बागलुङका ६ सामुदायिक विद्यालयबीच समायोजन, कुन कुन गाँभिए ?
बलेवा । विद्यालयमा पढ्न आउने विद्यार्थी संख्या कम भएपछि बागलुङ नगरपालिकाले गत आर्थिक वर्षमा छवटा सामुदायिक विद्यालय समायोजन भएका छन् । सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या कम तर शिक्षकको दरबन्दी बढिरहेका कारण अनावश्यक व्ययभार परेको भन्दै नगरपालिकाले गत आर्थिक वर्षमा छवटा विद्यालयलाई समायोजन गरेका हुन् । विद्यार्थी सङ्ख्या कम हुँदाहुँदै पनि चलिरहेका विद्यालय शिक्षा ऐनमा व्यवस्था भएअनुसार अर्को विद्यालयमा समायोजन हुन नमानेपछि घुमाउरो तरिकाबाट विद्यालयलाई समायोजन गरिएको हो । शिक्षकको दरबन्दी मिलान र ती छवटा विद्यालयमा रहेका विद्यार्थीलाई अर्को नजिकैको विद्यालयमा पठाएर नगर शिक्षा शाखा व्ययभार कम गर्ने प्रयास थालेको थियो । सामुदायिक विद्यालयमा यो बागलुङ नगरपालिकाको मात्रै समस्या होइन, जिल्लाका दशवटै स्थानीय तहमा विद्यार्थी सङ्ख्या कम भएका विद्यालयको सङ्ख्या धेरै छ । पालिकाले विद्यार्थी, शिक्षक र विद्यालय नै व्यवस्थापनमा आ–आफ्नो हिसाबले योजना बनाएर लागिरहेका छन् । सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या कम हुनुको मुख्य कारण हो बसाइँसराइ र बगे्रल्ती खुलेका संस्थागत विद्यालय । अभिभावकको अङ्ग्रेजी मोह र अङ्ग्रेजी माध्यममा पठनपाठन गराउन खुलेका संस्थागत विद्यालयमा निकै प्रतिस्पर्धा छ । कल्पना गर्नुस् संस्थागत विद्यालय बन्द हुने वा समायोजन हुनेभन्दा धेरै फुट्ने र खुल्ने प्रक्रियामा देखिने गरेका छन् । तर सदरमुकाममा रहेका दुई संस्थागत विद्यालयले भने अस्वस्थ्य प्रतिस्पर्धाका कारण विद्यालय नै धराशयी हुने अवस्थामा पुग्ने भन्दै समायोजन (मर्जिङ) भएका छन् । सदरमुकाममा रहेको अमृत आदर्श आवासीय मावि र अमर आदर्श विद्यामन्दिर आवासीय मावि समायोजन भएका हुन् । दुवै विद्यालय समायोजन भएर अमृत आदर्श एकेडेमी बनेको एकेडेमी व्यवस्थापन समितिका अध्यक्ष मेहेशचन्द्र प्रधानले बताए । ‘हामीले अस्वस्थ प्रतिस्पर्धाको अन्त्य र शिक्षामा गुणस्तर वृद्धिका लागि जिल्लामै पहिलो कदम उठायौँ’, अध्यक्ष प्रधानले भने, ‘शिक्षामा परिवर्तनका लागि विद्यालय मर्जिङ गरिएको हो ।’ अमृतमा रहेका ३२५ र आदर्श विद्यामन्दिरमा रहेका ४२९ जना विद्यार्थीलाई माघ १६ गतेदेखि एकै ठाउँमा राखेर पठनपाठन थालिएको छ । विद्यालयका लेखापाल रामप्रसाद घिमिरेका अनुसार कक्षा एकभन्दा तल्लो तहका विद्यार्थीलाई एकै ठाउँमा पठनपाठन शुरु भइसकेको छ भने कक्षा १ भन्दा माथिका विद्यार्थीलाई पहिलेकै विद्यालयको हिसाबमा सेक्शनमा राखेर अध्यापन भइरहेको छ । नयाँ शैक्षिक सत्रदेखि एकै ठाउँमा पठनपाठन हुने उनले बताए। दुवै विद्यालयका ४६ जना शिक्षक कर्मचारी पनि समायोजन भएका छन् । संस्थागत विद्यालयले समायोजन गर्दा सम्बन्धित पालिकाको शिक्षा शाखामा जानकारी गराउनुपर्ने व्यवस्था रहेको भए पनि बागलुङ नगरपालिकाको शिक्षा शाखाले भने औपचारिक जानकारी नआएको जनाएको छ । ‘विद्यालयहरु मर्जिङ हुने मौखिक हल्ला सुनिएको छ तर आधिकारिक जानकारी आएको छैन’, शिक्षा अधिकृत गौरव राना मगरले भने, ‘प्रक्रिया पूरा गरेर मात्रै समायोजन हुन पाइन्छ ।’ दीर्घकालीन योजना बिना खुलेका विद्यालयलाई चलाउनु चुनौतीपूर्ण रहेकाले संस्थागत विद्यालय पनि समायोजनको चरणमा पुगेको उनको प्रतिक्रिया थियो । प्रतिस्पर्धी विद्यालयको सङ्ख्या धेरै भएपछि जिल्लाका विभिन्न स्थानमा रहेका अन्य संस्थागत विद्यालयसमेत सङ्कटग्रस्त अवस्थामा रहेको जानकारहरु बताउँछन् । स्थानीय सरकार गठनसँगै बनेका पालिका मुकामहरुमा खुलेका निजी विद्यालय पनि साबिक सदरमुकामका निजी विद्यालयको चुनौतीका रुपमा खडा भएका छन् । अर्कोतर्फ स्थानीय सरकारको मातहतमा आएपछि सामुदायिक विद्यालयमा भइरहेको सुधारले पनि संस्थागत विद्यालयलाई असर पुर्याएको अधिकृत राना मगरले बताए । ‘अभिभावक गुणस्तरको खोजीमा हुनुहुन्छ, हाम्रा सामुदायिक विद्यालय पनि सुध्रिएका छन्’, उनले भने, ‘सामुदायिक जस्तै संस्थागत विद्यालय पनि समायोजन हुनु र परिमार्जित हुनु आवश्यक छ ।’ बागलुङ नगरपालिकाले थालेको सामुदायिक विद्यालय सुधार अभियानका क्रममा गत वर्ष नै बागलुङ नगरपालिका–६ मा रहेको एक संस्थागत विद्यालय बन्द नै भएको थियो । स्थानीय लहरेपीपल माविमा सबै विद्यार्थी गएकाले उक्त विद्यालय बन्द भएको वडाध्यक्ष खिमराज सापकोटाले बताए । रासस
आइफोन बनाउने कम्पनीले मास्क उत्पादन थाल्यो, मोटर्स उत्पादक पनि एप्पललाई पछ्याउँदै
काठमाडौं । कोरोना भाइरसको विश्वब्यापी संक्रमण बढिरहँदा ठूलो अन्तराष्ट्रिय कम्पनीहरुले प्रतिकार्यका विभिन्न नविन कदमहरु सार्वजनिक गर्न थालेका छन् । पछिल्लो उदाहरणको रुपमा एप्पलका लागि आइफोनको उत्पादन तथा एसेम्बल गर्ने ताइवानी मोबाइल फोन उत्पादक मल्टिनेसनल फक्सकनले हालै सर्जिकल मास्कको उत्पादन गर्ने घोषणा गरेको छ । रोयटर्सले जनाएअनुसार यसै वर्षको सुरुवातमै कोरोना भाइरसको प्रकोपसँग जुध्न सान्जेनस्थित आइफोन उत्पादन गर्ने सबैभन्दा ठूलो कारखाना बन्द गरेको फक्सकनले चीनमा हाल ब्यापक मागमा रहेको मेडिकल मास्क उत्पादन गर्ने जनाएको हो । कम्पनीले परिक्षण उत्पादन थालिसकेको छ । पहिलो चरणमा उत्पादित मास्क कम्पनीका कर्मचारीलाई वितरण गर्ने र सोपश्चात उसले मास्कलाई पूरै चीन तथा संसारका विभिन्न देशहरुमा उपलब्ध गराउने भएको छ । यो कम्पनीले उत्पादन गरेको आइफोन पनि पहिला कर्मचारीलाई वितरण गर्ने र त्यसपछि मात्र विक्रीका लागि बजारमा पठाउने गर्दै आएको थियो । विश्वको सबैभन्दा ठूलो मास्क उत्पादक चीनले गत वर्षमात्र पाँच अर्ब मास्क उत्पादन गरेको थियो । तथापी, कोरोना भाइरसको प्रकोपसँगै उसले प्रतिदिन उत्पादन गर्ने एक करोड ५० लाख मास्कले हालको चुलिँदो मागलाई धान्न सकिरहेको छैन । फेब्रुअरीको अन्तिम सातादेखि दिनको २० लाख मास्क उत्पादन गर्ने जनाएको फक्सकनले बताएको हो । “महामारीबिरुद्धको यस युद्धमा हरेक एक सेकेण्डको ठूलो महत्व छ,” कम्पनीले सामाजिक माध्यम वुइच्याटमा लेखेको छ । फक्सकनले अगाडी लेखेको छ, “हामीले जति छिटो निवारणजन्य कदम चाल्छाैं, त्यति छिटो भाइरसको संक्रमणलाई रोक्न सक्छांै । जति छिटो जीवनको रक्षा गर्न सक्छाैं, त्यति छिटो नै यस प्रकोपमाथि विजय हासिल गर्न सक्दछाैं ।” आइफोनको अलावा विश्वको सबैभन्दा ठूलो विद्युतीय उपकरण निर्माता मध्येको एक फक्सकनले आइप्याड, अमेजन किण्डल र प्लेस्टेसन्स् लगायत विभिन्न आम उपभोग्य विद्युतीय सामाग्री तथा आवश्यक पाटपूर्जाहरु उत्पादन गर्दछ । कारोना भाइरसको प्रकोपपश्चात यस्तो नविन उत्पादनको धारणा सार्वजनिक गर्ने फक्सकन पहिलो कम्पनी हो र यसको घोषणालाई चीन तथा अन्य विभिन्न देशहरुमा पनि सराहना गरिएको छ भने कम्पनीले उसको कदमलाई “सबैभन्दा ठूलो ब्यवसायिक उत्तरदायित्वमात्र नभइ समाजप्रतिको पनि उत्तरदायित्व” भएको बताएको छ । चीनभित्र १२ वटा उत्पादन केन्द्र रहेको यस कम्पनीले कोरोना भाइरसको प्रकोपस“गै प्राय सबै केन्द्रहरु बन्द गरेको थियो । आफ्नो नियमित उत्पादन प्रक्रियालाई सकेसम्म छिटो सूचारु गर्न प्रयासरत फक्सकनले उसका कारखनाहरु बन्द रह“दा एप्पलका उत्पादनहरुको आपूर्ति चक्रमा विश्वब्यापी अवरोध आउनसक्ने सम्भावनालाई चा“डोभन्दा चा“डो सम्बोधन गर्नका लागि कम्पनीले मास्क उत्पादन गर्ने घोषणा सार्वजनिक गरेको हो । केहि विश्लेषकहरुले यस वर्ष स्मार्ट फोनको आपूर्तिमा १० प्रतिशतको गिरावट आउने र एप्पलका मोबाइल सेटहरु, विशेषगरी आइफोन ११ को नया“ संस्करणको बजारमा अभाव देखिने आ“कलन गरेका छन् । यसका अलावा फक्सनले चीनभित्रको सबैभन्दा ठूलो सेन्जेनस्थित उत्पादन केन्द्रमा आफ्ना कर्मचारीहरुमा हुनसक्ने सम्भाब्य कोरोना संक्रमणलाई पहिचान गर्ने क्षमतासहितको इन्फ्रारेड टेम्प्रेचर मापन प्रविधिको पनि स्थापना गर्ने जनाएको छ । अन्य कम्पनीहरु पनि मास्क उत्पादन गर्ने यसैगरी विश्वप्रसिद्ध अमेरिकी कार उत्पादक जेनेरल मोटर्स्ले पनि कोरोना भाइरसको निवारणमा टेवा पुर्याउने उदेश्यका साथ सर्जिकल मास्क उत्पादन गर्ने घोषणा गरेको छ । यसको चिनियाँ साझेदार एसएआइसी–जीएम–वुलिङले तत्कालै दिनको १७ लाख मास्क उत्पादन गर्ने गरी १४ वटा प्रोडक्सन लाइन तयार गर्ने घोषणा गरिसकेको छ । चीनको स्वामित्वमा रहेको एसियाकै सबैभन्दा ठूलो पेट्रोलियम रिफाइनरी सिनोपेकले गत हप्ता मास्क उत्पादनको लागि आवश्यक उपकरण खरिद गरिसकेको छ । एघार वटा प्रोडक्सन लाइनबाट मास्क बनाउने बताएको सिनोपेकले कति परिणाममा उत्पादन गर्ने भन्ने खुलाएको छैन । यसैगरी टोयोटा र होण्डका लागि कार उत्पादन गर्ने ग्वान्जाउ अटोमोबाइल ग्रुपले पनि मास्क र सो निर्माणका लागि आवश्यक उपकरणको उत्पादन गर्ने बताएका छन् ।
दादुरा रुबेला नियन्त्रणका लागि जनचेतना अभियान सञ्चालन गरिँदै
विराटनगर । दादुरा रुबेलाको नियन्त्रणका लागि सीमान्तकृत बस्ती तथा दुर्गम क्षेत्रमा सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । स्वास्थ्य कार्यालय मोरङद्वारा ‘दादुरा रुबेला खोप अभियान–२०७६’ अन्तर्गत खोप समन्वय समिति, सञ्चारकर्मी र सरोकारवालासँग आज यहाँ आयोजित अन्तक्रिया एवं छलफल कार्यक्रममा उनीहरुले बालबालिकालाई खोप नलगाउने परिवारलाई स्थानीय तहबाट प्राप्त हुने सेवा सुविधा रोक्नुपर्नेमा जोड दिएका हुन् । यही फागुन ६ देखि १४ गतेसम्म पहिलो चरणअन्तर्गत मोरङको आठवटा स्थानीय तहमा दादुरा रुबेलाको खोप तथा पोलियो थोपा खुवाउने कार्यक्रम छ । पहिलो चरणअन्तर्गत जन्मदेखि पाँच वर्षमुनिका ४७ हजार बालबालिकालाई पोलियो थोपा तथा नौ महिनादेखि पाँच वर्षमुनिका ४१ हजार १७२ बालबालिकालाई दादुरा रुबेलाका खोप लगाउने लक्ष्य लिएको छ । यसैगरी, दोस्रो चरणअन्तर्गत फागुन १६ देखि २४ गतेसम्म मोरङको नौ स्थानीय तहका ६२ हजार ६० बालबालिकालाई पोलियो थोपा र ५१ हजार ६३३ बालबालिकालाई दादुरा, रुबेलाको खोप लगाइने भएको छ । अभियानलाई सफल बनाउन घरमा निम्ता कार्ड, स्थानीय रेडियो, पत्रपत्रिका तथा प्रचारप्रसारलाई तीव्र बनाइको स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले बताए । ‘पहिलो खोपको प्रभावकारिता ८५ प्रतिशत र थप दोस्रो खोपको १० प्रतिशत गरी दुवै खोप लगाएका बालवालिका दादुरा रुबेला नलाग्ने सम्भावना ९५ प्रतिशत हुन्छ । थप मात्रा दिँदा यो खोप लगाउनुको पहिलो उद्देश्य सतप्रतिशत यो रोगबाट बचाउनु हो भने नियमित खोपमा छुटेकालाई समेट्नु पनि हो’, उनले भने, ‘जुन बालबालिकाले यो खोप लगाउदैनन् । त्यो बेलासम्म रुबेला र दादुराको उच्च जोखिममा रहन्छन् ।’ अभियानका लागि मोरङ जिल्लामा ८९२ खोप केन्द्रमा एक स्वास्थ्यकर्मी र दुई स्वास्थ्य स्वयंसेविका परिचालन गरिने भएको छ । नेपालले सन् २०२३ सम्ममा दादुरा रुबेला नियन्त्रण गर्ने लक्ष्य लिएको छ । सबै बालबालिकाले खोप पाउनुपर्छ भन्ने अवधारणाअनुसार अभियान शुरु गरिएको हो । बाल मृत्युदर घटाउनु, औषत आयुमा वृद्धि गर्नु अभियानको लक्ष्य रहेको छ । दादुराको कारण अन्धोपना हुने र झाडापखाला, निमोनियाको कारण बालबालिकाको मृत्यु हुने गरेको छ भने रुबेलाले महिलामा गर्भपतन हुने, मृत्यु शिशु जन्मने, बालबालिकामा बहिरोपन र अन्धोपन हुने, मुटुमा प्वाल हुने, मष्तिस्कमा विकृत उत्पन्न हुने गर्दछ । दादुरा र रुबेला रोगको कुनै उपचार नभएको र यसबाट बालबालिकालाई बचाउने एकमात्र उपाय खोप मात्र रहेको हो । यो सरुवा रोग भएको र खोक्दा, हाँछ्यु र हावाको माध्यमबाट यो सर्ने गर्दछ । दादुरा रुबेला एक भाइरसको माध्यमबाट सरुवा हुने गर्दछ भने यसका मुख्य लक्षणमा ज्वरो आउने, शरीरभरि बिमिरा देखा पर्ने, आँखा रातो हुने, नाकबाट पानी आउने गर्दछ । जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले बालबालिकाका अकाल मृत्युबाट बचाउन खोप अभियान पूर्ण सफल बनाउने सबै राजनीतिक दललाई सहभागी हुने बताए । छलफलमा, राजनीतिक दलका प्रतिनिधि, स्थानीय निकायका प्रतिनिधि, चिकित्सक, रेडक्रसका प्रतिनिधि, स्वास्थ्यकर्मी र सञ्चारकर्मीको सहभागिता रहेको थियो । एक अध्ययनका अनुसार एक बालवालिकामा दादुरा देखिए त्यसबाट १६ जना सम्ममा सर्न सक्छ । नेपालमा गत वर्ष एक सय २२ जनामा रुबेला भएको प्रमाणित भएको छ । जसमा प्रदेश नं. १ मा ३५, प्रदेश नं.२ मा ८, वाग्मती प्रदेशमा ४१, गण्डकी प्रदेशमा १०, प्रदेश ५ मा १३, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा ११ जनामा दादुरा भएको प्रमाणित भएको थियो ।रासस
चोरिएको आधा घण्टामै मोटरसाइकलसहित पक्राउ
काठमाडाैं । सूचना पाएको आधा घण्टामै चोरिएको मोटरसाइकलसहित एकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको दरबारमार्गबाट राति हराएको मोटरसाइकल बिहान ३ः०० बजेको समयमा कलङ्कीमा फेला परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । पक्राउ पर्नेमा गोरखाका मिलन न्यौपाने रहेका छन् । महाशाखाका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले सूचना प्राप्त भएको आधा घण्टाको समयमा नै हराएको मोटरसाइकल फेला परेको जानकारी दिए । ‘हामीलाई बा ४८ प ६१८६ नम्बरको स्कुटर हराएको भनेर दरबारमार्गस्थित ट्राफिक प्रहरीमा सूचना आयो, सबै मातहतका युनिटलाई तत्कालै खबर गर्यौं, कलङ्कीमा बसेका ट्राफिक प्रहरीले मोटरसाइकलसहित मानिसलाई पक्राउ गर्न सफल भए’, श्रेष्ठले भने । उनले कुनै पनि घटना समयमै जानकारी गरायो भने त्यसको कारण खोज्न र हराएका वस्तु फेला पार्न सजिलो हुन्छ भन्ने यो एउटा उदाहरण भएकोसमेत बताए ।
सेन्चुरी बैंकको नाफा ६५ करोड, आधार दर घट्यो
काठमाडौं । सेन्चुरी बैंकले चालु आर्थिक वर्ष (आव) को ६ महिनामा ६५ करोड २ लाख रुपैयाँ नाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले ५१ करोड ८१ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले प्रकाशित गरेको चालु आवको ६ महिनासम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत वर्षको सोही अवधिको तुलनामा बैंकले करिब १४ करोड रुपैयाँ नाफा बढाएको हो । बैंकले गत पुस मसान्तसम्ममा सर्वसाधारणलाई ५९ अर्ब ५० करोड ७१ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको छ । गत आवको सोही अवधिसम्ममा बैंकले ५६ अर्ब ९३ करोड ४१ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको थियो । यस्तै, बैंकमा सर्वसाधारणको ६१ अर्ब २४ करोड ७८ लाख रुपैयाँ निक्षेप छ । गत आवको पुस मसान्तसम्ममा बैंकमा सर्वसाधारणको ६० अर्ब २७ करोड ६४ लाख रुपैयाँ निक्षेप थियो । बैंकले गत आवको पुस मसान्तसम्ममा ३ अर्ब ९२ करोड ९ लाख रुपैयाँ व्याज आम्दानी गरी २ अर्ब ५८ करोड १६ लाख रुपैयाँ व्याज खर्च गरेको थियो । चालु आवको सोही अवधिमा बैंकले ४ अर्ब १९ करोड ६९ लाख रुपैयाँ व्याज आम्दानी गरी २ अर्ब ६६ करोड ९१ लाख रुपैयाँ व्याज खर्च गरेको छ । गत आवको ६ महिनामा १ अर्ब ३३ करोड ९३ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको सेन्चुरीले चालु आवको सोही अवधिमा १ अर्ब ५२ करोड ७८ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । बैंकको खराब कर्जा अनुपात केही बढेको छ । गत आवको पुस मसान्तसम्ममा ०.८४ प्रतिशत रहेको खराब कर्जा अनुपात चालु आवको सोही अवधिमा १.६७ प्रतिशत पुगेको छ । सम्भावित कर्जा नोक्सानीको लागि बैंकले १३६ प्रतिशत रकम राखेको छ । बैंकको कष्ट अफ फण्ड ७.८६ प्रतिशत छ । गत आवको सोही अवधिमा कष्ट अफ फण्ड ८.८९ प्रतिशत थियो । कर्जा निक्षेप अनुपात ७९ प्रतिशत पुगिसकेको छ । यस्तो अनुपात बढीमा ८० प्रतिशतसम्म मात्रै पुर्याउन पाइने भएकोले थप कर्जा प्रवाहमा बैंकलाई समस्या छ । बैंकको आधार दर १०.३५ प्रतिशत छ । गत आवको पुस मसान्तसम्ममा आधार दर ११.५० प्रतिशत थियो । यस्तै गत आवको पुस मसान्तसम्ममा ३.६३ प्रतिशत रहेको कर्जा र निक्षेपको व्याज अन्तर (स्प्रेड) दर चालु आवको पुस मसान्तसम्ममा ४.७६ प्रतिशत छ ।
अमेरिकालाई ३५ रनमा समेट्दै नेपालद्वारा विश्व कीर्तिमान
काठमाडाैं । अमेरिकालाई ३५ रनमा समेटेर नेपालले विश्व कीर्तिमान रचेको छ । एकदिवसीय क्रिकेटमै अमेरिकाले सबैभन्दा कम रन बनाउने क्रममा जिम्बाबेसँग बराबरी गरेको छ । जिम्बाबेले सन् २००४ मा हरारेमा श्रीलङ्का विरुद्धको खेलमा ३५ रन बनाएको थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ‘लेग स्पिनर’ सन्दीप लामिछाने आफ्नो खेल जीवनकै उत्कृष्ट खेल प्रदर्शन गरेपछि अमेरिकाले लज्जास्पद स्कोर बनाएको हो । सन्दीपले छ विकेट लिए । उनले छ ओभर बलिङ गर्ने क्रममा एक मेडन राखी १६ रन खर्चिए । यस्तै सुशन भारीले तीन ओभरमा एक मेडन राखेर पाँच रन खर्चेर चार विकेट लिए । करन केसीले तीन ओभर बलिङ गर्दै एक मेडन राखेर १३ रन दिए । उनी विकेटविहीन रहे । आइसिसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा आज नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । ब्याटिङ गर्ने क्रममा अमेरिकाको शुरुआत राम्रो रहेन । रन नै बनाउन नसकेको अवस्थामा उसले पहिलो विकेट गुमायो । दोस्रो ओभरको अन्तिम बलमा अमेरिकाका भरपर्दा प्रारम्भिक ब्याट्सम्यान इयान होल्यान्ड रन नबनाईकन पभेलियन फर्किए । उनलाई लेगस्पिनर सन्दीप लामिछानेले पारस खड्काद्वारा क्याच आउट गराए । उनले मेडन ओभर फाल्दै पहिलो विकेट लिएका हुन् । अमेरिकाले टोलीको स्कोर २३ छँदा दोस्रो महत्वपूर्ण विकेट गुमायो । छ दशमलव एक ओभरमा प्रारम्भिक ब्याट्सम्यान जेभियर मार्शल आउट भए । सोह्र रन बनाएका उनलाई सुशन भारीले पारसद्वारा नै क्याच आउट गराए । आठौँ ओभरमा अमेरिकाले लगातार दुई विकेट गुमायो । दुवै विकेट सन्दीपले लिए । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका मोनाङ्क पटेललाई सन्दीपले सात दशमलब दुई ओभरमा बोल्ड गरे । उनले चार रनमात्र बनाए । सात दशमलब पाँच ओभरमा सन्दीपले निसर्ग पटेललाई व्यक्तिगत दुई रन बनाएको अवस्थामा बोल्ड गरे । यत्तिमा नै अमेरिकाको विकेट गुमाउने क्रम रोकिएन । अमेरिकाले नवौँ ओभरको तेस्रो बलमा आरेन जोन्सलाई गुमायो । उनलाई व्यक्तिगत चार रनको स्कोरमा सुशनले बोल्ड गरे । त्यो बेला अमेरिकाले २९ रनमात्र बनाएको थियो । यस्तै १०औँ ओभरको पाँचौँ बलमा अमेरिकाका तिमिल पटेल पभेलियन फर्किए । तिमिलले व्यक्तिगत एक रनमात्र बनाए । उनलाई सन्दीपले आउट गरे । एघारौँ ओभरमा अमेरिकाले लगातार दुई विकेट गुमायो । सुशनले ११औँ ओभरको पहिलो बलमा केमरुन स्टिभेन्सनलाई पभेलियन फर्काए । सुशनले ११औँ ओभरको अन्तिम बलमा रुस्टी थेरन बोल्ड भए । अमेरिकाले ११ ओभर खेल्दा ३१ रनमा आठ खेलाडी गुमाइसकेको थियो । अमेरिकाले १२औँ ओभरमा सन्दीपको बलमा लगातार दुई विकेट गुमायो । सन्दीपले १२औँ ओभरको तेस्रो बलमा अक्षय होमराजलाई पारसद्वारा नै क्याच आउट गराए । सन्दीपले १२औँ ओभरको अन्तिम बलमा नोस्तुस केन्जीलाई बोल्ड गरे । अमेरिका १२ ओभरमा सबै विकेट गुमाउँदै ३५ रनमै समेटियो । रासस
नवनियुक्त प्रहरी महानिरीक्षक ज्ञवालीलाई दर्ज्यानी चिह्न प्रदान
काठमाडाैं । नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीलाई बुधबार दर्ज्यानी चिह्न प्रदान गरिएको छ । गृहमन्त्रालयमा आयोजित विशेष समारोहमा गृहसचिव महेश्वर न्यौपानेले उनलाई दर्ज्यानी चिह्नबाट सुशोभित गरेका हुन् । मङ्गलबारको मन्त्रिपरिषद्को बैठकले आजदेखि लागू हुने गरी उनलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको थियो । यसअघिका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको ३० वर्षे सेवाहदका कारण अनिवार्य अवकाश भएपछि सरकारले ज्ञवालीलाई प्रहरी नायब महानिरीक्षकबाट प्रहरी निरीक्षकमा बढुवा गरेको हो । उक्त समारोहमा गृहसचिव न्यौपानेले नागरिकको शान्ति सुरक्षा र अमनचयनमा सक्रिय हुन प्रहरी नेतृत्वलाई आग्रह गरे । प्रहरी सङ्गठनको सक्रियताको कमिले आपराधिक क्रियाकलाप मौलाउन सक्नेतर्फ सङ्केत गर्दै उनले त्यसको समीक्षा गरेर अघि बढ्न निर्देशन दिए । उनले नेतृत्व परिवर्तन भए पनि कार्यसम्पादन सम्झौता उही रहेको उल्लेख गर्दै शान्ति सुरक्षामा कुनै सम्झौता नगर्न निर्देशन दिएका छन् । उनले प्रहरी अधिकारी व्यक्तिवादी भावना बढेकोतर्फ सङ्केत गर्दै आफूलाई सच्याउनु जरुरी छ भने । ‘माथिल्लो तहमा प्रतिष्पर्धात्मक भावना बढी भएको छ, उछिन्न दौडनेभन्दा व्यावसायिक काममा ध्यान दिनुपर्छ, व्यक्ति केन्द्रित दौडले व्यावसायिकतामा कतै न कतै सम्झौता भएको छ’, प्रहरी अधिकृतलाई इङ्कित गर्दै गृहसचिव न्यौपानेले भने । प्रहरी समायोजन र आपराधिक गतिविधि निस्तेज पार्न केही चुनौती रहेको स्वीकार गर्दै उनले त्यसमा सङ्गठनको व्यावसायिकता प्रदर्शन गर्दै सामूहिक रुपमा अघि बढ्नुपर्नेमा जोड दिए । उनले हालै मात्रै प्रहरीसम्बन्धी दुई विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेकाले अब छिट्टै आवश्यक प्रक्रिया अघि बढ्ने बताए । हरेक हप्ता गृहमन्त्रालयमा उच्च व्यवस्थापनको समीक्षा बैठक बस्ने जानकारी दिँदै उनले बैठकले सुरक्षाको क्षेत्रमा उत्पन्न हुने समस्या समाधानमा सहयेग गर्ने विश्वास व्यक्त गरे । प्रहरी कर्मचारीलाई उत्प्रेरित गर्नुपर्ने र अपराधलाई निस्तेज पार्नुपर्ने आजको आवश्यकता औँल्याउँदै उनले समृद्ध नेपाल निर्माणमा प्रहरीको भूमिका महत्वपूर्ण हुने बताए । गृहसचिव न्यौपानेले भने, ‘शान्ति सुरक्षा कामय गर्न चुक्यौँ भने समृद्ध राष्ट्र निर्माण अभियानमा असर पर्छ, यसतर्फ प्रहरी अधिकृतको ध्यानाकर्षण गराउनु चाहन्छु ।’ अपराधी नियन्त्रण र प्रहरी समायोजन वर्तमानका चुनौतीः नवनियुक्त महानिरीक्षक ज्ञवाली उक्त समारोहमा नवनियुक्त प्रहरी महानिरीक्षक ज्ञवालीले अपराध नियन्त्रण र प्रहरी समायोजन वर्तमान समयमा प्रहरीका लागि चुनौती रहेको उल्लेख गर्दै उक्त चुनौती सामना गर्न प्रहरी सङ्गठन तयार रहेको बताएका छन् । मुलुक सङ्घीयतामा गए पनि कानूनतः सबै प्रक्रिया सङ्घीयतामा गइनसकेको उनको भनाइ थियो । संविधान कार्यान्वयन, नागरिकको अधिकार संरक्षण गर्न महानिरीक्षकको हैसियतमा आफू कटिबद्ध रहेको उल्लेख प्रहरी महानिरीक्षकक ज्ञवालीले गृहमन्त्रालयको मार्ग निर्देशनलाई अक्षरशः कार्यान्वयन गर्दै जाने प्रतिबद्धता जनाए । उनले अवाञ्छित र विध्वंसात्मक गतिविधि निस्तेज गरी कानूनको पालनामा आफूले कुनै सम्झौता नगर्ने प्रतिबद्धता जनाएका छन् । उनले समृद्धि, समुन्नत र सुशासनको क्षितिजमा उदाउँदै गरेको मुलुकको छेकवारलाई परास्त गर्ने विश्वससमेत दिलाए । आजको जनउत्तरदायी युगमा प्रहरीले नागरिकको मन जितेर काम गर्नुपर्ने आवश्यकतामा जोड दिँदै ज्ञवालीले प्रहरीको भेषमा कुनै अवाञ्छित गतिविधि नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रहरी कर्मचारीको मनोबल उच्च राख्नमा नै आफ्नो ध्यान जाने उनको भनाइ थियो ।रासस
कक्षा ११ र १२ को फारम बुझाउने अन्तिम दिन फागुन ११ गते
काठमाडौं । कक्षा ११ र १२ का विद्यार्थीहरुले फागुन ११ गतेसम्म परीक्षा फारम बुझाईसक्नु पर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डले सुचना जारी गर्दै फागुन ११ गतेसम्म कक्षा ११ र १२ का विद्यार्थीहरुले वार्षिक परीक्षाको परीक्षा फारम बार्डमा बुझाईसक्नु पर्ने जनाएको हो । बोर्डले यस अघि माघ २८ लाई फारम भर्न अन्तिम मिति बताएको थियो । परीक्षा फारम भर्न छुटेकाले प्रतिविद्यार्थी १२ सय शुल्क फागुन ६ गते भित्र बोर्डको नाममा जम्मा गरि बुझाईसक्नु पर्नछ । यस्तै बाेर्डले यसपटक ११ वर्ष अगाडि प्लस टु को परीक्षा पास गर्न नसकेकाले अन्तिम पटक परीक्षा दिन पाउने व्यवस्था गरेकाे छ । २०६५ साल देखि २०७१ सम्मका प्लस टु पास गर्न नसकेकाहरुलाई अन्तिम पटक परीक्षा दिन पाउने व्यवस्था गरेकाे हाे । सम्बन्धित समाचार ११ वर्ष अगाडि प्लस टु पास गर्न नसकेकाले अन्तिम पटक परीक्षा दिन पाउने