के कारण घट्यो सरकारी लगानीका नेपाल बैंक र रावा बैंकको नाफा ?
काठमाडौं । सरकारले संचालक समिति र व्यवस्थापन प्रमुख नियुक्त गर्ने २ सरकारी बैंकको नाफा चालु आर्थिक वर्ष (आव) को पुस मसान्तमा केही कम देखिएको छ । गत आवको तुलनामा नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको नाफा घटेको देखिएको हो । नेपाल बैंकमा सरकारको सँगै सर्वसाधारणको पनि लगानी छ । तर, नेपाल बैंकको संचालक समिति अध्यक्ष सरकारले नियुक्त गर्छ भने प्रमुख कार्यकारी अधिकृत (सीईओ) संचालक समितिले खोज्छ । राष्ट्रिय वाणिज्य (रावा) बैंकमा भने करिब शतप्रतिशत नै सरकारको लगानी छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा यी दुबै बैंकको नाफा गत वर्षको सोही अवधिको तुलनामा केही घटेको छ । नेपाल बैंकको नाफा ३० करोड ९१ लाख रुपैयाँ कम छ भने रावा बैंकको नाफा २० करोड ५ लाख रुपैयाँ कम छ । नेपाल बैंकले निक्षेप र कर्जामा दिने व्याज अन्तर घटाएको कारण नाफा कम देखिएको छ । रावा बैंकले भने व्याज अन्तर बढाएको छ, नोक्सानी व्यवस्थाको लागि राख्नुपर्ने रकम प्रतिशतमा घटाएको छ । तर पनि नाफा कम भएको छ । रावा बैंकको संचालन खर्च बढेका कारण नाफा कम देखिएको हो । राष्ट्रिय वाणिज्य बैंक राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्ष (आव) को ६ महिनामा २ अर्ब २० करोड ९४ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले २ अर्ब ४० करोड ९९ लाख रुपैयाँ गरेको थियो । बैंकले प्रकाशित गरेको चालु आवको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणका अनुसार बैंकको नाफा गत आवको सोही अवधिको तुलनामा करिब २० करोड रुपैयाँले घटेको छ । खराब कर्जा जति छ, त्यति रकम नोक्सानी व्यवस्थाको लागि पनि नराख्दा र व्याज अन्तर (स्प्रेड) दर बढाउँदा पनि बैंकको नाफा कम घटेको छ । बैंकको संचालन खर्च बढेका कारण नाफा घटेको हो । गत वर्ष बैंकले ५ अर्ब ५६ करोड ९८ लाख रुपैयाँ खुद संचालन आम्दानी गरेको बैंकले चालु आवमा ५ अर्ब ५५ करोड ९३ लाख रुपैयाँ खुद संचालन आम्दानी गरेको छ । पुस मसान्तसम्ममा बैंकले सर्वसाधारणमा १ खर्ब ४७ अर्ब ८९ करोड ७९ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको छ । गत वर्षको सोही अवधिसम्ममा बैंकले १ खर्ब ४२ अर्ब २ करोड २८ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको थियो । चालु आवको पुस मसान्तसम्ममा बैंकमा सर्वसाधारणको १ खर्ब ९४ अर्ब ९० करोड १९ लाख रुपैयाँ निक्षेप छ । गत आवको साृेही अवधिमा बैंकका सर्वसाधारणको १ खर्ब ८९ अर्ब २५ करोड ५३ लाख रुपैयाँ निक्षेप थियो । बैंकले सर्वसाधारणको निक्षेप करिब ६ अर्ब रुपैयाँ बढाउँदा कर्जा तथा लगानी करिब करिब ५ अर्ब रुपैयाँ बढाएको छ । बैंकको खुद व्याज आम्दानी बढेको छ । गत वर्षको पुस मसान्तसम्ममा बैंकले ४ अर्ब ९५ करोड ३६ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो भने चालु आवको सोही अवधिमा ५ अर्ब ६ करोड ६ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । बैंकले गत आवको ६ महिनामा ७ अर्ब २३ करोड ४३ लाख रुपैयाँ व्याज आम्दानी गरी २ अर्ब २८ करोड ६ लाख रुपैयाँ व्याज खर्च गरेको थियो । चालु आवको सोही अवधिसम्ममा बैंकले ८ अर्ब ७२ करोड ६४ लाख रुपैयाँ व्याज आम्दानी गरी ३ अर्ब ६६ करोड ५८ लाख रुपैयाँ व्याज खर्च गरेको छ । बैंकको खराब कर्जा अनुपात बढेको छ । गत आवको पुस मसान्तसम्ममा ३.४० प्रतिशत रहेको खराब कर्जा अनुपात चालु आवको सोही अवधिसम्ममा ४.७७ प्रतिशत पुगेको छ । बैंकले खराब कर्जाको लागि सम्भावित नोक्सानी व्यवस्थामा ९५.४५ प्रतिशत मात्रै रकम राखेको छ । गत वर्षको सोही अवधिमा सम्भावित नोक्सानी व्यवस्थाको लागि ९९.७९ प्रतिशत रकम राखेको थियो । बैंकले दिएको कर्जाको सावा व्याज किस्ता नियमित उठेन भने सम्भावित नोक्सानी व्यवस्थाको लागि राखिएको रकमबाट बैंकको पुँजी कोष प्रभावित हुनबाट जोगाउने गरिन्छ । रकम थोरै राख्दा कुनै कर्जा खराब भयो भने बैंकको पुँजी कोष घट्न सक्छ । बैंकको कष्ट अफ फण्ड ४.७७ प्रतिशत छ । गत वर्ष कष्ट अफ फण्ड ३.४० प्रतिशत थियो । बैंकको कर्जा निक्षेप अनुपात ७२.६६ प्रतिशत छ । गत वर्षको पुस मसान्तसम्ममा यस्तो अनुपात ६९.२४ प्रतिशत थियो । कर्जा निक्षेप अनुपात ८० प्रतिशतसम्म पुर्याउन पाइन्छ । यस्तो अनुपात कम हुँदा बैंकको बैंकले विवेशील ढंगले स्रोतको परिचालन गर्न नसकेको अर्थ लाग्छ । बैंकको आधार दर ६.६ प्रतिशत छ । गत वर्षको पुस मसान्तमा यस्तो अनुपात ५.६ प्रतिशत थियो । आधार दर बढ्दा कर्जाको व्याजदर बढ्न सक्छ । यस्तै गत वर्ष ४.७८ प्रतिशत रहेको व्याज अन्तर (स्प्रेड) दर यो वर्षको पुस मसान्तसम्म आइपुग्दा ५.५३ प्रतिशत छ । आगामी असार मसान्तसम्ममा बैंकहरुको व्याज अन्तरदर ४.४ प्रतिशतमा ल्याइसक्न नेपाल राष्ट्र बैंकले निर्देशन दिइसकेको छ । बैंकमा सरकारको करिब शतप्रतिशत लगानी रहेकोले बैंकमा परिसुचक जे जस्ता भएपनि प्रत्येक्ष रुपमा सर्वसाधारण लगानीकर्तालाई भने प्रभाव पार्ने छैन । नेपाल बैंक चालु आर्थिक वर्षको ६ महिनामा नेपाल बैंकले १ अर्ब ३५ करोड २३ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको ६ महिनामा बैंकले १ अर्ब ६६ करोड १४ लाख रुपैयाँ नाफा गरेको थियो । गत वर्षको तुलनामा यो वर्षको ६ महिनामा नेपाल बैंकको नाफा ३० करोड ९१ लाख रुपैयाँ कम देखिएको छ । बैंकले निक्षेपकर्तालाई दिने व्याज बढाएको कारण नाफा घटेको देखिएको हो । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले बैंकको बैंकको खुद व्याज आम्दानी घटेको देखाउँछ । गत वर्षको ६ महिनामा ३ अर्ब १६ करोड ७२ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ९९ करोड ६६ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । निक्षेपमा बढी व्याज दिएकै कारण बैंकको खुद व्याज आम्दानी करिब १७ करोड रुपैयाँ घटेको छ । बैंकको व्याज आम्दानी भने बढेको छ । गत वर्षको ६ महिनामा ५ अर्ब २५ लाख रुपैयाँ व्याज आम्दानी भएको थियो । यो वर्षको ६ महिनामा व्याज आम्दानी ५ अर्ब ७४ करोड १७ लाख रुपैयाँ छ । व्याज आम्दानी करिब ७४ करोड रुपैयाँ बढ्दा पनि व्याज खर्च बढेका कारण खुद व्याज आम्दानी घटेको हो । गत वर्षको ६ महिनामा १ अर्ब ८३ करोड ५३ लाख रुपैयाँ व्याज खर्च गरेको बैंकले यो वर्षको सोही अवधिमा २ अर्ब ९९ करोड ६६ लाख रुपैयाँ व्याज खर्च गरेको छ । गत वर्षको सोही अवधिको तुलनामा ६ महिनामा बैंकको व्याज खर्च नै १ अर्ब रुपैयाँभन्दा बढी छ । निक्षेपमा दिने व्याज बढेका कारण बैंकको व्याज खर्च बढेको हो । यस्तै, बैंकको व्याज अन्तर ९स्प्रेड० दर पनि घटेको छ । गत वर्षको पुस मसान्तमा ४.९९ प्रतिशत रहेको व्याज अन्तर यसवर्षको पुस मसान्तमा आइपुग्दा ४.४४ प्रतिशतमा सिमित भएको छ । गत आवको पुस मसान्तमा २ अर्ब ३१ करोड २४ लाख रुपैयाँ सञ्चालन नाफा गरेको बैंकले चालु आवको सोही अवधिमा १ अर्ब ७३ करोड ३४ लाख रुपैयाँ गरेको छ । बैंकसँग १ खर्ब १७ अर्ब १२ करोड २८ लाख रुपैयाँ निक्षेप छ भने ९८ अर्ब ४५ करोड ९६ लाख रुपैयाँ कर्जा तथा लगानी छ । गत वर्षको पुस मसान्तसम्ममा बैंकमा १ खर्ब १७ अर्ब २० करोड रुपैयाँ निक्षेप र ९२ अर्ब ४२ करोड १६ लाख रुपैयाँ कर्जा तथा लगानी थियो । एक वर्षको बीचमा बैंकको निक्षेप करिब ८ करोड रुपैयाँले घटेको छ भने कर्जा तथा लगानी करिब ६ अर्ब रुपैयाँ कर्जा तथा लगानी बढाएको छ । बैंकको खराब कर्जा अनुपात २.६६ प्रतिशत छ । गत वर्षको पुस मसान्तमा यस्तो अनुदात २.७४ प्रतिशत थियो । सम्भावित कर्जा नोक्सानीको लागि ११४.६१ प्रतिशत रकम बैंकले राखेको छ । कष्ट अफ फण्ड गत वर्षको पुस मसान्तमा ३.५८ प्रतिशत रहेकोमा यस वर्षको पुस मसान्तमा बढेर ५.१९ प्रतिशत पुगेको छ । गत वर्षको पुस मसान्तमा ७१.४७ प्रतिशत रहेको निक्षेप कर्जा अनुपात बढेर ७४.९३ प्रतिशत पुगेको छ । आधार दर ६.०६ बाट बढेर ७.८२ प्रतिशत पुगेको छ ।
पुस्तकालय पुनःनिर्माणका लागि मनकामना दर्शनकाे १० लाख सहयाेग
काठमाडौं । गोरखा नगरपालिका वडा नं. ६ स्थित तीनधारेमा पुनःनिर्माण भैरहेको त्रिभुवन पुस्तकालयका लागि मनकामना दर्शन प्रा.लि. ले १० लाख रुपैया आर्थिक सहयोग गरेको छ । नेपालको पहिलो केबलकार सञ्चालक राजुबाबु श्रेष्ठ, रोशनबाबु श्रेष्ठ र राजेसबाबु श्रेष्ठले स्वर्गीय बुवा लक्ष्मणबाबु श्रेष्ठको स्मृतिमा पुस्तकालयका लागि सहयोग गरेका हुन् । त्रिभुवन पुस्तकालय २००८ सालमा लक्ष्मणबाबु श्रेष्ठको सक्रियतामा जिल्लामा नै पहिलो पटक स्थापना भएको पुस्तकालय हो । पुस्तकालयको भवन संरक्षणविहीन रहेकै अवस्थामा गोरखा भूकम्पले थप क्षति पुगेको थियो । भूकम्पपछि स्थानीय बासिन्दा र गोरखा नगरपालिकाको पहलमा अहिले पुरानो भवन भत्काएर सोही ठाँउमा नयाँ भवन निर्माण कार्य भैरहेको छ । भवन दुई तलाको ढलान सम्पन्न भैसकेको छ । गोरखामा जन्मिएर राष्ट्रिय स्तरमा महत्वपूर्ण योगदान पु¥याउने लक्ष्मणबाबु श्रेष्ठको नाममा भवनको भुइतलाको हल नामाकरण गर्ने निर्णय भएको पुस्तकालय पुनर्निर्माण समितिले जनाएको छ ।
वाग्मती प्रदेशको भौतिक पूर्वाधारमन्त्रीमा रामेश्वर फुयाँल नियुक्त
हेटौँडा । वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्रीमा काठमाडौँका रामेश्वर फुयाँल नियुक्त भएका छन् । उनलाई मुख्यमन्त्री डोरमणि पौडेलले हिजो भौतिक पूर्वाधार विकासमन्त्रीका रुपमा नियुक्त गरेकाे र आज शपथग्रहण गराइने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । यसअघि संविधानसभा सदस्यसमेत रहेका फुयाँल लामो राजनीतिक यात्रापछि पहिलोपटक मन्त्री बन्न लागेका हुन्। तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री केशव स्थापितलाई मुख्यमन्त्री पौडेलले वर्खास्त गरेपछि रिक्त रहेको मन्त्रालयको काम मुख्यमन्त्री पौडेल आफैँले सम्हाल्दै आएका थिए । वाग्मती प्रदेशको स्थायी राजधानी र नामाकरणपछि फुयाँल मन्त्री बन्ने चर्चा निकै चलेको थियो । वाग्मती प्रदेशका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रमुख सचेतक रहेका फुयाँल गाविस अध्यक्ष, जिल्ला विकास समितिको उपसभापति, संधिानसभा सदस्य, प्रदेशसभा सदस्य हुँदै मन्त्री बन्न लागेका हुन् ।रासस
२ वर्षपछि नेपालीले नेपालको खानीबाट उत्खनन् गरेको पेट्रोलियम पदार्थ प्रयोग गर्न पाउने
काठमाडौं । पेट्रोलियम पदार्थ अन्वेषणको काम तीव्रगतिमा अगाडि बढिरहेको छ । यही गतिमा काम हुदै जाने हो भने अबको २ वर्षपछि सवारीसाधन प्रयोगकर्ता नेपालीले नेपालकै खानीबाट उत्खन्न भएको पेट्रोलियम पदार्थको प्रयोग गर्न पाउने छन् । कात्तिक महिनाबाट दैलेखको पश्चिम भूभागमा गरिएको सेस्मिक सर्भेका लागि दुल्लु नगरपालिकामा क्याप निर्माण गरेर विज्ञहरुको समूह बसेर काम सुरु गरेको थियो । काम सुरुभएको करिब ३ महिनामा सर्भेको ८० प्रतिशत काम सम्पन्न भएको छ । अब २ महिनामा सर्भेको काम सकिने छ । सर्भेको काम सकिएपछि खानी विभागले ड्रिलिङको काम सुरु गर्नेछ । ड्रिलिङको काम १ वर्षपछि नेपालमा भएको पेट्रोलको उत्खन्नका लागि कम्पनीलाई सरकारले जिम्मा दिनेछ । उत्खननका लागि कम्पनीले जिम्मा लिएपछि नेपाली बजारमा नेपालमा नै उत्खन्न भएको पेट्रोल प्रयोग गर्न पाउने छन् । खानी विभागकाे पेट्रोलियम पदार्थ अन्वेषण परियोजना प्रमुख सुधीर रजाैरेले अहिले कति परिमाणमा पेट्रोलियम पदार्थ छ र कुन स्थानमा बढी भण्डारणको सम्भावना छ भनेर जमिनभित्रको अवस्था पत्ता लगाउने काम भइरहेको जानकारी दिए । ‘सर्भेको काम ८० प्रतिशत सम्पन्न भइसकेको छ, सर्भेपछि डिलीङको काम हुन्छ, २ वर्षपछि नेपालमा नै भएको पेट्रोलियम पदार्थको उत्खनन् हुनेछ’, रजाैरेले भने । चाइना जियोलोजीकल सर्भेका विज्ञहरुले पेट्रोलियम पदार्थ रहेको र त्यसको उत्खनन तथा उपयोग गर्न सकिने प्रारम्भिक रिपोर्ट नेपाललाई बुझाएको थियो । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा नेपालमा रहेका पेट्रोलियम खानीहरुको उत्खननका लागि चीनले सघाउने सम्झौता भएको थियो । सोही सम्झौताका आधारमा चीनियाँ टोलीले सर्भे गरिरहेकाे छ । यहाँको पूर्वपश्चिम र उत्तरदक्षिणका विभिन्न भू–भागमा करिब २ सय किलोमिटर क्षेत्र समेटेर १० स्थानमा शुरु गरिएको सर्भेका सात स्थानको काम सम्पन्न भइसकेको छ । करिब ४५ फिट मुनिसम्म खनिएको होलमा विस्फोटक पदार्थ राखेर कृत्रिम भूकम्पीय तरङ्ग उत्पन्न गरिएको र सोबाट प्राप्त भएको सबै सूचना सङ्कलन गर्ने कार्य सेस्मिक मिटरमा भइसकेको खानी तथा भूगर्भ विभागले जानकारी दिएको छ । भण्डारणको क्षेत्रमा पुनः करिब ५ किलोमिटर जमिनमुनिको भू–भागमा मुख्य ड्रिलिङ गरिने र त्यसपछि कति परिमाणमा पेट्रोलियम पदार्थ छ भन्ने कुरा पत्ता लाग्ने छ । एउटा लाइनमा ४ सय वर्गकिमी भूभाग समेटेर सर्भेको काम भइरहेको छ । दैलेखको पश्चिम भूभागमा गरिएको सेस्मिक सर्भेका लागि दुल्लु नगरपालिकामा क्याप निर्माण गरेर विज्ञहरुको समूह बसेका छन् । अन्वेषणको प्रक्रिया शुरु हुँदै गर्दा चिनियाँ प्राविधिक टोलीले सङ्कलन गरेका स्रोत र चट्टानको नमूना परीक्षणबाट उत्साहजनक नतिजा प्राप्त भएकाले दैलेखको भूभागमा ग्याँस र पेट्रोलियम पदार्थ दुवै हुनसक्ने सम्भावना बढ्दै गएको छ । विदेशका अन्य भूभागमा गरिएका सर्भेलाई आधार मान्ने हो भने छिद्र देखिएका स्थान र ग्याँस निस्किएका स्थानकै आसपासमा भण्डारण भेटिएकाले दैलेखको भूभागमा पनि भण्डारणको सम्भावना भएको रजैरेले बताए ।
अप्रिलियाले १२५ सीसीको म्याक्सी स्कुटरको उत्पादन सुरु गर्ने
काठमाडौं । इटालियन ब्राण्ड अप्रिलियाले १२५ सीसीको म्याक्सी स्कुटरको उत्पादन सुरु गर्ने भएको छ । भारतमा चलिरहेको अटो एक्स्पो २०२० मा कम्पनीले एसएक्सआर १६० नामक म्याक्सी स्कुटरलाई प्रदर्शनमा राखेको थियो । यो भने अप्रिलियाको १६० सीसी स्कुटर हो । १२५ सीसीको म्याक्सी स्कुटर एसएक्सआर १६० मै आधारित हुनेछ र एसआरएक्स सिरिज भित्रनै पर्नेछ । सो स्कुटरको नाम एसआरएक्स १२५ हुने कुरा भारतीय मिडियाहरुले जनाएका छन् । एसआरएक्स १६० लाई २०२० को मध्यतिर लञ्च गरेपश्चात् मात्र यो स्कुटरलाई बजारमा भित्र्याइने छ । लञ्च पश्चात् सो स्कुटरको मूल्य अप्रिलियाकै अर्को १२५ सीसी मोडेल एसआर १२५ भन्दा १० हजार रुपैयाँ देखि १५ हजार रुपैयाँको हाराहारीले महँगो पर्नेछ । एसआरएक्स १२५ मा प्रदर्शनमा राखिएको मोडेल एसआरएक्स १६० कै ब्रेक र सस्पेन्सन लगायतका पार्टस्हरु सामेल हुनेछन् । यसको मतलव यो हो कि दुवै १२५ सीसी र १६० सीसीका म्याक्सी स्कुटरहरुले समान डिजाइन पाउनेछन् । एसआरएक्स १२५ मा एलईडी लाइटिङ्ग सिस्टम, ठुलो इन्स्ट्रुमेन्ट कन्सोल, स्मार्टफोन कनेक्टिभिटी लगायतका विशेषताहरु समावेश हुनेछन् । यस स्कुटरमा एसआर १२५ कै १२५ सीसी फ्युल–इन्जेक्टेड इञ्जिन समावेश गरिने अनुमान गरिएको छ । यो इञ्जिनले १० पीएसको पावर र ९.७ एनएमको टर्क उत्पादन गर्दछ । त्यसैगरी यसमा एसआर १२५ जस्तै टेलिस्कपिक फ्रन्ट फर्क र सिङ्गल रियर शक एब्जर्बर जडान गरिने अनुमान पनि गरिएको छ । तर यसमा एसआर १२५ मा जस्तो १४–इञ्च व्हिल्स नभएर १२–इञ्च व्हिल्स हुने सम्भावना रहेको छ । अप्रिलियाले सो स्कुटरलाई डिस्क र ड्रम दुइओटै भेरियन्टहरुमा उपलब्ध गराउने छ । लञ्च पश्चात् एसआर १२५ ले सुजुकीको बर्गम्यान स्ट्रिटसँग ठाडो प्रतिष्पर्धा गर्नेछ ।
राष्ट्रिय वाणिज्य बैंकको नाफा २ अर्ब २० करोड, स्प्रेडदर बढ्दा पनि नाफा घट्यो
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्ष (आव) को ६ महिनामा २ अर्ब २० करोड ९४ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले २ अर्ब ४० करोड ९९ लाख रुपैयाँ गरेको थियो । बैंकले प्रकाशित गरेको चालु आवको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणका अनुसार बैंकको नाफा गत आवको सोही अवधिको तुलनामा करिब २० करोड रुपैयाँले घटेको छ । खराब कर्जा जति छ, त्यति रकम नोक्सानी व्यवस्थाको लागि पनि नराख्दा र व्याज अन्तर (स्प्रेड) दर बढाउँदा पनि बैंकको नाफा कम घटेको छ । पुस मसान्तसम्ममा बैंकले सर्वसाधारणमा १ खर्ब ४७ अर्ब ८९ करोड ७९ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको छ । गत वर्षको सोही अवधिसम्ममा बैंकले १ खर्ब ४२ अर्ब २ करोड २८ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको थियो । चालु आवको पुस मसान्तसम्ममा बैंकमा सर्वसाधारणको १ खर्ब ९४ अर्ब ९० करोड १९ लाख रुपैयाँ निक्षेप छ । गत आवको साृेही अवधिमा बैंकका सर्वसाधारणको १ खर्ब ८९ अर्ब २५ करोड ५३ लाख रुपैयाँ निक्षेप थियो । बैंकले सर्वसाधारणको निक्षेप करिब ६ अर्ब रुपैयाँ बढाउँदा कर्जा तथा लगानी करिब करिब ५ अर्ब रुपैयाँ बढाएको छ । बैंकको खुद व्याज आम्दानी बढेको छ । गत वर्षको पुस मसान्तसम्ममा बैंकले ४ अर्ब ९५ करोड ३६ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो भने चालु आवको सोही अवधिमा ५ अर्ब ६ करोड ६ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । बैंकले गत आवको ६ महिनामा ७ अर्ब २३ करोड ४३ लाख रुपैयाँ व्याज आम्दानी गरी २ अर्ब २८ करोड ६ लाख रुपैयाँ व्याज खर्च गरेको थियो । चालु आवको सोही अवधिसम्ममा बैंकले ८ अर्ब ७२ करोड ६४ लाख रुपैयाँ व्याज आम्दानी गरी ३ अर्ब ६६ करोड ५८ लाख रुपैयाँ व्याज खर्च गरेको छ । बैंकको खराब कर्जा अनुपात बढेको छ । गत आवको पुस मसान्तसम्ममा ३.४० प्रतिशत रहेको खराब कर्जा अनुपात चालु आवको सोही अवधिसम्ममा ४.७७ प्रतिशत पुगेको छ । बैंकले खराब कर्जाको लागि सम्भावित नोक्सानी व्यवस्थामा ९५.४५ प्रतिशत मात्रै रकम राखेको छ । गत वर्षको सोही अवधिमा सम्भावित नोक्सानी व्यवस्थाको लागि ९९.७९ प्रतिशत रकम राखेको थियो । बैंकले दिएको कर्जाको सावा व्याज किस्ता नियमित उठेन भने सम्भावित नोक्सानी व्यवस्थाको लागि राखिएको रकमबाट बैंकको पुँजी कोष प्रभावित हुनबाट जोगाउने गरिन्छ । रकम थोरै राख्दा कुनै कर्जा खराब भयो भने बैंकको पुँजी कोष घट्न सक्छ । बैंकको कष्ट अफ फण्ड ४.७७ प्रतिशत छ । गत वर्ष कष्ट अफ फण्ड ३.४० प्रतिशत थियो । बैंकको कर्जा निक्षेप अनुपात ७२.६६ प्रतिशत छ । गत वर्षको पुस मसान्तसम्ममा यस्तो अनुपात ६९.२४ प्रतिशत थियो । कर्जा निक्षेप अनुपात ८० प्रतिशतसम्म पुर्याउन पाइन्छ । यस्तो अनुपात कम हुँदा बैंकको बैंकले विवेशील ढंगले स्रोतको परिचालन गर्न नसकेको अर्थ लाग्छ । बैंकको आधार दर ६.६ प्रतिशत छ । गत वर्षको पुस मसान्तमा यस्तो अनुपात ५.६ प्रतिशत थियो । आधार दर बढ्दा कर्जाको व्याजदर बढ्न सक्छ । यस्तै गत वर्ष ४.७८ प्रतिशत रहेको व्याज अन्तर (स्प्रेड) दर यो वर्षको पुस मसान्तसम्म आइपुग्दा ५.५३ प्रतिशत छ । आगामी असार मसान्तसम्ममा बैंकहरुको व्याज अन्तरदर ४.४ प्रतिशतमा ल्याइसक्न नेपाल राष्ट्र बैंकले निर्देशन दिइसकेको छ । बैंकमा सरकारको करिब शतप्रतिशत लगानी रहेकोले बैंकमा परिसुचक जे जस्ता भएपनि प्रत्येक्ष रुपमा सर्वसाधारण लगानीकर्तालाई भने प्रभाव पार्ने छैन ।
अन्तर्राष्ट्रिय मूर्तिकला प्रदर्शनी सोमबारदेखि , १० विदेशीसहित १५ मूर्तिकारले भाग लिँदै
बागलुङ । गलकोट नगरपालिका–५ टेउवामा आउँदो सोमबारदेखि अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशाला शुरु हुँदैछ । कार्यशालाको तयारी अन्तिम चरणमा पुगेको आयोजक गलकोट कला प्रतिष्ठानले जनाएको छ । कार्यशालास्थलमा आवश्यक पूर्वाधार तयार गरी व्यवस्थापकीय काममा लागिएको प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर रानाले बताए । कार्यशालाका लागि विदेशी कलाकार नेपाल आउने क्रम शुरु भएको र जापानका मूर्तिकार जुन इचिरो सुगिमोतो काठमाडौँ आइसकेको उनको भनाइ छ । कार्यशालामा १० विदेशीसहित १५ मूर्तिकारले भाग लिँदैछन् । ‘कार्यशालास्थलमा ११ देशका झण्डा फहराइएको छ, मूर्ति कुँद्ने ढुङ्गा तयारी अवस्थामा छन्’, अध्यक्ष रानाले भने, ‘कलाकारको आवासका लागि अस्थायी टेन्टको व्यवस्था गरिएको छ ।’ कलाकारको भोजनका लागि पोखरादेखि दुई तालीमप्राप्त ‘कुक’ बोलाइएको प्रतिष्ठानले जनाएको छ । सडक, भवन, शौचालय खानेपानी, बिजुली, सवारी राख्ने ठाउँलगायतका संरचना यसअघि नै बनिसकेका छन् । पाँच नेपाली र १० विदेशी गरी १५ कलाकारले १५ दिनसम्म टेउवामा बसेर मूर्ति कुँद्नेछन् । मूर्तिकारलाई सघाउन नेपालका पाँच र भारतका पाँच गरी १० सहयोगी मूर्तिकार पनि कार्यशालामा आउँदैछन् । अन्तर्राष्ट्रियस्तरको खुला मूर्तिकला सङ्ग्रहालय तथा अनुसन्धान केन्द्र बनाउने उद्देश्यले कार्यशाला आयोजना गरिएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वप्राज्ञ एवं कार्यशाला मूल समारोह समितिका संयोजक मूर्तिकार ओम खत्रीले बताए । अन्तर्राष्ट्रियस्तरमा ख्याति आर्जन गरेका मूर्तिकारहरुले सिर्जना गरेका मूर्तिकलाका कृतिहरु सङ्ग्रहालय बनाएर राख्ने प्रतिष्ठानको योजना छ । कलाप्रेमीसहित सर्वसाधारणले पनि कार्यशालाको प्रत्यक्ष अवलोकन गर्न पाउने व्यवस्था मिलाइएको छ । कार्यशालामा नेपालबाट मूर्तिकार प्रवीणकुमार श्रेष्ठ, ओम खत्री, राजन काफ्ले, बुद्ध चौधरी र राजु पिथाकोटेले भाग लिनेछन् । यस्तै जुन इचिरो सुगिमोतो (जापान), लिउ याङ्ग (चीन), बिटिनो फ्रान्सेनी (इटाली), जिवियर्स गोँजालेज (फ्रान्स), लिनलि जेन (ताइवान), जुली ग्ल्यास्पी (क्यानाडा), टुटु पटनायक (भारत), तान्या प्रिमिङ्गर (इजरायल), जर्ज लुइज (ब्राजिल) र युक्रेनका मूर्तिकार ल्युड्मेलले कार्यशालामा भाग लिने जनाइएको छ । कार्यशालामा सहभागिताका लागि अन्तर्राष्ट्रियस्तरमा आवेदन माग गरिएको थियो । प्रतिष्ठानका अनुसार कार्यशालामा भाग लिन देश विदेशका गरी २०५ मूर्तिकारले आवेदन दिएका थिए । त्रिभुवन विश्वविद्यालय, केन्द्रीय ललितकला विभागका सहप्राध्यापक हृदयबल्लभ पाण्डेसहितको विज्ञ समूहले मूर्तिकारको छनोट गरेको हो । कलाकारले कार्यशालामा बसेर राजनीतिक दलका नेता, धार्मिक गुरु, देवीदेउता र आफ्नो देशको संस्कृति झल्कने मूर्ति कँद्न पाउने छैनन् । मानव सभ्यता, वेषभूषा, प्रकृति आदि विषयमा प्रतिकात्मक मूर्ति बनाउनेछन् । आर्थिक वर्ष २०७३/७४ देखि कार्यशालाका लागि तयारी अगाडि बढेको थियो । हालसम्म पूर्वाधार निर्माणमा रु ८६ लाख ९३ हजार खर्च भइसकेको छ । कार्यशाला सम्पन्न गर्दासम्म थप रु एक करोड ४१ लाख ७८ हजार खर्च हुने प्रतिष्ठानले जनाएको छ । कार्यशालाको खर्च झण्डै रु दुई करोड ३० लाख नाघ्ने देखिएको छ । कार्यशालाका लागि गत आवमा सङ्घीय सरकारबाट रु ५० लाख र गण्डकी प्रदेश सरकारबाट रु ४० लाख बजेट छुट्टिएको थियो । गलकोट नगरपालिकाले पनि रु तीन लाख बजेट विनियोजन गरेको थियो । नगरको बजेटबाट कार्यशालाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको छ । चालू आवमा गण्डकी प्रदेश सरकारले रु ३० लाख, प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलको निर्वाचन क्षेत्रको बजेटबाट रु १० लाख र प्रदेशसभा सदस्य चन्द्रबहादुर बुढा ‘सागर’बाट रु पाँच लाख सहयोग प्राप्त भएको छ । यस्तै व्यक्तिगततर्फ स्थानीय भीमकुमारी काउचाबाट रु पाँच लाख, पूर्णबहादुर रानाबाट रु तीन लाख, तिलबहादुर खत्रीबाट रु तीन लाख, शान्ति श्रीषबाट रु तीन लाख, दलबहादुर पुनबाट रु एक लाख १० हजार, यमबहादुर श्रीषबाट रु एक लाख र फमलाल न्यूरेबाट रु एक लाख प्राप्त भएको जनाइएको छ । स्वतःस्र्फूतरूपमा सहयोग जुट्ने क्रम जारी छ । कार्यशालाका लागि स्थानीय कुलबहादुर बस्नेत, झङ्कबहादुर बस्नेत, मानबहादुर खत्री र टीकाकुमारी खत्रीले करिब रु ३० लाख मूल्य बराबरको २३ रोपनी जग्गा निःशुल्क दिएका थिए । फागुन २१ गतेसम्म सञ्चालन हुने मूर्तिकला कार्यशालाको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गर्ने भएका छन् । रासस
दिपायल विमानस्थलमा कालोपत्रकाे काम सम्पन्न
डाेटी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको सबैभन्दा पुरानो दिपायल विमानस्थलमा कालोपत्रको काम सम्पन्न भएको छ । विमानस्थलमा कालोपत्रको काम सकिएर धावनमार्गको किनारामा रहेको पर्खाललगायतको काम सञ्चालन भइरहेको छ । गएको वर्षको असार महिनामा सक्ने लक्ष्यसहित विसं २०७४ मा निर्माणकार्य शुरु गरिएको दिपायल विमानस्थलको कालोपत्रको काम बल्ल अहिले आएर सकिएको हो । विमानस्थलको कालोपत्रको काम सकिएर बाँकी अन्य धावनमार्गको पर्खाल, तारजाली लगाउने काम शुरु भएको विमानस्थल कालोपत्रको जिम्मा पाएका सप्नाग्याल्भा तथा जेभी कन्स्ट्रक्सनका साइट प्रमुख राजेन्द्र विष्टले बताए । उनले भने, ‘हामीले विमानस्थलको पक्की गर्ने काम सकेका छौँ, धावनमार्गको काम पनि केही दिनमा सक्नेछौँ ।’ विमानस्थलमा धावन मार्ग रेखाङ्कनलगायतका काम शुरु भएको उनले जानकारी दिएका छन् । दिपायल विमानस्थलको कालोपत्र गर्ने काम समयमै नसकिएको भन्दै स्थानीयस्तरबाट गुनासो बढेपछि ठेकेदार कम्पनीले बल्ल आएर कालोपत्रको काम सकेको दिपायलका स्थानीय तेजबहादुर डुम्रेलले बताए । उनले भने, ‘एक वर्ष पहिले सकिनुपर्ने काम अलपत्र पारेपछि हामीले स्थानीयस्तरबाट दवाब दिएका कारण कालोपत्रको काम सकिएको हो, अरु धेरै काम गर्न बाँकी नै छ, सम्बन्धित निकायले समयमै ध्यन दिनु जरुरी छ ।’ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) डोटीबाट निर्वाचत सांसद प्रेमबहादुर आलेमगरको पहलमा नेपाल सरकारले दिपायल विमानस्थल कालोपत्रका लागि बजेट विनियोजन गरेको थियो । करिब रु साढे पाँच करोडको लागनीमा दिपायल विमानस्थल कालोपत्र तथा स्तरोन्नतिको काम पाएको कम्पनीले तोकिएको समयमा काम गर्न नसक्दा र नेपाल नागरिक उड्डयन प्राधिकरणले समयमै म्याद नथप्दा विमानस्थल निर्माणकार्य ढिला हुँदै आएको स्थानीयवासीको आरोप छ । विगतमा लक्ष्यअनुसार कालोपत्रको काम शुरु नहुँदा विमानस्थलको काम अलपत्र परेको थियो । अहिले बल्ल आएर कालोपत्रको काम सकिएपछि यहाँका स्थानीयवासी विमानस्थल सञ्चालन हुनेमा निकै खुशी भएको दिपायल पिपल्लाका स्थानीयवासी तथा पूर्व डोटी उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेन्द्रबहादुर खड्काले बताए । उनले भने, “विमानस्थलको काम अलपत्र पर्छ कि भन्ने सोचेका थियौँ, अहिले पक्कीको काम सकिएको छ, अब त जहाज चल्ला कि ?” विमानस्थल कालोपत्रसँगै वरिपरिको जमिन सम्याउने, भवनमा रङरोगन लगाउने र गेट निर्माणको काम पनि सञ्चालन भइरहेको छ । दिपायलसँगै कालोपत्र निर्माण शुरु गरिएको अछाम जिल्लाको साँफेबगर विमानस्थलको काम सम्पन्न भएर गएको वर्षको जेठ महिनामै परीक्षण उडानसमेत भइसकेको छ । उता बैतडीको पाटन विमानस्थलको कालोपत्रको काम पनि सम्पन्न भइसकेको छ । सुदूरपश्चिम प्रदेशको दोस्रो ठूलो दिपायल तथा बैतडीको पाटन विमानस्थल कालोपत्रको काम सकिएपछि जहाज चल्ने आशामा त्यहाँका स्थानीयवासी खुशी भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार बैतडीमा झण्डै रु ११ करोडको लागतमा विमानस्थल कालोपत्रको काम शुरु गरिएको थियो । डोटीको दिपायल र बैतडीको पाटनसहितका दुई विमानस्थल निर्माण सम्पन्न गरे यहाँका धार्मिक तथा पर्यटन क्षेत्रमा पर्यटक भित्र्याउन सकिने र यहाँको आयस्रोत बढ्ने उच्च सम्भावना रहेको दिपायल पिपल्लाका होटल व्यवसायी नन्दनसिंह कार्कीले बताएका छन् । उनले भने, ‘सुदूरपश्चिमका पहाडी जिल्लाका दुई विमानस्थल दिपायल र पाटनमा नियमित जहाज चलाए यहाँको विकास आफैँ हुनेछ ।’ दिपायल विमानस्थलमा नियमित जहाज चलाउन सके यहाँको प्रमुख पर्यटकीयस्थल खप्तड, बडिमालिका, शैलेश्वरी, उग्रतारा, घटालथानलगायतका क्षेत्रमा पर्यटक भित्र्याउन सकिने सुदूरपश्चिम प्रदेशका पर्यटन व्यवसायी कृष्ण महराले बताए । उनले भने, ‘सुदूरपश्चिमका पहाडी जिल्ला पर्यटन क्षेत्रको प्रचुर सम्भावना बोकेका ठाउँ हुन्, विमानस्थलमा नियमित जहाज चलाउन सके यहाँको पर्यटन क्षेत्रमा निकै राम्रो हुनेछ ।’रासस