विकासन्युज

तीनवर्षदेखि बन्द रहेको जडीबुटी सङ्कलन खुला

मार्तडी ।  मार्तडीस्थित गौमुल गाउँपालिकाले तीनवर्षदेखि बन्द रहेको जडीबुटी सङ्कलनलाई खुला गर्ने निर्णय गरेको छ । शनिबार बसेको सो गाउँ पालिकासभाले सो निर्णय गरेको हो । साविकका मानाकोट र दहकोट गाविसमा वन जङ्गलबाट सङ्कलन हुने जडीबुटी प्रतिबन्ध गर्ने निर्णयलाई सभाले उल्टाइदिएको जनाइएको छ । दहकोटको अम्लिस, मल्लोदुगुनलगायतका सामुदायिक तथा राष्ट्रिय वनबाट जडिबुटी सङ्कलन गर्न दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले जानकारी दिए । उनले जडीबुटी सङ्कलन गर्न तीन वर्ष बन्द गरिएको भएता पनि सङ्कलन गर्ने ठेकेदारले राजश्व सङ्कलनमा सहयोग पुर्याउन गाउँपालिकाको सिफारिस अनिर्वाय लिनुपर्ने व्यवस्था गरिएको बताए । सभाले जथाभाबी रुपमा वनमा जडीबुटी सङ्कलन कार्यलाई रोक लगाएको गाउँपालिकाका उपाध्यक्ष सीता थापाले जानकारी दिए । छैटौँ गाउँसभा तथा हिउँदे अधिवेशनले आर्थिक वर्ष ०७७/०७८ का लागि रु ३७ करोड बजेट प्रस्तावित गरेको छ । ३० वटा नीति तथा नियमावली पारित गरेको गाउँपालिकाले जनाएको छ । चालू आर्थिक वर्षमा सङ्घीय सरकार र प्रदेश सरकारबाट आएको र आन्तरिक आम्दानीबाट कूल रु ३१ करोड ४५ लाख ९९ हजार ७५७ रहेको छ । सङ्घीय सरकारबाट आएको समानीकरण रु सात करोड १० लाख, ससर्त अनुदान रु १३ करोड २७ लाख २७ हजार, राजश्व बाँडफाँडबाट रु पाँच करोड २९ लाख ६६ हजार ४१६ र विशेष अनुदान रु दुई करोड ९० लाख रहेको छ । प्रदेश सरकारबाट प्राप्त रकम राजश्व बाँडफाँड रु पाँच लाख दुई हजार, विशेष अनुदान रु ७५ लाख, समानीकरण ६ लाख २५ हजार आन्त्रिक अल्या रु एक करोड ३९ लाख ९९ हजार ३४० रहेको अध्यक्ष रोकायाले जानकारी दिए । हाल माघ मसान्तसम्म चालूतर्फ ३४ प्रतिशत र पूँजीगत तर्फको १३ प्रतिशत बजेट खर्च भएको बताइएको छ । रासस

जीएमको घुम्ने कुर्सी र विवेक झाको सीईओ यात्रा

नेपाल लाइफ इन्सुरेन्सको प्रमुख कार्यकारी अधिकृत विवेक झा काठमाडौं । गाउँमा प्रजातन्त्रको पक्षमा एक प्रकारको लहर थियो । पञ्चायती व्यवस्थाको कहरका कारण प्रजातन्त्रवादी समूहका नेता लुकीछिपी आउँथे । हजुरबा गाउँभरिकै लोकप्रिय अगुवा थिए। प्रख्यात जानकी मन्दिर नजीकैको एक गाउँमा निरशु झाको प्रख्याति यति थियो कि सबैले नाम लिन्थे । सुखदुःखका प्रतिमूर्ति झालाई गाउँभरिकाले एउटा ‘आइकन’का रुपमा लिन्थे ।   हजुरबाको परिवार कृषिमा आधारित थियो । पाँच दाजुभाइमध्ये जेठा झाको व्यवस्थापन कला आफैँमा प्रसिद्ध थियो । कसैलाई भेदभाव नगर्ने, सबैसँग समान व्यवहार गर्ने, आर्थिकदेखि कूटनीतिकरूपमा पनि चातुर्य हजुरबाको स्वभाव अनि १०० जनाको परिवार व्यवस्थापन गर्ने हजुरआमाको खुबी साँच्चै अनुकरणीय थियो । आखिर के चीज रहेछ, सबैले मान्ने र पुज्ने : मेरो बालमस्तिष्कले केही भेउ पाएको थिएन । रुपैठागाउँमा असाध्यै चोरी हुन्थ्यो । दक्षिणबाट आएका डाँकाले गाउँबस्ती सखापै हुने गरी लुटपाट गर्थे । त्यसबाट जोगिन सात–आठजना स्वयम्सेवक अघिपछि लगाएर हिँड्ने हजुर बा एकातिर, अर्कोतिर संयुक्त परिवारको व्यवस्थापन गर्ने अजुरआमाको कला के हो ? मेरो कलिलो मनले धेरै भेउ पाएको थिएन । त्यसमाथि तराईको ब्राह्मण समुदाय झा । जनकपुरमा त झा भनेपछि दिइने सम्मान पनि अजिबको नै छ प्रसिद्ध पण्डितको परिवार । हुने खाने पनि आउँथे, नहुने पनि आउँथे । कोही खाली हात फर्कंदैनथे । होइन, यो उल्का के होला भनेर मेरो मनमा बिझाइरहन्थ्यो तर त्यो एउटा व्यवस्थापनको ठूलो कला रहेछ । ठूलो परिवार मिलाउनेदेखि गाउँ नै मिलाउने कुरा फरक क्षमता भएकाले मात्रै सक्दा रहेछन् । हजुरआमा निरक्षर तर रामायण महाभारत सबै पढ्न सक्ने । सबैले आदर गरेर ‘माई’ सम्बोधन गर्ने उनै हजुरआमा, सबैले पुज्ने र सम्मान दिने उनै हजुरबाका नाति विवेक यतिखेर देशकै ठूलो बीमा कम्पनी नेपाल लाइफ इन्सुरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ) छन् । नजिकै पाठशाला थियो । हालको जनकपुर कलेज नजिकै । राजनीतिका कुरा पनि हुन्थे, समाज सुधारको चर्चा पनि चल्यो । विवेकका हजुरबा त्यसका साक्षी हुन्थे । पढे–लेखेको नभए पनि व्यवस्थापनको कुरा मैले हजुरबाबाटै सिकेको बताउँछन् । कुनै समय कान्छा प्रमुख कार्यकारी अधिकृतको परिचय बनाएका विवेक विगतमा फर्किदै र त्यसलाई वर्तमानसँग जोड्छन् । बुबा वीरगञ्जमा रहेको कृषि औजार कारखानाको महाप्रबन्धक भएर अवकाश पछिको जीवनमा थिए । कालीकान्त झा वास्तविक नाम भए पनि साहित्यमा समेत जमेका उनलाई केहीले ‘तृषित’का नामले समेत चिन्छन् । तराई त्यसमाथि पनि जनकपुरमा बिहान, दिउँसो, साँझ र रातको समयमा गाउने फरकफरक खालका गीत छन् । यस्तै विवाह, व्रतबन्ध तथा अन्य सांस्कृतिक कर्म गर्दा पनि त्यस्तै गीत गाइन्छ । ती सबै गीत जान्ने र लेख्ने क्षमता कालीकान्तमा थियो र छ । त्यस्तै जन्मकुण्डली बनाउने, राशि लेख्नेदेखि ज्योतिष कर्ममा समेत कहलाएका विवेकका बाबा पनि उस्तै परिचित व्यक्तित्वको रुपमा स्थापित थिए । इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन अफ इन्डियाबाट चार्टर्ड एकाउन्टेन्ट उत्तीर्ण झालाई व्यवस्थापन क्षेत्रमा छिर्नु नै थियो । विगत सम्झँदै उनले भने, “१८ वर्ष भयो सिए पास गरेको मात्रै, नेपालको बैंकिङ क्षेत्रमा कुनै समयका स्थापित एवम् लोकप्रिय नाम रत्नराज बज्राचार्यले तातेताते गराएर हिँडाएको आजै जस्तो लाग्छ ।” “सिए पास गरेर आएपछि आठ वर्ष जति आर बज्राचार्य एन्ड कम्पनीमा काम गरे, म फर्मको पार्टनर समेत भइसकेको थिए, जुन बेला नेपाल लाइफ इन्स्सुरेन्स कम्पनी दर्ता हुँदै थियो, त्यतिबेला मैले यही कम्पनीको कन्सल्ट्यान्ट अडिटरका रुपमा काम गरेको थिए, कुनै समय आफैले लेखापरीक्षण गरेको कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुन्छु भन्ने मलाई लागेको थिएन”, उनले भने, “म यो कम्पनीमा आउँछु भन्ने त झन् छँदै थिएन ।” हालको प्रभु (साबिक एलाइन्स), एलआइसी, युनिलिभर, नेपाल आयल निगम, उदयपुर सिमेन्ट तथा विभिन्न बैंकको समेत अडिट गरेको फेहरिस्त नै उनले सुनाए । अनि भने, “एनबी इन्सुरेन्समा त १० महिना जागिर नै खाए, मेरो कर्पोरेट तर्फको यात्राको पहिलो खुड्किलो थियो माछापुच्छ्रे बैंक, दुई वर्ष जति सो बैंकका काम गरेँ ।” विवेकले अझै पुराना दिन स्मरण गर्न थाले । “कृषि औजार कारखानाको महाप्रबन्धक बुबाको घुम्ने कुर्सीले पनि मलाई तान्थ्यो, म गएर बाबाको कुर्सीमा बसिदिन्थे, घुम्ने कुर्सी त्यसमाथि ‘टावेल’ राखेको कसरी पाइएला यो कुर्सीमा बस्न भनेर मेरो मनमा एक प्रकारको खुल्दुली चलिरहन्थ्यो”, उनले भने, “म खुर्रर दौडेर जान्थे र बसिहाल्थे, त्यो मेरो व्यवहार देखेर बुबा हाँस्नुहुन्थ्यो, त्यो मेरो कुर्सी मोह त थिएन नै तर कसरी पाइएला त यत्रो ठूलो कुर्सी ।” हजुरबा, हजुरआमाको जस्तै पिताजीको पनि व्यवस्थापन कला असाध्यै अनुकरणीय रहेको झाको स्मरण छ । हाकिम साब आउनुभयो भन्दै कत्रो मानसम्मान थियो । साहित्यिक नाम तृषित जस्तै सबैका प्रिय पनि मेरा बुबा । कार्यालय व्यवस्थापनको कौशल मैले पिताजीबाट सिकेको हो, विवेकले भन्दै जान्छन् । कमलादीस्थित नेपाल लाइफ इन्सुरेन्सको प्रधान कार्यालयका प्रमुख कार्यकारी अधिकृत झा कुनै व्यवस्थापनसम्बन्धी काममा व्यस्त थिए। केही समय हामीलाई कुराएर उनले आफ्नो वातनुकूलित कार्यकक्षमा बोलाए । उनले भने, “कुनै समय लेखापरीक्षण गरेको कम्पनीको नै प्रमुख हुन्छु भन्ने त लागेको थिएन तर समयले मलाई यो स्थानमा ल्याइदियो ।” वि.सं २०३० मा जन्मिएका झा आफूलाई अरूका लागि बाँच्ने एउटा सामान्य व्यक्तिका रुपमा चिनाउँछन्। जीवनलाई सरल बनाउन खोज्ने उनको विशेषता छ । माछापुच्छे बैंकको आन्तरिक अडिटरकै रुपमा रहँदै गर्दा नेपाल लाइफको तत्कालीन व्यवस्थापनले झाको योग्यता र क्षमता अनुमान लगाइसकेको थियो । त्यसमाथि आफ्नै कम्पनीको ‘अडिट’ गरेको व्यक्ति । मनोज भट्टराई प्रमुख कार्यकारी अधिकृत थिए । नेपाल लाइफको व्यवस्थापले झालाई सिनियर डिजिएम भएर आइदिन पटकपटक आग्रह गर्यो । जसले प्रयास गर्छ, त्यो सफल हुन्छ, प्रयास नै नगर्नेले त सफलता र असफलताको स्वाद नै चाख्न पाउँदैन । कार्यवाहक प्रमुख कार्यकारी अधिकृत हुँदै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेको पनि आठ वर्ष पूरा भयो । व्यावसायिकजगत्मा हेर्दा आठ वर्षको अवधि ठूलो हो तर झा सन्तुष्ट देखिन्छन् । शुरुमा त केहीले बच्चा सिइओ भनेर पनि उडाए । संस्थागत हितका लागि खरो उत्रेको उउनलाई लाग्छ । कम्पनी सफल हुँदै गएको र नेपालको नम्बर एक बीमा कम्पनी हो भनेर कसैले भनिदिँदा छाती फुलेर चौडा हुन्छ । झा त्यहाँ जाँदा ५३ करोड रुपैयाँको व्यवसाय हुने गरेको नेपाल लाइफले गत आर्थिक वर्षमा मात्रै ९अर्ब रुपैयाँको व्यवसाय गरेको छ । बीमा बजारमा १८ प्रतिशतको हिस्सामा रहेको नेपाल लाइफ आजको दिनमा आइपुग्दा ३० प्रतिशतको हाराहारीमा छ । जीवन बीमा कम्पनीको हकमा एक तिहाइ हिस्सा त नेपाल लाइफकै छ । हरेक कम्पनीका आफ्नै काम गर्ने शैली र रणनीति हुन्छ । जीवन बीमाको नाम लिने बित्तिकै सबैको मुखमा नाम आइहाल्छ, नेपाल लाइफ । नेपालका बीमा कम्पनी बलिया छैनन्, यिनीहरुले भुक्तानी दिँदैनन्, एकाध वर्ष चलाउँछन् र भाग्छन् भन्ने बजारमा मनोविज्ञान थियो । धेरैले क्षणिक लाभ¬–हानिको मात्रै हिसाबकिताब गरेर बसेका थिए । बीमाबारे बुझेका भनिएकाहरु पनि सीमापारि जान्थे बीमा गर्न तर आज अवस्था फेरिएको छ । २० करोड रुपैयाँ सञ्चालकको लगानी र पाँच करोड रुपैयाँ नागरिकको लगानीबाट शुरु भएको नेपाल लाइफले बीमा क्षेत्रको इतिहास नै बदलिदिएको छ । बीमामा विशेषगरी विश्वास बेचिन्छ । नेपाल लाइफको मन्त्र पनि त्यही हो । उसले विश्वास बेचेको छ । एकपटक बीमा गर्न आएका पुनः फर्केर त्यही आउँछन् र भन्छन् नेपाल लाइफ नै ‘वेस्ट’ । अवधि पुगेकाले समेत बीमा रकम लिएर पुनः बीमा गर्न आउँछन् । शुरुआती दिनमा ‘नेक टू नेक’ व्यापार गर्ने अन्य बीमा कम्पनीलाई धेरै पछाडि छाडेर लामो दौडको घोडाका रुपमा आफूहरु अगाडि बढेको झाको दाबी छ । उनको आफ्नै सिद्धान्त छ ‘बिल्ड टू लास्ट’ । जति पनि रणनीति लिइन्छ, त्यो लामो समयका लागि हो । विश्वका उत्कृष्ट दशमा पर्ने बीमा कम्पनीको इतिहास हेर्ने हो भने पनि उनीहरुले तत्कालको फाइदाभन्दा पनि दीर्घकालीन फाइदाका लागि काम गरेका छन् । विशेषतः बिमितको विश्वास खण्डित हुन दिनुहुँदैन, परेको बेलामा प्राप्त हुने सहयोग नै जीवनभरका लागि स्मरण बन्न सक्छ । नेपालमा बीमाको हिस्सा करीब २५ प्रतिशतको हाराहारीमा पुगेको छ । वैदेशिक रोजगारीमा जानेका लागि गरिने म्यादी जीवन बीमाको तथ्याङ्क यसमा छैन । भारतको भन्दा नेपालको बीमा विस्तार राम्रो छ । कतिपय कम्पनी समस्यामा परेको बेलामा पनि नेपाल लाइफको गति भने एउटै छ । दश लाखभन्दा बढी त बीमा गर्ने नै पुगिसके । सबै कोषको हिसाब गर्ने हो भने करीब एक खर्बको हाराहारीमा पुगिसकेको छ । शेयरधनीले पनि राम्रै लाभांश पाएका छन् । बीमा गर्नेले पनि राम्रै मुनाफा लिँदै आएका छन् । जतिबेला विश्वासको परीक्षण हुन्छ नि त्यो बेला उसले आफ्नो जिम्मेवारी पूरा ग¥यो कि गरेन भन्ने विषय महत्वपूर्ण हुन्छ । चालीस हजारको हाराहारीमा अभिकर्ता बनाएको नेपाल लाइफका प्रमुख झाको भनाइ छ । “परेको बेलामा म यस्तो गर्छु है भन्नेले जिम्मेवारी पूरा ग¥यो कि गरेन भन्ने कुरा नै महत्वपूर्ण हुन्छ”, उनले भने, “बिमितलाई पर्ने विश्वास नै हाम्रो प्रमुख सम्पत्ति हो, त्यो नै हाम्रो परीक्षण हो, हामीले भनेको कुरा पूरा ग¥यौ भने त्यो सही ठहरियो, गर्न सकेनौं भने त्यो असफल भयो ।” बिमितलाई दिएको विश्वास र प्रतिबद्धता पूरा गरेकै कारण नेपाल लाइफ लोकप्रिय भएको झा बताए। कुनै काम गरिँदैछ भने त्यो आजका लागि मात्रै नभई भोलिका लागि हो भन्नेमा स्पष्ट हुनुपर्ने फराकिलो सोच छ उनमा । गाउँमा सबैको एउटै पण्डित हुन्छ, हजुरबा, बाबा र छोराका पनि । किन त्यस्तो भयो होला, उदाहरण पेश गर्दै झा भन्छन्, “त्यो विश्वास होइन र ? बीमा पनि त्यस्तै हो, जहाँ राम्रो हुन्छ र अपनत्व महसुस हुन्छ, त्यही न मान्छे आउने हुन् ।” नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा छ । हिमाल पग्लिैछ, भूकम्पको त्रास पनि उस्तै छ । विपद्ले ल्याउने जोखिमबाट जुध्न पनि बीमा जरुरी छ । समयले मान्छेलाई सिकाउँदै लगेको छ । फजुल खर्च जोगाउने हो भने सहजै बीमा गर्न सकिन्छ भन्ने मान्यता स्थापित हुँदै गएको छ । भौतिक सुख सुविधा बढ्दै जाँदा जोखिम पनि बढ्दै गएको छ । सबैभन्दा ठूलो समस्या देखिँदैछ त्यो हो जलवायु परिवर्तन । त्यसले महामारी ल्याउँदैछ । छिमेकी देश चीन यतिखेर नोबल कोराना भाइरसको महामारीमा छ । वातावरणीय सन्तुलनमा आएको बदलावका कारण महामारी मात्रै नभई नयाँ प्रकारका रोगसमेत देखा परेको छ । झाको बुझाइ छ, “तपाईं र तपाईंको परिवारलाई सुरक्षित राख्ने र उनीहरुलाई साँच्चै माया गर्ने भए एकमात्र विकल्प भनेकै बीमा हो ।” विगतका केही बुझाइ कारण बीमामा केही विकृति पनि देखिए । जुन कारणले बीमा गर्नुपर्ने थियो, त्योभन्दा बाहिर गएर प्रचार गरियो । बचत मात्रै गर्ने भए बैंक तथा वित्तीय संस्था छन् । जोखिम व्यवस्थापन र बचत दुवै गर्ने भए बीमा उपयुक्त माध्यम हो भन्ने कुरालाई नेपाल लाइफले स्थापित गरेको छ । परिवारका लागि गरिने अरू खर्चको स्थानमा बीमा पनि राखेर हेर्नुपर्ने उनको सुझाव छ । आफूलाई कुन उपयुक्त लाग्छ, सोही ‘पोलिसी’ लिन सकिन्छ । बचत लिने कि जोखिम बहन गर्ने पनि लिने, त्यो बीमा गर्नेको इच्छा भयो तर समयमा बीमा नगर्दा कुनै भवितव्यमा परेर कोही कसैको निधन भयो भने त्यसले आफू त जान्छ नै कमाउने माध्यम पनि लिएर जान्छ तर परिवारलाई ऋण मात्रै छाडिदिन्छ । त्यसकारण बीमा जरुरी छ । समान्य भाषामा आफ्नो धारणा राख्दै झाले भने, “सुरक्षाका लागि योभन्दा उपयुक्त विधि अरू के हुन सक्ला ?” विगतमा बीमा कम्पनीप्रतिको विश्वास नै कम थियो । कम्पनी रहन्छ कि रहँदैन, १५ वर्षपछि पैसा कसरी लिने भन्ने थियो तर नेपाल लाइफले बिमितलाई तपाईंको अवधि पूरा भयो, रकम लिन आउनुस् भनेर फोन नै गर्न थालेको पनि धेरै भयो । “बिमितले बिर्सेको भए पनि हामीले फोन गरेर नै रकम लिन आउनुस् भन्न थालेका छौँ, पैसा तिर्नमात्र होइन, लिन आउनुस् भनेर हामीले शुरु गर्दै गर्दा विश्वासको मात्रामा यत्ति धेरै बढोत्तरी भएको छ कि नेपाल लाइफको ‘माउथ पब्लिसिटी’ नै भएको छ”, उनले सुनाए । कम्पनीको सुरक्षित जीवन बीमा बढी प्रचलित छ । यस्तै ‘मनी ब्याक’ योजना पनि उस्तै लोकप्रिय छ । कुनै दीर्घरोग लाग्यो वा ‘क्रिटिकल इलनेस’ भयो भने कुनै पनि गुनासो नराखी बीमा रकम उपलब्ध गराएको झाको दाबी छ । दुर्घटनामा कोही प¥यो भने उसलाई एकाध दिनमा नै रकम दिने व्यवस्था गरिएको भन्दै प्रमुख कार्यकारी अधिकृत झा नेपाल लाइफको टेलिभिजनमा बज्ने विज्ञापनले भन्ने जस्तै सबैलाई सहज रुपमा जोखिम बहन गरिरहेको बताए । केहीले बीमा रकम लिन लामो समय लगाएको गुनासो पनि आएको छ । बीमा गर्दा दिइने कागजातमा उल्लेख गरिएका सर्तहरु लागू हुनेछन् भन्ने कुराले समस्या पनि पारेको छ । मसिनो अक्षरमा लेखिने सर्तहरु आम मान्छेले पढ्दैनन् पनि । सोही कारण दुःख पाएको गुनासो पनि आएकै छ । यस्तै अभिकर्ताबाट विदेश जाने, सम्पर्कबाट हराउँदा पनि समस्या देखिएको छ । हाम्रो जिज्ञासा पनि त्यही थियो, बीमा गर्दा अनेकन प्रलोभन देखाउने तर पैसा फिर्ता दिने बेलामा यो भएन, त्यो भएन भन्ने प्रचलनका विषयमा प्रमुख कार्यकारी अधिकृत झाले भने, “हाम्रोमा खासै समस्या छैन, हामीले सूचना पाएसम्म हाम्रा कर्मचारी नै पुगेर बीमा रकम दिने गर्नुभएको छ ।” उनले एकाध विषयमा एकाध ठाउँमा समस्या आयो भनेर सयौँ राम्रा कामलाई ओझेलमा पनि पार्न नहुने कूटनीतिक जवाफ पनि दिए । उनले मृत्युतर्फको १५० वटा दाबीको भुक्तानी बाँकी रहेको तथ्याङ्क दिए । गलत व्यक्तिले दाबी भुक्तानी पाउनु पनि गलत हुने भन्दै समस्यारहित ढङ्गले काम गरिरहेको बताए । शेयर बजार धेरै तल जाँदासमेत नेपाल लाइफको शेयरमा धेरै उतार–चढावका सन्दर्भमा सहजै भने, “त्यो हामी प्रतिको विश्वास नै थियो, केही वर्षपहिले कम्पनीले थप सार्वजनिक निष्कासन (एफपिओ) ल्यायो, त्यसबाट थप एक लाख ५० हजार शेयर सदस्य थपिए, हरेक साताको शेयर बजारको विवरणमा सर्वाधिक कारोवार गर्ने दश कम्पनीमा नेपाल लाइफ सधैँ पर्ने गरेको छ ।” नेपाल लाइफको ‘पेड अफ क्यापिटल’ ५ अर्ब ४९ करोड, रिजर्भमा २ अर्ब ५० करोड रुपैयाँ छ । यस्तै जीवन बीमा कोषमा ७८ अर्ब रुपैयाँ छ । यस्तै लगानी झण्डै ८५ अर्ब रुपैयाँ छ । चालु आवको ६ महिना मात्रै ४ अर्बभन्दा बढी नयाँ बीमा गरेको छ । यस्तै कूल प्रिमियम मात्रै १४ अर्ब रुपैयाँ बराबर भएको छ । गत वर्षभन्दा वृद्धिदर असाध्यै राम्रो छ । यस्तै किस्ता बुझाउने दर पनि राम्रो छ । यस्तै बिमितले १५ अर्ब ७३ करोड रुपैयाँ ऋण लिएका छन् । कम्पनीका २ सय शाखा सञ्चालनमा छन् । नेपालको विश्वस्तरीय दर्जाको कम्पनीका रुपमा नेपाल लाइफ स्थापित छ । सरकारको ‘सेक्युरिटी’मा लगानी गरेको छ । यस्तै बैंकका मुद्दति खाता मात्रै कम्पनीले ७५ प्रतिशतभन्दा बढी रकम जम्मा गरेको छ । शेयर बजार, पूर्वाधार विकास बैंकमा नौ प्रतिशत लगानी छ भने कम्पनीले आफ्नै लगानीमा कमलपोखरीको सिटी सेन्टरमा लगानी गरेको छ । यस्तै अन्तर्राष्ट्रिय कम्पनीसँग मिलेर प्रविधिको क्षेत्रमा पनि केही गर्ने सोच बनाएको छ । ‘हाउजिङ’ व्यवसायमा पनि हात हाल्ने सोच छ । आजका दिनमा एउटै खालका ‘प्रोडक्ट’ बेचिरहेका बीमा कम्पनीको दायरा क्रमशः फराकिलो हुँदै जाने झाको विश्वास छ । उनले भने, “सम्पत्ति शुद्धीकरणमा पनि उत्तिकै ध्यान दिएको छ कम्पनीले, यो नेपालको मात्रै समस्या होइन, विश्वव्यापी समस्या हो, हामीले छुट्टै युनिट नै बनाएर काम गरेका छौँ, बीमा समितिको सबै निर्देशन पालना गरेका छौँ ।” शेयरधनीलाई औसतमा ४०० प्रतिशतको हाराहारीमा लाभांश दिएको उनले दाबी गरे । नेपालबाट एक्चुरीका लागि बाहिरिने मोटो रकम नेपालमा नै रोक्न एक्चुरी साइन्सको पढाइ शुरु गरिएको छ । त्रिभुवन विश्वविद्यालयले त्यो कोर्षको पढाइ नै शुरु गरेको छ । एक्चुरी पाउन नै मुस्किल परिरहेका बेला त्रिभुवन विश्वविद्यालयले उत्पादन गर्ने जनशक्तिले काम गर्ने उनको भनाइ छ । “हामी भारतमा निर्भर थियौँ, किनकि हामीसँग विशेषज्ञ थिएनन्, चार्टर्ड एकाउटेन्टभन्दा बढी गाह्रो पढ्न तर बिस्तारै जनशक्ति तयार हुँदैछ”, उनले भने । आफू पनि त्यो पढाउने सन्दर्भमा विश्वविद्यालयसँग जोडिएको जानकारी दिए । यस्तो छ कम्पनीको पछिल्लो विवरण कम्पनी चालु आवको छ महिनामा २५.०९ प्रतिशतले खुद नाफामा वृद्धि गरेको छ । कम्पनीले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार ३५ करोड नौ लाख १७ हजार रुपैयाँ खुद नाफा कमाएको हो । गत आवको सोही अवधिमा कम्पनीले खुद नाफा २८ करोड पाँच लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । गत आवको पुस मसान्तसम्म १० अर्ब ४७ करोड ५४ लाख रुपैयाँ बीमा शुल्क आर्जनमा ३२.७९ प्रतिशतले वृद्धि गरेर चालु आवको सोही अवधिमा १३ अर्ब ९१ करोड १० लाख ६३ हजार रुपैयाँ पुगेको छ । सो अवधिसम्ममा कम्पनीले अभिकर्ता कमिशन एक अर्ब ६१ करोड ११ लाख ८२ हजार रुपैयाँ वितरण गरेको छ । कम्पनीले ३ अर्ब १९ करोड रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । त्यस्तै १ अर्ब २० करोड भुक्तानी हुन बाँकी दाबी रकम छ । हाल कम्पनीको चुक्ता पूँजी ५ अर्ब ४९ करोड ६१ लाख रुपैयाँ छ भने जगेडा कोषमा २ अर्ब ६१ करोड ५५ लाख र महाविपत्ति कोष जगेडामा ७७ अर्ब ५९ करोड २९ लाख २७ हजार रुपैयाँ छ । कम्पनीको प्रतिशेयर आम्दानी १२.७७ रुपैयाँ, मूल्य आम्दानी अनुपात ७८.३१ गुणा, प्रतिशेयर नेटवर्थ १५६.२४ रुपैयाँ र प्रतिशेयर कूल सम्पत्ति मूल्य १ हजार ६ सय २४ रुपैयाँ छ । (राससका रमेश लम्सालसँगकाे कुराकानी आधारित )  

स्वस्थ बच्चा प्रतियोगिता समापन, ८ महिना आर्यस तिवारी पहिलाे स्थानमा

काठमाडौं । ग्राण्डी ईन्टरनेसनल अस्पतालसँगको सहकार्यमा लायन्स क्लबको चौंथो स्वस्थ बच्चा प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा २ वर्षसम्मको बच्चा तर्फ पहिलो आर्यस तिवारी ८ महिना, दोस्रो स्पन्दन शर्मा १९ महिना र तेस्रो युभान राज जोशी ५ महिना का भएका छन् । यस्तै २ वर्ष देखि ३ वर्षसम्म तर्फ रिदान नेपाल २५ महिना, दोस्रो सुदिश्याम बस्नेत ३१ महिना र तेस्रो सुबल मालाकार भएका छन् । भाग लिनको लागि अस्पतालले जन्मदर्ता कार्ड, खोपको कार्ड अनिवार्य गरेको उक्त प्रतियोगितामा ६२ जना बालबालिकाको सहभागिता रहेको थियो । अस्पतालको प्रांगणमा भएको यस प्रतियोगिता सन् २०१५ देखि लायन्स क्लबले आयोजना गर्दै आएको छ । उपचार भन्दा रोकथाम नै ठुलो भएको र कुनै पनि बालबालिका पछि गएर रोगले नसताओस् भन्ने उदेश्यको साथ स्वस्थ बच्चा प्रतियोगिता आयोजना गरेको लायन्स क्लबका पुर्व जिल्ला गर्भनर मधुकर कुमार उपाध्याय बताउँछन् । बालबालिका बाल्यअवस्था देखि नै स्वस्थ हुनुपर्छ भन्ने सन्देश सबै अभिभावकमा प्रवाह गर्नु आफुहरुको मुख्य उदेश्य रहेको उपाध्यायले बताए । आजको बच्चाहरु नै भोलिको देशको सबल सक्षम नागरिक हुन् । यदि कोही बच्चा बिरामी हुन्छ भने त्यसको असर परिवारलाई मात्र नपरेर पुरा समाजलाई पनि पर्ने उपाध्याय बताउँछन् । बच्चाहरु हेर्दा स्वस्थ देखिए पनि कतिपय अवस्थामा उनीहरुको भित्रि अवस्था राम्रो नभएको हुन सक्ने ग्राण्डी अस्पतालका बाल रोग शाखाका प्रमुख डा. सन्जय राज थापा बताउँछन् । यो विषयलाई हरेक अभिभावकले ध्यान दिन जरुरी रहेको उनले बताए ।

नाट्टा गण्डकी प्रदेशको साधारण सभा, पर्यटनको विकासका लागि सरकार र निजी क्षेत्रको सहकार्य

काठमाडौं । नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको २५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार पोखरास्थित टिका रिसोर्टमा आयोजित सो साधारण सभामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले सरकारले हवाई ईन्धनको मूल्य घटाएपनि वायुसेवा कम्पनीहरुले भने हवाई भाडा नघटाएको गुनासो गरे । उनले सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार भएको भएपनि त्यो सर्वसाधारण र ग्राहकहरुलाई फाईदा हुने गरि जानुपर्ने बताए । ‘सरकारले एयर फ्यूल चार्ज घटायो तर त्यो घटेको मूल्यअनुसार वायुसेवा कम्पनीहरुले भने टिकटदर घटाएनन्, सचिव अधिकारीले भने । उनले आगामी दिनमा अझ हवाई ईन्धनको मूल्य घटाउन प्रयास गर्ने भन्दै पूर्वाधारमा समेत जोड दिईरहेको बताए । उनले पछिल्लो दिनमा कोरोनाभाईरसका कारण पर्यटन क्षेत्र समस्यामा परेको भन्दै त्यसमा सरकारले ध्यान दिईरहेको बताए । ‘हामीजस्तो सानो मुलुकले हवाई उडान नै रोक्नु हुँदैन्, त्यसले अर्थतन्त्रमा नै असर पर्नेछ, तर सरकारले त्यसलाई नजिकबाट निगरानी गरिरहेकोछ, उनले भने । पर्यटन सचिव अधिकारीले स्थानिय हवाई कम्पनीहरुको क्षमता अभिवृद्धि गरिनुपर्ने भन्दै सातै प्रदेशलाई एक आपसमा जोड्न काम अगाडि बढाईरहेको जानकारी दिए । कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले पोखरालाई पर्यटकिय नगरीको रुपमा थप विकास गर्न पर्यटन व्यवसायीहरुसँग मिलेर कामगर्ने बताए । उनले पोखरामा पर्यटक बस पार्क बनाईरहेको र त्यो केहि समयमै तयार हुने अवस्थामा रहेको जानकारी दिए । ‘ट्राभलर टूर बसको स्तरीकरण गरिनुपर्दछ, अहिले हेर्दा नगरबसमा पनि पर्यटक बस भनेर लेख्ने जस्तो अबस्था आएकोछ,’ पोखरा महानगरपालिकाका मेयर जिसीले भने । नाट्टा गण्डकी प्रदेशको वार्षिक साधारण सभामा बोल्दै नाट्टा केन्द्रका अध्यक्ष अच्युत शर्मा गुरागाईँले पर्यटन पूर्वाधार विकास गर्न र पर्यटकिय क्षेत्रमा सुविधा पुर्याउन सरकारसँग आग्रह गरे । त्यस्तै अध्यक्ष गुरागाईँले माइस टूरिजमको विकास गर्न र अन्तराष्ट्रिय स्तरको सेमिनारहरु गर्न सेमिनार हलको अभाव रहेको भन्दै सरकारले जग्गा दिन निजी क्षेत्र बनाउन तयार रहेको स्पष्ट पारे । २५ औं साधारण सभामा बोल्दै नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सन्तोष पोखरेलले पर्यटकिय नगरीको रुपमा पोखरा चर्चित भएपनि पछिल्लो दिनमा पर्यटकिय गन्तव्य नथपिएकोमा चिन्ता व्यक्त गरे । उनले पर्यटकहरुलाई थप आकर्षित गर्न नयाँ प्रडक्ट विकास गर्नु आवश्यक भएको भन्दै प्रबद्र्धनले मात्र पोखरामा पर्यटक नआउने बताए । कार्यक्रममा नाट्टा गण्डकी प्रदेशका उत्कृष्ट २ टूर एण्ड ट्राभल अपरेटर तथा २ जना कर्मचारीहरुलाई सम्मान गरिएको थियो । नाट्टा गण्डकी प्रदेशको २५ औं वार्षिक साधारण सभाले आगामी कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ ।

चीनमा रहेका नेपाली लिन वुहान उड्याे जहाज

काठमाडौं । चीनको नेपालीका उद्धारका लागि नेपाल एयरलाइन्सको वाइडबडी जहाज चीनको वुहान प्रस्तान गरेको छ । कोरोना भाइरसको संक्रमन बढेसँगै नेपाल विद्यार्थी तथा नागरिकलाई नेपाल ल्याउनका लागि उक्त जहाज चीनको वुहानतर्फ शनिबार ४ बजे उडेको हो । कोरोना भाईरस फैलिएसँगै मुहानमा फैलिएसँगै तथा वरपरका सहरबाट १ सय ८५ जना नेपाली आउने भएका छन् । यसमा ३ जना पाइलट, ६ जना क्याबिन क्रू, ४ जना नेपाली सेनाका चिकित्सक र एक/एक जना इन्जिनियर र लिडर । उद्दार गरेर काठमाडौं ओरालेपछि क्वारेन्टाइनमा राख्न भक्तपुरको विद्युत प्राधिकरणको तालिम केन्द्र भवनमा लगिने भएकाे छ ।  पाइलटसहित अन्य सदस्यलाई भने चाँगुनारायण नगरपालिका ६, नगरकोटस्थित खानेपानीको तालिम केन्द्रमा राखिने  छ ।

प्रतिवेदनअनुसार ललिता निवास प्रकरणको कारवाही हुने : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ललिता निवास प्रकरणमा छानबिन समितिको प्रतिवदेनअनुसार नै कारवाही प्रक्रिया अघि बढाइएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा सरकार गठन भएको दुई वर्ष पुगेको अवसरमा प्रधानमन्त्री ओलीले भने, “सरकारले ललिता निवास प्रकरणमा समितले जे प्रतिवेदन दियो, त्यसलाई आवश्यक कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएको हो ।” उनले ललिता निवास प्रकरणमा अहिले मुछिएका व्यक्ति आरोपित मात्र रहेको उल्लेख गर्दै न्यायालयले फैसला नगरेसम्म अपराधी नहुने बताए । उनले संवैधानिक आयोगहरु लोकतन्त्रलाई स्वच्छ राख्न निर्मित स्वायत्त संस्था भएकाले ती संस्थालाई बलियो हुँदा प्रणाली दुरुस्त हुने उनको भनाई छ । सम्बोधनका क्रममा उनले सरकार कसैप्रति पनि आग्रही वा पूर्वाग्रही नहुने भन्दै आग्रह, पूर्वाग्रहबेगर चर्चामा ल्याइएका सुन तस्करी, वाइडबडीलगायत विभिन्न प्रकरणको निष्पक्ष छानबिन हुने जानकारीा दिए । प्रधानमन्त्री ओलीले नेपाल ट्रस्टको सम्पत्तिको संरक्षण गरी त्यसलाई मुलुकको हित हुनेगरी उपयोग र प्रवद्र्धन गर्ने काम सरकारले कानून बमोजिम गर्ने बताए । उनले ललिता निवास प्रकरणको छानबिनजस्तै मातातीर्थस्थित नेपाल ट्रस्टको स्वामित्वमा रहेको जग्गा पनि छानबिन गर्ने बताएका छन् । “मातातीर्थस्थित नेपाल ट्रस्टको स्वामित्वमा रहेको करीब १७४ रोपनी जग्गामा भएको कानूनविपरीत मोही काण्डको तथ्य पनि सार्वजनिक भइसकेको छ, केही व्यक्तिलाई लाभ पु¥याउने नियतका साथ नीतिगत निर्णय लिनुपर्ने अवस्था भयो भन्दै विसं २०६९ कात्तिक २ गते यस सम्बन्धमा नेपाल ट्रस्ट ऐन २०६४ को दफा (४)को उपदफा (२) र (३) विपरीत निर्णय भएको देखिन्छ”, प्रधानमन्त्रीले सम्बोधनका क्रममा भने, “जसरी ललिता निवास प्रकरणमा राज्यको सम्पत्तिमा भएको अवाञ्छित दोहनको छानबिन गरी कारवाही अघि बढाइएको छ, यस काण्डको पनि सोहीअनुरुप छानबिन हुन्छ ।” रासस

साताको शेयर बजार: झण्डै ६ अर्बको कारोवार

काठमाडाैं । धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक असन्तुलित अवस्थामा रह्यो । बजारमा कारोवार मापक नेप्से बढ्ने र घट्ने क्रम जारी रह्यो । साताभर कूल १७५ कम्पनीको शेयर कारोवार भयो । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर कूल १ करोड ६६ लाख १४ हजार ५८८ कित्ता शेयर ५ अर्ब ८४ करोड ४१ लाख ६९ हजार १३६ मूल्यमा खरिद बिक्री भए । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो । सोही क्रममा नेप्सेमा १३.७० अङ्कले घटेर एक हजार ३१९.९९ मा झर्यो । नेप्से ओरोलो लाग्दा कारोवार रकममा गिरावट आएको छ । कूल १७३ कम्पनीको २५ लाख ५० हजार २६६ कित्ता शेयर रु ९५ करोड ४ लाख २ हजार ५८४ मा खरीद बिक्री भए । यस्तै सोमबार नेप्से ४.२८ अङ्कले बढेर एक हजार ३२४.२६ मा पुग्यो । परिसूचक वृद्धि भएपनि कारोबार रकम भने ९३ करोड रूपैयाँमै सीमित भयो । कुल १७५ कम्पनीका २३ लाख ६० हजार ५८४ कित्ता शेयर ९३ करोड ३२ लाख ८६ हजार ५५ रूपैयाँमा खरिदबिक्री भए । मङ्गलबार नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो । त्यस दिन नेप्से १७.११ विन्दुले बढेर आज एक हजार ३४१.३८ मा पुग्यो । नेप्से उकालो लाग्दा त्यसको प्रभाव कारोवार रकममा पर्यो । कूल १७५ कम्पनीको ३९ लाख ९६ हजार ८७७ कित्ता शेयर १ अर्ब ५३ करोड २२ लाख ५० हजार ४४० मूल्यमा खरिद बिक्री भए । बुधबार नेप्से ४.६०ले वृद्धि भई एक हजार ३४५.९७ मा पुग्यो । नेप्से सामान्य अङ्कले बढे पनि कारोवार रकम भने डेढ अर्ब बराबरको भएको छ । कूल १७३ कम्पनीको ३९ लाख ८६ हजार ७६९ कित्ता शेयर एक अर्ब ५० करोढ ९७ लाख ८४ हजार ३११ मूल्यमा खरिद बिक्री भए । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचकमा सामान्य गिरावट आयो । त्यस दिन नेप्से १.३९ अङ्कले घटेर एक हजार ३४४.५९ मा पुुग्यो । कूल १७२ कम्पनीको ३७ लाख २० हजार ९२ कित्ता शेयर रु एक अर्ब ७७ करोड ३८ लाख पाँच हजार ७४६ मा खरिदबिक्री भए । यस साता शेयर बजारमा विभिन्न चार कम्पनीका कूल २ करोड ६९ लाख ८१ हजार ६२९ कित्ता शेयर सूचीकृत भए । त्यसमा प्रभु बैंकको १ करोड ४२ लाख २८ हजार २७९ कित्ता शेयर लाभांश, गरिमा विकास बैंकको ४५ लाख तीन हजार २१५ कित्ता शेयर लाभांश, सानिमा बैंकको ८० लाख एक हजार २५५ कित्ता शेयर लाभांश र आशा लघुवित्त वित्तीय संस्थाको कूल दुई लाख ४८ हजार ८८० कित्ता शेयर लाभांश सूचीकृत भएको छ । रासस

अतिक्रमणको चपेटामा २ हजार ६ सय ८४ हेक्टर सामुदायिक वन

काठमाडौं । जिल्ला वन कार्यालय दाङको तथ्याङ्कअनुसार दुई सयबढी सामुदायिक वनको दुई हजार ६८४ हेक्टर क्षेत्रफल अतिक्रमणको चपेटामा परेको छ । पहाडी जिल्लाबाट बसाइँसराई गरी आउनेको सङ्ख्या वृद्धि भएकाले वन अतिक्रमणको चपेटामा परेको वन कार्यालयका सूचना अधिकारी खिमबहादुर केसीले बताए । रुकुम, रोल्पा, प्यूठान, सल्यान, गुल्मी, अर्घाखाँचीलगायत पहाडी जिल्लाबाट दाङमा बसाइँ सरी आउनेको सङ्ख्या बढेको उनको भनाइ छ । समथर भू–भाग रहेका ठाउँ अतिक्रमणमा परेको पाइएको उनले बताए । जिल्ला वन कार्यालयको तथ्याङ्कअनुसार २०४७ साल अगाडि १०८ स्थानमा एक हजार ६१४ दशमलव चार हेक्टर वनको जमिन अतिक्रमणमा परेको थियो । त्यसपछि विसं २०४७ देखि २०६३ सम्म ८० स्थानका ५४२ हेक्टर वनको जग्गा अतिक्रमणमा परेको थियो । त्यस्तै २०६४ देखि २०६६ सम्म १४ स्थानको ३०३ हेक्टर जमिन अतिक्रमण परेको तथ्याङ्क छ । अतिक्रण रोक्नका लागि विशेष पहल नहुँदा घर जग्गा नभएका सुकुम्वासी, वनको नजिक बस्ने र विस्तारै वनको जग्गालाई खेतबारीमा परिणत गर्ने परम्परा अझै रोकिएको छैन । अहिले पनि सामुदायिक वनको एक हजार ६०० स्थानमा मुक्तकमैया भुमिहिनका नाममा व्यक्तिले ११० हेक्टर जमिन कब्जा गरेर बसेका छन् । त्यस्तै नेपाली सेना, प्रहरीले पनि जिल्लाका चार स्थानमा २४ हेक्टर जमिन अतिक्रमण गरेका छन् । समग्रमा अहिलेसम्म जिल्लामा २१५ स्थानका सामुदायिक वन अतिक्रमण परेका छन् । वनको संरक्षण र विकासका लागि सरकारी संयन्त्र गतिलो नहुँदा जिल्लामा अतिक्रमण गरिएका वनमा छ हजार ४७ घरटहरा बनिसकेका छन् । भूमिहिन र मुक्तकमैयाले मात्रै एक हजार २२० घर वन क्षेत्रभित्र तयार पारिसकेका छन् । वि सं २०४७ अगाडि नै दुई हजार ४६५ घर वन क्षेत्रभित्र बनेका थिए । त्यसलाई सही व्यवस्थापन गर्न नसक्दा अहिले पनि जिल्लामा सामुदायिक वन अतिक्रमण हुने क्रमजारी छ । सामुदायिक वन महासङ्घका जिल्ला अध्यक्ष भूपेन्द्र सुवेदीका अनुसार केही सामुदायिक वनमा भएका अतिक्रण हटाइए पनि धेरै जसो अतिक्रमण हटाउन सकिएको छैन । प्रायःजसो राजनीतिक आडमा भएको अतिक्रणलाई भने हटाउन नसकिएको उनले बताए । आर्थिक वर्ष २०७३/०७४ मा स्वर्गद्वारी हरियाली सामुदायिक वन सतवरियाको ६.५ हेक्टर र मोती सामुदायिक वन उरहरीको २७.० हेक्टरगरी जम्मा ३३.५ हेक्टर अतिक्रमण व्यवस्थापन गरिएको जिल्ला वन कार्यालयले जनाएको छ । त्यस्तै आर्थिक वर्ष २०७२/०७३ मा सर्वोदय सामुदायिक वनको २० हेक्टर, उपल्लो मधपुर सामुदायिक वनको १९ हेक्टर, हरियाली सामुदायिक वनको पाँच हेक्टर र पुरन्धारा राष्ट्रिय वनमा दुई हेक्टर गरी जम्मा ४७ हेक्टर अतिक्रमण गरिएको छ । जिल्ला वन कार्यालयका सूचना अधिकारी खिमबहादुर केसीका अनुसार अहिलेसम्म जिल्लामा बढिरहेको वन अतिक्रण रोक्नका लागि सर्वदलिय संयन्त्र गठन गरी सबै तहमा यस बारे प्रचार–प्रसारको कार्य गर्ने काम भइरहेको छ । वन उपभोक्ता समूहलाई नै परिचालन गरी सामुदायिक वनमा भएको अतिक्रमण व्यवस्थापन गरी पुनःवन क्षेत्र कायम गर्ने प्रयास भइरहेको उनले बताए । साथै बढ्दो वन अतिक्रणलाई रोक्न सबै क्षेत्रबाट चासो, चिन्ता र पहलहुनुपर्ने सुचना अधिकारी केसीको भनाइ छ । रासस