रवीन कन्दङ्वाको ‘मेरो सपनाको भारी…’ गीतको भिडियो सार्वजनिक
काठमाडौं । रवीन कन्दङ्वाको ‘मेरो सपनाको भारी…’ गीतको भिडियो सार्वजनिक भएको छ । उदितप्रकाश सिग्देलको शब्द र हरि लम्सालको सङ्गीत रहेको उक्त गीतको भिडियो बजारमा आएको हो । निकेश खड्काको निर्देशन रहेको गीतको भिडियोमा आकाश श्रेष्ठ, प्रियंका खड्का र रवीन लाई फिचरिङ गरिएको छ । चन्द्र चौधरीको मिक्सिङ/माष्टरिङ रहेको भिडियोमा बुद्ध थापाको छायाँकन र विकास धमलाको सम्पादन रहेको छ । हेर्नुहाेस् भिडियाे
३९ औं राष्ट्रिय व्यवस्थापन सम्मेलन शुरु, अर्थमन्त्रीद्वारा उद्घाटन
काठमाडौं । नेपाल व्यवस्थापन संघले ३९ औं राष्ट्रिय व्यवस्थापन सम्मेलन आजदेखि शुरू गरेको छ । उक्त सम्मेलन अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गरेका हुन् । नेपाल व्यवस्थापन संघले आफ्नो वार्षिक साधारण सभाको अवसरमा एक मुख्य विषयमा केन्द्रित रही राष्ट्रिय व्यवस्थापन सम्मेलनको आयोजना गर्दै आएको छ । यस वर्षको राष्ट्रिय व्यवस्थापन सम्मेलनको मुख्य बिषय तथ्यांक परिचालित निर्णय प्रक्रिया रहेको छ । व्यवसायिक शत्रको रुपमा रहने यस सम्मेलनमा चारवटा कार्यपत्रहरु प्रस्तुत भैरहेका छन् । व्यवसायिक शत्रमा तथ्यांक विद् डा. आशुतोषमणि दीक्षित र भारतको आदित्य विरला समूह द ग्रुप अफ एक्जुकेटिभ प्रेसिडेन्ट कर्पोरेट स्ट्राटेजी एण्ड विजनेसका डी शिवकुमारले अतिथि वक्ताको रुपमा र प्रधानमन्त्री केपी शर्मा ओलीका सूचना प्रविधि सल्लाहकार असगर अलीले इन्टरनेट अफ थिङ्स, डिजिटल डाटा एण्ड बिजनेसः हाउ बिजनेस आर टकिङ एडभान्टेज अफ डाटा ड्राइभन डिसिजन मेकिङ विषयमा प्रस्तुति दिएका थिए । त्यसैगरी, विश्व बैक समूह(टीबीसी)का नेपाल म्यानेजर फ्रेन्च ब्रेस्टले एक्सपेरियन्स सेयरिङ अन डाटा ड्राइभन इकोनोमी, पब्लिक फाइनान्सियल म्यानेजमेन्ट एण्ड द वे फरवार्ड फर नेपाल विषयमा आफ्ना प्रस्तुति दिए । कार्यक्रममा नेपाल पर्यटन बोडको तर्फबाट पर्यटन प्रबर्धनमा व्यवस्थापकहरुको भूमिका र नेपाल भ्रमण वर्ष २०२० रोल अफ म्यानेजर इन टुरिजम प्रोमोशन एण्ड भिजिट नेपाल इयर २०२० का विषयमा प्रस्तुतीकरण दिइएको थियो । सम्मेलनको उद्घाटन गर्दैै प्रमुख अतिथि अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल व्यवस्थापन जर्नलको विमोचन पनि गरेका थिए । नेपाल व्यवस्थापन संघका सभापति तथा राष्ट्रिय योजना आयोगका सदस्य माननीय सुशील भट्टको सभापतित्वमा सञ्चालन भैरहेको राष्ट्रिय व्यवस्थापन सम्मेलन समारोहलाई प्रथम उपसभापति बमबहादुर मिश्रले स्वागत गरेका थिए उनले नेपाल व्यवस्थापन संघको संक्षिप्त परिचयसहित ब्यवस्थापन सम्मेलनको उद्देश्यमाथि प्रकाश पारे । उद्घाटन सम्मेलनको अवसरमा विश्व र नेपालको व्यवस्थापन विकासको परिदृष्य २०१९ नामक एक अनुसन्धानात्मक कृतिको पनि विमोचन हुनेछ । यसका विविध पक्षहरुको सम्बन्धमा व्यवस्थापन विज्ञ नरोत्तम अर्याल र प्रशन्न पोखरेलले प्रस्तुति दिनेछन् । सम्मेलनको समापनको अवसरमा प्रमुख अतिथि डा. युवराज खतिवडा र नेपाल व्यवस्थापन संघका सभापति तथा राष्ट्रिय योजना आयोगका माननीय सदस्य ई.सुशील भट्टले संबोधन गर्नुहुने कार्यक्रम छ । नेपाल व्यवस्थापन संघद्वारा आयोजित राष्ट्रिय व्यवस्थापन सम्मेलनको समापन पछि आजै, वार्षिक साधारण सभा र राष्ट्रिय व्यवस्थापन पुरस्कार तथा सम्मान कार्यक्रम, १९ औं कार्यसमितिको निर्वाचन र एशियाका राष्ट्रिय व्यवस्थापन संघहरुको छाता संगठनको रुपमा रहेको एशियाली व्यवस्थापन संघले एशियाली नेतृत्व पुरस्कार साँझको आयोजना गर्दैछ । नेपालका व्यवस्थापकहरुलाई संगठित गर्ने, उनीहरुको सामूहिक हित रक्षाको लागि आवश्यक नीति र नियमहरु बनाउने, व्यवस्थापकहरुको वृत्ति विकासका अवसरहरु सिर्जना गर्ने, विश्वमा प्रतिपादित व्यववस्थापनका नवीन सिद्धान्त, ज्ञान, सीप र अभ्यासहरुलाई अबलम्बन गर्दै संस्थाहरुमा सुव्यवस्थापनका माध्यमबाट सुशासन कायम गर्दै देशको आर्थिक तथा सामाजिक विकासलाई सघाउने उद्देश्यले २०३७ सालमा नेपाल व्यवस्थापन संघको स्थापना भएको हो । स्थापनाको ३९ वर्षको अवधिमा यस संघले राष्ट्रिय स्तरमा सरकारको नीति निर्माणका विभिन्न तहमा सल्लाहकारको भूमिका पनि प्राप्त गरेको छ भने अन्तर्राष्ट्रिय स्तरमा यसले विभिन्न ११ राष्ट्रका राष्ट्रिय व्यवस्थापन संघ तथा विभिन्न क्षेत्रीय व्यवस्थापन संघको सदस्यता प्राप्त गरी कार्यगत सम्बन्ध स्थापित गरेको छ । संघले आफ्नो भगिनी संस्थाको रुपमा व्यवस्थापन विकास केन्द्रको स्थापना गरेको छ । यसले अध्ययन,अनुसन्धान र परामर्शदाताको समेत काम गरेर संस्थाहरुको सुधार र आर्थिक सामाजिक विकासका प्रयासहरुलाई उपलब्धिमूलक बनाउन सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । त्यस्तै व्यवस्थापनको क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले संघले व्यवस्थापन विकास क्याम्पस पनि सञ्चालन गर्दै आएको छ । इएमबीए स्तरको अध्यापनमार्फत दक्ष जनशक्ति उत्पादन गरेर नेपालको सार्वजनिक र निजी क्षेत्रलाई योग्य व्यवस्थापकहरु आपूर्ति गर्न यसले सघाइरहेको छ । यसबाहेक संघले आवश्यकता र मागमा आधारित भएर विभिन्न किसिमका अल्पकालीन र मध्यकालीन तालिमहरु पनि सञ्चालन गर्दै आइरहेको छ । संघले नीति निर्माण र कार्यान्वयनमा सघाउने अभिप्रायले स्थापना कालदेखि नै वार्षिक नीति तथा कार्यक्रम र बजेटका सम्बन्धमा आम जनता र सरोकारवाला निकायका बीचमा संवाद गरी उपयुक्त सुझाव दिने उद्देश्यले पूर्व बजेट गोष्ठी र बजेट समीक्षा गोष्ठी गर्दै आएको छ । त्यसैगरी निजी क्षेत्र र आम नागरिकको जीवनमा असर गर्ने मौद्रिक नीतिका सम्बन्धमा पनि गोष्ठीहरु गर्दै आएको छ ।
नेपाल कानून व्यवसायी परिषद पार्षदको निर्वाचन भोलि
बृहत लोकतान्त्रिक कानूनव्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता तथा प्राध्यापक गुणनिधि न्यौपाने काठमाडौं । नेपाल कानून व्यवसायी परिषद पार्षदको निर्वाचन भोलि शनिबार हुँदैछ । सातै प्रदेशमा पार्षद छान्नका लागि परिषदले निर्वाचन गर्न लागेको हो । परिषदको बाग्मती प्रदेश पार्षद पदमा बृहत लोकतान्त्रिक कानून व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता तथा प्राध्यापक गुणनिधि न्यौपानेले उम्मेदवारी दिएका छन् । वरिष्ठ अधिवक्ता तथा प्राध्यापक न्यौपानेले नेपाल कानून व्यवसायी परिषदलाई नवीनतम् ढंगले अगाडि बढाउने प्रतिवद्धतासहित उम्मेदवारी घोषणा गरेका हुन् । ‘२५ वर्षको बार काउन्सिल ६ महिनाको बच्चाको अवस्थामा छ, सर्वोच्च अदालतका अधिवक्ता, वरिष्ठ अधिवक्ता लगायतलाई लाइसेन्स दिन अधिकार त लियो, तर त्यो भन्दा बढी केही गर्न सकेजस्तो मलाई लाग्दैन,’ न्यौपानले भने, ‘प्राक्टिक प्राक्टिसका आधारमा परीक्षा लिने र काउन्सिलको कार्यशैलीलाई नयाँ ढंगले अघि बढाउन पहल गर्ने उद्देश्यले नै उम्मेदवारी दिएको हुँ ।’ अदालतले लिने परीक्षा र कानून अध्ययन अध्यापन हुने कलेजले लिने परीक्षालाई गुणस्तरीय र प्रभावकारी बनाउन पहल गर्ने बताउँदै न्यौपानेले नेपालमा कानूनी शिक्षाको अवस्थालाई अध्ययन गरी अझै समय सापेक्ष सुधार गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । के-के छन् एजेण्डा ? बृहत लोकतान्त्रिक कानून व्यवसायी समूहका उम्मेदवार वरिष्ठ अधिवक्ता तथा प्राध्यापक न्यौपानेले १६ वटा एजेण्डासहित उम्मेदवारी घोषणा गरेका छन् । उनले सबै विचार समूहका कानून व्यवसायी र युवा विद्यार्थीहरुसँग छलफल सम्पन्न गरेका छन् । ‘नेपाल कानून व्यवसायी परिषदको ऐन २०५० लाई समयानुकूल संशोधन गर्ने, वरिष्ठ अधिवक्ताहरुको उपाधि परिषद समेतको सल्लाह र सिफारिशमा निश्चित मागदण्ड तोकेर प्रदान गर्न पहल गर्ने छु,’ न्यौपानेले भने । वरिष्ठ अधिवक्ता तथा प्राध्यापक न्यौपानेले कानून व्यवसायीको शुद्धिकरण र व्यवसायिक मर्यादामा जोड दिँदै विद्यमान आचारसंहिताबाट कारबाही वा निलम्बन गर्ने प्रावधानको सट्टा ऐनमा संशोधन गरी अधिकार थपेर कानूनी व्यवस्था गर्न पहल गर्ने घोषणा गरेका छन् । त्यसैगरी, अन्तर्राष्ट्रिय मापदण्ड तथा प्रचलनलाई विचार गरेर नेपाल भित्र कानून विषयको अध्ययन अध्यापन हुने सबै विश्वविद्यालयहरुमा समन्वय र सहकार्य गर्ने र गुणस्तरीय कानूनी शिक्षाको विकासका आवश्यक मापदण्ड निर्धारण गरी सिफारिशका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । कानून व्यवसायीको सामाजिक सुरक्षाका लागि कल्याणकारी कोषको व्यवस्थालाई प्रभावकारी कार्यान्वयनका लागि कटिबद्ध रहने उनले बताए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बार काउन्सिलहरूसँग सहकार्य बढाएर दुई देशबीचका कानून व्यवसायीको दक्षता अभिवृद्धि गर्ने र अनुभव आदान प्रदान गर्न एक्स्चेञ्ज प्रोग्रामका लागि विशेष जोड रहने न्यौपानेले बताए । नयाँ कानून व्यवसायीहरुको आत्मविश्वास वृद्धि गर्ने तथा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रुपमा शिपमूलक व्यवसायिक प्रशिक्षणका लागि पाठ्यक्रम तयार गर्ने घोषणा पनि उनले गरेका छन् । न्यौपानेले वरिष्ठ अधिवक्ता, अधिवक्ता तथा नवप्रवेशी सबै तहका कानून व्यवसायीहरुलाई आवश्यकता अनुसारको तालिम प्रदान गर्ने उद्देश्यले नेपाल बार एशोसिएसन सहकार्य र समन्वय गरी छुट्टै प्रशिक्षण केन्द्र स्थापना गर्न विशेष जोड दिने बताए । नेपाल कानून व्यवसायी परिषदले प्रकाशित गर्ने नेपाल बार काउन्सिल जर्नल र बुलेटिनलाई अझै अनुसन्धान मूलक र नियमित गर्न पहल गर्ने उनले बताए । को हुन् गुणनिधि न्यौपाने ? २०५६ मै नेपाल प्राध्यापक संघका महासचिवको जिम्मेवारी पूरा गरेका न्यौपानेले प्रजातन्त्रवादी प्राध्यापक संघका अध्यक्ष भएर काम गरी सकेका छन् । वि.सं. २०१२ चैत १४ गते अर्घाखाँचीको सन्धिखर्कमा जन्मिएका न्यौपानेले अरुडीस्थित भृकुटी प्राइमरी स्कुलबाट प्रारम्भिक शिक्षा हासिल गरेका हुन् । गुल्मीमा रजिस्टेशन गरी कपिलवस्तुबाट २०३० सालमा एसएलसी लेखेका उनले काठमाडौंबाट कानून संकायमा उच्च शिक्षा हासिल गरेका हुन् । एसएलसीपछि आइएससी पढ्न भारत गएका न्यौपाने घर फर्किएर जिल्ला शिक्षा अधिकारीले नियुक्त दिने गरी लागू भएको नयाँ शिक्षाकार्यक्रम अन्तर्गत पढाउन थाले । ६ महिना प्राथमिक विद्यालयमा पढाएका न्यौपानेले आफ्ना दाजु ज्ञानराज न्यौपानेको सुधार अनुसार काठमाडौं आएर कानून पढ्न थाले । नेपाल ल क्याम्पसबाट दुई वर्षे पिसिएल र तीन वर्षे डिप्लोमा इन ल पढे । २०३६ सालमा स्नातक तह पूरा गरे । कानूनको प्रोफेसन बन्ने कुनै सोच थिएन । २०३८ सालबाटै उनले कानून व्यवसायीका रुपमा काम थाले । २०४७ सालमा प्राध्यापक भएका न्यौपाने २०४९ मा उपप्राध्यापक, २०५६ मा सहप्राध्यापक र २०६६ मा प्राध्यापक भए । २०६८ सालदेखि २०७२ सालसम्म त्रिभूवन विश्वविद्यालयको रेक्टर भएर काम गरेको अनुभव न्यौपानेसँग छ । तीन दशकभन्दा लामो समयसम्म कानूनी सेवामा सक्रिय रहेका न्यौपानेले देश विदेशमा अध्ययन गरेको अनुभव पनि संगालेका छन् । त्रिभुवन विश्वविद्यालयको रेक्टरको पदावधि सकिएपछि उनी अध्यापन मै फर्किएका थिए । प्राध्यापक तथा वरिष्ठ अधिवक्ता न्यौपानेको प्रतिष्पर्धा सत्तारुढ नेकपाका तर्फबाट उम्मेदवार भएका वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीसँग हुँदैछ ।
ललिता निवास जग्गा प्रकरणः अख्तियारले पेश गरेका तथ्य नै असान्दर्भिक
काठमाडौं । बालुवाटारको जग्गा अनियमितता प्रकरणमा संलग्न १ सय ७५ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । सो मुद्दाका विभिन्न आयामको चर्चा परिचर्चा हुन थालेको छ । जग्गा किनेका सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेल र न्यायाधीश कुमार रेग्मीलाई जग्गा फिर्ता गर्छु भन्ने निवेदनको आधार मुद्दा नचलाउने भन्ने अख्तियारको निर्णयप्रति व्यापक वहस भइरहेको छ । यस्तै, सो प्रकरणमा आफ्नो नेता विजयकुमार गच्छदार विरुद्ध पनि मुद्दा परेपछि प्रमुख विपक्षी दल काँग्रेस पनि आन्दोलित छ । सो जग्गा प्रकरणले ठूलो हंगामा मच्चाएको छ । तर, अख्तियारले विशेष अदालतमा पेश गरेका कतिपय तथ्य नै असान्दर्भिक देखिएका छन् । खासगरी सो जग्गा खरिद गरेका भनिएका व्यक्तिलाई बैंकले दिएको भनिएको कर्जाको विवरणले अख्तियारले असान्दर्भिक तथ्य संकलन गरेको फेला परेको हो । जग्गा अझै नवीनकै नाममा हुँदा फिर्ता गरिदिन्छु भन्ने निवेदनको आधारमा मुद्दा नचलाएको अख्तियारले ३ वर्ष अगाडि चुक्ता भइसकेको ऋणको विषय किन उल्लेख गर्यो भन्ने प्रश्न उठेको छ । अख्तियारले नेकपा महासचिव पौडेलका छोरा नवीनले वालुवाटारको ८ आना जग्गा धितो राखेर यति डेभलपमेन्ट बैंकबाट ४९ लाख रुपैयाँ ऋण लिएको उल्लेख गरेको छ । नवीनले सो ८ आना जग्गा सरकारलाई फिर्ता गर्ने निवेदन दिएकोले मुद्दा दर्ता गरिरहन नपर्ने अख्तियारले नै बताएको छ । सो बैंक अहिले महालक्ष्मी विकास बैंकको नामबाट संचालनमा छ । नवीनले ४९ लाख रुपैयाँ ऋण लिएका भएपनि सो ऋण रकम ३ वर्ष अगाडि नै चुक्ता गरिसकेका बैंक स्रोतले जानकारी दियो । जग्गा अझै नवीनकै नाममा हुँदा फिर्ता गरिदिन्छु भन्ने निवेदनको आधारमा मुद्दा नचलाएको अख्तियारले ३ वर्ष अगाडि चुक्ता भइसकेको ऋणको विषय किन उल्लेख गर्यो भन्ने प्रश्न उठेको छ । यस्तै, उमाकुमारी ढकाल र माधवी सुवेदीले सोही जग्गा धितो राखेर आईएमई फाइनान्स इन्ष्टिच्युसनबाट ७२ लाख ५८ हजार रुपैयाँ ऋण लिएको अख्तियारको भनाइ छ । ढकाल र सुवेदीलाई ऋण दिने फाइनान्स कम्पनी ग्लोबल आईएमई बैंकमा मर्ज भएको ९ वर्ष पूरा भइसकेको छ । र, यो ऋण पनि चुक्ता भइसकेको बताइएको छ । यस्तै, बैंक अफ एसियाले सोही जग्गा धितोमा प्रविण ताम्राकारलाई ७५ लाख ७८ हजार रुपैयाँ ऋण दिएको भनिएको छ । जवकि बैंक अफ एसिया तत्कालिन एनआईसी बैंकमा मर्ज भएको ८ वर्षभन्दा धेरै भइसकेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले विवेकुमार सुवेदीलाई दिएको १० करोड रुपैयाँ र एनआईडीसी डेभलपमेन्ट बैंकले डीएलएफ डेभलपर्सलाई ललिता निवासको जग्गा धितो राखेर दिएको १५ करोड रुपैयाँ चुक्ता भइसकेको अख्तियारकै आरोप पत्रमा उल्लेख छ । चुक्ता भइसकेको ऋणको विषय उल्लेख गरेर अख्तियारले के कुरा देखाउन खोज्यो भन्ने प्रश्न पनि उब्जिएको छ । अख्तियारले भने विभिन्न बैंक तथा वित्तीय संस्थाले सो जग्गा धितो राखेर दिएको २ अर्ब ४१ करोड रुपैयाँ फसेको र सोही कारण बैंकमा राखेको सर्वसाधारणको निक्षेप नै संकटमा पर्ने अख्तियारको भनाइ छ । यी हुन् ऋण दिने बैंक – आईएमई फाइनान्स इन्स्टिच्युसनले उमाकुमार ढकालको नाममा ७२ लाख ५८ हजार । माधवी सुवेदीको नाममा १ करोड ९० लाख रुपैयाँ –नेपाल बैंकले भारती पाण्डेको नाममा १ करोड रुपैयाँ –यति डेभलपमेन्ट बैंकले नवीन पौडेलको नाममा ४९ लाख रुपैयाँ – नेपाल इन्भेष्टमेन्ट बैंकले पुरुषोत्तम पौडेलको नाममा एउटा किस्तामा २६ करोड र अर्काे किस्तामा १ करोड रुपैयाँ –युनिक फाइनान्सले मन्ती गोर्खालीको नाममा २ करोड रुपैयाँ –ग्लोबल आईएमई बैंकले शोभाकान्त र उमाकुमारीको नाममा ३ करोड ७५ लाख –लक्ष्मी बैंकले कामना गुरुङको नाममा १४ करोड ३५ लाख रुपैयाँ –लक्ष्मी बैंक सरला गुरुङको नाममा १८ करोड ३५ लाख रुपैयाँ –हिमालयन बैंकले संगिता कोठारी राखेचाको नाममा ३ करोड ३१ लाख –लक्ष्मी बैंकले कल्याण गुरुङको नाममा १४ करोड ३५ लाख रुपैयाँ –आर्यातारा बचत तथा ऋण सहकारी संस्थाले केशव तुलाधरको नाममा २ करोड रुपैयाँ –युनिक फाइनान्सले बन्द्रीलक्ष्मी श्रेष्ठको नाममा १ करोड रुपैयाँ –बैंक अफ एसियाले प्रविण ताम्राकारको नाममा ७५ लाख ७८ हजार रुपैयाँ –नेपाल इन्भेष्टमेन्ट बैंकले विवेक कुमार सुवेदीकाे नाममा १० करोड रुपैयाँ –एनआईडीसी डेभलपमेन्ट बैंकले डीएलएफ डेभलपर्सलाई १५ करोड रुपैयाँ –काष्ठमण्डप डेभलपमेन्ट बैंकले नितु गुरुङको नाममा १ करोड ४० लाख रुपैयाँ –एनडीईपी बैंकले नुतन श्रेष्ठकाे नाममा २० लाख रुपैयाँ –प्राइम कमर्सियल बैंकले सन्ध्या शाक्यकाे नाममा ७ करोड ८२ लाख –किष्ट बैंकले सरस्वती घले र सरला गुरुङको नाममा १० करोड रुपैयाँ –नेपाल इन्भेष्टमेन्ट बैंकले इन्दु शर्माको नाममा ६९ करोड १० लाख रुपैयाँ –यति डेभलपमेन्ट बैंकले सन्दीप ढकालको नाममा ४९ लाख रुपैयाँ बैंकले कसरी थाहा पाउने जग्गाको इतिहास ? ललिता निवास प्रकरणमा अनियमितताको पोल खुलेको छ । गलत काम गर्ने विरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ । अब यो विषय न्यायिक निरुपणमा गएको छ । तर, बैंकिङ क्षेत्रका लागि भने गम्भीर प्रश्न खडा भएको छ । ललिता निवासको जग्गा प्रकरण २०२१ सालदेखि जोडिदै आएको तथ्य अहिले खुलेको छ । बैंकले अहिले कायम रहेको जग्गाधनी, फिल्ड र मालपोतको श्रेस्ता हेरेर लगानी गर्ने हो । सरकारी निकायमा रहेका प्रमाण नै नक्कली भएपछि बैंक थप समस्यामा पर्ने देखिएका हुन् । ‘सरकारी निकायमा रहेका कागजपत्र हेरेर हामीले विश्वास गर्ने हो, सरकारी कार्यालयमा भएका कागजपत्र नै नक्कली हुने अवस्था आयो, कति दशक अघि के भएको थियो, यो जग्गाको ऐतिहासिक पृष्ठभूमी के कस्तो हो भनेर कसरी हेर्ने ? यसले बैंकिङमै समस्या उत्पन्न हुन सक्छ,’ एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले भने । सम्बन्धित सामग्री ललिता निवासको जग्गा धितोमा साढे २ अर्ब कर्जा, ऋण दिने बैंकलाई कारबाही गर्न अख्तियारको पत्र अख्तियारले यसकारण विष्णु पौडेल विरुद्ध मुद्दा दायर गरेन ललिता निवास जग्गा प्रकरणः पूर्वमन्त्रीसहित १७५ जना विरुद्ध मुद्दा
गुराँस लाइफ इन्स्योरेन्सलाई शतप्रतिशत हकप्रद जारी गर्न अनुमति
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले शतप्रतिशत हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डकोे अनुमति पाएको छ । बोर्डले माघ २१ गते कम्पनीलाई सो मात्राको हकप्रद जारी गर्न अनुमति दिएको हो । बोर्डको अनुमति पाएसँगै कम्पनीले अंकित मूल्य एक सय रुपैयाँको दरले ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद सेयर जारी गर्ने छ । कम्पनीले बिक्री प्रबन्धक एनएमबि क्यापिटल मार्फत ९३ करोड ८५ लाख २० हजार रुपैयाँ बराबरको हकप्रद निष्काशन गर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी ९३ करोड ८५ लाख रुपैयाँ रहेको छ । १०० प्रतिशत हकप्रद पश्चात इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ८७ करोड ७० लाख रुपैयाँ नाघ्ने छ ।
साग पदक जित्ने छ खेलाडीलाई तारकेश्वर नगरपालिकाले गर्याे नगदसहित सम्मान
काठमाडाैं । तारकेश्वर नगरपालिकाले हालै नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा पदक जित्ने आफ्नो नगरपालिकाका खेलाडीलाई सम्मान गरेको छ । नगरपालिकाको छैटौँ नगरसभामा बिहीबार पदक जित्ने छ खेलाडीलाई नगदसहित सम्मान गरेको हो । नगरपालिकाले सागमा स्वर्ण जित्ने करातेकी अनु अधिकारी र सुनिता महर्जन तथा साइक्लिङकी निष्मा श्रेष्ठलाई जनही रु २५ हजारसहित सम्मान गरेको हो । यस्तै सागमा रजत पदक जित्ने फेन्सिङकी कमला श्रेष्ठ तथा उसुकी मीना ग्ल्यान र विश्व बुढामगरलाई रु २० हजारसहित सम्मान गरिएको थियो ।
कुखुरा मासुको मूल्य अहिलेसम्मकै उच्च
गलकाेट । बागलुङमा ब्रोइलर कुखुराको मासुको मूल्य अहिलेसम्मकै उच्च भएको छ । एक महिनाको अवधिमा तीनपटकसम्म मासुको मूल्यवृद्धि भएको मासु व्यवसायी सङ्घ बागलुङले जनाएको छ । जिल्लामा उत्पादन भएका ब्रोइलर कुखुराले बजारको माग धान्न नसकेपछि मूल्यवृद्धि गर्नुपरेको सङ्घका अध्यक्ष कृष्ण कार्कीले जानकारी दिए । माघ महिनाको अहिलेसम्म तीनपटक मूल्यवृद्धि भएको छ । महिनाको शुरुमा रु ३ सय ८० र रु ४ सय प्रतिकेजी हुँदै अहिलेका मूल्य रु ४ सय ४० पुगेको छ । कुखुरा फार्ममा कुखुराको उत्पादनमा कमी आएका कारण खरिद मूल्य बढेपछि मूल्य बढाउन बाध्य भएको व्यवसायीले बताएका छन् । कुखुराका माग धान्नै मुस्किल भएकाे र अन्यत्रबाट आयत गर्न ढुवानी खर्च बढी लाग्नाले मूल्य बढेकाे जानकारी गराए । अहिलेसम्म ४ सय नाघ्न सकेको थिएन । कुखुरा कम उत्पादन भएपछि हालसम्मकै उच्च मूल्यवृद्धि भएको हो । कुखुरा उत्पादकको घरमै पुग्दासमेत जिउदो कुखुरालाई रु ३ सयमा खरिद गर्नुपरेको मासु व्यवसायी कृष्ण जिसीले बताए । जिउँदो कुखुरालाई रु ३ सयमा खरिद गरेर गोदामभाडा, पसलभाडा तिरेर रु ४ सय ४० मा बिक्री गर्दा मेहनतसमेत नउठ्ने नभएको उनले जानकारी दिए । त्यस्तै खसी/बोकाको मासुको समेत प्रतिकेजीमा रु ५० वृद्धि भएको छ । रु ९ सय प्रतिकेजी खसी/बोकाको मूल्य माघ १९ गते देखि ९ सय ५० पुगेको हो । अन्य मासुको मूल्य यथावत रहे पनि कुखुराको मासुको मूल्य अझै वृद्धि हुने सम्भावना रहेको मासु व्यवसायी सङ्घले जनाएको छ ।रासस
युलेन्स एजुकेशन फाउण्डेसनको सीईओमा डा.पाँडे नियुक्त
काठमाडौं । युलेन्स एजुकेशन फाउण्डेसको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा डा.अरनिको कुमार पाँडे नियुक्त भएका छन् । आगामी दुई वर्षका लागि फाउण्डेसनले डा. पाँडेलाई उक्त पदमा नियुक्त गरेको हो । डा. पाँडे युलेन्स एजुकेशन फाउण्डेसनको प्रमुख कार्यकारी अधिकृत नियुक्त हुनु अघि युलेन्स एजुकेशन फाउन्डेसनका बोर्ड सदस्य तथा इसीमोडमा वातावरण विज्ञका रुपमा कार्यरत थिए । उनले फेब्रुअरी १, २०२० का दिनदेखि युलेन्स एजुकेशन फाउण्डेसनको नयाँ जिम्मेवारी ग्रहण गरेका हुन् । साथै, उनले अमेरिकाको हावर्ड विश्वविद्यालयबाट वातावरण विज्ञानमा स्नातक, अमेरिकाकै े विस्कन्सीन म्याडिसन विश्वविद्यालयबाट भू–शंशाधन विषयमा स्नातकोत्तर र म्यासाच्यूटस् इन्टिच्युट अफ टेक्नोलोजीबाट विद्यावारिधी उपाधि हासिल गरेका छन् । सन् २००६ मा ब्यारोन गाइ युलेन्स र मिरीयम युलेन्सको संरक्षकत्वमा गैर नाफामूलक संस्थाका रुपमा स्थापित युलेन्स एजुकेशन फाउन्डेसनले प्रगतिशील शिक्षा प्रवाहमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेको छ । फाउन्डेसनले अमेरिकाको न्यूयोर्क स्थित बैंक स्ट्रीट कलेज अफ एजुकेशनको शैलीमा एक्काईसौँ सताब्दी सुहाँउदो व्यवहारिक शिक्षा प्रदान गर्दै आइरहेको छ । फाउन्डेसनले हाल ललितपूरको जावलाखेलमा युलेन्स किन्डरगार्डेन तथा खुमलटारमा कक्षा एकदेखिमाध्यमिक शिक्षासम्मका शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । माध्यमिक तहमा नेपाल सरकारको माध्यमिक शिक्षा कार्यक्रम तथा इन्टरनेशनल ब्याकलरेट डिप्लोमा कार्यक्रम सञ्चालनमा रहेका छन् । नेपाल सरकार शिक्षा मन्त्रालयको स्विकृति र स्वीट्जरल्याण्डको जेनेभा स्थित आइबीओ बोर्डद्धारा आधिकारीक मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको यस डिप्लोमा कार्यक्रमले समय सापेक्ष शैक्षिक कार्यक्रमहरु मार्फत १६ देखि १९ वर्ष उमेर समूहका युवा अवस्थाका विद्याथीहरुलाई अनुसन्धानात्मक ज्ञान आर्जन गर्न प्रोत्साहन गर्दै आइरहेको छ । नेपालको शिक्षाको स्तर उकास्ने उद्देश्यले फाउन्डेसनले निकट भविष्यमा खुमलटार, ललितपूरमा विश्वस्तरीय सुविधायुक्त शिक्षक तालीम केन्द्र सञ्चालनमा ल्याउन लागेको छ । साथै काभ्रेपलान्चोक जिल्लाको नालामा आगामि केही वर्ष भित्रमा स्नातक तहको उदार कला (लिबरल आर्टस्) कलेज सञ्चालन गर्ने लक्ष्य राखेको छ ।