
काठमाडाैं । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले निजी क्षेत्रसँगको साझेदारीलाई थप प्रभावकारी बनाउन कानूनी सुधारदेखि उद्योगका लागि आवश्यक पूर्वाधार निर्माणमा सघाउन तयार रहेको बताएका छन् । नेपाल उद्योग परिसंघमा उद्योगी तथा लगानीकर्ताहरुसँग अन्तरक्रिया गर्दै मुख्यमन्त्री पोखरेलले उद्योगका लागि आवश्यक जग्गा तथा ऊर्जा उपलब्ध गराउन प्रदेश सरकार तयार रहेको बताएका हुन् ।
मोतिपुर कोरिडोर, बाँकेको नौवस्ता र दाङमा जग्गा अधिग्रहण भइसकेकाले लगानी परियोजना आए तत्काल जग्गा उपलब्ध गराउन तयार रहेको छ। मुख्यमन्त्री पोखरेलले वैशाखमा आयोजना हुने लगानी सम्मेलनमा प्रस्तुत हुने परियोजना विकासको चरणमा सहकार्य गर्न पनि परिसंघलाई आग्रह गरे। उनले सिमेण्ट उद्योगको क्षमता विस्तार गर्न, कृषिजन्य उद्योग स्थापना गर्न तथा वनजन्य कच्चापदार्थ उपयोग गर्ने गरी कागज उद्योग स्थापनाको प्रस्ताव ल्याउन पनि लगानीकर्ताहरुलाई आग्रह गरेका छन् । साथै, भैरहवा विमानस्थलसँग जोडेर पर्यटन पूर्वाधार लगानी विस्तार तर्फ सहकार्य गर्न पनि मुख्यमन्त्री पोखरेलले आग्रह गरेका छन् ।
सो अवसरमा मुख्यमन्त्री पोखरेललाई परिसंघमा स्वागत गर्दै परिसंघका अध्यक्ष सतिशकुमार मोरले उद्योग तथा लगानीमैत्री वातावरण सिर्जना गर्न मुख्यमन्त्रीले लिएका पहलमा परिसंघले सघन सहकार्य गर्ने बताएका छन् । अध्यक्ष मोरले प्रदेश सरकारले लगानी तथा औद्योगिकीकरणमा लिएको उत्तरदायित्वले लगानीकर्ताका लागि सकारात्मक वातावरण बन्दै गएको बताए । प्रदेश स्तरमा निजी सार्वजनिक साझेदारीका नमुना परियोजना पहिचान तथा विकासमा परिसंघले थप सहकार्य गर्ने पनि अध्यक्ष मोरले उल्लेख गरेका छन्।
सो अवसरमा परिसंघका उपाध्यक्ष राजेश अग्रवाललले पाँच नम्बर प्रदेशमा खुलेका सिमेण्ट उद्योगहरुलाई आवश्यक विद्युत अपुग रहेका तर्फ मुख्यमन्त्री पोखरेलको ध्यानाकर्षण गराएका छन् । छलफलमा सहभागी परिसंघको विभिन्न उद्योग लगानी प्रर्वद्धनसँग सम्बन्धित समितिका अध्यक्षहरुले लगानी सम्मेलनमा उद्योगमैत्री कानून निमार्ण तथा नयाँ लगानीकर्ताहरुका लागि आकर्षक प्याकेज प्रस्तुत भए पाँच नम्बर प्रदेश लगानी गन्तव्य हुन सक्ने धारणा राखेका छन् ।