एभरेष्ट र प्राईम लाईफ इन्स्योरेन्सले शुरू गरे घुम्ती बीमा सेवा
काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी र प्राईम लाईफ इन्स्योरेन्स कम्पनीले संयुक्त रुपमा घुम्ती बीमा सेवा संचालन गरेको छ । ठाकुरवावा मन्दिर परिसर बर्दियाबाट शुरु गरिएको उक्त कार्यक्रम घरदैलोबाटै बीमा सेवा प्रदान गर्ने उद्देश्यले शुभारम्भ गरिएको हो । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईको सभापतित्वमा सञ्चालित कार्यक्रमा भट्टराईले ग्राहकको चाहना बमोजिम भविश्यको लागि वचत तथा जीवन सुरक्षका विभिन्न जीवन बीमा योजना प्रस्तुत गरिएको जानकारी दिए । घुम्ती बीमा सेवा शुभारम्भ कार्यक्रममा स्वागत मन्तब्य व्यक्त गर्दै एभरेष्ट इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले कम्पनीले उत्कृष्ट बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै कम्पनीका विभिन्न निर्जीवन बिमा सेवा लिई आफ्नो धन सम्पतिको सुरक्षाको सुनिश्चितता गरी व्यवसाय संचालन गर्न सम्पूर्ण कृषक तथा व्यवसायी महानुभावहरुमा हार्दिक अनुरोध गरेका छन् । उक्त समारोहमा बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले बिमालाई आम जनतामा सर्वसुलभ रुपमा उपलव्ध गराउनको लागि बीमा कम्पनी मार्फत घुम्ती बिमा सेवाको अवधारण अगाडि बढाइएको जानकारी दिए ।
यूनिलिभर नेपालको प्रबन्ध निर्देशकमा अमलान मुखर्जी
काठमाडौं । यूनिलिभर नेपालको प्रबन्ध निर्देशक(एमडी)मा अमलान मुखर्जी नियुक्त भएका छन् । माघ २४ गते(फेब्रुअरी ७) बसेको कम्पनी सञ्चालक समितिको बैठकले मुखर्जीलाई कम्पनीको एमडी पदमा नियुक्त गरेको हो । नवनियुक्त एमडी मुखर्जीले आगामी फागुन १८ गते(मार्च १)देखि आफ्नो पदको जिम्मेवार सम्हाल्ने छन् । हाल कम्पनीको एमडी पदको जिम्मेवार आशिष राईले सम्हालिरहेका छन् । उनले आगामी फागुन १७ गतेदेखि (फेब्रुअरी २९) लागू हुने गरी उक्त पदबाट राजिनामा दिँदै छन् । त्यसपछि रिक्त हुने कम्पनीको एमडी पदमा अमलान मुखर्जी नियुक्त गरिएको कम्पनीले बताएको छ ।
निर्वाचन नजिकिँदै गर्दा महासंघमा ध्रुवीकरण तीव्र
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन नजिकिँदै जाँदा चुनावी ध्रुवीकरण शुरु भएको छ । पदाधिकारीको उम्मेदवारबारे यसै साता अन्तिम टुंगो लाग्दैछ । विधानअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छ स्वतः अध्यक्ष बन्दैछन् । वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान र चन्द्रप्रसाद ढकालबीच चुनाव हुँदैछ । ढकालले यसअघि नै गृह जिल्ला बाग्लुङबाट उम्मेदवारी घोषणा गरिसकेका छन् भने प्रधानले फागुन १ गते विराटनगरबाट उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन् । धेरैले किशोर प्रधानले अन्तिममा उम्मेदवारी फिर्ता लिने अनुमान गरिरहेका छन् । तर प्रधानले आफूले निर्वाचनको तयारी गरिरहेको र फागुन १ गते विराटनगरबाट उम्मेदारी घोषणा गर्न लागेको बताए । महासंघको जिल्ला तथा नगर उद्योग वाणिज्य संघ समूहको उपाध्यक्षमा गुणनीधि तिवारी र दिनेश श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ । आधिकारिक रुपमा दुबैले उम्मेदवारी घोषणा गरेका छैनन् तर भोट माग्दै दुबै जना चुनावी अभियानमा जिल्ला दौडाहामा लागेका छन् । प्रदेश ५ का अध्यक्ष तिवारी झण्डै एक महिनाअघि चुनावी अभियानमा सक्रिय थिए भने उनका प्रतिस्पर्धी स्पष्ट भएको थिएन । काठमाडौं उद्योग वाणिज्य संघको अध्यक्ष तथा वाग्मती प्रदेश अध्यक्ष दिनेश श्रेष्ठले पनि आफू जिल्ला नगर समूहको उपाध्यक्षको दावेदारी सहित चुनावी अभियान शुरु गरेका छन् । वरिष्ठ उपाध्यक्षका दावेदार चन्द्रप्रसाद ढकालको समूहबाट तिवारीले उम्मेदवारी दिदै छन् भने वरिष्ठ उपाध्यक्षका अर्का दावेदार किशोर प्रधानको समूहबाट श्रेष्ठले उम्मेदवारी दिने तयारी गरेका छन् । महासंघमा अध्यक्ष, बरिष्ठ उपाध्यक्ष पछि जिल्ला नगर समूहको उपाध्यक्ष बलियो र तेस्रो बरियताको पद हो । बस्तुगत समूहको उपाध्यक्ष पदमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ । अञ्जन हाल महासंघको उद्योग समितिको सभापति हुन् भने श्रेष्ठ वस्तुगत समूहको वर्तमान उपाध्यक्ष हुन् । अञ्जन किशोर प्रधानको टिमबाट उम्मेदवार बन्दैछन् भने उमेशलाल चन्द्र ढकालको टिमबाट उम्मेदवार बन्दैछन् । एशोसिएट समूहको उपाध्यक्षमा भने हालसम्म सौरभ ज्योतिको मात्र नाम सार्वजनिक भएको छ । ज्योति सर्वसहमत हुने सम्भावना बढी देखिन्छ भने अर्को उम्मेदवार पनि आउन सक्ने अनुमान छ । आगामी चैतमा नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा हुँदैछ । सो सभाले नयाँ नेतृत्व पनि चयन गर्दैछ । निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था भएको कारण पनि महासंघको नेतृत्वका बारेमा चासो बढेको छ । महासंघको चुनावमा व्यवसायीको मात्र होइन, सर्वसाधरण तहमा पनि चासो बढ्ने गरेको छ । ढकाल र प्रधानले आ-आफ्नो टिम बनाउने कसरत गरिरहँदा चुनावमा ढकाल र प्रधान पक्षका समर्थक बीच ध्रुवीकरण पनि बढेको छ । ढकाललाई वर्तमान अध्यक्ष भवानी राणाले साथ दिएकी छिन् भने प्रधानलाई वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले साथ दिएका छन् । पूर्व अध्यक्ष पशुपति मुरारका प्रधानको पक्षमा खुलेर लागेका भने पूर्व अध्यक्ष चण्डिराज ढकाल चन्द्र ढकालको पक्षमा खुलेर चुनावमा होमिएका छन् ।
४ सय रुपैयाँले बढ्यो सुन, प्रतितोला ७६ हजारमा कारोबार
काठमाडौं । साताको पहिलो दिन सुन प्रतितोला ७६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार ७५ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन तोलामा ४ सय रुपैयाँ बढेर सो मूल्यमा बिक्री भइरहेको छ । शुक्रबार ७५ हजार ३ सयमा बिक्री भएको तेजावी सुन प्रतितोलामा ४ सय रुपैयाँ बढेर आइतबार ७५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै शुक्रबारको तुलनामा चाँदी प्रतितोलामा ५ रुपैयाँ घटेर ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जानकारी दिएको छ ।
फागुनदेखि नारायणी नदीमा सरर पानी जहाजः अनलाइन बुकिङ खुला हुँदै
काठमाडाैं । नारायणी नदीमा आगामी फागुन महिनादेखि क्रुजसीप (सानो पानीजहाज)सञ्चालनमा आउने भएको छ । भरतपुर महानगरपालिका–१६ मा क्रुजसीप निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सरकारले पानी जहाजसम्बन्धी उद्योग दर्ता गर्न पाउने निर्णय गरेसँगै यहाँ जहाज निर्माण शुरुआत भएको थियो । क्रुजसीप निर्माण गर्दै गरेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलका अनुसार पानीजहाजसम्बन्धी उद्योग दर्ताको प्रावधान नभएकाले काममा केही ढिलाइ भएको थियो । मन्त्रिपरिषद्को बैठकले उद्योग दर्ता गर्न पाउने निर्णय गरेसँगै अगामी महिनादेखि सानो जहाज सञ्चालनमा ल्याइने जानकारी दिएका छन् । उनले भने, ‘बाहिरको एसीपी लगाउन र सिसा राख्न बाँकी छ, केही दिनमा काम सक्छौँ ।’ उनले १० दिनभित्र अनलाइन बुकिङ आह्वान गर्ने जानकारी समेत दिए । क्रुजसीपमा बिहानी खाना (ब्रेकफाष्ट क्रुज), दिवा खाना (लन्च क्रुज) र रात्रिकालीन खाना ( डिनर क्रुज)का लागि अनलाइन बुकिङ खुला गरिँदैछ । बाहिर तयारी खाना क्रुजमा तताएर खुवाउने समेत व्यवस्था मिलाइँदैछ । जहाज भित्र नै गायकको गीतमा पर्यटक रमाउन सक्नेछन् । बारहरु रहनेछन् । भुइँतलामा ९० वटा कुर्ची , बीचमा ११० र छतमा २० जना बस्न मिल्ने प्रबन्ध निर्देशक कँडेलले जानकारी दिए । दोस्रोतलाको बाहिर बसेर समेत यात्रा गर्न सक्ने व्यवस्था मिलाइएको छ । क्रुजको ब्रेकफास्टमा दुई घण्टाको यात्रा र लञ्च र डिनरमा तीन/तीन घण्टाको यात्रा गराइनेछ । यात्राका क्रममा काभ्रेघाटबाट शुरु यात्रा देवघाट हुँदै फर्किएर गोलाघाटसम्म बाह्य दृश्य हेरेर यात्रु रमाउन सक्नेछन् । नेपालमा व्यावसायिक रूपमा सञ्चालन गर्न लागिएको यस प्रकारको क्रुज पहिलो रहेको बताइएको छ । ज्ञानेश्वर सामुदायिक वनसंगै नारायणी नदी छेउमा जहाज निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । यसको सुरक्षा, सेवाग्राहीको सुरक्षा, वातावरणीय संरक्षणमा ध्यान दिँदै विशेष सावधानीका साथ क्रुज निर्माण र पूर्व तयारी गरिरहेको उनले बताए । क्रुजसीपको सञ्चालनका लागि आवश्यक तीन जना क्रिउ मेम्बर र प्राविधिक हाललाई विदेशी रहेका छन् । दीर्घकालीन रूपमा नेपाली जनशक्ति नै उत्पादन गर्नका लागि आवश्यक तालीम केन्द्र सञ्चालन गर्ने जनाइएको छ । क्रुजको निर्माण भारतीय कम्पनी ग्रान्डडुर मारिन इन्टरनेशनलले गरेको हो । क्रुजमा दुई इञ्जिन रहेका छन् । क्रुजको गति प्रतिघण्टा ३५ किलोमिटर हुनेछ । क्रुज निर्माण गत वर्षको चैतबाट थालिएको हो । क्रुज निर्माणका लागि रु १५ करोड हाराहारी खर्च भएको जनाइएको छ ।रासस
किन यति स्थीर छ सिद्धार्थ बैंकको सेयर ? (समग्र विश्लेषण)
काठमाडौं । सिद्धार्थ बैंकको सेयर मूल्य बैंकिङ क्षेत्रको समग्र परिसूचकभन्दा पनि स्थीर छ । बैंकको मूल्यको आधारमा गणना गरिएको बैंकको १ सय २७ दिनको स्ट्याण्डर्ड डेभिएसन १७.६२ छ । समग्र बैंकिङ सूचकको यही अवधिका स्ट्याण्डर्ड डेभिएसन ४३.२५ छ । सूचकको तुलनामा यस बैंकको सेयर मूल्य स्थिर देखिन्छ । बिगत १ वर्षमासमेत बैंकको सेयर मूल्यमा ८४ रुपैयाँ घटबढ छ । केडिया, अग्रवाल र तोदी समुहको प्रमुख लगानी रहेको सिद्धार्थ बैंकले सिद्धार्थ र रिलायन्स इन्स्यारेन्स कम्पनीको संस्थापक सेयरमा पनि लगानी गरेको छ । यस्तै परिवेशमा बैंकको समग्र अवस्था, सेयरको प्राविधिक लगायतको विश्लेषण प्रस्तुत गरिएको छ । सिद्धार्थ बैंक १८औं वाणिज्य बैंकको रुपमा मंसिर २०५९ बाट सञ्चालनमा आएको हो । बैंकले हालै १८ औं वर्ष पार गरेर १९ औं वर्षमा प्रवेश गरेको छ । बैंकले यसअघि विजनेश युनिभर्सल डेभलपमेन्ट बैंकलाई समेत मर्ज गरेको थियो । बीरगन्जमा आफ्नै भवनमा कार्यालय रहेर सञ्चालन भइरहेको यस बैंकले काठमाडौंमा प्रधान कार्यालयको लागिसमेत आफ्नै भवन बनाउन लागि परेको छ । बैंकको हाल १ सय ६७ शाखा, १ सय १ शाखा रहित बैंकिङ सेवम, १ सय ८२ वटा एटिएम र २ हजार ३० पस मेसिनमार्फत् वित्तीय सेवा दिइरहेको छ । – जनशक्ति खर्चमा उच्चवृद्धिले नाफामा प्रभाव – बैंकमा केडिया, अग्रवाल र तोदी समूहको पकड -अधिक बिक्री क्षेत्रमा बैंकको सेयर मूल्य बैंकले सिद्धार्थ प्लाटिनम बचत खाता, सरल बचत खाता, सुपर स्यालरी खाता लगायतका निक्षेप खाता सञ्चालनमा छ । बैंकले निक्षेपमा ५.५ देखि ९.२५ प्रतिशतसम्म व्याजदर दिइरहेको छ । केही निक्षेप खातामा स्वास्थ्य, दुर्घटना बीमा जस्ता सुविधा दिएको छ । १०.०४ प्रतिशत बेस रेट रहेको बैंकले बिभिन्न कर्जामा थप १ प्रतिशतदेखि ६ प्रतिशत जोडेर व्याज लिने गरेको छ । लगानी समूह बैंकमा केडिया समूह, अग्रवाल समूह र तोदी समूहको बाहुल्यता छ । गत वर्ष केडिया समूहले सेयर स्वामित्व केही बढाएको देखिन्छ । केडिया समूहको १४ प्रतिशतभन्दा केही बढी सेयर छ । बैंकको अध्यक्षमा केडिया समूहबाट मनोज कुमार केडियाले प्रतिनिधित्व गरिरहेका छन् । प्रुडेन्सियल इन्भेष्टमेन्ट कम्पनीको प्रतिनिधत्व गर्दै केडिया समूह अध्यक्ष छन् । हाल बैंकमा २ सय ६० जना संस्थापक सेयरधनी र ६१ हजार २ सय ८० जना सर्वसाधारणको लगानी छ । सर्वसाधारणको बैंकमा ४९ प्रतिशत लगानी छ । बैंकको प्रमुख कार्यकारी अधिकृतमा शम्भुनाथ गौतम छन् । उनले बार्षिक १ करोड ५१ लाख रुपैयाँ बुझ्छन् । अन्य लगानी संस्थापक सेयरधनीको रुपमा बैंकले सिद्धार्थ इन्स्योरेन्समा ७ करोड ९४ लाख र रिलायन्स इन्स्योरेन्समा २६ करोड ४० लाख लगानी गरेको छ । सहायक कम्पनीको रुपमा सिद्धार्थ क्यापिटल रहेको छ । लाभांश ५ वर्षमा औसत २२.४९ प्रतिशतको लाभांश बाडेको यस बैंकले गत आवमा नाफा पछि २६.२६ प्रतिशत लाभांश बढेको छ । बैंकले १२ करोड २० लाख रुपैयाँ सेयर प्रिमियम लाभांश दिन खर्चिएको छ । बैंकले नाफाको आधारमा लगानीकर्तालाई दोस्रो त्रैमाशसम्ममा ५७ करोड ४९ लाख रुपैयाँ वितरण गर्न सक्ने उल्लेख गरेको छ । हालसम्म ५.८७ प्रतिशत लाभांश क्षमता छ । वर्षअन्त्यमा यो दरमा पक्कै बढ्ने छ । बैंकका बिभिन्न सेयर लगानीकर्ताले १ करोड ६३ लाख रुपैयाँ बुझेका छैनन् । गैरबैंकिङ सम्पत्तीको बिक्री गत वर्ष ऋणी पशुपति प्रसाद बरालको नामको सकारेको गैरबैंकिङ सम्पत्ति बिक्री गरेको बैंकमा गत आव अन्त्यसम्ममा ९ व्यक्ति तथा संस्थाको १२ करोड ३३ लाख बिक्री गर्न बाँकी छ । दोस्रो त्रैमाशिक प्रगति बैंकको कर्मचारी खर्चमा वृद्धि हुँदा चालु आवको दोस्रो त्रैमाशमा नाफा रकम ४ प्रतिशतले घटेर १ अर्ब २ करोड रुपैयाँ पुगेको छ । कुल कर्मचारी संख्या १ हजार ७ सय ६० जना रहेको बैंकको कर्मचारी खर्च ४५ प्रतिशतले बढेर १ अर्ब नाघेको छ । अन्य सञ्चालन खर्च, प्रशासनिक खर्च लगायत समेत बढेको छ । गैर सञ्चालन खर्च समेत बढेको छ । बैंकको व्याज आम्दानी भने २३ दशमलव ९२ प्रतिशतले बढेर ७ अर्ब ५४ करोड पुगेको छ । व्याज खर्चपनि २५ प्रतिशतले बढेको छ । तर, पनि बैंक २ अर्ब ७७ करोड खुद व्याज आम्दानी गर्न सफल भएको छ । यसमा २१ प्रतिशतको वृद्धि कायम छ । बैंकको पुँजी कोष पर्याप्तता अनुपात १२.८६ प्रतिशत रहेकोले नियामकीय प्रावधान (११ प्रतिशत) हाराहारी आइसकेको छ । बैंकको निक्षेप र प्राथमिक पुँजीको आधारमा जारी भएको कर्जाको अनुपात ७८.४१ प्रतिशत छ । बैंकले थप कर्जा लागनी गर्न सक्ने अवस्था कम हुँदै गएको छ । बैंकको जगेडा तथा सञ्चित कोष १७ प्रतिशतले घटेर ४ अर्ब ९६ करोड रुपैयाँमा सिमित भएको छ । बैंक पुँजी कोष लागत सामान्य घटेर ७.२७ मा सिमित भएको छ । बैंकले खराब कर्जाको आधारमा सो कर्जाको १ सय ५ प्रतिशत रकम राखेको छ । बैकले प्रावधान रकम ५२ करोड छ । यसमा ५६ प्रतिशतले वृद्धि भएको हो । खराब कर्जामा सामान्य सुधारभएर १ दशमलव ५५ मा सिमित भएको छ । बैंकको प्रतिसेयर आम्दानी केही घटेर २१.५७ रुपैयाँ, मूल्य आम्दानी अनुपात १४.६५ गुणा र प्रतिसेयर नेटवर्थ १ सय ५० रुपैयाँ छ । प्रावधिक विश्लेषण परिसूचकभन्दा स्थीर समग्र बैंकिङ परिसूचकको तुलनामा यस बैंकको मूल्य स्थीर रहने गरेको छ । मूल्यको आधारमा गणना गरिएको बैंकको १ सय २७ दिनको स्ट्याण्डर्ड डेभिएसन १७.६२ छ । समग्र बैंकिङ सूचकको यही अवधिका स्ट्याण्डर्ड डेभिएसन ४३.२५ छ । सूचकको तुलनामा यस बैंकको सेयर मूल्य स्थिर देखिन्छ । बिगत १ वर्षमा समेत बैंकको सेयर मूल्यमा ८४ रुपैयाँ घटबढ छ । मुभिङ एभरेजमा क्रस ओभर सम्भावना सम्पिल मुभिङ एभरेज रेखामा हालै मात्र क्रमओभर हुन लागेको देखिन्छ । ७ दिने रेखाले २१ दिनेलाई काटेर माथि जान लागेको देखिन्छ । यसो भएमा मूल्य बुलिश प्रवृत्तिमा आएको संकेत गर्छ । यद्यपी सिद्धार्थ बैंकको हकमा यसको मूल्यमा चाँडोचाँडो क्रस ओभर भइरहेकोले यी दुई रेखालाई निगरानी गर्नुपर्ने देखिएको छ । पीभट विश्लेषणले भने अब बजार बढ्ने क्रममा रहे एक महिनामा ३ सय ३५ मा पहिलो प्रतिरोध र घट्ने क्रममा रहे २ सय ९५ मा पहिलो टेवा पाउने देखाउँछ । अधिक बिक्री क्षेत्रमा बैंकको सेयर अधिक बिक्री क्षेत्रमा आएको छ । १४ दिने आरएसआई स्केलको २६ मा आएको छ । आरएसआई स्केल ३० भन्दा मुनि भए सेयर अधिक बिक्री क्षेत्रमा, ३० देखि ७० बीचमा भए सन्तुलित क्षेत्रमा र ७० भन्दा माथि भए अधिक खरिद क्षेत्रमा रहेको विश्लेषण गरिन्छ । केही दिनदेखि लगातार घट्न थालेको बैंकको सेयर मूल्यले अन्तिम दुई दिनमा इनगल्फिङ बुलिश आकृति बनाएको छ । साना साना डोजी आकृति बनाएको छ । यसले लगानीकर्ताहरु मूल्यलाई लिएर अन्योलमा देखिएका छन् । लगानीको लागि केही समय कुर्नु सही हुने यसले देखाउँछ ।
एनएमबी बैंकको नाफा १ अर्ब ६३ करोड, स्प्रेड दर ५ प्रतिशतभन्दा माथि
काठमाडौं । एनएमबी बैंकले चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ६३ करोड ६० लाख रुपैयाँ नाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब १० करोड ९९ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणका अनुसार बैंकले गत पुस मसान्तसम्ममा १ खर्ब १३ अर्ब ६३ करोड ७० लाख रुपैयाँ कर्जा तथा लगानी गरेको छ । गत आवको सोही अवधिमा बैंकले ८८ अर्ब ४८ करोड ५० लाख रुपैयाँ कर्जा तथा लगानी गरेको थियो । चालु आवको ६ महिनासम्ममा बैंकसँग सर्वसाधारणको १ खर्ब २६ अर्ब ४२ करोड ९० लाख रुपैयाँ निक्षेप छ । गत आवको सोही अवधिमा बैंकसँग सर्वसाधारणको ९७ अर्ब ८९ करोड २३ लाख रुपैयाँ निक्षेप थियो । चालु आवको ६ महिनामा ७ अर्ब १ करोड ३० लाख रुपैयाँ व्याज आम्दानी गरेको छ भने ४ अर्ब २७ करोड ८६ लाख रुपैयाँ व्याज खर्च गरेको छ । गत आवको सोही अवधिमा बैंकले ५ अर्ब २८ करोड४० लाख रुपैयाँ व्याज आम्दानी गरी ३ अर्ब २७ करोड ८५ लाख रुपैयाँ व्याज खर्च गरेको थियो । बैंकको गत आवको पुस मसान्तसम्ममा २ अर्ब ५५ लाख रुपैयाँ खुद व्याज आम्दानी थियो भने चालु आवको सोही अवधिमा २ अर्ब ७३ करोड ४३ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । बैंकको खराब कर्जा अनुपात केही बढेको छ । गत आवको पुस मसान्तसम्ममा ०.७८ प्रतिशत रहेको खराब कर्जा अनुपात चालु आवको सोही अवधिसम्ममा १.९६ प्रतिशत पुगेको छ । यस्तै, कष्ट अफ फण्ड पनि केही बढेको छ । गत आवको पुस मसान्तमा ७.३२ प्रतिशत रहेको बैंकको कष्ट अफ फण्ड चालु आवको सोही अवधिमा ७.७० प्रतिशत पुगेको छ । बैंकको पुँजी निक्षेप कर्जा अनुपात (सीसीडी रेसियो ७७.५५ प्रतिशत छ । गत आवको पुस मसान्तसम्ममा सीसीडी रेसियो ७८.९५ प्रतिशत थियो । बैंकहरुले सीसीडी रेसियो ८० प्रतिशतसम्म पुर्याउन पाउँछन् । त्यसैले एनएमबीसँग अब धेरै कर्जा दिन सक्ने स्पेस बाँकी छैन भने आफूसँग भएको स्रोतको अधिकतम उपयोग गरेको छ । बैंकको आधार दर केही बढेको छ । गत आवको पुस मसान्तमा १०.११ प्रतिशत रहेको आधार दर चालु आवको सोही अवधिमा १०.१२ प्रतिशत छ । आधार दर बढ्दा कर्जाको व्याजदर बढ्ने सम्भावना हुन्छ । यस्तै, व्याज अन्तर (स्प्रेड) दर पनि बढेको छ । गत आवको पुस मसान्तसम्ममा ४.७३ प्रतिशत रहेको आधार दर चालु आवको पुस मसान्तसम्ममा ५.०३ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई चालु आवको अन्त्यसम्ममा व्याज अन्तरदर ४.४ प्रतिशत ल्याइसक्न निर्देशन दिएको छ ।
गायक सुनिल गिरीको ‘रोगै पिरती’ गीतको भिडियो सार्वजनिक
काठमाडौं । गायक सुनिल गिरीको नयाँ गीत ‘रोगै पिरती’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । लाम क्यारे माया बोलको गीतले चर्चा बटुलिरहेकै बेला गायक गिरीले शनिबार आफ्नै च्यानलबाट रोगै पिरती बोलको गीतको भिडियो सार्वजनिक गरेका हुन् । तनहुँ आसपासका स्थानमा गाउँले परिवेशमा तयार पारिएको भिडियो हेर्दा हरेक प्रेमी जोडीले आफ्नो वैशाँलु उमेरमा बिताएको प्रेम र विछोडका विभिन्न चरणहरुलाई जीवन्त शैलीमा प्रस्तुत गरिएको छ । गायक स्वयमको अभिनय रहेको गीतको भिडियोमा समिक्षा क्षेत्रीको अभिनय देख्न सकिन्छ । मनोज कार्कीको सम्पादन तथा मोसन ग्राफिक रहेको भिडियोको निर्देशन अनिलकृष्ण मानन्धरले गरेका हुन् । निर्देशक मानन्धरकै छायांकन रहेको गीतको एजेन्ज, कम्पोज पनि गायक गिरीकै हो ।हेर्नुहाेस् भिडियाे