विकासन्युज

वर्तमान सरकार गठनपश्चात दैनिक ६ किमी बाटो कालोपत्र भएको छ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार गठनपश्चात प्रतिदिन लगभग ६ किलोमिटरका दरले सडक कालोपत्र हुँदै आएको बताए । सरकार गठनको दुई वर्ष पूरा भएको अवसरमा प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै आज उनले सरकारले यस अवधिमा हासिल गरेका उपलब्धिका बारेमा जानकारी गराउँदै सो जानकारी दिए। प्रधानमन्त्री ओलीले भने, “यस अवधिमा १२५ तुइन विस्थापन भइसकेका छन्, भूकम्पले क्षतिग्रस्त तातोपानी जोड्ने सडक निर्माण भई आयात–निर्यात सञ्चालन भएको छ । कृषि र माछामासुमा मुलुक आत्मनिर्भर भएको छ ।” सरकारले करका दर होइन दायरा बढाउने सोच बनाएको उल्लेख गर्दै उनले स्थिर सरकार गठनसँगै विदेशी लगानीका लागि राम्रो वातावरण बनेको बताए । यस अवधिमा दुई खर्ब रुपैयाँको लगानीको प्रतिबद्धता आएको जानकारी गराउँदै प्रधानमन्त्री ओलीले व्यापार विविधिकरणमा उल्लेखनीय सुधार आई निर्यात २६.१ प्रतिशतले बढेको र आयात घटेको बताए । ऊर्जा क्षेत्रमा भएका उल्लेखनीय उपलब्धिका बारेमा जानकारी गराउँदै विद्युत् उत्पादनमा भएको वृद्धिसँगै विद्युत् निर्यातसमेत हुन थालेको जनाए । साथै ८८ प्रतिशत जनसङ्ख्यामा विद्युत् पुगेको बताए । यस अवधिमा विभिन्न विद्युत् प्रसारण लाइन निर्माणमा पनि उल्लेखनीय प्रगति भएको छ । यसले उत्पादित विद्युत् भारत र बङ्गलादेश निर्यातका लागि सहज भएको प्रधानमन्त्री ओलीको भनाइ थियो । उनले भने, “एमसीसी कम्प्याक्टअन्तर्गत लप्सेफेदी–रातामाटे–दमौली– हेडौंडा–पाल्पा–बुटवल र गोरखपुरसम्म अन्तरदेशीय विद्युत् प्रसारण लाइन र आवश्यक सवस्टेशन निर्माणको कार्य सम्पन्न गर्ने योजना दीर्घकालीन महत्वको मात्र नभएर नेपालको अपार जलविद्युत् सामथ्र्य उपयोगमा कोशेढुङ्गा हुनेछ । अमेरिकी सरकारको करीब ५५ अर्ब अनुदान र हाम्रो १४ अर्ब हाराहारीको लगानीका साथ सम्पन्न हुने यस परियोजनाले राष्ट्रिय गौरवको योजनाको महत्व र हैसियत प्राप्त गरेको छ । आगामी पाँच वर्षभित्र यस आयोजनाको निर्माण कार्य पूरा भइसक्दा नेपालको अर्थतन्त्र, वैदेशिक व्यापार, भुक्तानी सन्तुलन र ऊर्जा उपयोगको तस्वीर नै बदलिने निश्चित छ ।” “मुलुकमा गरीबी छ, तर भोकमरीको अन्त्य गरिएको छ, यस वर्ष शीतलहर र जाडोबाट कसैले पनि ज्यान गुमाउनुपरेको छैन । भर्खरै भएको राष्ट्रियसभाको निर्वाचनबाट पनि समग्रहमा मतको सङ्ख्यामा सरकारको पक्षमा जनमत कायमै भएको देखाएको छ । यो तथ्य पनि हो”, प्रधानमन्त्री ओलीले भने । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको ४० वर्षपछि पुनःनिर्माण तोकिएको समयमै सम्पन्न भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले मुलुकका अन्य विभिन्न विमानस्थलको पुनःनिर्माण र स्तरोन्नति गरी रात्रिकालीन सेवासमेत शुरु गरिएको जानकारी गराए । मुलुकमा पेट्रोलियम पाइपलाइन तोकिएको समयमै निर्माण सम्पन्न भएको बताउँदै उनले सबै नेपालीको पुहँचमा टेलिफोन सेवा पुगेको, भूकम्पछिको पुनःनिर्माण तीव्ररूपमा अघि बढेको तथा बारा र पर्सामा टोनार्डो पीडित जनतालाई तोकिएको समयमै आवास निर्माण गरी हस्तान्तरण गरिएको बताए । प्रधानमन्त्री ओलीले सदनमा भने, “यस अवधिमा विद्यार्थी भर्ना दर शतप्रतिशत नजिक पुगेको छ । विद्यार्थीले विद्यालय छोड्ने दर कम भएको छ । स्वास्थ्य बीमा १५ जिल्लाबाट ३९ जिल्लामा विस्तार भएको छ । दक्षिण एशियामा नेपाल पहिलो खुला दिशामुक्त मुलुक भएको छ । काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनका लागि बन्चरेडाँडामा आगामी चैतभित्र सक्ने गरी ल्याण्डफिलसाइटको काम अघि बढेको छ । यी सबै उपलब्धि नै हुन् ।” ‘आफू भ्रष्टाचार गर्दिनँ र कसैलाई गर्न पनि दिन्न’ भन्दै आएको र सोहीअनुसार कार्य पनि गर्दै आएको अवगत गराउँदै उनले भ्रष्टाचार गर्ने कसैलाई नछोड्ने धारणा व्यक्त गरे । साथै प्रधानमन्त्री ओलीले अतिक्रमण भएका सार्वजनिक जग्गा फिर्ता ल्याउन सरकार लागिपरेको बताउँदै सरकारको कारवाहीपछि सुन तस्करी तहसनहस भएको छ भने । प्रधानमन्त्री ओलीले भने, “यो दुई वर्षमा राजश्व चुहावट, विनिमय अपचलन तथा अवैध हुण्डी कारोवारी एवं झुठा तथा नक्कली बिल जारी गर्ने कसूरमा कर्मचारी तथा विभिन्न फार्महरुसहित ७९५ जनाविरुद्ध २६ अर्ब सात करोड ९९ लाख रुपैयाँमा बिगो दाबी गरी अदालतमा मुद्दा दायर गरिएको छ ।” मातातीर्थस्थित नेपाल ट्रस्टको स्वामित्वमा रहेको करीब १७४ रोपनी जग्गामा भएको कानूनविपरीत मोही काण्डको तथ्य पनि सार्वजनिक भइसकेको उल्लेख गर्दै उनले भने, “केही व्यक्तिलाई लाभ पु¥याउने नियतका साथ ‘नीतिगत निर्णय लिनुपर्ने अवस्था भयो’ भन्दै २०६९ साल कात्तिक २ गते यस सम्बन्धमा नेपाल ट्रस्ट ऐन २०६४ को दफा (४) को उपदफा (२) र (३) विपरीत निर्णय भएको देखिन्छ । जसरी ललिता निवास प्रकरणमा राज्यको सम्पत्तिमा भएको अवाञ्छित दोहनको छानबिन गरी कारवाही अघि बढाइएको छ, यस काण्डको पनि सोही अनुरुप छानबिन हुन्छ ।” रासस

नालागुम्मालाई चेक रिपब्लिकको तर्फबाट एम्बुलेन्स र मेडिकल उपकरण सहयोग

काठमाडौं । चेक रिपब्लिक डेभलपमेन्ट को अपरेसनले नालास्थित धाग्पो शिडरब लिङ फाउन्डेसनलाई एउटा एम्बुलेन्स, विभिन्न मेडिकल उपकरणहरु र एउटा मालबाहकगाडी सहयोग गरेको छ । नेपालका लागि चेक रिपब्लिकका राजदूत मिलान होभोर्काले शुक्रबार एक समारोहबीच फाउन्डेसनका प्रतिनिधिलाई एम्बुलेन्स र मालबाहक गाडीको साँचो हस्तान्तरण गरेको हो । एम्बुलेन्समा आपतकालीन अवस्थामा काम लाग्ने अत्याधुनिक चिकित्सकीय उपकरणहरु समेत जडान गरिएको छ । चेक रिपब्लिकले स्पाइनबोर्ड, भ्याक्युम म्याट्रेस, अक्सिमिटर, आईभीलाइन, ट्रान्सपोर्ट स्ट्रेचर, अक्सिजन सिलिन्डर, सर्जिकल सेट, इक्ज्यामिनेसन बेड, मेच र प्राइभेसी बुथ लगायतका सामग्री हस्तान्तरण गरेको हो । सो अवसरमा नेपालका लागि चेक रिपब्लिकका अवैतनिक महावाणिज्यदूत विष्णुकुमार अग्रवालको पनि उपस्थिति थियो । ‘यो क्षेत्रमा आवश्यक रहेको एम्बुलेन्स उपलब्ध गराउन पाउँदा खुसी छौं । हामीलाई आशा छ, यो एम्बुलेन्सले नाला क्षेत्रका बासिन्दलाई समयमै अस्पताल पुग्न मद्दत गर्नेछ,’ हस्तान्तरण कार्यक्रममा राजदूत मिलान होभोर्काले भने, ‘यो हाम्रो सानै सहयोगले नेपाल र चेक रिपब्लिक र यहाँका जनताबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने अपेक्षा गरेका छौं ।’ त्यसैगरी, धाग्पो शिडरब लिङ फाउन्डेसनका प्रतिनिधि लेक्शे घलले सहयोग र साझेदारीका लागि चेक रिपब्लिकका जनता, चेक रिपब्लिक डेभलपमेन्ट कोअपरेसन र चिकित्सकीय क्षेत्रमा काम गर्ने चेक संस्था मेडेभ्याकप्रति कृतज्ञता प्रकट गरे । ‘एम्बुलेन्सलाई गुम्बाका विद्यार्थी मात्रहोइन, नालामा बसोबास गर्ने जोसुकै बिरामीलाई अस्पताल पु¥याउन प्रयोग गरिनेछ’ उनले भने । नाला क्षेत्र सुविधा सम्पन्न अस्पताल भएको काठमाडौं र धुलिखेल दुवै स्थानबाट करिब २० किलोमिटर टाढा पर्छ । यहाँबाट सार्वजनिक यातायातमा सुविधा सम्पन्न अस्पतालमा पुग्न करिब दुई घन्टा लाग्छ जसले गर्दा बिरामीको ज्यानजाने जोखिम रहन्छ । चेक रिपब्लिकले नयाँ एम्बुलेन्सले बिरामीलाई राम्रो अस्पतालमा समयमै पु¥याउन सहयोग गर्ने अपेक्षा गरेको छ । नेपाल र नेपालीको जीवनस्तर अभिवृद्धि गर्न चेक रिपब्लिक डेभलपमेन्ट कोअपरेसनले विभिन्न परियोजनाहरु संचालन गर्दै आएको छ । यो संस्थाले विशेषगरी, शिक्षा, स्वास्थ्य, सरसफाई र खानेपानीको क्षेत्रमा काम गर्दै आएको छ ।

काठमाडाैंकाे तापक्रम निरन्तर बढ्दो क्रममा

काठमाडाैं । काठमाडौं उपत्यकासहित देशभर पछिल्ला केही दिनयता तापक्रम बढिरहेको छ । तापक्रम निरन्तर बढ्दो क्रममा जारी रहेसँगै  मौसमी प्रणाली विकसित नभए तापक्रम विस्तारै बढ्दैँ जाने मौसमविद् मिनकुमार आर्यालले बताए । फेब्रुअरीको अन्त्यसम्म मात्र तापक्रम घट्ने मौसविद्को भनाइ छ । “जाडो मौसमको अन्यतिर बिहान बेलुका बढी चिसो महसुस हुने र दिउँसोको समयमा गर्मी हुने हुन्छ,” मौसमविद् आर्यालले भने । उपत्यकासहित देशका अन्य भेगमा पनि पछिल्ला दिनमा दिउँको समयमा गर्मी महसुस गरिएको छ । अहिलले देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू–भागमा आङ्शिकदेखि सामान्य बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्युनतम तापक्रम छ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २१ दशमलव आठ डिग्री सेल्सियस रहेको छ । त्यस्तै दिपालयको न्युनतम तापक्रम नौ दशमलव आठ डिग्री र अधिकतम तापक्रम २९ दशमलव एक डिग्री सेल्सियस, धनगढीको न्यूनतम तापक्रम १० दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २० दशमलव शून्य डिग्री सेल्सियस, सिमराको न्युनतम तापक्रम १० दशमलव छ डिग्री र अधिकतम तापक्रम २६ दशमलव दुई डिग्री सेल्सियस छ । रासस

सीमान्तकृत जनताको खाद्यान्नमा पहुँच पुगेको छ प्रदेश प्रमुख ‘प्यासी’

काठमाडौं । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रदेश सरकारले शिक्षा, स्वास्थ्य र विकासका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको बताए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आयोजित प्रदेश नंं १ को सरकारको दोस्रो वार्षिकोत्सव समारोहमा सरकारले हासिल गरेको प्रगतिको संक्षिप्त किताब विमोचन गर्दै उनले सरकारले मुख्यमन्त्री युवा उद्यमशीलता तथा सीमान्तकृत जनताको खाद्यान्नमा पहुँच पुयाउनु सरकारको ठूलो उपलब्धि  रहेकाे  जानकारी दिएकाे छ । प्रदेश प्रमुख अधिकारीले शान्ति सुरक्षा र शिक्षामा सूचना प्रणालीले सरकारको काममा पारदर्शिता बढेको चर्चा गर्दै लोकतन्त्रिक मूल्यमान्यातामा आधारित समाजवादोन्मुख सरकारको नीति तथा कार्यक्रमले प्रदेशका जनता सुखी एवं समुन्नत बन्ने विश्वास व्यक्त गरे । नेपाल भ्रमण वर्ष २०२० मा प्रदेश सरकारले लिएको अपेक्षा पूरा हुने विश्वास व्यक्त गर्दै प्रमुख अधिकारीले जनताको आवश्यकता, समानता र समतामूलक समाज निर्माण गर्न प्रदेश सरकार अघि बढिरहेको आफूले पाएको बताए । मुख्यमन्त्री शेरधन राईले संरचनाविहीन अवस्थामा खडा भएको प्रदेश सरकारले विभिन्न चुनौती, अप्ठ्यारालाई पार गर्दै अवसरको रुपमा प्रयोग गरेको भन्दै केन्द्रित शासन स्थानीय तहमा पुगेको चर्चा गर्दै प्रदेश संरचना व्यवस्थित हुनु पर्ने बताए । सरकार सुदूरभविष्यका लागि दीर्घकालीन योजना र कार्यक्रमका साथ अघि बढिरहेको बताउँदै ७३० दिनमा सरकारले ठूलो उपलब्धि हासिल गरेको धारणा राखे । जनताका असीमित चाहनालाई पूरा गर्न पर्याप्त समय भए पनि जनताका न्यूनतम आवश्यकता प्रदेश सरकारले सम्बोधन गरेको छ भन्दै मुख्यमन्त्री राईले सङ्घीयता कार्यान्वयनका लागि प्रदेश सरकारले ३९ वटा कानून बनाइसकेको जानकारी दिए । उनले प्रदेश राजधानी तोक्नु, स्वीस सरकारको एक अर्ब रुपैयाँ अनुदान सहयोग प्राप्त गर्नु, आयोजना बैंक स्थापना गरी २६ परियोजना समावेश हुनु सरकारको ठूलो उपलब्धि भएको जनाएका छन् । मुख्यमन्त्री राईले सहमति र सहकार्यको अनुपम नमूना प्रदेश सरकारले देखाएको चर्चा गर्दै आगामी वैशाखमा लगानी सम्मेलन गर्नलाई सरकारले तयारी गरिरहेको जानकारी दिए । उनले सरकारले सन्तुलित विकास नीतिलाई अपनाएको प्रसङ्ग उल्लेख गर्दै २७ किमी बाटो कालोपत्र भएको, १२९ किमी ग्राभेल बाटो बनेको र १० मोटरेबल पुल निर्माण हुनु खुशीको कुरा हो भने । जनता आवास कार्यक्रमअन्तर्गत १७१ घर निर्माण भएको र विकासमा २५ प्रतिशत खर्च हुनु सकारात्मक हो भन्दै मुख्यमन्त्री राईले विकास र सुशासनमा जनताको भरोसा बढाउने धारणा राखे। उनले स्वस्थ एवं वस्तुनिष्ठ आलोचनालाई प्रदेश सरकारले स्वागत गर्ने भन्दै विकास र समृद्धिको यात्रामा सबैले सहयोग गर्नुपर्ने अपिल गरे । मुख्यसचिव दिनेश भट्टराईले प्रदेश सरकारले दुई वर्षको अवधिमा रचनात्मक काम गरेको र यसबाट प्रदेश सरकारप्रति जनताको विश्वास बढेको जानकारी दिए । रासस

मानव कर्मचारीभन्दा रोबोटसँगको सामिप्यतालाई बढी रुचाउँदै बिरामीहरु

काठमाडाैं । श्रम बजारमा योगदान गर्न सक्ने उमेर समूहको सिमित उपलब्धता तथा बुढ्यौलीमा प्रवेश गरिरहेका जनसंख्यामा आएको वृद्धिका कारण जापानका अस्पताल एवं विविध स्वास्थ्य केन्द्र, कार्यालय, शैक्षिक संस्थाहरु तथा अन्य विभिन्न क्षेत्रहरुमा रोबटको प्रवेश बढ्दो छ । समान समस्यासँग जुधिरहेका अन्य राष्ट्रहरुले जापानले के सिक्न सक्दछ ? जापानको सिनागावा, टोकियोस्थित एक विशालएवं सानदार स्वास्थ्य स्याहार केन्द्रको लञ्च ब्रेक समयको दृष्य हो यो । कार्यालयका केहि कर्मचारीहरु खानाखान बाहिरीरहेका छन् भने अन्य केहि कर्मचारीहरु खाना खाइसकेर कार्यालयतर्फ भित्रिरहेका छन् । आकर्षक सिसाको द्धारभित्र प्रवेश गरि रहँदा उनीहरुले प्रवेश स्थलमा ईमान्दारीतापूर्वक पूर्ण मौनताका साथ सबै कुराको निरिक्षण गरिरहेका दुईजना सुरक्षा गार्डलाई कटेर अगाडी बढिरहेका छन् । यदि तपाईँले यी सबै नियाली रहनु भएको छ भने अहिलेसम्मको कुनै पनि दृष्य तपाईँलाई असाधारण नलाग्न सक्छन् जबसम्म कम्पनीमा नियमित रुपमा पहरा दिन उभिरहेको ती दुईमध्ये एक पहरेदार रोबाेट भएको तपाईँले खुट्याउन सक्नुहुन्न । सर्सस्ती हेर्दा ठ्याक्कै मानवझैँ देखिने यस अमानव पहरेदारको नाम ‘उगो’ हो । प्रहरीले लगाउने नीलो क्यापमा सजिएको र खुट्टातर्फको भागमा चक्का जडित यस रोबोटको जम्मा उचाइ औसत मानिसको झैँ पाँच फिटको छ । करिब आधा कार्यालय दिनसम्म धान्ने ब्याट्रिले प्रदान गरेको ‘जिवनशक्ति’ को आडमा हेर्दा माया लाग्दो उगोले प्रत्येक दिनद्धारपालको काम गर्नेमात्र नभइ हरेक दुई घण्टाको अन्तरालमा कार्यालयको नियमित चौकीदारी (पट्रोलिङ्ग)पनि गर्दछ । यसका अलावायस अमानविय यन्त्रले आवश्यक बटन दबाएर कार्यालयको लिफ्ट पनि दक्षता पूर्बक संचालन गर्दछ । प्रायजसो उगोको डिजिटल अनुहारमा देखिने कार्टुनको जस्ता दुईवटा ठूल्ठूला निला आँखा कार्यालय समयभित्र भने जापानीज भाषामा लेखिएको ‘अन ड्यूटी’लिपिले प्रतिस्थापित हुने गर्दछ । ‘तपाईं’ त्रसित वा सशंकित नहुनुहोस् भनेर रोबोटलाई आकर्षक देखिनु महत्वपूर्ण छ,” उगोको निर्माता स्टार्ट अप कम्पनी मिरा रोबोटिक्सका प्रमुख कार्यकारी अधिकृत केन मात्सुई भन्छन् । हालका लागि पुलिस बोट मिरा रोबोटिक्सले जापान भित्र निर्माण गरेको रोबोटको मात्र दुईमध्ये एक महत्वपूर्ण नमूना संस्करण हो जसको इनबिल्ट क्यामराले सुरक्षा गार्डहरुलाई रोबोटको दृष्टिकोणमार्फत सुरक्षा वा बाहिरी परिवेशको निरिक्षण गर्न सघाउ पुर्याउँदछ । तथा पीमात्सुईले उनको कम्पनीद्धारा निर्मित रोबोट उत्पादनमा चीनिँया तथा दक्षिण कोरियाली कम्पनीहरुले चासो देखाएको जनाएका छन् र उनीहरु यस्ता रोबोटलाई व्यक्तिगत आवास तथा विद्यालयहरुको सरसफाइको काममा खटाउन इच्छुक छन् । सन् २०२० को गृष्मकालीन ओलम्पिकका लागि गत वर्ष प्रसिद्ध कार उत्पादक टोयोटाले सार्वजनिक गरेको राबोट । सो खेलको क्रममाजापानी अटोमोबिलले मावन सहायतामा संचालितहुने रोबोटको पनि उत्पादन गर्ने जनाएको छ। पत्रपत्रिका, विश्लेषक तथा राजनीतिज्ञहरुले पछिल्लो समय मानिसलाई जागिर क्षेत्रबाट बिस्थापित गर्ने रोबोटको निर्माणमा क्रान्ति आएको चेतावनी दिएता पनि रोबोट निर्माताहरुले भने उनीहरुको श्रृजनाले मानिसलाई जागिरक्षेत्रबाट बाहिर्याउने नभई उल्टै मानिसको परिपूरकको रुपमा योगदान गर्ने स्पष्ट पारेका छन् । जापानमा रोबोटको उपस्थिती कुनै आश्चर्यको विषय हैन । पछिल्लो समयत झन् धेरैभन्दा धेरै क्षेत्र तथा बर्गले रोबोट यूगलाई सहर्ष स्विकारिरहेका छन्, चाहे त्यो उपनगर क्षेत्रमा अवस्थित नरसिङ्ग होमहरु हुन् या अबको केहि वर्षभित्र रोबोटको निर्माणमा १०० अर्ब येन (करिब १० करोड अमेरिकी डलर) खर्च गर्ने घोषणा गरिसकेको जापानी सरकार नै किननहोस् । यतिसम्म कि कति कम्पनी वा कार्यालयहरुले त नयाँ कर्मचारी नियुक्ती गर्ने प्रक्रियालाई छिटो वा प्रभावकारी बनाउन तथा उत्कृष्ट मानव शंसाधन हासिल गर्नका लागि रोबोटीक सहकर्मीको प्रलोभन समेत देखाउन थालेकाछन् । सन् २०२० को ओलम्पिक टोयोटाजस्ता कम्पनीहरुले खेल हेर्न आउने दर्शकसँग अन्तरक्रिया गर्ने तथा खेलाडी तथा प्रतिपर्धीहरुलाई विभिन्न कार्यमा सहायता गर्ने मावनको स्वरुपतथा स्वभावसँग मिल्ने रोबोटको उत्पादन तथा प्रदर्शनी गर्ने मञ्चको रुपमा लिइरहेको अवस्थामा यति बेला जापानले विश्वकै ध्यान आकर्षित गरिरहेको छ। र यहाँनिर चाख लाग्दो कुरा के छ भने संसारभरी नै बढ्यौलीमा प्रवेश गरिरहेका जनसंख्यादरमा आएको वृद्धि तथा बढ्दो स्वसंचालनको प्रक्रिया (अटोमेसन) को कारण आजको जापानको रोबोटमैत्री बर्तमान बाँकी विश्वको भविष्य हुन सक्ने वास्तविकतालाई नकार्न सकिन्न । यस पुलिस रोबोटले विभिन्न कोठामा रहेका मानव निरिक्षकहरुका लागि कान र आँखाको काम गर्दछ । चीन तथा दक्षिण कोरियाजस्ता राष्ट्रहरुले यस्तो प्रविधीमा चासो देखाएका छन् । बुढ्यौली उन्मुख जनसंख्या, नयाँ प्रविधी टोकियोस्थित सिल्भर विङ्ग नरसिङ्ग होमको साझाकक्षमा करिब दुई दर्जन बृद्धबृद्धा बसिरहेका छन् । कोठाको बिचमा उनीहरुलाई समूह खेल तथा ब्यायाम अभ्यास सिकाउनको लागि एकजना कर्मचारीका साथसाथै ‘पिपर’नाम गरेको एउटा रोबोट उभिएको छ । पिपर “सहिपात्र चिन्नुहोस्” नामक खेल खेलाउन तयार छ जसअन्तर्गत कोठामै एउटा ठूलो पर्दामा देखाइएका चीनिँयापात्रहरुमध्ये पिपरको निर्देशनअनुसार बृद्धबृद्धाहरुले ठूलो आवाजमा सहि पात्र को हो चिन्नुपर्नेछ । यस नरसिङ्ग होममा भर्ना भएका अधिकांश बृद्धबृद्धाहरु डिमेन्सिया रोगबाट पिडित छन् । “डिमेन्सिया रोगी बृद्धबृद्धाहरुलाई उनीहरु अहिले कहाँ छन् र उनीहरुले मानव कर्मचारी वा रोबोटमध्ये कोसँग संवादगरिरहेका छन् भनेर हामी सोधिरहेका छाैं,” सिल्भर विङ्गका निर्देशक किमियाइ सिकावा भन्छन्, “भर्ना भएका हरेक ब्यक्तिको ब्यक्तिगत जानकारी सम्झन मानव कर्मचारीहरुलाई निकै गाह्रो हुने भएकोले हामीले यहाँ गैरमानव यन्त्रको प्रयोग गरेका हाैं ।” त्यसो त नरसिङ्ग होमको यस साझा कक्षमात्र हैन जहाँ रोबोटलाई काममा लगाइएको छ । अस्पतालको माथिल्लो तल्लामा मानव कर्मचारीहरुले रोबोटिक एग्जोस्केल्टनलाई प्रयोगमा ल्याएका छन् जुन शरिरको कम्मर वा ढाडको पछाडीको तल्लो भाग अलचिलो वा कठोर भएर हिँडडुल वा बस्न तथा सुत्न अप्ठेरो भएका बिरामीहरुको सहजताको लागि प्रयोग गरिन्छ । “बुढौलीतर्फ उन्मुख जनसंख्यामा वृद्धि, न्यून सन्तान उत्पादन दर र परिणाम स्वरुप घट्दो जनसंख्याको कारण जापानले बृहत जनसांख्यिकिय चुनौतीको सामना गरिरहेको छ । यसले जापानमा रोबोट वा स्वचालित प्रविधीको प्रयोगलाई बढावा दिएको छ जुन समान समस्याबाट गुज्रिरहेको पश्चिमा राष्ट्रहरुका लागि राम्रो शिकाइको राम्रो अवसर हुनसक्दछ,” नर्वेको सेन्टर फर टेक्नोलोजी र सोसाइटीका रोबोट सोधकर्ता, रोजर ए सोरा भन्छन्, “बृद्धबृद्धा स्याहार केन्द्र तथा अस्पतालहरुमा स्वास्थ्य सेवा कर्मचारीहरुको गम्भिर कमी देखिनथालेको छ । यिकामगर्नका लागि पहिलेको जस्तो पर्याप्त मानव जनशक्तिको अभाव रहेको छ ।” ह्योगो नरसिङ्ग होमले ‘बकबके पारो’ नाम गरेको सहित अन्य धेरै रोबोटलाई काममा लगाएको छ । यहाँ भर्ना भएका बिरामीहरु बकबके पारोलाई खुब मन पराउँछन् किनकी यो सुन्दर र सफा छ, उसले मानवझै“ खानाको अपेक्षा राख्दैन भने उससँगको भौतिक अन्तरक्रियाले बिरामीहरुमा एलर्जी पैदा गराउँदैन । तथापी यस नरसिङ्ग होममा सबैभन्दा धेरै चर्चित रोबोटको संस्करण भनेको टेलेनोइड हो । झट्ट हेर्दा बच्चाजस्तो देखिने यस रोबोटको खुट्टा छैनन्, छन् त केबल सानाहातहरु । कर्मचारीहरुले एकै स्थानमा बसेर विभिन्न स्याहार कोठामा रहेका बिरामीहरुसँग यसै रोबोटको सहाराले संवाद गर्दछन् । नरसिङ्ग होममा २७ वर्षदेखि कार्यरत एक कर्मचारी मिनामीओकाबेले जसै टेलेनोइडमार्फत जापानीलोक संगीत बजाउँछन्, तब डिमेन्सियाबाट ग्रसित एक बृद्धा बिरामीले सो रोबोटलाई आफ्नाे अंगालोमा बाँध्न थाल्छिन् । बच्चालाई जस्तो काखमा राखेर चम्किोलो मुहार लगाउँदै ती बिरामी बृद्धा भन्छिन्, ‘एक पटकफेरी गीत गाउन, बाबु ।’ ओकाबेलेले अधिक समय चुपचाप बस्ने यी बिरामी बृद्धा टेलेनोइडसँग गफ गर्न रमाउने बताउँछन् । “यस्तो देख्दा हामीलाई पनि रमाइलो लाग्दछ,” उनी भन्छन्, “बिरामीहरुले रोबोटसँग हामी मानव कर्मचारीहरुसँग भन्दा छुट्टै तरिकाले ब्यवहार गर्छन् ।” कतिपय अवस्थामा त बृद्ध बिरामीहरुले मानव कर्मचारीसँगभन्दा रोबोटसँगको  सामिप्यतालाई बढी रुचाएका छन् । अन्य राष्ट्रहरु भन्दा जापानमा बुढ्यौलीतर्फ उन्मुख जनसंख्याको दर तीव्र भएको कारण त्यहाँको सरकारले रोबोटको विकासलाई प्राथमिकतामा राखेको बीबीसीले जनाएको छ । आफ्नै स्वरुपको नक्कल गरी रोबोट निर्माण गरेर बिख्याती कमाएका हिरोसी इसिगुरोले जापानमा चाँडै नै सबैतिर रोबोटिक समाधान लागू हुने बताएका छन् । सिल्भर विङ्गकाइ सिकावाले मानिसहरुमा आएको स्वास्थ्य परिवर्तन तथा सोका लागि आवश्यक स्याहारका विधीमा आउने परिबर्तनलाई पहिचान गर्ने वा प्रक्षेपण गर्नसक्ने क्षमता सहितको सामाजिक रोबोेटको निर्माणका लागि प्रमुख अनुसन्धान अघि बढिरहेको बताए । उदाहरणको लागि, डिमेन्सियाका बिरामीमा आएको सुधारलाई पहिचान गर्न मानव स्वास्थ्य स्याहारकर्ता र बिरामीबीचको संवादलाई रेकर्ड गर्ने रोबोटले गम्भिर संकेतहरुको पनि अवलोकन गर्ने र आर्टिफिसीयल इन्टेलिजेन्सको प्रयोग गरी सो तथ्यांकको लक्षणसम्बन्धी सुरुवाती डाटावेससँग तुलना गर्ने, रोगको सुरुवाती तथा बर्तमानको अवस्थाबिचको सहसम्बन्ध निकाल्ने तथा रोग झन् बिग्रेर जाने जोखिमयुक्त सम्भावनाको गणना गर्ने ।

प्रादेशिक सडक सञ्जाल तथा प्राथमिकतामा ९७ अर्ब ४१ करोड लागत गुरूयोजना तयार

काठमाडौं । प्रदेश नं २ को सरकारले प्रदेश लोकमार्गको वैज्ञानिक व्यवस्थापनका लागि प्रादेशिक सडक सञ्जाल गुरूयोजना तथा प्राथमिकतामा आधारित लगानी गुरूयोजनाको अवधारणा एवं मस्यौदा तयार गरेको छ । प्रदेश सरकारको प्रादेशिक सडक ऐनमा आधारित सो योजना प्रदेशमा भएका सङ्घीय सडकलाई अलग्याएर अन्य सडकको पहिचान र वर्गीकरणसमेत गरेको छ । योजनाअन्तर्गत प्रदेश लोकमार्ग, प्रदेशको सहायकमार्ग र प्रदेश अन्य सडक भनी वर्गीकरण गरी १५ वर्षभित्र (२०७७ देखि २०९१ सम्म) प्रदेशमा तीन हजार ३९२ किलोमिटर सडक निर्माणको मस्यौदा तयार गरिएको छ । सो अवधिमा प्रदेशभित्र प्रादेशिक लोकमार्ग एक हजार ४९७, सहायक लोकमार्ग एक हजार २६१ र अन्य सडक ६३४ किलोमिटर निर्माणको प्राथमिकतामा आधारित लगानी गुरूयोजना रहेको छ । अवधारणाअनुसार प्रदेश लोकमार्गअन्तर्गत सङ्घीय सरकारको रणनीतिक, योजनामा नपरेका, राष्ट्रिय लोकमार्गबाट जिल्ला सदरमुकाम जोड्ने, प्रदेशभित्र एक जिल्ला सदरमुकामबाट अर्को सदरमुकाम जोड्ने र दुई राष्ट्रिय लोकमार्ग जोड्ने सडक रहने जनाइएको छ । त्यस्तै प्रदेश सहायक लोकमार्गमा राष्ट्रिय लोकमार्ग वा प्रादेशिक लोकमार्गबाट स्थानीय तहको केन्द्र जोड्ने, जिल्ला सदरमुकामबाट स्थानीय तहको केन्द्र जोड्ने, दुई वा दुईभन्दा बढी स्थानीय तहको केन्द्र जोड्ने र राष्ट्रिय लोकमार्गबाट धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्वका स्थल जोड्ने सडकलाई राखिएको छ । दुई वा दुईभन्दा बढी पालिका जोड्ने सडकलाई प्रदेशका अन्य सडकअन्तर्गत समावेश गरिएको छ । भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलका अनुसार प्रदेशको आर्थिक दिशामा कोशेढुङ्गा सावित हुने सो योजनाको अवधारणाअनुरूप ९७ अर्ब ४१ करोड लागतको गुरूयोजना रहेको छ । योजना सम्पन्न गर्न तीन वटा पाँच वर्षीय अवधिको चरणमा हुने अवधारणा लिइएको छ र हरेक सडकलाई एकैचौटी स्तरोन्नति गर्न नसकिने हुँदा उच्चस्तरको लोकमार्गको माथिल्लो भागमा परेका सडक प्रथम पाँच वर्षमा स्तरोन्नतिका लागि छानिने योजना रहेको मन्त्री सोनल बताए । पहिचान भएका करीब तीन हजार ४०० सडकका लागि २१६ पुलको आवश्यकता हुने र सोका लागि १० अर्ब ५३ करोड रुपैयाँ लागतको अनुमान गरिएको छ । तथ्याङ्कका आधारमा प्रति १५.७ किलोमिटर सडकका लागि एउटा पुल र सो पुलको लम्बाइ ३६.१ मिटर हुने एवं त्यसको लागत प्रतिमिटर १३ लाख ५० हजारको रहेको जनाइएको छ । रासस

पाटन विमानस्थलमा कालोपत्र सम्पन्न, ११ करोड २९ लाखमा लागतमा निर्माण

काठमाडौं । दुई दशकभन्दा बढीदेखि बन्द रहेको पाटन विमानस्थल सञ्चालनको पर्खाइमा रहेको छ । सरकारले भ्रमण वर्ष मनाइरहेकै बेला सुदूरपश्चिमको दोस्रो ठूलो बैतडीको पाटन विमानस्थलमा कालोपत्र सम्पन्न भएसँगै सञ्चालनको पर्खाइमा रहेको हो । गत माघ १२ गते विमानस्थलमा कालोपत्र गर्ने कार्य सम्पन्न भएको थियो । सरकारले सन् २०२० लाई भ्रमण वर्षका रुपमा मनाइरहेको छ । एक वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्ष घोषणा गरिएको हो । कालोपत्रे सम्पन्न भएसँगै विमानस्थल सञ्चालनमा ल्याउन सके यसले भ्रमण वर्षलाई सहयोग पुग्ने स्थानीयवासी वसन्त विष्टको भनाइ छ । उनले भने, “पर्यटक भित्र्याउन विमानस्थल सञ्चालनले सहयोग पुग्ने देखिन्छ ।” पर्यटकलाई आकर्षित गर्न सकिने पाटन विमानस्थल कैलालीको गेटा विमानस्थलपछिको सुदूरपश्चिमको दोस्रो ठूलो विमानस्थल हो । नेपाल सरकारले घोषणा गरेको दश नमूना शहरमध्येको एक शहरमा पर्ने पाटनमा रहेको विमानस्थल सञ्चालन हुन सके यस क्षेत्रका पर्यटकीय गन्तव्यमा पर्यटकलाई आकर्षित गर्न सकिने विश्वास गरिएको छ । सुदूरपश्चिमको पहाडी जिल्ला बैतडी, दार्चुला, डडेल्धुरा र बझाङ जिल्लाको मध्यभागमा पर्ने पाटन बैतडीको मिनी सदरमुकाम भनेर परिचित छ । पर्यटकीय आकर्षणको मुख्य केन्द्रबिन्दु रहेको नेपालकै गहिरो गुफा पत्ताल भुवनेश्वर, उदयदेव मन्दिर, त्रिपुरासुन्दरी, निङ्गलाशैनी मन्दिर, ईश्वरी गङ्गा धाम, मेलौली भगवती मन्दिर, दोगडा धाम, रौलाकेदार मन्दिर, सिगास धामलगायतका क्षेत्रमा पर्यटक भित्र्याउन सकिन्छ । पाटन विमानस्थल सञ्चालन भएमा दार्चुलाको अपि हिमाल, बझाङको साइपाल हिमाल, बैतडी र डडेल्धुराका धार्मिक पर्यटकीय क्षेत्रमा पर्यटक भित्र्याउन सजिलो हुने स्थानीयवासी कपिल केसीले बताए । उनले भने, “विमानस्थल सञ्चालन भएमा यस क्षेत्रको धार्मिक पर्यटनको समेत विकास हुनेछ ।” विमानस्थललाई सञ्चालनमा आएपछि बैतडीसहितका जिल्लाको धार्मिक पर्यटकीय क्षेत्रको महत्व बढ्ने तथा सुदूरपश्चिमका जनताको जीवनस्तरमा परिवर्तन आउने पाटनका व्यवसायी दिनेश विष्टको भनाइ छ । “विमानस्थल पुनः सञ्चालनपछि ओझेलमा परेका पर्यटकीय क्षेत्रका विकासमा टेवा पुग्नेछ”, उनले भने, “व्यापार व्यवसाय पनि फस्टाउने र भारतसँग सीमा जोडिएकाले भारतीय पर्यटकसमेत भित्र्याउन सकिन्छ ।” बैतडीमात्रै नभएर दार्चुला, डडेल्धुरा र बझाङका लागि समेत पाटनबीचमा पर्ने भएकाले यो विमानस्थल सञ्चालन भएमा प्रदेश नं ७ का पहाडी जिल्लाका नागरिक लाभान्वित हुने स्थानीय छविराज जोशीले बताए। दार्चुलाको अपि हिमाल, बझाङको साइपाल हिमाल, बैतडीका धार्मिकस्थलको अवलोकन गर्ने पर्यटकलाई भित्र्याउनसमेत बैतडीमा रहेको विमानस्थल पाटन सञ्चालन गर्नु आवश्यक रहेको उनको भनाई छ । लक्ष्यभन्दा १८ महिनापछि सम्पन्न विमानस्थल कालोपत्र गर्ने कार्य लक्ष्यभन्दा झण्डै १८ महिनापछि सम्पन्न भएको छ । विसं २०७५ असारमा सक्ने लक्ष्यसहित कालोपत्र गर्ने कार्य शुरु भएको भए पनि ढिलो गरी सम्पन्न भएको हो । विसं २०७३ को चैतमा सम्झौता भएर विमानस्थल पुनःनिर्माणको काम शुरु भएको थियोे । सम्झौता शुरु भएपछि बन्द हडतालले ढिला गरी काम शुरु भएको थियो । यसका साथै काम शुरु भएपछि पनि निरन्तरको वर्षाले काम प्रभावित भएको निर्माण कम्पनीले जनाएको छ । ग्याल्वा च्यामलिंगा जगदम्बा जेभीले पाटन विमानस्थल कालोपत्र गर्ने कार्य गरेको हो । कालोपत्रे गर्ने कार्य सम्पन्न भएको र अहिले किनारमा पेन्टिङको काम चलिरहेको निर्माण कम्पनीका इञ्जिनीयर पुरन रावलले बताए । उनले भने, “केही दिनमै हस्तान्तरणको प्रक्रियामा जानेछौँ ।” विमानस्थलमा ५ सय ९० मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग कालोपत्र गरिएको हो भने ७० मिटर लम्बाइ र ३० मिटर चौडाइको एप्रोन कालोपत्र गरिएको हो । यसका लागि करिब मूल्य अभिवृद्धि करबाहेक ११ करोड २९ लाख रुपैयाँको लागतमा ठेक्का सम्झौता भएको थियो । विमानस्थल कालोपत्र भएपनि तत्काल सञ्चालन हुने अवस्था देखिएको छैन । टर्मिनल भवन निर्माण नभएकाले तत्काल विमानस्थल सञ्चालन आउन नसक्ने बताइएको छ । टर्मिनल भवन निर्माण, पर्खाल र नालीका लागि ठेक्कासमेत भएको छैन् । त्यसकारण विमानस्थल कालोपत्र भए पनि तत्काल सञ्चालन नआउने बताइएको छ । पाटनमा २०३२ सालमा विमानस्थल निर्माणको काम शुरु भएर २०३५ सालदेखि हवाई सेवा शुरु भएको थियो । २०५२ सालदेखि विमानस्थल बन्द भएको थियो । रासस

अन्तर्राष्ट्रिय व्यापार मेलाहरु भटाभट रद्द, आयोजकलाई करोडाैं डलर नोक्सान

काठमाडौं । हरेक वर्ष स्पेनको बार्सिलोनामा संचालन हुने मोबाइल वर्ल्ड कँग्रेसको स्थगन भएको छ । फेब्रुअरी महिनाको अन्त्यमा हुन लागेको यस मेलाको क्रममा संसारकै ठूला मोबाइल फोन तथा अन्य विद्युतीय समाग्री तथा प्रविधि निर्माता कम्पनीहरु बिटी, एरिक्सन, फेसबुक, एलजी, नोकिया, सोनी, सामसुङ र भोडाफोन लगायतले आ-आफ्ना नविन उत्पादन तथा अवधारणालाई सार्वजनिक गर्दै असंख्या उपभोक्ताहरुलाई लोभ्याउने योजनामा थिए । आधुनिक प्रविधि सम्बन्धी करिब २८ सय अन्तर्राष्ट्रिय कम्पनीहरुले आफ्नो पृथक उत्पादनलाई प्रर्दशनी गर्ने यस महामेलामा हरेक वर्ष करिब छ हजार चीनिँयासहित विश्वभरीका एक लाखभन्दा बढी मानिसहरुले सहभागिता जनाउँदै आएका थिए । फेब्रुअरी २४ देखि २७ सम्म चल्ने मोबाइल संचारसँग मुख्य रुपमा सम्बन्धीत यस चार दिने प्रदर्शनीको स्थगनको कारण करिब चार करोड २९ लाख यूरोको क्षति हुने तथा लगभग १४ हजार एक सय अल्पकालीन रोजगारी गुम्न सक्ने एक अन्तर्राष्ट्रिय वेबसाइटले अनुमान गरेको छ । सोनी, एलजी, अमेजन, फेसबुक, नोकिया, एलजी, भोडाफोन र एचएमडीजस्ता ठूला कम्पनीहरुले कोरोना भाइरसको कारण यस वर्ष प्रदर्शनीमा सहभागीता जनाउनबाट अस्वीकार गरेपछि मेला आयोजक जीएसएम एसोसियसनले मेला आयोजना गर्न ‘असम्भव’ भएको बताएको हो । मेला स्थगित भएको घोषण गर्दै एसोसियसनका प्रमुख कार्याकारी अधिकृत जन हफम्यानले, “बार्सिलोनाको सुरक्षित तथा स्वस्थ वातावरणलाई ध्यानमा राख्दै तथा कोरोना भाइरसको प्रकोपपश्चात यात्रा सम्बन्धी सरोकार तथा अन्य परिदृष्यलाई विचार गर्दै यस वर्षको मोबाइल वल्र्ड कँग्रेसलाई स्थागित गरेको” बताए । मेला आयोजनाको स्थगन हुँदा विश्वका ठूला कम्पनीहरुलाई अप्ठेरो पर्न सक्ने विश्लेषण आइरहँदा कति कम्पनीहरुले भने बजारमा ल्याउनका लागि तैयारी अवस्थामा राखेका उत्पादनहरुलाई ‘आफ्नै तरिका’ले सार्वजनिक गर्ने जानकारी दिएका छन् । उदाहरणको लागि सोनीले उसको ल्यागसिप मोबाइलको नयाँ संस्करण एक्सपेरिया–२ लाई यूट्युब भिडियोमार्फत पत्रकार सम्मेलन गरी सार्वजनिक गर्नेछ । कोरोना भाइसरको कारण स्थगित भएको अर्को ब्यापार जमघट सिस्को लाइभ पनि हो । “कोरोना भाइरससम्बन्धी हाल कायम विश्वब्यापी सरोकारका कारण मार्च महिनाको ३ देखि ६ तारिकसम्मका लागि तोकिएको सिस्को लाइभलाई हालका लागि स्थगित गर्ने कठिन निर्णय गरिएको छ,” सिस्को लाइभको आधिकारी वेबसाइटमा लेखिएको छ । मेलबर्नमा हुन लागेको यस कार्यक्रममा करिब आठ हजार पाँच सयजति सहभागीहरु भेला हुने अपेक्षा गरिएको थियो । अमेरिकी नेटवर्किङ कम्पनीहरुको यस वार्षिक जमघटमा आयोजकले आफ्ना ग्राहक तथा सहभागीहरुलाई इञ्जिनियर तथा एग्जुक्युटिभ्सहरुसँग अन्तरक्रिया गराउने र तालिम तथा मनोरञ्जनात्मक शत्रहरु संचालन गर्ने गर्दछन् । त्यसैगरी यस वर्षको मार्चमा स्विटजरल्याण्डको बसेलमा आयोजना हुन लागेको बसेल फेस्टिबल पनि रद्द भएको छ । खाना, मनोरञ्जन, साइट सिईन, संस्कृति एवं गीत तथा संगीतको मिश्रणको रुपमा रहने यस कार्यक्रममा विश्वभरीका हजाराै पर्यटकहरुको सहभागीता रहने गर्दछ । “टाइम टू मुभ” शिर्षक दिइएको फेब्रुअरी अन्त्यका लागि जूरिचमा आयोजना हुने तय भएको वाच फेयर (घडीसम्बन्धी ब्यापार प्रदर्शनी) पनि कारोना भाइरसको कारण प्रभावित भएको छ । नविन, लग्जरी तथा महंगा घडीहरुको प्रदर्शनी तथा किनबेच हुने यस मेलालाई ओमेगा, टिसोट र लन्जिन्स जस्ता प्रख्यात ब्राण्डका घडी उत्पादक स्वाच गु्रपले वार्षिकरुपमा संचालन गर्दै आइरहेको छ । हरेक दुई वर्षमा आयोजना हुने एसियाकै सबैभन्दा ठूलो हवाइ मेला सिंगापुर एयरसो पनि यस वर्षका लागि स्थगित भएको छ । विश्वभरीका सैयाैं हवाइसम्बन्धी कम्पनीहरु सहभागी भएर हवाइ प्रविधिमा आएको पछिल्लो विकासलाई प्रदर्शनी गरिने यस मेलामा करोडाैं अमेरिकी डलर बराबरको ब्यापार सम्झौता समेत हुने गर्दथ्यो । कम्तिमा ७० भन्दा बढी हवाइ कम्पनीहरुले कोरोना भाइरसलाई जनाउँदै आफ्नो सहभागीता रद्द गरेपछि हवाइ मेलालाई हालका लागि आयोजना नगरिने बिबिसीको एक रिपोर्टले उल्लेख गरेको छ । मार्च महिनाको ५ देखि १५ तारिकसम्म संचालन हुन लागेको विश्वको सबैभन्दा ठूलो र महत्वपूर्णमध्येको एक जेनेभा इन्टरनेशनल मोटर सोको आयोजना पनि स्थगित भएको छ । यस सोका क्रमका विभिन्न ठूला मोटर उत्पादकहरुले आफ्नो उत्पादन सार्वजनिक गर्दै बृहत रकम बराबरको सम्झौता हात पार्दथे । कोरोना भाइरसको संक्रमणसँगै विश्वब्यापी अर्थतन्त्रमा परेको नकारात्मक असर तथा ठूला बहुराष्ट्रिय कम्पनीहरुले सामना गरेका चुनौती बारेका समाचार आइरहेका बेला पछिल्लो समय बस्तु तथा सेवा बजारको अवस्था, उपभोक्ताको किनमेलको अभ्यास तथा विभिन्न क्षेत्र तथा कम्पनीहरुको कमाइको गतिलाई नै खलबल्याउने गरी कैयाैं निर्धारित ठूल्ठूला ब्यापार प्रदर्शनी तथा मेलाहरु रद्द भइरहेका छन् । मानिसहरु बीच कोरोना भाइरसको संक्रमण हुने डरले गर्दा स्थगित गरिएका यस्ता मेलाहरुको कारण बस्तु तथा सेवाहरु बजारमा आउनबाट बञ्चित हुने मात्र नभइ ब्यापारिक प्रयोजनका लागि लाखाैंको संख्यामा हुने पर्यटन क्रियाकलापहरु समेत प्रभावित भएका छन् ।