विकासन्युज

परराष्ट्रमन्त्री ज्ञवाली बङ्गलादेश प्रस्थान, कुन कुन विषयमा हुँदैछन् छलफल ?

काठमाडाैं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली बङ्गलादेशका विदेशमन्त्री डा. एके अब्दुल मोमेनको निमन्त्रणमा उक्त देशको तीनदिने औपचारिक भ्रमणमा साेमबार बिहान ढाकातर्फ प्रस्थान गरेका छन् । मन्त्री ज्ञवालीका साथ परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी र उक्त मन्त्रालयका सहसचिव यज्ञबहादुर हमाल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव प्रवीण अर्याल रहेका छन् । मन्त्री ज्ञवाली नेतृत्वमा ढाकामा दुई देशबीच मङ्गलबार प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । दुवै देशका परराष्ट्रमन्त्रीले आपसी सम्बन्धका साथै साझा चासोका ऊर्जा, व्यापार, पारवहन, सम्पर्क सञ्जाल, पर्यटन, क्षेत्रीय तथा बहुपक्षीय सहयोग प्रबर्धनमा केन्द्रित रहेर विचार आदानप्रदान गर्ने कार्यक्रम रहेको मन्त्री ज्ञवालीले बताए । ‘भूगोलका हिसाबले हामी धेरै नजिक छौँ । आर्थिक साझेदारी जल, सडक, रेल र हवाई मार्गबाट सम्पर्क सञ्जाल विस्तार, ऊर्जा, पर्यटन, लगानी प्रवद्र्धनलगायत पारस्परिक हित र चासोका विषयमा बङ्गलादेशी समकक्षीसँग वार्ता हुनेछ’, उनले भने । दुई देशबीचको सम्बन्धलाई आर्थिक समृद्धिका लागि रुपान्तरणको प्रयास गरिने बताउँदै मन्त्री ज्ञवालीले क्षेत्रीय, अन्तर्राष्ट्रिय र बहुपक्षीय मञ्चहरुमा दुवै देशबीच साझेदारी बढाउने र अन्य साझा चासोका मामिलामा सक्रिय रुपमा सहकार्य गर्ने प्रयास आफूबाट हुने बताए । बङ्गलादेश अन्तर्राष्ट्रिय रणनीतिक अध्ययन प्रतिष्ठानले आयोजना गर्ने ‘नेपाल–बङ्गलादेश सम्बन्ध र दक्षिण एसियाली सहयोग’ विषयमा परराष्ट्रमन्त्री ज्ञवालीले प्रवचन दिनेछन् । मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डल बुधबार स्वदेश फर्कनेछ । त्रिभुवन विमानस्थलमा उनलाई परराष्ट्र मन्त्रालयका निमित्त सचिव भरतराज पौड्याल, शिष्टाचार महापाल गेहेन्द्र राजभण्डारी र यहाँस्थित बङ्गलादेशी राजदूतावासका वरिष्ठ अधिकारीले बिदाइ गरे । रासस

उपसभामुख छाडेकी डा. शिवमाया तुम्बाहम्फे कानूनमन्त्री बन्दै

काठमाडौं । सत्तारुढ नेकपालाई सभामुख पद लिन सहज बनाउन भन्दै उपसभामुख पदबाट राजीनामा दिएकी डा. शिवमाया तुम्बाहम्फे कानून मन्त्री बन्ने भएकी छन् । सभामुख पदमा दाबी गरेकी डा. तुम्बाहम्फेलाई प्रधानमन्त्री तथा नकपा अध्यक्ष केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सल्लाह अनुसार नै मन्त्री बनाउन लागिएको हो । डा. तुम्बाहम्फेलाई कानुन मन्त्री बनाइने भएको छ । उनको सपथग्रहण कार्यक्रम दिउसो ३ बजेका लागि राखिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले जानकारी दिएका छन् । यसअघिको मन्त्रिपरिषद पुनरगठनमा तत्कालिन कानुन मन्त्री भानुभक्त ढकाललाई स्वास्थ मन्त्री र तत्कालिन स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई कानुन मन्त्री बनाइएको थियो । प्रधानमन्त्रीले जिम्मेवारी हेरफेर गरेपछि असन्तुष्ट बनेका यादवले पदबाट राजीनामा दिएर उनको पार्टी समाजवादी सरकारबाट बाहिरिएको थियो । यादवले राजीनामा दिएपछि कानुन मन्त्रालयको जिम्मेवारी पनि स्वास्थ्य मन्त्री ढकालले नै सम्हाल्दै आएका थिए । उपसभामुखबाट राजीनामा गराउँदा डा. तुम्बाहम्फेलाई मन्त्री बनाउने आश्वासन दिइएको थियो । सोही आश्वासन अनुसार उनलाई कानुन मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो ।

प्रदूषित वायुका कारण उपत्यकासहित देशका अधिकांश स्थानमा तुवाँलो, अन्तर्राष्ट्रिय उडान प्रभावित हुने

काठमाडाैं । पछिल्लो केही दिनयता वायुमण्डलको प्रदूषणले काठमाडौँ उपत्यकासहित देशका अधिकांश भू–भागमा तुवाँलो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वायुमण्डलमा हावाको गति कम भएकाले तुवाँलो लागेको मौसमविद् मीनकुमार अर्यालले बताए । मौसम नखुले पनि तत्काललाई वर्षा हुने सम्भावना नभएकाे मौसमविद् अर्यालले बताए । मौसम खुल्ला भई घाम लाग्नका लागि नयाँ वर्षा हुने मौसमी प्रणाली विकसित हुनुपर्ने मौसमविद्को भनाइ रहेको छ । मौसमविद् अर्यालका अनुसार बुधबारबाट नयाँ मौसमी प्रणाली विकास भई आकाश खुल्ला हुने सम्भावना रहेको छ । वायुमण्डलको प्रदूषणले अन्तर्राष्ट्रिय उडान भने प्रभावित हुनसक्ने खतरा बढेको जनाइएको छ । मौसमविद्का अनुसार वायुमण्डलको पारदर्शिता तीन हजार मिटरभन्दा कम भएमा अन्तर्राष्ट्रिय उडान गर्न सकिँदैन । अन्तर्राष्ट्रिय उडानमा वायुको पारदर्शिता तीन हजार मिटरसम्म हुनुपर्छ । सो भन्दा कम भएमा उडान प्रभावित हुन सक्छ । नेपालको वायुमण्डलको पारदर्शिता तीन हजार मिटरबाट तल नझरेकाले तत्काल उडान प्रभावित हुने अवस्था नरहेको बताइएको छ ।रासस

अल्फा बिटा एशियन एजुकेसन फेयर फागुन ८ गते हुँदै

काठमाडौं । अल्फा बिटाले नयाँ बानेश्वरस्थित आफ्नै भवन अल्फा बिटा कम्प्लेक्समा एशियन एजुकेसन फेयर आयोजना गर्ने भएको छ । मेला बिहान १० बजे देखि बेलुकी ५ बजेसम्म सन्चालन हुने छ । भारत, जापान, मलेशिया, भियतनाम लगायतका एशियन राष्द्रहरुमा अध्ययन गर्न नेपाली विद्यार्थीहरुको आकर्षण बढिरहेको बेला यी देशहरुका विश्वविद्यालय तथा कलेजहरुका आधिकारिक प्रतिनिधिसहित एकै ठाउँमा विद्यार्थी र अभिभाकलाई स्ूचना दिने उदेश्यले मेला आयोजना गर्न लागेको अल्फा बिटाका प्रेसिडेन्ट तथा सिइओ द्विराज शर्माले जानकारी दिए । मेलामा २० वटा उत्कृष्ट विश्वविद्यालय तथा कलेजहरुको सहभागिता हुनुका साथै विद्यार्थीहरुले शैक्षिक प्रणाली , विश्वविद्यालय ,पढाई हुने कोर्ष लगायतका विषयमा सही जानकारी पाउनेछन् । मेलामा एक हजार पाँच सय देखि दुई हजार विद्यार्थी सहभागी हुने अपेक्षा गरिएको छ । अल्फा बिटाले अष्ट्रेलिया सहित विश्वका १४ राष्ट्रका ३०० भन्दा बढी उत्कृष्ट विश्वविद्यालय तथा कलेजका लागि परामर्श सेवा उपलब्ध गराउँदै आएको छ ।

निजी क्षेत्रसँगको साझेदारीबाट मात्र देशको समृद्धि हुन्छः उपाध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले व्यवसायिक प्रबद्र्धनका लागि ढुक्कसँग काम गर्ने वातावरणको सृजना गरी उनीहरुसँग सही अर्थमा साझेदारी गर्न सकिएमा मात्र देशमा समृद्धि प्राप्त हुने बताएका छन् । दार्चुलामा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय महोत्सवलाई आइताबर सम्बोधन गर्दै उनले भने– निजी क्षेत्रलाई सरकारले विकासको साझेदारका रुपमा लिएर हातेमालो गरेर अघि नबढ्दासम्म देशमा समृद्धि सम्भव छैन । नेपालका तीनओटै तहका सरकारहरुले निजी क्षेत्रसँग सही अर्थमा र व्यावहारिक रुपमा साझेदारी गर्न सकेमा प्रदेशस्तरमा लगानी भित्रिने छ र यसबाट समृद्ध नेपाल र सुखी नेपालीको सरकारको अभियान सार्थक बन्नेछ उनले भने । नेपालको आर्थिक विकास तथा समृद्धिको यात्रामा निजी क्षेत्रको आवश्यकता र महत्वमाथि प्रकाशपार्दै देश विकासको तीन खम्बे अर्थनीतिमा निजी क्षेत्र एक दरिलो खम्बा हो र यससँगको सहकार्य र साझेदारीबाट मात्र देश समृद्ध बन्न सक्ने ढकालले बताए । उनले नेपाल नयाँ राजनीतिक संरचनामा प्रवेश गरेसँगै संघीय, प्रदेश र स्थानीय सरकारहरुले आ–आफ्ना क्षेत्रमा लगानी भित्र्याउन प्रतिश्पर्धा गरेको देखिएकोले यसलाई व्यावहारिकतामा परिणत गरी तीनै तहका सरकारले निजी क्षेत्रको प्रबर्धन गरी अघि बढ्न सुझाव दिएका छन् । उपाध्यक्ष ढकालले आर्थिक क्षेत्र, व्यावसाय, श्रम, कर आदिका विषयमा नियम कानूनहरु निर्माण गर्दा सरोेकारवाला निजी क्षेत्रसँगको सल्लाह र परामर्शबाट ल्याउन सकिएमा यसको कार्यान्वयनमा सहयोग पुग्ने र अन्ततः यसबाट राज्य र नेपाली नागरिक नै लाभान्वित हुने धारणा पनि राखे ।

माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस, तेस्रो दिन १० खेल हुँदै

काठमाडौं । काठमाडौँमा जारी माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगिता अन्तर्गत तेस्रो दिनको खेलमा सोमबार कूल १० खेल हुदैछन् । तेस्रो दिन लिग चरण अन्तर्गतका ६ खेल हुन्छन् जसमध्ये पहिलो खेलमा भारतीय राजदुतावासको टोली मेगा बैंक विरुद्ध खेल्दैछ भने दोस्रो खेलमा नेपाल लाईफ इन्स्याेरेन्स र प्राईम बैंक खेल्ने भएका छन् । त्यस्तै, तेस्रो खेलमा मेगा बैंक र सिप्रदी, चैथो खेलमा कामना सेवा विकास बैंक र कुमारी बैंक, पाचौँ खेलमा माछापुच्छ्रे बैंक र सनराईज बैंक तथा लिग चरणको अन्तिम खेलमा सिप्रदी र भारतिय राजदुताबासको टोली एकआपसमा प्रतिस्पर्धा गर्ने भएका छन् । लिगचरण खेल पछि आजै नकआउट चरणका ४ खेल पनि कीर्तिपूर स्थित त्रिभुवन अन्र्तराष्ट्रिय क्रिकेट ग्राउण्डमा हुनेछन् । यसगरी, आइतबार दोश्रो दिनको खेलमा सुबिसु, सिभिल बैंक, माछापुच्छ्रे बैंक, एनआईसी एसिया बैंक, कामना सेवा विकास बैंक, नबिल बैंक, नेपाल टेलिकम, सेन्चुरी बैंक र कुमारी बैकले जित हात पारेका छन् । पहिलो दिनको खेलमा सुबिसुले नबिल बैंकलाई १ रनले पराजित गर्यो । सुबिसुले दिएको ६१ रनको लक्ष्य पछ्याउने क्रममा नबिलले निर्धारित ५ ओभरमा ४ विकेट गुमाएर ५९ रन मात्र बनाउन सक्यो । त्यस्तै दोश्रो खेलमा सिभिल बैंकले प्राइम कमर्सियल बैंकलाई ११ रनले पराजित गरेको थियो । सिभिलले दिएको ६३ रनको लक्ष्य पछ्याउने क्रममा प्राइमले ५१ रन बनाएको थियो । तेश्रो दिनको खेलमा मुख्य प्रयोजक माछापुच्छ्रे बैंकले सुर्य नेपाललाई ५ रनले पराजित गर्यो । माछापुच्छ्रेले दिएको ६० रनको लक्ष्य पछ्याउने क्रममा सुर्य नेपालले निर्धारित ५ ओभरमा ५४मा समेटिएको थियो । त्यसैगरी, चौथो खेलमा एनआईसी एसिया बैंकले नेपाल राष्ट्र बैंकलाई ९ रनले पराजित गर्यो भने पाँचौ खेलमा सिभिल बैकले दोश्रो जित दर्ता गर्ने क्रममा नेपाल लाइफ इन्सुरेन्सलाई ५२ रनले पराजित गर्यो । यता छैठौं खेलमा कामना सेवा विकास बैंकले द काठमाडौँ पोस्टलाई ३७ रनले पराजित गर्यो । त्यस्तै सातौँ खेलमा नबिल बैंकले सुबिसुलाई ५ विकेटले पराजित गर्यो । दिनको आठौँ खेलमा नेपाल टेलिकमले एनसेल ’बि’ लाई १८ रनले पराजित गर्योे नवौं दिनको खेलमा सेन्चुरी बैंकले एनआईसी एसिया बैंकलाई ६ विकेटले पराजित गर्यो । एनआईसी एसिया बैंकले दिएको ६३ रनको लक्ष्य सेन्चुरीले विकेट नगुमाई पुरा गर्यो । दशौँ दिनको अन्तिम खेलमा कुमारी बैंकले द काठमाडौँ पोस्टलाई ५ विकेटले पराजित गर्यो ।

कर छुटको दायरा बढाइयो, मासिक ३८ हजार ४ सय ६१ रुपैयाँ तलब हुनेले कर तिर्नु नपर्ने

काठमाडौं । सामाजिक सुरक्षा कोषमा आवद्ध हुनेले तिर्नुपर्ने आयकरको सीमा बढाइएको छ । प्रधानमन्त्री केपी ओलीले सरकार गठन भएको २ वर्ष पूरा भएको उपलक्षमा संसदमा गरेको सम्बोधनमा कोषमा आवद्ध हुनेले कर छुट पाउने सीमा ३ लाख रुपैयाँबाट बढाएर ५ लाख रुपैयाँ पुर्याइएको जानकारी गराए । प्रधानमन्त्रीको सम्बोधनमा कर छुटको सीमा बढाइएको जानकारी प्राप्त भएको कोषका उपकार्यकारी निर्देशक विवेक पन्थीले जानकारी दिए । करको विषय भएकोले ऐनमा कुनै संशोधन जरुरी नभएको उनको भनाइ छ । ‘प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्दै कर छुटको सीमा वार्षिक ३ लाख रुपैयाँबाट ५ लाख रुपैयाँ पुर्याइएको जानकारी दिनुभएको छ, करको विषय भएकोले मन्त्रिपरिषदले निर्णय गरेर राजपत्रमा सुचना प्रकाशित गर्छ, अनि लागू हुन्छ,’ उपकार्यकारी निर्देशक पन्थीले विकासन्युजसँग भने । सरकारले वार्षिक ५ लाख रुपैयाँसम्म आम्दानी हुने र सामाजिक सुरक्षा कोषमा आवद्ध हुनेले आयकर तिर्नु नपर्ने व्यवस्था गरेको छ । यस्तो व्यवस्थापछि मासिक ३८ हजार ४ सय ६१ रुपैयाँसम्म तलब हुने कर्मचारीले आयकर तिर्नु पर्दैन । किनभने सरकारले आयकर गणना प्रयोजनको लागि एक वर्षलाई १३ महिना मान्छ । यसअघि वार्षिक ३ लाख रुपैयाँसम्म आम्दानी हुनेले कर छुट पाउने व्यवस्था गरिएको थियो । यो भनेको मासिक २३ हजार ७६ रुपैयाँसम्मको तलब भत्ता पाउनेले कर छुट पाउने अवस्था थियो । आयकरको सीमा थोरै राखिएको र खान लाउनै नपुग्ने आम्दानीमा पनि सरकारले कर लिएको भन्दै कोषमा आवद्ध हुनेको संख्या निकै कम थियो । कोषमा आवद्ध हुनेको कर छुटको सीमा बढाइएकोले आवद्ध हुनेको संख्या बढ्ने कोषको विश्वास छ । सम्बन्धित समाचार राष्ट्र बैंकको निर्देशनः अब ८० हजारभन्दा कम तलब खानेले गाडी किन्न नसक्ने ५० हजार तलब खानेले बढीमा २० लाख ऋण पाउने, तलबी कर्मचारीले कसरी लिने कर चुक्ता प्रमाण ?

सीमा निरीक्षणमा उपप्रधानमन्त्री पोखरेलसहित १० जनाकाे टाेली कालापानी क्षेत्र प्रस्थान

दार्चुला । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल सीमा निरीक्षणका क्रममा कालापानी क्षेत्र प्रस्थान गरेका छन् । आज नेपाली सेनाको हेलिकप्टरमार्फत पाेखरेल व्यास गाउँपालिकामा अवस्थित कालापानी क्षेत्र प्रस्थान गरेका हुन् । उपप्रधानमन्त्री पोखरेल सहित प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना, सुदूरपश्चिम प्रदेशसभा उपसभामुख निर्मला जोशी बडाल, प्रदेशसभा सदस्य मानबहादुर धामी, गेल्बुसिह बोहरालगायत सुरक्षा अधिकारीसहित १० जनाको टोली व्यास क्षेत्र प्रस्थान गरेका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए । नेपालको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले आफ्नो नक्सामा समावेश गरेपछि नेपालले यसमा आपत्ति जनाउँदै आएको छ । दार्चुला उद्योग वाणिज्य सङ्घले आयोजना गरेको सुदूरपश्चिम पर्यटन तथा व्यापारिक मेला एवं दार्चुला महोत्सव २०७६ को उद्घाटन तथा दार्चुलास्थित दुर्गादल गुल्मको निरीक्षणको क्रममा उपप्रधानमन्त्री पोखरेल यहाँ आएका थिए । रासस