नर्भिक इन्स्टिच्यूट अफ नर्सिङ्गद्वारा रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलको भगिनी संस्था नर्भिक इन्स्टिच्यूट अफ नर्सिङ्ग एजुकेशनले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । पूर्वाञ्चल विश्वद्यिालय तथा सि.टी.ई.भि.टी.बाट सम्वन्धन प्राप्त गरी वि.एस.सी. नर्सिङ्ग, पि.वि.एन.एस. तथा पि.सी.एल नर्सिङ्गमा अध्ययन÷अध्यापन हुने नर्भिक इन्स्टिच्यूट अफ नर्सिङ्ग एजुकेशनको दशौ वार्षिकोत्सवको उपलक्ष्यमा सो कार्यक्रम गरिएको हो । नेपाल रेडक्रस सोसाइटी, भक्तपुरको प्राविधिक सहयोगमा यस कलेजमा अध्ययनरत विभिन्न कार्यक्रमका विद्यार्थी तथा कर्मचारी गरी ५६ जनाले रक्तदान गरेका थिए । नेपाल रेडक्रसको मानव जीवनको लागि वहुमुल्य वस्तु रगतको कमीबाट कुनैपनि व्यक्तिले मृत्युवरण गर्नु नपरोस भन्ने हेतुले “रक्तदान जीवनदान” को नारालाई सफल बनाउन यस कलेजले आफ्नो दशाैं वार्षिकोत्सवको उपलक्ष्यमा ५६ पिन्ट रगत नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखालाई हस्तान्तरण गरियो । सो अवसरमा इन्स्टिच्यूटका प्रमुख कार्यकारी अधिकृत श्री कुलानन्द शर्माले सामाजिक सेवा अन्तर्गत मानवीय सेवालाई ख्याल गरी इन्स्च्टियूटको दशौ वार्षिकोत्सवको अवसर पारेर रक्तदानको कार्यमा सहभागी भई मानव जीवनको बहुमूल्य वस्तु रगतले कसैको जीवन बचाउन सकिने कार्यमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाले प्राविधिक सहयोग गरेकोमा धन्यवाद दिएका छन् । सोही अवसरमा हाल विश्वलाई नै आतङ्कित बनाइरहेको कोरोना भाइरस नामक रोगको विषयमा र उक्त रोगबाट बच्ने उपायहरु तथा त्यस्तो रोग लागिहालेमा रोगथामको उपायको विषयमा व्यानर तथा पोस्टर समेतको वितरण गरी यस कलेजमा अध्ययन अध्यापन गर्ने विद्यार्थी तथा शिक्षक शिक्षिकाहरुबाट अन्तरक्रिया कार्यक्रम समेत गरिएको थियो ।
प्रधानमन्त्री ओलीद्वारा सडक र पुल उद्घाटन, निर्माण लागत ३४ कराेड
भद्रपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले दमकको कृष्ण मन्दिरदेखि बेलडाँगीसम्मको कालोपत्रे सडक र दमकबाट मोरङको मधुमल्ला जोड्ने मावाखोलामा निर्मित पक्की पुलको उद्घाटन गरेका छन् । आज बिहान झापा आइपुगेका प्रधानमन्त्री ओलीले सङ्घीय सरकारद्वारा निर्माण गरिएको सो सडक र पुलको उद्घाटन गरेका हुन् । छ दशमलव २१ किमी लम्बाइको सडकको लागत रु चार करोड १६ लाख २२ हजार १५६ रहेको छ । सो सडकको निर्माण श्री रोताहा आरके जेभीले गरेको हो । त्यस्तै, दमकलाई मोरङको मधुमल्लासँग जोड्ने पुलको लम्बाई २५० मिटर रहेको छ । रु ३० करोड २२ लाख ९१ हजार ७५० लागत रहेको पुल शर्मा लामा स्वच्छन्द जेभीले निर्माण गरेको हो । प्रधानमन्त्री ओलीले आज नै दमक नगरपालिका–१ मा जनता आवासमार्फत निर्माण गरिएका घरको साँचो हस्तान्तरण गर्ने बताइएको छ भने अपराह्न बेलडाँगीमा आयोजित समारोहलाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ । रासस
विद्युत् चुहावट नियन्त्रणमा प्राधिकरण आक्रामक, जोगियो १० अर्ब
काठमाडौ । सरकारको सार्थक प्रयास तथा नेपाल विद्युत् प्राधिकरणको नियमित क्रियाशीलताका कारण विद्युत् चुहावटबाट खेर जाने रु १० अर्ब बराबरको रकम जोगिएको छ । प्राधिकरणले देशव्यापी रुपमा सञ्चालन गरेको चोरी तथा चुहावट नियन्त्रणको सार्थक परिणाम देखापरेको छ । चुहिएर जाने विद्युत्को समेत आर्थिक लाभ प्राप्त भएको छ । नियमित विद्युत् आपूर्ति पछि चोरी तथा चुहावटमा संलग्नसमेत हच्किएका छन् । सकारात्मक परिणाम पनि देखापरेको हो । चालू आर्थिक वर्षको पहिलो छ महिनामा वितरणतर्फको औसत विद्युत् चुहावट ९.७८ प्रतिशतमा झरेको छ । यसले ठूलो राहत दिएको प्राधिकरणको दाबी छ । आव २०७५/७६ मा ११.२८ प्रतिशत रहेको वितरणतर्फको चुहावटलाई चालू आवको पहिलो छ महिनामा १.५० प्रतिशतले घटाएर ९.७८ प्रतिशतमा सीमित गर्न प्राधिकरण सफल भएको हो । त्यसले प्राधिकरणको आर्थिक स्वास्थ्यलाई सुधार गर्नसमेत बल मिलेको छ । चालू आवमा वितरणतर्फको विद्युत् चुहावटलाई ८.५० प्रतिशतमा सीमित गर्ने लक्ष्यका साथ प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण र सेवा प्रवाह सुधार तथा विस्तारमा ध्यान केन्द्रित गरेको छ । आव २०७२/७३ मा प्रणालीमा रहेको २५.७८ प्रतिशत विद्युत् चुहावटलाई आव २०७५/७६ सम्ममा १५.३२ प्रतिशतमा झारिएको थियो । चालू आवमा प्रणालीको चुहावट १३ प्रतिशतभन्दा कममा झार्ने लक्ष्य राखिएको छ । सामान्यता प्राविधिक चुहावट घटाउन ठूलै मेहनत जरुरी पर्छ । तर त्यसलाई समेत क्रमशः घटाउँदै जाने प्राधिकरणको लक्ष्य रहेको छ । चुहावट नियन्त्रणबाट मात्रै वार्षिकरुपमा रु १० अर्ब थप आम्दानी भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं प्राधिकरण सञ्चालक समितिका अध्यक्ष वर्षमान पुनले विद्युत् चुहावट घटाउने, संस्थाभित्रको वित्तीय तथा प्रशासनिक बेतिथी नियन्त्रण गरी सुशासन कायम गर्ने, सेवा प्रवाहलाई सुधार गर्नेलगायतका निर्देशन प्राधिकरण व्यवस्थापनलाई दिएका छन् । प्राधिकरणले अहिले सोहीअनुसार काम गरिरहेको छ । मन्त्री पुनले राम्रो गर्नेलाई पुरस्कार र नराम्रो नगर्नेलाई दण्ड दिन स्पष्ट निर्देशन दिएका छन् । सोही निर्देशनको परिणामसमेत स्पष्ट रुपमा देखापरेको प्राधिकरणको भनाइ छ । प्राधिकरण आफैँले तोकेको चालू आवको लक्ष्य हासिल हुने कार्यकारी निर्देशक घिसिङको विश्वास छ । कार्यकारी निर्देशक घिसिङ विद्युत्भार कटौतीको अन्त्य भई नियमित रुपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रणका लागि चालिएका प्रभावकारी कदमले वितरणतर्फको विद्युत् चुहावट नियन्त्रणमा सकारात्मक प्रभाव परेको बताउँछन् । प्राधिकरणले गैरप्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण, महसुल बक्यौता असुलीमा कडाइ, मिटर वाईपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारवाही गर्र्नेे, बन्द मिटर फेर्ने, मिटर लिन प्रोत्साहित गर्ने मिटर रिडिङ नभएको ग्राहकको पहिचान गरी रिडिङ गर्ने र प्राविधिक चुहावट नियन्त्रणका लागि सबस्टेसनको क्षमता वृद्धि गर्ने काम गर्दै आएको छ । यस्तै कन्डक्टर थप्ने, ओभरलोड ट्रान्सफर्मर फेर्ने, थ्रि फेज मिटरको प्रयोगलाई प्रोत्साहन गर्नेलगायतका काम अभियानकैरुपमा चलाइरहेको छ । त्यसले पनि चुहावट हटाउन थप बल पुगेको छ । विकसित देशमा पनि वितरणतर्फको विद्युत् चुहावट पाँच प्रतिशतको हाराहारीमा रहने प्राधिकरणको भनाइ छ । त्यस्तै प्रसारण तथा वितरणतर्फका निर्माणाधीन सबै सबस्टेसन सञ्चालनमा आएपछि प्राधिकरण विकसित देशकै हाराहारीमा पुग्ने बुझाइ छ । प्राधिकरण व्यवस्थापनले विद्युत् चुहावट नियन्त्रण, विद्युतीकरण र सेवाप्रवाह सुधारमा केन्द्रित रहेर प्राधिकरणका सात प्रादेशिक तथा दुई प्रदेश डिभिजन कार्यालय प्रमुख र मातहतका १२९ वितरण केन्द्र प्रमुखसँग कार्यसम्पादन करार सम्झौतासमेत गरेको छ । प्राधिकरणले चुहावट नियन्त्रण, बक्यौता असुलीलगायतका निर्धारण गरिएका लक्ष्यको प्रगतिका आधारमा ग्राहक तथा वितरण सेवातर्फ कर्मचारीलाई कार्यसम्पादनमा आधारित पुरस्कारसमेत लागू गरेको छ । वितरण तथा ग्राहक सेवाअन्तर्गतका व्यवस्थापक र दिनरात नभनी खटिएका कर्मचारी, गृह प्रशासनलगायत सबैको साथ र सहयोगमा चुहावट घटाउन सफल भएको प्राधिकरणको भनाइ छ । प्राविधिक र गैरप्राविधिक चुहावट नियन्त्रणका लागि मुलुकभर चालिएको अभियानलाई थप प्रभावकारी बनाउने तयारीमा प्राधिकरण जुटेको छ । यस्तै प्राधिकरणले नयाँ मिटर लिन प्रोत्साहित गर्न सुकुम्बासीलाई पनि मिटर सहजरुपमा दिने, स्थानीय तहको सिफारिसविना नै मिटर जडान गर्ने र अति विपन्नलाई निःशुल्क मिटर वितरण भइरहेको छ । प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानले चालू आवको पहिलो छ महिनामा प्राविधिक र गैरप्राविधिक चुहावट नियन्त्रणका लागि झण्डै रु ५० करोड लगानी गरिएको जानकारी दिए । चोरी नियन्त्रणका लागि मुलुकभरकै वितरण केन्द्रले नमूनायोग्य अभियान चलाइरहेका छन्, बढी चोरी भएको ठाउँका विद्यालयमा गएर विद्यार्थीको जनचेतना अभिवृद्धि गर्ने, स्थानीय तह तथा प्रशासनसँग समन्वय र सहकार्य गरी अभियान चलाइएको छ । प्राविधिक चुहावट नियन्त्रणका लागि पनि व्यापकरुपमा काम गरिरहेको छ । करिब २८ प्रतिशत राजश्व उठाउने वाग्मती प्रदेशको प्रदेशिक कार्यालय काठमाडौंँको गत आवमा ७.४० प्रतिशत रहेको चुहावट सात प्रतिशतमा झरेको छ । चुहावटलाई चालू आवमा ५.७७ प्रतिशतमा झार्ने लक्ष्य दिइएको छ । कार्यालय मातहत २० वितरण केन्द्र रहेका छन् । दोस्रो बढी राजश्व सङ्कलन गर्ने प्रदेश नं २ को प्रादेशिक कार्यालय जनकपुरको गत आवमा रहेको १५.४८ प्रतिशतको चुहावट १४.३४ प्रतिशतमा झरेको छ । कार्यालयले चुहावटलाई १०.९७ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ । सो कार्यालय मातहत २३ वितरण केन्द्र छन् । प्रदेश नं १ को प्रादेशिक कार्यालय विराटनगरले गत आवमा ११.८४ प्रतिशत रहेको विद्युत् चुहावट चालू आवको छ महिनामा ९.८८ प्रतिशतमा झारेको छ । त्यस कार्यालयलाई विद्युत् चुहावट ८.८७ प्रतिशतमा झार्ने लक्ष्य दिइएको छ । कार्यालय मातहत २४ वितरण केन्द्र छन् । गत आवमा १०.४३ प्रतिशत रहेको चुहावटलाई गण्डकी प्रादेशिक कार्यालय पोखराले चालू आवको छ महिनामा ८.७५ प्रतिशतमा सीमित गरेको छ । कार्यालयलाई चुहावट ७.९० प्रतिशतमा झार्ने लक्ष्य दिइएको छ । कार्यालय मातहत १३ वितरण केन्द्र छन् । प्रदेश नं ५ को प्रादेशिक कार्यालय बुटवलले १२.३६ प्रतिशतको चुहावटलाई छ महिनामा ९.९३ प्रतिशतमा झारेको छ । कार्यालयले चुहावटलाई ९.२६ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ । कार्यालय मातहत ११ वितरण केन्द्रहरु छन् । कर्णाली प्रदेशको प्रादेशिक कार्यालय सुर्खेतले १९.९० प्रतिशत रहेको चुहावटलाई १४.९८ प्रतिशतमा सीमित गरेको छ । कार्यालयलाई चुहावट १४.५७ प्रतिशतमा झार्ने लक्ष्य दिइएको छ । कार्यालय मातहत १० वितरण केन्द्र छन् । सुदूरपश्चिम प्रदेशको प्रादेशिक कार्यालय अत्तरियाले १४.३९ प्रतिशतको चुहावटलाई आठ प्रतिशतमा झारेको छ । कार्यालयलाई चुहावट १०.६९ प्रतिशतमा झार्ने लक्ष्य दिइएको छ । कार्यालय मातहत १२ वितरण केन्द्र छन् । वाग्मती प्रदेशको प्रदेश डिभिजन कार्यालय हेटौँडाले ७.३८ प्रतिशत रहेको चुहावटलाई ६.५५ प्रतिशतमा सीमित गरेको छ । कार्यालयले चुहावटलाई चालू आवमा ५.७५ प्रतिशतमा झार्नु पर्नेछ । कार्यालयअन्तर्गत छ वितरण केन्द्र छन् । प्रदेश नं ५ को प्रदेश डिभिजन कार्यालय नेपालगञ्जको विद्युत् चुहावट ९.६५ प्रतिशत छ । कार्यालयले चुहावटलाई ८ प्रतिशतमा झार्नु पर्नेछ । कार्यालय मातहत १० वितरण केन्द्र छन् । रासस
विद्युत् वितरण प्रणाली स्तरोन्नति विस्तारमा नेपाललाई साढे १२ अर्ब ऋण
काठमाडाैं । युरोपेली लगानी बैंकले विद्युत् वितरण प्रणाली स्तरोन्नति विस्तार आयोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई रु १२ अर्ब ४१ करोड बराबरको ऋण सहायता उपलब्ध गराउने भएको छ । ऋण सहायतासम्बन्धी वित्तीय सम्झौतामा हालै अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपाल र युरोपेली लगानी बैंकका निर्देशक मारिया बारागन र कानूनी सल्लाहकार बोर्जा ओक्जाङ गोइटीले हस्ताक्षर गरेका छन् । अर्थमन्त्रालयका अनुसार ऋणस्वरुप प्राप्त उक्त रकम ५ नम्बर, कर्णाली र सुदूरपश्चिम प्रदेशमा त्यहाँका जनताको बिजुलीमा पहुँच बढाउने, विद्युत् आपूर्तिको गुणस्तर एवं दक्षता अभिवृद्धि गर्ने र ऊर्जा व्यापारलाई सहजीकरण गरी विद्युत् वितरण प्रणाली स्तरोन्नति तथा विस्तार गरिनेछ । नेपाल विद्युत् प्राधिकरणले सन् २०२३ को डिसेम्बरसम्ममा उक्त आयोजना पूरा गर्ने लक्ष्य लिएको अर्थ मन्त्रालयले जनाएको छ ।
गुहेश्वरी मर्चेण्ट बैंकिङ्गको हटिया एक्सटेन्सन काउन्टर सञ्चालनमा
काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको हटिया एक्सटेन्सन काउन्टर सञ्चालनमा आएको छ । उक्त काउन्टरको उद्घाटन मकवानपुर जिल्लामा हेटौंडा उप-महानगरपालिका वडा नं. १६ का वडा अध्यक्ष रामकृष्ण कोइरालाले गरेका हुन् । यस काउन्टरको उद्घाटन पछि प्रदेश नम्बर ३ मा ६ वटा शाखा कार्यालयहरु र एक वटा एक्सटेन्सन काण्न्टर संचालनमा आएको संस्थाले जानकारी गराएको छ । यसका साथै ललितपुरको हरिहर भवनमा प्रधान कार्यालय रहेको यस संस्थाको प्रदेश नम्बर एकमा २ वटा शाखा कार्यालयहरु, प्रदेश नम्बर दुईमा ५ वटा शाखा कार्यालयहरु र १ वटा एक्सटेन्सन काउन्टर, प्रदेश नम्बर ५ मा ३ वटा शाखा कार्यालयहरु रहेका छन् । संस्थाले ४ अर्ब ३५ करोड रुपैयाँ निक्षेप संकलन तथा ३ अर्ब ५७ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । २०७६ पुस मसान्तसम्ममा ३ करोड १२ लाख रुपैयाँ संचालन मुनाफा गरेको संस्थाले जानकारी गराएको छ । यस वित्तीय संस्थाको चुक्तापुँजी ८० करोड रुपैयाँ तथा जगेडा कोषमा २३ करोड ७२ लाख रुपैयाँ रहेको छ ।
महेश रिमालको करिअरः सीए पढ्दै पस्यो बीमाप्रतिको रस
काठमाडौं । महेश रिमाल २०६४ साल जेठ ६ गते राष्ट्रिय बीमा संस्थान प्रवेश गरे । उनी चाटर्ड एकाउन्टेन्ट (सीए) पनि हुन् । बीमा क्षेत्रमा प्रवेश गरेकोमा उनी खुसी छन् । यो क्षेत्रमा लागेपछि आएका केही अवसर पनि उनले गुमाए । अर्थात बीमा क्षेत्रलाई कहिल्यै छोडेनन् । भारतको पुनेमा सीए अध्ययन गर्न पुगेका थिए रिमाल । त्यो बेला नै भविष्यमा जागिर खाने कि आफ्नै कुनै उद्यम व्यवसाय गर्ने भन्ने दुविधा नभएको होइन । अध्ययनकै क्रममा बीमा क्षेत्रप्रति उनको आकर्षण बढ्यो । सो आकर्षणले उनलाई अझसम्म छोडेको छैन । ‘उद्योग व्यवसाय संचालन गर्नु काम गर्नु राम्रो हो, हामीले वित्तीय उद्योग छनोट गर्नुपर्छ भन्ने मलाई लाग्यो’, राष्ट्रिय बीमा संस्थानका नायब महाप्रबन्धक रिमालले बिकासन्युजसँग भने । बीमा क्षेत्रमा काम गर्नेहरुको संख्या पहिले निकै कम थियो । पछिल्लो समय भने यो क्षेत्रमा लागेकाहरुको संख्या बढ्दो क्रममा छ । बीमा क्षेत्रमा जनशक्ति नै कम छ भने यो क्षेत्रमा लाग्ने सीएहरुको संख्या अझ कम भएको उनको भनाइ छ । पहिले संस्थानले जीवन बीमा तथा निर्जीवन बीमा दुबै प्रकारको व्यवसाय गथ्र्यो । २०७१ सालबाट राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी गरी कम्पनी नै दुईटा भए । व्यवसाय पनि बेग्लाबेग्लै भयो । रिमाल भने संस्थानतिर परे । संस्थान छुट्टनुअघिसम्म रिमाल दुबै बीमा व्यवसायको वित्त प्रमुखको जिम्मेवारीमा थिए । बीमा क्षेत्रमा काम गर्दा राम्रो अवसर पाइने उनको अनुभव छ । यो क्षेत्र केही हदसम्म प्राविधिक पनि भएकोले तालिम लिएर मात्रै प्रवेश गर्नु उपयुक्त हुने उनको सुझाव छ । बीमाको पहुँच जीवन बीमा क्षेत्रमा २० प्रतिशत भन्दा माथि छ, सोही कारण बीमा बजार नै राम्रो अवस्था पुगेको छ । एक्चुरी मार्फत बीमा कम्पनीको अनुमान गरेर बीमा क्षेत्र अघि बढ्ने भएकाले यो क्षेत्र आफैमा उपयुक्त क्षेत्र हो भन्छन् रिमाल । संस्थान स्थापनाको ५०औं पूरा गरिसकेको छ । त्यसैले संस्थानसँग बीमा क्षेत्रको बारेमा राम्रो ज्ञान पनि प्राप्त भएको छ । राम्रो बानी सीएको जीवन भनेको हिसाव कितावको जीवन पनि हो । अंक, जोड घटाऊ र व्यालेन्ससीट जस्ता तथ्यांकीय गतिविधि सीएको जीवनसँग धेरै खेल्ने आउने कुराहरु हुन् । त्यसैले धेरैलाई लाग्न सक्छ– सीएले आफ्ना हरेक गतिविधि हिसाव किताव गरेर गर्छन् । तर, जीवन त्यस्तो हुँदैन । व्यवसाय र जिन्दगी भिन्न कुरा हुन् । जीवन जिउने उनको भिन्ने दर्शन छ । उनी सानातिना कुराबाट कहिल्यै बिचलित हुदैनन् । यो उनको सबैभन्दा राम्रो बानी रहेको उनका सहकर्मी बताउँछन् । नराम्रो बानी सीए पढ्नेहरुमा अनुशासन अलि बढी नै हुन्छ । त्यसैले आफूसँग त्यस्तो नराम्रो बानी नभएको उनको भनाइ छ । ‘मलाई थाहा भएको नराम्रो बानी पनि त्यस्तो केही छैन र साथीहरुले पनि त्यस्तो केही सुनाएका छैनन्,’ रिमालले भने । ड्रिङ्कस्ः रिमाल आफूलाई सोसल ड्रिंकरको रुपमा मात्रै चिनाउँछन् । आफूले हत्तपत्त नखाने तर साथी भाइहरुको जमघटमा भने खाने वर्गमा आफू पर्ने उनले बताए । राष्ट्रिय बीमा संस्थान हाल निदाएको सिंहको रुपमा रहेकाले भोलिका दिनमा यसलाई गर्जिएको सिंह बनाउँन संस्थान व्यवस्थापन लागेको उनले सुनाए ।
युनाईटेड फाईनान्सले ल्यायो सिल्भर जुब्ली बचत खाता, फागुनसम्म संचालन हुने
काठमाडौं । युनाईटेड फाईनान्सले २५ औं वार्षिकोत्सवको अवसर पारेर सिल्भर जुब्ली बचत खाता संचालनमा ल्याएको छ । एक घर एक खाताको अभियानलाई निरन्तरता दिदै घरदैलो कार्यक्रम का माध्यमबाट प्रत्येक घर घरमा एक खाता खोल्ने अभियान आइतबारदेखि संचालनमा आएको हो । यस योजना अन्तर्गत युनाईटेड फाईनान्स लिमिटेडको सिल्भर जुब्ली बचत खाता खोल्ने हरेक खातावालाको खातामा फाईनान्सका तर्फबाट रु. १००। जम्मा गरिने तथा निःशुल्क रुपमा भिसा कार्ड तथा आस्वा सेवा उपलव्ध गराईनेछ । यस फाईनान्समा हालै मात्र भारतको प्रतिष्ठित मुत्तुट फाइनेन्स रणनीतिक साझेदारका रुपमा भित्रिएको छ । कम्पनीले आफ्ना २३ वटा शाखा कार्यालयबाट बैकिगं सेवा प्रदान गर्दै आईरहेको छ । यो योजना सबै शाखा कार्यालयहरुमा लागु हुनेगरी हाललाई फागुन महिना भरिका लागि संचालनमा ल्याईएको छ ।
सिभिल बैंकको १०९औं शाखा नवलपरासीको सुनवलमा
काठमाडौं । सिभिल बैंकले शाखा विस्तार गर्ने क्रममा नवलपरासीको सुनवलमा आफ्नो १०९औं शाखा संचालनमा ल्याएको छ । उक्त सुनवल शाखाको उद्घाटन सिभिल बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुंगाना तथा सुनवल नगरपालिकाका मेयर भिम बहादुर थापाले संयुक्त रूपमा गरेका हुन् । सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कैलाशेश्वर शिवालय मन्दिरमा संचालित जेष्ठ नागरिक दिवा सेवा कार्यक्रमको सहयोगार्थ एक थान फ्रिज प्रदान गरेको छ । सो फ्रिज सिभिल बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुंगानाद्वारा श्री कैलाशेश्वर शिवालय तथा १०८ शिवलिङ्ग संरक्षण संस्थाका अध्यक्ष गोपाल प्रसाद आचार्यलाई प्रदान गरिएको हो । सुनवल शाखा उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा सुनवल नगरपालिकाका मेयर भिम बहादुर थापाले नगरवासीलाई आफुलाई आवश्यक पर्ने पुँजीको लागि बैंकबाट कर्जा लिन आग्रह गर्नुका साथै आफुसँग भएको सानो सानो पुँजीलाई पनि बैंकमा राखी निर्धक्क भई ब्याज आर्जन गर्न पनि आग्रह गरे । उक्त अवसरमा सिभिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेलले सिभिल बैंक सुनवल शाखाले यस क्षेत्रका सम्पुर्ण बचतकर्ता उद्यमी, व्यवसायी तथा स्थानियहरुलाई उच्चस्तरीय बैकिंग सेवा तथा सुविधा उपलव्ध गराउने प्रतिवद्धता जनाउँदै यस भेगको अर्थतन्त्र उकास्नको लागी व्यापार व्यवसाय, पर्यटन जस्ता क्षेत्रमा लगानी बढाउने बताए । कार्यक्रमका सभापति तथा सिभिल बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुंगानाले बैंक भनेको आर्थिक समृद्धिको सहयात्री भएको र बैंकको सहभागिता बिना आर्थिक समृद्धि सम्भव नहुने उल्लेख गरे ।