विकासन्युज

एमसीसी पास हुन्छ,कसैले राेकेर राेकिन्न: गोकुल बास्कोटा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन  एमसीसी अब छिट्टै पास हुने बताएका छन् । मन्त्री परिषद्काे बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा बाेल्दै उनले साे कुरा बताएका हुन् । “एमसीसीमा सैन्य छ, छ, छ भनेर स्याल जस्तो कराउन पर्दैन । छ भने यति नम्बर बुँदामा छ भनेर भन्न सक्नुपर्छ,”  उनले भने । बास्कोटाले नेपाल कुनै पनि सैन्य गठबन्धनसँग संलग्न नहुने जिकिर गर्दै एमसीसीमा कुनै सैन्य गतिविधि नजोडिएको दोहोर्‍याए । उनले एमसीसीमा कुनै सैन्य गठबन्धन नजोडिएको पनि बताए ।  सैन्य गठबन्धन जोडिएको छ भनेर स्याल हुइयाँ गर्न आवश्यक नरहेको उनकाे भनाइ छ ।  

हिमालय एयरलाइन्सले राेक्याे चीनकाे उडान

काठमाडौं ।  हिमालय एयरलाइन्सले चीनका विभिन्न गन्तव्यका उडान स्थगन गरेको छ। चीनको वुहान सहरबाट फैलिएको कोरना भाइरसका कारण हिमालय एयरलाइन्सले चीनका विभिन्न गन्तव्यका उडान तत्कालका लागि स्थगन गरेको बताएकाे हाे । हिमालयले चीनका ३ सहरका उडान यसअघि नै उडान स्थगन गरिसकेको छ भने राजधानी बेइजिङको उडान ६ फेब्रुवरीदेखि स्थगन हुने छ।  एयरलाइन्सले अर्को सूचना प्रकाशित नभएसम्मका लागि भन्दै उडान स्थगन गरेको जानकारी दिएको छ। चीनमा कोरना भाइरस फैलिएपछि विभिन्न देशका एयरलाइन्सहरुले उडान स्थगन गरिरहेका छन्। चीन सरकारले पनि समूहमा विदेश जान आफ्ना नागरिकलाई रोक लगाएको छ।  

सामसुङले सार्वजनिक गर्याे ५जी ग्यालेक्सी ट्याब्लेट

सियोल । विद्युतीय सामग्री उत्पादन कम्पनी सामसुङले बुधबार पाँचौं पुस्ताको इन्टरनेट (फाइब जी) चल्ने ग्यालेक्सी ट्याब सार्वजनिक गरेको छ । कम्पनीका अनुसार ग्यालेक्सी ट्याबमा १०.५ इन्चको ओलेड डिस्प्ले, एकेजी एकस्टिक र क्वाड स्पिकर रहेको छ । साथै, यसले ४के प्रशारण स्ट्रिमिङ र एआर सामग्रीलाई आत्मसात गरेको छ । सामसुङले हाल १२८ जिबी आन्तरिक भण्डारण सहितको ५जी ग्यालेक्सी एस६ ट्याब बिक्रीमा ल्याएको हो । यसको मूल्य कोरियाली बजारमा ८५० अमेरिकी डलर रहेको छ ।रासस

ऋणपत्रलाई बाध्यकारी नबनाउन बैंकरको माग, मध्यावधि समिक्षामा खुकुलाे नीति बन्ने

काठमाडौं । बैंकहरुले चुक्ता पुँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्नै पर्ने मौद्रिक नीतिको व्यवस्था पुनरविचार गर्न माग गरेका छन् । पुँजी पर्याप्तता अनुपात प्रर्याप्त भएका बैंकहरुको हकमा यस्तो व्यवस्था बाध्यकारी नबनाउन माग गर्दै राष्ट्र बैंकमा निवेदन नै परेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत बाणिज्य बैंकहरुलाई चुक्ता पुँजीको कम्तिमा २५ प्रतिशत रकम बराबरको ऋणपत्र जारी गर्नै पर्ने बाध्यकारी व्यवस्था ल्याएको थियो । यस्तो व्यवस्थाले ऋणपत्र जारी गर्नुनपर्ने अवस्थाका बैंकहरुलाई असर पुगेको भन्दै बध्यकारी नबनाउन नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले राष्ट्र बैंकमा पत्राचार गरेको छ । ऋणपत्रलाई बध्यकारी नबनाउन माग गर्दै एनबीएबाट पत्र आएको नेपाल राष्ट्र बैंकका एक अधिकारीले जानकारी दिए । पुँजी पर्याप्तता अनुपान प्रयाप्त भएका बैंकलाई ऋणपत्र जारी गर्दा समस्या हुने एनबीएको तर्क छ । ‘अहिले १० प्रतिशत व्याजभन्दा तलको ऋणपत्र बिक्दैन, हाम्रो व्यवसाय विस्तारका लागि आफैसँग पर्याप्त स्पेश छ भने त्यति महंगो व्याजमा ऋण किन लिनु भन्ने बैंकरको तर्क छ, एनबीएबाटै पत्र आएपछि छलफल भइरहेकाे छ, उहाँहरुको भनाई ठीक हो भने यसमा पुर्नबीचार हुन सक्छ,’ राष्ट्र बैंकका ती अधिकारीले विकासन्युजसँग भने । वित्तीय बजारकाे समस्या समाधान गर्न नेपाल राष्ट्र बैंक लचिलाे भएकाेले मध्यावधि समिक्षामा खुकुलाे नीति लिने सम्भावना रहेकाे स्राेतले बतायाे । पुँजी पर्याप्तता कोष १३ प्रतिशतभन्दा माथि भएका बैंकको हकमा ऋणपत्र बाध्यकारी नहुने व्यवस्था मिलाउन एनबीएको माग छ । मौद्रिक नीतिमा भएको ऋणपत्र सम्बन्धी व्यवस्था चालु आर्थिक वर्षको मध्यावधी समीक्षा मार्फत संशोधन गरिदिन एनबीएले माग गरेको हो । राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट ऋणपत्र जारी गर्दा बैंकहरुलाई नै फाइदा पुगेको तर्क गर्छन् । अहिले बैंकहरुमा २ वर्ष अवधिभन्दा बढी समय भएको मुद्दति निक्षेपको अंश ६ प्रतिशतको हाराहारीमा भएको र बैंकहरुले सोभन्दा लामो समयको ऋण प्रदान गरेकोले स्रोत व्यवस्थापनको लागि ऋणपत्र अपरिहार्य भएको उनको भनाइ छ । ‘कुल निक्षेपमा २ वर्षपछि भुक्तानी गर्नुपर्ने मुद्दति निक्षेपको अंश ६ प्रतिशतको हाराहारीमा छ, बैंकहरुले अल्पकालिन निक्षेप लिएर दीर्घकालिन लगानी गरिरहेका छन्, उनीहरुको स्रोत व्यवस्थापनको लागि ऋणपत्रले सहयोग गर्छ, यसमा पुर्नबीचार गर्न उहाँहरुले माग गर्नुपर्ने कारण म देख्दिनँ,’ अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. भट्टले भने ।

महालक्ष्मी विकास बैंकद्वारा शुक्रराज ट्रपिकल अस्पतालमा क्यु म्यानेजमेन्ट उपकरण जडान

काठमाडाैं । महालक्ष्मी विकास बैंकको कालिमाटी शाखाले शुक्रबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा क्यु म्यानेजमेन्ट उपकरण जडान गरेको छ । उक्त उपकरण अस्पतालको ८६औं वार्षिकोत्सव समारोहका बिच समारोहका प्रमुख अतिथी स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावलले उद्घाटन गरेका हुन् । अस्पतालमा उपचारका लागि आउने बिरामी तथा बिरामी कुरुवाहरुलाई सरुवा रोगहरु सर्न सक्ने उच्च सम्भावना देखिएको हुँदा उक्त सम्भावना न्युनीकरण गर्ने उद्देश्य सहित बैंकले क्यु म्यानेजमेन्ट उपकरण जडान गरेको हो । देशका १०२ वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले आगामी दिनहरुमा शुक्रराज अस्पतालसँग समन्वय गरी संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्यसँग सम्बन्धित विभिन्न कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

फेब्रुअरीमा  हुने ‘नेपाल इन्डिया चाईना एक्स्पाे’ कोरोना भाइरसका कारण पछि सर्याे

काठमाडौं । प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरले आगामी फेब्रुअरी २२ देखि २५ सम्म नेपाल भ्रमण वर्ष २०२० संगको सहकार्य तथा समन्वयमा आयोजना गर्ने गरी तय भएको नेपाल इन्डिया चाईना एक्स्पाे (नाईस) कार्यक्रम चीनमा फैलिएको कोरोना भाइरसका कारण पछि सारिएको छ । चीनबाट आमन्त्रित अतिथि तथा प्रतिनिधिहरुको सहज रुपमा सहभागिता जनाउने अवस्था नरहेकाले कार्यक्रमलाई तत्कालका लागि यसैवर्ष आयोजना गर्ने गरी पछि सारेको छ । जनवरी २७ तारिखका दिन बसेको पाटा नेपाल च्याप्टरको कार्य समिति बैठकले कोरोना भाइरसका कारण उत्पन्न संकट पूर्ण अवस्थामा आमन्त्रित प्रतिनिधिको स्वाथ्य सुरक्षालाई मध्यनजर गदैं पूर्व सावधानी स्वरुप सो निणर्य गरेको हो । पाटा नेपालका अध्यक्ष विभूतीचन्द ठाकुरले संस्थाले छिमेकी मुलुक चीनमा फैलिरहेको कोरना भाइरसका कारण पर्यटन क्षेत्रमा हुन सक्ने सम्भावित असरलाई नजिकबाट अनुगमन गरिरहेको र परिस्थिति सहज भएपश्चात नाईस कार्यक्रमको लागि उपयुक्त मिति तय गरिने बताए । साथै उनले सम्पूर्ण आमन्त्रित पाहुना, सहभागीहरु तथा सरोकारवालाहरुलाई संस्थाद्धारा सम्प्रेषण गरिने अर्को सूचना प्रतिक्षाका लागि अनुरोध गरेका छन् । नेपाल भ्रमण वर्ष २०२० का राष्ट्रिय संयोजक सुरज वैद्यले नाईस एक्सपो नेपाल भ्रमण वर्षको अवसरमा आयोजना गरिने विशेष महत्वपूर्ण कार्यक्रम भएको र यसले नेपालको पर्यटन प्रवद्धन विकासमा उल्लेख्य योग्दान पुर्याउने बताउदैं नयाँ वर्ष २०२० मा नाईसलाई सफल रुपमा आयोजना गर्न भ्रमण वर्षले पाटा नेपाल च्याप्टर लाई आवश्यक सहकार्य एवम् सहयोग गर्ने बताएका छन् । पाटा नेपालका प्रमुख कार्यकारी अधिकृत सुरेशसिहं बुडालले एक्स्पाेमा १२० क्रेता र ५० विक्रेताले सहभागी जनाउने निश्चित भए सँगै आवश्यक तयारी पुरा भएपनि वर्तमान समय एक्स्पाे आयोजनाका लागि उपयुक्त नरहेको जानकारी दिएका छन् । उनले सम्पुर्ण पर्यटन व्यावसायी तथा सरोकारवालाहरु एकजुट भएर कोरोना भाइरसका कारण पर्यटनमा हुन जाने सम्भाव्य असर तथा चुनाैती समाधानका लागि सबैले सहकार्य र समन्वयमा जोड दिन आवश्यक रहेको बताए ।

औषधी, कच्चा पदार्थ र मेसिनरीको भन्सार घटाउँछौंः उपप्रधानमन्त्री पोखरेल

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले औषधीजन्य वस्तुको आयातमा लाग्दै आएको भन्सार दर घटाउने बताएका छन् । औषधी, यसमा प्रयोग हुने कच्चा पदार्थ तथा औषधी उत्पादन गर्न प्रयोग हुने मेसिनरीको भन्सार महसुल कम गर्ने मन्त्री पोखरेलको भनाइ छ । देउराली जनता फर्मास्युटिकल्सको २९औं वार्षिकोत्सव कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री पोखरेलले यस्तो वताएका हुन् । नेपाली औषधी उत्पादक उद्योगीले विदेशी औषधीको आयातमा कडाई गर्न माग गरिरहेको समयमा मन्त्री पोखरेलले भन्सार महसुल कम गरेर आयात प्रोत्साहन गर्ने बताए । नेपाली औषधी उत्पादकहरुले औषधीको कच्चा पदार्थ र उत्पादन प्रक्रियामा प्रयोग हुने मेसिनरीको भन्सार दर कम गर्न सरकारसँग आग्रह गरिरहेका थिए । अहिले नेपालमा करिब ५० वटा उद्योगहरुले विभिन्न रोगका औषधी उत्पादन गर्दै आएका छन् । यी उद्योगहरुले औषधीको कुल मागको करिब ४५ प्रतिशत हिस्सा ओगटेका छन् । नेपाली उद्योगको प्रबद्र्धन र संरक्षण गर्न नेपालमा उत्पादन हुने औषधीको आयातमा कडाई गर्नुपर्ने व्यवसायीको माग छ ।

प्रभु बैंकको नयाँ शाखा रसुवाको केन्जिङ्गमा

काठमाडौं । प्रभु बैंकले आफ्नाे शाखा सञ्जाल विस्तार गर्ने क्रममा बिहीबारदेखि रसुवाको लाङटाङ–केन्जिङ्गमा २०६औं शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको उद्घाटन गोसाइकुण्ड गाउँपालिकास्थित केन्जिङ्ग गुम्बाका प्रमुख लामा साङगे लामाले गरेका हुन् । लाङटाङ शाखा कार्यालयको उद्घाटन गर्दै साङगे लामाले  प्रभु बैंकले आफ्नाे बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आफ्नाे शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा आधुनिक बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताए । बैंकको उक्त शाखा कार्यालयबाट यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा अभिवृद्धी भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा लाङटाङ शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकले विश्वास लिएको छ ।