एमसीसी अनुमोदन नहुँदा सरकारको १० अर्ब बजेट खर्च हुन सकेन
काठमाडौं । अमेरिकी सरकारले अनुदानमा दिने भनेको मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) संसदबाट अनुमोदन नहुँदा सरकारको बजेट कार्यान्वयनमा समस्या भएको छ । सरकारले एमसीसी कार्यान्वयको लागि छुट्टयाएको १० अर्ब रुपैयाँ बजेट खर्च हुन नसकेको हो । एमसीसी कार्यान्वयनका लागि सरकारले छुट्टयाएको १० अर्ब रुपैयाँ खर्च हुन नसकेको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । एमसीसी संसदबाट अनुमोदन भएर कार्यान्वयनमा नआएको कारण सरकारले छुट्टयाएको बजेट खर्च हुन नसकेको उनको भनाइ छ । अर्थमन्त्री खतिवडाले चालु आर्थिक वर्षको मध्याबधी समीक्षा गर्दै यस्तो जानकारी दिएका हुन् । सरकारले चालु आर्थिक वर्ष (आव) को लागि छुट्टयाएको १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँमध्ये गत पुस मसान्तसम्ममा ४ खर्ब २२ अर्ब५५ करोड ६ लाख रुपैयाँ खर्च भएको सो अवसरमा जानकारी दिइयो । यस्तो खर्चमध्ये चालुतर्फ ३ खर्ब ९ अर्ब ६० करोड ६८ लाख रुपैयाँ (विनियोजित बजेटको ३२.४ प्रतिशत), पुँजीगततर्फ ६२ अर्ब ७६ करोड ६७ लाख (१५.४ प्रतिशत) र वित्तीय व्यवस्थातर्फको ५० अर्ब १७ करोड ७० लाख (२९.९ प्रतिशत) बजेट खर्च भएको छ ।
भिस्ताराले शुरू गर्याे काठमाडौं-दिल्ली दैनिक उडान
काठमाडौं । भारतको पूर्ण सेवा वाहक , टाटा समूह र सिंगापुर एयरलाइन्सको संयुक्त उद्यम(जोइन्ट भेन्चर) ले मंगलबार दिल्ली र काठमाडौंका लागि दैनिक उडान गर्ने भएकाे छ । काठमाडौं भारत बाहिरको पाँचौ अन्तरराष्टिय गन्तव्यको रुपमा रहेको छ । दिल्लीबाट भिस्ताराको उद्घाटन उडानका लागि आएका यात्रुहरुलाई काठमाडौंमा ठूलो उत्साहका साथ स्वागत गरिएको थियो । भिस्ताराका प्रमुख व्यापारिक अधिकत विनोद कन्ननले नेपाल जाने र नेपालबाट आउने याात्रुहरुलाई विश्व स्तरीय र अनुपम सेवा दिन आफु वचनबद्ध रहेको बताए । साथै, तीन श्रेणीको व्यवस्थापनसहितको हवाइजहाज तुरुन्त सेवामा प्रयोग गर्ने र उक्त सेवा भारत नेपालीबीच यात्रा गर्ने यात्रुहरुका लागि प्रिमियम इकोनोमी वर्गले मात्र प्रस्ताव गर्ने उल्लेख गरे । भिस्ताराको सहज उडान तालिकाको एक स्टप जडानले बैंगलोर, चेन्नाइ, मुम्बई र पुनेसहित भारतका अन्य शहरबाट जान आउन यात्रुलाई सहज हुनेछ । यस हवाई सेवाले सन् २०१९ को अगष्ट महिनामा सिंगापुर उडान भरि आफ्नो अन्तराष्ट्रिय उडानको उद्घाटन गरेपश्चात दुबई, बैंकक, र कोलोम्बोमा सेवा विस्तार गरेको थियो । भिस्तारा तीव्रगतिमा भारत तथा विदेशमा वृद्धि भई रहेको र सन् २०२३ सम्ममा न्यारो बडी र वाइड बडी गरि ४० वटा हवाईजहाज थप गर्दैछ । नयाँ हवाईजहाजले भिस्तारालाई भारत भित्र वृद्धि हुनुको साथै मध्यम तथा लामो दुरीको अन्तरराष्टिय गन्तव्यमा उडान भर्न मद्दत गर्दछ । भिस्तारा स्काइ टयाक्स र टिप एडभाइजरमा भारतको सबैभन्दा धेरै खोजिएको हवाईसेवा रहेको र विभिन्न बेष्ट एयरलाइन्स पुरस्कार बिजेता रहेको छ ।भिस्ताराले भारतीय हवाई उद्योगमा संचालन तथा सेवा प्रदानमा यात्रीहरुलाई उत्तम हवाईयात्राको मापदण्ड तर्जुमा गरेको छ जसलाई आज भारतको एक मात्र पाँच तारे होटल भनेर चिनिएको छ ।
हिमालयन बैंकको २२ प्रतिशत लाभांश पारित, सञ्चालकमा ५ जना निर्विरोध निर्वाचित
काठमाडौं । हिमालयन बैंकको प्रस्तावित २२ प्रतिशत लाभांश पारित भएको छ । माघ २९ गते सम्पन्न बैंकको २७औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेसँगै सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस र कर सहित १२ प्रतिशत नगद लाभांश पाउने छन् । त्यस्तै, ८ अर्ब ५२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको १० प्रतिशत बोेनस सेयर पछि ९ अर्ब ३७ करोड रुपैयाँ नाघेको छ । बैंकले आ.व. २०७५/७६ अन्त्यसम्म १ खर्ब १३ अर्ब ९ करोड रुपैयाँ निक्षेप संकलन र ९८ अर्ब २० करोड ६३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा क्रमशः १३.३८ र १३.०८ प्रतिशतले बढी हो । बुधबार सम्पन्न सभाले संस्थापक सेयरधनीको तर्फबाट ५ जनालाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको छ । सभाले आगामी कार्यकालको लागि आशिष शर्मा, प्रचण्डबहादुर श्रेष्ठ, सुनिलबहादुर थापा, फैजल एन ललानी र तुलसी प्रसाद गौतमलाई संस्थापक सञ्चालकमा चयन गरेको हो । सञ्चालक पदमा निर्वाचनको लागि यी ५ जनाको मात्रै उमेदवारी परेकाले सभाले निर्विरोध निर्वाचित गरेको हो । नवनिर्वाचित सञ्चालक मध्ये शर्मा पूर्वराजदुत दीपकुमार उपाध्यायका छोरा हुन् । शर्मा यसअघि नविल बैंकको संचालक समिति सदस्य भइसकेका छन् भने युनाइटेड इन्स्योरेन्स कम्पनीको संचालक समिति अध्यक्ष पनि भइसकेका हुन् । श्रेष्ठ यसअघि पनि बैंक संचालक समिति सदस्य थिए । थापा पूर्वप्रधानमन्त्री सूर्यबहादर थापाका छोरा तथा पूर्वमन्त्री हुन् । हिमालयन शमशेर जवराका ज्वाइँ थापा पृथ्बीबहादुर पाँडेसमूहको प्रतिनिधित्व गर्दै आएका हुन् । त्यस्तै, ललानी पाकिस्तानको हबिव बैंकको प्रतिनिधित्व गर्दै संचालक समितिमा आएका हुन् । गौतम कर्मचारी संचय कोषको तर्फबाट संचालक बनेका हुन् । शर्मा पूर्वराजदुत दीपकुमार उपाध्यायका छोरा हुन् । नवनिर्वाचित संचालकहरुलाई बधाई दिंदै बैंकका अध्यक्ष मनोजबहादुर श्रेष्ठले चालु आर्थिक वर्षमा कम्तीमा १२ स्थानमा नयाँ शाखाहरुको स्थापना गर्ने जानकारी दिएका छन् । साथै अध्यक्ष श्रेष्ठले बैंकको सेवा तथा सुविधाहरुलाई समयानुरुप आकर्षक एवं गुणस्तरीय बनाउने तर्फ बैंक निरन्तर प्रयासरत रहने पनि बताए । साथै, सभाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि लेखापरिक्षकमा वर्तमान लेखापरिक्षक बि आर एस न्यौपाने एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्ट्सलाई पुनः नियुक्त गरेको छ । निजको लागि २० लाख रुपैयाँ पारिश्रमिक तोकिएको सभाले जानकारी गराएको छ ।
चार जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः अबको नेतृत्वले व्यवसायीका समस्या सुनिदिए पुग्छ
काठमाडौं । आगामी चैतमा नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा हुदैछ । सो सभाले नयाँ नेतृत्व पनि चयन गर्दैछ । विधानअनुसार महासंघको बरिष्ठ उपाध्यक्ष आगामी कार्यकालको लागि स्वतः अध्यक्ष हुनेछन् । त्यसैकारण अहिलेका बरिष्ठ उपाध्याक्ष शेखर गोल्छा महासंघको आगामी कार्यकालको अध्यक्ष हुदैछन् । तर, चैतमा हुने अधिवेशनले गोल्छापछिको नेतृत्व पनि चयन गर्दैछ । चैतमा हुने महाधिवेशनले जसलाई बरिष्ठ उपाध्यक्ष बनाउनेछ, सो व्यक्ति नै गोल्छापछिको महासंघको अध्यक्ष बन्नेछ । निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था भएको कारण पनि महासंघको नेतृत्वका बारेमा चासो र सरोकार हुनु स्वभाविकै हो । सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर कार्यान्वयन गर्ने अधिकांश काममा महासंघको संलग्नता हुने भएकोले पनि यसको महत्व धेरै छ । महासंघले सबैभन्दा धेरै चिन्ता र सरोकार राख्ने भनेको उसका आफ्नै सदस्यहरुको हित प्रबद्र्धन नै हो । कुनै पनि संघ संस्थाले आफ्ना सदस्यहरुको हित संरक्षण र प्रबद्र्धन गर्नको लागि नै काम गर्नुपर्छ । यसैकारण महासंघका सदस्यहरुले अबको नेतृत्वबाट के कस्तो अपेक्षा राखेका छन् ? यो प्रश्न ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष तारानाथ घिमिरे, खैरेनी उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चन्द्र प्र्रसाद सापकोटा, काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धर र दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठलाई सोधेका छौं । उनीहरुले नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्वले सरकारसँग सहकार्य र व्यवसायीका समस्या सुनिदिने होस् भन्ने धारणा राखेका छन् । हामीले अपेक्षा गरे अुसारको काम गर्ने नेतृत्व भए पुग्छ तारानाथ घिमिरे, अध्यक्ष ताप्लेजुङ उद्योग वाणिज्य संघ हामीले अपेक्षा गर्ने मात्र हो । अपेक्षा अनुसारको काम कहिल्यै हुँदैन । अबको नेतृत्व सबै व्यवसायीका भावना बुझ्ने खालको होस् भन्ने चाहना छ । आगामी नेतृत्वले साना तथा मझौला व्यवसायीहरुका समस्याहरु बुझ्ने र आफ्नो भूमिका निर्वाह गर्न सक्नु पर्छ । समस्यालाई गहन रुपमा लिन सक्नु पर्दछ । सबै व्यवसायीले मान्ने र अपनत्व महसुस गर्ने खालको नेतृत्व हामीलाई चाहिन्छ । हाम्रा धेरै समस्या छन् । व्यवसायीहरुको भ्याटमा एकरुपता छैन । यसले गर्दा हामी व्यवसायीहरुले अनावश्यक रुपमा भ्याट पनि तिर्नु परेको अवस्था छ । हामी साना व्यवसायीका मर्म बुझ्ने खालको नेतृत्व आजको आवश्यकता हो । मूख्य नेतृत्व नभएकै कारण हाम्रा गुनासा सुनुवाई हुँदैन । हामी साना व्यवसायीले भनेको कसैले सुन्दैनन् । ठूला व्यवसायीहरु यो प्रति ध्यान दिँदैनन् । अबको नेतृत्वले व्यवसायीले तिर्नु परेको व्याजदर घटाउन सकोस् चन्द्र प्रसाद सापकोटा, अध्यक्ष, खैरेनी उद्योग वाणिज्य संघ, चितवन नेपाल उद्योग वाणिज्य महासंघमा अब आउने नेतृत्वले सबै उद्योगी व्यवसायीहरुलाई सम्बोधन गर्न सकोस् । देशमा रोजगार सिर्जना गर्ने मूख्य भूमिका उद्यागी व्यवसायीको हुन्छ । यसका लागि नीति नियमहरु सजिलो बनाउनका लागि अबको नेतृत्वले भूमिका खेल्न सक्नु पर्छ । एउटा कुखुरा पाल्ने व्यवसायीले तीन प्रतिशतमा ऋण पाउन सक्छ तर सयांैं मानिसलाई रोजगारी प्रदान गर्ने उद्योगीले १२/१३ प्रतिशत व्याजमा ऋण लिनु परेको अवस्था छ । यो किसिमको विभेद हुनु हुँदैन । अहिले सम्मका नेतृत्वले त्यस्तो किसिमको उल्लेख्य काम गरेको अवस्था छैन । सरकार र व्यवसायीबीचमा ब्रिजीङ गर्ने नेतृत्व चाहिन्छ प्रकाश मानन्धर, अध्यक्ष, काभ्रे उद्योग वाणिज्य संघ हामीलाई सवल नेतत्वको आवश्यकता छ । देशको सम्वृद्धिका लागि र व्यवसायीको हकहितका लागि काम गर्ने नेतृत्व हामीलाई चाहिन्छ । अहिले व्यवसायी निराश छन् । यो अवस्थालाई सहजै समधान गरी सफल नेतृत्वदायी भूमिका खेल्ने व्यक्ति नेपाल उद्योग वाणिज्य महासंमा चाहिएको छ । हुनतः प्रयासहरु भइरहेका छन् । नीति नियमले गर्दा व्यवसायी निराश छन् । लगानीमैत्री वातावरण सिर्जना गरिदिनु पर्छ । अहिले व्यस्त छु भन्ने नेतृत्व हामीलाई चाहिएको छैन इन्द्रबहादुर श्रेष्ठ, अध्यक्ष, दोलखा उद्योग वाणिज्य संघ आगामी नेतृत्वले जिल्ला र नगरका व्यवसायीहरुमा भएका समस्यालाई मध्यस्तकर्ताको रुपमा जिम्मेवारको भूमिका खेलोस् । पहिलेको जस्तै प्रवृति अबको नेतृत्वले नदोहोरयाओस् । अबको नेृत्वले कहिले फोन नउठाउने कहिले व्यस्त छु भन्ने खालको बाहना नगरोस् । हाम्रा समस्या सुनिदिने नेतृत्व चाहिन्छ । अहिले सम्मका नेतृत्वले खासै केही गर्न सकेका छैनन् । हाम्रा धेरै समस्या छन् । पहिले शाखा बचाउनका लागि महासंघबाट धेरै कार्यक्रहरु आउँथे । अहिले ती कार्यक्रमहरु आउन छाडेका छन् । अबको नेतृत्वले सबै जिल्ला नगरमा पनि व्यवसायीहरुलाई लाभ हुने खालका सिर्जनात्मक कार्यक्रहरु राखोस् । स्थानिय तह आइसकेपछि त्यहाँ हाम्रो उपस्थिति राम्रो हुुनु पर्छ ।
पूर्णरुपमा विज्ञान र प्रविधिमा आधारित विश्वविद्यालय खुल्दै
काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले पूर्णरुपमा विज्ञान र प्रविधिमा आधारित शिक्षा दिने बताएका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्न बनेको विधेयक माथिको छलफलमा उनले सो विश्वविद्यालय मकवानपुरको चित्लाङमा निर्माण हुने स्पष्ट गरे । मन्त्री पोखरेलले नेपालका अरू विश्वविद्यालयभन्दा उक्त विश्वविद्यालय फरक हुने र संसारका उत्कृष्ट विश्वविद्यालयसँग प्रतिस्पर्धा गर्ने गरी स्थापना गरिने पनि बताए । छलफलमा सांसदहरुले सो विश्वविद्यालय खोलिनु सामयिक भएको उल्लेख गर्दै यसको नाम मदन–आश्रित विश्वविद्यालय हुनुपर्नेमा जोड दिएका थिए । नेपाली काँग्रेसका सांसद गगन थापाले विश्वविद्यालय कुन प्रकारको हुने र कस्तो शिक्षा दिने भन्ने विषयमा प्रष्ट गराउन मन्त्री पोखरेललाई आग्रह गरेका थिए । बैठकमा सांसद एवं पूर्वमन्त्री खगराज अधिकारीले प्राविधिक शिक्षा दिने उद्देश्यले स्थापना गर्न लागेको विश्वविद्यालयमा अरू विषय समावेश गर्न नहुने धारण व्यक्त गरे । नेकपाका सांसद विद्या भट्टराईले नयाँ पुस्ताका लागि युग सुहाउँदो शिक्षा पाउने आशामा रहेका युवाहरु सो विश्वविद्यालयको प्रतीक्षामा रहेकाले चाँडोभन्दा चाँडो विधेयक अघि बढाउन आग्रह गरे । समितिका सभापति जयपुरी घर्तीले विधेयकमाथि दफावार छलफल गरी विज्ञ र संशोधनकर्ताको सुझावका आधारमा संशोधनसहित पारित गरिने जानकारी दिए । रासस
लोकसेवा आयोगले माग्यो साढे तीन सय कर्मचारी
काठमाडौं । विभिन्न प्राविधिक पदका लागि लोक सेवा आयोगले ३ सय ५८ जना कर्मचारीको माग गरेको छ । राजपत्र अंकित प्रथम श्रेणाको खुला र समावेशी पदमा आयोगले विज्ञापन खुलाएको हो । प्रतियोगात्मक परीक्षाद्धारा पदपूर्तिका लागि विज्ञापनमा योग्यता पुगेका उम्मेवारले लोकसेवा आयोगमा आवेदन दिन पाउने छन् । उम्मेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणाली psconline.psc.gov.np मार्फत आवेदन दिने व्यवस्था गरेको छ । सबै तहलाई मध्यनजर गर्दै सातै वटा कार्यालबाट खुला गरिएको छ । धनकुटा कार्यालयबाट २९ वटा कोटा खुलाएसँगै ६१ जनाको माग छ । त्यस्तै जलेश्वर कार्यालयबाट १६ पदमा ३७ जना, काठमाडौं कार्यालयबाट ५३ पदका लागि ९० जनाको लोक सेवा आयोगले माग गरेको छ । लोक सेवा आयोग, पोखरा कार्यालयले २१ पदमा ४१ जनाको माग छ भने बुटवल कार्यालयले २८ पदमा ५७ जनाको संख्या खुलेको छ । सुर्खेत कार्यालयले विभिन्न तह तथा पदमा ३० पदमा ४२ जना कर्मचारी मागेको छ । त्यस्तै सुदुरपश्चिमको दिपायल कार्यालयले १९ पद ३० जना खुल्ला गरेको लोक सेवा आयोगले सूचना प्रकाशित गरेको छ ।
भूमि बैंक स्थापना गर्न भूउपयोग नियमावलीको मस्यौदा तयार
काठमाडाैं । सरकारले देशभरका जमिनलाई उपयोग गरी राष्ट्रिय उत्पादन वृद्धि गर्ने उद्देश्यले भूमि बैंक र भूमि बजार स्थापनालगायत विषय समावेश गरी भूउपयोग नियमावलीको मस्यौदा तयार गरेको छ । पछिल्लो समय वैदेशिक रोजगारका लागि युवा शक्ति विदेशिने, जग्गाको खण्डीकरण बढेपछि अधिकांश उर्वर जमिन बाँझो तथा एकीकृतरुपमा खेती हुन नसकेको, वर्षेनी आयात वृद्धिलगायत कार्य भइरहेकाले उत्पादनमा आएको कमीलाई सुधार्न उक्त नियमावली ल्याउन लागिएको हो । मुलुकको समृद्धिका लागि कृषि क्षेत्रको महत्वपूर्ण भूमिका रहेको भए पनि भूमिलाई समुचित प्रयोग गर्ने विषय विभिन्न कारणले अभ्यासमा आउन सकेको छैन् । सरकारले सामाजिक रुपान्तरणसहितको समाजवादको नीति लिएकाले यसलाई कार्यान्वयन गर्न भूमि बैंकको अवधारणा महत्वपूर्ण हुने विश्वास लिइएको छ । देशमा धेरैजसो खेतीपाती नगर्ने समूह तथा जमिनदारको नियन्त्रणमा खेती गर्ने कृषियोग्य जमिन रहेकाले पनि वास्तविक किसानको पहुँचमा उत्पादन वृद्धि गर्ने जग्गा जमिन छैन । ठूलो क्षेत्रफलमा जग्गा तथा जमिन भाडामा लिएर खेती गर्न भूमि बजार र भूमि बैंकको अवधारणा ल्याइएको हो । खेती नगर्ने समूहले आफ्नो जमिन उक्त बैंकमा मौज्दात् गर्न सक्ने छन् । नियमावलीमा जमिनको निश्चित क्षेत्रफललाई बैंकमा निश्चित समयावधिका लागि करार गरी लालपुर्जालाई निक्षेप गर्न सकिने व्यवस्था गरिएको मन्त्रालयका प्रवक्ता जनकराज जोशीले जानकारी दिए । यसरी जमिन निक्षेप गरेबापत सम्बन्धित व्यक्तिले निश्चित रकम ब्याजका रुपमा प्राप्त गर्न सक्ने छन् । प्रवक्ता जोशीका अनुसार कृषिको व्यावसायिकीकरण र यान्त्रिकीकरणको प्रयोग गरेर ठूला उत्पादनमा जान यस किसिमको अवधारणा आवश्यक हुन्छ । जनशक्तिलाई यान्त्रिकीकरणमार्फत निर्वाहमुखी कृषि प्रणालीलाई अब सम्पन्न बनाउन कृषिको विकास र यान्त्रिकीकरणको प्रयोगमार्फत अगाडि बढाउन सकिने छ । यस अवधारणाले बाँझो जमिनको प्रयोग बढाउने निश्चित छ । त्यस्तो जमिनलाई व्यावसायिक प्रयोग गर्न चाहने व्यक्ति वा समूहले भाडामा लिएर कृषि तथा पशुपालन गर्न सक्ने छन् । यस कार्यले समूहमा कृषि व्यवसायमा लगानी भई ठूलो परिमाणमा वस्तु उत्पादन गर्न सकिने हुँदा लागत कम भई उत्पादकत्वमा वृद्धि हुन्छ । यस्तो व्यवस्थामा ठूलो मात्रामा रोजगारी सिर्जना भई कृषकको आयमा वृद्धि हुनगई खर्च गर्न सक्ने क्षमता बढ्छ । जसले स्वदेशी उत्पादनलाई स्वदेशमा खपत गर्ने, राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने र राष्ट्रिय आय पनि बढाउने सम्भावना हुन्छ । भूमिहीन, सुकुम्वासी अव्यवस्थित बसोबासीका समस्या सधैँका लागि समाधान गर्ने गरी तर्जुमा गरिएको भूमिसम्बन्धी ऐन (आठौँ संशोधन) राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागि तयार भएको मन्त्रालयले जनाएको छ । भूमिहीनलाई भूमिमा पहुँच स्थापना गरी सामाजिक न्याय कायम गर्ने गरी निर्माण गरिएको उक्त ऐन प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनबाट पारित भइसकेको छ । भूमिहीन दलितलाई जग्गा उपलब्ध गराउन निर्देशिकाको मस्यौदा तयार गरेको मन्त्रालयले सामाजिक न्यायसहितको आर्थिक विकास स्थापित गर्ने एकीकृत भूमि ऐनको तर्जुमा कार्य प्रारम्भ गरेको छ । सोअन्तर्गत भूमिहीन दलितलाई जग्गा उपलब्ध गराउनेसम्बन्धी नियमावली संशोधन गरिएको छ । रासस
नवनियुक्त प्रहरी महानिरीक्षकद्वारा पदभार ग्रहण
काठमाडाैं । नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले बुधबार प्रहरी प्रधान कार्यालयमा आफ्नो पदभार ग्रहण गरेका छन् । गृह मन्त्रालयमा आयोजित एक समारोहबीच गृहसचिव महेश्वर न्यौपानेबाट दर्ज्यानी चिह्न प्राप्त गरेलगत्तै उनले कार्यकक्षमा पुगेर आज पदभार ग्रहण गरेका हुन्। उनलाई प्रहरी प्रधान कार्यालयमा प्रहरी अतिरिक्त महानिरीक्षक आशा सिंहसहित, प्रहरी नायब महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृत तथा जवानले स्वागत गरेका थिए । सोही क्रममा उनले प्रहरी प्रधान कार्यालय परिसरस्थित मन्दिरमा पूजाअर्चना गर्नाका साथै अमर प्रहरी स्मारकमा पुष्पहार र अमर प्रहरीप्रति श्रद्धाञ्जलि अर्पण गरे । मन्त्रिपरिषद्को मङ्गलबारको निर्णयले उनलाई आजदेखि लागू हुनेगरी प्रहरी नायब महानिरीक्षकबाट प्रहरी महानिरीक्षकमा बढुवा गरेको थियो । उनको कार्यकाल जम्मा पाँच महिनाको छ । विसं २०४७ असार २५ गते प्रहरी निरीक्षक पदबाट प्रहरी सेवा प्रवेश गरेका प्रहरी महानिरीक्षक ज्ञवाली विसं २०५८ वैशाख १८ गते प्रहरी नायब उपरीक्षक, २०६६ मङ्सिर ३ गते प्रहरी उपरीक्षक, २०७३ असार २८ गते प्रहरी वरिष्ठ उपरीक्षक, २०७५ असोज २८ गते प्रहरी नायब महानिरीक्षक पदमा पदोन्नति भएका थिए । समाजशास्त्रमा स्नातकोत्तर गरेका प्रहरी महानिरीक्षक ज्ञवालीले विभिन्न ३३ राष्ट्रिय तथा अन्तराष्ट्रिय तालिम लिएका छन् । प्रहरी महानिरीक्षक ज्ञवाली दुर्गम सेवा पदक, गद्दी आरोहण रजत पदक, संयुक्त राष्ट्रसङ्घ पदक, वीरेन्द्र ऐश्वर्य सेवा पदक, प्रहरी सेवा पदक, प्रबल जनसेवाश्रीलगायत पदक प्राप्त गरेका छन् । उनले उत्कृष्ट व्यावसायिक कार्य सम्पादन गरेबापत दर्जनौँ नगद पुरस्कार तथा प्रशंसापत्रसमेत प्राप्त गरेकाे जनाइएकाे छ । रासस