विकासन्युज

उपकार इँटा उद्योगका एक मजदूर मृत फेला

काभ्रेपलाञ्चाेक । पाँचखाल नगरपालिका–८ खटार पाँडुलास्थित उपकार इँटा उद्योगका एक मजदूर आज बिहान मृत अवस्थामा फेला परेका छन् । भारतको दरभङ्गा निवासी ४८ वर्षीय भोली सदाय बिहान ८ बजे मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी निरीक्षक गोविन्द अधिकारीले जानकारी दिएका छन् । अधिकारीका अनुसार सदायलगायत उद्योगका चार जना मजदूरसँगै सुतेको र तीन जना बिहान सबेरै काममा निस्किएका थिए । बिहान ७ बजे काममा आउनुपर्ने काममा नआएपछि उनका साथीले हेर्न जाँदा सदाय मृत अवस्थामा देखिएका थिए । सदायको सुतिरहेको अवस्थामा राति नै मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको अधिकारीले बताए । मृतक सदायको दरभङ्गामा रहेको परिवारलाई घटनाबारे जानकारी गराइएको प्रनि अधिकारीले बताएका छन् । सदायले उद्योगमा मिस्त्रीको काम गर्दै अाएका थिए ।

विद्यार्थी हुनु त यस्तो पो !

काठमाडाैं । आफूलाई शिक्षा दिने गुरु मिर्गौला रोगले थलिएपछि विद्यार्थीले तीन लाख तीन हजार २१५ रूपैयाँ सङकलन गरी प्रदान गरेका छन् । अर्जुनधारा नगरपालिका-५ फूलबारीका भानु माध्यमिक विद्यालयमा अध्ययनत पूर्वविद्यार्थीले विद्यालयका पूर्वप्रधानाध्यापक ताराप्रसाद सञ्जेललाई सो रकम प्रदान गरेका हुन् । विद्यालयका पूर्वविद्यार्थीसमेत रहेका मेची भन्सार कार्यालय झापाका प्रमुख कर अधिकृत ध्रुवराज विश्वकर्माले उनलाई सम्मानसहित नगद हस्तान्तरण गरेका छन् । पूर्वविद्यार्थी देवराज बुढाथोकीले प्रधानाध्यापक सञ्जेलले आफूहरुलाई शिक्षाको उज्यालो ज्योति छरेर सक्षम बनाएको स्मरण गरेका छन् । विद्यालयका पूर्वविद्यार्थी तथा अर्जुनधारा नगरपालिका-५ का वडाध्यक्ष ध्यानबहादुर भारतीले उपचारमा सहयोग गर्न आग्रह गरे । पूर्वविद्यार्थी रामकुमकार बुढाथोकी, पूर्ण चौहान, प्रशान्त भण्डारी, नेत्र नेपाल, दिपेन्द्र लम्साल, गणेशवहादुर खड्का, मेनुका गिरीलगायतले शिक्षा क्षेत्रमा सञ्जेलले पुर्याएको योगदानको प्रशंसा गरे । पूर्वप्रअ सञ्जेलले असल संस्कार हराइरहेका समय अरुलाई समेत प्रेरणा हुने गरी आफ्ना गुरुप्रति विद्यार्थीले देखाएको सद्भावले आफू हर्षित भएको बताए । रासस

लप्सीफेदीको डाँडामा सुविधा सम्पन्न मैत्री सेवाश्रम

काठमाडौं । अग्लो डाँडा । सिरीरीरी.. हावा । वरीपरी घना जंगल । त्यही घना जंगलको बीचमा छ एउटा चिटिक्क परेको वस्ती । त्यो वस्तीका सबै घरका उस्तै संरचना । रंगरोगन पनि उस्तै। सायद त्यो ठाउँमा पुग्ने जोकोही पनि मोहीत हुँदा हुन् । पुरातात्विक नेपाली शैलीमा झल्किएका घर, एक तले घरमाचाहिँ जस्ता, अरु धुरीमा टिनका छाना। साढे चार तले एउटा ठूलो भवन, अरु तीन, दुई र एकतले गरी ३३ वटा घर झुरुप्प एकै ठाउँमा छन्। खुला कम्पाउण्ड, बाटो तथा बत्तीको सुविधा र हरियाली तथा शान्त वातावरण। मानिसहरुले भन्ने गर्छन् नी–‘स्वर्गको आभास’ । हो, त्यस्तै महसुस हुन्छ त्यो ठाउँमा पनि । पहिलो पटक देख्नेहरुले सोच्दा हुन् यो कुनै विदेशी फाइभ स्टार होटल त होइन ? अहँ, भ्रममा नपर्नु । यो न कुनै फाइभ स्टार होटल हो नत कुनै विदेशी वस्ती नै । यो हो शंखरापुर नगरपालिका–४ मा जेपी प्रतिष्ठान द्वारा संञ्चालित मैत्रिसेवाश्रम हो। आश्रम २०७३ फागुनदेखि सञ्चालनमा छ। ज्येष्ठ नागरिकलाई शान्त र प्राकृतिकमैत्री वातावरणमा जीवनयापन गराउनका लागि आश्रम खोलिएको हो। जुन ठाउँबाट विश्वकै सर्वोच्च शिखर सगरमाथा हिमश्रृंखला, प्राकृतिस्थल साँखु मेलम्ची राजमार्गको नजिकको दक्षिणमा पौराणिक एवं ऐतिहासिक साँखु सहर र प्रसिद्ध वज्रयोगिनीको मन्दिर, उत्तर लाङटाङ हिमाल मनोरम हिमशृंखला, गोसाइँकुण्ड र हेलम्बु, पूर्वमा पर्यटकीय नगरी नगरकोटक को लोभ लाग्दो र मनोरम दृश्य देख्न सकिन्छ । त्यही ठाउँमा रमाई रहेका देख्न सकिन्छन् ६० वर्ष पार गरी सकेका वृद्धवृद्धा । जेपी प्रतिष्ठानले ६० वर्ष नाघेका स्वदेशी तथा विदेशी व्यक्तिहरूलाई मासिक न्यूनतम शुल्क लिई आधारभूत आवश्यकतासहित भोजन, विश्राम, काम, मनोरञ्जन र स्वास्थ्य सेवाको सन्तुलित व्यवस्था गरेर उनीहरु को स्याहार सुहार गरिरहेको छ । यसै प्रतिष्ठानका अध्यक्ष हुन् मित्रसेन दाहाल । उनै दाहालको अवधारणमा स्थापना भएको जेपी प्रतिष्ठान । भनिन्छ नी–जसको कोही छैन उसको भगवान हुन्छ । हो मित्रसेन पनि ती वृद्धवृद्धाका लागि भगवान बनेका छन् । दिनभरी आश्रमका वृद्धवृद्धाहरुलाई खुवाउँछन् । उनीहरु सँगै खेल्छन् । र, राती उनीहरु सँगै सुत्छन् । ‘जसको जिवन शुखद हुँदैन, शारीरिक रुपमा कमजोर हुन्छन्, घरमा पालन पोषन गर्ने मानिस पाउँदैनन्, उनीहरुलाई ल्याएर हामी आश्रममा यहाँ राख्छौं,’ दाहालले भने । निश्चित संख्यामा अशक्त, असाय र राष्ट्रलाई उल्लेखनीय योगदान पुर्यौउने व्यक्तिहरूलाई निःशुल्क सेवाहरू प्रदान गर्दै आएका उनको भनाइ छ । राष्ट्रलाई उल्लेखनिय योगदान गरेका व्यक्तिलाई पनि सरकारको सिफारिस अनुसार आश्रममा राख्ने गरेको उनले बताए । सिंगो कुटीको ११ हजार, एउटा कोठाको सात हजार र एउटा मात्रै बेड प्रयोग गर्न चाहनेको लागि ३५ सय लिइने गरेको प्रतिष्ठानले जनाएको छ। यसमा आवास, भोजन र स्वास्थ्य सेवा उपलब्ध गराइएको दाहालले बताए। आश्रममा अहिले २५ जना ज्येष्ठ नागरिक छन्। मैत्रिसेवा आश्रमको प्रांगारीक भोजन गृह, जेरियाट्रिक अस्पताल, योगध्यान केन्द्र, आध्यात्मिक केन्द्र, प्राकृतिक उद्यान तथा पार्क र खेल मैदान सहितको नमुना गाउँ छ। प्रतिष्ठानले आफूले उपयोग गर्ने धान खेती, अन्नबाली, तरकारी बीउबिजनका साथै गाई पालनबाट प्रशस्तरूपमा दुग्धजन्य पदार्थ आफै उत्पादन गरी उपयोग गर्ने गरेको छ। ‘हामीलाई यहाँ बाहिरबाट धेरै खाद्यवस्तु किन्दैनौं, हामीले बरु यहाँ उत्पादन गरी बढी भएका खाद्य पदार्थ बिक्री गर्ने गरेका छौँ,’ दाहालले भने। विशुद्ध सामाजिक सद्भावबाट अभिप्रेरित भएर समाजका विभिन्न व्यक्तिहरूको सामूहिक प्रयास र संग्लनतामा २०५१ सालमा स्थापना भएको यस जेपी प्रतिष्ठानले आफ्नो स्थापना कालदेखि नै प्रतिष्ठानको विधानबमोजिम सदस्यता माग गर्ने व्यक्तिहरूलाई आवश्यक प्रक्रिया पुर्याफई विभिन्न किसिमका सदस्यता पनि प्रदान गर्दै आइरहेको छ। प्रतिष्ठानमा नेपाल सरकारको निजी साझेदारीबाट १० वटा घर बनेका छन् । नेपाली सेना कल्याणकारी कोषको सहयोगबाट १० वटा घर र प्रतिष्ठानको आफ्नै पहल र डोनसेनबाट १३ घर गरी जम्मा ३३ घर निर्माण भइसकेका छन् । यहाँ ज्येष्ठ नागरिकहरूलाई मौलिक संस्कृतिमा आधारित शिक्षाको व्यवस्था गरिएको र अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्नमैत्रि सेवा आश्रम भएको दाहालको दाबी छ। ‘आश्रमसम्म पुग्नका लागि सडक पनि हामीले नै बनायौं, अहिले धेरै भौतिक पूर्वाधार निर्माण भइसकेका छन्, हाल सम्म २५ करोड रुपैयाँ लागत लागेको छ,’ दाहालले भने । जसले सुखमय जीवनयापन गर्न पाउँदेनन्, तिनीहरुलाई सुरक्षित र शुखमय जीवनयापनका लागि प्रतिष्ठान खालिएकाे उनले बताए । अहिले प्रतिष्ठानसँग ५ सय रोपनी जग्गा छ । त्यसमध्ये एक सय रोपनी मात्रै प्रतिष्ठानको नाममा भएको उनले बताए । प्रतिष्ठानले गरिबी निवारण र रोजगारीमा सघाउ पुर्या उने उद्देश्यले दीर्घकालीन कृषि योजना, सहयोग कार्यक्रम, ओखलढुंगाको साझेदारीमा जिल्लाको बेतिनी र सल्लेरी तथा बरुणेश्वरको विभिन्न वडाहरूमा पशुपालन कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ, जसले गर्दा यसबाट धेरै किसानहरू लाभान्वित भएका प्रतिष्ठानका अध्यक्ष दाहालले बताए। जो सँग सन्तान र सम्पत्ति छैन । उनीहरुलाई प्रतिष्ठानले आफूकहाँ राख्ने गरेको छ । आश्रममा सुविधा सम्पन्न अस्पताल पनि निर्माणाधीन छ । भारत सरकारको सहयोगमा एउटा एम्बुलेन्स पनि राखिएको छ । दाहाल आश्रमलाई अझैं विस्तार गर्ने सोचमा छन् । वृद्धवृद्धाहरु सँग रमाउन पाउँदा उनी खुशी छन् ।

मुख्यमन्त्री पौडेलले भनेः पाँच वर्षभित्र बागमती प्रदेशमा आमूल परिवर्तन हुन्छ

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आगामी पाँच वर्षभित्र प्रदेशमा आमूल परिवर्तन गर्ने बताएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा निर्मित बुद्ध माध्यामिक विद्यालय हेटौँडा–१२ को नवनिर्मित विद्यालय भवनको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले प्रदेशको शैक्षिक तथा अन्य विकासमा प्रदेश सरकार दिलोज्यान दिएर लागेको बताए । उनले विगतमा प्राविधिक शिक्षालाई राज्यले कम प्राथमिकता दिएको भए पनि अबका दिनमा सीपमूलक प्राविधिक शिक्षाका लागि सरकार लाग्ने बताए । मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले एक स्थानीय तह बराबर कम्तीमा पनि एक प्राविधिक शिक्षालयको अवधारणा अगाडि सारेको बताएका छन् । शिक्षालय बेराजगार उत्पादन गर्ने थलोका रुपमा विकास हुन नहुने भन्दै सीपमूलक शिक्षामार्फत विद्यार्थीलाई दक्ष बनाएर रोजगार बनाउनतर्फ लाग्नुपर्ने उनको भनाइ थियो । देशका लाखौँ जनशक्ति अर्काको देशमा गएर पसिना बगाइरहेको र देशका लागि आवश्यक पर्ने विभिन्न क्षेत्रका प्राविधिक एवं दक्ष जनशक्ति बाहिरबाट मगाउनु परिरहेको वर्तमान अवस्थामा देशलाई आवश्यकपर्ने दक्ष जनशक्ति स्वदेशमै उत्पादन गर्ने गरी शैक्षिक क्रियाकलाप अगाडि बढाइनुपर्नेमा उनको जोड थियो । भूकम्पले भत्काउने काम मात्रै नगरी नेपाली शैक्षिक क्षेत्रमा आगामी सयौँ वर्षका लागि हुनेगरी पुनःनिर्माणको कामसमेत गराएको उनको भनाइ छ । कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्राधिकरणले देशभर सात हजार ५५३ वटा विद्यालय बनाउँदै गरेको र अधिकांशको निर्माण सम्पन्न भएको जानकारी दिए । उनले भूकम्पले क्षति पुर्याएका विद्यालयमध्ये मकवानपुरमा २५२ वटा विद्यालय भवनको पुनःनिर्माणको काम भइरहेको जानकारी दिए । अधिकृत ज्ञवालीले सुविधा सम्पन्न आधुनिक विद्यालय भवन बनेकाले अब गुणस्तरीय शिक्षामा ध्यान दिन शिक्षक, विद्यार्थी र अभिभावकलाई अनुरोध गरेका छन् । त्यस्तै जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले भूकम्पले नष्ट भएका भौतिक संरचनाको दीर्घकालीन सोंचका साथ भएको पुनःनिर्माणले उत्साहित बनाएको बताए । उनले हामीले प्राप्त गरेको ठूलो उपलब्धिको रक्षा गर्दै त्यसको उचित व्यवस्थापन र संरक्षण तथा आवश्यक तवरले फाइदा लिनुपर्ने उल्लेख गरे । सरकारले निर्माण गरिदिएको सम्पतीको संरक्षण र उचित उपयोग गरी फाइदा लिने काम पनि समुदायकै भएको उनको भनाइ थियो । कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नं १२ का अध्यक्ष ललित घलानले विगतमा पछाडिपरेको यस क्षेत्रले विकासको लय समातेको बताए ।

दुई माइक्रोफाइनान्सको ३१ लाख कित्ता सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा दुई माइक्रोफाइनान्सको ३१ लाख ८६ हजार ८४० कित्ता सेयर सूचीकृत भएको छ । शुक्रबार समता र मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको हकप्रद र बोनस गरी सो मात्राको सेयर नेप्सेमा थपिएको हो । जसमध्ये समता माइक्रोफाइनान्सको १२ लाख १३ हजार ४४० कित्ता हकप्रद सेयर सूचीकृत भएको छ । त्यस्तै, मेरो माइक्रोफाइनान्सको १९ लाख ७३ हजार ४०० कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ ।

राष्ट्रिय वाणिज्य बैंकद्वारा जनप्रभात उच्च माविमा सूचना प्रविधि कक्षा स्थापना

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले जनप्रभात उच्च माध्यमिक विद्यालयमा सूचना प्रविधि कक्षा स्थापना गरेको छ । ३ नम्बर प्रादेशिक कार्यालय काठमाडौं र शाखा कार्यालय टेकुले संयुक्त रुपमा आयोजना गरी कालिमाटीस्थित जनप्रभात उच्च माविमा सूचना तथा संचार प्रविधि(आइसिटी) कक्षाको सञ्चालन भएको हो । स्थापनासँगै कक्षामा आवश्यक सूचना प्रविधि सम्बन्धी सामग्रीहरुको हस्तान्तरण गरिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामशरण डंगोललाई सरस्वती पूजाको दिन सहयोग हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सरकारी विद्यालयका विद्यार्थीहरुको क्षमता बृद्धिका लागि स्थापना गरिएको सूचान तथा संचार प्रविधि कक्षाले सहयोग पुर्याउने बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामशरण डंगोलले सूचना प्रविधि कक्षा भन्नाले कम्प्यूटर सीप वृद्धि गर्नु मात्र बुझिन्छ तर वास्तवमा संचार र सूचना प्रविधि कक्षा भनेको कम्प्यूटर र अन्य प्रविधि जस्ता उपकरणको प्रयोग गरी अडियो भिडियो प्रणाली मार्फत शैक्षिक विषयमा विद्यार्र्थीहरु लाई मनोरन्जन मुलक रुपमा ज्ञान दिने बताएका छन् । सो कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, ३ नम्बर प्रादेशिक कार्यालयकी प्रबन्धक सोनी श्रेष्ठ, शाखा कार्यालय टेकुका प्रबन्धक युवराज घिमिरे, प्रबन्धक रविन्द्र पोखरेल, उपप्रबन्धक गणेश प्रधान, विद्यालयका प्रधानाध्यापक सत्यन्द्रलाल कर्ण, शिक्षिका विजयाश्री बज्राचार्य लगायतकोे उपस्थिति रहेको थियो ।

स्मार्ट चालक अनुमतिपत्र अब चार महिनामा छापिसकिने

काठमाडाैं । यातायात व्यवस्था विभागले अहिले छाप्न बाँकी ‘स्मार्ट’ चालक अनुमतिपत्र आगामी चार महिनामा सम्पन्न गर्ने लक्ष्य लिएको छ । ठूलो क्षमताको उपकरण (मास प्रिन्टर) सञ्चालनमा आएसँगै अहिले विभागमा रहेका अनुमतिपत्र चार महिनामा छापिसकिने र अबका दिनमा थप हुने अनुमतिपत्र अर्काे दुई महिनामा छापिसक्ने लक्ष्य लिइएको विभागले बताएको छ । प्रविधिमा कुनै पनि किसिमको समस्या नआए समयमै काम सकिने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । अबको छ महिनामा सेवाग्राहीले परीक्षा पास गरेको केही दिनमै अनुमतिपत्र पाउने उनको भनाइ छ । उनले भने, “अहिले रहेको छाप्न बाँकी अनुमतिपत्र सकिँदा मास प्रिन्टरको क्षमताले मागअनुसार छाप्न सक्छ ।” झण्डै आठ लाख चालक अनुमतिपत्र वितरण गर्न बाँकी रहँदा गत असोजमा उपकरण ल्याइएको थियो । सो उपकरण आइपुगेको दुई महिनासम्म पनि जडान गर्ने र तथ्याङ्क सार्नेलगायतका काम भएपछि गत महिनाबाट उपकरण सञ्चालनमा आएको हो । पहिलो केही साता एक सिफ्टमा मात्रै सञ्चालन भएकामा दुुई सिफ्ट हुँदै अहिले तीन सिफ्टमा सञ्चालन भइरहेको विभागले जनाएको छ । अहिले दैनिक सात/सात घण्टा गरी तीन सिफ्टमा सञ्चालन भइरहेको महानिर्देशक हमालले बताए । दैनिक २१ घण्टामा उपकरण समय समयमा रोकेर १५ देखि १६ घण्टा प्रयोगमा ल्याइएको छ । उनले भने, “अहिले मास प्रिन्टरबाट दैनिक झण्डै पाँच हजार अनुमतिपत्र छपाइ भइरहेको छ ।” मास प्रिन्टरसँगै विभागमा विगतदेखि सञ्चालनमा रहेका साना क्षमताका तीन प्रिन्टर छन् । तीन प्रिन्टर’ ले दैनिक झण्डै एक हजार अनुमतिपत्र छापिरहेको छ । मास प्रिन्टर परीक्षणकालदेखि अहिलेसम्म नियमित रूपमा सञ्चालनमा छ । अहिलेसम्म कुनै पनि किसिमको समस्या नआएको उनले बताएका छन् । विभागमा अहिले देशभरका यातायात व्यवस्था कार्यालयहरुबाट आवेदन आइरहेको छ । हस्तलिखित अनुमतिपत्र विस्थापित गर्न परीक्षा पास भएका र नवीकरण गर्ने दुवै सेवाग्राहीलाई ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण गरिँदै आइएको छ । यातायात कार्यालयहरु प्रदेश सरकारमा हस्तान्तरण भइसके पनि ती कार्यालयबाट आएका आवेदनबाट विभागले अनुमतिपत्र छापिरहेको छ । कतिपय प्रदेश सरकारले विगतमा अनुमतिपत्र छपाइमा ढिलाई हुँदा आफैँ छाप्ने बताए पनि अहिलेसम्म कुनैले पनि छाप्ने काम गरेका छैनन् । विभागमा विगतका वर्षमा उपकरणको क्षमताभन्दा माग बढी रहेको थियो । त्यस्तै छपाइ गर्न कार्ड पनि पर्याप्त नभएको विभागले बताउँदै आएको थियो । ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा रहेको ढिलाइ हटाउन सरकारले गत वर्ष नै ठूलो सङ्ख्यामा एकैपटक छाप्ने ‘मास प्रिन्टर’ सँगै १० लाख कार्ड खरिदका लागि पनि ठेक्का सम्झौता गरेको थियो । सबै कार्ड आइसकेकाले अहिले त्यो समस्या पूरै हटिसकेको महानिर्देशक हमालले बताए । उनले भने, “डेढ लाख कार्ड छपाइ गरिसकेका छौँ, अझै आठ लाख ५० हजार कार्ड हामीसँग छ ।” विभागले गत वर्ष ग्लोबल खरिद प्रक्रियामार्फत मद्रास प्रिन्टर प्रालिमार्फत प्रिन्टर खरिद गरेको हो । विभागमा छपाइ गर्नसक्ने क्षमताभन्दा माग धेरै गुणा बढी हुँदा विगतमा झण्डै एक वर्षसम्म सेवाग्राहीले अनुमतिपत्र पाएका थिएनन् । कतिपय कार्ड भने छापिएको लामो समय हुँदासमेत सेवाग्राही लिन नआउँदा व्यवस्थापन गर्न कठिन भएको यातायात व्यवस्था कार्यालयहरुले बताउँदै आएका छन् । विभागमा रहेका पुराना उपकरणको क्षमता प्रतिघण्टा ४० वटासम्म मात्रै रहेको छ । पहिले सात वटा उपकरण ल्याएर विभागले ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्न शुरु गरेको थियो । तीमध्ये अहिले तीन वटा मात्रै काम गर्ने अवस्थामा छन् । ‘स्मार्ट’ चालक अनुमतिपत्रमा रहेको ढिलाइ हटाउन मन्त्रालयले पनि चासो देखाउँदै आएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले मन्त्रालयको जिम्मेवारी सम्हालेको केही समयमै विभागमा पुगेर ‘मास प्रिन्टर’ अवलोकन गर्दै विभागलाई समयमै चालक अनुमतिपत्र छपाइ गरिसक्न निर्देशन दिएका थिए । रासस

नेपाल मेडिसिटी अस्पतालद्वारा खोटाङमा निःशुल्क स्वास्थ्य परीक्षण

काठमाडौं । नेपाल मेडिसिटी अस्पतालका चिकित्सकहरुले खोटाङमा ५ सय जनाको स्वास्थ्य परीक्षण गरेको छ । उक्त कार्यक्रम हलेसीका मेयर इबान राई र नेपाल मेडिसिटीका मुटुरोग विशेषज्ञ डा. दिपक मिश्रले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । माघ १५ र १६ गते खोटाङस्थित हलेसी तुवाचुुङ नगरपालिकामा भएको उक्त कार्यक्रममा नेपाल मेडिसिटी अस्पतालका मुटुरोग विशेषज्ञ डा. दिपक मिश्र, स्त्री तथा प्रसुति र जेनेरल फिजिसियनको टोली स्वास्थ्य परीक्षणमा संलग्न रहेका थिए । स्वास्थ्य शिवरमा सामान्य स्वास्थ्य जाँच, स्त्री तथा प्रसुति जाँच र मुटु जाँच गरी विविध स्वास्थ्य समस्याको परामर्श एवं उपचार एकै थलोमा प्रदान गरिएको छ । मेडिकल टिममा रहेका अस्पतालका मुटुरोग विशेषज्ञ डा. दिपक मिश्रका अनुसार उपचारमा सहभागी हुन साना बालबालिकादेखि ज्येष्ठ नागरिकहरुको उपस्थिति रहेको थियो । खाम्तेल क्षेत्र भौगोलिक रुपमा केहि विकट रहेको र अधिकांशलाई उच्च रक्तचापको समस्या देखिएको उनले बताएका छन् । स्त्रीरोग तथा सामान्य समस्याको उपचारका लागि आउने स्थानियको सहभागिता पनि उल्लेख्य रहेको डा. मिश्रले जानकारी दिए । सो कार्यक्रममा डा. दिपक मिश्रले उच्च रत्तचाप, हृदयघात र र्हुमाटिक हार्ट डिजिसका बारेमा स्थानीयलाई बताए । राजधानीबाट टाढा रहेको हलेसी क्षेत्रमा स्वास्थ्य टोली गई सेवा प्रदान गर्न पाएकोमा अस्पतालका महाप्रबन्धक विजय रिमालले खुशी व्यक्त गरे । साथै, उनले भविष्यमा पनि यस क्षेत्रमा यस किसिमका कार्यक्रमलाई निरन्तरता दिन अस्पताल तयार रहेको बताएका छन् ।