भृकुटीमण्डपमा जारी जुत्ताचप्पल मेलामा उपभोक्ताकाे भिड बढ्दै, ६० प्रतिशतसम्म छुट
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा नेपालका प्रतिष्ठित जुत्ताचप्पल उत्पादकको प्रदर्शनीमा उपभोक्ताको भिड बढ्दै गएको छ । भृकुटीमण्डपको प्रदर्शनी हल र ठूलो चौरमा भइरहेको क्यान इन्फोटेक (मेला) मा आउने उपभोक्ता भृकुटीमण्डप प्रवेशद्वारसँगैको मेलामा अवलोकन गर्नकै लागि सर्वसाधारण प्रवेश गर्ने गरेका छन् । उक्त मेलामा आउने उपभोक्ता सस्तोमा जुत्ताचप्पल पाएपछि नलिइ कोही फर्केका छैनन, शिखर सुजका प्रवन्ध निर्देशक रामकृष्ण प्रसाइँले भने, मेलामा असाधारण मूल्यमा ब्राण्डेड जुत्ताचप्पल उपलब्ध छन् । मेलामा नेपालका चर्चित ब्राण्डहरु बिएफ डियर हिल सुज, रन सुज, शिखर सुज, ल्याडवाक र शुल्याण्डका जुत्ताचप्पल उपलब्ध छन् । क्यान मेलामा आउने उपभोक्तालाई लक्षित गरिएको जुत्ताचप्पल मेलामा १ सय रुपैयाँदेखिका चप्पल र ५ सय रुपैयाँदेखिका जुत्त उपलब्ध रहेको रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेले बताए । साथै, १५ देखि ६० प्रतिशतसम्म छुटमा जुत्ताचप्पल उपलब्ध गराइएको थियो । मेलामा नेपालमा चलेका प्रतिष्ठित ब्राण्डका जुत्ताचप्पल एउटै छानामुनि छानेर किन्ने अवसर उपभोक्ताले पाएका छन् । मेलामा महिला र पुरुष दुवैका लागि हुने १ हजारभन्दा बढी मोडलका जुत्ताचप्पल उपलब्ध छन् । त्यसैगरी, पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कार्यालयका युनिफर्म जुत्ता, महिलाले लगाउने चप्पल, गम बुटलगायत सबै प्रकारका जुत्ताचप्पल छन् । मेलामा महिलापुरुष दुवैका लागि सिजनल बुटहरुसमेत राखिएका छन् ।
सार्सभन्दा कोरोना भाइरस विश्व अर्थतन्त्रका लागि खतरा !
काठमाडौं । सन् २००३ मा चीनमा पहिलो पटक सार्स भाइरस देखा पर्याे । जसकाे करिब आठ हजार संक्रमितमध्ये ७७ जनाको ज्यान गयाे । सार्स भाइरसकाे १६ वर्षपछि पुन: आज संसारभरी कोरोना भाइरसले सोभन्दा बढी असर देखाइसकेको छ । हालसम्म पनि कुनै उपचार पत्ता नलागेको अवस्थामा यो रोगका कारण कतै अझै धेरै मानिसहरुको मृत्यु हुने त हैन भन्ने शंका पैदा भएको छ । चीनको वुहान शहरमा पहिलो पटक देखा परेको कोरोना भाइसले चीनकाे अर्थतन्त्रलाई अघिल्लो सार्सले भन्दा नराम्रोसँग शिथिल बनाउने अनुमान विश्लेषकहरुले लगाएका छन् । अझ द्रुत रुपमा बढिरहेको चीनको अर्थतन्त्र आकार, अमेरिकासँगको उसको गहिरो आर्थिक तथा व्यापारिक सम्बन्ध, चीनिँयाहरुले संसारको विविध कुनाहरुमा बढाइरहेको लगानी तथा लगभग हरेक राष्ट्रसम्म फैलिएको उसको सेवा तथा वस्तुको सञ्जाललगायतको पक्षलाई ध्यानमा राख्ने हो भने कोरोना भाइरसको विश्व अर्थतन्त्रमा पर्ने असर अध्याधिक बृहत देखिने भएकाे छ । सन् २००३ को सार्स महामारीको प्रकोपको सामना गर्दाको समयमा चीनको कुलग्राहस्थ उत्पादन करिब १०.६ खर्ब अमेरिकी डलर बराबरको थियो । जुन आज बढेर लगभग १३० खर्ब अमेरिकी डलरको भएको छ । अर्कातर्फ पछिल्लो समयमा आफ्नो व्यापारलाई बढाउने उदेश्यका साथ चीनलाई बृद्धि र नाफाको मुख्यालय बनाउनका लागि अमेरिकी कम्पनीहरुबिच घम्साघम्सी परिरहेको छ । तर, यिनै कम्पनीहरु अहिले चीनमा कोरोनाभाइरसको कारणले ब्यापार तथा बिक्रीमा आएको भारी गिरावटको कारण प्रताडित हुनु परेको छ । अघिल्लो सार्सको प्रकोपको समयमा पनि केहि समय बन्द भएको अमेरिकी गेमि जायण्ट लाभ भेगास साण्डस् कर्पले मकाउ स्थित उसका क्यासिनोहरुबाट ठूलो घाटा बेहोरिरहेको छ । क्यासिनोहरुमा जाने ग्राहकहरुको संख्यामा ८० प्रतिशतभन्दा बढीको कमी आएको उसले जनाएको छ । त्यसोत कम्पनीको कुल घाटा थाहापाउने दोश्रो त्रैमासिकसम्म कुर्नुपर्ने भएता पनि लाभ भेगास साण्डस् कर्पका सीइओ रब गोल्स्टेनले व्यापारमा आएको ८० प्रतिशतको कमीलाई संचालन खर्च कम गरेर सन्तुलन गर्छु भनेर सोच्नु मूर्खता मात्र हुने टिप्पणी दिएका छन् । १. चीनको कुल ग्राहस्थ उत्पादन सन् २००३ मा- १०.६ खर्ब अमेरिकी डलर अहिले- १३०.६खर्ब अमेरिकी डलर चीनको अर्थतन्त्र संसारकै सबैभन्दा धेरै वृद्धि भइरहेको अर्थतन्त्र मध्येको एक हो । कोरोना भाइरसको कारण हाल उसको आर्थिक तथा व्यापारिक गतिविधीमा आएको मन्दिका कारण चीनले ठूलो नोक्सानी व्यहोर्नु पर्ने अनुमान गरिएको छ । २. चीनको विश्वब्यापी निर्यात सन् २००३ मा- ४३८ अर्ब अमेरिकी डलर अहिले- २०.५ खर्ब अमेरिकी डलर आजको दिनमा चीनले बिगतमा कहिले पनि नगरेको वस्तु तथा सेवाको निर्यात संसारभरी गरिरहेको छ । गतवर्ष चीनको सबैभन्दा ठूलो निर्यातकर्ता बनेको अमेरिकाले चीनबाट१५२ अर्ब अमेरिकी डलर बराबरको विद्युतीय सामाग्रीमात्रको आयात गरेको थियो । यसैगरी चीनले अमेरिकातर्फ ११७ अर्ब अमेरिकी डलर बराबरको मेसिनरी सामाग्री, ३५ अर्ब अमेरिकी डलर बराबरको फर्निचर, २७ अर्ब अमेरिकी डलर बराबरको खेलौना र सो सम्बन्धी सामाग्री र १९ अर्ब अमेरिकी डलर बराबरको प्लाष्टिकको सामाग्री निर्यात गरेको थियो । ३. चीनियाँ अर्बपतिहरु सन् २००३ मा- ० अहिले- ३२४ जना (सन् २०१९) पछिल्लो समयमा चीनमा अर्बपतिहरुको संख्या लगातार बढिरहेको छ । हालसालै चीनकोे सबैभन्दा ठूलो इकमर्श कम्पनी अलिबाबाको अध्यक्ष पदबाट राजीनामा दिएका ज्याकमा चीनको सबैभन्दा धनी व्यक्ति हुन् । उनीसँग ४२ अर्ब अमेरिकी डलर बराबरको कूल सम्पत्ति रहेको छ । ४. अमेरिकाको भ्रमण गर्ने चीनियाँ पर्यटक सन् २००३ मा- एक लाख ५७ हजार जना अहिले- २८ लाखजना (सन् २०१८) नव धनाढ्य चीनियाँहरुको संख्यामा आएको बृद्धिसँगै उनीहरुमाझ संसारका विभिन्न देशहरुको भ्रमण गर्ने प्रबृत्तिमा व्यापकता छाएको छ । पर्यटनलाई गुणस्तरीय जिवनको महत्वपूर्ण निर्धारक मान्न थालेका चीनिँयाहरुको विश्व पर्यटन क्षेत्रमा बढ्दो योगदान रहेको छ । धेरै घुम्ने मात्र नभइ चीनियाँहरुले आफूलाई खर्चालु पर्यटकका रुपमा पनि स्थापित गराइ सकेका छन् । एक सर्वेक्षणका अनुसार गैर-चीनिँया पर्यटकहरुले विदेश भ्रमणको क्रममा सामान किन्नका लागि प्रतिब्यक्ति ओसत ४८६ अमेरिकी डलर खर्च गर्छन् भने सोहि प्रयोजनका लागि चीनिँया पर्यटकहरुले प्रतिब्यक्ति औसत ७६२ अमेरिकी डलर खर्च गर्दछन् । ५. चीनमा स्टारबक्स सन् २००३ मा- १ सय ५२ अहिले – चार हजार १ सय २३ चीनमा आर्थिक क्रियाकलाप तथा खर्चालु उपभोक्ताहरुको संख्यामा आएको उल्लेखनीय वृद्धिका कारण विश्वका ठूला ब्राण्डहरुले यहाँको आकर्षक बजारहरुबाट लाभ हासिल गर्न सो देशमा आफ्नो उपस्थिती बढाइरहेका छन् । २०१९ सम्म यहाँ चार हजार २१३ वटा रिटेल स्टोरको स्थापना गरिसकेको स्टार बक्सले कोरोना भाइरसको कारण आफ्नो आधाभन्दा बढी स्टोरहरुलाई हालबन्द गरेको छ । ६.चीनमा म्यारियट होटल सन् २००३ मा– ३९ अहिले – ३४८ (२०१९) अमेरिका पछि चीन म्यारियट चेन होटलको सबैभन्दा ठूलो बजार हो । सन् २०१८ माम्यारियटले त्यहाँको सबैभन्दा ठूलो इकमर्स कम्पनी अलीबाबासँग साझेदारी सम्झौता गर्यो जसले चीनियाँ यात्रीहरुलाई अलिबाबाको यात्रासम्बन्धी वेबसाइटमार्फत म्यारियट होटलमा आफूले चाहेको सेवा बुक गर्न सक्ने अवसर दिएको छ ।
६ महिनामै बढ्यो साढे ४ खर्बले रेमिट्यान्स
काठमाडौं । चालु आर्थिक वर्ष काे ६ महिनामै ४ खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०७६/७७को अर्धवार्षिकसमयमा मात्र उक्त रकम नेपाल भित्रिएको छ । गत आर्थिक वर्षमा ८ खर्ब ७९ अर्ब २७ करोड रुपैयाँ भित्रिएको थियो । त्यस्तै आर्थिक वर्ष २०७४/७५ मा ७ खर्ब ५५ अर्ब ५ करोड रुपैयाँ रेमिटान्स नेपाल भित्रियाे। देशको प्रमुख अर्थतन्त्रको आधार रेमिट्यान्सले कुल ग्राहस्थ उत्पादनको एक चौथाई भाग ओगटेको छ । आर्थिक वर्ष २०७४/७५ मा ११ खर्ब ६३ अर्ब ७४ करोड रुपैयाँ व्यापार घाटा भएको थियो । त्यस्तै आर्थिक वर्षमा १३ खर्ब २१ अर्ब ४२ करोड रुपैयाँ व्यापार घाटा भयो । नेपालको व्यापार घाटाको कहालि लाग्दो अवस्थालाई विदेशबाट भित्रिने रेमिट्यान्सका कारण अर्थतन्त्रको जग यथावत रहेको छ । सम्बन्धित समाचार खाडीको पसिनाले थेग्दैछ नेपाली अर्थतन्त्र, वार्षिक ५ लाख नेपाली विदेशिदै
सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा बास्केटबल प्रतियोगिता सम्पन्न
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको सहयोग र क्वेष्ट इन्टरनेशनल कलेजको आयोजनामा भएको नारायण प्रसाद स्मृती बास्केटबल प्रतियोगिता २०७६ फागुन २ गते (शुक्रबार) सम्पन्न भएको छ । खेलकुदको विकासमा सहयोग गर्दै आइरहेको सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको सहयोगमा भएको बास्केट बल प्रतियोगितामा काठमाडौंका विभिन्न कलेजहरूको सहभागिता रहेको थियो । क्वेष्ट इन्टरनेशनल कलेज प्रांगणमा सम्पन्न बास्केटबल प्रतियोगिताको महिलातर्फ प्रथम सैपाल कलेज, दोस्रोमा रिलायन्स इन्टरनेशल एकेडेमी भएका थिए । त्यसैगरी पुरुष तर्फ प्रथममा सीसीआरसी कलेज र दोस्रोमा ओमेगा कलेज भएका थिए । बास्केटबल प्रतियोगिताका बिजेताहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकका संचालक लिसा शेरचनले पुरस्कार वितरण गरेका थिए । यसरी बैंकले हाल ९१ शाखा कार्यालयहरुबाट आफ्नो आवश्यकता अनुसार विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको छ ।
निर्यात २६.१ प्रतिशतले बढ्यो, व्यापार घाटा ७ खर्ब
काठमाडौं । चालू आर्थिक वर्षको ६ महीनामा कूल वस्तु निर्यात २६.१ प्रतिशतले वृद्धि भई ५७ अर्ब २८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ११.५ प्रतिशतले वृद्धि भएको थियो । यस अवधिमा भारततर्फ ४५.८ प्रतिशतले निर्यात वृद्धि भएको छ । चीनतर्फ ८.५ प्रतिशत र अन्य मुलुकतर्फ ३.८ प्रतिशतले घटेको छ । पाम तेल, अलैंची, जुटका सामान, आयुर्वे्दिक औषधि, दाललगायतका वस्तुको निर्यात बढेको छ । जस्तापाता, तार, तयारी पोषाक, जुस, तामाको तारलगायतका वस्तुहरूको निर्यात घटेको छ । पुस मसान्तसम्ममा कूल वस्तु आयात ४ प्रतिशतले घटेर ६ खर्ब ९४ अर्ब ६९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३०.५ प्रतिशतले बढेको थियो । भारतबाट भएको आयात ९.१ प्रतिशतले घटेको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयात १२.१ र ०.४ प्रतिशतले बढेको छ । यस अवधिमा कच्चा पाम तेल, हटरोल सिट, रासायनिक मल, मेसिनरी तथा पार्टपुर्जा, विद्युतीय उपकरणलगायतका वस्तुको आयात बढेको छ । बिलेट, पेट्रोलियम पदार्थ, सुन, यातायातका साधन तथा पार्टपुर्जा लगायतका वस्तुको आयात घटेको छ ।
सिटिजन्स बैंक र ईसेवा मनि ट्रान्सफरबीच रेमिटेन्स सम्झौता
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र ईसेवामनि ट्रान्सफरबीच विप्रेषण रकम भुक्तानी दिने कार्यका लागि सम्झौता भएको छ । यस सम्झौता बमोजिम अब ईसेवा मनि ट्रान्सफरमार्फत विदेशबाट नेपालमा पठाएको विप्रेषण रकम बैंकको सम्पूर्ण शाखामार्फत सजिलै भुक्तानी पाउन सकिने छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । बैंकले हाल ८९ वटा शाखा, ९० वटा एटीएम र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु दिँदै आएको छ ।
आमा घर सेवा आश्रमलाई ग्लोबल आइएमई बैंकको तीन लाख सहयोग
काठमाडौं । ग्लोबल आइएमई बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आमाघर सेवा आश्रममा निर्माणाधीन भवनमा सोलार जडानका लागी ३ लाख रुपैयाँ सहयोग गरेको छ । ग्लोबल आइएमई बैंक बाग्मती प्रदेशका डेपुटी प्रदेश प्रमुख दिपेन्द्र कडरियाले शुक्रबार आयोजित एक कार्यक्रममा आमाघर सेवा आश्रमका अध्यक्ष रामचन्द्र उप्रेती तथा संरक्षक विजयराज सिग्देललाई उक्त रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै आमाघर सेवा आश्रमका अध्यक्ष रामचन्द्र उप्रेतीले सामाजिक उत्तरदायित्वमा पहल गर्दै ग्लोबल आइएमई बैंकले गरेको सहयोग देख्दा निकै हर्षित भएको विचार व्यक्त गरेका छन् । आमा घर सेवा आश्रमका संरक्षक विजयराज सिग्देलले बैंकले आश्रममा बस्ने बुढा आमाबुबाहरुका लागी अति आवश्यक तातोपानीका लागी सोलार जडानका निमित्त आर्थिक सहयोग प्रदान गरेकोमा ग्लोबल आइएमई बैंकलाई धन्यवाद व्यक्त गरेका छन् । उनले ग्लोबल आइएमई बैंक, आश्रमलाई आर्थिक सहयोग प्रदान गर्ने प्रथम बैंक भएको समेत जानकारी गराए । त्यसैगरी, डेपुटी प्रदेश प्रमुख दिपेन्द्र कडरियाले बैंक पनि समाजकै अंग भएकोले यस्तै किसिमका सामाजिक उत्तरदायित्व निर्वाहका निमित्त सामाजिक कार्यक्रमहरुमा सहयात्री भईनैरहने जानकारी गराए ।
पुसको मूल्यबृद्धि झण्डै ७ प्रतिशत, महंगीको धेरै भार भान्छामा
काठमाडौं । गत पुसको मूल्यबृद्धि ६.८२ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.५८ प्रतिशत रहेको थियो । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्ष (आव) को ६ महिनाको तथ्यांकले यस्तो देखाएको हो । यो अवधिमा सबैभन्दा धेरै मूल्यबृद्धि खाद्य तथा पेश पदार्थ समुहको छ । राष्ट्र बैंकका अनुसार पुसमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यबृछि १०.२१ प्रतिशत भने गैर–खाद्य तथा सेवा समूहको मूल्यबृद्धि ४.२५ प्रतिशत छ । खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत तरकारी, मसला, दाल तथा गेडागुडी र फलफुल उपसमूहको मूल्य वृद्धि उच्च छ । गैर–खाद्य तथा सेवा समूह अन्तर्गत शिक्षा, लुगा तथा जुत्ता र फर्निसिङ तथा घरायसी उपकरण उपसमूहको मूल्य बढेको छ । यो अवधिमा महिनामा काठमाडौं उपत्यकामा ७.२४ प्रतिशत, तराईमा ७.४६ प्रतिशत, पहाडमा ५.३९ प्रतिशत र हिमालमा ५.०१ प्रतिशत मूल्यबृद्धि भएको छ । गत वर्षको पुसमा यी क्षेत्रहरुमा क्रमशः ५.१५ प्रतिशत, ४.०२ प्रतिशत, ४.९२ प्रतिशत र ४.४८ प्रतिशत मूल्यबृछि थियो । गत पुसमा नेपालमा ६.८२ प्रतिशत मूल्यबृद्धि हुँदा भारतमा भने ७.५९ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा नेपाल र भारतको मूल्यबृद्धि क्रमशः ४.५८ प्रतिशत र २.०५ प्रतिशत रहेको थियो ।