
काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए) र पिपुल्स लिगल एसोसियट्सबीच गैर आवासीय नेपालीलाई कानूनी परामर्श दिने विषयमा सम्झौता भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा गैरआवसीय नेपाली संघका प्रमुख कार्यकारी अधिकृत डा. हेमन्तकुमार दवाडी र पिपुल्स लिगल एसोसियट्सका प्रबन्ध निर्देशक अधिवक्ता रामचन्द्र पौडेल (आरसी विमल) ले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार गैरआवसीय नेपाली संघका सदस्यलाई पिपुल्स लिगल एसोसियट्सले निशुल्क कानूनी परामर्श दिनेछ । कार्यक्रममा उपस्थीत नेपाल बार एसोसियसनका महासचिव लिलामणी पौडेलले अनुभवी व्यक्तिहरुले सञ्चालन गरेको पिपुल लिगल एसोसियट्सले प्रदान गर्ने कानूनी परामर्शले एनआरएनएका सदस्यलाई नेपालको कानूनका विषयमा सहज रुपमा जानकारी तथा परामर्श दिनविश्वास व्यक्त गरे ।
नेपालीका लागी नेपाली अभियान अन्तर्गत विदेशमा रहेका नेपालीलाई नेपालमा सहयोग गर्ने व्यवस्था मिलाउन निःशुल्क कानूनी परामर्श दिने सम्झौता गरिएको गैरआवासीय नेपाली संघका पदाधिकारी तथा युरोपका उपसंयोजक शुक्रराज न्यौपानेले बताए । न्यौपानको अग्रसरताले नै पिपुल्स लिगल एसोसियट्स र एनआरएनएबीच कानूनी परामर्श दिने सम्झौता भएको हो ।
कार्यक्रममा पिपुल्स लिगल एसोसियट्सका प्रबन्ध निर्देशक पौडेलले गैर आवसीय नेपालीको आवश्यकता अनुसार नेपालको कानूनी विषयमा सम्झौता अनुसार निशुल्क परामर्श दिइने प्रतिबद्धता व्यक्त गरे । ‘१५वर्ष देखि ठुलो संख्याका व्यवसायी तथा व्यक्तिहरुलाई कानूनी सेवा प्रदान गर्दै आइरहेका थियौँ ।’- पौडेलले भने, ‘एनआरएनएसँग जोडिँदा अझनै उत्साहित छौँ ।’
गैर आवासीय नेपाली संघका प्रमुख कार्यकारी अधिकृत दवाडीले पिपुल्स लिगल एसोसियट्ससँगको सहकार्यले एनआरएनका सदस्यलाई नेपालको कानूनी व्यवस्थाबारे जानकारी तथा परामर्श लिन सजिलाे हुने विश्वास गरेका छन् ।