विकासन्युज

पाँच नम्बर प्रदेशलाई लगानी तथा औद्योगिक गन्तब्य बनाउने

काठमाडाैं । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले निजी क्षेत्रसँगको साझेदारीलाई थप प्रभावकारी बनाउन कानूनी सुधारदेखि उद्योगका लागि आवश्यक पूर्वाधार निर्माणमा सघाउन तयार रहेको बताएका छन् । नेपाल उद्योग परिसंघमा उद्योगी तथा लगानीकर्ताहरुसँग अन्तरक्रिया गर्दै मुख्यमन्त्री पोखरेलले उद्योगका लागि आवश्यक जग्गा तथा ऊर्जा उपलब्ध गराउन प्रदेश सरकार तयार रहेको बताएका हुन् । मोतिपुर कोरिडोर, बाँकेको नौवस्ता र दाङमा जग्गा अधिग्रहण भइसकेकाले लगानी परियोजना आए तत्काल जग्गा उपलब्ध गराउन तयार रहेको छ। मुख्यमन्त्री पोखरेलले वैशाखमा आयोजना हुने लगानी सम्मेलनमा प्रस्तुत हुने परियोजना विकासको चरणमा सहकार्य गर्न पनि परिसंघलाई आग्रह गरे। उनले सिमेण्ट उद्योगको क्षमता विस्तार गर्न, कृषिजन्य उद्योग स्थापना गर्न तथा वनजन्य कच्चापदार्थ उपयोग गर्ने गरी कागज उद्योग स्थापनाको प्रस्ताव ल्याउन पनि लगानीकर्ताहरुलाई आग्रह गरेका छन् । साथै, भैरहवा विमानस्थलसँग जोडेर पर्यटन पूर्वाधार लगानी विस्तार तर्फ सहकार्य गर्न पनि मुख्यमन्त्री पोखरेलले आग्रह गरेका छन् । सो अवसरमा मुख्यमन्त्री पोखरेललाई परिसंघमा स्वागत गर्दै परिसंघका अध्यक्ष सतिशकुमार मोरले उद्योग तथा लगानीमैत्री वातावरण सिर्जना गर्न मुख्यमन्त्रीले लिएका पहलमा परिसंघले सघन सहकार्य गर्ने बताएका छन् । अध्यक्ष मोरले प्रदेश सरकारले लगानी तथा औद्योगिकीकरणमा लिएको उत्तरदायित्वले लगानीकर्ताका लागि सकारात्मक वातावरण बन्दै गएको बताए । प्रदेश स्तरमा निजी सार्वजनिक साझेदारीका नमुना परियोजना पहिचान तथा विकासमा परिसंघले थप सहकार्य गर्ने पनि अध्यक्ष मोरले उल्लेख गरेका छन्। सो अवसरमा परिसंघका उपाध्यक्ष राजेश अग्रवाललले पाँच नम्बर प्रदेशमा खुलेका सिमेण्ट उद्योगहरुलाई आवश्यक विद्युत अपुग रहेका तर्फ मुख्यमन्त्री पोखरेलको ध्यानाकर्षण गराएका छन् । छलफलमा सहभागी परिसंघको विभिन्न उद्योग लगानी प्रर्वद्धनसँग सम्बन्धित समितिका अध्यक्षहरुले लगानी सम्मेलनमा उद्योगमैत्री कानून निमार्ण तथा नयाँ लगानीकर्ताहरुका लागि आकर्षक प्याकेज प्रस्तुत भए पाँच नम्बर प्रदेश लगानी गन्तव्य हुन सक्ने धारणा राखेका छन् ।

आरबिबि मर्चेन्टको ५औं वार्षिकोत्सव सम्पन्न, राष्ट्रिय वाणिज्य बैंक झै स्थापित हुन प्रोत्साहन

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनी आरबिबि मर्चेन्ट बैंकिङ्गको ५औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । उक्त समारोह नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरजगिरी तथा नेपाल स्टक एक्स्चेन्ज(नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदको आथित्यतामा सम्पन्न भएको हो । समारोहमा धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले मर्चेन्ट बैंकिङ्गलाई यस क्षेत्रमा हुँदै आएका काम कारबाहीहरुलाई अझै पारदर्शी रुपमा देशका हरेक स्थानहरुबाट सम्पन्न गराउनको लागि कार्य भइरहेको तथा लगानी मैत्री वातावरण सृजना गर्नको लागि अध्ययन समेत भइरहेको जानकारी गराएका छन् । उनले मर्चेन्ट बैंकरहरुलाई इङ्गित गर्दै लगानीका नयाँ आयामहरुको अध्ययन अनुसन्धान गरिनुपर्ने तथा नियामक निकायहरुलाई सो सम्बन्धी कार्यविधि तयार बनाउन समेत पहल गर्नुपर्ने बताए । समारोहमा नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउदले धितोपत्र कारोबार सहज र सरल रुपमा गर्नको लागि अनलाईन प्रणाली लागू भैसकेको तथा बजारमा सूचीकृत बैंक तथा वित्तीय संस्था साथै अन्य कम्पनीहरुको बारेमा विश्लेषण गर्नको लागि छुट्टै डाटा बेस तयार भैरहेको जानकारी दिए । मर्चेन्टका प्रमुख कार्यकारी बद्री प्रसाद प्याकुरेलले मर्चेन्टको वर्तमान स्थिति, संस्थाले नेपाल पुनर्बीमा कम्पनीले निष्काशन गर्न लागेको १ अर्ब ६० करोड रुपैयाँ बराबरको प्रथामिक सेयर सर्वसाधारण समुहलाई निष्काशन गर्नको लागि आरविवि मर्चेन्ट बैंकिङ्गसँग सम्झौता भए बमोजिम उक्त निष्काशनको अन्तिम चरणको काम भइरहेको साथै विभिन्न कम्पनीहरुसंग समन्वय गर्दै विभिन्न सम्झौता समेत भइरहेको जानकारी गराएका छन् । कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले कम्पनीको ५औं वार्षिकोत्सव समारोह मनाउने अवसरमा यस संस्थालाई एउटा हुर्कीरहेको बच्चाको संज्ञा दिँदै अबको दिनमा यस संस्थाले धितोपत्र बजारको चुनौतीहरुलाई आत्मसाथ गरि आफूलाई पनि राष्ट्रिय वाणिज्य बैंक जसरी नै स्थापित हुनको लागि प्रोत्साहन दिएका छन् ।

एनआरएनए र पिपुल्स लिगल एसोसियट्सबीच निःशुल्क कानूनी परामर्श सम्झौता

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए) र पिपुल्स लिगल एसोसियट्सबीच गैर आवासीय नेपालीलाई कानूनी परामर्श दिने विषयमा सम्झौता भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा गैरआवसीय नेपाली संघका प्रमुख कार्यकारी अधिकृत डा. हेमन्तकुमार दवाडी र पिपुल्स लिगल एसोसियट्सका प्रबन्ध निर्देशक अधिवक्ता रामचन्द्र पौडेल (आरसी विमल) ले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार गैरआवसीय नेपाली संघका सदस्यलाई पिपुल्स लिगल एसोसियट्सले निशुल्क कानूनी परामर्श दिनेछ ।  कार्यक्रममा उपस्थीत नेपाल बार एसोसियसनका महासचिव लिलामणी पौडेलले अनुभवी व्यक्तिहरुले सञ्चालन गरेको पिपुल लिगल एसोसियट्सले प्रदान गर्ने कानूनी परामर्शले एनआरएनएका सदस्यलाई नेपालको कानूनका विषयमा सहज रुपमा जानकारी तथा परामर्श दिनविश्वास व्यक्त गरे । नेपालीका लागी नेपाली अभियान अन्तर्गत विदेशमा रहेका नेपालीलाई नेपालमा सहयोग गर्ने व्यवस्था मिलाउन निःशुल्क कानूनी परामर्श दिने सम्झौता गरिएको गैरआवासीय नेपाली संघका पदाधिकारी तथा युरोपका उपसंयोजक शुक्रराज न्यौपानेले बताए । न्यौपानको अग्रसरताले नै पिपुल्स लिगल एसोसियट्स र एनआरएनएबीच कानूनी परामर्श दिने सम्झौता भएको हो । कार्यक्रममा पिपुल्स लिगल एसोसियट्सका प्रबन्ध निर्देशक पौडेलले गैर आवसीय नेपालीको आवश्यकता अनुसार नेपालको कानूनी विषयमा सम्झौता अनुसार निशुल्क परामर्श दिइने प्रतिबद्धता व्यक्त गरे । ‘१५वर्ष देखि ठुलो संख्याका व्यवसायी तथा व्यक्तिहरुलाई कानूनी सेवा प्रदान गर्दै आइरहेका थियौँ ।’- पौडेलले भने, ‘एनआरएनएसँग जोडिँदा अझनै उत्साहित छौँ ।’ गैर आवासीय नेपाली संघका प्रमुख कार्यकारी अधिकृत दवाडीले पिपुल्स लिगल एसोसियट्ससँगको सहकार्यले एनआरएनका सदस्यलाई नेपालको कानूनी व्यवस्थाबारे जानकारी तथा परामर्श लिन सजिलाे हुने विश्वास गरेका छन् ।

आशा लघुवित्तले महाेत्तरीको एकडारामा सम्पन्न गर्यो सिपमूलक तालिम

काठमाडौं । आशा लघुवित्तले महोत्तरीको एकडारामा सिपमूलक तालिम सम्पन्न गरेको छ । लघुवित्तले गत माघ १३, १४ र १५ गते गरी ३ दिनमा सो तालिम सम्पन्न गरेको हो । लघुवित्तले महोत्तरीमा आबद्ध सदस्यहरु मध्ये ७६ जना महिला सदस्यहरुलाई निःशुल्क रुपमा लुगा धुने सर्फ तथा सेनेटरी प्याड बनाउने तालिम प्रदान गरेको हो । तालिम कार्यक्रमलाई उद्घाटन गर्दै शाखा प्रबन्धक संजय कुमार सिंहले कार्यक्रमले महिलाहरुलाई उद्यमशिल बन्न थप सहयोग पुग्ने तथा यस कार्यक्रम पश्चात सदस्यहरुको ब्यवसायमा वृद्धि हुने बताए । उनले सो क्षेत्रका विपन्न महिलाहरुको आर्थिक क्रियाकलापमा वृद्धि हुनुका साथै आत्मनिर्भरता तर्फ उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । वित्तीय संस्थामा कार्यरत कल्याणी खरेलले प्रशिक्षण दिएकि हुन् । तालिम पश्चात सहभागीहरुले कम लागतमा लुगा धुने सर्फ तथा सेनेटरी प्याड बनाउने तरिका, बजारीकरण सम्बन्धमा जानकारी हाँसिल गरेका अवसर पाए । हालै यस वित्तीय संस्थाले विभिन्न शाखा कार्यालयहरु मार्फत झण्डै २,४२४ जना विपन्न महिलाहरुलाई यस प्रकारका सीपमूलक तालिमहरु प्रदान गरिसकेको छ । वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले यस्ता सीपमूलक तालिमहरु सम्पूर्ण शाखा कार्यालयहरुबाट संचालन गरी सदस्यहरुको सीप अभिवृद्धि गरी आत्मनिर्भरता तर्फ उन्मुख गराउन वित्तीय संस्था क्रियाशील रहने बताए । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको राष्ट्रिय स्तरको वित्तीय संस्थाका रुपमा स्वीकृती प्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ‘‘बिपन्न समुदायका निम्ति आशा‘‘ भन्ने मुल नाराका साथ ककनी-६ नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भाद्र १५ गतेबाट कारोबार शुरु गरेको थियो । हालसम्म वित्तीय संस्थाले २९ वटा जिल्लाहरुका ५५ शाखा कार्यालयहरु मार्फत करीब ५२ हजार भन्दा बढी सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । संस्थाको हालसम्म करीब २ अर्ब २३ करोड रुपैयाँ कर्जा लगानीमा रहेको छ भने सदस्यहरुबाट ६५ करोड रुपैयाँ भन्दा बढी निक्षेप संकलन गरेको छ ।

सेञ्चुरी बैंकका ग्राहकलाई भैरहवाको होटल निर्वाणामा १० प्रतिशत छुट

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकका ग्राहकले भैरहवाको रुपन्देहीस्थित होटल निर्वाणा लक्जरी ईन्टरनेशनल प्रा.लिले दिने विभिन्न सेवा सुविधामा १० प्रतिशत छुट पाउने भएका छन् । दुई कम्पनीबीच उक्त छुट दिने सम्बन्धि बिहीबार सम्झौता भएसँगै ग्राहकले उक्त सुविधा पाउने भएका हुन् । ‘नेपाल भ्रमण वर्ष २०२०’लाई भव्यताका साथ सफल पार्न बैंकले आफ्ना खातावालाहरु, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा संस्थापक सेयरधनीहरुलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता गरेको छ । सम्झौता अनुसार बैंकको खातावालाहरु, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका संस्थापक सेयरधनीहरुले होटलको रुम बुकिङ्ग, फुड एण्ड बेभेरेज, स्पा, स्विमिङ्ग पुललगायल सम्पुर्ण सेवा सुविधामा १० प्रतिशतसम्म छुट पाउनेछन् । उक्त सम्झौतापत्रमा बैंकका भैरहवा शाखा प्रबन्धक बिशाल गुप्ता र होटल र्निवाणा लक्जरीका महाप्रबन्धक सुनील श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

एसबिआई बैंकले ल्यायाे बचत तथा कर्जा सुविधा, ४ वटा जिल्लामा मात्रै पाइने

जनकपुर । नेपाल एसबिआई बैंकले प्रदेश नं २ का वैदेशिक रोजगारीमा जाने श्रमिक र तिनका परिवारलाई लक्षित गरी बचत तथा कर्जा सुविधा ल्याएको छ । उक्त सुविधा नेपाल एसबिआई बैंकका ४ शाखाः बर्दिबास, जनकपर, लाहान र मिर्चैयामा उपलब्ध हुने बैंकले जानकारी दिएकाे छ । १०० भन्दा बढी वैदेशिक रोजगारीमा जाने संभावित श्रमिकहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा प्रदेश नं २ का मुख्यमन्त्री मोहमद लालबाबु राउतले ग्राहकहरुलाई कर्जा स्वीकृती पत्र हस्तान्तरण गरेका हुन् । बैंकले प्रदेश २ सरकार र डिएफआइडि/यूकेएड सीपको सहकार्यमा प्रदेश नं २ का वैदेशिक रोजगारीमा जाने श्रमिक तथा तिनका परिवारलाई विभिन्न बैंकिङ सूविधा प्रदान गरिरहेको छ । बैंकले हाल ८८ शाखा, १९ विस्तारित काउन्टर, ८ कन्ट्रोलिङ अफिस, १ इनटच आउटलेट र १ कर्पोरेट अफिस तथा १२४ एटीएमबाट सेवा प्रदान गर्दै आएको छ ।

जनकपुरधामलाई नेपालकै पहिलो क्यासलेस शहर बनाउने

काठमाडौं । जनकपुरधामलाई नेपालकै पहिलो क्यासलेस शहर बनाउने अभियानको थालनी भएको छ । विश्वका विकसित शहरहरु क्यासलेस भईरहेको अवस्थामा जनकपुरधामलाई पनि क्यासलेस शहरको रुपमा विकसित गर्ने अभियानको निमित्त पैसा कार्डको औपचारिक सुरुवात भएसँगै उक्त अभियान शुरु हुन लागेको हो । उक्त अभियानको लागि आइएमई ग्रुपद्वारा प्रवद्र्घित आइएमई डिजिटल सोलुसन लिमिटेड र युकेएड सक्षम एक्सेस टु फाइनान्स प्रोग्रामवीच साझेदारी सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । जनकपुरमा हालै आयोजित एक विशेष कार्यक्रमकाबीच ‘आइएमई पे’का तर्फबाट सीइओ विकास कुमार नाहाटा र युकेएड सक्षम एक्सेस टु फाइनान्स प्रोग्रामका तर्फबाट टिम लिडर निर्मल दाहाल सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौतापछि आइएमई डिजिटल सोलुसनले जनस्तरसम्म वित्तीय पहुंच पुर्याउनका लागि विभिन्न कार्यक्रम कार्यान्वयन गर्नेछ । उक्त कार्यक्रमहरु जनकपुरलाई क्यासलेस बनाउन केन्द्रित रहनेछ । कार्यक्रमको प्रमुख अतिथि मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधामलाई क्यासलेस शहरको रुपमा विकसित गर्नका लागि प्रदेश सरकारको तर्फबाट आवश्यक सबै सहयोग गर्न तयार रहेको बताए । आइएमईको सीईओ सुमन पोखरेलले बदलिँदो समयमा क्यासलेस आजको आवश्यकता रहेको बताए । उनले जनकपुरधाम क्षेत्रमा यसका लागि चुनौती रहे पनि ठूलो सम्भावना रहेको बताए । पोखरेलले यसकालागि सम्बन्धित सबै निकायबाट सहयोगको अपेक्षा समेत गरेका थिए । त्यसैगरी, आइएमई डिजिटल सोलुसनका सीईओ विकास कुमार नाहाटाले मानिसहरुलाई डिजिटल वित्तिय प्रणालीमा समाहित गर्न सकियो भने नोट र सिक्का जस्ता भौतिक रुपमा भुक्तानी गर्नुपर्ने झन्झटबाट मुक्त गर्न सकिने छ । यो वित्तीय समावेशीकरणले मानिसहरुलाई बैंक खातामा परम्परागत फारम बिनानै बैंकिगमा जडान गर्न मद्दत गर्दछ । आइएमई पैसा कार्ड जनकपुरवासीको जनजीवनको अभिन्न अङ्ग बन्ने र यसले जनकपुरलाई क्यासलेस बनाउन महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ ।

पोर्टफोलियो किनबेच खुल्ला गर्न बैंकर्सको सुझाव, सहुलियतपूर्ण कर्जाको व्याज अझै कम हुने

काठमाडौं । नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले रिपोर्टिङ प्रयोजनको लागि पोर्टफोलियो किनबेच गर्न पाउने व्यवस्था गर्नु उपयुक्त हुने सुझाव दिएको छ । बैंकहरुको आधार दर फरक फरक हुँदा सहुलियतपूर्ण कर्जाको व्याज फरक हुने भएकोले यस्तो व्यवस्था गर्नुपर्ने एनबीएको सुझाव छ । अहिले राष्ट्रिय वाणिज्य बैंकको आधार दर ६.६ प्रतिशत जति छ । केही बैंकको आधार दर ११ प्रतिशतसम्म पनि छ । सरकारले व्याज अनुदान दिने कर्जामा बैंकको आधार दरमा २ प्रतिशत प्रिमियम लिन पाइने व्यवस्था छ । सरकारले केही कर्जामा ५ प्रतिशत व्याज अनुदान दिन्छ । यसरी व्याज अनुदान प्राप्त गर्दा पनि आधार दर धेरै भएको बैंकबाट कर्जा लिदाँ व्याज महंगो हुने गर्छ । जस्तो कि राष्ट्रिय वाणिज्य बैंकको आधार दर ६.६ प्रतिशत छ । सो बैंकले आधार दरमा २ प्रतिशत प्रिमियम लिदाँ कर्जा व्याजदर ८.६ प्रतिशत हुने भयो । यस्तो व्याजदरमा ५ प्रतिशत सरकारले अनुदान दिन्छ । यो सरकारी अनुदान कटाउँदा राष्ट्रिय वाणिज्य बैंकबाट सहुलियतपूर्ण कर्जा लिने ऋणीले ३.६ प्रतिशत व्याजमा ऋण पाउँछ । अर्काे कुनै बैंकको आधार दर ११ प्रतिशत छ भने सो बैंकबाट २ प्रतिशत प्रिमियम थप गर्दा १३ प्रतिशत हुन्छ । सो १३ प्रतिशतमा ५ प्रतिशत व्याज अनुदान सरकारले दिन्छ । यस्तो अनुदान घटाउँदा पनि ११ प्रतिशत आधार दर भएको बैंकबाट सहुलियत पूर्ण कर्जा लिने व्यक्तिले ८ प्रतिशत व्याज तिर्नुपर्छ । यस्तै, सरकारले एउटा बैंकलाई कम्तिमा पनि ५ फाइलको सहुलियतपूर्ण कर्जा दिनुपर्ने वाध्यकारी व्यवस्था गरेको छ । सोभन्दा बढी ऋणीलाई ऋण नदिन पनि बैंकले पाउँछ । त्यसैकारण व्याज सस्तो पर्छ भनेर राष्ट्रिय वाणिज्य बैंकमा जाने सबै व्यक्तिले सहुलियतपूर्ण कर्जा नपाउन सक्छन् । सहुलियतपूर्ण कर्जा सबै पाउने र व्याज पनि सस्तो पर्ने भएकोले बैंकहरुलाई रिपोर्टिङ प्रयोजनमा पोर्टफोलियो किनबेच गर्न पाउने व्यवस्था गर्न नेपाल राष्ट्र बैंकलाई सुझाव दिइएको एनबीका अध्यक्ष भुवन दाहालले जानकारी दिए । ‘कुनै एउटा बैंकबाट सहुलियतपूर्ण कर्जा लिएको व्यक्तिले ४ प्रतिशत र अर्काे बैंकबाट सोही कर्जा लिनेले ८ प्रतिशत व्याज तिर्नुपर्ने अवस्था छ, कुनै बैंकले राष्ट्र बैंकले तोकेअनुसार ५ सय जनालाई दिएपछि थप ऋण दिन्न भन्यो भने लक्षितवर्गका सबैले ऋण नपाउने खतरा पनि धेरै भयो, त्यसैले रिपोर्टिङ प्रयोजनको लागि पोर्टफोलियो किन्न पाउने व्यवस्था गरे उपयुक्त हुन्छ भन्ने सुझाव दिएका हौं,’ सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका अध्यक्ष दाहालले भने । यसरी रिपोर्टिङ प्रयोजनको लागि पोर्टफोलियो किन्दा ऋण दिने बैंकलाई निश्चित प्रतिशत कमिसन दिने व्यवस्था मिलाउनु उपयुक्त हुने एनबीएको सुझाव छ । ‘राष्ट्रिय वाणिज्य बैंकले २ हजार जनालाई सहुलियतपूर्ण कर्जा दियो, अर्काे बैंकले आधार दर धेरै भएका कारण त्यस्तो कर्जा दिन सकेको छैन भने राष्ट्रिय वाणिज्य बैंकको केही फोर्टफोलियो किन्ने र सो वापत बैंकलाई केही प्रतिशत कमिसन दिने हो, यसो गर्दा धेरैभन्दा धेरै व्यक्तिले कर्जा पनि पाउने भए, व्याज पनि सस्तो पर्ने भयो,’ पोर्टफोलियो कसरी किन्ने भन्ने विकल्पको व्याख्या गर्दै दाहालले थपे । यस्तो व्यवस्था सरकारले तोकेका उत्पादनमुलक क्षेत्रका कर्जाको हकमा पनि लागू गर्न उपयुक्त हुने सुझाव एनबीएको छ । कृषि क्षेत्रमा लगानी गर्न स्थापना भएको कृषि विकास बैंकसँग सो क्षेत्र सम्बन्धी बढी ज्ञान र विशेषज्ञता हुन्छ । सानिमा बैंकसँग उर्जा क्षेत्रको ज्ञान र विशेषज्ञता बढी हुन सक्छ । यस्तो अवस्थामा सानिमाले उर्जामा गरेको तोकिएको सीमाभन्दा बढीको कर्जालाई अन्य बैंकले रिपोर्टिङ प्रयोजनको लागि किन्ने तथा कृषि विकास बैंकको कृषि क्षेत्रको तोकिए बमोजिमको सीमाभन्दा बढीको कर्जा किन्ने विकल्प एनबीएले सुझाएको हो । यसरी पोर्टफोलियो किन्दा पनि सम्बन्धित बैंकलाई केही प्रतिशत कमिसन दिने प्रस्ताव एनबीएको छ । यस्तो कर्जामा जुन बैंकले जति व्याजदरमा कर्जा दिएको हुन्छ, ऋणीले सोही बैंकलाई नै कर्जाको किस्ता तिर्ने भन्ने हो । कर्जाको व्याजदर, ऋण दिने बैंक जस्ता केही विषय पनि परिवर्तन हुनेछैन । सम्बन्धित सामग्री ऋणपत्रलाई बाध्यकारी नबनाउन बैंकरको माग, मध्यावधि समिक्षामा खुकुलाे नीति बन्ने