विकासन्युज

मेगा बैंकले ल्यायो ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्स अकाउन्ट’ योजना

काठमाडौं । मेगा बैंक नेपालले ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्स अकाउन्ट’ नामक आकर्षक बचत योजना ल्याएको छ । सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका कर्मचारीहरुका लागि बैंकले उक्त संस्करण ल्याएको हो । न्यूनतम १ हजार रुपैंया बचत हुनुपर्ने यस खातामा ६.५ प्रतिशत ब्याज पाइनुका साथै विभिन्न आकर्षक सुविधा तथा छुटको पनि व्यवस्था गरिएको छ । यस योजनामा ग्राहकलाई ५० हजार रुपैंयासम्मको मेडिकल बिमा गरिएको छ भने ७ लाख रुपैंयाको दुर्घटना बिमाको व्यवस्था गरिएको छ । यसैगरी, मोबाइल बैंकिङ, डेबिट कार्ड र क्रेडिट कार्ड पहिलो वर्ष निःशुल्क रुपमा उपलब्ध गराइने बैंकले जनाएको छ । यस्तै, नेपालभित्रका जुनसुकै बैंकका एटीमबाट रकम झिक्न पनि निःशुल्क व्यवस्था गरिएको छ । यसका साथै, खातावाललाई ऋण लिन पनि यस योजनामा विशेष सुविधाहरु समेटिएका छन् । ‘बैंक अफ दी एयर २०१९’ बाट पुरस्कृत भएको मेगा बैंकले ग्राहकलाई आकर्षक र नवीनतम सुविधाहरु प्रदान गर्दै आएको छ । मेगा बैंकका देशभरका १ सय ११ वटै शाखाबाट यस योजना अन्तरगत खाता खोल्न सकिने मेगा बैंकले जनाएको छ ।

खानेपानी व्यवस्थापन बोर्डले माग्यो कार्यकारी निर्देशक पदमा कर्मचारी

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले कार्यकारी निर्देशक पदका लागि कर्मचारी माग गरेको छ ।  बोर्डले मंगलबार सूचना प्रकाशन गरी रिक्त रहेकाे सो पदका लागि आवदेन खुलाएकाे हो । खुल्ला प्रतिष्पर्धाका आधारमा उक्त पद छनौट गरिने छ । ४५ वर्ष उमेर पुगेको ६० ननाघेको, खानेपानी तथा सरसफाई क्षेत्रमा ५ वर्षको अनुभव संगालेको र नैतिक पतन देखिने कुनै काम नगरेको व्यक्तिले सो पदका लागि आवेदन दिन सक्नेछन् । दरखास्त फाराम खानेपानी बोर्ड कार्यालयको वेबसाइटबाट डाउनलोड गरी वा कार्यालय समयमा फाराम भर्न पाइने छ । उक्त फाराममा आवश्यक कागजात संलग्न गरी ३ हजार दस्तुरसहित बोर्डको कार्यालय भैंसेपाटीमा बुझाउन सकिनेछ । बोर्डको  सूचना प्रकाशन भएकाे मितिले २१ दिनभित्र दरखास्त पेश गर्नु पर्नेछ । कम उम्मेदवारको दरखास्त परेमा पहिलो चरणमा परेका आवेदनहरुलाई यथावत राखी थप ७ दिनका लागि पुनः दरखास्त माग गर्न सक्ने छ ।

भक्तपुरमा अन्तरनगर एथ्लेटिक्स प्रतियोगिता हुँदै

मध्यपुरथिमि । भक्तपुर नगरपालिकाले यही फागुन ८ गतेदेखि १२ गतेसम्म अन्तरनगर एथ्लेटिक्स प्रतियोगिता आयोजना गर्ने भएको छ । नगरपालिकाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले प्रतियोगितामा १६ वटा नगरपालिकाले भाग लिने र प्रतियोगिताको सबै तयारी पूरा भएको बताए । अन्तरनगर एथ्लेटिक्स प्रतियोगितामा घोराही उपमहानगरपालिका, ललितपुर महानगरपालिका, चाँगुनारायण नगरपालिका, रामेछाप नगरपालिका, कीर्तिपुर नगरपालिका, शङ्खरापुर नगरपालिका, मनोहरा कागेश्वरी नगरपालिका, मध्यपुरथिमि नगरपालिका, चौडण्डीगढी नगरपालिका रहेका छन् । त्यसैगरी, टाेखा नगरपालिका, भक्तपुर नगरपालिका, साँगाचोक चौतारागढी नगरपालिका, मन्थली नगरपालिका, भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका र विदुर नगरपालिको सहभागिता रहनेछ । प्रतियोगितामा फिल्ड इभेन्ट्सअन्तर्गत सटपुट, लङ जम्प, ज्याभलिन थ्रो, डिसक्रस थ्रो, हाइ जम्प, ट्रिपल जम्प र ट्रयाक इभेन्ट्सअन्तर्गत १०० मिटर, २०० मि, ४०० मि, ८०० मि, १५०० मि, ५००० मि, १०००० मि, ४२.१९५ किमी (म्याराथुन), २१.०९ किमी (हाफ म्याराथुन) खेल समावेश छन् । त्यस्तै, फिल्ड इभेन्ट्समा प्रथम हुनेलाई रु पाँच हजार, दोस्रो हुनेलाई तीन हजार, तेस्रो हुनेलाई रु दुई हजार, ट्रयाकतर्फ प्रथम हुनेलाई रु पाँच हजार, दोस्रो हुनेलाई रु तीन हजार, तेस्रो रु दुई हजार नगद पुरस्कार दिनेछ । म्याराथुनमा प्रथम हुनेलाई रु ३० हजार, दोस्रो हुनेलाई रु २० हजार तेस्रो हुनेलाई रु १० हजार, हाफ म्याराथुनमा प्रथम हुनेलाई रु. ३० हजार, दोस्रो हुनेलाई रु २० हजार, तेस्रो हुनेलाई रु १० हजार नगद पुरस्कारबाट पुरस्कृत गरिनेछ । अन्तरनगर एथ्लेटिक्स प्रतियोगिताको रु ३० लाख खर्च हुने अनुमान गरिएको नगरप्रमुख प्रजापतिले जानकारी दिए ।

गायक प्रमोद खरेलको स्वरमा ‘धोकेबाज’ गीत सार्वजनिक

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘धोकेबाज’ सार्वजनिक भएको छ । दिपेन्द्र पोख्रेल ‘देबेन’को शब्द, हरि लम्सालको सङ्गीत, उदयराज पौडेलको एरेञ्ज र चन्द्र चौधरीको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । शान थापको निर्देशन र राजिव समिरको कोरियोग्राफी रहेको गीतको भिडियोमा केकी अधिकारी, रेम्बो अधिकारी, रिया पोखरेल र संगीत वस्यालको अभिनय रहेको छ । बुद्ध थापाको छायाँकन रहेको भिडियोमा दृश्य सम्पादन सुप्रिम पराजुलीले गरेका छन् ।

इन्जिनियरिङ्ग पढ्ने विद्यार्थी गोर्खा इको प्यानलमा

काठमाडौं । काठमाडौंको कान्तिपुर सिटी कलेजको इन्जिनियरिङ्गका विद्यार्थीले सोमबार भक्तपुरस्थित गोर्खा इको प्यानल र गोर्खा प्रिकाष्ट एण्ड विण्डोर प्रालिको अवलोकन गरेका छन् । कक्षामा सिकेकाे ज्ञानलाई यथार्थमा सिन्नका लागि उनीहरुले इको प्यानलमा भ्रमण गरेको हुन् । अवलाेकनमा उनीहरुले कारखानाबाट गोर्खा इको प्यानल, गोर्खा पर्मियबल पेभर, गोर्खा प्रिकाष्ट स्ल्याब, गोर्खा वाउण्डरी वाल लगायतका निर्माण सामाग्री उत्पादनहरु बारे जानकारी लिएका छन् । विद्यार्थीहरूले कितावमा पुराना निर्माण सामाग्रीबारे मात्रै उल्लेख भएकाले भोलिका दिनमा ईन्जिनियर भई काममा जाँंदा समस्या नहोस् भनेर नयाँ सिकाईका लागि भ्रमण गरेकाे बताएका छन् । विद्यार्थीहरूलाई गोर्खा इको प्यानलका प्रोजेक्ट म्यानेजर इन्जिनियर कृष्णसुन्दर कुम्पाखले कारखानाका उत्पादनहरुबारे जानकारी गराए । कलेजका सिभिल डिपार्टमेन्टका विभागीय प्रमुख ई.डा.दीपकविक्रम थापाको नेतृत्वमा विद्यार्थी त्यहाँं पुगेका थिए । विद्यार्थीलाई नयाँं निर्माण सामाग्रीबारे जानकारी दिने उद्देश्यले भ्रमण गराइएको डा. थापाले बताए ।  

वारेन बफेट सबैभन्दा ठूला पराेपकारी, यी हुन् विश्वका २५ ठूला दानबीर

काठमाडाैं । पछिल्लो समय धनी र गरिबबीचको आयमा अन्तर र श्रोतहरु माथिको उनीहरुको पहुँच र नियन्त्रण बिकरालरुपमा बढ्दो छ । अन्तर्राष्ट्रिय गैर-सरकारी संस्था अक्सफामले यसै साता प्रकाशित गरेको प्रतिवेदन ‘टाइम टु केअर’का अनुसार सन् २०१९ मा संसारका सबैभन्दा धनी २१ सय ५३ जनाको सम्पत्तिमाथि नियन्त्रण विश्वको अति गरिब ४.६ अर्ब मानिसको भन्दा बढी रहेको छ । यो प्रतिवेदन संसारभरीका गरिब तथा बिपन्न जनसंख्यालाई निराश बनाउने खालको छ । तथापि, केही समययता विश्वका सबैभन्दा धनी मानिसहरुको समूहले दलित, गरिब, सिमान्तकृत तथा अति-बिपन्न बर्गको हितका लागि बढाइरहेको सहयोगले यी बर्गका मानिसहरुलाई धेरै नै राहत दिइरहेको छ । विश्वप्रख्यात अर्बपतिहरुले गैरनाफामूल संस्थाहरुमार्फत नभइ आफैले च्यारिटी फाउण्डेसनको स्थापना गरी सोहि फाउण्डेसनहरु मार्फत परोपकारको काममा धेरैजसो लगानी गरिरहेका छन् । फोब्रसले सन् २०१४ देखि २०१८ सम्म अमेरिकाका सबैभन्दा ठूला धनाढ्यहरुमध्ये सबैभन्दा बढी च्यारिटीमा खर्च गर्ने २५ धनी मानिसहरुको सूची तयार गरेको छ, जसमध्ये २१ जना अर्बपति छन् । फोब्सकाअनुसार यी पाँचै वर्ष सबैभन्दा बढी दान गर्ने ब्यक्ति वर्कसायर हाथवेका मालिक वारेन बफेट हुन् जसले सो अवधिमा १४.७ अर्ब मानवहितको क्षेत्रमा लगाए । यस रकमको ठूलो हिस्सा उनले अर्बपति साथी बिल र मालिण्डले चयन गरेको कार्यमा गेट्स दम्पत्तिद्धारा नै स्थापित बिल एण्ड मालिण्डा फाउन्डेसनमार्फत खर्च गरेका थिए । अमेरिकाको सियाटलमा बसोबास गर्ने गेट्स दम्पत्ति पनि अत्यधिक उदार दम्पत्तिको रुपमा सुपरिचत छन् भने पछिल्लो पाँच वर्षको अवधीमा उनीहरुले समाजसेवाका लागि गरेको करिब ९.९ अर्ब अमेरिकी डलर बराबरको खर्चका आधारमा उनीहरु बफेटपछिको दोश्रो ठूलो दाता हुन् । ‘त्यसो त धेरै सम्पत्ति हुनेले धेरै दान गर्नु कुनै नौलो कुरा होइन, तर, कम सम्पत्ति भएर पनि धेरै दान गर्ने मामुलामा ड्युटी फ्रि स्टोर मालिक चक फिनीलाई कसैले जित्न सक्दैन,’ फोब्रसले उल्लेख गरेको छ । फोब्र्सका अनुसार बिगतमा अर्बपतीको सूचिभित्र पर्न सफल फिनीले २०१४ देखि २०१८ सम्म १.६ अर्ब अमेरिकी डलर दान गरे भने अहिलेसम्म आठ अर्ब अमेरिकी डलर गरिब तथा दिनदुखीका लागि समर्पित गरिसकेका छन् । लोकोपकारमा जेम्स बोण्ड भनेर चिचिने फिनीले आफ्नो जिवनभरको लगभग सबै कमाइ दानपुण्यमा लगाएका थिए । कुल सम्पत्तिको तुलनामा कसले कति दान गर्यो भनेर तुलना गर्न फोब्रसले दाताहरुको कुल सम्पत्तिको आधारमा दान गरेको रकमको प्रतिशत पनि निकालेको छ जसअनुसार फेसबुकका संस्थापक मार्क जुकरबर्गले पाँच वर्षका अवधीमा जम्मा सम्पत्तिको १.२ प्रतिशतमात्र दान गरे । फोब्रसको अध्ययनअनुसार अमेरिकाका २५ जना सबैभन्दा ठूला दाताहरुले अध्ययन अवधीमा कुल ५१.६ अर्ब अमेरिकी डलर बराबरको दान गरेका थिए जुन रकम गरिब मुलुक तथा पछाडी पारिकएका समाजले भोगका समस्याहरु जस्तै आपराधिक न्याय, शिक्षामा सुधार, वैज्ञानिक अनुसन्धान र गरिबी निवारणजस्ता क्षेत्रमा गएको थियो । तल सन् २०१४ देखि २०१८ सम्म सबैभन्दा बढी दान गर्ने प्रमुख २५ मध्ये २० जना दाताहरुको सूची प्रस्तुत गरिएको छ । १. वारेन बफेट दानको क्षेत्र – स्वास्थ्य, शिक्षा, सामाजिक न्याय, महिला अधिकार, गरिबी निवारण लगायत कुल सम्पत्ति – ९० अर्ब अमेरिकी डलर पाँच वर्षभित्र गरेको दान – १४.७ अर्ब अमेरिकी डलर कुल सम्पत्तिमा दान गरेको रकमको प्रतिशत – १६.३ २. बिल र मेलिण्डा गेट्स दानको क्षेत्र – स्वास्थ्य, गरिबी निवारण लगायत कुल सम्पत्ति – १०९.६ अर्ब अमेरिकी डलर पाँच वर्षभित्र गरेको दान – ९.९ अर्ब अमेरिकी डलर कुल सम्पत्तिमा दान गरेको रकमको प्रतिशत – ९ ३. जर्ज सोरोस दानको क्षेत्र – आर्थिक विकास, मानव अधिकार, प्रेश स्वतन्त्रता, मतदाता स्वतन्त्रता लगायत कुल सम्पत्ति – ८.३ अर्ब अमेरिकी डलर पाँच वर्षभित्र गरेको दान – ३.१ अर्ब अमेरिकी डलर कुल सम्पत्तिमा दान गरेको रकमको प्रतिशत – ३७.४ ४. माइकेल ब्लुमबर्ग दानको क्षेत्र – स्वास्थ्य, जलवायू परिबर्तन लगायत कुल सम्पत्ति – ५९.५ अर्ब अमेरिकी डलर पाँच वर्षभित्र गरेको दान – ३ अर्ब अमेरिकी डलर कुल सम्पत्तिमा दान गरेको रकमको प्रतिशत – ५ ५. वाल्टन परिवार दानको क्षेत्र – शिक्षा, वातावरण संरक्षण लगायत कुल सम्पत्ति – १८१.४ अर्ब अमेरिकी डलर पाँच वर्षभित्र गरेको दान – २.३ अर्ब अमेरिकी डलर कुल सम्पत्तिमा दान गरेको रकमको प्रतिशत – १.३ ६. जिम र म्यारिन सिमोन्स् दानको क्षेत्र – स्टिम (साइन्स्, टेक्नोलोजी, इञ्जिनियरिङ्ग एण्ड म्याथम्याटिक्स) अनुसन्धान कुल सम्पत्ति – २१.६ अर्ब अमेरिकी डलर पाँच वर्षभित्र गरेको दान – १.६५ अर्ब अमेरिकी डलर कुल सम्पत्तिमा दान गरेको रकमको प्रतिशत – ७.६ ७. चक फिनी दानको क्षेत्र- विज्ञान, मानव अधिकार, यूवा लगायत पाँच वर्षभित्र गरेको दान- १.६ अर्ब अमेरिकी डलर कुल सम्पत्तिमा दान गरेको रकमको प्रतिशत- १०० ८. हान्सजइर्ज विस दानको क्षेत्र – वातावरण, विज्ञान लगायत कुल सम्पत्ति – ६.३ अर्ब अमेरिकी डलर पाँच वर्षभित्र गरेको दान – १.५५ अर्ब अमेरिकी डलर कुल सम्पत्तिमा दान गरेको रकमको प्रतिशत – २४.६ ९. पाइरी ओमिडायर दानको क्षेत्र – शिक्षा, गरिबी निवारण, मानव अधिकार, प्रकोप उद्धार लगायत कुल सम्पत्ति – १३.३ अर्ब अमेरिकी डलर पाँच वर्षभित्र गरेको दान – १.४ अर्ब अमेरिकी डलर कुल सम्पत्तिमा दान गरेको रकमको प्रतिशत – १०.५ १०. गोर्डन र बिटी मुर दानको क्षेत्र – शिक्षा, वातावरण, विज्ञान लगायत कुल सम्पत्ति – ११.८ अर्ब अमेरिकी डलर पाँच वर्षभित्र गरेको दान – १.४ अर्ब अमेरिकी डलर कुल सम्पत्तिमा दान गरेको रकमको प्रतिशत – ११.९ ११. जोन र लौरा अर्नल्ड दानको क्षेत्र – शिक्षा, स्वास्थ्य र अपराधीक न्याय लगायत कुल सम्पत्ति – ३.३ अर्ब अमेरिकी डलर पाँच वर्षभित्र गरेको दान – १.२ अर्ब अमेरिकी डलर कुल सम्पत्तिमा दान गरेको रकमको प्रतिशत – ३६.४ १२. मार्क जुकरबर्ग र प्रिससिला चान दानको क्षेत्र – शिक्षा, रोगको उपचार, समावेशी समाज, विज्ञान र अपराधीक न्याय लगायत कुल सम्पत्ति – ८१.८ अर्ब अमेरिकी डलर पाँच वर्षभित्र गरेको दान – १ अर्ब अमेरिकी डलर कुल सम्पत्तिमा दान गरेको रकमको प्रतिशत – १.२ १३. जुलियन रोबर्टसन जुनियर दानको क्षेत्र – शिक्षा, वातावरण र औषधीजन्य अनुसन्धान लगायत कुल सम्पत्ति – ४.४ अर्ब अमेरिकी डलर पाँच वर्षभित्र गरेको दान – ८८ करोड १० लाख अमेरिकी डलर कुल सम्पत्तिमा दान गरेको रकमको प्रतिशत- २० १४. इली र इडिथ ब्रोड दानको क्षेत्र – शिक्षा, कला, विज्ञान लगायत कुल सम्पत्ति – ६.८ अर्ब अमेरिकी डलर पाँच वर्षभित्र गरेको दान- ८१ करोड ६० लाख अमेरिकी डलर कुल सम्पत्तिमा दान गरेको रकमको प्रतिशत – १२ १५ चार्ल्स कच दानको क्षेत्र – शिक्षा कुल सम्पत्ति – ४२.८ अर्ब अमेरिकी डलर पाँच वर्षभित्र गरेको दान – ७९ करोड १० लाख अमेरिकी डलर कुल सम्पत्तिमा दान गरेको रकमको प्रतिशत- १.९ १६. पाउल एलन दानको क्षेत्र – संरक्षण, विज्ञान लगायत कुल सम्पत्ति – २०.३ अर्ब अमेरिकी डलर पाँच वर्षभित्र गरेको दान – ७२ करोड १० लाख अमेरिकी डलर कुल सम्पत्तिमा दान गरेको रकमको प्रतिशत – ३.६ १७. लिन र स्टासी स्टुस्टरम्यान दानको क्षेत्र – शिक्षा, यहुदीको भलाइ लगायत कुल सम्पत्ति – ३.४ अर्ब अमेरिकी डलर पाँच वर्षभित्र गरेको दान – ७१ करोड ३० लाख अमेरिकी डलर कुल सम्पत्तिमा दान गरेको रकमको प्रतिशत – २१ १८. डस्टिन मोस्कोभिच र कारी टुना दानको क्षेत्र – विज्ञान, स्वास्थ्य र अपराधीक न्याय लगायत कुल सम्पत्ति – १३.५ अर्ब अमेरिकी डलर पाँच वर्षभित्र गरेको दान – ७० करोड ५० लाख अमेरिकी डलर कुल सम्पत्तिमा दान गरेको रकमको प्रतिशत – ५.२ १९. केन ग्रीफिन दानको क्षेत्र – शिक्षा, कला र विज्ञान लगायत कुल सम्पत्ति – १३.१ अर्ब अमेरिकी डलर पाँच वर्षभित्र गरेको दान – ६२ करोड अमेरिकी डलर कुल सम्पत्तिमा दान गरेको रकमको प्रतिशत – ४.६ २०. माइकेल र सुसान डेल दानको क्षेत्र – शिक्षा, गरिबी निवारण लगायत कुल सम्पत्ति – ३१.५ अर्ब अमेरिकी डलर पाँच वर्षभित्र गरेको दान – ६१ करोड ४० लाख अमेरिकी डलर कुल सम्पत्तिमा दान गरेको रकमको प्रतिशत – २

कृषि, पर्यटन, जलविद्युत् र ऊर्जामा लगानी गर्न राज्यमन्त्री दुगडकाे आग्रह

काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले संयुक्त अरब इमिरेट्स (युएइ) का ऊर्जा तथा उद्योगमन्त्री सुहाइल मोहमेद फराज अल मजुरेइसँग भेटघाट गरेका छन्। राज्यमन्त्री दुगड दुबई राजधानी शहरमा आगामी कात्तिक ४ देखि करिब छ महिनासम्म आयोजना हुने एक्सपो २०२० को तयारीका सिलसिलामा गत शनिबार युएइ गएका थिए । सो मेलाको नारा ‘मनहरु जोड्दैः भविष्य सिर्जना गर्दै’ भन्ने रहने छ । उनीहरुबीचको भेटमा द्विपक्षीय सम्बन्धका साथै दुई मुलुकले जलविद्युत् नवीकरण र ऊर्जा तथा पर्यटन क्षेत्रका विकासमा लगानी गर्न सक्ने विषयमा छलफल भएको थियो । राज्यमन्त्री दुगडले नेपालमा कृषि, पर्यटन, जलविद्युत्, ऊर्जालगायत क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेको बताउँदै युएइ सरकारलाई नेपालमा लगानीका लागि आह्वान पनि गरे । सो अवसरमा युएइका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल र दूतावासका पदाधिकारीको समेत उपस्थिति थियो । यसअघि सन् २०१५ मा मिलान, २०१७ मा नुर–सुल्तान र २०१९ मा बेजिङ भएको त्यस्तै एक्सो २०२३ मा ब्युनस आयर्स र २०२५ मा ओसाकामा हुने जनाइएको छ ।

हेटौँडा–काठमाडौं सुरुङमार्ग पहिलो प्राथमिकतामाः मन्त्री फुयाँल

हेटौँडा । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश राजधानी हेटौँडा र सङ्घीय राजधानी काठमाडौँलाई जोड्ने भीमफेदी–काठमाडौँ सुरुङमार्ग निर्माणलाई  पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । मन्त्री फुयाँलले मुलुकको समृद्धिका लागि प्रधानमन्त्रीले देखाएको सपना र वाग्मती प्रदेशका मुख्यमन्त्रीले तयार पारेको योजना पूरा गर्न आफू लागिपर्ने बताए । उनले प्रदेशका १३ वटा जिल्लाका ११९ वटै स्थानीय तहको विकासका लागि आफूले दिनरात नभनी काम गर्ने बताए । मन्त्री फुयाँलले भने, ‘अबको तीन महिनामा आफूले गरेको कामको विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्नेछु ।’ उनले कर्मचारीतन्त्रलाई जनतामुखी बनाउन मुस्कानसहितको सेवाको अवधारणा पूर्णरुपमा कार्यान्वयन गरिने बताएका छन् । कर्मचारी क्षेत्रलाई परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो । उनले पारदर्शिता र जवाफदेहीप्रति पूर्ण प्रतिबद्ध भएर अगाडि बढ्ने उल्लेख गरे । काठमाडौँ जिल्ला क्षेत्र नम्बर ३ तथा प्रदेशसभा “ख” बाट प्रदेश सभा सदस्यमा निर्वाचित फुयाँल यसअघि संविधानसभा सदस्य थिए । नेकपा बाग्मती प्रदेशका प्रमुख सचेतक समेत रहेका फुयाँल लामो राजनीतिक यात्रापछि मन्त्री बनेका हुन् । विसं २०३६ सालदेखि विद्यार्थी राजनीतिमा लागेका फुयाँल २०४१ सालमा तत्कालीन एमालेको सदस्य भएका थिए । विसं २०६५ सालमा सम्पन्न पार्टीको आठौ राष्ट्रिय महाधिवेशनपछि केन्द्रीय सदस्यका रुपमा निर्वाचित भएका फुयाँल २०४९ र २०५४ सालमा काठमाडौँको आलापोट गाविसको अध्यक्ष, २०७० सालको संविधानसभाको चुनावमा निर्वाचित भएका थिए । रासस