सहभागीता रहेको थियो । यसै गरी शुक्रबार बैंकको डुम्रे शाखामार्फत तनहूँ जिल्लाकोे भानु नगरपालिका फुस्रेटारस्थित श्री भानु संस्कृत माध्यमिक विद्यालयमा बैंकिङ्ग साक्षरता कार्यक्रम सम्पन्न गरिएको छ । भानु नगरपालिकाका मेयर उदयराज गौलीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा भानु नगरपालिकामा रहेका ७ विद्यालयका शिक्षकहरु र विद्यार्थी गरी करिब ३ सय जनाको सहभागिता रहेको थियो । कार्यक्रममा जनरल बैंकिङ्ग तथा डिजिटल बैकिङ्ग गरी दुई वटा साक्षरताकक्षा संचालन गरिएको थियो । बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन अनुरुप समय–समयमा वित्तीय साक्षरताका यस्ता कार्यक्रमहरु संचालन गरी स्थापनाकाल देखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर वित्तीय साक्षरता लगायत विभिन्न सामाजिक कार्यहरुमा गर्दै आएको छ ।
भक्तपुरको एक विद्यालयले गरेको फोहोरबाट मोहोर उत्पादन गर्ने कार्यक्रम
काठमाडौ । भक्तपुरको एभरेष्ट इगलिश स्कुलको आयोजनामा फोहोरबाट मोहोर उत्पादन गर्ने कार्यक्रम सकिएको छ । वेष्ट फ्रम वेष्ट (खेर गएका वस्तुबाट राम्रा सामानको उत्पादन) इक्जिविशन नामक सो कार्यक्रममा विशेष गरि खेर गएका वस्तुहरुबाट स साना विद्यार्थीहरुले बनाएका आकर्षक सामानहरुको प्रदर्शनी गरिएको थियो । खेर गई सडकमा समस्याको रुपमा फाल्नुपर्ने प्याष्टिकलगायतका वस्तुहरुबाट विद्यार्थीले बनाएका आकर्षक वस्तुहरुको एकदिने प्रदर्शनी गरिएको थियो । स्कुलका एक हजार भन्दा वढी विद्यार्थीले बनाएका एक हजार भन्दा वढी आइटमको प्रदर्शनी गरिएका थिए । साथै स्कुलका शिक्षक, अभिभावकले पनि विद्यार्थीसँग मिलेर बनाएका विभिन्न सामानहरुको प्रदर्शनीमा उपस्थित रहेको विद्यालयले जनाएको छ । विद्यालयका प्रिन्सिपल भक्त राजभण्डारीले खेर जाने वस्तुहरु वजारमा फाल्नु अगाडि ससाना विद्यार्थीले दस पटक सोचून भन्ने उद्देश्यका साथ प्रत्येक वर्ष वर्षमा एक पटक प्रदर्शनी गर्दै आएको बताए । यसले विद्यार्थीमा सिर्जनात्मक क्षमता बढ्ने विश्वास पनि उनले लिए । साथै यसले वातावरण प्रदूषणमा पनि सहयोग मिल्ने उनको विश्वास छ । घरमा लगाउने जुता, चकटी, डालो, व्याग, ढकनी, फुलदानी, फोटो फ्रेम, मिनी वास्केटवल, फूल, कप, पुतलीलगायतका उपयोगी समान बनाएका थिए । साथै उनीहरुले सजाउने नमूना घर, खेलौना गाडी, बोटल, पेन्सिल वक्सलगायतका सामान बनाएका थिए । प्रदशर्नी संयोजक एवं विद्यालयकी शिक्षिका चण्डेश्वरी हाछेथूले प्रदर्शनीको एक हजार पाँंच सय भन्दा वढीले अवलोकन गरेको जनाइन् । यसले फाल्नुपर्ने फोहोरबाट मोहर बनाउने सन्देश पुगेको विश्वास लिइन् ।
सुडानी सरकार र प्रतिपक्षीबीच शान्ति सम्झौताको खाकामा हस्ताक्षर
खार्तुम । लामो समयदेखि द्वन्द्वको चपेटामा परेको सुडानमा सरकारी पक्ष र विपक्षीले शुक्रबार शान्ति सम्झौताको खाकामा हस्ताक्षर गरेका छन् । सरकार र विपक्षी दल सुडान पिपल्स लिबरेसन मुभ्मेन्ट (एसपिएलएम) दक्षिणी क्षेत्रले शान्ति सम्झौताको खाकामा हस्ताक्षर गरेका हुन् । हस्ताक्षर कार्यक्रम दक्षिणी सुडानको राजधानीस्थित राष्ट्रपतिको कार्यालय जुबामा भएको थियो । दुवै पक्षलाई सहमतिमा पुर्याउनका लागि राष्ट्रपतिले मध्यस्तकर्ताको भूमिका खेलेको बताइएको छ । सम्झौतामा सुरक्षा र शासन प्रणालीका विषयहरु समावेश गरिएको सरकारी पक्षले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ । सरकारको तर्फबाट सम्झौतापत्रमा हस्ताक्षर गरेका सुडानी स्वायत्त परिषद्का उपाध्यक्ष मोहम्मद हम्दान डाक्लुले भने, “हस्ताक्षरित सम्झौताबाट सरोकारवालाहरुका बीचमा बलियो साझेदारी र लगाब देखिएको छ,” । यस्तै सम्झौतामा हस्ताक्षर गरेको अर्को पक्षका रुपमा रहेको एसपिएलएम दक्षिणी क्षेत्रले ब्लु नाईल क्षेत्रमा सशस्त्र विद्रोहीको नेतृत्व गरेको छ । त्यस समूह दक्षिण सुडानको सीमा क्षेत्रमा सन् २०११ देखि सक्रिय रहेको छ। रासस/सिन्ह्वा