विद्यालय भवन पुनःनिर्माणमा सहयोग जुटाउन नेपथ्यको सांगीतिक कार्यक्रम गरिँदै
काठमाडौं । चर्चित सांगीतिक समूह नेपथ्यले यही फागुन १७ गते काठमाडौँमा विशेष सांगीतिक कार्यक्रम गर्न लागेको छ । हेल्प नेपाल नेटवर्कसँगको सहकार्यमा ‘शिक्षाकालागि संगीत’ नाम दिइएको सो कार्यक्रम भृकुटी मण्डप बगैंचामा आयोजना गरिने छ । सन् २०१५ मा आएको विध्वंशकारी भूकम्पबाट क्षतिग्रस्त दोलखाको राजकुलेश्वर निम्न माध्यमिक विद्यालय भवनको पुनर्निर्माणमा सहयोग जुटाउन उक्त कार्यक्रम आयोजना गर्न लागिएको हेल्प नेपाल नेटवर्कले जनाएको छ । यस हेल्प नेपालले सन् २०१५ यता सिन्धुपाल्चोकको ठोकर्पा मावि लगायत विभिन्न जिल्लाका विद्यालय भवनहरु पुनर्निर्माण गर्न सघाएको छ । भीमेश्वर नगरपालिकास्थित राजकुलेश्वर निम्न माध्यमिक विद्यालय भवनको पुनर्निर्माण शुरु भइसकेको र सो पुनर्निर्माणको काम सम्पन्न गर्न सहयोग जुटाउन चर्चित व्याण्ड नेपथ्यसँगको सहकार्यमा यो सांगीतिक साँझ आयोजना गर्न लागेको हो । कार्यक्रममा चर्चित गायक अमृत गुरुङले प्रस्तुति दिनेछन् अहिले टिकटको मूल्य ९ सय रुपैयाँ राखिएको छ। कार्यक्रमको दिन भने टिकटको मूल्य प्रति व्यक्ति रु १ हजार २ सय ५० राखिएको आयोजकहरुले जनाएका छन् । इ सेवामा गएर कार्यक्रमको टिकट किन्न सकिन्छ । ‘मातृभूमिको लागि महिनामा एक पौण्ड वा एक डलर’ भन्ने आह्वान गर्दै २० वर्ष अघि बेलायतमा सो नेटवर्क स्थापना गरिएको थियो। हेल्प नेपाल नेटवर्कले नेपालमा शिक्षा, स्वास्थ्य, आपत्कालीन मानवीय सहायता लगायतका क्षेत्रमा सहयोग पुर्याउँदै आएको छ।
सभामुख सापकोटासँग युरोपेली मुलुकका राजदूतद्वारा भेट, आर्थिक सहयोग जारी राख्ने प्रतिबद्धता
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटासँग युरोपेली मुलुकका राजदुतले भेटघाटको क्रमलाई बढाएका छन् । सभामुख सापकोटासँग सोमबार नेपालका लागि नर्वेका राजदूत लस्से ब्जोम जोहानेसनले शिष्टाचार भेट गरी बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । भेटमा नर्वेजियन राजदुतले नेपालको आर्थिक तथा समाजिक क्षेत्रमा पुराउँदै आएको सहयोगलाई नर्वेले जारी राख्ने प्रतिबद्धता व्यक्त गरे । आजै नेपालका लागि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपिका आवासीय प्रतिनिधि आईसाने मेडागान्गोडा लबेले सभामुख सापकोटालाई भेटेर बधाई ज्ञापन गरेका छन् । युएनडिपि प्रतिनिधि लबेले हाल नेपालमा विभिन्न २६ क्षेत्रहरुमा काम गरिरहेको जानकारी गराउँदै आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरे । यसअघि फागुन २ गते सभामुख सापकोटासँग नेपालका लागि चेक गणतन्त्रका गैरआवासीय राजदूत मिलान होभोरकाले भेटेर सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
घुस रकम सहित सब इन्जिनियर रंगेहात पक्राउ
काठमाडौं । विपद व्यवस्थापन विभाग काठमाडौंका सब इन्जिनियर गणेश ठकुल्लालाई प्रहरीले पक्राउ गरेको छ । घर भुकम्पको कारण भत्किएकोमा घर निर्माण सम्पन्न गरी दोस्रो र तेस्रो किस्ताको रकम निकासा गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले निज गणेश ठकुल्लालाई बीस हजार लिइसकेको अवस्थामा उक्त रकमसहित का.म.न.पा ११ स्थित जिल्ला समन्वय समितिको क्यान्टिनबाट नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।
प्रतिक्षा बास्तोला बनिन् मिस कल्चर नेपाल
पोखरा। छैठौ नेपाल आइस मिस कल्चर नेपाल २०२० को उपाधी हेम्जाकी प्रतीक्षा बास्तोलाले हात पारेकी छन् । साथै, उनले मस्ट कन्फिडेन्ट टाइटल समेत हात पारेकी छिन् । पुष्पाञ्जली फेसन एन्ड इभेन्ट द्वारा आयोजित कार्यक्रममा फस्ट रनर अफ सपना गौतम , सेकेन्ड रनर अफ सुहाना क्षेत्री , थर्ड रनर अफ करुणा पौडेल र बिबिका लामिछाने, भ्युवर च्वाइस सुस्मिता पौडेल, अर्गनाइजर च्वाइस प्रतीक्षा मल्ल ठकुरी र सस्मिता तिमिल्सिना र मस्ट ट्यालेन्ट प्रतीक्षा सुबेदीले जिते । प्रतियोगितामा वेस्ट क्याटवाक आर्जु शाही , वेस्ट हेयर र मस्ट इन्टिलिजेन्ट प्रतीक्षा सुवेदी, वेस्ट स्किन स्वस्तिका श्रेष्ठ, वेस्ट डान्स सल्मा आले मगर, वेस्ट स्माइल र मस्ट फोटोजेनिक कृप्ती न्यौपाने, मस्ट डिसिपिलिन बिबिका लामीछाने, मस्ट एक्टिभ मनिसा राना, मस्ट हेल्पफुल सुस्मिता पौडेल, मस्ट फ्रेन्ड्ली प्रतीक्षा मल्ल ठकुरी, वेस्ट कल्चरल ड्रेस कृपा मल्ल ठकुरी, मस्ट कृयटिभ सस्मिता तिमिल्सिना, वेस्ट पर्फमेन्स र मस्ट पङचुवल सपना गौतम घोषित भए । ‘हाम्रो सस्कृती हाम्रो पहिचान लोपोन्मुख सस्कृती जोगाउने हाम्रो अभियान’ भन्ने मुल नाराका साथ आयोजित प्रतियोगितामा १५ जना सहभागी रहेका थिए । गत माग बाट शुरू भएको प्रतियोगितामा कुल ३० जना युवतीहरू सहभागी भएका थिए । उनीहरूले नेपालका लोपोन्मुख जातजातिका भेषभुषा झल्काएका थिए । कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिकाका नगर प्रमुख मान बहादुर जिसिले गरेका थिए । कार्यक्रममा आन्तरिक राजस्व कार्यालयका कर अधिकृत बिजय लामिछाने, हरपल फुडस प्रालीका अध्यक्ष जनक धामी , सिजि ब्रुअरिका ब्रान्ड म्यानेजर मनिष सिह, पर्यटन बोर्डका पूर्व सदस्य टिकाराम सापकोटा, सिजी बु्रअरीका गण्डकी प्रदेश प्रमुख सुवोद रिसाल, सिजी फुड्सका गण्डकी प्रदेश प्रमुख गोविन्द शर्मा, सिजी इलेक्ट्रोनिक्सका ब्राण्ड म्यानेजर दिवाकर नकर्मी र सेल्स हेड हरिशचन्द्र अर्याल, कि एड्भर्टाइजिङ्गका बजार प्रवन्धक दिनेश पोखरेल लगायतको उपस्थिति रहेको थियो । प्रतियोगिताको निर्णायकहरूमा लेखक तथा समालोचक रेशम गिरी, ह्यापी बोर्डिङ्ग स्कूलका प्राचार्य कविराज बराल, फिल्मि डिरेक्टर सावित्री खत्री, सञ्चारकर्मी कविता श्रेष्ठ, मोटिभेसनल ट्रेनर इन्द्रमणि ढुंगाना, मोडल सोनु मल्ल खाँण र मिडियाकर्मी कमल बराल रहेका थिए ।
महिन्द्रा एक्सयुभि ३०० को नयाँ भेरियन्ट सेग्मेन्टकै सबैभन्दा पावरफुल पेट्रोल गाडि हुने
काठमाडौं । भारतिय कार उत्पादक कम्पनी महिन्द्राले एक्सयुभि३०० को एउटा नयाँ भेरियन्टलाई २०२० अटो एक्स्पोमा अनावरण गरेको छ । कम्पनीले ‘स्पोर्ट्ज्’ नाम दिएको सो भेरियन्टमा नयाँ इञ्जिन सहित कस्मेटिक परिमार्जन पनि गरिएको छ । यसमा ठुलो परिमार्जनको रुपमा नयाँ १.२-लिटरको थ्री-सिलिण्डर टर्बो-पेट्रोल इञ्जिन समावेस गरिएको छ । यस इञ्जिनले १३० एचपीको पावर र २३० एनएमको टर्क उत्पादन गर्दछ जुन हाल एक्सयुभि३०० ले उत्पादन गरेको तुलनामा पावर २० एचपीले र टर्क ३० एनएमले बढि हो । यस इञ्जिनलाई ६-स्पिड म्यानुअल गियरबक्सको साथमा पेश गरिएको छ । कस्मेटिक तर्फ भने यसमा विभिन्न किसिमका बढी ग्राफिक्सहरु दिइएको छ । अगाडिका दुवै ढोकामा ‘स्पोर्ट्ज्’ लेखिएको छ भने यसको क्याविन पुरै कालो रङ्गको बनाइएको छ । त्यसैगरी ड्यासबोर्डमा रातो हाइलाइट्स देख्न सकिन्छ भने सिटहरुमा पनि रातै रङ्गको स्टिचिङ्ग प्रयोग गरिएको छ । आधिकारीक रुपमा लञ्च भएपश्चात् यो कार कम्प्याक्ट एसयूभी सेग्मेन्टमा सबैभन्दा पावरफुल पेट्रोल गाडि हुनेछ । यसले हाल बजारमा रहेको हुण्डाईको भेन्यु, टाटाको नेक्शन, मारुतीको भिटारा ब्रेजा र फोर्डको इकोस्पोर्ट सँग प्रतिष्पर्धा गर्नेछ भने आउँदै गरेका कारहरुतर्फ चाहिँ कियाको सोनेट, भक्सवागनको टिगुवान र स्कोडाको भिजनसँग प्रतिष्पर्धा गर्नेछ ।
कामना सेवा विकास बैंकले एकैसाथ खोल्यो २ नयाँ शाखा
काठमाडौं । कामना सेवा विकास बैंकले प्रदेश ७ मा एकैसाथ २ नयाँ शाखा खोलेको छ । बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं. ७ अन्तर्गत कैलालीको सुखड र लम्कीमा एकैदिन २ वटा शाखा कार्यालय स्थापना गरि उद्घाटन गरेको हो । यससँगै अब बैंकको शाखा संख्या १२० पुगेका छन् । सुखड शाखाको उद्घाटन घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरी र बैंकका अध्यक्ष सुदीप आचार्यले संयुक्त रुपमा गरेका हुन् । यसैगरी लम्की शाखाको उद्घाटन लम्कीचुहा नगरपालिका प्रमुख महादेव बजगाई र बैंकका अध्यक्ष सुदीप आचार्यले संयुक्त रुपमा गरेको हुन् । काठमाडौंको ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले यी शाखा सहित १२० वटा शाखा कार्यालयहरु तथा ६२ वटा एटीएमार्फत आफना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।
सेञ्चुरी बैंकका ग्राहकलाई छुटैछुट: होटेल सामनामा १५ प्रतिशत र सुर्यान्समा २० प्रतिशत
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकका ग्राहकले दुई होटलको सेवा सुविधामा विशेष छुट पाउने भएका छन् । ग्राहकले मकवानपुरको हेटौडास्थित होटेल सामनामा १५ प्रतिशत र होटेल सुर्यान्सको सेवा सुविधामा २० प्रतिशत छुट पाउने भएका हुन् । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरुलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता गरेको हो । होटेल सामनासँगको सम्झौतापत्रमा बैंकका हेटौडा शाखा प्रबन्धक सुहित शाक्य र होटेलका प्रबन्ध निर्देशक सुरज आचार्यले हस्ताक्षर गरेका हुन् । साथै, होटेल सुर्यान्ससँगको सम्झौतापत्रमा बैंकका हेटौडा शाखा प्रबन्धक सुहित शाक्य र होटेलका अपरेशन प्रबन्धक नकुल गिरिले हस्ताक्षर गरेको हुन् ।
ग्लोबल आइएमई बैंक डोटीको पिपल्ला बजारमा
काठमाडौं । ग्लोबल आइएमई बैंकको डोटी जिल्लाको दिपायल पिपल्ला बजार शाखा सोमबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । शाखाको उद्घाटन डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेल, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. ५ का अध्यक्ष गुणनिधि तिवारी, डोटी उद्योग वाणिज्य संघका अध्यक्ष मोहन बहादुर कलेल र ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त रुपमा गरेका हुन् । कार्यक्रममा बोल्दै ग्लोबल आइएमइ बैंकका अध्यक्ष ढकालले बैंकको नयाँ शाखाबाट आधुनिक एवम् अन्तर्राष्ट्रियस्तरको बैंकिङ्ग सेवा उपलब्ध हुने प्रतिवद्धता व्यक्त गरेका छन् । अध्यक्ष ढकालले सो क्षेत्रमा जम्मा भएको निक्षेप रकम सोहि क्षेत्रमा नै परिचालन गर्ने र शाखाले आर्जन गरेको नाफाको एक प्रतिशत रकम त्यही क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यहरुमा खर्च गरिने जानकारी दिए । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. ५ का अध्यक्ष गुणनिधि तिवारीले जिल्लामा छरिएर रहेको पुँजीलाई संकलन गरी जिल्लामै उद्यमको विकास तथा जिल्लाको कृषि क्षेत्रमा लगानी गर्न बैंकलाई सुझाव दिएका छन् । त्यस्तै, डोटी उद्योग वाणिज्य संघका अध्यक्ष मोहन बहादुर कलेलले ग्लोबल आइएमई बैंकले गाउँघरमा छरिएर रहेको पुँजीलाई संकलन गरी राष्ट्र निर्माणमा लगाउन आग्रह गरेका छन् । हाल बैंकले २७० शाखा, २५६ एटिएम, ३७ एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, २४९ शाखा रहित बैंकिङ्ग सेवा र विदेशमा ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना १८ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।