निजी क्षेत्रसँग ब्ल्याकमेलिङ गर्दै सरकार
काठमाडौं । गत विहीबारको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका संचारमन्त्री गोकुल वास्कोटाले चौधरी ग्रुप अन्तरगतको सीजी कम्युनिकेसनलाई २० अर्ब रुपैयाँ राजस्व तिरेर टेलिकमको लाइसेन्स लिन आग्रह गरे । उनको यो आग्रह स्वीकार्य किन छ भने राज्यले अंगिकार गरेको नीति नियम तथा कानुन अनुसार लाइसेन्स लिएर व्यवसाय गर भन्नु राज्यको दायित्व अन्तरगतकै विषय हो । टेलिकको लाइसेन्स लिनको लागि कति राजस्व तिर्नुपर्छ, कुन कुन प्रक्रिया पूरा गर्नुपर्छ भन्ने जस्ता विषय व्यवसाय गर्ने संस्था वा कम्पनीले जान्नुपर्ने विषय हो । त्यसैले मन्त्री बासकोटाको यो भनाइ अन्यथा थिएन, छैन । कुनै पनि व्यवसायिक फर्मले सरकारी मापदण्ड पूरा नगरी व्यवसाय गर्न गराउन सक्दैन, हुँदैन । कैफियतपूर्ण ढंगले कसैले व्यवसाय गर्न गराउन चाहेको छ भने त्यस्तो फर्म, व्यक्ति वा कम्पनीमाथि सरकारले कारबाही गर्नै पर्छ । तर, संचार मन्त्री बास्कोटाले दिएको अर्काे एउटा अभिव्यक्ति भनेको उनको नियत खुलस्त पार्ने प्रमाण बन्यो । मन्त्री बासकोटाले तत्कालिन एसटीएम र अहिलेको सीजी कम्युनिकेसनले ‘विश्व बैंकबाट पाएको १ करोड १८ लाख अमेरिकी डलरको हिसाव किताव नदिएको र त्यसको पनि छानविन गर्ने’ चेतावनी दिए । तत्कालिन एसटीएम र अहिलेको सीजीले विश्व बैंकबाट १ करोड १८ लाख अमेरिकी डलर सही हो । यसमा मन्त्री बास्कोटाले सही कुरा नै बताए । तर, उनले भने झै तत्कालिन एसटीएम वा अहिलेको सीजीले १ करोड १८ लाख डलरको हिसाव किताव नै नदिएको हो र ? टेलिकम क्षेत्रको नियामक निकाय नेपाल दूरसंचार प्राधिकरण हो । प्राधिकरणको सम्बन्धित मन्त्रालय पनि संचार मन्त्रालय नै हो । बास्कोटा नै त्यसको सरोकारवाला मन्त्री हुन् । प्राधिकरणले सन् २००३ मा तत्कालिन पूर्वाञ्चल विकास क्षेत्रका ५ सय ३४ गाविसमा टेलिफोन सेवा पुर्याउन बोलपत्र आव्हान गरेको थियो । सो आव्हानमा तत्कालिन एसटीएम छानिएको थियो । दूरसंचार क्षेत्र सुधार परियोजना अन्तरगत गर्न लागिएको टेलिफोन सेवा विस्तारमा विश्व बैंकले १ करोड १८ लाख रुपैयाँ अनुदान दिएको थियो । बोलपत्रमा तोकिएका शर्तअनुसार एसटीएमले निर्धारित समयमै पूर्वाञ्चल विकास क्षेत्रमा १ हजार ४ सय पीसीओ स्थापना गरेको थियो । तोकिएको समय र क्षेत्रमा तोकिए अनुसार नै काम गरेको भन्दै प्राधिकरणले २ अप्रिल २००७ मा तत्कालिन एसटीएमलाई सम्पन्नताको प्रमाणपत्र दिएको पनि थियो । नियामक निकाय प्राधिकरणले आजभन्दा करिब १४ वर्ष अघि नै सम्पन्नताको प्रमाणपत्र दिइसकेको विषयलाई अहिले आएर मन्त्री बास्कोटाले किन प्रश्न गरे ? यो नै अहिलेको अहम् प्रश्न हो । त्यतिबेला एसटीएमले प्राधिकरणलाई अनावश्यक दवाब वा प्रभावमा पारेर सो प्रमाणपत्र लिएको थियो भने सरकारले छानविन गरेर आवश्यक कारबाही अहिले पनि गर्न सक्छ होला । यसको कानुनी आधार के कस्तो छ भनेर सरकारले नै खोज्ने हो । तर, मन्त्री बास्कोटाले अनुसन्धानको विषय अगाडि बढाउनुको साटो व्यवसायिक घराना चौधरी ग्रुप लक्षित अभिव्यक्ति दिएर के कस्तो स्वार्थपूर्ति गर्न खोजेका हुन् ? मन्त्री बास्कोटाको अभिव्यक्ति कानुनको पालना गर्ने गराउने वा स्वच्छ व्यवसायिक वातावरण बनाउनेतर्फ लक्षित छैन । उनको यो अभिव्यक्ति कुनै एउटा व्यवसायिक घराना विरुद्ध ‘व्ल्याकमेलिङ’ मात्रै भएको कतिपय व्यवसायीको बुझाई छ । मन्त्री बास्कोटाको अभिव्यक्ति कानुनको पालना गर्ने गराउने वा स्वच्छ व्यवसायिक वातावरण बनाउनेतर्फ लक्षित छैन । उनको यो अभिव्यक्ति कुनै एउटा व्यवसायिक घराना विरुद्ध ‘व्ल्याकमेलिङ’ मात्रै भएको कतिपय व्यवसायीको बुझाई छ । ‘सरकारले कानुन अनुसार कारबाही गर्ने हो भने सार्वजनिक घोषणा गरिरहनै पर्दैन, कानुन विपरित काम गर्नेलाई कारबाही गरे हुन्छ, तर कारबाही गर्ने प्रक्रिया अघि नबढाउने र आजभन्दा १४ वर्ष अगाडि नै नियामक निकायले ठीक छ भनेको विषय उठाएर कारबाहीको धम्की दिनु भनेको व्ल्याकमेलिङ नभएर अरु के हो त ?’ एक व्यवसायीले प्रश्न गरे । निजी क्षेत्रमाथि सरकारको व्ल्याकमेलिङको सिलसिला यतिमै सकिदैन । केही समयअघि बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माथि सम्पत्ति छानविनको ‘चेतावनी’ आयो । कुनै सीईओले सम्पत्ति शुद्धीकरण गरेका छन्, कानुन विपरित काम भएको छ भने सरकारी निकायले सार्वजनिक चेतावनी दिएर बस्ने हो कि कानुन अनुसार कारबाही गर्ने हो ? फेरि पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागकै कुरा गरौं । विभागले केही सातादेखि निजी क्षेत्रमाथि ‘पत्र आतंक मच्चाएको’ छ । विभागले पठाएको पत्रमा ‘विभागलाई प्रारम्भिक जाँचबुझका सिलसिलामा तपशिल बमोजिमका कम्पनीको हालसम्म चुक्ता गरेको करको विवरण र कर कार्यालयमा पेश गरेको वासलात र नाफा नोक्सान हिसाव विवरण आवश्यक परेकाले उपलब्ध गराउने व्यवस्था गरिदिनु भई जाँचबुझ सम्बन्धी कार्यमा सहयोग गरिदिनुहुन अनुरोध’ गरिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई व्यवसायीको वासलात र नोफा नोक्सान हिसाव विवरण किन आवश्यक पर्यो ? सम्पत्ति शुद्धीकरण विभागले कर निर्धारण गर्ने हो ? सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई व्यवसायीको वासलात र नोफा नोक्सान हिसाव विवरण किन आवश्यक पर्यो ? सम्पत्ति शुद्धीकरण विभागले कर निर्धारण गर्ने हो ? विभाग आफैलाई थाहा रहेछ कि व्यवसायीले बुझाएको कर विवरण, नाफा नोक्सान हिसाव र वासलात कर कार्यालयमा हुन्छ । यति थाहा पाउने विभागले सम्बन्धित कर कार्यालयबाट सम्बन्धित व्यवसायीको यी सबै विवरण किन नमागेको ? सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विवरण मागेका केही फर्महरु निकै पहिला नै बन्द भएका पनि परेका छन् । कुनै व्यवसायिक घरानाभित्र विभिन्न फर्महरु हुन्छन् । आवश्यक परेको बेलामा केही नयाँ फर्महरु पनि खुल्छन् र काम सकिएपछि बन्द पनि हुन्छन् । फर्म बन्द भएको धेरै वर्षपछि त्यस्ता फर्मको विवरण माग्ने हो कि फर्म बन्द गर्ने बेलामा नै आवश्यक विवरण माग गर्ने हो ? अहिले विश्वमा रेड कार्पेट ओछ्याउने जमाना गइसक्यो । कुनै लगानीकर्ताले लगानी गरेर व्यवसाय सुरु गर्ने घोषणा गर्यो भने सरकारले नै प्लेन चार्डर गरेर व्यवसायीलाई भित्र्याउन थालेका छन् । यस्ता घटनाक्रमले पुष्टी गर्छ कि सरकार निजी क्षेत्रसँग व्ल्याकमेलिङमा छ । सरकारले अनुसन्धान गर्न चाहेको हो भने आफ्नै किसिमले गोप्य रुपमा अनुसन्धान गर्न सक्छ । व्यवसायीका हरेक विवरण सरकारी निकायसँग हुन्छन् । ती विवरणमा शंका लागे के कस्तो थप विवरण माग्ने वा खोजी गर्ने भन्ने सरकारी निकायको काम हो । सरकार आफै व्यवसायिक वातावरण विगार्ने ध्याउन्नमा छ । अहिले विश्वमा रेड कार्पेट ओछ्याउने जमाना गइसक्यो । कुनै लगानीकर्ताले लगानी गरेर व्यवसाय सुरु गर्ने घोषणा गर्यो भने सरकारले नै प्लेन चार्डर गरेर व्यवसायीलाई भित्र्याउन थालेका छन् । सरकारले सीजी कम्युनिकेसनलाई टेलिकम सेवा प्रदान गर्ने लाइसेन्स दिन आनाकानी गरेको केही दिनभित्र नै चौधरी ग्रुपले युरोपको मोल्डसेल टेलिकम किन्न गरेको सम्झौताले पनि यसको पुष्टी गर्छ ।
गायिका वसन्ता प्रकृतिको ‘यस्तै हुँदो रहेछ बाबै माया प्रेममा…’ गीत सार्वजनिक
काठमाडौं । गायिका वसन्ता प्रकृतिको स्वरमा रहेको गीत ‘यस्तै हुँदो रहेछ बाबै माया प्रेममा…’ गीत सार्वजनिक भएको छ । राजनराज सिवाकोटीले वसन्तालाई स्वरमा साथ दिएको गीत ‘यस्तै हुँदो रहेछ बाबै माया प्रेममा…’को भिडियो सार्वजनिक भएको हो । वसन्ताको दोस्रो एल्बम ‘साधना’मा रहेको गीत हो यो । उनको पहिलो एल्बम ‘मनमा’ गीत रहेको थियो । डा. राजुबाबु श्रेष्ठको शब्द, राजनको कम्पोज, आमोश तामाङको एरेञ्ज र श्यामस्वेत रसाइलीको मिक्सिङ रहेको गीतको भिडियोलाई प्रदीप श्रेष्ठले निर्देशन तथा कोरियोग्राफ गरेका छन् । गीतको भिडियोमा अनुराग शर्मा, ऋचा थापा र रमेश शाहीलाई फिचरिङ गरिएको छ । गीत जति राम्रो छ गीतको भिडियो त्यतिकै उत्कृष्ट बनेको छ । गीतलाई प्रिज्मा रेकडिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।हेर्नुहाेस भिडियाे
गरिमा धानको कमसल बिउ बेच्ने १६ फर्मलाई ३१ लाख २० हजार जरिवाना
काठमाडौं । उन्नत जातको गरिमा धानको कमसल विउ विक्री गर्ने १६ फर्मलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जरिवाना तिराएको छ । कमसल बिउ बेच्ने फर्मलाई ३१ लाख २० हजार रुपैयाँ जरिवाना तिराएको हो । विभागले दिएको जानकारी अनुसार १४ फर्मलाई २/२ लाख रुपैयाँका दरले र एक फर्मलाई २० हजार गरी विउ बिक्री कूल १५ वटा फर्मलाई २८ लाख २० हजार रूपैयाँ जरिवाना तिराएकाे छ । यस्तै, बिउ आयात गर्ने दाङको लमहीमा रहेको सनराईज एग्रीकल्चर रिसर्च प्रालिलाई ३ लाख रुपैयाँ जरिवाना तिराएको छ । बिक्री गर्ने मध्ये एक फर्म बर्दियाकाे सुलु भेट सेन्टरलाई काराेबार स्थलमा खरिद बिल नराखेकाले २० हजार रूपैयाँ मात्रै जरिवाना लगाइएकाे विभागले जनाएकाे छ । विभागले उपभोक्ता संरक्षण ऐनको दफा ३८ खण्ड (ङ) को कसुर गरेकोले सोही ऐनको दफा ३९ (ख) बमोजिम जरिवाना तिराएको हो । ‘गरिमा धानको बिउ भनी कमसल जातको धानको बिउ आयात गरी बिक्री वितरण गरी उपभोक्ता संरक्षण एने, २०७५ को दफा ३८ खण्ड (ङ) को कसुर गरेकोले सोही ऐनको दफा ३९ (१) को खण्ड (ख) बमोजिम जरिवाना तिराइएको हो,’ विभागले भनेको छ । यस्तै, बिक्री गर्ने फर्महरुमाथि पनि सोही दफा अनुसारको कसुर गरेकोले प्रतिफर्म २ लाख रुपैयाँको दरले जरिवाना तिराइएको विभागको भनाइ छ । सनराइज एग्रीकल्चर रिसर्च प्रालिले आयात गरेको गरिमा धानको विउ नै कमसल भएको र त्यस्तो बिउ बिक्री गर्ने फर्महरुलाई कारबाही गरिएको विभागको भनाइ छ । सो जातको विउ लगाएका किसानको धानमा दाना नलागेर किसान मर्कामा परेका छन् । विभागले उपभोक्ताको हित संरक्षण गर्ने ऐनको दफा अनुसार ती फर्मलाई कारबाही गरेको हो ।
नेपाल टेलिकमकाे अनलिमिटेड डाटा र भ्वाइस प्याक यस्ता छन्, कसरी लिन सकिन्छ ?
काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न दरका अनलिमिटेड भ्वाइस र डाटा प्याक उपलब्ध गराइरहेको छ । पछिल्लो समयमा कम्पनीले उपलब्ध गराइरहेका यस्ता प्याकहरु निकै नै लोकप्रिय रहेका छन् । सस्तो मूल्यमा असीमित अर्थात कम्पनीकै नेटवर्कमा जति पनि कल गर्न र डाटा चलाउन पाइने भए पछि सेवाग्राहीहरु समेत निकै नै लाभान्वित भएको पाइएको छ । हाल नेपाल टेलिकमले उपलब्ध गराइरहेको एक घण्टा अनलिमिटेड प्याक, डे टाइम भ्वाइस प्याक, अनलिमिटेड नाइट टाइम भ्वाइस प्याक र अनलिमिटेड नाइट डाटा प्याक निकै नै रुचाइएका छन् । ग्राहकले आफ्नो आवश्यकता अनुसार आफूलाई उपयुक्त प्याक खरिद गर्न सक्छन् । एक घण्टा अनलिमिटेड प्याक यो प्याक २० रुपैयाँमा लिन सकिन्छ । प्याक एक्टिभ भए पश्चात १ घण्टासम्म निरन्तर भ्वाइस, एसएमएस र डाटा असीमित रुपमा प्रयोग गर्न सकिन्छ । एक घण्टा सम्म जति पनि भ्वाइस कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सकिने भएकोले यो प्याक निकै नै रुचाइएको छ । डे टाइम भ्वाइस प्याक डे टाइम भ्वाइस प्याक अन्तर्गत १५ रुपैयाँमा बिहान ५ देखि बेलुकी ५ बजेसम्म जति पनि कल गर्न सकिने छ । सो प्याक खरिद गरेको २४ घण्टाभित्र उपयोग गर्न सकिने छ । उदाहरणका लागि विहान १० बजे खरिद गरेको प्याक बेलुकी ५ बजे सम्म र भोलि विहान फेरि १० बजे सम्म प्रयोग गर्न सकिन्छ । आफ्नो आवश्यकता अनुसार आफन्त वा प्रियजनसँग कुराकानी गर्नका लागि यो प्याक निकै नै उपयोगी बनेको छ । अनलिमिटेड नाइट टाइम भ्वाइस प्याक अनलिमिटेड नाइट टाइम भ्वाइस प्याक अन्तर्गत १२ रुपैयाँमा राती १० बजेदेखि बिहान ६ बजेसम्म कल गर्न सकिन्छ । रातको समयमा जति पनि कल गर्न सकिने भएकाले यो निकै नै उपयोगी बनेको छ । अनलिमिटेड नाइट डाटा प्याक अनलिमिटेड नाइट डाटा प्याक अन्तर्गत एक रातका लागि १८ रुपैयाँमा अनलिमिटेड डाटा राती ११ बजेदेखि बिहान ६ बजेसम्म चलाउन पाइने छ । त्यसैगरी ९० रुपैयाँमा ७ दिनसम्म राती ११ बजेदेखि बिहान ६ बजेसम्म अनलिमिटेड चलाउन सकिने प्याक पनि उपलब्ध छ । रातको समयमा डाटा चलाउनु पर्ने व्यवसायीहरुका लागि समेत यो प्याक निकै नै उपयोगी बनेको छ । प्याक खरिद गर्ने तरिका विभिन्न प्रकारका प्याक प्राप्त गर्नका लागि ग्राहकले स्टार१४१५ह्याज मा डायल गरेर आवश्यकता अनुसारको प्याक खरिद गर्न सकिन्छ । विभिन्न नम्बर डायल गरेर वा एसएमएस पठाएर पनि प्याक खरिद गर्न सकिन्छ । एक घण्टा अनलिमिटेड प्याक खरिद गर्नका लागि सिधै स्टार१४१५स्टार८ ह्याज डायल गरेर आफूले प्रयोग गर्न चाहेको भ्वाइस, एसएमएस वा डाटाका लागि क्रमशः १, २ र ३ अंक डायल गर्नु पर्छ । त्यसैगरी सिधै एफडि प्याक टाइप गरी १४१५ मा एसएमएस पठाउन पनि सकिन्छ । त्यसैगरी, डे टाइम भ्वाइस प्याक खरिद गर्नका लागि सिधै स्टार१४१५स्टार९स्टार दुइ ह्याज डायल गर्न सकिन्छ । सिधै डिभियुएनएल टाइप गरी १४१५ मा एसएमएस पठाउन पनि सकिन्छ । अनलिमिटेड नाइट टाइम भ्वाइस प्याकका लागि सिधै स्टार१४१५स्टार१स्टार५स्टार४ ह्याज डायल गर्न सकिन्छ । सिधै एनभियुएनएल टाइप गरी १४१५ मा एसएमएस पठाउन पनि सकिन्छ । अनलिमिटेड नाइट डाटा प्याकका लागि सिधै स्टार१४१५स्टार३ह्याज डायल गरेर १ दिनका लागि प्याक लिने भए १ र ७ दिनका लागि प्याक लिने भए २ अंक डायल गर्नुपर्छ । त्यसैगरी एक दिनको प्याकका लागि एनयुएनएल र ७ दिनका लागि भए युएनएल७ टाइप गरी १४१५ मा एसएमएस पठाउन सकिन्छ । बाँकी प्याक थाहा पाउने तरिका मोबाइलमा लिएको भ्वाइस प्याक वा अन्य कुनै पनि प्याक कति बाँकी छ भनी थाहा पाउनका लागि स्टार१४१५स्टार५५ह्याज डायल गर्न सकिन्छ । त्यसैगरी भिएल लेखेर १४१५ मा एसएमएस गर्न पनि सकिन्छ । त्यसपछि कति भ्वाइस प्याक वा अन्य प्याक बाँकी छ भन्ने जानकारी सहितको एसएमएस आउँछ । साथै नेपाल टेलिकम एपमार्फत पनि बाँकी प्याक थाहा पाउन सकिन्छ ।
अनेरास्ववियू र नेविसंघबीच आरआर क्याम्पसमा झडप
काठमाडौं । काठमाडौँको भृकुटीमण्डपस्थित रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा अनेरास्ववियू र नेपाल विद्यार्थी संघबीच झडप भएको छ । नेविसंघ महामन्त्रीका दीपक भट्टराईका अनुसार साेमबार(आज) बिहान भएको झडपमा नेविसंघको नेताहरुको आक्रमणबाट स्ववियुका नेताहरु सँगम देबकोटा, मुकेश कुवर, धर्म न्यौपाने घाइते भएका छन् । साथै नेविसंघका नेताहरु पुस्कर बास्तोला, पनि घाइते भएका छन् । उनीहरुलाई प्रहरीले पक्राउ गरेका छ । यता नेविसंघबाट पक्राउ पर्नेमा पुष्कर बास्तोला, सञ्जिव ढकाल, सुनिल शर्मा, रामजी बस्नेत, उमेश गुरुङ, विपु खड्का रहेका छन् । उनीहरुलाई सघाउँदै प्रहरी प्रशासनले पनि स्ववियुका साथीहरुलाई पक्राउ गरेको छ । स्ववियुका कोषाध्यक्ष सँगम देवकोटाले हाम्रा साथीहरु रिहा नगरे देशभर स्ववियुले आन्दोलित गर्ने बताए । सत्ताको अडामा गरिने नेविसंघको गुण्डागर्दीविरुद्ध प्रतिवादमा उत्रिने उनले बताए ।
क्यान्सर जनचेतनाका लागि ‘ज्योति लाईफ द एमेजिङ मोटर र्याली २०२०’ सम्पन्न
काठमाडौं । ज्योति लाईफ द एमेजिङ मोटर र्याली २०२०’ सम्पन्न भएको छ ।काठमाडौँ ग्रुप अफ होटल्स, रोटरी क्लब अफ बागमती काठमाडौं र ज्योति केयर्सको संयुक्त आयोजनामा उक्त कार्यक्रम माघ २४ सम्पन्न भएको हो । विश्व क्यान्सर दिवसको अवसरमा ‘आई एम एण्ड आई वील क्रिएट अ वल्र्ड विड्आउट क्यान्सर’ भन्ने नाराका साथ आयोजित उक्त कार्यक्रम मार्फत भिजिट नेपाल २०२० को प्रबर्द्धन पनि गरिएको थियो । नेपाल टुरिजम बोर्डको प्रांगणबाट क्यान्सर जनचेतना सम्बन्धी स्टिकरहरुद्वारा सुुसजित गाडीहरुलाई काठमाडौँ ग्रुप अफ होटल्सका झण्डा तोलन गरि कार्यक्रमको उद्घाटन गरिएको थियो । नेपाल टुरिजम बार्डबाट निस्किएका गाडीहरु थानकोट, चुम्लिङ्गटार, दमौली हुँदै पोखरासम्म विभिन्न चेक प्वाइन्टहरुमा आयोजित खेलहरुमा सहभागी हुँदै समापन भएको हो । सम्पूर्ण गाडीहरुमा जिपिएस जडान गरी गाडीहरु चेकप्वान्ट पार गरे नगरेको निरीक्षण गर्नुका साथै नियमानुसार प्रति घन्टा ८० कि.मि भए नभएको निगरानी गरिएको थियो । करिब १० घण्टाको यात्रापछि सम्पूर्ण गाडीहरु पोखरास्थित वाटर फ्रन्ट होटलमा बस्ने प्रावधान गरी साँझ औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो । प्रदेश नं ४ का उद्योग, पर्यटन तथा वातावरण मन्त्री विकास लम्साल लगायत पूर्व तथा हालका मिस नेपालहरु अनुष्का श्रेष्ठ, रोज लामा, मीरा कक्षपति, रोनाली अमात्य तथा रिया बस्नेत लगायत विभिन्न संघ संस्थाहरुक प्रतिनिधिहरु उपस्थित उक्त औपचारिक कार्यक्रममा विशिष्ट मन्तव्यको साथै र्याली विजेताहरुलाई पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रमको दोश्रो दिन काठमाडौँ ग्रुप अफ होटल्सको सहकार्यमा सारङकोट स्थित जनजागृति माध्यामिक विद्यालयमा ज्योति लाईफको सामाजिक उत्तरदयित्व कार्यक्रम अन्तर्गत स्वास्थ शिविर तथा स्थानिय विधार्थीहरुलाई ब्याग, शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण कार्यक्रमको आयोजना गरियो । साथै, स्थानीय प्रतिनिधि तथा पोखरा उप महानगर पालिकाका उपप्रमुख मञ्जु देवी गुरुङ्ग उपस्थित उक्त कार्यक्रममा ३८५ जनाको उपचार भएको थियो ।
अन्तराष्ट्रिय बजारमा कफीको माग बढ्दो, उत्पादन कम हुँदा नेपालले लिन सकेन लाभ
काठमाडौं । पछिल्लो समय नेपालमा उत्पादित कफीको माग विदेशी बजारमा बढ्दै गएको छ । कफीको माग तिव्र क्रममा बढेता पनि उत्पादनको क्षेत्र भने विस्तार हुन् सकेको छैन । नेपाली कफी अन्य देशका कफीको तुलनामा उत्कृष्ट मानिन्छ । नेपाली कफीको मूल्य विदेशी बजारमा प्रतिकेजी ७ डलरदेखि १० डलरमा विक्री हुने गरेको छ । कफीले नेपाली महत्वपूर्ण उत्पादनको रुपमा विदेशी बजारमा आफ्नो प्रभुत्व जमाएको छ । गत वर्ष ५ सय १३ मेट्रिक टन कफी उत्पादन भएको थियो । यो वर्ष ५ सय ३० मेट्रिक टन कफी उत्पादनको छ । गत वर्षको तुलनामा यो वर्ष १७ मेट्रिक टन उत्पादन बढेको छ । नेपालमा कफी प्रयोगकर्ताको संख्या बढ्दै नेपालमा पछिल्लो समय कफी प्रयोगकर्ताको संख्या बढेको छ । नेपालमा गत वर्ष १ सय ६३ मेट्रिक टन कफी आयात भएको थियो । चालु आर्थिक वर्षमा १ हजार मेट्रिक टनभन्दा बढी कफी आयात भइसकेको नेपाल चिया तथा कफी विकास बोर्डले जनाएको छ । नेपालमा आयात हुने कफी भारतबाट आउने र त्यसको मूल्य नेपाली कफीको तुलनामा कम हुने गरेको छ । नेपालमा आयात हुने कफी प्रतिकेजी ७० रुपैयाँमा खरिद हुनेछ । कफी घरेलु प्रयोजनका लागि दिनप्रतिदिन बढ्दै गएको छ । नेपालमा नै उत्पादित कफी महंगो पने हुँदा भारतबाट आयातित कफीको प्रयोग बढेको हो । नेपालले गत आर्थिक वर्षमा ८४ मेट्रिक टन कफी निर्यात गरेको थियो भने चालु आर्थिक वर्षमा ८५ प्रतिशत कफी निर्यात भएको चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक दिपक खनालले जानकारी दिएका छन् । गत आर्थिक वर्षमा ९ करोड रुपैयाँ बराबरको कफी निर्यात गरेको उनले जानकारी दिए । त्यस्तै नेपालमा भने ६ करोड रुपैयाँमा १ हजार मेटिक टन कफी आयात भएको छ । नेपालमा कफीयोग्य जमिन धेरै भएपनि उत्पादनको अवस्था न्यून रहेको छ । नेपाली कफीको मूल्य अन्तराष्ट्रिय बजारमा उच्च अन्तराष्ट्रिय बजारमा नेपाली कफीको माग उच्च मूल्यका साथ बढ्दै गएको छ । नेपाली कफी प्रतिकेजी ७ देखि १० अमेरिकी डलरमा बिक्री हुँदै आएको छ । नेपालीको कफीको मूल्य उच्च र माग पनि बढ्दा नेपाली उत्पादनको अवस्था भने न्यून रहेको छ । मागअनुसारको कफी उत्पादन नेपालले गर्न नसकेको बोर्डले जनाएको छ । हाल कफी उत्पादनको क्षेत्र खोज्नुका साथै माग धान्न सक्ने गरी उत्पादन बृद्धि गर्न आवश्यक गृहकार्य भइरहेको बोर्डको भनाइ छ ।
विद्युतीय तार भूमिगत बनाउने काम शुरु, अब शहर कुरुप हुँदैनः प्रधानमन्त्री ओली
काठमाडाैं । काठमाडौँ उपत्यकामा विद्युतीय तार भूमिगत बनाउने महत्वाकाङ्क्षी परियोजना शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज महाराजगञ्जबाट उक्त परियोजनाको कार्य आरम्भ गरेका हुन् । पहिलो चरणमा काठमाडौँको महाराजगञ्ज र रत्नपार्क क्षेत्रमा तार भूमिगत गरिनेछ । त्यसलाई क्रमशः अन्यत्र विस्तार गरिँदै लैजाने सरकारको योजना छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको निर्देशनमा नेपाल विद्युत् प्राधिकरणले अगाडि बढाएको भूमिगत बनाउने कार्यक्रमको शिलान्याशपछि आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासको नयाँ अध्याय शुरु भएको बताए । उनले विद्युत्, टेलिफोन र इन्टरनेटका तार भूमिगत भएपछि शहरको सौन्दर्य बढ्ने उल्लेख गर्दै कुरुपताको अन्त्य हुने विश्वास व्यक्त गरे । उनले यसबाट आम जनतालाई पनि सहज हुने र सेवा पनि सरल रुपमा प्राप्त गर्न सकिने स्पष्ट पारे । प्रधानमन्त्रीले भने, ‘यो योजना सम्पन्न भएपछि गुजुल्टिएको तार हट्छ । अब शहर कुरुप हुँदैन, चिटिक्कको शहर बन्छ । पोलभरि गुजुल्टिएको तार देख्ने दिन अन्त्यका लागि यो काम भइरहेको छ ।’ विद्युत्, टेलिफोनलगायत तार भूमिगत गर्ने काम काठमाडौँको महाराजगञ्जबाट शुरु भए पनि यसलाई देशका प्रमुख शहरमा विस्तार गरिने प्रधानमन्त्रीको भनाइ थियो । सरकारले विकास निर्माणको कामलाई प्रभावकारी रुपमा अगाडि बढाएको जानकारी दिँदै उनले केही मान्छेलाई भने पीर परेको बताए । ओलीले भने, ‘सरकारले धेरै राम्रा काम गरिरहे पनि समाचार भने मैले बाँसुरी बजाएको मात्र आउने गरेको छ । सरकारले विकास र सुशासनको काम अघि बढाउँदा केही केहीलाई किन पीर परेको हो ?’ उनले विकास सबैको साझा नारा र कर्तव्य भएको स्पष्ट पार्दै त्यसलाई मजाक नठान्नसमेत आग्रह गरे । प्रधानमन्त्रीले देशभर नै तुइन विस्थापनको काम अगाडि बढेको भए पनि एकाध स्थानमा रहेको तुइन देखाएर सरकारको आलोचना गर्ने गरिएको बताए । उनले दार्चुलामा मात्र दुईवटा तुइन बाँकी रहेको भन्दै त्यसैलाई देखाएर आलोचना गर्नुको कुनै अर्थ नहुने स्पष्ट पारे । प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठन भए पछि दैनिक छ किलोमिटरको दरले सडक कालोपत्र भएको र दुई वर्षको अवधिमा करिब तीन हजार किलोमिटर सडक कालोपत्र भएको तथ्याङ्क पेश गरे । प्रधानमन्त्रीले आगामी दुई वर्षभित्र देशका सबै स्थानमा विद्युत् सेवा पुर्याउन सरकार लागिपरेको र सोही अवधिमा नेपालले विद्युत् निर्यातसमेत गर्ने जानकारी दिए । एक सय वर्षभन्दा बढीको अवधिमा नेपालको कूल विद्युत् उत्पादन ५०० मेगावाट मात्रै रहेकामा पछिल्ला वर्षमा ५०० मेगावाट थपिएको र केही समय भित्रै ठूलो मात्रामा विद्युत् उत्पादन हुने अवस्थाको सिर्जना गरिएको बताएका छन् । उनले विद्युत् खपत पनि बढाउँदै लैजाने पनि उल्लेख गरे। विद्युत् खपतको मात्रामा बढोत्तरी हुँदै गएको भन्दै प्रधानमन्त्रीले त्यसमा थप वृद्धि हुने विश्वाससमेत व्यक्त गरे । प्रधानमन्त्री ओलीले विगतमा नेपालबाट बौद्धिक पलायन (ब्रेन ड्रेन) हुने गरेकामा त्यसलाई रोकेर विदेशमा काम गरिरहेकालाई स्वदेश फर्काउने ( ब्रेन गेन ) अभियान शुरु भएको बताए । रासस