अजोड इन्स्योरेन्सको सेयर निष्काशन तथा प्रत्याभूतिमा ग्लोबल आईएमई र कुमारी क्यापिटल
काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडको सेयर निष्काशन तथा प्रत्याभूतिमा दुई क्यापिटल नियुक्त भएका छन् । इन्स्योरेन्सले माघ १२ गते ग्लोबल आइएमई क्यापिटल तथा कुमारी क्यापिटललाई सेयर निष्काशन तथा प्रत्याभूतिमा नियुक्त गरेको हो । सो सम्बन्धि अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री, ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकाल र कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजेश श्रेष्ठले प्रत्याभुतिकर्ता नियुक्ती सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।
१० अर्बको स्टक डिलर कम्पनी खोल्दै सीआईटी, एनटीसी र पुनर्बीमा कम्पनी पनि संस्थापक
काठमाडौं । नागरिक लगानी कोष (सीआईटी) ले स्टक डिलर कम्पनी खोल्ने गृहकार्य अन्तिम चरणमा पुर्याएको छ । सीआईटीले भोलि (१३ माघ) कम्पनी दर्ता गर्ने तयारी गरेको भएपनि नेपाल टेलिकम (एनटीसी) ले निर्णय गर्न ढिलाई भएका कारण रोकिएको छ । सेयर बजारमा आउने उथलपुथललाई स्थीरता प्रदान गर्न स्टक डिलर कम्पनी स्थपना गर्न लागिएको कोषका उपकार्यकारी निर्देशक डा. इन्द्रकुमार कट्टेलले जानकारी दिए । डिलर स्थापनाको सबै प्रक्रिया पूरा भएकोले केही दिनमा नै दर्ता गरिने डा. कट्टेलले बताए । ‘सेयर बजारमा ठूलो घटबढ हुन नदिन स्टक डिलर स्थापना गर्न लागेका हौं, बजार धेरै घट्यो भने सेयर किन्ने र धेरै बढ्यो भने बेच्ने गरेर बजारलाई स्थायित्व प्रदान गर्ने काम डिलरले गर्नेछ,’ डा. कट्टेलले भने । कम्पनीका सीआईटीको ५१ प्रतिशत सेयर रहनेछ । यस्तै, १० प्रतिशत सेयर लिने निर्णय नेपाल पुनर्बीमा कम्पनीले गरिसकेको छ । कम्पनीमा नेपाल टेलिकम पनि संस्थापक सेयरधनीको रुपमा रहने भएको छ । टेलिकमले ९ प्रतिशत सेयर लिनेछ । बाँकी ३० प्रतिशत सेयर सर्वसाधारणको लागि छुट्टयाइनेछ । कम्पनीको अधिकृत पुँजी १० अर्ब रुपैयाँ हुनेछ भने चुक्ता पुँजी ५ अर्ब रुपैयाँ हुनेछ । यस्तै, कम्पनीले बढीमा १० अर्ब रुपैयाँसम्म बजारबाट उठाउनेछ । यसरी बजारबाट रकम उठाउँदा दुई विकल्पमा उठाउनेछ । ‘स्टक डिलर कम्पनीले एउटा बास्केट बनाउँछ, त्यो बास्केटमा ५ देखि १० अर्ब रुपैयाँ बजारबाट उठान्छ, यसरी बास्केटमा पैसा हाल्नेले बजारको व्याज दरअनुसार व्याज लिने वा सेयर खरिदविक्रीबाट प्राप्त हुने लाभहानीमा सहभागी हुन पनि पाउने छन्, जुनसुकै विकल्प पनि प्रयोग गर्न पाइने परिकल्पना गरेका छौं,’ डा. कट्टेलले भने । स्टक डिलर कम्पनीले सेयर बजारमा करिब १५ अर्ब रुपैयाँ लगानी गर्नेछ । आफूसँग भएको ५ अर्ब रुपैयाँ र बजारबाट बास्केट फण्डको रुपमा उठाएको १० अर्ब रुपैयाँ लगानी गरेर सेयर बजारलाई स्थायित्व प्रदान गर्ने काममा कोष लागेको हो ।
बल्ने ढुङ्गाको आशले गुमेको त्यो ५० लाख रुपैयाँ, जुन रुपैयाँले ६ जनालाई प्रहरी खोरमा पुर्यायो
काठमाडाैं । गत बिहिबार एउटा समूहले काठमाडौं महानगरपालिका वडा न. १५ भगवानपाउँका ६३ वर्षीय बच्चुराम गुरूङलाई अनेकन प्रलोभन देखाएर उनीबाट ५० लाख रुपैयाँ लुटे । लुटपाटमा संलग्न मध्येका एक हुन् भीमबहादुर घर्तीमगर । उनले गुरुङलाई ‘मेरो बाजेसँग बल्ने ढुङ्गा छ’ भन्दै प्रलोभनमा पारे । त्यही प्रलोभनमा परेर गुरुङले पनि ५० लाख रुपैयाँ ल्याएर त्यहीँ पुगे । उनको हातमा त्यो पैसा देख्ने बित्तिकै उनीहरुले आँखामा खुर्सानीको धुलो छर्केर लुटपाट गरी त्यहाँबाट भागे । गुरूङले उनीहरु विरुद्ध उजुरी गरेसँगै लुटपाटमा संलग्न ६ जनाको समूहलाई आइतबार प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा न. ६ कटजुनका ३० वर्षीय नकुर तामाङ, रसुवा आमाछोदिङ्मो गाउँपालिका वडा न. ५, गोलजुङका ३८ वर्षीय दावाछिरिङ तामाङ, रामेछापको मन्थली नगरपालिका–९, पुरानागाउँका ३६ वर्षीय कुमारबहादुर बुढाथोकी, रसुवाको उत्तरगया गाउँपालिका–२ खड्कुका ३६ वर्षीय तेञ्जिङबहादुर तामाङ र सोही ठाउँका २८ वर्षीय सञ्जित वाईबा रहेका छन्। महानगरीय अपराध अनुसन्धान टेकुका सूचना अधिकारी प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले लुटेराहरूले काठमाडौं उपत्यकाभित्र अलौकिक वस्तुहरू बल्ने ढुङ्गा, वन झाँक्रीको हड्डी, गौलोचन, एक मुखे रुद्राक्ष, दाहिने शंख, नक्कली सुन, नक्कली डलर, पुरातात्विक सामान आफूसँग छ भनेर खरिदका लागि एकान्तमा बोलाई मिलेर लुटपाट तथा डकैती गर्ने गरेको अनुसन्धानबाट देखिएको बताए । सिंहले लुटपाटमा संलग्नहरूलाई उपत्यकाको विभिन्न स्थानदेखि पक्राउ गरिएको बताए । लुटपाटमा संलग्नमध्येका मगरले गुरूङले उक्त रकम आफ्नै घर बैंकमा धरौटी राखेर लगेको खुल्न आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सञ्जितको साथबाट २३ हजार ५ o रूपैयाँ, तेञ्जिङको साथबाट ५ लाख ८० हजार रूपैयाँ, भीमबहादुरको साथबाट ३ लाख ५ हजार रूपैयाँ, नकुरको साथबाट ४ लाख ३१ हजार रूपैयाँ, कुमारको साथबाट २ लाख २ हजार रूपैयाँ र दावाछिरिङको साथबाट ३ लाख ३१ हजार रूपैयाँ बरामद गरिएको छ। लुटपाटपछि पाएको ५ लाखमध्ये सञ्जितले २ लाख ११ हजार सानिमा विकास बैंकमा बचत गरेको, ७७ हजारमा सुनको औंठी बनाएको, ओप्पो मोबाइल १९ हजारमा खरिद गरेको र घर बनाएको ऋण तिर्न दिदीलाई १ लाख रूपैयाँ पठाएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए। भीमबहादुरले भने लुटपाटपछि पाएको ७ लाखमध्ये लु ५९ प २१३५ न. को २२० सिसीको पल्सर मोटरसाइकल ३ लाख ३० हजार रूपैयाँमा किनेको र नगरकोटमा एकरात बसी होटलमा खर्च गरेको पाइएको छ। दावाछिरिङले भने पाएको ५ लाखमध्ये १ लाख ५० हजार रूपैयाँ ऋण तिरेको, कुमारले पाएको ४ लाख ५० हजारमध्ये ७५ हजार रूपैयाँ घरभाडा तिरेको, १ लाख २५ हजार ठेकेदारको ऋण तिरेको र नकुरले भने पाएको ५ लाखमध्ये ३० हजार फाइनान्समा किस्ता तिरेको र अन्य खाएर मासेको सिंहले बताए। उनीहरूबाट १८ लाख ७५ हजार ५ सय रूपैयाँ, लुटपाटमा प्रयोग गरिएका ३ थान मोटरसाइकल, लुटिएको पैसाले किनेको १ थान मोटरसाइकल, लुटिएकै पैसाले किनेको सुनको औंठी १ थान, नागरिकता, मोबाइल, खुकुरी, फोल्डिङ हुने रड पनि बरामद गरिएको बताए ।
सेञ्चुरी बैंकद्वारा विद्यार्थीलाई सहयोग
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको भैरहवा शाखाले श्री रोहिणी विद्याश्रम आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकालाई न्यायो कपडा हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ओमसतिया गाउँपालिका वडा नं ३ लोहरौलिमा स्थित उक्त विद्यालयका ११० विद्यार्थीलाई सो सहयोग गरेको हो । उक्त न्यानो कपडा बैंकका भैरहवा शाखाका शाखा प्रबन्धक बिशाल गुप्ताले विद्यालयका प्रध्यानाध्यापक विजय मणि त्रिपाठीलाई हस्तान्तरण गरेका हुन् । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण तथा अन्य क्षेत्रमा थुप्रै कार्यक्रमहरु गर्दै आएको छ ।
रुपन्देहीको धकधइमा प्रभु बैंकको नयाँ शाखा
काठमाडौं । प्रभु बैंक लिमिटेडले रुपन्देहीको धकधइमा नयाँ शाखा विस्तार गरी सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले गरेका हुन् । शाखाको उद्घाटन गर्दै प्रमुख अतिथी यादवले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताए । साथै, प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको उनले बताए । बैंकको धकधइ शाखा कार्यालयबाट प्रभु बैंकले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने छन् । त्यस्तै, स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा अभिवृद्धि भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा धकधइ शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकको विश्वास छ ।
सभामुखमा अग्नि सापकोटा निर्विरोध निर्वाचित
काठमाडाैं । प्रतिनिधिसभाको सभामुखमा अग्निप्रसाद सापकोटा निर्वाचित भएका छन् । आइतबार बसेको संसद बैठकले सापकोटालाई निर्विरोध निर्वाचित गरेको हो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार सापकोटालाई राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद लक्ष्मण लाल कर्णले समर्थन गरेका थिए । आइतबार अपरान्ह बसेको प्रतिनिधिसभामा बैठकमा ज्येष्ठ सदस्यका हैसियतले राजपाका अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुरले सभामुखमा सापकोटा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्। नेकपाका संसदीय दलका उपनेता सुवास नेम्बाङले ‘अग्निप्रसाद सापकोटालाई सभामुखमा निर्वाचित गरियोस्’ भन्ने गरेको प्रस्तावलाई प्रतिनिधिसभाको बैठकले सर्वसम्मतीले पारित गरेको थियो। प्रस्तावको समर्थकको रुपमा नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङ र सांसद ओनसरी घर्ती एवं तथा राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्णले रहेका थिए। सभामुख पदका लागि सापकोटाको मात्रै उम्मेदवारी परेको थियो। गत सोमबार नेकपाका तर्फबाट सापकोटाले सभामुखमा उम्मेदवारी दिएका थिए। सभामुख पदका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने उम्मेदवारी दिएको थिएन।
कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम: विज्ञानको एउटा विषय छाड्नै पर्ने
काठमाडौं । कक्षा ११ र १२ नयाँ पाठ्यक्रमले अन्योलत बढाउँदै गएको छ । यसभन्दा अगाडिको विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीले बायोलोजी, फिजिक्स, केमेस्ट्री र एउटा गणित अध्ययन गर्दै आएका थिए । नयाँ आएको पाठ्यक्रममा बायोलोजी, फिजिक्स र केमेस्ट्री मध्ये एउटा विषय छाडेर गणित पढ्नु पर्ने छ । यसअघि नो क्रेडिटमा मात्रै गणित विषय समावेश गराउने भएपछि विरोध शुरु भएको थियो । सरकारले कक्षा ११ र १२ को पाठ्यक्रमबाट गणित विषय हटाउने भने पछि जनस्तरबाट विरोधको आवाज चर्किन थालेको थियो । जनस्तरको विरोधको सामाना गरिरहेको पाठ्यक्रम विकास केन्द्रले सर्वाजनिक गरेको नयाँ पाठ्यक्रमबाट विज्ञानको एउटा विषय अध्ययन गर्नै नसकिने बनाइएको विज्ञहरु बताउछन् । नेपाल गणित समाजका सहसचिव तथा त्रिभुवन विश्वविद्यालय केन्द्रीय गणित विभाग उपप्राध्यापक डा. जीवन काफ्लेले विज्ञानका विषयहरु बायोलोजी, फिजिक्स र केमेस्ट्री मध्ये एउटा विषय विद्यार्थीहरुले पढ्न नपाउने नयाँ पाठ्यक्रम आएको छ । देशले प्रविधिलाई प्रथामीक्ता दिएर जानु पर्ने ठाउँमा एउटा विषय पढ्नै नपाउने गरेर आएको पाठ्यक्रमले विद्यार्थी र देशको प्रविधिमाथि नै प्रहार गरेको बताए । प्रविधिको समयमा विज्ञान तथा प्रविधिको आधार स्तम्भको रुपमा रहेको विज्ञानका विषयहरुलाई उच्च महत्व दिनु पर्नेमा आज विपरीत दिशातिर फर्कन लागेको अनुभव आफुले महशुस गरेको बताए । ‘अबको पाठ्यक्रम विज्ञान, प्रविधिमैत्री भएमा मात्र हामी विकासको सहि मार्ग पहिल्याउन सक्छौं, विज्ञान र गणितबिना विद्यार्थीहरुको जीवन अन्धकार हुन्छ ।’ उनले भने- ‘आज विश्वका धेरै देशहरुले पाठ्यक्रमको नविनतम धारणा अन्तर्गतमा जोड दिएका छन्, जसले गर्दा उनीहरु आर्थिक विकास तथा समृद्धिमा फड्को मारिरहेका छन ।यसलाई सकारात्मक शिक्षाको रुपमा हामीले लिनु पर्दछ, अन्यथा २१ औं शताब्दीमा ज्ञान, विज्ञान तथा प्रविधिक जनशक्तिको खाँचो राज्यले गरिरहने तर हामी भने देश तथा विदेशमा बिक्न नसक्ने जनशक्ति उत्पादन गरिरहने छौं । यसको बारेमा राज्यलाई ध्यानाकर्षण गराउँदा पनि बेव्यवस्था गरेको काफ्लेको भनाइ छ ।’ पाठ्क्रम विकास केन्द्रका निर्देशक लेखनाथ पौडेलले विषय घटायर गणित विषय राखेको बताए । ५ वटा विषयको ठाउँका ७ वटा विषय हुन जाने बताए । विज्ञान विषयबाट गणित हटाउन पहल गर्दागदै विज्ञानकै एउटा विषय गायब विज्ञान विषयबाट गणित विषय हटाउने भने पछि, त्यसको विरोध भएको थियो । विज्ञान विषयको भाषा नै गणित हो । बिना भाषाको सिकाईको कल्पनानै गर्न सकिँदैन, गणित, विज्ञानको आधार र मेरुदण्ड दुवै हो भन्दै विराध भएको थियो । तर बायोलोजी, फिजिक्स र केमेस्ट्री मध्ये एउटा विषय छाडनु पर्ने भएको छ । पहिले विज्ञानमा गणित चहिन्छ भन्नेहरु अब विज्ञान नै अपुरो हुने बताउछन् ।
विवादबाट निस्कदै बैंकर, भुवनको ‘स्माईलिङ फेस विथ स्ट्रङ टीथ’ सिद्धान्तले ल्यायाे परिवर्तन
काठमाडौं । गत आर्थिक वर्षमा उद्योगी व्यवसायीको एउटा टोली प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै भेट्न पुग्यो । बैंकको व्याज असाध्यै महंगो भएकोले उद्योग व्यवसाय नै गर्न नसक्ने अवस्था सिर्जना भएको, आफ्नो समस्या नेपाल राष्ट्र बैंक, अर्थमन्त्रालय र बैंकहरुले नसुनेको उनीहरुको आरोप थियो । प्रधामन्त्रीमन्त्री ओलीसम्म पुगेर बैंकप्रति गुनासो गर्ने उद्योगीहरुको नेतृत्व पवनकुमार शारडाले गरेका थिए । उनी मोरङ उद्योग वाणिज्य संघको अध्यक्ष हुन् । मोरङ उद्योग वाणिज्य संघकै अगुवाईमा बैंकको व्याजदर विरुद्ध उद्योगीबाट एक प्रकारको विद्रोह नै भएको थियो । सोभन्दा अगाडि पनि बैंकको व्याजदरलाई लिएर प्रश्न उठ्ने गरेका थिए । नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छ बैंकर उपस्थित प्रायः सबै कार्यक्रममा व्याजदरको विरोध गर्थे । बैंकको व्याजदर चर्काे भएर उद्योग व्यवसाय गर्नै नसक्ने अवस्था आएको गोल्छाको प्रतिक्रिया हुने गथ्र्याे । उद्योग व्यवसायीले आपत्ति जनाउने गरेका कर्जाको व्याजदरको विषय थियो । यता बैंकहरु भने निक्षेपको व्याज अचाक्ली बढेको भन्दै एउटा सीमामा राख्न ‘भद्र सहमति’ गरिरहेका थिए । बैंकहरुको यो सहमतिलाई ‘कार्टेलिङ’ भनेर बजारमा चर्काे आलोचना हुने गरेको छ । नेपाल राष्ट्र बैंक यी सबै घटनामा सार्वजनिक रुपमा मौन थियो । तर, राष्ट्र बैंक उच्चअधिकारीको ‘रहर’मा आएको बिग मर्जरका विषय भने बैंकर र राष्ट्र बैंकबीच पनि विवाद थियो । राष्ट्र बैंकका उच्च अधिकारी बैंकबीच मर्जर गराएर संख्या घटाउन चाहन्थे, नेपालमा ठूलो बैंक चाहिएको कि प्रुडेन्ट बैंकिङ भन्दै बैंकर प्रश्न गरिरहेका हुन्थे । सरकारले तोकेको आयकर र कर्पाेरेट करका विषयमा कर प्रशासन र बैंकबीच पनि विवाद थियो । रक्सी, चुरोट क्यासिनो जस्ता नकारात्मक सुचीका व्यवसायलाई जस्तै बैंकलाई पनि ३० प्रतिशत कर लगाएकोमा बैंकरको विरोध थियो । यस्ता सबै घटना सार्वजनिक मञ्चमै सुनिन्थ्यो । नेपाल बैंकर्स एसोसिएसन (एनबीए) र उद्योगी व्यवसायीहरुको संघ संस्थाबीच दोहोरी नै चल्यो । र, यही परिवेशमा बैंकका अध्यक्षहरुको संस्था नेपाल बैंक तथा वित्तीय संस्था परिसंघ दर्ता भयो । बैंकका अध्यक्षहरु नै उद्योगी व्यवसायी पनि भएकोले परिसंघ स्थापनाले बैंकिङ क्षेत्रमा ठूलै तरंग ल्यायो । तर, अहिले परिवेश बदलिएको छ । एनबीएको अध्यक्ष भुवन दाहाल भएका छन् । उद्योगी व्यवसायीले व्याज चर्काे भयो भनेर आलोचना गरिरहेका छैनन् । कर लगायतका नीतिगत विषयमा अर्थमन्त्रीसँग एनबीएले छलफल गरेको छ । बैंकिङ क्षेत्रका समस्याका बारेमा एनबीए र नेपाल राष्ट्र बैंकबीच पटक पटक छलफल भएको । परिवेश कसरी वदलियो त ? सरकार, नियामक निकाय वा बैंकका सरोकारवालासँगको सम्बन्धमा एकाएक कसरी सुधार आयो त ? ‘मलाई वादविवाद धेरै गर्न मन लाग्दैन, सँगै बसेर छलफल गर्यो भने समस्याको समाधान निस्कन्छ भन्ने मलाई लाग्छ, काम पनि त्यसैगरी गर्ने गरेको छु,’ एनबीए अध्यक्ष दाहाल भन्छन् । समन्वयकारी भूमिकामा विश्वास गर्ने दाहाल सकेसम्म सबैलाई समेटेर लानुपर्नेमा विश्वास गर्छन् । आफ्नो यो सिद्धान्तलाई दाहालले एनबीएमा लागू पनि गरिसकेका छन् । एनबीएको पहिलो बैठकबाट ३ समिति गठन गरियो । राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ संयोजकत्वमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनलगायतमा गर्नुपर्ने कानुनी सुधारको विषयमा सुझाव दिन समिति, एनबीलाई अवका दिनमा कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा सुझाव दिन नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत अनुकुलन भट्नागरको संयोजकत्वमा समिति र बैंकका कर्मचारीको तलब भत्ता, बैंकको व्याज अन्तर, कमिसन, फि जस्ता कुराहरु अन्य देशमा के कस्तो छ, नेपालमा के कस्तो हुनुपर्छ भन्ने सन्दर्भमा सुझाव दिन कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायको संयोजकत्वमा समिति । यी तीनवटै समितिमा ५/५ जना सदस्य छन् । समितिलाई प्रतिवेदन पेश गर्न २ महिनाको म्याद दिइएको छ । बैंकिङ सम्बन्धी कानुनले कतिपय सन्दर्भमा गलत नगर्नेलाई पनि फसाएको बैंकरको बुझाइ छ । बैंक अफ काठमाडूका पूर्व प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले पक्राउ गरेपछि बैंकर झस्किएका थिए । ‘गल्ती गर्नेले सजाय पाउनै पर्छ, तर कतिपय अवस्थामा गलत नगर्नेहरु पनि कानुनी झमेलामा पर्ने अवस्था देखियो, त्यसैले कानुनमा के कस्तो सुधार आवश्यक छ भनेर प्रतिवेदन पेश गर्न समिति बनाइएको हो,’ दाहालले भने । बैंकर्स परिसंघ बनेपछि एनबीएको भूमिकामाथि नै प्रश्न उठेको छ । यसअघि एनबीएको धारणा नै बैंकिङ क्षेत्रको धारणाको रुपमा बुझ्ने गरिएपनि अब त्यस्तो नहुने अवस्था परिसंघको गठनले देखाएको छ । ‘परिसंघले नीतिगत सुधारका लागि उच्चस्तरको समन्वय गर्ने भन्नुभएको छ, बैंकिङ क्षेत्रको बारेमा आमधारणा सार्वजनिक गर्ने र समन्वय गर्ने भनेको एनबीएले नै हो, परिसंघसँग पनि कसरी सहकार्य र समन्वय गरेर अगाडि बढ्न सकिन्छ भनेर नै भट्नागर संयोजकत्वको समिति बनाइएको हो,’ अध्यक्ष दाहालले भने । बैंकका कर्मचारीको तलब तथा सेवा सुविधाको विषयमा पनि प्रश्न उठ्ने गरेको छ । कर्मचारले धेरै तलब खान्छन्, बैंकले धेरै शुल्क तथा फि लिन्छन्, बैंकको व्याज अन्तर (स्प्रेड) पनि धेरै छ भन्ने जस्ता आरोप लाग्ने गरेका छन् । एनबीए यस्ता आरोपका विषयमा पनि अध्ययन गर्ने अभियानमा छ । ‘आरोप नै लागिसकेपछि त्यसको यथार्थ तथ्य सार्वजनिक गर्नु नै पर्छ, कहि कतै गलत भएको रहेछ भने सुधार गर्ने हो, गलत भएको छैन भने यथार्थ यो हो भनेर सबैसामु भन्ने हो, यथार्थ सार्वजनिक गर्ने र गलत भए सुधार गर्ने अभिप्रायले नै अनिल उपाध्याय संयोजकत्वको समिति बनाएका हौं,’ अध्यक्ष दाहालले थपे । सिद्धान्तमा सम्झौता नगर्ने र व्यवहारमा लचकता अपनाउने दाहालको अर्काे एउटा पनि सिद्धान्त छ– स्माइलिङ फेस विथ स्ट्रङ टीथ । दाहालको यही सिद्धान्तले एनबीएलाई विवादमुत्त बनाउने र बैंकरलाई आरोपबाट केहीहदसम्म भएपनि पर राख्ने सम्भावना छ । तर, आगामी दिनका उनका कदम पनि हेर्नै पर्ने हुन्छ ।