१६ करोडको लगानीमा जीप लाइन सुरु गर्यो गढी भ्युले, ६० करोडमा थ्रीस्टार होटल पनि बनाउने
सांकेतिक तस्विर काठमाडौं । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका वडा २ ताप्लाखर्कमा जीप लाइनमा सञ्चालमा आएको छ । जीप लाइन सुरु गरेको होटल गढी भ्यू एण्ड रिसोर्ट प्रालिले ६० करोडको लगानीमा होटल पनि खोल्ने भएको छ । १ किलोमिटर लामो दुरीको जीप लाइनमा एकल, संयुक्त र सुपरम्यान खेल्न सकिनेछ । जिप लाइन खेल्न फागुन भरी २० प्रतिशत छुटको अफर रहेको कम्पनीले जानकारी दिएको छ । जीप लाइन संचालनमा अाएसँगै मकवानपुरगढी सरर घुम्न पाइने भएको छ । गत शुक्रबारदेखि मकवानपुरगढीमा जीप लाइन सञ्चालनमा आएसँगै गढी क्षेत्र पर्यटक बढन थालेका छन् । हेटौंडा उपमहानगरपालिकासँगै सीमाना जोडिएको मकवानपुरगढी–२ ताप्लाखर्कमा होटल गढी भ्यू एण्ड रिसोर्ट प्रालिले जीप लाइन सञ्चालनमा ल्याएको हो । होटल गढी भ्यु एण्ड रिसोर्ट प्रालिका अध्यक्ष दिलिप घिमिरेले सुरुमा जीप लाइन सञ्चालन गरिएको र अब थ्रीस्टार होटल निर्माण हुने बताए । सुरुमा १० जनाले रोजगारी पाएका छन् । विस्तारै रोजगारीको सख्या पनि वृद्धि हुने छ । होटल गढी भ्यू एण्ड रिसोर्ट ३० कठ्ठामा निर्माण हुने छ । नेपाल भ्रमण वर्ष २०२० लक्षित गरि ऐतिहासिक स्थल मकवानपुरगढी दरबार नजिक जिल्लामा नै पहिलो पटक जीप लाइन सञ्चालनमा ल्याइएको प्रालिका अध्यक्ष घिमिरेले जानकारी दिए । ‘मकवानपुरगढी पर्यटकीय क्षेत्र भएकोले पर्यटक आकर्षणलाई ध्यानमा राखेर जीपलाइन सञ्चालनमा ल्याएको हो’, घिमिरेले भने । मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईले जीप लाइनले मकवानपुरगढी गाउँपालिकामा पर्यटक भित्र्यान सहयोग गर्ने बताए । हेटौंडा बजारबाट करिब १५ किलोमिटर दुरीमा रहेको जीप लाइन मकवानपुरको लागि नौलो हो । यो जीप लाइन मकवानपुरसहित चितवन, बारा, पर्सा र रौतहटसहित छिमेकी देश भारतका पर्यटकको लागि पनि आकर्षण केन्द्रबिन्दु हो । जिप लाइन खेल्न एकलको २ हजार, संयुक्तको ४ हजार ५ सय र सुपरम्यानको ३ हजार दर रहेको जनाइएको छ । निर्माणाधिन थ्रीस्टार होटल गढी भ्यू एण्ड रिसोर्टमा १९ वटा आवासीय सुविधासहित रेष्टुरेन्ट, कफिसप, स्वीमिङ पुल रिसोर्ट लगाएत निर्माण हुने घिमिरेले जानकारी दिए । काभ्रेको धुलिखेलमा जीप लाइन सञ्चालन गर्ने समूहले गढीमा जीप लाइल सञ्चालन गरेको हो ।
नाट्टाको अध्यक्षमा सिग्देल निर्वाचित
चिप्लेढुङ्गा । ट्राभल व्यवसायीको छाता सङ्गठन नाट्टा गण्डकी प्रदेशको ११औं अधिवेशनले सञ्जयकान्त सिग्देललाई अध्यक्षमा निर्वाचित गरेको छ । शनिबार सम्पन्न अधिवेशनमा सिग्देलले प्रतिस्पर्धी झवि अधिकारीलाई २० मतले पछाडि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन् । एक सय ८१ जना मतदाता रहेकामा झविले ७० मत प्राप्त गरेका थिए भने सिग्देलले ९० मत प्राप्त गरेर निर्वाचित भएका हुन् । अधिवेशनबाट प्रथम उपाध्यक्षमा हरिराम अधिकारी, द्वितीय उपाध्यक्ष किशोर दाहाल, महासचिवमा कमला गिरी, सचिवमा सङ्गीता पौडेल, कोषाध्यक्षमा राजेश पहारी र सहकोषाध्यमा नवराज भण्डारी विजयी भएका छन् । त्यसैगरी, सदस्यमा सुवास पहारी, तराप्रसाद गौतम, सन्दिप श्रेष्ठ, सुशीला सिग्देल र खिमबहादुर नेपाली विजयी भएका छन् । पन्ध्र सदस्यीय कार्यसमितिमा पदाधिकारीसहित तीन महिला निर्वाचित भएका छन् । नाट्टाको इतिहासमा पदाधिकारी महासचिवमा पहिलोपल्ट महिलाले नेतृत्व गर्ने अवसर मिलेको हो । गिरीले प्रतिष्पर्धी कुलचन्द्र शर्मालाई जम्मा १२ भोटले पछि पार्दै निर्वाचन जित्न सफल भएका हुन्। निर्वाचित भएसँगै अध्यक्ष सिग्देलले अब व्यावसायिक संस्थाको गरिमालाई उँचो बनाएर सबैको साझा संस्थाका रुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । त्यसैगरी महासचिव कमला गिरीले जिम्मेवारी प्रदान गर्ने मतदातालाई धन्यवाद दिँदै कुशलतापूर्वक जिम्मेवारी बहन गर्ने बताए ।
गंगबु नयाँ बसपार्कबाट गेष्ट हाउस सञ्चालकसहित ५७ जना पक्राउ
काठमाडाैं । प्रहरीले गंगबु नयाँ बसपार्क क्षेत्रमा आपराधिक क्रियाकलापमा संलग्न ५७ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले शनिबार राति चलाएको शुद्धीकरण अभियानमा गेष्ट हाउसका सञ्चालकसहित ५७ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ४० पुरुष १६ महिला र एक तेस्रोलिङ्गी छन् । प्रहरीले गेष्ट हाउस सञ्चालन गरेर वेश्यावृत्तिमा लगाउने शिवपुरी गेष्ट हाउसका सञ्चालक विनोद भट्टराई, मुस्ताङ गेष्ट हाउसका सञ्चालक नरेन्द्र पोमु र वाग्लुङ भोजनालयका सञ्चालक सोमबहादुर तामाङलाई पक्राउ गरेको छ । यसैगरी गेष्ट हाउसमा विचौलियाका रुपमा कार्यरत विष्णु थापा, अशोक पोमु र कमल कालाखेतीलाई समेत नियन्त्रणमा लिएको छ । अभियानका क्रममा जबर्जस्ती करणी मुद्दामा फरार अपराधी शनकाजी दर्जी पनि पक्राउ परेका छन् । वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले नयाँबसपार्क क्षेत्रको विकृति, विसङ्गति अन्त्यका लागि अभियान चलाएको बताए । वेश्यावृत्ति, पाकेटमार र जबर्जस्ती करणी मुद्दामा फरार व्यक्तिलाई नियन्त्रणका लागि पनि अभियान चाल्नु परेको उनको भनाइ छ । अभियानका क्रममा प्रहरीले विभिन्न होटल तथा रेस्टुराँबाट १ सय लिटर घरेलु मदिरासमेत नष्ट गरेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले नयाँबसपार्क क्षेत्रलाई आकर्षक क्षेत्रका रुपमा विकास गर्न यहाँभित्र रहेका विकृति विसङ्गति अन्त्यका लागि थप प्रहरी परिचालन गरी अप्रेसन चलाइएको बताए। महाराजगञ्ज प्रहरीले पाँच महिनाको अवधिमा बसपार्क क्षेत्रमा अनैतिक क्रियाकलापमा लाग्ने झण्डै एक हजार व्यक्तिलाई पक्राउ गरी कारबाही गरिसकेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेप्सेको स्वतन्त्र सञ्चालकमा महर्जन नियुक्त
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को स्वतन्त्र सञ्चालकमा लक्ष्मीप्रसाद महर्जन नियुक्त भएका छन् । नेपाल सरकार तथा अर्थ मन्त्रालय मन्त्रीस्तरको निर्णयबाट महर्जनलाई नेप्सेको उक्त पदमा नियुक्त गरिएको हो । नेप्सेको सञ्चालक समितिका अध्यक्ष लक्ष्मण न्यौपानेले नवनियुक्त सञ्चालक महर्जनलाई माघ २९ गते पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् । नियुक्त भएसँगै महर्जनले आगामी चार वर्षसम्म नेप्सेमा स्वतन्त्र सञ्चालकको पदको जिम्मेवार सम्हाल्ने छन् ।
आइतबार सुनको मूल्य प्रतिताेला ५ सय रुपैयाँले बढ्यो
काठमाडौं । साताको पहिलो दिन सुन प्रतितोला ५ सय रुपैयाँले बढेको छ । गत शुक्रबार प्रतितोला ७६ हजार रुपैयाँमा कारोबार भएको साताको शुरुवातमा ५ सय रुपैयाँ बढेर ७६ हजार ५ सय रुपैयाँमा बिक्री भइरहेको छ । गत शुक्रबार प्रतितोला ७५ हजार ७ सय रुपैयाँमा बिक्री भएको तेजावी सुन आइतबार प्रतितोला ७६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी गत शुक्रबारको तुलनामा प्रतितोला ५ रुपैयाँ बढेर ८ सय ८५ रुपैयाँमा बिक्री भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
नार्कले सिफारिस गरेका विऊमा किन बढ्दैछ समस्या?
काठमाडौं । पछिल्लो समय बालीमा किरा लाग्ने समस्या बढेको छ । अन्नबालीलाई फस्टाउनका लागि प्रयोग गरिने रसयानिक मल तथा विभिन्न विषादियुक्त रसायनको प्रयोगका कारण किरा लाग्ने समस्या झन बढ्दै गएको हो । नेपाल कृषि अनुसन्धान परिषद (नार्क)का अनुसार मानिसहरुले धेरै उत्पादन गर्ने महोत्कांक्षाका साथ अन्नबालीमा रसायन तथा विषादीको प्रयोग गर्नाले यो समस्या झन बढेको हो । मानिसहरुले किरालाई मार्ने औषधि भनेर प्रयोग गर्ने गरेका छन् तर उक्त औषधि विषको कुरामा परिणत हुने नार्कले जनाएको छ । सो औषधि बालीका लागि उपयुक्त नहुने नार्क सञ्चार प्रकाशन तथा अभिलेख महाशाखाका प्रमुख मनोज ठाकुरको भनाइ छ । रसायनिक विषादीले प्राकृतिक सन्तुलनमा उपयोगी जीवहरु विनाश गर्ने हुँदा त्यसको प्रभाव माटोमा तथा बालीमा देखा पर्ने उनको भनाइ छ । ‘बालीमा रासायनिक मल प्रयोग गर्दा लक्षित किराहरु मर्न सक्दैन, बाँकी रहेका किराबाट पनि पुनः अन्य किराको उत्पती हुन्छ, यसले झन बालीमा समस्या हुन्छ,’उनले भने । कृषि अनुसन्धान परिषद्ले हालसम्म ७३ बालीको ६ सय ९८ वटा जातका विउलाई सिफारिस गरेको छ । ती मध्ये ३९ वटा जातका बिऊलाई सिफारिसबाट हटाएको छ । हटाइएका बालीमध्ये वर्षे धानका १२ जात, मकैका ११, गहुँका १३, दलहन २, तेलहन र तेलहन बाली गरी ३९ जातका विऊ सिफारिसबाट हटाइएको हो । सूचिकृतबाट हटेका जातहरुमा हेटौँडा कम्पोजिट, सर्लाही सेतो, ककनी पहेँलो, रामपुर पँहेलो, जानकी मकालु दुई लगायतका रहेका छन् । सिफारिस भएका ३९ वटा जातका विऊहरु लामो समयसम्म प्रयोग गरेका तथा राम्रो उत्पादन तथा उल्लेख्य नतिजा नआएपछि तिनीहरुलाई सिफारिसबाट हटाइएको हो । किसानहरुले ती बाली तथा विऊमा किरा लाग्ने समस्या देखिएको गुनासो गरेपछि सिफरिसबाट हटाइएको नार्कले बताएको छ । कम्तीमा २० देखि ३० वर्ष पुरानो बाली तथा विउहरुको गुनासो तथा उत्पादनको अवस्था हेरेर नार्कले बालीको जातलाई सूचीबाट हटाउ सक्ने व्यवस्था गरेको छ । नार्कले हालसम्म २ सय ७५ उन्मोचित जातका विउ र ४ सय २३ वटा पञ्जिकरण जातका विउलाई खेतबारीमा सहजै लगाउन सक्ने स्वीकृति दिएको छ । देशमा वेरोजगारी अन्त्य गर्ने तथा स्वदेशमा नै रोजगारी प्रदान गर्ने उद्देश्यले कृषिमा नयाँ प्रविधिको प्रयाेग बढाएको छ ।
कोकाकोलाले पाँचौं मोःमोः उत्सव मनाउँदै, खानालाई भोजनमा परिणत गर्ने
काठमाडौं । कोका–कोलाले ५औं कोकाकोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्शियल सार्वजनिक गरेको छ । यस वर्ष मोःमोः भन्दा पर अझै विभिन्न परिकारका नेपाली खानाहरुको उत्सव मनाउँदै छ । यो अभियानको ट्यागलाइन ‘खाना जे होला स्वाद बढाउन कोका–कोला’ रहेको छ, जसको अर्थ खाना जे भएपनि कोका–कोलाले त्यसको स्वाद बढाएर कुनै पनि क्षणहरुलाई उत्सवमा परिवर्तन गर्दछ । यो टिभीसीमा अभिनेत्री साम्रागी आर.एल. शाह र अलिशा राई र गायिका केन्जल श्रेष्ठ, जेय अथर र आइजेन लगायत रहेका छन् । साम्रागी रेष्टुरेन्टमा गएर साथीहरुसँग बसेर कोक र मःमः (कोक र मःमःको जेस्चर प्रयोग गरि) अर्डर गरेर टिभीसी शुरु हुन्छ । उनका साथीहरु (अलिशा राई, केन्जल श्रेष्ठ, जेय अथर र आइजेन) फोनमै व्यस्त छन् र एकअर्कासँग कुराकानी समेत गरिरहेका हुदैनन् । सबैको मःम आइपुग्छ तर साम्रागीको मःम चाहिँ कोकको बोटल सहित आइपुग्छ । सबैजना फोनमै अाँखा गाडेर मःम खाइरहेका हुन्छन् । त्यसपछि साम्रागीको कोकको बोटल पप हुन्छ र त्यो आवाजले सबैको ध्यान तानिन्छ र अन्तत उसका साथीहरुले आफ्नो फोनबाट आँखा हटाउँछन् । बाँकी साथीहरुले त्यसपछि आफ्ना लागि कोक अर्डर गर्छन् । अब, सबैजनाले कोकको साथ खानाको मज्जा लिइरहेका छन् र एकअर्कासँग रमाइलो गर्दै छन् । जब बिल आइपुग्छ सबैजना मजाक गरेर बिल तिर्नबाट बच्नका लागि फेरि फोनमा डुबेको जस्तो गर्दछन् । त्यसपछि उनीहरु साम्रागीलाई हेर्छन र हाँस्छन् । यो टिभीसीले कोक उपभोक्ताहरुलाई खाना खाने समयमा उनीहरुको साथीहरु र परिवारसँग जोड्ने प्रयास गरेको छ । यसले नेपालीहरुलाई आफ्ना प्रियजनहरुसँग कोकको साथ सामान्य भोजनलाई रमाइलो खानामा परिणत गर्न प्रेरित गर्दछ । यस क्याम्पेनका बारेमा कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले नयाँ क्याम्पेन खाना जे होला स्वाद बढाउन कोका–कोलाले नेपाली संस्कृतिमा खानाको महत्व बुझेर उपभोक्ताहरुलाई मनमा राखेको बताए । नयाँ टिभीसीमा खाना खान भन्दा पनि भोजनलाई कसरी आफ्ना प्रियजनहरुसँग स्मरणीय क्षणमा परिणत गर्न सकिन्छ भनेर देखाइएको छ । यसले सबैलाई जोडेर एकअर्कासँग रमाइलो कुराकानी गर्न लक्षित गरेको छ ।
वितरणतर्फको विद्युत् चुहावट ९.७८ प्रतिशतमा झर्यो
काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७६/७७ को पहिलो ६ महिनामा वितरणतर्फको औसत विद्युत चुहावट ९.७८ प्रतिशतमा झरेको छ । गत आव २०७५/७६ मा ११.२८ प्रतिशत रहेको वितरणतर्फको चुहावटलाई चालू आवको पहिलो ६ महिनामा १.५० प्रतिशत विन्दुले घटाएर ९.७८ प्रतिशतमा सीमित गर्न नेपाल विद्युत प्राधिकरण सफल भएको हो । चालू आवमा वितरणतर्फको विद्युत् चुहावटलाई ८.५० प्रतिशतमा झार्ने लक्ष्य तय गरी प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण र सेवाप्रवाह सुधार तथा विस्तारमा केन्द्रित भई काम गरिरहेको छ । आव २०७२/७३ मा प्रणालीमा रहेको २५.७८ प्रतिशत विद्युत् चुहावटलाई आव २०७५÷७६ सम्ममा १५.३२ प्रतिशतमा झारिएको छ । चालू आवमा प्रणालीको चुहावट १३ प्रतिशतभन्दा कममा झार्ने लक्ष्य लिइएको छ । चुहावट नियन्त्रणबाट मात्रै वार्षिक रुपमा झण्डै १० अर्ब रुपैयाँ थप आम्दानी भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री एवं प्राधिकरण संचालक समितिका अध्यक्ष वर्षमान पुनले विद्युत चुहावट घटाउने, संस्थाभित्रको वित्तीय तथा प्रशासनिक वेतिथी नियन्त्रण गरी सुशासन कायम गर्ने, सेवा प्रवाहलाई सुधार गर्नेलगायतका निर्देशन प्राधिकरण व्यवस्थापनलाई दिएका छन् । प्राधिकरणले अहिले सोहीअनुसार काम गरिरहेको छ । आवको बाँकी ६ महिनामा तय गरिएको लक्ष्य हासिल हुने कार्यकारी निर्देशक घिसिङले बताए । घिसिङले लोडसेडिङ अन्त्य भई नियमित रुपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि चालिएका कदमले वितरणतर्फको विद्युत् चुहावट नियन्त्रणमा सकारात्मक प्रभाव परेको उल्लेख गरे । ‘गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण, महशुल बक्यौता असुलीमा कडाइ, मिटर वाईपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारवाही गर्र्नेे, बन्द मिटर फेर्ने, मिटर लिन प्रोत्साहित गर्ने मिटर रिडिङ नभएको (स्टक युनिट) ग्राहकको पहिचान गरी रिडिङ गर्ने र प्राविधिक चुहावट नियन्त्रणका लागि सबस्टेसनको क्षमता बृद्धि गर्ने, कन्डक्टर थप्ने,ओभरलोड ट्रान्सफर्मर फेर्ने, थ्रि फेज मिटरको प्रयोगलाई प्रोत्साहन गर्नेलगायतका काम अभियान कै रुपमा चलाइरहेका छौं, हामीले चालेका कदमको प्रभावले गर्दा वितरणतर्फको चुहावट घटेको हो,’ घिसिङले भने । विकसित देशमा पनि वितरणतर्फको विद्युत् चुहावट पाँच प्रतिशतको हाराहारीमा हुने गर्छ । प्रसारण तथा वितरणतर्फका निर्माणाधीन सबै सबस्टेसन संचालनमा आएपछि नेपाल पनि विकसित देशकै हाराहारीमा पुग्ने घिसिङको भनाइ छ । प्राधिकरण व्यवस्थापनले विद्युत् चुहावट नियन्त्रण, विद्युतीकरण र सेवाप्रवाह सुधारमा केन्द्रित रहेर प्राधिकरणका सात प्रादेशिक तथा दुई प्रदेश डिभिजन कार्यालय प्रमुखहरु र मातहतका एक सय २९ वितरण केन्द्र प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता गरेको छ । चुहावट नियन्त्रण र सेवा प्रवाहका लागि दिइएका लक्ष्य पूरा गरेमा नगद र गैह्रनगद प्रोत्साहन पाउने व्यवस्था गरिएकाले यसको सकारात्मक प्रभाव परेको घिसिङले जानकारी दिए । प्राधिकरणले चुहावट नियन्त्रण, वक्यौता असुलीलगायतका निर्धारण गरिएका लक्ष्यको प्रगतिका आधारमा ग्राहक तथा वितरण सेवातर्फ कर्मचारीलाई कार्यसम्पादनमा आधारित पुरस्कार (इपीआर) लागू गरेको छ । वितरण तथा ग्राहक सेवाअन्तर्गतका व्यवस्थापक र दिनरात नभनी खटिएका कर्मचारी, गृह प्रशासनलगायत सबैको साथ र सहयोगमा चुहावट घटाउन सफल भएको घिसिङको भनाइ छ । ‘प्राविधिक र गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि देशभर चालिएको अभियानलाई अझै सशत्त र प्रभावकारी बनाउँछौं’, उनले भने । मिटर लिन प्रोत्साहित गर्न सुकुम्वासीलाई पनि मीटर सहज रुपमा दिने, स्थानीयतहको सिफारिस विनानै मिटर जडान गर्ने, अतिविपन्नहरुलाई निशुल्क मिटर वितरण भइरहेको छ । प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानले चालू आवको पहिलो ६ महिनामा प्राविधिक र गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि झण्डै ५० करोड रुपैयाँको काम गरिएको जानकारी दिए । ‘चोरी नियन्त्रणका लागि देशभरका हरेक वितरण केन्द्रहरुले युनिक युनिक अभियान चलाइरहेका छन्, बढी चोरी भएको ठाउँका विद्यालयमा गएर विद्यार्थीको जनचेतना अभिबृद्धि गर्ने, स्थानीय तह तथा प्रशासनसँग समन्वय र सहकार्य गरी अभियान चलाइएको छ, प्राविधिक चुहावट नियन्त्रणका लागि पनि व्यापक रुपमा काम भइरहेको छ’, उनले भने । विद्युत् बिक्रीबाट प्राधिकरणले आम्दानी गर्ने राजश्वको करिब २८ प्रतिशत हिस्सा ओगट्ने बाग्मती प्रदेशको प्रदेशिक कार्यालय काठमाडौंको गत आवमा ७.४० प्रतिशत रहेको चुहावट ७ प्रतिशतमा झरेको छ । चुहावटलाई चालू आवमा ५.७७ प्रतिशतमा झार्ने लक्ष्य दिइएको छ । कार्यालय मातहत २० वितरण केन्द्रहरु छन् । दोस्रो बढी राजश्व संकलन गर्ने प्रदेश नं २ को प्रादेशिक कार्यालय जनकपुरको गत आवमा रहेको १५.४८ प्रतिशतको चुहावट १४.३४ प्रतिशतमा झरेको छ । कार्यालयले चुहावटलाई १०.९७ प्रतिशतमा झार्नु पर्ने छ । कार्यालय मातहत २३ वितरण केन्द्रहरु छन् । प्रदेश नं १ को प्रादेशिक कार्यालय विराटनगरले गत आवमा ११.८४ प्रतिशत रहेको विद्युत् चुहावट चालु आवको ६ महिनामा ९.८८ प्रतिशतमा झारेको छ । कार्यालयलाई विद्युत् चुहावट ८.८७ प्रतिशतमा झार्ने लक्ष्य दिइएको छ ।कार्यालय मातहत २४ वितरण केन्द्रहरु छन् । गत आवमा १०.४३ प्रतिशत रहेको चुहावटलाई गण्डकी प्रदेश प्रादेशिक कार्यालय पोखराले चालू आवको ६ महिनामा ८.७५ प्रतिशतमा सीमित गरेको छ । कार्यालयलाई चुहावट ७.९० प्रतिशतमा झार्ने लक्ष्य दिइएको छ । कार्यालय मातहत १३ वितरण केन्द्रहरु छन् । प्रदेश नं ५ को प्रादेशिक कार्यालय बुटवलले १२.३६ प्रतिशतको चुहावटलाई ६ महिनामा ९.९३ प्रतिशतमा झारेको छ । कार्यालयले चुहावटलाई ९.२६ प्रतिशतमा झार्नु पर्ने छ । कार्यालय मातहत ११ वितरण केन्द्रहरु छन् । कर्णाली प्रदेशको प्रादेशिक कार्यालय सुर्खेतले १९.९० प्रतिशत रहेको चुहावटलाई १४.९८ प्रतिशतमा सीमित गरेको छ । कार्यालयलाई चुहावट १४.५७ प्रतिशतमा झार्ने लक्ष्य दिइएको छ । कार्यालय मातहत १० वितरण केन्द्रहरु छन् । सुदूरपश्चिम प्रदेशको प्रादेशिक कार्यालय अत्तरियाले १४.३९ प्रतिशतको चुहावटलाई ८ प्रतिशतमा झारेको छ । कार्यालयलाई चुहावट १०.६९प्रतिशतमा झार्ने लक्ष्य दिइएको छ । कार्यालय मातहत १२ वितरण केन्द्र छन् । बाग्मती प्रदेशको प्रदेश डिभिजन कार्यालय हेटौंडाले ७.३८ प्रतिशत रहेको चुहावटलाई ६.५५ प्रतिशतमा सीमित गरेको छ । कार्यालयले चुहावटलाई चालू आवमा ५.७५ प्रतिशतमा झार्नु पर्ने छ । कार्यालयअन्तर्गत ६ वितरण केन्द्रहरु छन् । प्रदेश नं ५ को प्रदेश डिभिजन कार्यालय नेपालगंजको विद्युत चुहावट ९.६५ प्रतिशत छ । कार्यालयले चुहावटलाई ८ प्रतिशतमा झार्नु पर्ने छ । कार्यालय मातहत १० वितरण केन्द्रहरु छन् ।